शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६७९ - खिचोला

भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२

निर्णय नं. ३६७९     ने.का.प. २०४५                 अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको दे.पु.नं. ६१७

फैसला भएको मिति : २०४५।१०।२६।४ मा

 

पुनरावेदक/वादी : कविराज चन्द्रानन्दको मु.स.गर्ने का.न.पं. वडा नं. १६ पकनाजोल बस्ने चतुरानन्द वैद्य

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ. ऐ. बस्ने डम्बरजंग पाण्डे

 

मुद्दा : खिचोला

 

(१)                नगर सभामा पुनरावेदन पर्दा तेरो मेरोमा सुनाउन नपर्ने नक्शा पास हुने ठहर्‍याई फैसला भएबाट निवेदक वादीलाई नगरपञ्चायत मुद्दा फाँटबाट सुनाए बमोजिम तेरो मेरोमा उजूर दिन जान नपर्ने ।

(प्रकरण नं. १८)

(२)               हक बेहकमा जानु भनी सुनाएको निर्णय बदर भई सकेको अवस्थामा निवेदक अदालतमा आउनु पर्ने औचित्य नरहने, सो बदर गर्ने निर्णय नै बदर भएपछि मात्र अघिल्लो हक बेहकमा अदालत जाने भन्ने निर्णय पुनः प्रभावी हुने हुँदा अघिल्लो निर्णयबाट हदम्याद शुरु हुने नभई अन्तिम निर्णयबाट मात्र हदम्याद शुरु भएको मान्नु पर्ने स्थितिमा नगर सभाको निर्णय बदर भएको मितिले ३५ दिन भित्रै फिराद परेको देखिएबाट हदम्याद नाघी फिराद दर्ता भएको भन्न नमिल्ने ।

(प्रकरण नं. १८)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी

विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

 

फैसला

न्या.गजेन्द्रकेशरी वास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।

२.    काठमाडौं जिल्ला पकनाजोल स्थित पूर्व रणजंङको घर पश्चिम डम्बर जंङको घर उत्तर साझा चोक दक्षिण साझा चोक यति ४ किल्ला भित्रको माल दोश्रामा हा.नं. ४०५ लगतमा दर्ता भएको जग्गा रोपनी ०० आठ आना र सो घरको दक्षिण पट्टिको साझा चोकको दक्षिणतर्फको पूर्व पश्चिम लम्बाई १५ फुट उत्तर दक्षिण चौडाई फुट १० भएको एकनाले एकतल्ले भत्केको गोठ घर समेत रु. ३९,०००।मा रत्नकुमारी थपेनीबाट मिति ०२२।३।२४ मा राजीनामा गरी लिई मेरो हक भोग भएको उक्त घर गोठ जग्गामा नक्शा बमोजिम घर पसल बनाउन पाउँ भनी काठमाडौं नगरपञ्चायतमा मिति ०२८।१।१३ गते मैले दर्खास्त दिएकोमा विपक्षीहरुको समेत हक लाग्छ भनी सरजमीन उजूर गरेकोले हक बेहकमा नालिश गर्न जानु भनी काठमाडौं नगरपञ्चायत नक्शा तथा मुद्दा फाँटबाट मिति ०३०।८।६ गते भएको पर्चा उपर नगरपञ्चायत सभामा मेरो पुनरावेदन परी त्यहाँबाट मिति ०३१।८।५।४ मा नक्शा पास हुने ठहरी मिति ०३१।८।२६ गते नक्शा पास प्रमाणपत्र समेत पाएकोमा सो नगरसभाको निर्णय बदर गरी पाउँ भनी विपक्षी डम्बर जंगले सर्वोच्च अदालतमा रिट निवेदन दिएकोमा हक बेहकको निर्णय गरेको कारणले उक्त निर्णय बदर हुने भनी सर्वोच्च अदालतबाट मिति ०३२।८।२२।२ मा आदेश भएपछि विपक्षीहरुले उक्त जग्गामा घर बनाउन थुपारेको काठपात इँटहरु समेत हटाई पठाउ हामी राख्न दिँदैनौ भनी मिति ०३२।९।२० गते खिचोला गर्न आएकोले जग्गा मिच्नेको १८ नं. अन्तर्गत यो नालेश गर्न आएको छु । अतः मेरो गोठ घर जग्गामा खिचोला गर्न आएकोले सो खिचोला मेटाई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०३२।९।२५।६ को चन्द्रानन्द राज वैद्यले गरेको फिरादपत्र ।

३.    यो फिराद दावीको जग्गा परम्परा देखि नै मेरोे अविछिन्न हक भोगको घरको साथै एकलौटी गोठ हो त्यसै जग्गामा विपक्षीले गरेको नक्शा पास दर्खास्त उपर सरजमीनमा नै खिचोला गरेको भन्ने कुरा विपक्षी स्वयंले मानी आउनुको साथै हक बेहकको प्रश्न उठेको हुँदा काठमाडौं नगरपञ्चायत नक्शा तथा मुद्दा फाँटबाट हक बेहकमा जानु भनी सुनाएको समेतबाट पनि मिति ०२८।१।१३ गतेबाट नै खिचोला भएको स्पष्ट देखिँदा हाल आएर स्वयं वादीले खिचोला गरेको मिति कायम गरी फिराद नै गरेको जग्गा मिच्नेको १८ नं. हदम्याद २ वर्ष नाघी दर्ता भएको हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको रणजंग पाण्डेले मिति ०३२।१२।२२।१ मा दिएको प्रतिउत्तरपत्र ।

४.    विपक्षी प्रतिवादीले लिनु भएको राजीनामाको दक्षिण किल्ला साझा चोक र सो समेतको ४ किल्ला भित्रको जग्गा रोपनी ०० मात्र हो भन्ने राजीनामा लिखतले नै जनाई रहेको   छ । विपक्षीले नक्शा पास गराई माग्न दिनु भएको दर्खास्तमा उल्लेख गर्दा आफूले पाएको राजीनामाको ४ किल्ला बाहेकको जग्गा गोठमा दावी लिनु भएको छ । यसरी वादीले आफ्नो राजीनामाबाट पाउँदै नपाएको जग्गामा वादी दावी गर्न पाउने अधिकारै छैन । विपक्षीले दिनु भएको नक्शा दर्खास्तको पूर्व किल्लामा केवल रणजंगको मात्र नाम उल्लेख भए तापनि सो पूर्व किल्लाको जग्गा म समेतको हकको हुँदा झुठ्ठा किल्ला समेत लेखी मलाई दुःख दिएकोले फिरादै  खारेज गरिपाउँ भन्ने समेत व्यहोराको डम्बर जंग पाण्डेले मिति ०३२।१२।२३।२ मा दिएको प्रतिउत्तरपत्र ।

५.    सुरक्षा समितिले मिलापत्र गराउन पाउने अधिकार नभएको र प्रचलित कानून विपरीतको मिलापत्रबाट वादी दावी गरेको गोठघर जग्गा रत्नकुमारी थापालाई मैले हक छाडी दिएको भन्ने देखिँदैन चोक मात्र साझा भन्ने देखिन्छ भन्ने प्रतिवादी वा.इश्वरलालको बयान ।

६.    वादीले पेश गरेको मिति ०२२।३।२४ को लिखतमा जग्गा रोपनी ०० घर र सो घरको दक्षिण पट्टिको साझा चोकको दक्षिण तर्फको गोठ घर समेत उल्लेख भएको लिखतबाट देखिएकोले सो गोठ घर जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट मिति ०३५।६।१०।३ मा भएको फैसला ।

७.    मेरो जग्गाको दर्ता उतार समेतबाट विवादको जग्गा मेरै भन्ने देखिँदा देखिँदै खिचोला गरेको ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी डम्बर जंग पाण्डेले वा.अं.अ.मा गरेको पुनरावेदन ।

८.    बिगो रु. ३९,०००।देखिएकोले बिगोको हदबाट न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१)(ख) ले मध्यमाञ्चल क्षेत्रीय अदालतको अधिकार क्षेत्र भित्रको देखिँदा सरुवा गरी पठाई दिने भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतबाट मिति ०३६।३।१२।३ मा भएको आदेश ।

