निर्णय नं. ३६६९ - अंश

निर्णय नं. ३६६९ ने.का.प. २०४५ अङ्क १२
पूर्ण इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४३ सालको दे.पूर्ण इजलास नम्बर ७६
फैसला भएको मिति : २०४५।१२।१०।५ मा
निवेदक/प्रतिवादी : का.जि.सिनामंगल बस्ने मिश्रिदेवी भारती मरी मु.स. गर्ने निजको छोरा ऐ. ऐ. वडा नं. ९ सिनामंगल बस्ने शिवप्रसाद भारतीसमेत
विरुद्ध
विपक्षी/वादी : भ.पु.जि.वागेश्वरी गा.पं. वडा नं. ३ बस्ने विष्णुप्रसाद भारती मरी मु.स. गर्ने निजकी श्रीमती ऐ. बस्ने उमादेवी भारती
मुद्दा : अंश
(१) दाइजोबाट बनाएको भनेको घरबाट वादीले अंश पाउँछ भन्न न्यायको दृष्टिमा मिल्ने नदेखिँदा उक्त बनाएको भनेको घरबाट वादीले अंश नपाउने ।
(प्रकरण नं. १२)
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह : श्री ५ महाराजाधिराज सरकारका हजुरमा सर्वोच्च अदालत फुल बेञ्चबाट हेरी इन्साफ जाँच गरी पाउँ भनी प्रतिवादी मिश्रीदेवी भारतीले चढाएको विन्तिपत्रमा फुल बेञ्चबाट मुद्दा दोहराई हेरी कानून बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट २०४३।२।१३ मा तोक लागी आई सम्माननीय प्रधान न्यायाधीशज्यूका आदेशानुसार पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :
२. बाबा श्री प्रसादको ३ श्रीमतीमा जेठी मेरो आमा खड्गकुमारीको गर्भबाट दाजु बलराम र म माहिली आमा विपक्षी मिश्रिदेवीबाट शिवप्रसाद, शंकरप्रसाद र कान्छी आमाबाट मुरारीप्रसाद जन्मेको आमा ९२ सालमा स्वर्गेवास हुन भएको मिति २०२४ साल माघ १० गतेदेखि बाबासंग मानु छुट्टिई बसेकी कान्छी आमा परलोक भएपछि २०२६ साल साउन महिनामा बाबा श्रीप्रसाद परलोक हुनु भएको २०२८ सालमा दाजु बलराम पनि परलोक हुनु भएको । भाउजू महकुमारी भन्ने सानो मैयाँ भारतीले विपक्षीहरु उपर अंशमा फिरादपत्र गरी मिति २०३३।२।१७ गते मा ६ भागको १ भाग पाउने गरी फैसला भएको मिति २०३७।४।४ गते विपक्षीहरुमा गई ५ भागको १ एक भाग मेरो पनि अंश छुट्याई देउ भन्दा अंश दिँदैनौ जानेको गर भनी जवाफ दिएकोले मिति २०२४।१०।१० गते मानो छुट्टिइएको मिति कायम गरी तायदाती लिई ५(पाँच) भागको (१) एक भाग मेरो अंश छुट्याई पाउँ भन्ने विष्णुप्रसाद भारतीको फिराद ।
३. वादीको भाउजू महकुमारीले ६ भागको १ भाग अंश छुट्याई लिइसकेकी छन् यो वादी ५ भागको १ भाग अंश पाउने अंशियार हुन् २०२४ सालदेखि उताको निज जिम्माको समेत तायदाती लिई निजको अंश छुट्याई दिएमा मन्जूर छौं भन्ने समेत मुरारीप्रसाद, शंकरप्रसाद र मिश्रीदेवीको प्रतिउत्तरपत्र परेको ।
४. वादी र वादीको दाजु बलराम २००९ सालदेखि नै मानु छुट्टिई चतरामठमा बसी आएका हुन जो भएको जग्गा जमीन आमा मिश्रिदेवीले नै जिम्मा लिइरहनु भएकोले वहाँकै नाममा नालेश गरे हुने आमा र वादीबाट तायदाती लिई मेरो र वादीको समेत अंश भाग छ्टयाई दिएमा मेरो मन्जूर छ भन्ने समेत शिवप्रसादको प्रतिउत्तरपत्र परेको ।
५. अघि मोहकुमारी वादी र प्रतिवादी यस मुद्दाका वादी विष्णुप्रसाद भई चलेको अंश मुद्दामा वादी पनि १ अंशियार कायम भई ६ खण्डको १ खण्ड अंश पाउने ठहरी २०३३।२।१७।१ मा निर्णय भई अंश छुटयाउने कारवाही भइरहेको देखिन आयो । उसै मुद्दाको अंश छुटयाउने कारवाही हुँदा यी वादीको पनि १ भाग अंश छुटिने नै हुँदा यस मुद्दाबाट पुनः तायदाती लिई अंश छुटयाई नै रहन परेन । मुद्दा खारेज हुने ठहर्छ भन्ने समेत श्री काठमाडौं जिल्ला अदालतको फैसला ।
६. उक्त फैसला उपर विष्णुप्रसादको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेकोमा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाउने र फिराद परेको मिति ०३७।६।९।५ को अघिल्लो दिन मिति २०३७।६।८।४ सम्मको अंशबण्डा गर्नु पर्ने आ–आफ्नो जिम्माको ऋण धन गैर श्रीसम्पत्तिको वादी प्रतिवादीहरुबाट तायदाती लिई पेश गर्नु भन्ने आदेश भएको र प्रतिवादी शिवप्रसाद, शंकरप्रसाद, मुरारीप्रसाद र मिश्रीदेवीबाट मिति २०४०।५।२७।२ मा र वादीबाट मिति २०४०।६।३।२ मा तायदाती समेत पेश भई मानु छुट्टिइएको मितिमा मुख नमिलेको तर वादी अंशियार हो र निजलाई अंश दिनु पर्ने हो भन्ने कुरा मन्जूर गरेको हुँदा फिराद गरेको मितिलाई मानो छुट्टिइएको मिति कायम गर्नु पर्ने भई सो मिति भन्दा अघिल्लो दिन मिति २०३७।६।८।४ सम्मको फाँटवारी लिने आदेश अनुसार वादी प्रतिवादीतर्फबाट दाखिल गरेको फाँटवारीमा लेखिए बमोजिमको जम्मा बिगो रु. ५९,४६०।– श्रीसम्पत्तिको ५ खण्डको १ खण्डको बिगो रु. ११,८९२।– को श्रीसम्पत्ति वादीले प्रतिवादीबाट अंश पाउने ठहर्छ ऋणको हकमा साहूहरुको उजूर परेको बखत ठहरे बमोजिम हुने हुँदा यस्मा उल्लेख गरी रहन परेन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको रहेछ ।
७. सो फैसलामा चित्त बुझेन कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी मिश्रीदेवी भारतीको निवेदन परेकोमा दाइजो पेवाबाट बनाएको घर समेत बण्डा हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला स्त्री अंश धनको १ नं. तथा ४ नं. को त्रुटि भएकोले पुनरावेदनको अनुमति दिइएको छ, भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४०।१०।२७ गतेको आदेश ।
८. प्रतिवादीले दाइजो पेवाको प्रमाण पुर्याउन सकेको नदेखिँदा वादीले प्रतिवादीबाट ५ खण्डको १ खण्ड अंश पाउने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।११।२१ गतेको फैसला ।
९. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत फुल बेञ्चबाट इन्साफ जाँच गरी पाउँ भनी चढाएको विन्तिपत्रमा फुल बेञ्चबाट मुद्दा दोहराई हेरी कानून बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४३।२।१३ मा तोक लागी आएको रहेछ ।
१०. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
११. यस्मा निर्णयतर्फ हेर्दा वादी प्रतिवादी समेतले दाखिल गरेको फाँटवारी बमोजिमको श्रीसम्पत्तिको ५ खण्डको १ खण्ड वादीले प्रतिवादीबाट अंश पाउने मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ठहर गरेकोमा प्रतिवादीले दाइजो पेवाको प्रमाण पुर्याउन सकेको नदेखिँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुने ठहर्छ भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निर्णय गरेको देखिन्छ ।
१२. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहराई पाउँ भनी प्रतिवादी भारतीदेवीले चढाएको विन्तिपत्रमा मोहकुमारी भन्ने सानुमैया भारतीले यिनै वादी विष्णुप्रसाद भारती समेतलाई प्रतिवादी बनाई अंश मुद्दा दायर गर्दाको बखत दिएको तायदाती अनुसार मेरो दाइजो पेवाको घर जग्गा ०–५–० बाहेक गरी बाँकी ५–३–२ मात्र बण्डा गर्ने भनी काठमाडौं जिल्ला अदालतबाट मिति २०३३।२।१७ मा फैसला भइसकेको सो फैसलालाई समेत असर पर्ने गरी दाइजो पेवाको घर जग्गा समेत बण्डा गर्ने भनी कानूनी त्रुटि निर्णय गरेको भन्ने जिकिर लिएको पाइन्छ । उक्त काडमाडौं जिल्ला अदालतको मिति २०३३।२।१७ मा भएको फैसलाको प्रतिलिपि हेर्दा ६ खण्डको १ खण्ड प्रतिवादीबाट वादीले अंश पाउने ठहराई तपसीलमा म मिश्रीदेवीका नाममा दर्ता भएको सिनामंगल गा.पं. वडा नं. २(ख) कि.नं. ९४ को ५–८–२ मध्ये पूर्व पाखो दक्षिण कालु गिरीको जग्गा पश्चिम रामराजको जग्गा उत्तर बाटोको एक रोपनी जग्गा मैले मोही छुटाई लिई त्यसमा २०२९ सालमा मेरो दाइजोको रुपैयाँबाट घर बनाएकोले घर बण्डा गर्न नपर्ने भई बाँकी ४–८–२ वृषमान गुभाजुले कमाएको मध्ये १ रोपनी मोही छाडे वापत ५ आना जग्गा निजैलाई दिएको भई बण्डा गर्नु पर्ने जग्गा मात्र ५–३–२ भन्ने उल्लेख भई फैसला भई अन्तिम रुपमा रहेको देखिन्छ । यसबाट सो दाइजोको रुपैयाँबाट बनाएको भनेको घर बण्डा गरेको देखिँदैन । त्यसरी दाइजोबाट बनाएको घर बण्डा गर्न नपर्ने जग्गा मात्र बण्डा गर्ने भनी दाखिल गरेको तायदाती बमोजिम ६ खण्डको १ खण्ड अंश दिलाउने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०३३।२।१७ मा फैसला भई अन्तिम रुपमा रहेको फैसला समेतबाट सो कि.नं. ९४ को जग्गामा २०२९ सालमा बनाएको भनेको घरबाट वादीले अंश पाउँछ भन्ने न्यायको दृष्टिमा मिल्ने देखिँदैन । तसर्थ उक्त कि.नं. ९४ मा २०२९ सालमा बनाएको घरबाट वादीले अंश पाउने ठहर्दैन । सो दाइजोबाट बनाएको भनेको सो घर र सो घरले चर्चेको जग्गा बाहेक अरु श्रीसम्पत्तिबाट ५(पाँच) खण्डको एक खण्ड वादीले प्रतिवादीबाट अंश पाउने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मनासिब ठहर्छ । सो दाइजोबाट बनाएको भनेको घरबण्डा गरेको हदसम्म मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.महेशरामभक्त माथेमा,
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४५ साल चैत्र १० गते रोज ५ शुभम् ।