शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६२७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक:

निर्णय नं. २६२७    ने.का.प. २०४३ अङ्क - २

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४२ सालको रिट नं. २४१३

आदेश भएको मिति : २०४३।२।८।५ मा

 

निवेदक : जि.वारा भतौडा गाउँ पञ्चायत वडा नं.६ बस्ने बालदेव शाह कानू

विरुद्ध

विपक्षी : जि.वारा भतौरा गा.पं.वडा नं.६ बस्ने रमपतिया देवी कनुइनसमेत

 

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

 

(१)         जग्गा धनीले पत्याएका व्यक्तिलाई मोहियानी हक प्राप्त हुने ऐनले व्यवस्था गरेकोलाई गलत व्याख्या गर्दै नजिक हकदार मोहीको पत्‍नीलाई मोही नामसारी हुने भनी गरेको भूमिसुधार कार्यालय बाराको निर्णय त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. १०)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश बस्ती

प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ :

२. जग्गा धनी रामचन्द्र कोइरी महतो भएको जिल्ला वारा भतौडा गा.पं.वडा नं.६ को कि.नं.१३३ को जग्गा ०१८१० मेरो बाबु प्रल्हाद शाह कानूले दर्तावाला मोही भई जोती आएकोमा निजको २०४१ साल पौषमा स्वर्गवास भएपछि उक्त जग्गाको मोही नामसारी गरी मोहीको प्रमाणपत्र पाउँ भन्ने विपक्षी आमा रमपतिया देवी कनूइनले भू.सु.का.वारामा निवेदन दिएको र जग्गा धनीले म निवेदक बालदेव शाह कानूलाई पत्याई दर्तावाला मोहिका छोरा बलदेव शाह कानूको नाममा मोही नामसारी दर्ता कायम गरिपाउँ भन्ने र उक्त जग्गामा स्व.पिताको नाम कट्टा गरी मेरो नाममा नामसारी दर्ता गरी मोही प्रमाणपत्र समेत पाउँ भनी जग्गाधनी रामचन्द्र महतो कोइरी र म बालदेव शाह कानुको भू.सु. कार्यालय वारामा संयुक्त निवेदनपत्र दिएकोमा विपक्षी अधिकारीज्यूले पतिको मृत्युपछि पत्‍नी नै नजिकको हकदार हुने व्यवस्था मुलुकी ऐनमा भएको र भू.सु.ऐन, २०२१ को दफा २६ मा पति पत्‍नी वा छोरा मध्ये जग्गावालाले पत्याएको व्यक्ति मोही मानिने भनी नजिकैको हकदारलाई प्राथमिकता दिएको देखिँदा भतौडा गा.पं.वडा नं.६ को कि.नं.१३३ को जग्गा विगहा ०१८१० प्रल्हाद शाह कानूको नामको जग्गा निजको पत्‍नी रमपतिया देवी कनुईनका नाममा मोही नामसारी हुने ठहर्छ भन्ने मिति २०४२।२।११ मा निर्णय गर्नुभएको छ ।

३. भू.सं. ऐन, २०२१ को दफा २६(१) मा जग्गावालाले पत्याएको व्यक्तिलाई मोहियानी हक प्राप्त हुने प्रष्ट व्यवस्था भएको र जग्गा धनीले म निज मोहीको छोरालाई भू.सं.ऐनको दफा २६(क) अनुरुप पत्याई निवेदन दिँदा दिँदै उक्त ऐनको वर्खिलाप प्रमाण मूल्याङ्कन नै नगरी त्रुटिपूर्ण रुपले गरिएको उक्त निर्णयबाट संविधानको धारा १०, ११(२)(ङ) र १५ का मौलिक हक हनन् भएकोले उत्प्रेषणको आदेशद्वारा उक्त मिति २०४२।२।११ को विपक्षी भूमिसुधार कार्यालयको निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन ।

४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत मिति २०४२।४।९।४ को सिंगलबेञ्चको आदेश ।

५.    प्रस्तुत रिट निवेदन जग्गा धनीका तर्फबाट परेको नभई मोही नामसारी गरिपाउँ भन्ने मेरा छोरा विपक्षी रिट निवेदकको मात्र भएकोमा निजले पाउन सक्ने संभावित हकलाई निर्विवाद हक मान्न नमिल्ने हुँदा निजका संवैधानिक हकमा आघात पुगेको छैन । भूमि  सम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही रोज्ने अधिकार पाएका जग्गा धनीले मलाई मोही कायम गरी दिएको निर्णयमा चित्त बुझाई बस्नु भएको हुँदा हकदैया विहीन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी रमपतिया देवी कनूइनको लिखितजवाफ ।

६. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोही मरेपछि निजको सो हक पति पत्‍नी वा छोराहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने व्यवस्थाबाट मोही पति भएका पत्‍नीलाई र पत्‍नी मोही भएमा पतिलाई एक अर्काको मृत्यु पछि स्वतः हक प्राप्त हुने र छोराहरू धेरै भएमा मात्र सो मध्ये कुनै एकलाई जग्गावालाले पत्याउने भन्ने ऐनको मनसाय स्पष्ट देखिन्छ । तसर्थ मोहीको पत्‍नीलाई मरुवा मोहीको मोहियानी हक नामसारी हुने गरी यस कार्यालयबाट भएको उक्त मिति २०४२।२।११ को निर्णय कानुनसंगत नै हुँदा रिट निवेदन खारेज हुन अनुरोध गरिन्छ । भन्ने समेत भूमिसुधार कार्यालय वाराको लिखितजवाफ ।

७. रिट निवेदकका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रकाश बस्तीले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा जग्गावालाले पत्याएको व्यक्तिको नाममा मोहीको हक नामसारी हुने व्यवस्था भएकोमा जग्गा धनीले मेरो पक्षलाई पत्याई निवेदन दिएको हुँदा हुँदै पनि विपक्षीका नाममा मोही नामसारी गर्ने गरी गरेको भू.सु.का.वाराको निर्णयमा उक्त ऐनको दफा २६(१) को त्रुटि भएकोले उक्त निर्णय बदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । प्रत्यर्थी भूमिसुधार कार्यालय वाराको तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान का.मु.सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधानले मोही नामसारी गरिपाउँ भन्ने मर्ने मोहीको स्वास्नी रमपतिया देवीको निवेदन अनुसार निजको नाममा मोही नामसारी गर्ने गरेको भू.सु.का.को निर्णयमा कुनै त्रुटि छैन । रिट खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

८. प्रस्तुत निवेदनमा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुनु आएको छ ।

९. यसमा निर्णयतर्फ हेर्दा जग्गा धनीले पत्याएकोले मोही नामसारी गरिपाउँ भनी रिट निवेदक र जग्गा धनीको संयुक्त निवेदन परेको भन्ने छ । अर्कातर्फ मर्ने मोहीको स्वास्नी रमपतिया देवीले मोही नामसारी गरिपाउँ भन्ने दिएको निवेदनमा प्रत्यर्थी भू.सु.का.वाराले पतिको मृत्युपछि पत्‍नी नै नजिकको हकदार हुने व्यवस्था मुलुकी ऐनमा भएको हुँदा र भू.सं. ऐन, २०२१ को दफा २६ ले पनि नजिकैको हकदारलाई प्राथमिकता दिएको देखिँदा रमपतिया देवीका नाममा मोही नामसारी हुने ठहर्छ भनी मिति २०४२।२।११ मा निर्णय गरेको देखिन्छ ।

१०.    भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्‍नी वा छोराहरूमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्ने लेखिएको पाइन्छ । यसबाट मोहीको पति पत्‍नी वा छोराहरूमध्ये जग्गा धनीले पत्याएको व्यक्तिले मोहियानी हक पाउने व्यवस्था गरेको देखिन्छ । नजिक हकदारले पाउने व्यवस्था ऐनले गरेको देखिँदैन । मोही नामसारी गरिपाउँ भनी रिट निवेदकको र प्रत्यर्थी रमपतिया देवीको अलग अलग निवेदन परेपछि अलग अलग मिसिल बनाई छुट्टाछुट्टै कारवाही निर्णय गर्नुपर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा मोही नामसारी गरिपाउँ भनी छुट्टाछुट्टै परेको दुवै निवेदनमा छुट्टाछुट्टै कारवाही निर्णय गरेको देखिँदैन । सो दुवै निवेदन एउटै मिसिलमा राखी जग्गा धनीले पत्याएका व्यक्तिलाई मोहियानी हक प्राप्त हुने ऐनले व्यवस्था गरेकोलाई गलत व्याख्या गर्दै नजिक हकदार मोहीको पत्‍नी रमपतिया देवीलाई मोही नामसारी हुने ठहर्छ भनी गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय वाराको मिति २०४२।२।११  को निर्णय त्रुटिपूर्ण देखिन आयो ।

११. अतः उपर्युक्त उल्लेख भए अनुसार प्रत्यर्थी भूमिसुधार कार्यालय वाराको मिति २०४२।२।११ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाममा परमादेशको आदेश जारी गरिएको छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४३ साल ज्येष्ठ ८ गते रोज ५ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु