शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६५५ - खिचोला

भाग: ३० साल: २०४५ महिना: फागुन अंक: ११

निर्णय नं. ३६५५     ने.का.प. २०४५                 अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४४ सालको दे.पु.नं. ७०७

फैसला भएको मिति : २०४५।१०।१७।२ मा

 

पुनरावेदक/प्रतिवादी : धादिङ चैनपुर गा.पं.वा.नं.४ डाँडाथोक बस्ने तेजप्रसाद घरेल

विरुद्ध

विपक्ष/वादी : ऐ.ऐ.बस्ने तीलप्रसाद घरेल

 

मुद्दा : खिचोला

 

(१)                बाबुको काज क्रिया गरेको भन्ने सम्मको आधारमा बाबुसंग बसी पालन पोषण गरेको भन्न नमिल्ने ।

(प्रकरण नं. १६)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

विपक्षी/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

 

फैसला

न्या.महेशरामभक्त माथेमा : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ ।

२.    पिताजी रेशमलालका २ भाइ छोरामा जेठा विपक्ष, कान्छो म भएको विपक्षले पाउने रीतपूर्वकको अंश पिताजीबाट २०१६।२।२५ मा बुझिलिई छुट्टी बेगल बसेको जग्गा नाप जाँच अनुसार नापी हुँदा विपक्षको अंश भागको जग्गा विपक्ष कै नाउँमा र मेरो अंश भागको जग्गा मेरै नाउँमा नापी दर्ता गरी भोगचलन गरी आएको छ । पिताजी रेशमलालले जिउनी राख्नु भएको जग्गा पिताजी रेशमलालको नाउँमा चैनपुर गा.पं.वार्ड नं. ३ (ख) कि.नं.१२१ बा.नं. ३ को (पं.) कि.नं.१, ऐ.वार्ड नं. ४ (त) कि.नं.१३ को जग्गा दर्ता भई पिताजीलाई मैले पाली स्याहार सम्भार गरी आएको आमा डम्बरकुमारी २०२५।९।६ गते र पिताजी ०३६।६।२९ गते काल गतिले परलोक भई मैले खर्च लगाई काजक्रिया गरी आएको छु, अपुतालीबाट मेरो हक भएको पिताजीका नाउँमा दर्ता भएको जग्गा नामसारी गरिपाउँ भनी विपक्षीले दिएको निवेदनमा अदालतबाट हक कायम गराई ल्याउनु भनी मिति २०३७।६।१० मा मालपोत कार्यालय धादिंगले पर्चा गरेकोमा सो पर्चाउपर विपक्षले कारवाही गर्न नसकेको उक्त जग्गामा विपक्षले २०३८।१२।७ गते खिचोला गर्न आएकोले खिचोला मेटाई नामसारी गरी चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको मिति  ०३८।१२।९ को तिलप्रसाद घरेलको फिरादपत्र ।

३.    २०१५ सालमा वादी विदेश भारततर्फ गएको र सो दिन देखि आमा बाबु म समेत सगोलमा बसी २०२१ सालमा ७ नं. फाराम बाबुकै नाउँबाट भरेको २६ सालमा दुवै दाजुभाइलाई छुट्टाछुट्टै अंश भाग गरी बाबु मसंग बस्नु भएको मरेपछि बाबुको काजक्रिया मैले नै गरेको दुवै दाजु भाइको नाउँमा उक्त जग्गा बाबुको नामबाट नामसारी गराउन मालपोत कार्यालयमा निवेदन गरेको हक कायम गरी ल्याउनु भनी निर्णय भएको हुँदा मेरो हक जानु पर्ने होइन भन्ने समेत व्यहोराको मिति २०३९।१२।२८ को तेजप्रसाद घरेलको प्रतिउत्तर ।

४.    वादीको हक लाग्ने जिउनी जेथामा खिचोला गरेको छैन भन्ने प्रतिवादी जिकिर नदेखिँदा वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको २०३९।११।१७।३ को धादिंग जिल्ला अदालतको फैसला ।

५.    उक्त फैसलामा चित्त बुझेन, शुरु जिल्ला अदालतबाट भएको त्रुटिपूर्ण फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।

६.    सबै विषयमा इन्साफ नभई केही विषयमा मात्र शुरुबाट फैसला भइरहेको देखिएकोले शुरु फैसला बदर गरी दिएको छ सबै विषयमा एकसाथ इन्साफ हुन मिसिल शुरुमा पठाउने भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको फैसला ।

७.    वादी दावी बमोजिम वादीका बाबु रेशमलालका नाउँको जिउनी जग्गामा वादीको हक पुग्ने देखिन आएबाट वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको र वादीका नाउँमा नामसारी दाखिल खारेज गरी चलन चलाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४१।३।२२।५ को शुरु धादिंग जिल्ला अदालतको फैसला ।

८.    शुरुको इन्साफमा चित्त बुझेन, त्रुटिपूर्ण फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

९.    दुवै पक्ष विपक्षको समान हक हुनआएको जग्गामा आफ्नो मात्र एकलौटी हक भएको कानूनी आधार बेगर पुनरावेदकले खिचोला गरेको भनी विपक्ष वादीले खिचोला दाखिल खारेज हक कायम समेतमा एकलौटी हकको झुठ्ठा दावी लिएको ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

१०.    उक्त फैसलामा कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी तिलप्रसाद घरेलको म.क्षे.अ.मा परेको निवेदनमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को आदेश ।

११.    यसमा वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको र वादीका नाउँमा नामसारी दाखिल खारेज गरी चलन चलाई पाउने समेत ठहराउनु पर्नेमा बागमती अञ्चल अदालतले दाखिल खारेज हक कायम समेतमा एकलौटी हकको झुठ्ठा दावी लिएको ठहर्‍याएको फैसला त्रुटिपूर्ण हुँदा बदर हुन्छ । वादी दावी बमोजिम वादीको हक पुग्ने देखिँदा वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको र वादीका नाउँमा नामसारी दाखिल खारेज गरी चलन चलाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।३।२१ को फैसला ।

१२.    सबै अंशियारको पिताजीसंग बण्डा भएको कुरामा विवाद छैन । एकपटक बण्डा भएपछि मानो जोरिन लिखत पारित नै हुनुपर्छ । पारित लिखतबाट बण्डा भएकोमा मात्र मानो जोडिएको अर्थ गर्न रजिष्ट्रेशनको १ नं.को शन्दर्भमा मिल्ने हो होइन ? पिताजीको काजकृया गर्ने खर्च कुनै एक अंशियारले मात्र लगाएको स्थितिमा उसले मात्र एकलौटी खाने भन्ने अर्थ गर्न नमिल्ने हुँदा म.क्षे.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्र.तेजप्रसादको यस अदालतमा  पर्न आएको निवेदन ।

१३.    यसमा विवादीत ज्यूनीको एकजनाले मात्र खान पाउने सबूद प्रमाणको अभावमा वादीलाई मात्र दिलाई दिने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा मुलुकी ऐन अपुतालीको महलको ६ नं. को व्याख्या सम्बन्धी त्रुटि भएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।८।४ को आदेश ।

१४.    नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले छुट्टिएर भिन्न भइसकेका वादी प्रतिवादीले बाबुको ज्यूनीको सम्पत्ति बराबर प्राप्त गर्नु पर्ने हो । म.क्षे.अ.बाट भएको फैसलामा अपुतालीको महलको ६ नं. को त्रुटि भएकोछ भन्ने समेत तथा प्रत्यर्थी वादी तिलप्रसादका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले मृत्यु पछि वादीले नै खर्च लगाई काज क्रिया गरेको तथा निजैले पालन गरेको हुँदा म.क्षे.अ.को इन्साफ कानूनसंगत छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१५.   प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।

१६.    यसमा निर्णयतर्फ विचार गर्दा, वादी तेजप्रसाद, प्रतिवादी तिलप्रसाद तथा निजका बाबु रेशमलालका बीच २०१६ सालमा अंशबण्डा भई भिन्न बसेको देखिन्छ । अर्थात् वादी प्रतिवादी मृतकसंग छुट्टिई भिन्न बसेको भन्ने सम्बन्धमा कुनै विवाद देखिएन । वादी तेजप्रसाद अंश छुट्टिएपछि मृतक बाबुसंग मानो जोडी संग बसेको भन्ने सबूद प्रमाण वादीतर्फबाट पेश दाखिल हुनआएको पाइँदैन । स्वयं वादीका साक्षी इश्वरीदत्त छतकुलीले अदालतमा बकपत्र गर्दा मृतक बाबुले मृत्यु पर्यन्त बेग्लै पकाई खाने गरेको भनी उल्लेख गरेको देखिन्छ । वादीले मृतक बाबुको काजक्रिया गरेको भन्ने सम्मको आधारमा बाबुसंग बसी पालन पोषण गरेको भन्न मिल्दैन । यस्तो स्थितिमा बागमती अञ्चल अदालतबाट यी वादी प्रतिवादीका पिता रेशमलाल २०३६ सालमा परलोक भएपछि निजको सम्पत्तिमा वादीको मात्र एकलौटी हक पुग्ने नभई दुवै छोरा वादी प्रतिवादीको समान हक पुग्ने ठहराएको बागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । विवादीत जग्गामा प्रतिवादीले खिचोला गरेको र वादीको नाउँमा नामसारी दाखिल खारेज गरी चलन चलाई पाउने समेत ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती हुँदा उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पु.बे. तेजप्रसादके माथि इन्साफ खण्डमा लेखिए बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुने ठहरेकोले सो अदालतको मिति २०४४।३।२१ का फैसलाले राख्ने गरेको लगत कायम नरहने हुँदा व्यहोरा जनाई कट्टा गरिदिनु भनी शुरुमा लेखी पठाउन काठमाडौं जिल्ला अदालत तहसीलमा लगत दिनु...१

पु.बे.तेजप्रसादके यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.६०।वादी तिलप्रसादबाट भराई पाउने हुँदा कानून बमोजिम ऐनका म्याद भित्र निवेदन दिए वादी तिलप्रसादबाट भराई दिनु भनी शुरुमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...२

मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसलाले प्रतिवादीबाट वादीलाई भराई दिने गरेको कोर्टफी रु.६०।यस अदालतमा धरौटी राखेको देखिँदा सो फैसला उल्टी भएकोले कानूनबमोजिम फितापाउँ भनी निवेदन दिए प्रतिवादीलाई फिर्ता दिनु भनी शुरुमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु..३

मिसिल नियम बमोजिम गरी बुझाई दिनु...४

 

उक्त रायमा म सहमत छु ।

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल माघ १७ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु