निर्णय नं. ३६६३ - डाँका

निर्णय नं. ३६६३ ने.का.प. २०४५ अङ्क १२
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायायाधीश श्री हिरण्येश्वरमान प्रधान
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको फौ.पूर्ण इजलास नम्बर ३३।२७
सम्वत् २०४४ सालको फौ.पू.ई.नम्बर २३
फैसला भएको मिति : २०४५।१२।१।३ मा
निवेदक/प्रतिवादी : जि.पर्सा रामगढवा सिर्सिया गा.पं.वडा नं.६ बस्ने राजेश्वर दुवे बाहुनसमेत
विरुद्ध
विपक्षी/वादी : गेना राउत कुर्मीको जाहेरीले श्री ५ को सरकार
मुद्दा : डाँका
(१) सबूद प्रमाण अनुसार इन्साफ हुँदा चारजना भन्दा कम प्रतिवादीहरुले डाँका अपराध गरेको ठहर हुन सक्छ तर चार जना भन्दा बढी प्रतिवादीरुले डाँका गरेको ठहर हुन नै पर्छ अन्यथा डाँका वारदात कायम हुन नसक्ने भन्ने कानूनसंगत नहुने ।
(प्रकरण नं. ३३)
(२) साक्षीहरुको बकपत्रहरु एकरुपता नभएको त्यस्तो बकपत्रलाई आधार मान्न नमिल्ने ।
(प्रकरण नं. ३३)
निवेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विद्वान अधिवक्ता श्री सुरेन्द्रप्रसाद उपाध्याय
विपक्षी/वादीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा वृहत बेञ्चबाट मुद्दा दोहराई पाउँ भनी प्रतिवादी राजेश्वर दुवे बाहुन र जग्गु राउत अहिरले चढाएको विन्तिपत्रमा पूर्ण इजलासबाट दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने र हमीद मियाँले चढाएको विन्तिपत्रमा कुनै प्रतिवादीतर्फको विन्तिपत्रमा मुद्दा दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने प्रमांगी बक्स भई त्यस अदालतको पूर्ण इजलास समक्ष विचाराधीन रहेछ भने विन्तिपत्रवालाको हकमा पनि एकैसाथ राखी मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ जाँची कानून बमोजिम निर्णय गरी दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४३।४।२९, २०४३।९।९ र मिति २०४४।२।११ मा तोक लागी आए अनुसार यस इजलासको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :
२. २०३० साल भाद्र १८ गतेको रात करीव १ बजे २०–२२ जना डाँकाहरुले डाँका वारदात गरी बाबु इन्द्रजीतलाई कुटपिट गरी सख्त घाइते पारी दिएको मेरै गाउँको रामचन्द्रले खबर गरेकोले म तुरुन्त आई बाबुसंग कुराकानी हुँदा उक्त डाँकुहरु मध्ये मेरै गाउँ वडा नं. ८ बस्ने जुमराती देवान १, ऐ. वडा नं. ७ बस्ने शिवचन राउत १, ऐ. वडा नं. १ बस्ने राजेश्वर दुवे बाहुन १, ऐ. बस्ने जग्गु राउत १ समेतका डाँकाहरुले बिगो रु. १३,७६२।७५ को धनमाल लगेकोले कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्तपत्र ।
३. उजूरी बमोजिम म समेत भई डाँका वारदात गर्न गएको होइन, छैन भन्ने समेत प्रतिवादी जुमरातीको बयान कागज ।
४. मिति २०३०।५।१८ गतेको मेरो घरमा दर्खास्त बमोजिम जुमराती देवान १, शिवचन राउत १, जग्गु राउत १, राजेश्वर दुवे १ समेतलाई र पर्सा अलौ बस्ने हमीद मियाँ १, राम गढवा बस्ने सीताराम राउत अहिर १, ईसरायल देवान १, रामलखन उपाध्याय १, झमन राउत १, जुगल किशोर १ समेत जना १० लाई उक्त डाँका वारदातमा चिन्हेको हुँ भन्ने समेत व्यहोराको इन्द्रजीत राउतको कागज ।
५. उजूरवालाको बाबु इन्द्रजीतको बयान बमोजिम म समेत भई निजको घरमा डाँका वारदात गर्न गएको होइन छैन । झै झगडा र चुनाव सम्बन्धीको रीसइवीबाट म समेतका उपर झुठ्ठा उजूर गरेका हुन् भन्ने समेत व्यहोराको जुगल किशोर १, झमन राउत १ समेतको बयान कागज ।
६. उक्त प्रतिवादीहरुलाई मौकैमा डाँकाहरुले नै परस्पर बालेको टर्च वत्तिले चिन्हेको हुँ भन्ने समेत व्यहोराको र प्रतिवादीहरु मध्येको हमीद मियाँ बाहेकको जुगल किशोर समेतको उपर रीसइवीले यो झुठ्ठा उजूर गरेका हुन् निजहरुले डकैती गरे गराएको होइन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
७. गेना राउत कुर्मीको उजूर दर्खास्तमा डाँकाहरु मध्ये जुमराती देवान १, शिवचन राउत १, राजेश्वर दुवे १, जग्गु राउत अहिर १ समेतलाई चिन्हेको कुरा बताएको हुँदा दर्खास्त गरेको छु, भन्ने गेना राउतको जाहेरी दर्खास्त भएको र जुमराती देवान, शिवचन राउत, राजेश्वर दुवे, जग्गु राउत अहिर समेतको जना ४ को बाहेक इसराइल देवान, जुगल किशोर, सीता राउत, रामलगन उपाध्याय, हमीद मियाँ, झमन राउत समेत जना १० लाई मैले चिन्हेको हुँ भन्ने इन्द्रजीतको बयान भएको प्रतिवादी जुगल किशोर, झमन राउत प्रतिवादी सीता राउत १ को उपर रीसइवीको जरियाबाट उजूरी दर्खास्त दिएका हुन भनी लेखाई दिएका र गेना राउतको उजूरी दर्खास्त पनि प्रतिवादी जुगल किशोर १, झमन राउत १, सीता राउतको नाम उल्लेख नभएको हुँदा पक्राउमा परेका प्रतिवादी जुगल किशोर, झमन राउत र पक्राउमा नपरेका प्रतिवादी सीता राउत १, शिवचन राउत १ को उपर मुद्दा चलाउन सबूद नपुगेको हुँदा मुद्दा नचलाउने ।
८. पक्राउमा परेका जुमराती देवान कसूरमा इन्कार भए तापनि जुमराती देवान १, पक्राउमा नपरेको जग्गु राउत अहिर र राजेश्वर दुवे १ लाई चिनेको हुँ भनी सरजमीनका अधिकाँश व्यक्तिले लेखाई दिएको र पक्राउमा नपरेका इसरायल मियाँ, हमीद मियाँ, रामलगन उपाध्यायलाई चिन्हेको हुँ र प्रतिवादी रामलगन उपाध्याय १ को हातमा बन्दूक लिएको मौकामा देखे चिनेको हुँ भनी सरजमीनका अधिकांश व्यक्तिले लेखाई दिएको प्रतिवादी रामलगन उपाध्याय पहिले पनि डाँकामा सजायँ पाएको गैना राउतको निवेदनबाट देखिएको र प्रतिवादी इसरायल १, जुमराती देवान १ पनि पहिले डाँका मुद्दामा परेको भन्ने समेत संकलित सबूद प्रमाणको आधारबाट विरुद्ध महलमा लेखिएको प्रतिवादी जुमराती १, इसरायल देवान १, रामलगन उपाध्याय, हमीद मियाँ, जग्गु राउत १, राजेश्वर दुवे १ समेत भई बिगो रु. १३,७६२।७५ को धनमाल डाँका गरी लगेको प्रमाणित हुन आएकोले निजहरु उपर मुलुकी ऐन चोरीको ६ नं बमोजिम अपराध गरेमा ऐ. को १४ नं. को देहाय ४ बमोजिम कारवाही भई सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको स.स.अ. तथा स.स.अ. को संयुक्त प्रहरी प्रतिवेदन भएको ।
९. जाहेरवालाको बाबु इन्द्रजीत पहिले प्रधानपञ्च थिए, अरु प्रधानपञ्च खडा गरी निर्वाचनमा विजय गराएको रीसइवीले झुठ्ठा पोल गरेका हुन् निजको घरमा मैले डाँका गरेको छैन भन्ने समेत प्रतिवादी जुमरातीको बयान । वारदातको रातमा म हरपुरमा हुँदा मैले डाँका गरेको छैन भन्ने समेत राजेश्वरको बयान ।
१०. वारदातको रातभर मेरै गाउँको विश्वराज बहादुर र मोतीलाल पटहेरीसंग साथमा रही अलौको रामचन्द्रको द्वारमा नाच हेरी रहेको थिएँ, उक्त रात म कही गएको थिएन । इन्द्रजीत राउतसंग सुगौली बजारमा भाद्र महिना ११ गतेका दिन मासुको झै झगडाको रीसइवीले पोल गरेका हुन् मैले चोरी डाँका गर्न गएको छैन, भन्ने समेत व्यहोराको प्रतिवादी हमीद मियाँको बयान ।
११. मिति २०३०।५।१६ गते म मेरो मामाको घर फुलकोलमा गएको अं. ५–६ दिनपछि मात्र फर्केको हुँ डाँका वारदातको दिन म आफ्नो घरमा छैन चुनावको सम्बन्धमा म प्रचार गर्दिन भनी भनेको रीसइवीले पोल गरेका हुन् मैले चोरी डाँका गर्न गएको छैन, भन्ने समेत व्यहोराको प्रतिवादी जग्गु राउत अहिरको बयान ।
१२. मिति २०३०।५।१६ गते नै म मेरो बहिनीको घर जिल्ला वारा टेदी कटी गाउँमा गई ऐ. २१ गते फर्केको हुँ डाँका वारदातका दिन म घरमा छैन लालमन कुर्मी, रामबालक, रामचन्द्र कुर्मी समेत सरजमीनमा दर्खास्तवालाको ७ पुस्ता भित्रको बाबु भाइ भएको झुठ्ठा व्यहोरा लेखाई दिएको छन् म डाँका गर्न गएको होइन, छैन भन्ने समेत व्यहोराको प्रतिवादी इसरायल मियाँको बयान ।
१३. प्रतिवादी रामलगन उपाध्यायका नाममा जारी भएको म्याद मिति २०३०।११।६।१ मा तामेल भई सोको म्यादमा उपस्थित नभई शुरु म्यादै गुजारी बसेको थमाएको र थमाई ल्याएको समेत मिसिलबाट नदेखिएको ।
१४. बाबु इन्द्रजीतसंग बुझ्दा मिति २०३०।५।१८ गते गाउँकै जुमराती १, शिवचन कुर्मी रामगढवा बस्ने १, ऐ. बस्ने वहुअरीको राजेश्वर दुवे १, जग्गु अहिर १, समेत जवान ४ को नाम लिनु भो बिगो रु. १३,७६२।७५ को धनमाल डाँका गरी लगे भन्ने समेत व्यहोराको वादी पक्षको गवाह गेना राउतको बकपत्र ।
१५. प्रतिवादी राजेश्वर दुवेको साक्षी हरि चौधरी थारु १, ग्रहन हजारा दुसाद, महजरा महतो धानुक १, बालदेव राउत १, भन्सी राउत १, मंगल राउत १, प्रतिवादी जुमरातीको साक्षी वृक्षा राउत कुर्मी १, भरत सा कलवार १, देवनारायण कलवार १, चौकी सा कलवार १, राजदेव राउत १, प्र.पंच मदनप्रसाद १, हुसेन मियाँ अन्सारी १, प्रतिवादी हमीद मियाँको साक्षी मोतिलाल पटेरा १, अलिराज मियाँ १, विश्वराज बहादुर १, प्रतिवादी जग्गु राउतको साक्षी दरोगा राउत १, मंगल राउत अहिर १, हिरासा कलवार १, प्रतिवादी इसरायल मियाँको साक्षी दोस महमद देवान १, महमद जलिल मियाँ १, बद्री देवान फकिर १ समेतको बकपत्र ।
१६. प्रस्तुत मुद्दामा शुरु म्यादै गुजारी बसेको प्रतिवादी रामलगन उपाध्यायको हकमा मुलतवी राख्ने निज हाजिर भए वा फेला परेका बखत ठहरे बमोजिम गर्ने गरी अरु प्रतिवादीहरुले जाहेरीमा लेखिए बमोजिम डाँका गरे नगरेको निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरुले पर्सा जिल्ला अदालतमा बयान गर्दा प्रतिवादी जुमरातीले मैले जाहेरवालाको घरमा डाँका गरेको होइन र प्रतिवादी राजेश्वर दुवे ब्राम्हाणले वारदातको रातमा म हरपुर हुँदा मैले डाँकामा सम्मिलित भई डकैती गरे भन्ने कुराको प्रश्न नै उठ्दैन मैले डकैती गरेको होइन छैन र प्रतिवादी हमीद मियाँ शेषको बयानमा मैले चोरी डाँका गर्न गएको छैन र जग्गु अहिले दर्खास्तवाला गैना राउतको बाबु इन्द्रजीत प्रधानपञ्चमा उठेको र मेरो प्रचार गर भनी भनेका थिए मैले प्रचार गर्दिन भनी भन्दा म संग रिसाई रहेका थिए सोही रीसइवीबाट झुठ्ठा पोल गराएका हुनु पर्दछ म डाँका गर्न गएको होइन भनी बयान गरेको । प्रतिवादी इसरायल देवानको बयानमा इन्द्रजीत राउत प्रधानपञ्चमा उठेको र मलाई प्रचार गरी देउ भनेका र मैले दर्खास्तवालाको प्रचार नगरी प्रतिद्वन्दी मदनप्रसादको प्रचार गरेकोले सोही रीसइवीबाट झुठ्ठा पोल गराएको हो भन्ने समेत बयान गरेको पाइन्छ । साथै निज प्रतिवादीहरुको साक्षीहरुले पनि यी प्रतिवादीहरुले डाँका गरेको होइन छैन भनी बकपत्र गरेकोबाट यिनै प्रतिवादीहरुले डाँका गरे भनी विना पर्याप्त सबूद प्रमाण ठहराउन न्यायोचित नहुने हुँदा साथै वादी पक्षबाट जाहेरवालाको घरमा प्रतिवादीहरुले डाँका गरे भनी कुनै पनि सबूद प्रमाण दिन गुजार्न नसकेको देखिएकोले वादी दावी पुग्न नसक्ने हुँदा वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको फैसला ।
१७. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदनपत्र ।
१८. अभियुक्त मध्येको इसरायल जमुनी समेतलाई चिने भन्ने विक्रम ठाकुर लोहार, जंगली राउत कुर्मी समेत सरजमीनका व्यक्तिहरुलाई अदालतबाट झिकाई कानून बमोजिम निजहरुको बयान गराई मिसिल पठाउनु भनी मिसिल शुरु पर्सा जिल्ला अदालतमा पठाई उक्त लेखिए बमोजिम बुझी आएपछि नियम बमोजिम पेश गर्नु भन्ने मिति २०३४।३।२०।२ को मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको आदेश ।
१९. लालमन कुर्मी १, रामचन्द्र राउत कुर्मी १, कैलास राउत कुर्मी १, रामअयोध्या राउत कुर्मी १, देवनन्दन राउत कुर्मी १, रामवालक राउत कुर्मी १, चौकत राउत कुर्मी १, जंगली राउत कुर्मी १, इन्द्रजीत राउत कुर्मी १ समेतको बकपत्र ।
२०. अदालतमा बुझिएका सरजमीनका व्यक्तिहरु लालमन राउत कुर्मी, रामचन्द्र राउत कुर्मी, कैलाश राउत, रामअयोध्या राउत, देवनन्दन राउत, राम बालक राउत, चौका राउत र जंगली राउत कुर्मीले प्रतिवादीहरु राजेश्वर दुवे, जग्गु, जुमराती देवान इसराइल देवान, हमीद मियाँ समेतलाई वारदातका अवस्थामा पहिचान गरेको भनी बयान गरी दिएको देखिँदा उपरोक्त प्रतिवादीहरुलाई सफाई दिएको पर्सा जिल्ला अदालतको इन्साफ नमिलेको हुँदा अ.बं. २०२ नं. र क्षेत्रीय अदालत नियमावली बमोजिम उक्त माथि लेखिएका प्रतिवादीहरुलाई झिकाई नियम बमोजिम गरी पेश गर्नु भन्ने मिति २०३५।४।२३।५ को मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको आदेश ।
२१. यसमा राजेश्वरले चक्कुले मलाई पेटमा रोपी चिरी दिएको भनी घाइते हुने इन्द्रजीत र जाहेरी दर्खास्तमा उल्लेख भएको प्रेमप्रसादलाई अदालतले बुझेको नदेखिँदा कानून बमोजिम बुझी पुरानो मुद्दा हुँदा १ महिना भित्र कार्य सम्पन्न गरी पठाउनु भनी यो मिसिल पर्सा जिल्ला अदालतमा पठाई कार्य सम्पन्न भई आएपछि कानून बमोजिम पेश गर्नु यो आदेशको जनाउ महान्यायाधिवक्ताको कार्यालयलाई दिनु भन्ने मिति २०३५।११।२३।४ को मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको आदेश रहेछ ।
२२. गवाह प्रेमप्रसाद कुर्मीको बकपत्र ।
२३. अभियुक्तहरुले प्रहरी प्रतिवेदन दावी अनुसार डाँका वारदात गरेकै देखिन ठहर्न आउँछ । सफाई दिने गरेको जिल्ला अदालतको इन्साफ उल्टी हुने ठहर्छ । तपसील बमोजिम गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको मिति २०३६।२।२८ गतेको फैसला ।
२४. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट किनारा भएको डाँका मुद्दाको मिसिल झिकी इन्साफ जाँची कानून बमोजिम छिनी दिनु भनी बक्स भई यस मुद्दा शाखामा दर्ता हुन आएको रहेछ ।
२५. प्रतिवादीहरुले डाँका गरेको भन्ने प्रमाण पुर्याउने अभिभारा वादी पक्षको हुने भन्ने कुरामा दुइमत हुन सक्दैन । जाहेरवालाको, निजको बाबु इन्द्रजीतको भनाई अनुसार जाहेरी दिएकोमा ४ जनालाई किटानी पोलेको छ तर इन्द्रजीतले १० जनालाई चिन्हे भनी बयान गरेको चस्मदिद देख्ने भनेको लालमन समेतको भनाई प्रहरीमा र अदालतमा गरेको बयान मिलान छैन । तसर्थ प्रतिवादीहरुलाई क्षेत्रीय अदालतले दोषी ठहराएको इन्साफ मिलेको नहुँदा अ.बं २०२ नं. बमोजिम सरकारी अधिवक्तालाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने श्री सर्वोच्च अदालतको मिति २०४०।१।१३।३ को आदेश ।
२६. प्रतिवादीहरु राजेश्वर दुवे र जग्गु अहिरले डाँका गरेको र प्रतिवादीहरु जुमराती र इसराइलले सफाई पाउने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय र यी चारै जना प्रतिवादीहरु राजेश्वर दुवे, जग्गु अहिर, जुमराती र इसराइलले डाँका गरेको ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई डिभिजन बेञ्चबाट राय बाझी फैसला भएको रहेछ ।
२७. प्रस्तुत मुद्दामा प्रतिवादीहरु राजेश्वर दुवे र जग्गु राउतको हकमा विचार गर्दा जाहेरवाला गेना राउतले दिएको जाहेरी दर्खास्तमा यी दुवै प्रतिवादीहरुको नाम किटानसाथ उल्लेख गरेको पाइन्छ भने घटनास्थलमा घाइते हुने व्यक्ति र इन्द्रजीत राउतले पनि यी दुवै व्यक्तिलाई डाँका वारदातमा चिन्हेको हुँ भनी कागज गरेको कुरा मिसिल संलग्न कागजातबाट देखिन आउँछ । प्रतिवादी राजेश्वर दुवेले जाहेरवालाको घरमा मैले डाँका गर्न गएको छैन । उक्त वारदातको १ दिन अघि १७ गतेको दिन म हरपुर पञ्चायत वडा नं. ३ हरपुरमा मेरो खेती भएको घरमा भदैया बाली कटाउन गएको र २३ गते घरमा फर्की आएको हुँ भनी आफ्नो सफाइको लागि ग्रहण हजरा दुसाध, विष्णु महतो धानूक, मंगल राउत अहिर, महजर महतो धानुक समेत जना ९ लाई साक्षीको रुपमा पेश गरेका छन् । यी साक्षीहरुलाई अदालतमा ल्याई बकपत्र गराउँदा ग्रहण हजारा दुसाध, महजर र वलदेवले खेती गर्न गएको भनी बकेकोबाट प्रतिवादी राजेश्वर दुवे र उनका साक्षीहरुको भनाईमा विरोधाभाष पाइयो । यस्तै गरी प्रतिवादी राजेश्वरका अर्का साक्षी हरी चौधरीले आफू सहित ६ जना राजेश्वर दुवेको बंगलामा संगै सो दिन सुतेका थियौं भनेको छ जुन कुरा प्रतिवादी राजेश्वर स्वयंले आफ्नो बयानमा भन्न सकेको छैन । तसर्थ प्रतिवादी राजेश्वरका साक्षीहरुको बकाई भरपर्दो देखिएन । यस्तै गरी प्रतिवादी जग्गु अहिरले मिति २०३०।५।१६ गते मामा विरामी भएकोले फुलकोलमा गएको थिएँ र ५–६ दिनपछि मात्र फर्केको हुँ डाँका वारदातको दिन म घरमा छैन भनी बयान गरेको पाइन्छ । तर निजको साक्षीहरु दरोगा, मंगल राउत र हिरासा कलवारले वारदातको दिन समयमा अर्थात् मिति २०३०।५।१८ गते जग्गुलाई फुलकोलमा देखेको भेटेको भन्न नसकी मिति २०३०।५।१६ गते भेटेको भनी बकपत्र गरेको पाइन्छ । यसरी प्रतिवादी जग्गुले वारदातको दिन र समयमा आफू अन्यत्र छु भन्ने कुराको पक्का प्रमाण दिन सकेको पाइँदैन । डाँकाको प्रहारमा पर्ने इन्द्रजीतले प्रतिवादी जग्गु राउत र राजेश्वरले मेरो दुवै हात समाती मेरो पाखुरा र पेटमा छुराले प्रहार गरे भनी मौकामा गरेको कागजलाई निजको नाती र सोही वारदातमा पीडित हुने प्रेमप्रसादले राजेश्वर र जग्गुले बाजे इन्द्रजीतलाई छुराले हानी घाउ खडा पारी रहेको थियो भनी अदालतमा समेत बकी लेखि दिएकोबाट समर्थित हुन आउँछ सरजमीनका चस्मदिद व्यक्तिहरु रामचन्द्र राउत, लालमन राउतकुर्मी समेतले प्रतिवादी राजेश्वर दुवे र जग्गु अहिरलाई वारदातस्थलमा देखें चिन्हे भनी अदालतमा आई बकपत्र गरी दिएको पाइन्छ । मिसिल संलग्न यी सम्पूर्ण सबूद प्रमाणहरुबाट यी प्रतिवादीहरु राजेश्वर दुवे र जग्गु अहिरले डाँका गरेको होइन भन्न मिलेन । तसर्थ यी प्रतिवादीहरुलाई मध्यमाञ्चल क्षेत्रीय अदालतले डाँका गरेको ठहराई सजायँ दिने गरेको निर्णयलाई सदर गरेको डिभिजन बेञ्चका माननीय न्यायाधीशहरुको राय मनासिब ठहर्छ । अब अरु दुई प्रतिवादीहरु इसराइल र जुमराती देवानलाई डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाले सफाई दिने ठहराएको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानले डाँका गरेको ठहर्याएको राय मध्ये कुन चाहिं राय मनासिब छ भन्नेतर्फ विचार गर्दा जाहेरवाला गैना राउतले आफ्नो जाहेरी दर्खास्तमा जुमराती देवान, शिवचन राउत, राजेश्वर दुवे र जग्गु राउत गरी चारजनाको नाम उल्लेख गरेको र प्रतिवादी इसराइलको नाम उल्लेख गरेको पाइँदैन । डाँका वारदातमा घाइते हुने चस्मदिद व्यक्ति प्रेमप्रसाद कुर्मीले राजेश्वर र जग्गुलाई मात्र देखें मलाई हानेको टायममा अरु डाँकाहरुलाई देखिन भनी अदालतमा बकपत्र गरेको पाइन्छ । अदालतमा यी दुवै प्रतिवादीहरु डाँका गरेकोमा इन्कारी रहेको देखिन्छ । सरजमीनका चस्मदिद गवाह कलाश राउत कुर्मीले अदालतमा गरेको बकपत्रमा इसराइल र जुमराती पूर्वतर्फ भागी गए भनी लेखेको र राम अयोध्या राउतले डाँकाहरु डकैती गर्दा दक्षिणतर्फ भागेको देखें भनी लेखेको पाइन्छ । यसरी यी प्रतिवादीहरु जुमराती र इसराइल उक्त डाँका वारदातमा संलग्न थियो भन्ने कुराको तथ्ययुक्त प्रमाण वादी श्री ५ को सरकारको तर्फबाट आउन सकेको देखिँदैन । तसर्थ यी प्रतिवादीहरु इसराइल र जुमरातीलाई मध्यमाञ्चल क्षेत्रीय अदालतले डाँका गरेको ठहराएको इन्साफ गल्ती हुनाले यिनीहरुले सफाई पाउने ठहर्छ भन्ने डिभिजन बेञ्चका माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय मनासिब ठहर्छ ।
२८. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ केही उल्टी हुन्छ भन्ने समेत श्री सर्वोच्च अदालत फुल बेञ्चको मिति २०४१।६।५ को फैसला ।
२९. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहराई पाउँ भनी प्रतिवादी राजेश्वर दुवे जग्गु अहिरको विन्तिपत्र परेकोमा पूर्ण इजलासबाट दोहराई हेरी कानून बमोजिम निर्णय गरी दिनु भन्ने र हमीद मियाँले चढाएको विन्त्रिपत्रमा कुनै प्रतिवादीहरुको तर्फको विन्त्रिपत्रमा मुद्दा दोहराई हेरी दिनु भन्ने प्रमांगी बक्स भई पूर्ण इजलास समक्ष विचाराधीन रहेछ भने विन्त्रिपत्रवालाका हकमा पनि एकै साथ राखी मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ जाँची कानून बमोजिम निर्णय गरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट तोक लागी आएको रहेछ ।
३०. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक राजेश्वर दुवे तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले ६ जना उपर डाँकामा मुद्दा दायर भएको छ । तीन जनाले डाँका ठहर भएकोले डाँको वारदात कायम गर्न मिल्दैन । डाँका गर्न छुरा लिई जाने प्रश्न हुँदैन । छुरा प्रहार भएकोलाई डाँका भन्न मिल्दैन । प्रतिवादी राजेश्वर दुवेले डाँका गरेको धनमाल भाग खाएको भन्ने कथन छैन । छुरा लिई डाँका गर्न जाने चलन पनि छैन । आरोपित कसूरबाट प्रतिवादी राजेश्वर दुवे बाहुनले सफाई पाउनु पर्दछ भन्ने र निवेदक जग्गु राउत अहिरको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुरेन्द्रप्रसाद उपाध्यायले वादी पक्षका रामचन्द्र राउत, इन्द्रजीत र प्रेमप्रसाद समेतको बकाइ एकरुपता छैन । प्रतिवादी जग्गु राउत अहिरले छुरा हानेको हो भनी प्रमाणित गर्ने तथ्ययुक्त आधार प्रमाण छैन । यस्तोमा प्रतिवादी जग्गु राउत अहिरलाई आरोपित कसूर गरेको ठहराएको इन्साफ मिलेको छैन । तसर्थ प्रतिवादी जग्गु अहिरले आरोपित कसूरबाट सफाई पाउनु पर्दछ भन्ने बहस गर्नु भयो । विपक्षी श्री ५ को सरकारतर्फबाट बहस गर्न खटिनु भएका विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले २०–२२ जना डाँकाहरुले डाँका वारदात गरे भन्ने जाहेरी समेतबाट देखिन्छ । धेरै व्यक्ति संलग्न रही गरेको वारदात डाँका वारदात हो । वारदातमा घाइते इन्द्रजीत समेतले निवेदक राजेश्वर दुवे, जग्गु राउत अहिर समेतलाई डाँका वारदात गरेको ठहराएको सर्वोच्च अदालत पूर्ण इजलासको र प्रतिवादी हमीद मियाँलाई मध्यमाञ्चल क्षेत्रीय अदालतले डाँका वारदात गरेको ठहराएको इन्साफ सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।
३१. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम सर्वोच अदालत फुल बेञ्चको इन्साफ मिलेको छ, छैन ? सो र प्रतिवादी हमीद मियाँको सम्बन्धमा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
३२. यस्मा निर्णयतर्फ हेर्दा श्री ५ महाराजाधिराज सरकारका जुनाफमा प्रतिवादी राजेश्वर दुवे बाहुनले सर्वोच्च अदालत फुल बेञ्चबाट फैसला भएको दोहराई पाउँ भनी चढाएको विन्त्रिपत्रमा न्याय मिले नमिलेको हेरी जाहेर गर्नु भन्ने बक्स भएका हुकुम प्रमांगी अनुसार न्यायिक समितिबाट २०४३।४।१० मा जाहेर गरेको जाहेरीमा यो मुद्दामा अपराध गर्नेमा फरार रहेको समेत चारजना मात्र देखिन आएको चोरीको ६ नं. ले डाँका अपराध हुन चारजना भन्दा बढ्ता हुनु पर्नेमा ४ जवान मात्रै देखिन आएको अवस्थामा डाँका अपराध ठहर गर्न चोरीको ६ नं. ले नमिल्ने भई सर्वोच्च अदालत फुल बेञ्चको निर्णयबाट चोरीको ६ नं. को त्रुटि हुन गई न्याय मिलेको नदेखिएको भन्ने उल्लेख भएको पाइन्छ ।
३३. मौका जाहेरीमा २०–२२ जना डाँकाहरुले डाँका वारदात गरेको भन्ने उल्लेख भएको देखिन्छ । प्रहरी प्रतिवेदन तथा मौका सरजमीन समेतबाट चारजना भन्दा बढी व्यक्तिहरुले डाँका अपराध गरेको भन्ने कथन रहेको छ । सबूद प्रमाण अनुसार इन्साफ हुँदा चारजना भन्दा कम प्रतिवादीहरुले डाँका अपराध गरेको ठहर हुन सक्छ । तर चारजना भन्दा बढी प्रतिवादीहरुले डाँका गरेको ठहर हुन नै पर्छ अन्यथा डाँका वारदात कायम हुन नसक्ने भन्ने कानूनसंगत हुँदैन । सर्वोच्च अदालत पूर्ण इजलासबाट निवेदक प्रतिवादी राजेश्वर दुवे बाहुन र जग्गु राउत अहिरलाई कसूरदार ठहराएतर्फ हेर्दा निज प्रतिवादी राजेश्वर दुवे बाहुन र जग्गु राउत अहिर उपर डाँका वारदात गरेको भनी प्रहरी प्रतिवेदन दावी परेको देखिन्छ । निजहरुले वारदातको समय अन्यत्र रहेको भनी आरोपित कसूर गरेमा इन्कार रही अदालतमा बयान गरेको पाइन्छ । मौकाको जाहेरी दर्खास्तमा डाँका वारदात पर्नेमा प्रतिवादी राजेश्वर दुवे बाहुन र जग्गु राउत अहिरको नाम किटान गरी लेखेको पाइन्छ । सो वारदातमा घाइते हुने इन्द्रजीत राउतले जग्गु राउत अहिर र राजेश्वर दुवे बाहुन समेत दुई जनाले मेरो दुवै हात पाखुरा गोडा पेटमा समेत छुरा प्रहार गरेकोे भनी प्रहरीमा र अदालतमा समेत बकपत्र गरेको देखिन्छ । प्रेमप्रसाद कुर्मीले राजेश्वर र जग्गुले बाजे इन्द्रजीतलाई छुराले हानी घा खत पारी रहेको थियो भनी अदालतमा बकपत्र गरेको छ । मौका सरजमीनका रामबालक राउत कुर्मी, रामचन्द्र राउत कुर्मी, लालमन राउत कुर्मी समेतले निज प्रतिवादीहरु राजेश्वर दुवे बाहुन र जग्गु राउत अहिरलाई देखे चिनेको भनी अदालतमा बकपत्र गरेको पाइन्छ । त्यसरी चस्मदिद सरजमीनका व्यक्तिहरु र वारदातमा पीडित व्यक्तिहरुले अदालतमा समेत आई किटानीसाथ बकेको बकपत्रलाई विश्वास मान्नु नपर्ने आधार प्रतिवादीहरुले दिन सकेको छैन । उपर्युक्त प्रमाणहरुबाट निवेदकहरु राजेश्वर दुवे बाहुन तथा जग्गु राउत अहिरले डाँका वारदात गरेको भन्ने प्रष्ट हुन आयो । प्रतिवादीहरुका साक्षीको बकपत्रहरु एक रुपता नभएको त्यस्तो बकपत्रलाई आधार मान्न मिलेन । तसर्थ निवेदक राजेश्वर दुवे बाहुन र जग्गु राउत अहिरले डाँका वारदात गरेको ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्च तथा सर्वोच्च अदालत फुल बेञ्चको मिति २०४१।६।५ को फैसला मनासिब ठहर्छ ।
३४. निवेदक प्रतिवादी हमीद मियाँलाई शुरु जिल्ला अदालतबाट सफाई दिएको र क्षेत्रीय अदालतले आरोपित कसूर गरेको ठहराए उपर निजको पुनरावेदन परेको देखिएन श्री ५ महाराजाधिराज सरकारका जुनाफमा निजले चढाएको विन्तिपत्रमा कुनै प्रतिवादीतर्फको विन्तिपत्रमा मुद्दा दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने प्रमांगी बक्स भई त्यस अदालतको पूर्ण इजलास समक्ष विचाराधीन रहेछ भने विन्तिपत्रवालाको हकमा पनि एकै साथ राखी मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ जाँची कानून बमोजिम निर्णय गरी दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट तोक लागि आएकोले निज प्रतिवादी हमीद मियाँलाई मध्यमाञ्चल क्षेत्रीय अदालतले आरोपित कसूर गरेको ठहराएको इन्साफ मिलेको छ, छैन त्यसतर्फ हेर्दा शुरुको जाहेरी दर्खास्तमा निज प्रतिवादी हमीद मियाँको नाम उल्लेख भएको पाइँदैन । चस्मदिद गवाह प्रेमप्रसाद राउत कुर्मीले जग्गु र राजेश्वरलाई मौकामा देखि पहिचान गरेको भनेको छ । तर प्रतिावादी हमीद मियाँ वारदातमा थियो भनी भनेको छैन घाइते इन्द्रजीतले हमीदलाई पहिचान गरेको भनी लेखाई दिए तापनि वारदातमा घाइते हुने प्रेमप्रसादको बकपत्रबाट पुष्ट्याई गरेको देखिएन । जाहेरवालाले अदालतमा बकपत्र गर्दा कसरी डाँका पर्यो भनी बाबुसंग सोद्धा जमुराती, शिवचन राजेश्वर र जग्गु समेत जवान ४ को नाम बताएको भनेको छ तर हमीद मियाँको नाम बताएको देखिँदैन । वारदातको अवस्था अन्यत्र रहेको भनी आरोपित कसूर गरेमा प्रतिवादी हमीद मियाँ इन्कार रहेको देखिन्छ । निजको इन्कारी बयान निजै प्रतिवादीका साक्षीहरुद्वारा पुष्ट्याई भएको पाइन्छ । सरजमीनका चोकट राउत कुर्मीले पोल गरेको आधारमा मात्र निज प्रतिवादी हमीद मियाँले डाँका अपराध गरेको ठहर गर्न मिलेन । तसर्थ निज प्रतिवादी हमीद मियाँले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । निज हमीद मियाँलाई डाँका ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी हमीद मियाँके माथि इन्साफ खण्डमा लेखिए बमोजिम सफाई पाएकोले निजलाई मध्यमाञ्चल क्षेत्रीय अदालतका मिति २०३६।२।२८ गतेका फैसलाले गर्ने गरेको कैद वर्ष ६ जरिवाना रु. २०,६४४।१२।२ नलाग्ने हुँदा व्यहोरा जनाई लगत काटी दिनु भनी का.जि.अ.मा लगत दिनु...१
निवेदक देहायका मानिसके मुद्दा दोहराई ल्याए बापत अ.बं. २०४ नं. ले शुरु कैद वर्ष ६। जरिवाना रु. २०६४।४१२।२ को सयकडा दशले जनही कैद ।७।६ सात महिना ६ दिन र जरिवाना रु. २०६४।४१ थप कैद र जरिवाना हुन्छ बेरुजु हुँदा ऐन बमोजिम असूल गर्नु भनी का.जि.अ.मा लगत दिनु..२
प्रतिवादी राजेश्वर दुवे बाहुन १
प्रतिवादी जग्गु राउत अहिर १
जाहेरवालाको बिगो रु. १३,७६२।७५ (तेह्र हजार सातसय वासट्ठी रुपैयाँ पचहत्तर पैसा) को हकमा देहायका प्रतिवादीहरुले डाँका गरेको ठहरेको र एकजना प्रतिवादी फरार भई मुलतवी हुँदा सो बिगो मध्ये दामासाहीको हिसाबले देहायका प्रतिवादीहरुबाट देहाय बमोजिमको बिगो भराई पाउँ भनी प्रतिवादीहरुको जेथा देखाई ऐनका म्याद भित्र जाहेरवालाको दर्खास्त परेमा कानून बमोजिमको रीत पुर्याई देहाय बमोजिमको बिगो भराई दिनु भनी का.जि.अ.मा लगत दिनु...३
प्रतिवादी राजेश्वर दुवे बाहुनबाट रु. ४,५८७।५८
प्रतिवादी जग्गु राउत अहिरबाट रु. ४५८७।५८
सर्वोच्च अदालत फुल बेञ्चका मिति २०४१।६।५ का फैसलाले देहायका प्रतिवादीहरुबाट देहायका दरले बिगो भराउने गरेकोमा माथि लेखिए बमोजिम भरी भराउन हुने हुँदा सो बिगोको लगत बमोजिम भरी भराउन गर्नु पर्दैन व्यहोरा जनाई लगत काटी दिनु भनी का.जि.अ.मा लगत दिनु....४
प्रतिवादी हमीद मियाँबाट भराउने गरेको रु. ४५८७।५८
प्रतिवादी राजेश्वर दुवे बाहुनबाट भराउने गरेको रु. ४५८७।५८
प्रतिवादी जग्गु राउत अहिरबाट भराउने गरेको रु. ४५८७।५८
मिसिल नियम बमोजिम गरी बुझाई दिनु....५
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या.गजेन्द्रकेशरी वास्तोला,
न्या.प्रचण्डराज अनिल,
न्या.हिरण्येश्वरमान प्रधान,
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ साल चैत्र १ गते रोज ३ शुभम् ।