निर्णय नं. ६७४३ - लेनदेन

निर्णय नं. ६७४३ ने.का.प. २०५६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
संम्वत २०५४ सालको दे.पु.नं.. .... ३११८
फैसला मिति : २०५५।८।३।५
मुद्दाः लेनदेन ।
पुनरावेदक
प्रतिवादी : चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. १२ वस्ने पहलमान अधिकारीको मुद्दा सकार गर्ने लोकचन्द्र अधिकारी
विरुद्ध
विपक्षी
वादी : चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. १२ वस्ने राजन कुमार श्रेष्ठ
§ विवादित २०४१।१।२२ को लिखत हेर्दा लिखितम तपाई साहुको सांवा व्याज बुझाउन नसके साहु ऋण कानून वमोजिम मेरा घरका गैह्र जेथाबाट तपाई साहुको सांवा व्याज उपर गरी लिनु भन्ने समेत व्यहोरा पारी लिखत भएको देखिन्छ । लिखतको स्वरुप समेतबाट व्यापारीक कारोवारको लिखत नभई लेनदेन कारोवारको लिखत देखिंदा लेनदेनको ४० नं. लाग्न सक्ने अवस्थाको नभई लेनदेन व्यवहारको २ नं. वमोजिमको देखिंदा हदम्याद नाघेको भन्न मिलेन। लेनदेन व्यवहारको २ नं वमोजिम हदम्याद कायम गरी सांवा व्याज समेत भराई पाउने ठहर्याएको पुनरावेदन अदालत हेटौंडँ को फैसला मनासिव ठहर्ने ।
(प्र.नं. १२)
पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कृष्ण सापकोटा
प्रत्यर्थी तर्फबाटः
अवलम्वित नजिर :
फैसला
न्या.इन्द्रराज पाण्डेः न्याय प्रशासन ऐन, २०४८ वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् एवं ठहर यस प्रकार छ ।
२. विपक्षीले म फिरादीबाट २०४१।१।९ सम्म पटक पटक गरी रु.३६९७५। अक्षरेपी छत्तीस हजार नौ सय पचहत्तर कर्जा लिनु भएको र सो कर्जा रुपैयाको सांवा र व्याज समेत एकमुष्ट गरी मिति ०४१ साल भित्र वुझाउन भाखा राख्नु भएको र सो भाखा भित्र नवुझाए मेरो गैर जेथाबाट असुल उपर गरी लिनु भएमा मेरो मन्जूरी छ भनि विपक्षीले लिएको सो कर्जा रुपैयाको मिति २०४१ साल वैशाख २२ गते भाखा पत्रको कागज गरी म फिरादीलाई दिनु भएकोमा हाल सम्म नबुझाई आलटाल गर्दै हदम्याद कटाई दिई मेरो सो कर्जा रुपैया मलाई नदिई बदनियत गरी खाने नियत गर्नु भएकोले अन्यायमा परी यो फिराद गर्न आएको छु । आजसम्मको व्याज रु.३३५६५।०६ समेत जम्मा सांवा व्याज रु.७०५४०।०६ भरी भराउने मितिसम्मको सांवाको कानून अनुसार लाग्ने व्याज समेत विपक्षीबाट म फिरादीलाई मुलुकी ऐन लेनदेन व्यवहारको ४ नं. अनुसार दिलाई भराई पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. मिति २०३९ सालदेखि शुशील शम्शेर ज.व.रा.ले चितवनको माडी ठोरी, रामनगर ठिमुरा र अन्य ठाउंको काठको ठेक्का लिनु भएको थियो र उक्त काठ ठेक्काको कारोवारमा मैले शुशील शम्शेरको प्रतिनिधिको रुपमा काम गर्दै आएकोमा विपक्षी वादी पनि मेरो एकै गाउंको घर छिमेकीको भएको हुंदा म संग सम्र्पक भई जर्ना दाउरा काठ मसंग लिने र काठमाण्डौंमा लगी विक्रि गर्ने काममा लाग्नु भयो । यसरी विपक्षी र म एकै ठाउंको छिमेकी भएको नाताले कहिले मसंग वांकीमा जर्नाका काठ लग्ने र काठमाण्डौंमा लगि विक्रि गरेपछि आई पैसा बुझाउने र कहिले मलाई पहिले नै रकमको आवश्यकता परेमा निज विपक्षीबाट केहि रकम पहिले नै लिने र पछि जर्नाको काठ दिने गरी व्यवहार संचालन गरेका थियौं । यसरी विपक्षीको र मेरो वीच १, १.१/२ महिना व्यवहार गर्दै आएपछि रामनगर जंगलमा हामीले ठेक्काको काठ झिक्न थाले पछि काठ दाउरा भएको ठाउंबाट मुल वाटो निस्कनको लागि बाटो बनाउंदा डोजर लगाउन परेकोले वाटो बनी सकेपछि सो रकम वरावरको दाउरा जर्ना दिने भनि सल्लाह गरी २०४१ वैशाख महिनामा विपक्षीबाट पटक पटक गरी केही रुपैया लिई वाटो बनाउंदा खर्च गरेको र विपक्षीलाई रु.३६९७५। रुपैया वरावरको जर्ना काठ दिन पर्ने भएकोले विपक्षीले मलाई संझनाको लागि एउटा भरपाई गरी दिनुहोस भनेकाले मैले गरी दिउंला भनि भनेको र विपक्षीले भोलिपल्ट भरपाई बनाई ल्याएको छु सहीछाप गरी दिनु होस भनेकाले मैले सहिछाप गरी दिएको सम्म हो यसरी वाटो निर्माण गरी काठ निकाशा गर्न शुरु गरेपछि विपक्षीले कहिले एक टिप कहिले २ टिपका दरले २१, २२ टिप जर्ना लागिसकेपछि हिसाव गर्दा विच विचमा दिएको रकम र मैले विपक्षीलाई वाटो बनाउंदा लिएको भरपाई वमोजिमको रुपैया ३६९७५। रकम कटाई विपक्षीले मलाई रु.१२२००। हिसाव निस्केको हुंदा हिसाव भएपछि विपक्षीलाई मैले सो भरपाई पनि दिनुहोस र मलाई दिनु पर्ने वांकी रकम पनि दिनुहोस भन्दा भरपाई घरमा छ भोलि ल्याई दिन्छु नभए अव त्यसको के काम भयो र आजै च्याती दिन्छु र अव मैले तपाइलाई दिनु पर्ने रकम अहिले छैन १५।२० दिन पछि दिन्छु भन्नु भएकोले त्यसो भए संझनाको लागि पकेट बुकमा लेखी राख्नुहोस भनि मैले भनेपछि विपक्षीले मेरो पकेट वुकमा मैले लिएको रु.१२,२००। भनि आफ्नै हस्ताक्षरले लेखि सहीछाप समेत गरीदिनु भएको छ । मैले सांवा व्याज वुझाउन नपर्ने हुंदा झुठा दाबीबाट अलग फुर्सद पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. सक्कल लिखत देखि सुनी पाएं सद्दे व्यहोराको लिखत हो तर लिखत वमोजिमको जर्ना (ट्रीप) ट्रकको हिसावले दिएकोमा लिखतमा लेखिएको रकमभन्दा वढी रुपैयाको जर्ना दिएको सो वढी रकम निजले आफ्नो हस्ताक्षरले मेरो डायरीमा लेखि दिएका छन भन्ने समेत व्यहोराको प्रतिवादी पहलमान अधिकारीले गरेको वयान ।
५. वादीको साक्षी गगन कुमार श्रेष्ठ र प्रतिवादीको साक्षी कोमल प्रसाद रावल, गणेश वहादुर भण्डारी, मोहदत पौडेल समेतले पृथक पृथक गरेको वकपत्र मिसिल संलग्न रहेछ ।
६. वादी दावी वमोजिमको सांवा रु.३६९७५। र सो को सयकडा रु.१० ले दश वर्ष पुगी सकेको हुंदा सांवा वरावरको व्याज रु.३६९७५। वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्छ भन्ने शुरु चितवन जिल्ला अदालतको फैसला ।
७. प्रस्तुत दावीको लिखत व्यापारीक प्रकृतिको भएकोले लेनदेन व्यवहारको २ नं. को हदम्याद लागु हुने नभई उक्त महलको ४० नं. वमोजिम २ वर्ष मात्र हदम्याद हुने भएकोले हद म्याद वाहिरको छ । मैले वादीलाई तिर्नु वुझाउनु पर्ने रकम बुझाई सकेकोमा भर्पाइ पेश गर्न नसकेको भनि विपक्षीले म प्रतिवादीलाई १२,५००। दिनु छ भनि निजकै हस्ताक्षरबाट गरी दिएको भर्पाई टिपोट समेत उपर विचारै नगरी शुरु चितवन जिल्ला अदालतले गरेको त्रुटिपूर्ण फैसला उल्टी गरी मैले तिरी सकेको रकम तिर्न नपर्ने गरी फैसला गरी पाउं भन्ने प्रतिवादीको पुनरावेदन पत्र ।
८. यस्मा विवादित तमसुक शुरु कपाली तमसुक नभै जर्नाको शर्त सहितको व्यापारीक कारोवारको तमसुक देखिएको परिप्रेक्ष्यमा शुरु जिल्ला अदालतबाट सांवा व्याज भराई दिने ठहर गरेको इन्साफ फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको आदेश ।
९. मिति २०४२।४।८ मा रु.१२२००। र २०४२।४।३१ मा रु.३००। को भर्पाइ टिपोट वुक मैले गरी दिएको हुं र उक्त भर्पाई टिपोट वुक सद्दे हो भन्ने वादीको वारेस भव सागर श्रेष्ठले पुनरावेदन अदालत हेटौंडँमा गरेको वयान ।
१०. २०४१।१।२२ को लिखत अवलोकन गर्दा धनी ऋणी भई लिखत भएको र व्यहोरामा पटक पटक गरी ऋण रकम लिएको भनी उल्लेख हुनुका अतिरिक्त सांवाव्याज दिने समेत व्यहोरा परेबाट लिखत प्रष्ट रुपमा लेनदेन भएको व्यहोरा वोली रहेको अवस्था देखिन आयो । पुनरावेदकले पटक पटक गरी जम्मा रु.१२,५००। वुझि भरपाई गरी दिएको भनि भनेकोमा टिपोट किताव सुनाउंदा प्रत्यर्थि वादीको वारेस भवसागर श्रेष्ठले २०४२।४।८ मा रु.१२,२००। र ०४२।४।३१ मा रु.३००। लिई भरपाई टिपोट गरी दिएको स्वीकार गरी वकपत्र गरेवाट सो रकम सांवामा कट्टा भई सांवा व्याज पाउने ठहर्याउनु पर्नेमा ३६९७५। सांवा र ३६९७५। व्याज भराई लिन पाउने ठहर्याएको शुरु इन्साफ केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको फैसला ।
११. यस्मा विवादित लेनदेन कपाली ऋण लिने प्रकृतिको नभएर व्यापारिक प्रकृतिको हो भन्ने कुरा प्रतिउत्तर पत्र समेतबाट प्रष्ट भएको र व्यापारीक प्रकृतिको कारोवार भन्ने कुरा मिसिल प्रमाणले देखाएको अवस्थामा मुलुकी ऐन लेनदेन व्यवहारको ४० नं. लाग्नेमा २ नं. को म्याद कायम गरी सांवा व्याज भरी पाउने ठहर गरेको पु.वे.अ. को फैसला प्रतिपादित नजिर समेतका आधारमा वदरभागी छ । विवादित जर्नाकाठ दिने भनी गरिएको लिखत वमोजिम उक्त काठ दिने भनिएको म्याद भित्रै विपक्षीले उजुर नगरेको अवस्था स्वयंले पनि विवादित लिखत वमोजिम जर्ना काठ लगिसकेको र मेरो पिताले तिर्नु वुझाउनु पर्ने नभएको भन्ने प्रष्ट हुंदाहुंदै सो रकम भरी पाउने ठहर गरेको फैसला अन्याय पूर्ण हुंदा वदर गरी विपक्षीको झुठा दावाबाट फुर्सद गरी इन्साफ पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१२. नियम वमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्ण सापकोटाले विवादित लिखतको प्रकृतिबाट लिखत कपाली तमसुक नभई व्यापारिक प्रयोजनको लागि व्यापारिक कारोवारको हुंदा लेनदेन व्यवहारको २ नं. को हदम्याद कायम गरी सांवा व्याज भरी पाउने गरी गरेको फैसला त्रुटीपूर्ण हुंदा वदर गरिनु पर्छ भनी गर्नु भएको वहस समेत सुनी रु.१२,५००। सांवामा कट्टा गरी लिखत वमोजिम सांवा व्याज भरी पाउने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको इन्साफ मिले नमिलेको के रहेछ भनी निर्णय तर्फ विचार गर्दा, यस्मा विवादित २०४१।१।२२ को लिखत हेर्दा लिखितम तपाई साहुको सांवा व्याज बुझाउन नसके साहु ऋण कानून वमोजिम मेरा घरका गैह« जेथाबाट तपाई साहुको सांवा व्याज उपर गरी लिनु भन्ने समेत व्यहोरा पारी लिखत भएको देखिन्छ । लिखतको स्वरुप समेतबाट व्यापारीक कारोवारको लिखत नभई लेनदेन कारोवारको लिखत देखिंदा लेनदेनको ४० नं. लाग्न सक्ने अवस्थाको नभई लेनदेन व्यवहारको २ नं. वमोजिमको देखिंदा हदम्याद नाघेको भन्न मिलेन । लेनदेन व्यवहारको २ नं वमोजिम हदम्याद कायम गरी सांवा व्याज समेत भराई पाउने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको फैसला मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय
इति संवत् २०५५ साल मार्ग ३ गते रोज ५ शुभम्