निर्णय नं. ३६३७ - गोली हानी मारेको कर्तव्य ज्यान

निर्णय नं. ३६३७ ने.का.प. २०४५ अङ्क ११
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको फौ.पु.नं. ६१८
सम्वत् २०४५ सालको फौ.सा.नम्बर ४९
फैसला भएको मिति : २०४५।८।२२।४ मा
पुनरावेदक/प्रतिवादी : कारागार शाखा इलाममा थुनामा रहेका प्र.ज.मोहनराज कार्की
विरुद्ध
विपक्षी/वादी : पशुपतिनगर भन्सार कार्यालयका ख.प्रेमबहादुर श्रेष्ठको जाहेरीले श्री ५ को सरकार
मुद्दा : गोली हानी मारेको कर्तव्य ज्यान
(१) कोठा बाहिर आई राइफलमा गोली लोड गरी कोठामा गई गोली प्रहार गरी मारेकोमा घटी सजायँ हुनुपर्छ भन्ने जिकिर पुग्न नसक्ने ।
(प्रकरण नं. १९)
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने प्रतिवादी मोहनराज कार्कीको पुनरावेदन पर्न आएको र निजको हकमा साधक निकाशाको लागि पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. मिति २०४१।११।२० गतेका दिन अं.१७ :४० बजेको समयमा एक्कासी मोहनराज कार्की हातमा राइफल लिई भन्सार कार्यालय भित्र पसी भन्सार अधिकृत बसेको कुर्सीबाट करीव ५ फिट परबाट राइफल तेर्साई केही कुरा नबोली गोली चलाउँदा भन्सार अधिकृत शम्भुप्रसाद चालिसेले टेबुलमा टाउको अडयाउनु भयो । त्यसपछि म प्रेमबहादुरलाई ताकी हान्न खोज्दा फायर नभई रा.वा. बैंक मेनेजर र सीमा प्रकाशक खरदारलाई समेत ताकी हान्न खोज्दा नपड्की भाग्ने मौका पाई प्र.ज.प्रेमकुमार तामाङ छुट्याउन नआई प्र.ज.केन्द्रबहादुर बानिया आई राइफल खोसी प्र.स.नि.लोकहरी आई अभियुक्तलाई पक्राउ गरेपछि अ.हे.ब. आई जचाउँदा भन्सार अधिकृत स्वर्गीय भइसकेको भन्ने जानकारी दिएकोले जाहेर गर्न आएको छु भन्ने ख. प्रेमबहादुर श्रेष्ठको मिति २०४१।११।२१ गतेको दर्खास्त ।
३. मिति २०४१।११।२० का दिन पक्राउ परेको माल लिलाम हुने भई लिलाममा लिने व्यक्तिबाट कपडा किन्न भनी ड्यूटीको राइफल साथै लिई हाकिम रहेको कोठामा गई पेण्टको कपडा पाउँछौ कि पाउँदैनौ भनी सोध्दा पाइँदैन भन्नासाथ लखिचनलाई किन दिनुपर्यो पक्षपात गर्न पाइँदैन भन्दा यसको हाकिम म हुँ तँ भुसुनालाई उडाई दिन्छु भन्नु भई भन्सार बैंकको खाली ठाउँबाट पछाडि गई ५ राउण्ड गोली भरी आवेग थाम्न नसकी छाती ताकी गोली हाने हाकिम घोप्टो परी टेबुलमा अडिए पक्रलान भनी ख. प्रेमबहादुर समेतलाई हानेको गोली मिस भयो भन्ने समेत व्यहोराको मोहनराज कार्कीले प्रहरीमा गरेको कागज ।
४. मिति २०४१।११।२० गतेका दिन १६:०० बजेबाट १८:०० बजेतक मेरो ड्यूटीमा बसिरहेको थिएँ । अं.५:३० बजेको समयमा मोहनराज कार्की आई हाकिम बसेको कोठामा आएर लिलामको कपडा बाहिरकोले पाउने हामीले नपाउने भनी हाकिम शम्भुप्रसाद चालिसेसंग वादविवाद गरे म गार्डतर्फ गएँ मोहनाज कार्की आएको देखिन एक्कासी हाकिमको कोठामा गोली पड्केको आवाज आयो र कोठामा जाँदा मोहनराजले राइफल ताकिरहेको थियो म अकमकिएँ केन्द्र बानियाले मोहनको हातबाट राइफल खोस्यो मैले सहयोग दिई मोहनले गोली चलाई मारेको होइन भन्ने समेत व्यहोराको प्रेमकुमार तामाङले प्रहरीमा गरेको कागज ।
५. मिति २०४१।११।२२ गतेको घटनास्थलको प्रकृति मुचुल्का र भन्सार गार्डमा बस्ने प्रेमकुमार तामाङ समेतको सहयोगले रा.बा. बैंकका गार्ड मोहनराज कार्कीले भन्सार हाकिम शम्भुप्रसाद चालिसेलाई गोली हानी मारेका हुन् भन्ने हस्तबहादुर बस्नेत समेतले गरी दिएको मिति २०४१।१२।२ गतेको मुचुल्का ।
६. मोहनराज कार्कीले अघिदेखि लिई राखेको रीसइवीबाट प्रेरित भएर भन्सार हाकिम शम्भुप्रसाद चालिसेलाई गोली हानी मारेको हुँदा निजलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम र मोहनराज कार्कीले बाहिर निस्की हाकिमलाई गोली ठोकी दिउँकी भन्दा प्र.ज.प्रेमकुमार तामाङ हल्ला समेत नगरी चुप लागी बसेको देखिन आएबाट निजलाई ज्यानसम्बन्धीको १७(१) बमोजिम सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०४१।१२।१२ गतेको प्रहरी प्रतिवेदन ।
७. रु. १००।– का दरले रेडिमेड पेन्ट भन्सार हाकिम शम्भुप्रसाद चालिसेले बिक्री गरी रहेछन् भनेकाले म पनि हाकिमको कोठामा आई पेन्ट पाइन्छ कि भनी सोद्धा पाइँदैन भनी जवाफ दिएकोले लखिचनलाई किन दिनु भयो ? भन्दा त भुसुना तेरो बोल्ने अधिकार छैन उडाई दिन्छु भनेकाले गार्ड डिउटीमा प्रेमकुमार थिए ठोकि दिउँकी भन्दा टाउको मात्र हल्लाए । त्यसपछि राइफलमा गोली लोड गरी मैले हाकिम शम्भुप्रसाद चालिसे कुर्सीमा बसी रहेको बेलामा मैले भुसुना आउनु होस् भनी एक राउण्ड गोली फायर गरेँ निजको छातिमा लागेर शम्भुप्रसाद चालिसेको मृत्यु भएको हो भन्ने प्रतिवादी मोहनराज कार्कीले मिति २०४१।१२।१२ मा शुरु जिल्ला अदालतमा गरेको बयान ।
८. मिति २०४१।११।२० का दिन भन्सार कार्यालयको ४ बजे देखि ६ बजेसम्म डिउटी बसी रहेको बेलामा हाकिम बस्ने कोठादेखि बायाँपट्टी कोठामा एक्कासी गोली पड्केको आवाज सुनें हेर्न जाँदा शम्भुप्रसाद चालिसे मारीसकेको थियो । हाकिमलाई मार्नेमा मेरो सहमती छैन भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमबहादुर तामाङले मिति २०४१।१२।२२ मा अदालतमा गरेको बयान ।
९. मिति २०४१।१२।२ गतेको सरजमीन मुचुल्कामा लेखिएको व्यहोरा ठीक छ भनी बुझिएका सरजमीनको मानिस हस्तबहादुर बस्नेतले अदालतमा उपस्थित भई मिति २०४२।१०।७ मा गरेको बकपत्र ।
१०. प्रहरी आरोप बमोजिम निज मोहनराज कार्कीले गोली प्रहार गरी भन्सार हाकिम शम्भुप्रसाद चालिसेलाई कर्तव्य गरी मारेको ठहर्छ र प्रेमकुमार तामाङउपर ज्यानसम्बन्धीको १७ नं. को देहाय १ अनुसार कसूर गरेको होइन भन्न सकिने स्थिति नदेखिएकोले निज प्रेमकुमार तामाङले पनि उपरोक्त ऐनको दफा अनुसार कसूर गरेकै ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४३।८।१५ गतेको इलाम जिल्ला अदालतको फैसला ।
११. कैद वर्ष १० दश सजायँ गर्ने गरी गरेको फैसला उपर चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमकुमार तामाङले मेची अञ्चल अदालतमा चढाएको पुनरावेदनपत्र ।
१२. मलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सजायँ गर्ने गरी गरेको इलाम जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी मोहनराज कार्कीले मेची अञ्चल अदालतमा चढाएको पुनरावदेनपत्र ।
१३. पुनरावेदकको मृतकसंग भनाभन भएको स्थिति सम्मलाई आवेश र तत्काल उठ्न सक्ने रीसको स्थिति भएको मान्ने हो भने पनि पुनरावेदक वारदात भएको कक्षबाट निस्कनु, सो स्थानबाट पर गई राइफल गोली भर्नु जस्ता पुनरावेदकका अरु कार्यहरुबाट व्यतित् हुन गएको समय र निजबाट हत्याका लागि गरेको तयारीका कार्यहरुलाई तत्काल उठेको रीस वा आवेशको परिधिभित्रको मान्न सकिन्न तसर्थ मोहनराज कार्कीको हकमा जिल्ला अदालतले सर्वश्वसहित जन्मकैद गर्ने गरेको इन्साफ मनासिब ठहर्छ र प्रेमकुमार तामाङको हकमा विभागीय कारवाई भइरहेको देखिँदा र निजबाट मुलुकी ऐन ज्यानसम्बन्धीको १७ नं. मा उल्लिखित काम कुरा गरेको नदेखिनुका साथै गरेको प्रमाण पनि गुज्रन नआएकोले शुरुले निज प्रेमकुमारलाई गर्ने गरेको १० दश वर्षको सजायँ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने मेची अञ्चल अदालतको फैसला ।
१४. मेची अञ्चल अदालतबाट शुरु जिल्ला अदालतले गर्ने गरेको इन्साफ उल्टाई गरेको निर्णय त्रुटिपूर्ण हुँदा सो त्रुटिपूर्ण फैसला बदर गरी प्रतिवादी प्रेमकुमार तामाङलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेतको वादी श्री ५ को सरकारकोतर्फबाट पर्न आएको पुनरावेदनपत्र ।
१५. मैले विवाद चर्केर असन्तुलित मनस्थितिबाट आवेशमा आई उक्त घटना घटी मृत्यु भएकोमा बिना मनसाय बिना रीसइवी पूर्व तयारी नगरी घटेको घटनामा ज्यानसम्बन्धीको महलको १३(१) नं.बमोजिम सजायँ गरिँदा मैले हलुका अपराधमा चर्को सजायँ भोग्नु परेको र उक्त सजायँ म प्रति गरिँदा दण्डको सकारात्मक उद्देश्य समेत प्राप्त हुन नसक्ने भएकोले उक्त बमोजिमको मलाई गरिएको सजायँ गर्दा बढी चर्को हुने भएको तथ्य सनम्र अनुरोध गर्दै अ.बं.१८८ नं.बमोजिम राय लेखी सजायँ तोकी दिन हुनको लागि सम्मानीत अदालत समक्ष यो पुनरावेदनपत्र गरेको छु भन्ने मोहनराज कार्कीको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
१६. मेची अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।९।१५।४ को फैसला ।
१७. सो इन्साफमा चित्त बुझेन भन्ने समेत अभियुक्त प्रतिवादी मोहनराज कार्कीको यस सर्वोच्च अदालतमा परेको पुनरावेदनपत्र ।
१८. नियम बमोजिम पेश हुनआएको प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१९. यसमा निर्णयतर्फ हेर्दा प्रतिवादी मोहनराज कार्कीले भन्सार हाकिम शम्भुप्रसाद चालिसेलाई गोली हानी मारेको हुँदा निजलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम र मोहनराज कार्कीले बाहिर निस्की हाकिमलाई गोली ठोकी दिउँ भन्दा प्रतिवादी प्रेमकुमार तामाङ हल्ला समेत नगरी चूप लागी बसेकोबाट निजलाई ज्यानसम्बन्धीको १७(१) नं.बमोजिम सजायँ गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी परेको देखिन्छ । पुनरावेदक अभियुक्त मोहनराज कार्कीले रु.१००।– मा रेडिमेड पेण्ट भन्सारका हाकिम शम्भुप्रसाद चालिसेले बिक्री गरी रहेका छन् भनेकोले लिउँ भनी म पनि भन्सार कार्यालयको ढोकामा आई उभिँदा हाकिमले लखिचन्दलाई पेण्ट दिए मैले पाइन्ट पाइन्छ कि भनी हाकिमसंग सोद्धा पाउँदैनस् भने, लखिचनलाई दिनु भयो भन्दा तेरो बोल्ने अधिकार छैन, तलाई भुसुना जस्तो उडाई दिन्छु भनी जवाफ दिएपछि सोही भन्सार गार्डका प्र.ज.प्रेमबहादुर तामाङसंग भन्सार हाकिम शम्भुप्रसाद चालिसेले भुसुना भन्छ ठोकी दिउँकी क्या हो भनी मैले भनेँ र मेरो साथमा रहेको राइफल गोली सहित भन्सार कार्यालय काउण्टर गार्डको बीचमा खाली रहेको ठाउँतर्फ गई मेरो गोजीमा रहेको १० राउण्ड गोली मध्ये पूरा ५ राउण्ड गोली लोड गरी फर्की आई भन्सार कार्यालयका हाकिम शम्भुप्रसाद चालिसे कुर्सीमा बसी रहेको बेला राइफल निज शम्भुप्रसादतर्फ ताकी मैले भुसुना उडाउनुस् भनी मुखले भनी एक राउण्ड गोली फायर गरें निजको बायाँपट्टिको छातिमा लाग्यो सो गोली लागेपछि निज शम्भुप्रसाद चालिसे बसिरहेको कुर्सीमा नै मृत्यु भएको हो भनी आफूले गरेको अपराध स्वीकारी घटनाक्रम समेतको चित्रण गरी अदालतमा बयान गरेको पाइन्छ । मौकामा भएको लाश प्रकृति मुचुल्का, लाश जाँच प्रतिवेदन, मौकामा भएको सरजमीन तथा सरजमीनका व्यक्तिहरुले अदालतमा गरेको बकपत्र समेतका प्रमाणबाट पुनरावेदक अभियुक्त मोहनराज कार्कीको साविती बयान पुष्टि हुनुका साथै अपराध पुष्टि भएको देखिन्छ । यस स्थितिमा पुनरावेदक प्रतिवादी मोहनराज कार्की निर्दोष रहेछ भन्न सकिने स्थिति रहेन । पुनरावदेक मोहनराज कार्कीले प्रहार गरेको राइफलको गोलीद्वारा भन्सार हाकिम शम्भुप्रसाद चालिसेको कर्तव्यद्वारा मृत्यु भएको देखिन आयो । तत्काल उठेको रीसको बेगमा गोली प्रहार गरेको हुँदा सजायँ चर्को भयो भन्ने पुनरावेदन जिकिर सम्बन्धमा भन्सार हाकिमले पुनरावेदकलाई भुसुना उडाई दिन्छु भनेकोबाट भनाभन झगडा भई त्यसको आवेशमा तुरुन्त गोली प्रहार भएको भन्ने देखिन्न । राइफलको गोली प्रहार भई हाकिम शम्भुप्रसाद चालिसेको ज्यान मर्न गएको छ । भन्सार हाकिम बसेको कोठा बाहिर आई राइफलमा गोली लोड गरी भन्सार हाकिम बसेको कोठामा गई गोली प्रहार गरी मारेको देखिन्छ । यस्तोमा घटी सजायँ हुनुपर्छ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । तसर्थ पुनरावेदक अभियुक्त मोहनराज कार्कीले भन्सार हाकिम शम्भुप्रसाद चालिसेलाई गोली प्रहार गरी कर्तव्य गरी मारेको ठहराई ज्यानसम्बन्धीको १३(१) अनुसार सर्वश्वसहित जन्मकैद गर्ने गरेको इलाम जिल्ला अदालत मेची अञ्चल अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन तहबाट निर्णय भएकोले साधकतर्फबाट बोलि रहन परेन । लगत काटी दिनु । सर्वश्वसहित जन्मकैदको सजायँ भएकोले थप सजायँ गर्न परेन । पुनरावेदन निर्णय भएको सूचना पुनरावेदकलाई दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल मार्ग २२ गते रोज ४ शुभम् ।