९.    हाल विवादग्रस्त वस्तु गोठघर मात्र भएकोले सो को बिगो रु. ५००।जाने भन्ने उल्लेख हुँदा अधिकार क्षेत्र वागमती अञ्चल अदालत देखिएकोले सरुवा गरी पठाई दिने भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३८।५।३१।४ मा भएको आदेश ।

१०.    मिति ०२२।३।२४ को राजीनामा प्रतिवादीलाई सुनाउँदा जालसाज भनी बयान भएकोमा सोतर्फ ठहर गर्नु पर्ने हुँदा शुरुको फैसला बदर गरी दिएको छ । जालसाजी तर्फ समेत निर्णय गर्नु भनी पक्ष विपक्षीलाई तारिख तोकी काठमाडौं जिल्ला अदालतमा पठाई दिने भनी वागमती अञ्चल अदालतबाट मिति ०३८।९।१९।१ मा भएको फैसला जालसाजी तर्फ डम्बर जंगको दावी नपुग्ने र वादीले रत्नकुमारीबाट पाएको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट मिति ०३९।२।३०।१ मा भएको फैसला ।

११.    विपक्षीले दावी गरेको लिखतमा लेखिएको गोठघर र त्यसले चर्चेको लगापात विपक्षीको दाता रत्नकुमारीकै हक नभएकोमा निजले अरुलाई हस्तान्तरण गरेको स्पष्ट हुँदा शुरुको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको डम्बर जंग पाण्डेले वागमती अञ्चल अदालतमा गरेको पुनरावेदन ।

१२.    रत्नकुमारीले गोठघर बिक्री गरेको लिखतलाई जालसाजी भन्न नमिल्ने हुँदा वादीको लिखत जालसाजी ठहर्दैन र सो लिखतबाट प्राप्त गरेको जग्गामा खिचोला ठहर्‍याएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालबाट मिति ०४०।४।२४।३ मा भएको फैसला । विपक्षीवादीको हक नपुग्ने मेरो हकको गोठघर र लगापातलाई जालसाजी गरी लिनु दिनु भएकोले प्रत्यक्ष प्रमाण छाडी इन्साफ तल माथि पारेको वागमती अञ्चल अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले मध्यमाञ्चल क्षेत्रीय अदालतमा गरेको निवेदनमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मिति ०४१।४।१८।५ मा भएको आदेश ।

१३.    नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को तत्कालीन कानूनी व्यवस्थाले पनि हक बेहक गरी ल्याउनु  भनी सुनाएको मितिले यति समय भित्र नालेश गर्नु पर्ने भनी व्यवस्था गरेको नहुँदा तत्काल प्रचलित जग्गा मिच्नेको १८ नं. को हदम्याद २ वर्ष भित्र नालिश गर्नु पर्नेमा नगरी वादीले हदम्याद नघाई फिराद गरेको देखिँदा अ.बं. १८० नं. ले फिराद खारिज हुने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।१।२२ को फैसला ।

१४.    काठमाडौं नगरपञ्चायत सभाको नक्शा पास हुने गर्ने निर्णय सर्वोच्च अदालतबाट ०३२।८।२२ मा बदर हुने आदेश भएको मितिले ३५ दिन भित्रै फिराद परेकोलाई हदम्याद नाघी फिराद परेको भन्न नमिल्ने हुँदा म.क्षे.अ.को फैसला प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि समेत हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको चतुरानन्द वैद्यको यस अदालतमा परेको निवेदनपत्र ।

१५.   पेश भएका फैसलाहरुबाट निवेदकले नक्शा पास गरिपाउँ भनी दिएको दर्खास्तमा विपक्षीको उजूर परेबाट तेरो मेरोमा जानु भनी सुनाइएकोमा ऐन बमोजिम निवेदकको नगर सभामा पुनरावेदन परेकोबाट तेरो मेरोमा सुनाउनु नपर्ने नक्शा पास हुने ठहर्‍याई फैसला गरेबाट निवेदकलाई न.पं. मुद्दा फाँटबाट सुनाए बमोजिम तेरो मेरोमा उजूर दिन जान पर्ने अवस्थै नपरेकोमा विपक्षीले सो नगरसभाको निर्णय उपर यस अदालतमा रिट निवेदन दिई भएको कारवाहीबाट तेरो मेरो परेकोमा हक बेहकमा जानु भनी सुनाई दिनु पर्नेमा आफैंले निर्णय गरेको नमिलेको भनी उत्प्रेषणको आदेश जारी गरी सो निर्णय बदर भएकोबाट मात्र निवेदकले न.पं. मुद्दा फाँटबाट सुनाइए बमोजिम हक बेहकमा अदालतमा फिराद दिनु परी स.अ. बाट निर्णय भएको ३५ दिनभित्र फिराद परेको देखियो । यसरी कानूनी प्रकृया बमोजिम तहतहमा उजूर परी अन्तिम निर्णयको म्याद भित्रै परेको फिरादलाई म्याद नाघी परेको भनी खारेज गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा जग्गा मिच्नेको १८ नं. को त्रुटि देखिन आएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०४३।७।१८ को आदेश ।

१६.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी तथा विपक्षीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नु भएको बहस समेत सुनी मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।

१७.   यसमा मेरो हक भोगको जग्गामा विपक्षी खिचोला गर्न आएकोले सो खिचोला मेटाई सजायँ समेत गरिपाउँ भन्ने समेत फिराद दावी एवं फिराद हदम्याद नाघी आएकोले खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तर रहेकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फिराद हदम्याद नाघेको ठहर्‍याई खारेज गर्ने गरी फैसला भएको देखिन्छ ।

१८.    प्रस्तुत मुद्दामा पेश गरिएका मिसिल प्रमाण हेर्दा वादीले नक्शा पास गरिपाउँ भनी दिएको दर्खास्तमा विपक्षीको उजूरी परेबाट तेरो मेरोमा जानु भनी काठमाडौं नगरपञ्चायत नक्शा फाँटबाट ०३०।८।६ मा पर्चा खडा गरेको देखिन्छ । सो उपर काठमाडौं नगर सभामा पुनरावेदन पर्दा तेरो मेरोमा सुनाउन नपर्ने नक्शा पास हुने ठहर्‍याई फैसला भएबाट निवेदक वादीलाई नगरपञ्चायत मुद्दा फाँटबाट सुनाए बमोजिम तेरो मेरोमा उजूर दिन जान पर्ने अवस्थै परेन । काठमाडौं नगर सभाको निर्णय उपर प्रतिवादीबाट रिट निवेदन परी नगरसभाको निर्णय उत्प्रेषणको आदेशद्वारा ०३२।८।२२ मा बदर भएपछि मात्र वादीलाई हक बेहकमा जानु पर्ने अवस्था आएको देखिन्छ । हक बेहकमा जानु भनी सुनाएको निर्णय बदर भइसकेको अवस्थामा निवेदक अदालतमा आउनु पर्ने औचित्य रहेन । सो बदर गर्ने  निर्णय नै बदर भएपछि मात्र अघिल्लो हक बेहकमा अदालत जाने भन्ने निर्णय पुनः प्रभावी हुने हुँदा अघिल्लो निर्णयबाट हदम्याद शुरु हुने नभई अन्तिम निर्णयबाट मात्र हदम्याद शुरु भएको मान्नु पर्ने हुन्छ । यस स्थितिमा नगर सभाको निर्णय बदर भएको मितिले ३५ दिनभित्रै फिराद परेको देखिएबाट हदम्याद नाघी फिराद दर्ता भएको भन्न मिलेन । हदम्याद भित्र फिराद नपरेको भन्ने आधारमा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०४३।१।२२ मा फिराद खारेज गर्ने गरी गरेको फैसला नमिलेको हुँदा उल्टी हुने ठहर्दछ । अब पुनः कानून बमोजिम निर्णय गर्नु भनी पक्ष विपक्षलाई तारिख तोकी मिसिल मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४५ साल माघ २६ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु