निर्णय नं. ३६४० - गाली बेइज्जती

निर्णय नं. ३६४० ने.का.प. २०४५ अङ्क ११
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको फौ.पु.नं. ६१३
फैसला भएको मिति : २०४५।१०।११।३ मा
पुनरावेदक/प्रतिवादी : रौतहट, गौर गा.पं.वार्ड नं. ८ बस्ने शङ्करबहादुर कुँवर क्षेत्री
विरुद्ध
प्रत्यर्थी/वादी : ऐ.ऐ.वा.नं.९ बस्ने गौरीशङ्कर क्षेत्री
मुद्दा : गाली बेइज्जती
(१) प्रतिउत्तर दिने कानूनी हकको सिलसिलामा नै भए पनि आफ्नो भाइ छोरालाई आफ्नो भाइ छोरा होइन, गैर व्यक्तिको छोरा भनी देखाएकोबाट वादीको इज्जतमा धक्का पुग्ने नै देखिँदा यस्तोमा गाली बेइज्जती गरेको होइन भन्न सकिने स्थिति नरहने ।
(प्रकरण नं. १०)
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलप्रकाश घिमिरे
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. प्र.गोपालबहादुर, शङ्करबहादुर मेरो सौतेला दाजुभाइ, प्र.नेत्रकुमारी, कृष्णकुमारी सौतेली आमा हुनुहुन्छ । म पनि प्र.हरुको लोग्ने नरबहादुर कुँवर क्षेत्रीको अर्की स्वास्नी तिलकुमारीको गर्भबाट जन्मेको छोरा भएको अंश दिलाई पाउँ भनी प्र.हरुको नाउँमा मैले नालेश गरेको चल्ती मिसिल यसै अदालतमा छ । उक्त मुद्दामा यिनी प्र.हरुले प्रतिउत्तर फिराउँदा मलाई आफ्नो सौतेला छोरा दाजुभाइ भनी ललितपुर इलाका सुनकोठी पञ्चायत वा.नं.२ वाखरको नरबहादुरको छोरा भनी बताई मलाई अंशियार कायम गरी अंश दिनु नपर्ने भन्ने ०४०।२।६ मा प्रतिउत्तर फिराई नातातर्फ बयान गरेमा पनि मलाई अंशियार कायम नगरी गर्नु भएको प्रतिवाद स्वरुप मैले बयान गरी सबूद प्रमाण पनि दाखिल गरेको प्रमाण खण्डमा उल्लेख भएको मिसिल सामेल छँदैछ । सो मुद्दामा यिनी प्र.हरुले दिएको साक्षीहरुमा अरु कसैले पनि बकपत्र नगरी प्र.हिराप्रसादले मात्र बकपत्र गर्नु हुँदा पनि प्र.हरुकै भनाईलाई समर्थन गरी मलाई यिनी प्र.हरुको अंशियार कायम नगरी बकपत्र गरेका हुन् । म प्र.गोपालबहादुर समेत आमा छोरा दाजु भाइहरुको सौतेला छोरा दाजुभाइ भएको भन्ने सो अंश मुद्दाबाट निर्णय हुने नै छ । तर कुनै पनि मानिसले कुनै पनि स्थितिमा आफ्नो बाबुको नाउँ बदल्नु हुँदैन यदि कसैले बदल्छ भने नैतिक स्तर भन्दा धेरै टाढा अर्थात नैतिक आचरण विपरीतको कुरा हुने भएकोले त्यस्तो काम गाली बेइज्जती ऐन, २०१६ को दफा ३ अन्तर्गतको अपराध भएकोले प्र.हरुको नाउँमा नालेश गर्न आएको छु । प्रत्यक्षरुपमा मेरो विषयमा प्र.हरुले लेख्नु लेखाउनु भएको प्रत्यक्षरुपले गाली बेइज्जतीको अपराध भएकोले साक्षी सबूद बुझी गाली बेइज्जती ऐन, २०१६ को दफा ५ बमोजिम प्र.हरुलाई सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. कुनै पनि अपराधमा एकपटक भन्दा बढि सजायँ गर्न नपाउने व्यवस्था छ मैले झुठ्ठा बकपत्र गरेको सावित भएका बखत सजायँ पाउने नै हुँदा मलाई एकै अपराधमा दोहरो सजायँ पाउने गरी वादीले गर्नु भएको नालेश खारेज हुनुपर्ने हो वादीले मेरो बकपत्रलाई झुठ्ठा भनी त्यसबाट निजको बेइज्जती भएको भन्दै वादीको अंश र नाता कायमतर्फको मुद्दा समेतको अन्तिम फैसला नभएसम्म म उपर आरोप लगाई नालेश गर्न नपाउने वादी दावी खारेजभागी छ । प्र.हिराप्रसाद बाहेकका हामी प्र.जवान ४ को व्यहोरा के छ भने वादी हाम्रो लोग्ने बाबु नरबहादुर कुँवर क्षेत्रीको छोरा नभई ल.पु.इ.सुनाकोठीको नरबहादुर क्षेत्रीको छोरा भई हाम्रो अंशियार नभएको भन्ने हाम्रो लेखाइको कुराबाट निजको बेइज्जति हुन गएको पनि छैन किनकी निज वादीले नै आफ्नो नागरिकता प्रमाणमा नरबहादुर कँुवर क्षेत्रीको छोरा भनी भन्न र लेखाउन नसकी नरबहादुरको छोरा लेखाएका छन्, त्यसको अलावा निज वादीले कृ.सा.सं.शाखाको गौरमा ०३२।३।२७ मा प्राप्त गर्नु भएको पत्रमा पनि निजको ठेगाना ल.पु.इ. सुनकोठी काठमाडौं लेखिएको छ, यसप्रकारले वादी स्वयंले कार्यालयहरुमा लेखाए देखाएको कुरा हामीले उल्लेख गर्दैमा गाली बेइज्जति अपराध भयो भनी कुनै हालतमा पनि मिल्ने भएन । तसर्थः हाम्रो साक्षी सबूद बुझी दावीबाट हामीले फुर्सद पाउने र झुठ्ठा नालेश गरेमा वादीलाई सजायँ समेत हुने ठहराई इन्साफ पाउँ भन्ने समेत व्यहोराको संयुक्त रुपमा परेको प्रतिउत्तरपत्र ।
४. वादीलाई प्र.हरु समेतले गौर बस्ने नरबहादुरको छोरा होइन वादी सुनकोठी बस्ने नरबहादुरको छोरा हो भनी एकाको छोरालाई अर्काको छोरा लेखी गाली बेइज्जति गरेको सिद्ध हुन आएकोले प्र.हरुले वादीलाई गाली बेइज्जति गरेको ठहर्छ भन्ने समेत व्यहोराको रौतहट जिल्ला अदालतको २०४१।२।२१।१ को फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादीहरुको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
६. वादीलाई नरबहादुरको छोरा होइन भनी प्रतिवादीहरुले भनेकोलाई कसूर ठहराएको रौतहट जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४३।३।२।२ को फैसला ।
७. सो फैसला कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत निवेदन परेकोमा अंश मुद्दामा आजै पुनरावेदनको अनुमति प्रदान गरिएको हुँदा यस्मा पनि पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने सर्वोच्च अदालत संयुक्त इजलासको २०४४।१।२ को आदेश ।
८. पुनरावेदक प्रतिवादीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्यायले वादीले दिएको फिरादपत्रको प्रतिउत्तर फिराउँदा सो प्रतिउत्तरमा लेखिएको कुराबाट गाली बेइज्जति ठहर गर्न मिल्दैन । तसर्थ सो म.क्षे.अ.को फैसला मिलेको छैन भन्ने समेत र विपक्षीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलप्रकाश घिमिरेले अंश मुद्दामा पुनरावेदकहरुले प्रतिवाद गर्दा वादीलाई प्रतिवादीहरुका अंशियार होइन अरुकै छोरा भनी बेइज्जत गरेको छ । तसर्थ गाली बेइज्जति ठहर गरेको इन्साफ सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।
९. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनु पर्ने हुनआएको छ ।
१०. यस्मा निर्णयतर्फ हेर्दा प्र.गोपालबहादुर, शंकरबहादुर मेरो सौतेला दाजुभाइ, प्र.नेत्रकुमारी सौतेला आम हुनुहुन्छ । म पनि प्र.हरुको लोग्ने बाबु नरबहादुर कँुवर क्षेत्रीको अर्की स्वास्नी तीलकुमारीको छोरा भएकोले अंश पाउँ भनी नालेश गरेकोमा प्रतिवादीहरुले प्रतिउत्तर फिराउँदा आफ्नो सौतेला छोरा दाजुभाई नभनी ल.पु.इ.सुनाकोठी पञ्चायत वा.नं.२ वाखरको नरबहादुरको छोरा भनी लेखी गाली बेइज्जतिको अपराध गरेकोले सजायँ गरी पाउँ भन्ने फिराद दावी देखिन्छ । प्रतिउत्तर फिराउँदा लेखिएको कुरालाई गाली बेइज्जती भन्न मिल्दैन भन्ने समेत प्रतिवादी जिकिर लिएको पाइन्छ । प्रतिउत्तर दिने कानूनी हकको सिलसिलामा नै भए पनि आफ्नो भाइछोरालाई आफ्नो भाइछोरा होइन गैरव्यक्तिको छोरा भनी देखाएकोबाट वादीको इज्जतमा धक्का पुग्ने नै देखिन्छ । यस्तोमा गाली बेइज्जती गरेको होइन भन्न सकिने स्थिति रहेन । यसैको लगाउ २०४४ सालको दे.पु.नं.७३१ को पुनरावेदक कृष्णकुमारी कुँवर क्षेत्रीनी समेत विपक्षी गौरीशंकर क्षेत्री समेतको अंश मुद्दामा यिनै वादी गौरीशंकर प्रतिवादीहरुको अंशियार ठहरी प्रतिवादीहरुबाट अंश पाउने ठहराएको इन्साफ म.क्षे.अ.को सदर भई आजै यस इजलासबाट निर्णय भएकोबाट समेत प्रस्तुत मुद्दामा वादीलाई नरबहादुरको छोरा होइन भनी गाली बेइज्जती गरेको ठहराएको शुरु रौतहट जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदन गरे बापत पुनरावेदक शंकरबहादुर कुँवर क्षेत्री के शुरु जरिवाना रु.२००।– को अ.बं.२०३ नं. ले त्यसको सयकडा ५ ले हुने रु.१०।– दश थप जरिवाना हुन्छ । वारेस भई बेरुजु हुँदा ऐन बमोजिम असूल गर्नु भनी काठमाडौं जि.अ.मा लगत दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४५ साल माघ ११ गते रोज ३ शुभम् ।