शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६६४ - नाता कायम

भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२

निर्णय नं. ३६६४     ने.का.प. २०४५                 अङ्क १२

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४४ सालको फौ.पु.ई.नम्बर २५

फैसला भएको मिति : २०४५।११।२६।५ मा

 

निवेदक/प्रतिवादी : का.प.जि.कानपुर गा.पं. वडा नं.९ कमेरे बस्ने लालबहादुर तामाङसमेत

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. कानपुर गा.पं. वडा नं.९ कमेरे बस्ने भनी लेखिएको मानजीत तामाङ

 

मुद्दा : नाता कायम

 

(१)                लुटपिट मुद्दा परी विपक्षी बनी सकेका व्यक्तिहरुले बकेको बकपत्र विश्वासप्रद नदेखिने ।

(प्रकरण नं. १६)

(२)               नाता कायम मुद्दामा क्षेत्रीय अदालतको फैसलाको आधारमा मगाइएको तायदातीलाई हाल यस अदालतको विचाराधीन रहेको सोही नाता कायम मुद्दामा प्रमाणको रुपमा लिई सो तायदाती आदेशको कारणबाट नाता कायम हुने भन्न नमिल्ने ।

(प्रकरण नं. १६)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : यस अदालत संयुक्त इजलासबाट मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार  रहेछ ।

२.    धनजीत भन्ने सुनराजको जेठीपट्टी छोरा नभई माइली विपक्षीको आमा तर्फ विपक्षीहरु र मेरो आमातर्फ म जन्मेपछि म मावली गई बसें बाबु २००४ सालमा परलोक भएपछि विपक्षीहरु र म आमा समेत भई कृया गरिसकी फक्र्यौं पछि पिपा गोश्वारामा पिपामा भर्ना हुँदा बाबुको गाउँमा बोलाउने नाम धनवीर, बाजेको सुनजीत हुँदा सोही नाम लेखें मेरो निवृत्तिभरणमा सोही कुरा लेखिएको छ । म गाउँमै आई बसेपछि विपक्षीहरुलाई अंश देउ भन्दा पछि चारै भाइ बण्डा गरुला हाल खाई जीविकाको लागि बिजन माना ११३ को बारी दिनु भएको थियो । पछि रीतपूर्वकको अंश भाग प्रधानपञ्च समेत भई बण्डापत्र भयो । सो बण्डापत्रको कागजलाई विपक्षी दुधराज समेतले करकापसंग कागज गरायो भन्ने मुद्दा गरी करकाप गराएकै ठहरी अन्तिम फैसला भयो । सो फैसलामा अंश पाउने नपाउने निर्णय गर्न नमिल्ने र निर्णय मागतर्फ भएको पनि छैन अंश तर्फ छुट्टै फिराद गरेको हुँदा नाता कायमतर्फ फिराद गर्न आएको छु । गाउँ सरजमीन र मलाई दुधराजकै साली विवाह गरी दिएकोले बहिनी दिने का.प.जि. धमेरे बस्ने हर्षबहादुर तामाङ समेत बुझी विपक्षीहरुको सौतेनी आमापट्टिको धनजीत भन्ने सुनराजको छोरा विपक्षीहरुको दाजु भाइ नाता कायम गरिपाउँ भन्ने समेत व्यहोराको चन्द्रबहादुर भन्ने मानजीत तामाङको फिरादपत्र ।

३.    विपक्षी वादी हामीहरुको दाजु भाइ नाता पर्ने होइन । निज पलाञ्चोक गा.पं. वडा नं. ६ कटुन्जे बस्ने सुनजीतको नाती धनजीतको छोरा मानजीत भन्ने व्यक्ति हुन हामीहरु कानपुर गा.पं. वडा नं. ९ कमेरे बस्ने मानवीर तामाङको नाती सुनराजको छोराहरु हो । व्यसरोकारवाला व्यक्तिले नाता कायम गरिपाउँ भनी दिएको फिराद अ.बं. ८२ नं. ले इन्साफ गर्न मिल्दैन खारेज हुनु पर्छ । विपक्षीसंगको अंश सम्बन्धी कागज गराउँदा हाम्रो करकापमा उजूर परी विपक्षी वादी हाम्रो बाबुको नठहरी धनजीतकै छोरा लिखत करकापसंग गरेको ठहराई वागमती अञ्चल अदालत समेतबाट अन्तिम फैसला भएको छ । विपक्षी मानजीत पिपा गोश्वारामा भर्ना भई अवकाश हुँदा काभ्रेपलाञ्चोक मालबाट मानजीतकै पेन्सन लिनु भएको छ । त्यसमा आफ्नो वतन पलाञ्चोक गाउँ र बाजेको नाम सुनजीत बाबुको नाम धनजीत लेख्नु भएको छ । विपक्षी हाम्रो बाबुको छोरा होइन किरिया गरेको पनि होइन भाइ नाता कायम हुन सक्दैन भन्ने समेत व्यहोराको दुधराज तामाङ समेतको एउटै प्रतिउत्तरपत्र ।

४.    वादी सुनराजकै छोरा हुन भन्ने वादीको साक्षी र वादीहरु दाजु भाइ हुन भन्ने कुरा थाहा छैन, भन्ने प्रतिवादीका साक्षी समेतको बकपत्र ।

५.    वादी प्रतिवादी एउटै बाबुका छोरा हुन वादीलाई माहिली बहिनी र प्रतिवादी काले भन्ने दुधराजलाई कान्छी बहिनी दिई ज्वाई नाताका हुन भन्ने पेटवोलीबाट बुझिएका हर्षबहादुर तामाङको बयान ।

६.    कमेरे गाउँमा र कटुन्जे गाउँमा सरजमीन मुचुल्का समेत भई आएको रहेछ ।

७.    वादी अघिदेखि मावली घरमा बसी आएको हुनाले उतैबाट पिपामा जागिर खाँदा बालककालदेखि मावली घरमा बसेको हुनाले बाबु बाजेको नाम फरक पर्न सक्ने देखिन्छ । पेन्सन पट्टामा फरक पर्दैमा एउटै बाबु सुनराजको छोरा होइन कि भन्नालाई बुझिएका साक्षी सरजमीनहरुबाट र वादी प्रतिवादी दुवैको नाता पर्ने हर्षबहादुर तामाङले समेत दुवै ज्वाइँ एउटै बाबुका छोराहरु हुन भनी बयान गरेको देखिँदा वादी सुनराजको छोरा होइन भन्न नमिल्ने भएकोले सुनराजकै छोरा हुन प्रतिवादीको भाइ नाता कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला ।

८.    काभ्रेपलाञ्चोक जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझेकोले प्रतिवादी लालबहादुर तामाङ  एकलाल तामाङ, दुधराज तामाङ समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदनपत्र रहेछ ।

९.    अघि यी वादी प्रतिवादीको करकाप मुद्दा परी फैसला भएको देखिन्छ । तापनि उक्त मुद्दालाई प्राङन्याय भन नमिल्ने कति कारणले भने उक्त मुद्दा करकाप शीर्षकको मुद्दा भएको र प्रस्तुत मुद्दा नाता कायम भएकोमा पनि प्रस्तुत मुद्दा र उक्त करकाप मुद्दामा वादी प्रतिवादीहरु पनि सबै उही एकएकै नहुँदा फरक भएको देखिन्छ । उक्त करकाप मुद्दाका कागजसम्म करकापको ठहर भएकोमा प्रस्तुत नाता कायमको छुट्टै मुद्दालाई उक्त करकाप मुद्दामा लगी गाँस्न नमिलेको हुनाले र प्रस्तुत मुद्दामा बुझिएको साक्षीहरुको बकपत्र र हर्षबहादुर भन्ने व्यक्तिको बयान समेतबाट यी मानजीत भन्ने व्यक्ति चन्द्रबहादुर भन्ने र निजको बाबुको नाम पनि सुनजीत भन्ने धनजीत भन्ने भएको देखिन आएको विपक्षी दुधराजको नाम पनि काले भन्ने दुधराज भएको भन्ने देखिन आएकोले समेत यी वादी प्रतिवादीहरुको दुईदुई नाम रहेछ भन्ने कुरो देखिन आएकोले समेत विपक्षीलाई सुनराजको छोरा कायम गरी दिएको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको इन्साफ बेमनासिब भन्न नमिलेकोले मनासिब ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको मिति २०३९।१०।१८।१ को फैसला ।

१०.    मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझी इन्साफ जाँची पाउँ भनी निवेदक प्रतिवादीहरुको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा विशेष जाहेरी विभाग मार्फत चढाएको विन्तिपत्रमा नाता कायम गरिपाउँ भन्ने मुद्दाको मिसिल झिकी इन्साफ जाँची कानून बमोजिम निर्णय गर्नु भन्ने मिति २०४०।४।२।२ को हुकुम प्रमांगी बक्स भई आएकोमा डिभिजन बेञ्चमा पेश गर्नु भन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४०।४।१८।४ को आदेश रहेछ ।

११.    यिनै वादी प्रतिवादीको बीच मिति २०३४।८।९ मा भएको कुटपिट मुद्दामा यिनै वादी चन्द्रबहादुर भन्ने मानजीत तामाङ, एकलाल तामाङ, समेतका प्रतिवादीहरुको अंशियार भएको नाताबाट लुटपिट ठहर्दैन भनी वागमती अञ्चल अदालतबाट मिति २०३८।१०।१९ गतेमा फैसला भएको समेत अन्तिम भई बसेको देखिन्छ । करकाप मुद्दामा भएको ठहरबाट वादी अंशियार देखिन्न । तर लुटपिट मुद्दामा भएको फैसलाबाट वादी अंशियार देखिन्छ । यी दुवै फैसलाहरु अन्तिम भइरहेको र एउटा फैसलाले अर्को फैसलालाई काट्ने र ती फैसला प्रमाणहरुलाई अमान्य गर्न नसकिने र ती फैसलाहरुलाई प्रमाण लिएमा करकाप मुद्दाको फैसला प्रमाणबाट वादी अंशियार नदेखिई नाता कायम हुन नसक्ने र लुटपिट मुद्दाको फैसला प्रमाणबाट वादी नाता कायम हुने स्थिति हुन जाने जटिल कानूनी प्रश्न समावेश भएको र त्यस्तो प्रश्न फुल बेञ्चबाट विचार हुन उपयुक्त देखिएकोले सर्वोच्च अदालत नियमावलीको नियम ३३ बमोजिम निर्णयको लागि डिभिजन बेञ्चको लगत काटी फुल बेञ्चको लगतमा दर्ता गरी फुल बेञ्चमा पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।८।११।२ को फैसला ।

१२.    करकाप मुद्दा र लुटपिट मुद्दामा भएका निर्णय हेर्दा कुनैमा पनि वादी प्रतिवादीहरु अंशियार हुन भन्ने कुराको निर्णय भएको पाइँदैन । करकाप मुद्दाको निर्णयमा अंशियार होइनन् भन्ने पनि भनेको छैन र लुटपिट मुद्दामा पनि अंशियार हो भनी ठहर गरेको पाइँदैन । यस्तो स्थितिमा प्रस्तुत नाता कायम मुद्दामा अरु स्वतन्त्र प्रमाणबाट जे जस्तो देखिन आउँछ ठहर निर्णय गर्नलाई उपरोक्त करकाप मुद्दा र लुटपिट मुद्दामा भएको निर्णयले कुनै बाधा पुर्‍याएको स्थिति देखिन आउँदैन । अतः जटिल कानूनी प्रश्न उपस्थित भएको भन्न सक्ने स्थिति नहुँदा कानून बमोजिम निर्णय गर्न प्रस्तुत मुद्दा फुल बेञ्चको लगत काटी डिभिजन बेञ्चमा पठाई दिने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत फुल बेञ्चको मिति २०४२।१०।११ गतेको आदेश रहेछ ।

१३.    अघि परेका करकाप मुद्दा र लुटपिट मुद्दामा भएका ठहरहरुको कुरा पूर्ण इजलासको आदेशबाटै उक्त ठहरहरुको प्रमाण लिन मिल्ने देखिन आएन । वादीको वतन भनी प्रतिवादीले देखाएको वतनमा र प्रतिवादीको वतन समेतमा सरजमीन भएकोमा उक्त सरजमीनमा वादीको आमा प्रतिवादीका बाबु सुनराजको स्वास्नी नै हो र निजबाट यी वादीको जन्म भएको हो भन्ने कुरामा विवाद नभएको र वादीले साक्षीका रुपमा देखाएका जीतमान र हर्कबहादुरले वादी सुनजीतको छोरा हो भनी किटानी बकपत्र गरी दिएका छन् । यी हर्कबहादुर वादी मानजीत र प्रतिवादी दुधराजका साख्खै जेठान देखिन आएकाबाट झुठ्ठा बक्नु पर्ने अवस्था र कारण देखिँदैन वादीले जागिर खाँदा आफैंले आफूलाई धनजीतको छोरा सुनजीतको नाती भनी देखाएको भए तापनि वादीको पालन पोषण मावली घरबाट भएको र जागिर पनि मावलीमा बस्दा नै खाएको भन्ने हुँदा बाबुको वास्तविक नाम थाहा नभई चलन चल्तीको नाम लेखाएकै आधारमा मात्र वादी र प्रतिवादीका बाबुको नाम फरक मानी नाता कायम नहुने ठहर्‍याउन न्यायोचित नहुँदा वादी दावी बमोजिम नाता कायम हुने ठहर्‍याएको शुरुको सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोलाको राय ।

१४.    सरजमीनका अधिकांश मानिसले वादी सुनराजको छोरा हो भनी किटानी रुपमा भन्न नसकी यी वादीको आमालाई सुनराजले ल्याएको हो भनी व्यहोरा लेखाएकोबाट ती व्यक्तिहरुले वादी प्रतिवादी बीच रहेको नाता खास थाहा पाई आफ्नो व्यहोरा लेखाएको हो भन्ने देखिन आउँदैन । वादीलाई सुनराजकै छोरा हो भन्ने वादीका साक्षी हर्कबहादुर जीतमान र यी वादी समेत उपर यी प्रतिवादीहरुले दिएको करकाप र लुटपिट मुद्दामा विपक्षी बनाएको देखिँदा निजहरुको बयान किटानी रुपमा भए पनि शंकारहित रुपमा साँचो मान्न सकिने स्थिति देखिँदैन । अर्कोतर्फ वादी आफू सावांलिक भएपछि अड्डाखानामा जागिर खाँदा आफ्नो बाबु बाजेको वास्तविक नाम र वतन लेखाउनु पर्ने थियो । उमेर पुगी जागिर खाँदा पनि आफ्नो बाबु बाजेको खास नाम थाहा जानकारी नभई नाम र वतन फरक देखाई जागिर खाएको होला भनी सामान्यतया मान्न सकिने स्थिति रहन आउँदैन । यस स्थितिमा दावी बमोजिम वादी धनजीत भन्ने सुनराजकै छोरा हो र वादी प्रतिवादी दाजु भाइ नाता पर्ने भन्न मिलेन । वादी दावी बमोजिम नाता कायम हुने ठहर्‍याएको शुरुको सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय रहेछ ।

१५.   निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादी प्रतिवादी एउटै बाबुका छोरा हुन भनी कसैले किटानीसाथ भन्न सकेको छैन । उमेर पुगी सकेपछि जागिर खाँदाखेरी आफू आफ्नो बाबु बाजेको वास्तविक नाम थर वतन देखाउनु पर्दछ । सो बमोजिम जागिर खाँदा यी वादीले खुलाएको बाबुको नामसंग प्रतिवादीका बाबुको नाम मिल्न भिड्न समेत नआउने हुँदा वादी दावी बमोजिम नाता कायम हुन नसक्ने भन्ने र विपक्षी वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले वादीका साक्षी हर्कबहादुर र मानजीतले यी वादी सुनराजकै छोरा हुन भनी किटानी बयान गर्नुको साथै सरजमीनका अधिकांश मानिसहरुले सुनराजले वादीकी आमालाई स्वास्नी बनाई राखेको भनी स्पष्ट साथ व्यहोरा लेखाई दिएका छन । यस्तो नाता कायम मुद्दामा सरजमीनको भनाई ठोस र भरपर्दो प्रमाणको रुपमा लिनु पर्दछ । घरबाट निकाली मावलीमा रहँदा बस्दा जागिर खाएकोमा बाबुको वास्तविक नाम थाहा नहुन सक्ने स्थिति समेत हुँदा जागिरको पट्टामा खुलाइएको नामकै आधारमा मात्र  नाता कायम नहुने भन्न मिल्दैन भनी बहस गर्नु भयो ।

१६.    आज निर्णय सुनाउने तारीख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यस्मा म र प्रतिवादीहरु सुनराजको छोरा हुँदा प्रतिवादीहरुसंग भाइ नाता कायम गरिपाउँ भन्ने फिराद दावी भएकोमा वादीले फिरादपत्र दिँदा आफ्नो नाम चन्द्रबहादुर भन्ने मानजीत तामाङ र बाबुको नाम धनजीत भन्ने सुनराज तामाङ भनी खुलाएको छ । तर वादीले जागिर खाँदा सो बमोजिम आफ्नो नाम चन्द्रबहादुर भन्ने मानजीत तामाङ बाबुको नाम धनजीत भन्ने सुनराज तामाङ भनी नलेखी आफ्नो नाममा मानजीत तामाङ र बाबुको नाममा धनजीत तामाङ मात्र लेखेको देखिन्छ । वादीले पेन्सन लिँदा आफ्नो नाम मानजीत बाबुको नाम धनजीत भनी लेखाएको कुरा पेन्सन पट्टा तथा मालपोत कार्यालय काभ्रेपलाञ्चोकको मिति २०३४।९।१७ गतेको पत्रबाट देखिन्छ । पेन्सन पट्टामा बाबुको नाममा धनजीत भन्ने सुनराज लेखिएको देखिएन । प्रतिवादीका बाबुको नाम वादीले फिरादमा खुलाए झै वास्तविक नाम र चलन चल्तीको कुनै अर्को फरक नाम थियो की भनी निज सुनराजको नामको दर्ता उतार हेर्दा उक्त दर्ता उतारमा पनि सुनसारज मात्र लेखिएको देखिन्छ । उक्त दर्ता उतारमा धनजीत भन्ने सुनराज लेखिएको देखिँदैन । सरजमीनका अधिकांश मानिसले यी वादी सुनराजका छोरा हुन भनी किटानी साथ भन्न नसकी सुनराजको छोरा हुन भन्ने सुनेको भनी व्यहोरा लेखाई दिएका छन् । अर्कोतर्फ वादीको कथनलाई समर्थन गरी निजको साक्षी हर्कबहादुर र जीतमानले बकपत्र गरेको  देखिन्छ । तर प्रस्तुत मुद्दा पर्नु अगावै परेको लुटपिट र करकाप मुद्दामा यिनै प्रतिवादीले यिनै वादी र उक्त बकपत्र गर्ने निज वादीको साक्षी हर्कबहादुर र जीतमान समेतलाई विपक्षी बनाएको पाइन्छ । त्यसरी लुटपिट मुद्दा परी विपक्षी बनीसकेका व्यक्तिहरुले बकेको बकपत्र विश्वासप्रद देखिएन । यिनै पक्ष विपक्षी भई चलेको अंश मुद्दामा नाता कायम मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलालाई अन्तिम मान्दै सो फैसला अनुसार नाता कायम भई अंशियार समेत देखिएको भनी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट तायदाती माग्ने आदेश भए मुताविक तायदाती पेश गरेको  देखिन्छ । यसरी यही नाता कायम मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाको आधारमा मगाइएको तायदातीलाई हाल यस अदालतको विचाराधीन रहेको सोही नाता कायम मुद्दामा प्रमाणको रुपमा लिई सो तायदाती आदेशको कारणबाट नाता कायम हुने भन्न मिल्ने देखिएन । अतः माथि उल्लेख गरिएको कारण तथा आधार समेतबाट यी वादी मानजीत तामाङलाई सुनराजको छोरा मानी वादी प्रतिवादी दाजु भाइ नाता कायम गर्न मिल्ने नदेखिँदा वादी दावी नपुग्ने ठहर्‍याएको यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय मनासिब ठहर्छ । नाता कायम हुने ठहर्‍याएको शुरुको सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुन्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी नपुग्ने ठहरेकोले प्रतिवादीहरु लालबहादुर तामाङ, एकलाल तामाङ, दुधराज तामाङ समेतलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसलाबाट जनही रु. ५।जरिवाना गरेकोमा सो जरिवाना नलाग्ने हुँदा उक्त रकम निजहरुबाट असूल नभएको भए फिर्ता दिनु र असूल नभएको भए व्यहोरा जनाई लगत काटी दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु...१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी नपुग्ने ठहरेकोले मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाले प्रतिवादी दुधराज तामाङ, लालबहादुर तामाङ र एकलाल तामाङ समेतलाई जनही रु. ।५० जरिवाना गरेकोमा सो जरिवाना नलाग्ने हुँदा उक्त रकम  निजहरुबाट असूल भएको भए फिर्ता दिन र असूल नभएको भए व्यहोरा जनाई लगत काटी दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु...३

 

उक्त रायमा हामीहरु सहमत छौं ।

न्या.प्रचण्डराज अनिल,

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल फाल्गुण २६ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु