शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६६६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२

निर्णय नं. ३६६६     ने.का.प. २०४५                 अङ्क १२

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४५ सालको रि.पू.ई.नं. ७९

आदेश भएको मिति : २०४५।११।२६।५ मा

 

रिट निवेदक : जि.सिरहा थल्हाकटवा गा.पं. वडा नं. ४ बस्ने सीताराम यादव

विरुद्ध

विपक्षी : जि.सिराहा थाल्हकटवा गा.पं. वडा नं. ४ बस्ने दुखी यादवसमेत

 

विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 

(१)                जो मोही हुन्छ उसैसंगबाट नै कूतबाली भराउने हो, साविक मोही जीवित रहेको भए निजलाई मरेको भनी निजको जेठो छोरासंग कूतवाली भराई पाउँ भनी नालिश दिनु पर्ने औचित्य नरहने ।

(प्रकरण नं. १३)

(२)               मोही मरिसकेको भनी दावी लिई मोहीको जेठो छोरा उपर बाली मुद्दा दिई बाली भरी पाउने ठहरी फैसला भएको अवस्थामा पछिका मितिमा मोही मरेको भनी जग्गाधनीले अर्को छोरालाई मोही रोज्न नपाउने ।

(प्रकरण नं. १३)

 

निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंह

प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस सर्वोच्च अदालत संयुक्त इजलासमा पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ बमोजिम यस पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदन को संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ ।

२.    बुबा परमेश्वरका ३ छोरामा म निवेदक सीताराम यादव, दुःखी यादव र सुखीलाल यादव समेत हौं । मेरो बुबाले परमेश्वर यादव र रामेश्वर यादवको नाउँमा संयुक्त दर्ता रहेको जि.शि.राजपुर गा.पं.वा.नं. ६(क) को कि.नं. २५७ को ज.वि. ०७।५ तथा ऐ. ऐ. कि.नं., २५९ को १० र ऐ. गा.पं. चिकना वा.नं. ५ बस्ने परमेश्वर यादवको नाममा दर्ता रहेको थल्लाकटवा गा.पं.वा.नं. ३ कि.नं. १२१ को ०½ र ऐ. सिराहा गा.पं. वा.नं. ५ बस्ने गोविन्दमान श्रेष्ठको नाममा दर्ता रहेको गा.पं. थल्हाकटवा वा.नं. २ को कि.नं. १८९ का ०१४५ जम्मा ४ कित्ता जग्गा भूमिसुधार लागू हुनु भन्दा अघिदेखि जोत आवाद गरी उक्त चारै कित्ताको मोहियानीमा जोत आवाद गरी सालसालै जग्गाधनीलाई बाली बाँडफाँड गरी दिनु भएका र म सँधै बुबालाई सहयोग गरी आएको थिएँ । मेरो बुबा ०३३ सालमा स्वर्गवास हुनु भयो । जग्गाधनी परमेश्वरको पनि स्वर्गवास भयो र मेरी आमा पनि स्वर्गवास हुनु  भयो । बुबाको स्वर्गवास भएपछि उक्त सम्पूर्ण जग्गाधनीहरुले आदेशानुसार मैले नै जोत आवाद गरी आएको छु । विपक्षी मध्ये रामेश्वर र स्व.परमेश्वरकी जेठी श्रीमती मुकुन्तीले मलाई मोही मानी म उपर उक्त जग्गाहरुमा २०३४ सालको बाली दिलाई पाउँ भनी सिराहा जि.अ.मा कूतबाली मुद्दा दिई निजहरुले म निवेदकबाट तिर्न बुझाउन बाँकी रहेको धान बाली जग्गाधनीलाई बुझाउन पर्ने ठहरी ०३५।१२।२८ गते उक्त अदालतबाट फैसला समेत भएको छ । रामेश्वर र निजकी श्रीमती समेतको मृत्यु भएकोले निज परमेश्वरकी जेठी पत्नी मुकुन्ती तथा कान्छी पत्नी लक्ष्मीनियाको नाममा उक्त जग्गा नामसारी भई आएपछि निजहरु दुवै जनाले मलाई मोही मानी म उपर ०३५ सालको बाली मुद्दा सिराहा जिल्ला अदालतमा दिएकोमा यसमा पनि म निवेदकबाट कूत पाउने गरी ०३६।६।२२ गते सिराहा जि.अ.बाट फैसला भएपछि ०३६ साल माघ १५ गते मुकुन्तीलाई बाली बुझाई भर्पाई दिएको छ । बुबाको मृत्युपछि निजको माहिलो छोराको नाताले विपक्षी दुःखीलालले उक्त सम्पूर्ण जग्गा मेरो नाममा नामसारी गरी पाउँ भनी मलाई थाहा नै नदिई भू.सु.का. सिराहामा ०४२।११।६ मा निवेदन दिनु भएको कुरा थाहा पाएपछि जग्गाधनीले मलाई पत्याई सकेकोले मोही हक नामसारी गरी पाउँ भनी ०४२।१२।१४ गते गा.पं. को सिफारिश सहित उक्त कार्यालयमा निवेदन दिएँ । स्व.परमेश्वरको दुवै पत्नी तथा छोरा जमूना यादव तीनै जग्गाधनीले विपक्षी दुःखीलालतर्फ लागी निज दुखीलाललाई नै मोही स्वीकार गरेको भनी भू.सु.का.मा प्रतिउत्तर दिएँ । साथै जग्गाधनी गोविन्दमान श्रेष्ठ पनि विपक्षीको मिलोमतोमा परी निजलाई नै मोही रोजेको भनी निजको प्रतिउत्तर पर्‍यो । भू.सं. ऐन, ०२१ को दफा २६(१) बमोजिम जग्गाधनीले पत्याएको व्यक्तिलाई मोही नामसारी गरी दिने व्यवस्था भएको हुँदा जग्गाधनीहरुले पत्याएको व्यक्ति दुःखीलालको नाममा मोही नामसारी हुने ठहर्छ भनी ०४३।३।१३ गते भू.सु.का. सिराहाबाट निर्णय भयो ।

३.    विवादित जग्गा स्व.परमेश्वर यादवका २ पत्नीहरु मध्ये जेठी पत्नी मुकुन्ती र रामेश्वर यादवले मलाई मोही मानी ०३४ र ०३५ सालको कूतबाली भराई पाउँ भनी कूतबाली मुद्दा दिई अदालतबाट फैसला भएको छ । एकपटक आफैंले मलाई मोहीमा स्वीकार गरेपछि प्रमाण ऐनको दफा ३४ को विबन्धनको सिद्धान्तको अनुरुप अर्को भाइलाई मोही मान्नु पर्ने प्रश्नै उठ्तैन । यस्तो अकाट्य प्रमाण देखाउँदा देखाउँदै पनि भू.सु. अधिकारीले मेरो विरुद्ध गर्नु भएको निर्णय बदरभागी छ, जमुना यादवको बुबाले नै मलाई मोहीमा स्वीकार गरिसकेको हुँदा निज जमूना यादवले स्वीकार नगर्ने प्रश्नै उठ्तैन । विपक्षी मुकुन्ती र लक्ष्मीनियाले मलाई मोहियानी मुद्दा दिई फैसला बमोजिम बाली बुझाएको भर्पाई पनि अकाट्य प्रमाणको रुपमा रहेको साथै विपक्षी र मैले दिएको निवेदनमा छुट्टाछुट्टै सबूद प्रमाण संकलन गरी छुट्टाछुट्टै निर्णय गर्नु पर्नेमा एउटै निर्णय गरेकोमा न्यायिक मनको प्रयोग भएको छैन । मुद्दा गाभी फैसला गर्नु हुन्न भन्ने प्रतिपादित सिद्धान्तको पनि विपरीत भएको छ गोविन्दप्रसादले विपक्षी दुःखीलाई मोही पत्याएकोमा मलाई केही भन्नु छैन ।

४.    उपरोक्तानुसार भू.सु.का. सिराहाको मिति ०४३।३।१३ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी कानून बमोजिम निर्णय गर्नु भनी परमादेश समेत जारी गरी हनन् भएको हकको प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

५.    विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेशानुसार प्राप्त लिखित जवाफको व्यहोरा संक्षेपमा यस प्रकार छ ।

६.    दुःखी यादवलाई जग्गाधनीहरुले मोही पत्याएकोले भू.सं. ऐन, २०२१ को दफा २६(१) बमोजिम निजलाई मोही कायम हुने ठहर्‍याएको यस कार्यालयबाट भएको ०४३।३।१३ को निर्णय कानूनसंगत हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत भू.सु.का. सिरहा ।

७.    जग्गाधनीहरुले मलाई मोही पत्याई म संग बाली बुझ्दै आउनु भएको छ । पिता परमेश्वरको ०३५।११।१५ मा स्वर्गवास भएकोमा विपक्षीले ०३३ सालमा स्वर्गवास भएको भन्नु भएको छ । रिट निवेदक सफा हातले आएको छैन । भू.सु.का. बाट भएको निर्णयमा कुनै त्रुटि भएको नहुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी दिुःखी यादव ।

८.    मोही परमेश्वर यादव जीवित नै रहेको अवस्थामा विपक्षी रिट निवेदकलाई मोही पत्याउने कुरा थिएन । छैन । सोे कुरा भू.सं. ऐन, २०२१ को दफा २६(१) मा नै प्रष्ट छ । हामी प्रत्यर्थीहरु र हाम्रा पति, पिताले कहिल्यै पनि विपक्षीलाई मोही पत्याएको छैनन् । मोही नै नरहेको विपक्षी उपर परेको नालिसबाट विपक्षीलाई मोही पत्याउने प्रश्न आउँदैन । विपक्षीको दावी विल्कूल बनावटी भएकोले विपक्षीको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत लक्ष्मीनिया यादवनी, मुकुन्ती यादवनी र जमुना यादव ।

९.    भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा साविक मोहीको मृत्यु भएपछि मात्रै निजका स्वास्नी छोराहरुमध्ये कसैलाई जग्गाधनीले पत्याउनु पर्ने क्रिया शुरु हुने प्रष्टै छ । यसबाट साविक मोही जीवित छँदाछँदै निजका स्वास्नी छोराहरुलाई जग्गाधनीले मोही रोज्ने पत्याउने कुराको प्रसंग उठ्न नसक्ने प्रष्ट छ । यदि त्यस्तो कार्य भएकै भए पनि त्यस्तो कानूनी मान्यता पाउन सक्ने देखिँदैन । मोहीको मृत्यु भन्दा अगाडि निजको छोराले बाली बुझाएको भए तापनि जग्गाधनीले सोही छोरालाई मोहीको मृत्युपछि पनि पत्याएको मान्न मिल्ने अवस्था नदेखिने । मोहीको मृत्युपछि मोही रोज्न पाउने हक जग्गावालालाई रहने भनी यस अदालतबाट सिद्धान्त पनि प्रतिपादन भइसकेको छ । तसर्थ साविक मोहीको मृत्युपछि निजका माहिला छोरा दुःखीलाल  यादवले निजको नाममा मोही नामसारी गरी पाउँ भनी निवेदन दिई जग्गाधनीहरुलाई बुझ्दा निजहरुले निजैलाई मोही पत्याउने भनी प्रतिउत्तर दिएको आधारमा विपक्षी दुःखीलाल यादवको नाममा निजको बाबुको नामको मोहियानी नामसारी हुने ठहर्‍याएको भूमिसुधार कार्यालय सिराहाको मिति ०४३।३।१३ को निर्णय कानून एवं प्रतिपादित सिद्धान्त समेतको अनुकूल एवं कानूनसंगत देखिँदा रिट निवेदन माग बमोजिम आदेश जारी गरी अन्यथा गर्न मिलेन । तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । रिज जारी हुने ठहर्‍याउनु हुने सहयोगी माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानज्यूको रायसंग सहमत नहुँदा स.अ. नियमावली, २०२१ को नियम ३३ बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्न समेत माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।

१०.    प्रस्तुत विवादमा निवेदन जिकिर बमोजिम रिट निवेदक उपर कूत भराई पाउँ भनी माथि लेखिएका जग्गाधनीहरुले उजूर दिई निजबाट बाली भराई पाउने ठहरी फैसला भएको कुरा निर्विवाद एवं अकाट्य तथ्य हो । साविक मोही परमेश्वर यादव जीवित छँदा विपक्षी जग्गाधनीहरुले निजै उपर त्यस्तो मुद्दा दिनुपर्ने अनिवार्य हुन्थ्यो । त्यस्तो नभई निज मोही परमेश्वर जीवित छँदै निजका जेठो छोरा रिट निवेदक सीताराम यादव उपर बाली भराई पाउँ भनी मुद्दा दिनुको कारण फायलबाट केही देखिन आउँदैन । अदालतबाट बाली भरी पाउने ठहरेपछि फैसला बमोजिम बाली बुझाई रिट निवेदककै नाममा भर्पाई समेत दिइएको छ । तत्काल दर्तावाल मोही निवेदकका बाबु हुँदाहुँदै जग्गाधनीहरु मुकुन्ती यादव, लक्ष्मीनिया र जमुना यादवबाट रिट निवेदकसंग उपरोक्त क्रियाकलाप हुनुको अर्थ विपक्षी जग्गाधनीहरु लक्ष्मीनिया यादव, मुकुन्ती यादव र जमुना यादवले रिट निवेदकलाई मोही स्वीकार गरेको मान्न कर लाग्छ । साविक मोहीको मृत्यु पश्चात निजको नामको मोहियानी नामसारी गरी पाउँ भनी विपक्षी दुःखी यादवको भू.सु.का.मा निवेदन परेपछि रिट निवेदकले पनि ती जग्गाधनीहरुले मलाई मोही स्वीकार गरिसकेको हुँदा साविक मोही पिता परमेश्वर यादवको नामको मोहियानी मेरो नाममा नामसारी गरी पाउँ भनी उक्त कार्यालयमा निवेदन दिएकोमा ती जग्गाधनीहरु बुझ्दा विपक्षी दुःखी यादवलाई मोही पत्याउने भनी प्रतिउत्तर दिएकै आधारमा निज दुःखी यादवका नाममा मोही नामसारी गरी दिने गरी भू.सु.का. बाट ठहर भएको देखिन्छ । माथि उल्लेख गरे अनुसार साविक मोहीको मृत्यु पूर्वदेखि नै रिट निवेदकलाई मोही स्वीकार गरिसकेकोमा पछि निजलाई मोही नपत्याई अर्को व्यक्ति (भाइ) लाई मोही पत्याउने भन्नु विबन्धनको सिद्धान्तको विपरीत हुन आउँछ । तसर्थ अघिदेखि मोही मानी आएको व्यक्ति हुँदाहुँदै ति जग्गाधनीहरुले विपक्षी दुःखी यादवलाई मोही पत्याएका र सोही आधारमा निजका नाममा मोहियानी नामसारी दर्ता हुने ठहर्‍याएको भू.सु.का. सिराहाको मिति ०४३।३।१३ को निर्णय प्रमाण ऐन, ०३१ को दफा ३४(१) मा उल्लिखित विबन्धनको सिद्धान्त विपरीत भई त्रुटिपूर्ण छ । ने.का.प. २०४३ भाग ८ अंक ९, पृष्ठ ८७५ मा प्रकाशित मोहीको मृत्युपछि मात्र मोही रोज्न पाउने हक जग्गावालालाई रहने भन्ने समेत यस अदालतबाट प्रतिपादित सिद्धान्तको हकमा विचार गर्दा उक्त मुद्दामा विबन्धनको सिद्धान्तको बारेमा विवेचना नै नगरिएको हुँदा यस सम्बन्धमा विवेचना हुन पर्ने समेत देखिन आएको छ । तसर्थ उपरोक्तानुसार भू.सु.का. सिराहाको मिति ०४३।३।१३ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । रिट निवेदन खारेज हुने ठहर्‍याउनु हुने सहयोगी माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहज्यूको रायसंग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेतको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंहले रिट निवेदकका बाबु २०३३ सालमा परलोक भएको भनी विपक्षीहरुले निवेदकलाई नै मोही मानी कूत भराई पाउँ भन्ने उजूरी दिई अदालतबाट समेत निवेदकबाट कूत भराउने फैसला भई सो बमोजिम कूत बुझी भर्पाई समेत गरिदिएको अवस्थामा पुनः अर्को व्यक्तिलाई मोही पत्याएको भन्न मिल्दैन । एकपटक मोही भनी निजसंग कूत समेत बुझिसकेपछि अर्कोलाई मोही पत्याउँछौ भनेको आधारमा सीताराम यादवलाई मोहीबाट हटाई दुःखी यादवलाई मोही कायम गरेको भू.सु.का. सिराहाको निर्णय विबन्धनको सिद्धान्त विपरीत भएकोले बदर हुनु पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी कार्यालयको तर्फबाट बहस गर्न खटिआउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात र प्रत्यर्थी जमुना यादव समेतको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले आफ्नो बहसको दौरानमा जग्गाधनीले मोही पत्याउने क्रिया पूर्णतः कानूनी प्रकृया हो । यस्तो कानूनी कुरामा विबन्धनको सिद्धान्त लागू हुँदैन । मोहीका संगोलका छोराहरु मध्ये एकजनालाई प्रतिवादी बनाई कूतबाली भरी पाउँ भन्ने मुद्दा दिँदैमा ऐनको दफा २६(१) बमोजिम जग्गाधनीको मोही पत्याउन पाउने हक जाँदैन जग्गाको दर्तावाला मोही २०३५ सालमा परलोक भएको हो भन्ने समेतको तर्क प्रस्तुत गर्नु भयो ।

१२.    प्रस्तुत रिट निवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१३.    यसमा निर्णयतर्फ हेर्दा पिता परमेश्वर यादवले मोहियानीमा कमाएको जग्गा ०३३ सालमा पिताको स्वर्गवास पछि जेठो छोरा म रिट निवेदकले कमाई आएकोमा विपक्षी जग्गाधनीहरु मध्ये लक्ष्मीनिया यादव, मुकुन्ती यादव र जामुन यादवको पिता रामेश्वर यादवले मलाई मोही स्वीकार गरी म उपर २०३४ र २०३५ सालको कूत भराई पाउँ भनी अदालतमा दुई पटकसम्म अलग अलग मुद्दा दिई अदालतबाट म रिट निवेदकबाट नै कूतबाली भरी पाउने ठहरी फैसला भई सो फैसला बमोजिम निवेदकले जग्गाधनीलाई कूतबाली समेत बुझाएको अवस्थामा पछि गएर विपक्षी दुःखी यादवलाई उक्त जग्गाधनीहरुले मोही पत्याएको भन्ने आधारमा निजको नाउँमा मोही नामसारी हुने ठहर्‍याएको भूमिसुधार कार्यालय सिराहाको मिति २०४३।३।१३ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने मुख्य रिट निवेदन जिकिर रहेको पाइन्छ । प्रत्यर्थीहरुको लिखित जवाफमा साविक मोही परमेश्वर यादव २०३५ सालमा परलोक भएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार हामी जग्गाधनीहरुले निज परमेश्वर यादवको माहिला छोरा दुःखी यादवलाई मोही पत्याएको र बाबुको शेषपछि निजले नै जग्गा कमाई आएकोले निज दुःखी यादवको नाउँमा मोहियानी नामसारी हुने निर्णय भएको भन्ने उल्लेख भएको देखिन्छ । विपक्षी जग्गाधनीहरु जामुन यादवको पिता रामेश्वर यादव, लक्ष्मीनिया यादवले २०३४ सालको कूतबाली मुद्दामा फिराद दिँदा सीतारामको बाबु मोही परमेश्वर यादव १ वर्षअघि मरिसकेको र सीतारामले जग्गा जोतेको भनी कूतबालीमा उजूरी दिई सिराहा जिल्ला अदालतबाट सीतारामको बाबु मोही परमेश्वर यादव मरेको भनी रिट निवेदकसंगबाट २०३४ सालको कूतबाली भराई पाउने ठहरी २०३५।१२।२८ समेतको मितिमा फैसला भएको देखिन्छ । जो मोही हुन्छ उसैसंगबाट नै कूतबाली भराउने हो । साविक मोही परमेश्वर यादव जीवित रहेको भए निजलाई मरेको भनी निजको जेठो छोरा सीताराम यादवसंग कूतवाली भराई पाउँ भनी नालिश दिनु पर्ने औचित्य रहँदैनथ्यो । अदालतबाट कूतबाली भराउने ठहरी फैसला भएपछि जग्गाधनीहरुले रिट निवेदकसंगबाट नै कूत बुझी भर्पाई समेत गरिदिएको देखिन्छ । यस अवस्थामा उस बखत सीतारामले जग्गा जोतेको भनी स्वीकार गरी सकेपछि पुनः २०३५ सालमा आएर मात्र मोही परमेश्वर मरेको भनी अर्को मोही रोज्ने स्थिति हुँदैन मोही मरिसकेको भनी दावी लिई मोहीको जेठो छोरा उपर बाली मुद्दा दिई बाली भरी पाउने ठहरी फैसला भएको अवस्थामा पछिको मितिमा मोही मरेको भनी जग्गाधनीले अर्को छोरालाई मोही रोज्न पाउने हुँदैन । यसरी विपक्षी दुःखीलाल यादवको नाउँमा निजको बाबुको नामको मोहियानी नामसारी हुने ठहर्‍याएको भूमिसुधार कार्यालय सिरहाको निर्णय त्रुटिपूर्ण देखिन आयो । तसर्थ भू.सु.का. सिराहाको मिति २०४३।३।१३ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्‍याएको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । कानून बमोजिम गर्नु भनी प्रत्यर्थी कार्यालयको जानकारीको लागि आदेशको एकप्रति नक्कल महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।


उक्त रायमा हामीहरु सहमत छौं ।

न्या.प्रचण्डराज अनिल,

न्या.हिरण्येश्रमान प्रधान

 

 

इति सम्वत् २०४५ साल फाल्गुण २६ रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु