निर्णय नं. २६३७ - उत्प्रेषण

निर्णय नं. २६३७ ने.का.प. २०४३ अङ्क - २
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४२ सालको रि.नं. १५९४
आदेश भएको मिति : २०४३।२।२३।६ मा
निवेदक : वारा श्रीनगर वैरिया गा.पं.वडा नं.७ बस्ने द्वारिका राय यादव
विरुद्ध
विपक्षी : भूमिसुधार कार्यालय, वारा, कलैयाका भूमिसुधार अधिकारीसमेत
विषय : उत्प्रेषण
(१) निवेदन दिई ऋण साधन हुने ठहरेपछि जुन जग्गा भोगबन्धकीमा लेखाएको हो सो जग्गाकै मोही कट्टा गर्नुपर्ने ।
(प्रकरण नं. १०)
प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट
आदेश
न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्नआएको रिट निवेदनको तथ्य एवं जिकिर यसप्रकार छ :
२. सर्भे नापीमा कायम हुन आएको वारा जिल्ला विसनपुर गा.पं.वडा नं.३ कि.नं.२२६ को १–१–१० कि.नं. ३४ को ०–८–१५ समेत ज.वि.१–१०–५ जग्गा विपक्षीलाई भोगबन्धकी दिई भोग गर्दै आएको हुँदा बन्धकी फर्छ्यौट गरिपाउँ भनी विपक्षीले प्रत्यर्थी कार्यालयमा निवेदन गरी ऋण साधन भई बाँकी रु.६१०।७५ ऋण कायम हुन जाने हुँदा तिरेको बखत लगत कट्टा हुने भन्ने भू.सु.का.बाट मिति २०२३।४।२५ मा निर्णय भयो । बाँकी ऋणमा २०२३ साल देखि २०४१ साल सम्मको बाली साहूले नै भोगी आएकोले ऋण फर्छ्यौट गरी मोही लगत कट्टा गरिपाउँ भन्ने देवधारीले प्रत्यर्थी कार्यालयमा निवेदन दिएको थिए । त्यसपछि मैले दावी अनुसारको कि.नं.३४ को ०–८–१५ जग्गाको मोही देवकी राय कि.नं. २२६ को १–१–१० मध्ये ज.वि.०–६–० जग्गा विपक्षीले बिक्री गरी सकेको हुँदा दावी पुग्न सक्ने छैन । दावीको कि. नं.२२६ को जग्गा मेरो नाममा छैन । एकपटक भोगबन्धकी फर्छ्यौट भइसकेको छ । विपक्षीको नाममा दर्ता रहेको जग्गा मैले भोगबन्धकी लिखत लिएको भन्दा १२ वर्ष अघि देखि मोहीमा जोति आधी बाली दिँदै आएको छु भन्ने मैले प्रतिवाद गरी भोगबन्धकी लिनु भन्दा अघि देखि जोति आएको हुँदा मोही लगत कट्टा गर्न नमिल्ने भनी भूमिसुधार कार्यालयबाट मिति २०४१।१२।२५।१ मा निर्णय भएको छ भनी मैले प्रत्युत्तर फिराएको थिएँ । दावा अनुसार बाँकी रु.६१०।७५ बढी आयस्ता खाई सकेको हुँदा रु.६१०। ७५ ऋण सादन हुने ठहर्छ, भोगबन्धकी नाताले साहूले नै लेखाएको साहूको नामको कि.नं.२५६ को ज.वि.०–१२–४ बाट कट्टा हुने ठहराई मिति २०४२।३।११ मा प्रत्यर्थी अधिकारीले निर्णय गर्नुभयो ।
३. यसरी एकपटक बन्धकी फर्छ्यौट भइसकेको कुरामा उसै विषयमा उजूरी ग्रहण गरी वादी दावा भन्दा बाहिर गई अ.बं. ८५, १८० अ.बं. १८४(क) १८५, १८९ विपरीत भएको निर्णयले नेपालको संविधानको धारा १०(१) ११(२)(ङ) धारा १५ मा प्रत्याभूति हक समेतमा मलाई कुंठा तथा अवरुद्ध गरेकोले उक्त प्रत्यर्थीको निर्णय बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन व्यहोरा ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाउनु भन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४२।६।१ को आदेश ।
५. भूमिसम्बन्धी ऐनको आधारमा ऋण निश्चित गरी मोही लगत कट्टा गर्ने गरी गरेको आदेश कानुनसंगत छ । रिट निवेदकको कुनै संवैधानिक र कानुनी हक हनन् भएको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय वाराको लिखितजवाफ ।
६. भोगबन्धकीको नाताले खाँदैमा मोही हुन मिल्दैन कि.नं. २५६ को ज.वि.०–१२–४ २०२३ सालमा सम्म भोगबन्धकीको नाताले खाइराख्नु भएको थियो भने सोहीजग्गामा पहिले देखिको मोही हुँ भन्ने रिटनिवेदकको भनाई गलत छ । निवेदन खारेज गरिपाउँ भन्ने देवधारी राययादवको लिखितजवाफ ।
७. नियमानुसार बेञ्चसमक्ष पेश हुनआएको प्रस्तुतमुद्दामा निवेदक वा.मकरमान र विपक्षी वा.बाबुलाल रोहवरमा रही प्रत्यर्थी कार्यालयबाट खटिनु भएका विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले अधिकार प्राप्त अधिकारीको निर्णय मिलेकै छ । रिट निवेदन खारेज हुनुपर्छ भन्ने बहस गर्नुभयो ।
८. रिट निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन निर्णय दिनु परेको छ ।
९. निर्णयतर्फ विचार गर्दा यसमा रिट निवेदकलाई भोगबन्धकीमा दिएको विसनपुर गा.पं.वडा नं.३ कि.नं.२२६ को १–१–१० र कि.नं. ३४ को ०–८–१५ समेत जग्गा ऋण साधन भइसकेको हुँदा भोगबन्धकी फर्छ्यौट गरिपाउँ भनी विपक्षीले भूमिसुधार कार्यालयमा उजूरी निवेदन गरेको देखिन्छ । त्यसपछि भोगबन्धकीको नाताले साहूले नै लेखाएको साहूका नामको कि.नं.२५६ को ज.वि.०–१२–४ को मोही लगत कट्टा हुने र कि.नं. ३४ को मोही देवकी राय यादव देखिएको हुँदा केही गरी रहनु परेन भनी प्रत्यर्थी भू.सु.का.बाट निर्णय भएको पाइन्छ ।
१०. विपक्षीले रिट निवेदकलाई भोगबन्धकीमा दिएको उल्लिखित कि.नं. २२६ को जग्गा ऋण साधन भइसकेको हुँदा भोगबन्धकी फर्छ्यौट गरिपाउँ भनी प्रत्यर्थी कार्यालयमा निवेदन दिई ऋण साधन हुने ठहरेपछि जुन जग्गा भोगबन्धकीमा लेखाएको हो सो जग्गाकै मोही कट्टा गर्नुपर्ने हुन आउँछ । यसको प्रतिकूल कुनै कारण र आधारहरू उल्लेख नै नगरी दावा भन्दा बाहिर गई ऋण साधन भइसकेपछि कि.नं. २२६ को जग्गाको मोही लगत कट्टा गर्नुपर्नेमा कि.नं. २५६ को जग्गाबाट मोही कट्टा हुने ठहर्याई भू.सु.का.बाट मिति २०४२।३।११ गते भएको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । पुनः यस विषयमा बुझ्न पर्ने भए प्रमाणहरू बुझी कानुन बमोजिम गर्नु भनी प्रत्यर्थी भू.सु.का.को नाममा परमादेश समेत जारी गरी दिएकोछ । जानकारीको लागि आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा म सहमत छु ।
न्या. हरिहरलाल राजभण्डारी
इति सम्वत् २०४३ साल ज्येष्ठ २३ गते रोज ६ शुभम् ।