निर्णय नं. २६२५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २६२५ ने.का.प. २०४३ अङ्क - २
डिभिजनबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४२ सालको रिट नम्बर १४१६
आदेश भएको मिति : २०४३।२।८।५ मा
निवेदक : सर्लाही, मलगंवा गा.पं.वडा नं.७ बस्ने जयकरण राय यादव
विरुद्ध
प्रत्यर्थी : सर्लाही मलगंवा गा.पं.वडा नं.८ बस्ने बद्रीमाया जोशीनीसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) प्रतिवाद गर्ने मौका नै नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई कानुनी त्रुटिपूर्ण देखिन आयो ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी
प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री मोहनमणि दाहाल र विद्वान अधिवक्ता श्री कमलनारायण दास
आदेश
प्र.न्या.धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय सर्लाहीको मिति २०४१।७।२९ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ ।
२. मेरो नम्बरी दर्ताको सर्लाही जिल्ला विष्णुपुर गा.पं.वडा नं.६ कि.नं. ६ कि.नं.२४ को ज.वि.०–१४–१५।। जग्गाको विपक्षीहरूको लोग्ने बाबु राम चलितर राय यादव मोही हुनु हुन्थ्यो । निज परलोक भए पश्चात विपक्षीहरूले नै मोही भई कमाई आएका छन् । २०४० सालको कूत बाली नबुझाएकोले कूत दिलाई भराई मोहिबाट निष्कासन गरिपाउँ भन्ने समेत बद्रीमाया जोशीले निवेदन २०४०।१२।११ मा दर्ता गराए छन् । प्रत्यर्थी भू.सु.का.ले मलाई प्रतिरक्षा गर्ने अवसर प्रदान नगरी मोही निष्कासन हुने ठहर्छ । कूत नबुझाउने गरी भू.सु.का.सर्लाहीबाट २०४१।७।२९।४ मा निर्णय भएको रहेछ ।
३. मैले कुनै म्याद बुझेको छैन मेरो नाममा म्यादै जारी नभएको हुँदा मैले प्रतिरक्षा गर्ने अवसर प्राप्त नगरेको हुँदा प्राकृतिक न्याय सिद्धान्तको ठाडो उल्लघंन भएको छ । २०३८।२०३९ सालको बाली दोहोरो मारमा परेर भए पनि २०४०।११।१ मा सर्लाही जिल्ला अदालतमा धरौट दाखिल गरेको छु । अतः प्रत्यर्थीले उक्त आधार बुँदाबाट भएको निर्णय मिथ्यापूर्ण भई प्रमाण ऐनको दफा ३।५४ एवं अं.ब.१८४(क) १८५ र १८९ समेतको उल्लंघन भएको छ । उक्त जग्गाको म मोही हुँ भन्ने कुरा निर्विवाद छ । २०४० सालको बाली बुझाई सकेको छु । म निवेदकलाई प्रतिरक्षा गर्ने अवसरबाट बञ्चित गरिएको निर्णय न्यायिक मनको अभावग्रस्त भई भू.सं.ऐनको दफा २९(१) को अवहेलना भएको छ । साथै भू.सं.ऐन, २०२१ को दफा २६(१) को समेत प्रत्यक्ष उल्लघंन भएको छ । उत्प्रेषणको वा अन्य आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रत्यर्थी भू.सु.का.को उक्त निर्णय कारवाही बदर गरिपाउँ भन्ने समेत निवेदनपत्र ।
४. विपक्षीसंग लिखितजवाफ लिई आएपछि पेश गर्नु भन्ने समेत सिंगलबेञ्चको मिति २०४२।४।२७ को आदेश ।
५. निवेदकको नाममा मोही हक दर्ता भएको सबूद दिन सक्नु भएको छैन । रिट निवेदन गर्ने हकदैया छैन । रिट निवेदन अनुपी देवीको एकासगोलको छोरा भएको कुरामा विवाद छैन । अनुपी देवीले म्याद बुझी प्रतिवाद नगरी बसेको हुनाले निवेदकलाई विदित भएन भन्ने झुठ्ठा हो । अनुचित विलम्बबाट खारेज हुनु पर्दछ भन्ने समेत बद्री माया जोशीको लिखितजवाफ ।
६. निवेदकको स्व.बाबु मोही पश्चात मोहिकी श्रीमती अनुपी देवीले आफ्नै हातबाट म्याद बुझी प्रतिवाद नगरी वादी दावी स्वीकार गरेको र कूत बुझाई नआएको देखिएकोले मोही निष्कासन गर्ने गरेको निर्णयबाट कुनै हक हनन् नभएकोले रिट निवेदन खारेज हुनु पर्दछ भन्ने भू.सु.अधिकारी भू.सु.का. सर्लाहीको लिखितजवाफ ।
७. निवेदकतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारीले रिट निवेदक समेतलाई विपक्षी बनाई उजुर परेपछि रिट निवेदकलाई म्याद दिई प्रतिवाद गराई निर्णय गर्नुपर्ने हुन्छ । तर निवेदकलाई म्याद जारी नै नगरी प्रतिवाद नगराई गरेको भू.सु.का.सर्लाहीको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत हुँदा बदरभागी छ, भन्ने समेत र प्रत्यर्थी कार्यालय तर्फबाट बहस गर्न उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री मोहनमणि दाहालले रिट निवेदकलाई म्याद दिएको छैन । तर निजको आमालाई म्याद दिएकोमा गुजारी बसेकोले निवेदकलाई नबुझेको भन्न मिल्दैन । रिट खारेज हुनु पर्दछ भन्ने र प्रत्यर्थी जग्गाधनी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कमल नारायण दासले रिट निवेदकका नाममा मोही हक स्थापित भएकै छैन । तसर्थ रिट निवेदन दिने हकदैया नहुँदा खारेज हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।
८. प्रस्तुत रिट निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा रिट निवेदक र अनुपीदेवी यादवनीलाई विपक्षी बनाई प्रत्यर्थी बद्रीमायाले उजूर गरेकोमा विपक्षीले म्याद बुझी लिई प्रतिवाद नगरी गुजारी बसेकोले मोही निष्कासन हुने ठहर्छ । कूत नबुझाउने गरी प्रत्यर्थी भू.सु.कार्यालय सर्लाहीबाट मिति २०४१।७।२९ मा निर्णय गरेको देखिन्छ ।
१०. का.मु. सहन्यायाधिवक्ताले बेञ्च समक्ष देखाएको मिसिलबाट अनुपीदेवीलाई म्याद जारी गरेको तर रिट निवेदकका नाममा म्याद जारी भएको देखिँदैन । सो म्याद जारी नभएको कुरा का.मु. सहन्यायाधिवक्ताले पनि स्वीकार गर्नुभएको छ । त्यसरी विपक्षी बनाइएका रिट निवेदकलाई म्याद जारी नै नगरी प्रतिवाद गर्ने मौका नै नदिई रिट निवेदकको हकमा गरेको प्रत्यर्थी भू.सु.कार्यालय सर्लाहीको मिति २०४१।७।२९ को निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई कानुनी त्रुटिपूर्ण देखिन आयो ।
११. अतः उपरोक्त उल्लेख भए अनुसार रिट निवेदकको हकमा सम्म गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय सर्लाहीको मिति २०४१।७।२९ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाममा परमादेशको आदेश जारी गरिएको छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४३ साल ज्येष्ठ ८ गते रोज ५ शुभम् ।