निर्णय नं. ६७४० - शेषपछीको वकसपत्र वदर दर्ता कायम

निर्णय नं. ६७४० ने.का.प. २०५६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
संवत् २०५३ सालको दे.पु.नं. .. ३७४९
फैसला मितिः २०५५।९।१६।५
मुद्दाः शेषपछीको वकसपत्र वदर दर्ता कायम ।
पुनरावेदक
प्रतिवादीः जि.मोरंग वि.न.न.पा. वार्ड नं. १४ वस्ने दिव्य ढुंगेल समेत
विरुद्ध
प्रत्यर्थी
वादीः जि.मोरंग वि.न.न.पा. वार्ड नं. १३ वस्ने सागरदेव ढुंगेल समेत
§ विवादको मिति ०४७।११।३० को पारित लिखत शेष पछिको वकसपत्र भएको र दिनेको शेषपछि खान पाउने कुराको लिखत गरि दिएकोमा सो लिखत गरि दिनेको चित्त नवुझी वदर गर्छु भन्छ भने जहिले सुकै वदर गर्न पाउंछ भन्ने दान वकसको २ नं. ले गरेको कानूनी व्यवस्थावाट शेषपछिको वकसपत्र दिनेको मृत्यु पश्चात मात्र क्रियाशिल हुने हंदा सो लिखतबाट पाउनेको तत्काल हक पुग्ने अवस्था हुंदैन । दिन नहुने दानवकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको मितिले दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्दैन भन्ने दान वकसको ५ नं. मा उल्लेख भएको देखिंदा सो वमोजिम नालिस गर्न पाउने हक वादीको श्रृजित भई सकेको देखिन नआउने ।
(प्र.नं. १३)
पुनरावेदक प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.उदयराज उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।
२. पिता मित्रदेवको ३ पत्नीमा जेठी विपक्षी दिव्य माइली अमृता कान्छी हाम्रो मुमा रेणु भै जेठी तर्फका २ वटा छोरीमात्र भै विपक्षीहरु क्रमशः जेठी वानु माइली वेन्जु र कान्छी वुनु भएको मुमाका ३ जना छोरा हामी फिरादी र पिता मित्रदेव समेत ६ अंशियार भएको एकै ठाउमा वसी व्यवहार चल्न नसक्दा पारस्परिक सल्लाहले २०३१।३।२१ मा वण्डापत्र पारित भयो । वण्डापत्रमा लेखिएको वण्डापत्र वमोजिम र वांकी रहेको दर्ताको जग्गा घर अंश दिने पिता मित्रदेव कै नाउंमा कायम रहने शेषपछि पिता तथा माता विपक्षी समेत सवैको हामी फिरादीले पाउने विपक्षी दिव्य कुमारी समेत कुनै महतारीले निज खुस गर्न नपाउने शर्तमा वण्डा भएको हो । छोरा नभएको कारणले हिनता वोध नहोस भनी तल्काल २०३१ सालमा म सागर नावालख हुंदा मेरो अंश भाग वण्डापत्र भै विपक्षी दिव्य जिम्मामा रहने गरी वण्डापत्र भयो । पछि सावालख भएपछि म सागरले मुमा विपक्षीसंग वण्डा गराइ माग्दा पिताज्युले आफू पहिले छुटिृएको कुरा स्पष्ट वोल्नु हुंदै अरु यही विवादको जग्गा समेत थपी दिनु भै ०४४।४।२१ मा वण्डापास गरी दिनु भयो । वण्डापत्र भएको दिन कि.नं. १६० र कि.नं. १६२ सुदुर उत्तरबाट पूर्व पश्चिम वारपार ०-०-५-३ जग्गा विपक्षी दिव्यका नाउमा पास भइगएता पनि सो जग्गा पिता मित्रदेवकै अंश भागको भएको विक्री गर्नु परे ज.वि. ०-०-५-३ हाम्रो मंजुरीबाट विक्री गर्ने दिव्यले विक्री नगरे करार भएका मितिले १ वर्ष नाघेपछि ०-०-५-३ पिताले आफ्नो खुसी गर्न पाउने कदाचित दिव्यकै नाउंमा रही रहे, पिताको शेषपछि हामीले आफ्नो गराई लिन र भोग गर्न पाउने गरी विपक्षी दिव्य र हामी समेतका वीचमा करारनामा भएको थियो । सो करार मुताविक कि.न. १६०, १६२ को उत्तरबाट पूर्व पश्चिम वारपार ०-०-५-३ जग्गामा हाम्रो हक पक्का हुंदा हुंदै सो हकको हाम्रो टहरा घर नै नदेखाई प्रचलित ऐन, २०३१ सालको वण्डापत्रको वोली र ०४४ सालको पारित वण्डापत्र र वण्डापत्र भएको दिन विपक्षीहरुसंग भएको शर्त करारको विल्कुल वेवास्ता गरी विपक्षी मुमा दिव्यले आफू दिने ३ वटी छोरी विपक्षीहरु लिने भै र.नं. ५६११ मिति २०४७।११।१० मा ०-०-५-३ जग्गा शेषपछिको वकसपत्र गरी दिएको कुरा मिति २०४७।१२।११ मा मालबाट नक्कल सारी लिंदा थाहा पाएको हुंदा प्रस्तुत विवादको ०-०-५-३ तर्फ करार ऐनको दफा ४(१), १०(१), १३, १८(२)(ग) दान वकसको १।५ अपुतालीको २, ३, २० एवं स्त्री अंशधनको २, ८ नं. अन्तर्गत फिराद गर्न आएका छौ । कि.नं. १६०, १६२ को उत्तर तर्फबाट पूर्व पश्चिम वारपार ०-०-५-३ शेषपछिको वकसपत्र वदर गरी टहरा घर र जग्गाको हाम्रो हक र जग्गाको दर्ता कायम गरी पाउं भन्ने समेत व्यहोराको मिति २०४७।१२।११ गतेको फिराद पत्र ।
३. प्रतिवादी मध्ये म दिव्य कुमारीको कुनै छोराको जायजन्म नभएको ३ वटी छोरीको जायजन्म भएको वादी सागर र शेखर कान्छी सौतेनी रेणुको कोखबाट जन्मेका हुन । वादीहरुलाई वालककालदेखि पालनपोषण मैले गरेको थिएं । पति मित्रदेवले २०३१।३।१५ मा लिखत खडा गरी ०३१।३।२१ मा र.नं. ५७५४ मा रजिष्ट्रेशन पारित गरी वण्डापत्र भएको थियो । वादी मध्ये सागरदेवको अंशभाग निज नावालक हुंदा मेरो जिम्मामा रहेको थियो । ०४४।४।२१ मा वादी सागरदेव र मेरो वीचमा अंशवण्डा भै विवादित जग्गा मेरो भागमा परेको र पतिबाट पाएको अंशभाग मैलै आफूखुस गर्न पाउने हुंदा मैले ३ वटी छोरीहरुलाई शेषपछिको वकसपत्र पारित गरि दिएको हुं । अरु जग्गा वादीहरुको हक लाग्ने होइन । वादीसंग प्रतिवादी दिव्य ढुंगेलको रीतपूर्वकको वण्डापत्र पारित भई आफ्नो अंशभागमा परेको आफ्नो खुस गर्न पाउने दान बकसको १ नं. ले हामी वेन्जुवाला र वुनुवाला र वानुवालालाई शेषपछिको वकसपत्र गरी दिएको हुंदा हाम्रो शेषपछिको हकभोग अधिकारबाट वादी वन्चित नहुने हुंदा वादी दावी खारेज गरी पाउं भन्ने समेत व्यहोराको दिव्य ढुंगेल, वेन्जुवाला ढुंगेल, वुनुवाला ढुंगेलको संयुक्त प्रतिउत्तर पत्र ।
४. रीतपूर्वकको अंशवण्डा लिखत रजिष्ट्रेशन पारित भई प्रत्येक अंशियारले आ आफ्नो अंश लिई वेगल रही वसि आफूखुस गर्न पाउने सम्पत्ति मध्ये ०-१-११-३.१/२ जग्गा हामी ३ वटी छोरीलाई शेषपछिको वकसपत्र गरी दिनु भएकोले समेत स्त्री अंश धनको ऐनले पनि त्यस्तो व्यवहारलाई गैरकानूनी मान्न नमिल्ने हुंदा हामीले रीतपूर्वक पाएको शेषपछिको वकसपत्र पूर्ववत सदर कायम राखी वादीको फिराद दावाबाट फुर्सद गरी पाउं भन्ने समेत व्यहोर।को प्रतिवादी वानुवाला भटृराईको प्रतिउत्तर पत्र ।
५. आदेशानुसार वादीका साक्षी गणेश प्रसाद ढकाल, हेमराज चापागाई प्रतिवादीका साक्षी शिरोमणी भटृराई, इन्दिरा प्रसाईको वकपत्र भई मिसिल सामेल रहेको ।
६. मिति २०४४।४।२१ को करारनामालाई हेर्दा सो कागजको अन्तमा विवादीत ०-०-५-३ को जग्गालाई कथम कदाचित मेरो नाममा रही रहेमा पति मित्रदेवको शेषपछि छोरा सागरदेव र शेखरदेवले आफ्ना नाममा गराई भोग चलन गर्न पाउने छन भन्ने उल्लेख भएकोले मित्रदेवको मृत्युसम्म सो जग्गा दिव्यको नाममा रहेमा वादीहरुले आफ्नो नाममा गराउन पाउने देखिन्छ र मित्रदेवको ०४६।७।८ मा मृत्यु भएको देखिनाले सो लिखतलाई करार मान्ने हो भने पनि सो मितिबाट करार ऐनको म्याद भित्र फिराद परेको नदेखिंदा सो करारको अस्तित्व समाप्त भएको सो विवादित जग्गालाई वावु मरि अपुतालीको भन्न नमिल्ने र विवादित जग्गा शेषपछिको वकसपत्र भै पाउनेको हक स्थापित भैनसकेकोले दानवकसको ५ नं. को हदम्याद शुरु नभएको हुंदा मिति २०४७।११।१० को शेषपछिको वकसपत्र वदर गराई पाउं भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको मोरंग जिल्ला अदालतको फैसला
७. शुरु जिल्ला अदालतले गरेको फैसलामा अ.वं. ७८, १८४(क) नं. को त्रुटि भएको शर्त करारनामामा मिति उल्लेख नभएको अवस्था करार ऐन, २०२३ को दफा १८(२)(ख) मा मुद्दा गर्नु पर्ने कारण परेको मितिले ३ महिना भित्र फिराद गर्नुपर्ने भन्ने व्यवस्था भएकोमा शुरुले सो दफा १८(२)(ख) को गलत व्याख्या गरी गरेको फैसला त्रुटिपूर्ण हुन गएको, दान वकसको १ नं. र स्त्री अंशधनको १, २ नं. समेतको कानूनी व्याख्याको त्रुटि हुन गएको हुंदा शुरुको फैसला वदर गरी प्रमाण कागजको विवेचना गरी फिराद दावी वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र ।
८. यसमा दावीको कित्ताहरुको सम्वन्धमा प्रत्यर्थी प्रतिवादीले पिताको मृत्यु पश्चात छोराहरुको नाउंमा जाने भन्ने शर्त वन्देजमा रही मिति २०४४।४। मा कागज गरेको परिप्रेक्ष्यमा शुरुको फैसला विचारणीय हुंदा प्रत्यर्थीलाई छलफलको लागि झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको आदेश ।
९. प्र.दिव्य ढुंगेलले आफूले शर्त कवुल गरेको दावीको ०-०-५-३ जग्गा वांकि राखी आफूखुश गर्न पाउने जग्गासम्म लिखत गरिदिनु पर्नेमा सो नगरी कि.नं. १६०।१६२ को ससिमै जग्गा प्रतिवादी वेन्जुवाला वानुवाला र वुनुलाई शेषपछिको वकसपत्र गरिदिएको मिलेको नदेखिंदा सो हदसम्मको लिखत वदर गर्नु पर्नेमा शुरुले वादी दावी नपुग्ने ठहर गरेको इन्साफ केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको फैसला ।
१०. म दिव्या ढुंगेलले पतिबाट अंश पाएको सम्पत्तिमा मेरो नैसर्गिक हक स्थापित छ। त्यस्तो मेरो हकको सम्पत्ति मैले आफूखुस गर्न पाउने मेरो कानूनी अधिकारलाई घरसारको त्यो पनि कानूनी अस्तित्वविहिन कागजले रोक लगाउन नसक्ने हुंदा मैले ०-०-५-३ जग्गा वांकी राख्नु पर्ने कुनै प्रयोजन नै छैन । साथै आमा दिव्याले गरि दिएको शेषपछिको वकसपत्रले हामी वानुवाला वुनुवाला वेन्जुवालाको हक पुगेको छैन । दानवकसको ५ नं. ले पाउनेको हक पुगेपछि मात्र नालेश गर्न पाउनेमा म दिव्या जिवित छंदै पाउनेको हकै नपुगी सो लिखत वदर गराउन नालिश लाग्नै नसक्ने दायर भएपनि खारेज हुनुपर्ने त्यसबाट इन्साफ गर्न नमिल्नेमा सो को विपरित सो वकसपत्र वदर गर्ने गरेको पु.वे.अ. विराटनगरको फैसलामा उक्त दान वकसको ५ नं. को प्रत्यक्ष त्रुटि विद्यमान हुंदा पु.वेअ. विराटनगरको फैसला वदर गरी शुरु मोरंग जिल्ला अदालतको फैसला कायम राखी पाउं भन्ने समेत व्यहोराको पुनरावेदन ।
११. शेषपछिको वकसपत्र वकस दिनेको शेषपछि मात्र क्रियाशील हुने सो अगावै वकस दिनेले वदर गराउन सक्ने कानूनी व्यवस्था भएको साथै रजिष्ट्रेशन पास नभएको घरायसी कागजले पारित वण्डापत्रलाई नियन्त्रण गर्छ भन्न नमिल्ने हुंदा समेत पुनरावेदन अदालत विराटनगरले गरेको फैसला फरक पर्ने देखिंदा विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।
१२. नियम वमोजिम पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारीले विवादित जग्गा मेरा पक्ष दिव्य ढुंगेलले आफ्नो पतिबाट अंश भागमा पाएको र अंशवण्डामा पाएको जग्गा आफ्नो छोरीहरुलाई शेषपछिको वकसपत्र दिएको अवस्था छ । ०४४ श्रावणको मेरा पक्षसंग गराइएको कागज कानून संगत छैन । अंश हक शर्त हुन सक्दैन । यदि शशर्त मान्ने नै हो र उक्त कागजलाई करार नै मान्ने हो भने पनि वादीका पिता तथा मेरा पक्ष मध्ये दिव्याका पतिको मृत्यु भएपछि ऐनको म्याद तीन महिना भित्र नालिश आउनु पर्ने थियो सो पनि भएको छैन । शेषपछिको वकसपत्र दिने व्यक्ति जीवित छंदा छंदै वकसपत्र पाउनेको हक नै श्रृजना समेत नभएको अवस्थामा तेश्रो पक्षबाट प्रस्तुत फिराद पर्न आएको स्थिति छ । यस्तो अवस्था हुंदा हुंदै पु.वे.अ. बाट वादी दावी वमोजिम शेषपछिको वकसपत्र वदर गर्ने गरी भएको फैसला कानून सम्मत नहुंदा वदर गरी शुरु जि.अ.को फैसला सदर कायम राखी पाउं भन्ने समेतको जिकिर लिई गर्नु भएको वहस समेत सुनी मिसिल संलग्न कागज प्रमाण हेर्दा यसमा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन सो मा नै निर्णय दिनु पर्ने हुन आयो ।
१३. निर्णय तर्फ विचार गर्दा यसमा मित्रदेवको समेत सहिछाप परेको दिव्य ढूेंगेलले मेरै नाममा नै रही रहेको पति मित्रदेवको शेषपछि छोरा सागरदेव शेखर देवले आफ्नो नाममा गराई भोग चलन गर्ने छन भन्ने उल्लेख भएको शर्तनामाको कागज ०४४ साल श्रावणको भएको सो कागजमा गते नखुलेकोले १ गते कै मान्दा पनि सो पछि मिति २०४४।४।२१ मा दिव्य ढुंगेल र सागरदेवको वीच वण्डापत्र भई पारित भएको देखिंदा घरसारको उक्त २०४४ साल श्रावणको शर्तनामाको कागजले पारित वण्डापत्रलाई नियन्त्रण गर्ने स्थिति नदेखिंदा वण्डापत्रले नै मान्यता प्राप्त गर्ने देखिन्छ । विवादको मिति ०४७।११।३० को पारित लिखत शेष पछिको वकसपत्र भएको र दिनेको शेषपछि खान पाउने कुराको लिखत गरि दिएकोमा सो लिखत गरि दिनेको चित्त नवुझी वदर गर्छु भन्छ भने जहिले सुकै वदर गर्न पाउंछ भन्ने दान वकसको २ नं. ले गरेको कानूनी व्यवस्थावाट शेषपछिको वकसपत्र दिनेको मृत्यु पश्चात मात्र क्रियाशिल हुने हंदा सो लिखतबाट पाउनेको तत्काल हक पुग्ने अवस्था हुंदैन । दिन नहुने दानवकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको मितिले दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्दैन भन्ने दान वकसको ५ नं. मा उल्लेख भएको देखिंदा सो वमोजिम नालिस गर्न पाउने हक वादीको श्रृजित भई सकेको देखिन आउंदैन । तसर्थ वादी दावी नपुग्ने ठहर्याएको शुरु मोरङ जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको फैसला नमिलेकोले उल्टी हुन्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए अनुसार वादी दावी नपुग्ने ठहर्याएको शुरु मोरङ जिल्ला अदालतको इन्साफ मनासिव ठहरी लिखत वदर हुने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको फैसला नमिली उल्टी भएकोले पुनरावेदन अदालत विराटनगरको फैसलाका तपसिल खण्डको दफा १ र २ कायम नरहने हुंदा सो को दफा १ को हकमा कार्यान्वयन नगर्न मा.पो.का. मोरङमा र दफा २ को हकमा सो को लगत कटृा गरी दिनु भनी शुरु मोरङ जिल्ला अदालतमा लेखि पठाई दिनु ................ १
मिसिल नियमानुसार गरी वुझाई दिनु .... २
उक्त रायमा म सहमत छु ।
न्या.हरिप्रसाद शर्मा
इति संवत २०५५ साल पौष १६ गते रोज ५ शुभम