शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. २६४१ - अंश

भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक:

निर्णय नं. २६४१     ने.का.प. २०४३ अङ्क - २

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४२ सालको दे.पु. नं. ४४०

फैसला भएको मिति : २०४३।२।२२।५ मा

 

पुनरावेदक/वादी : धादिङ, कटुङ्जे गा.पं.वडा नं.१ मजुवा बस्ने बटकबहादुर सापकोटा

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने लोकबहादुर सापकोटा

 

मुद्दा : अंश

 

(१)            छुट्टिएकोमा सबै अंशियारको मुख मिलेको र आफ्नो आफ्नो भाग जिम्मा समेत गराई लिएको र दर्ता समेत छुट्टाछुट्टै भएको मिसिलबाट देखिँदा प्रतिवादीबाट वादीले अंश नपाउने ठहराएको शुरु जिल्ला अदालतको इन्साफलाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ ।

(प्रकरण नं. १५)

 

पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल

विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलबहादुर बोगटी

 

फैसला

न्या.हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् ।

२. बम्बबहादुरको छोरा ७ भाइमा ४ भाइ अघि नै निधन भएको र बाँकी ३ भाइमा साइँलो वेनबहादुर भन्ने श्यामा, काइँलो छन्दबहादुर र म बटकबहादुर जीवितै भई सगोलमा बसेकोमा छन्दबहादुर २०२७ सालमा आफ्नो अंश लिई छुट्टी बेगल बसी आएका विपक्षीको बाबु वेनबहादुर भन्ने श्यामा र म बटकबहादुर सगोलमा बसी आएको दाज्यू बेनबहादुर २०३० सालमा परलोक भएकोले श्रीसम्पत्ति भतिजो लोकबहादुरले भोग गरी निजकै नाउँबाट कटुंजे गा.पं.वडा नं.९(ख) कि.नं. ११०, १११ र ११५ मा नापी दर्ता गरी प्रमाण पूर्जा लिएको विपक्षीसँग भएको श्रीसम्पत्ति अंश भाग माग्दा नदिएकोले २ भागको १ भाग अंश दिलाई भराई पाउँ भन्ने वादी दावी ।

३. साइँलो मेरो पिता वेनबहादुर, काइँलो छन्दबहादुर ठाइँलो यो वादी भएको मेरो बाबुले म नजन्मदै बाजेबाट अंश लिई वेगल बसेको काइँलो बाबु छन्दबहादुर र वादी समेत एकासगोलमा बसी आएको वादीको अंश जिम्मा लिने छन्दबहादुरले गैरी भन्ने पाखो जग्गा मलाई रु.९९।मा ०३२।१।१२ मा घरसारमा राजीनामा गरी दिएकोले सोही जग्गा सर्भे नापी हुँदा कटुन्जे गा.पं.वडा नं.९(ख) कि.नं. ११० भएको र कि.नं. १११ र ११५ चाहि मेरो बाबुको अंश भागमा परेको हुँदा वादीले अंश जिम्मा लिने सँग उजूर नगरी म उपर अंशमा झुठ्ठा दावी गरेको हो । वादीको अंश म जिम्मा छैन भन्ने समेत व्यहोराको लोकबहादुर भन्ने रामचन्द्र सापकोटाको प्रतिउत्तरपत्र ।

४. वादी प्रतिवादीको साक्षी ९ जनाको बकपत्र भएको रहेछ ।

५. वादीको अंश प्रतिवादीको जिम्मा हुँदा मैले दिनुपर्ने होइन भन्ने समेत प्रतिवादीका पेट बोलीबाट बुझिएको छन्दबहादुरको बयान ।

६. वादी, प्रतिवादी बीच अंश नभई वादीको अंश भाग प्रतिवादी लोकबहादुरको बाबु वेनबहादुर सँग थियो । मैले छन्दबहादुरबाट ०३१।१०।२९।३ मा जग्गा राजीनामा गरी लिएको हुँ । सो जग्गाहरूको कित्ता नम्बर र क्षेत्रफल खुलाउन सक्दिन । कि.नं. ६४ मात्र मेरो पैतृक सम्पत्ति हो भन्ने समेत प्रतिवादीको पेट बोलीबाट बुझिएको गणेशबहादुरको बयान ।

७. प्र.छन्दबहादुरको वारिसले मिति ०४०।५।९ को तारेख गुजारेको रहेछ ।

८. वादीले दावी गरेको कि.नं.११०,१११ र ११५ का जग्गाहरूमध्ये कि.नं.११० गैरी वारी जग्गा छन्दबहादुरले लोकबहादुर सापकोटालाई रु.९९।मा मिति ०३२।१।१२ मा राजीनामा गरी दिएको देखिएको र सोही राजीनामाको आधारमा नापी हुँदा कि.नं. ११० कायमै भई प्रतिवादीका नाउँमा दर्ता भएको देखिन आएबाट कि.नं. १११ र ११५ पनि प्रतिवादी जिकिर अनुसार प्रतिवादीको अंश भाग होइन रहेछ भन्न मिलेन साथै वादीको अंश प्रतिवादी लोकबहादुरका बाबु वेनबहादुर जिम्मा रहे भएको सबूद प्रमाण पनि वादीबाट पेश हुन नसकेबाट प्र.लोकबहादुर सापकोटा भन्ने रामचन्द्र सापकोटाबाट वादीले अंश पाउने ठहर्दैन भन्ने समेत मिति २०४०।९।२८ गतेको धादिङ जिल्ला अदालतको फैसला ।

९. शुरु जि.अ.ले गरेको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वटकबहादुर सापकोटाको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

१०. भोग चलनबाट वादीले अंश पाइसकेको पनि जिकिर प्रमाण देखिन नआएको अवस्थामा शुरु जि.अ.को फैसला फरक पर्ने भएबाट अ.बं.२०२ नं. र क्षे.अ.नियमावली बमोजिम विपक्षीलाई झिकाई पेश गर्नु भन्ने आदेश ।

११. छन्दबहादुर र वेनबहादुर अलग अलग भन्ने कुरा निजहरूले जग्गा हक छाडी लिनु दिनु गरेकोबाट र स्वयं वादी प्रतिवादीको लेखाई पेटबोलीबाट बुझिएको छन्दबहादुरको बयानबाट देखिन आउँछ । वादीले प्रतिवादी उपर सगोल रहेको भनी अंश दावी लिएको छ भन्ने प्रतिवादीले वादी छन्दबहादुरसँग सगोल बसेको हो, मसँग होइन भन्ने प्रतिउत्तर जिकिर लिएको देखिँदा वादी वेनबहादुरसँग सगोलमा रहेको भन्ने कुरा भई विवाद उत्पन्न भएको छ र वादी भनाई बमोजिम छन्दबहादुर वादीसँग बेगल बसेको र वेनबहादुरसँग सगोल रहेको प्रमाण लिखितबाट देखिँदैन । को संग सगोलमा वादी रहेको भन्ने विवाद उत्पन्न भएपछि वादीले प्रतिवादीको बाबु वेनबहादुरसँग सगोल रहेको भन्ने प्रमाण गुजार्न सक्नु पर्नेमा प्रमाण गुजार्न सकेको देखिएन । प्रतिवादीमा उल्लेख गरेको जग्गाहरू छन्दबहादुरले आफ्नो हक भनी हक छाडी दिएको कुरामा छन्दबहादुरले बयान गर्दा इन्कार गर्न सकेको देखिँदैन । यसरी छन्दबहादुरले हक छाडी दिएको जग्गाहरू र प्रतिवादीको जग्गाहरूको क्षेत्रफलको हिसाबबाट पनि वादीको अंश प्रतिवादीसँग सगोल रहेको मान्न मिल्ने अवस्था  देखिँदैन । अंशबण्डाको ३० नं. बमोजिम व्यवहार प्रमाणबाट वादी छुट्टी भिन्न भएको भन्न मिल्दैन भन्ने सम्बन्धमा वादीको प्रतिवादी उपर अंशमा दावी लिन पाउने पूर्वावस्था प्रतिवादीसँग सगोल रहेको भन्ने नै प्रमाणित हुन नसकेको अवस्थामा अंशबण्डाको ३० नं. को अवस्था रहे नरहेकोतर्फ विवेचना गर्न पर्ने अवस्था देखिएन । वादीले प्रतिवादीबाट अंश नपाउने ठहराएको शुरुको फैसला मनासिब ठहर्छ भन्ने समेत मिति २०४२।२।१०।५ को मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला ।

१२. उक्त फैसलामा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी बटकबहादुर सापकोटाको पुनरावेदनको अुनमति पाउँ भन्ने निवेदनमा वादी प्रतिवादी अंशियार भएको कुरामा विवाद छैन । अंशबण्डा भइसकेको भन्ने रीतपूर्वकको बण्डापत्र पेश दाखिल हुनसकेको छैन । वादी प्रतिवादी आपसमा छुट्टी भिन्न वसी आआफ्नो भागको दर्ता भोग गरेको भन्ने कुरा समेत व्यवहार प्रमाणबाट प्रमाणित हुनसकेको देखिँदैन । यस्तो अवस्थामा अंशमा वादी दावी नपुग्ने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा अंशबण्डाको ३० नं. को त्रुटि देखिन आएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालतको मिति ०४२।३।१७।२ को आदेश ।

१३. पुनरावेदक वादी तर्फका विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले क्षेत्रीय अदालतको फैसलामा कानुनको गलत अर्थ लगाई गरेको निर्णय भएकोले उक्त फैसला बदर हुनुपर्छ भन्ने र विपक्षी लोकबहादुर सापकोटा तर्फका विद्वान अधिवक्ता श्री कमलबहादुर वोगटीले क्षेत्रीय अदालतको फैसलामा कुनै कानुनी त्रुटिभएको नदेखिँदा उक्त फैसला सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

१४. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिब या बेमनासिब के रहेछ निर्णय दिनु परेको छ ।

१५. यसमा बम्बबहादुरको छोरा ७ भाइमा ४ भाइ अघि नै निधन भएको र बाँकी ३ भाइमा साइँलो वेनबहादुर भन्ने श्यामा, कान्छो, छन्दबहादुर र म बटकबहादुर जीवितै भई सगोलमा बसेकोमा छन्दबहादुर २०२७ सालमा आफ्नो अंश लिई छुट्टी बेगल बसी आएको विपक्षीको बाबु बेनबहादुर भन्ने श्यामा र म बटकबहादुर सगोलमा बसी आएको दाज्यू बेनबहादुर २०३० सालमा परलोक भएकोले श्रीसम्पत्ति भनी जो लोकबहादुरले भोग गरी निजकै नाउँबाट कटुन्जे गा.पं.वडा नं.९(ख) कि.नं. ११०।१११ र ११५ मा नापी दर्ता गरी प्रमाण पूर्जा लिएको विपक्षीसँग भएको श्रीसम्पत्ति अंश भाग माग्दा नदिएकोले २ भागको १ भाग अंश दिलाई भराई पाउँ भन्ने समेत वादी दावी भएकोमा प्रतिवादीका पेट बोलीबाट बुझिएको छन्दबहादुरको बयान हुँदा वादी बटकबहादुर प्र.को बाबु बेनबहादुरकै ठाउँमा बसी खाने गरेको थिएँ । आमाको जिउनी पाएको मलाई बकसपत्र गरी दिएको सोही जग्गा मैले प्रतिवादीको बाबु बेनबहादुरलाई रु.९९।मा राजीनामा गरी दिएको हो वादीको अंश प्रतिवादीको जिम्मा हुँदा मैले अंश दिनुपर्ने होइन भनी बयान गरेको कुरा मिसिल प्रमाणबाट देखिन आएको हुँदा मिति २०२७ सालमा छुट्टिएकोमा सबै अंशियारकोमा मुख मिलेको र आफ्नो आफ्नो भाग जिम्मा समेत गराई लिएको र दर्ता समेत छुट्टाछुट्टै भएको मिसिलबाट देखिँदा प्रतिवादी लोकबहादुर सापकोटा भन्ने रामचन्द्र सापकोटाबाट वादी बटकबहादुरले अंश नपाउने ठहराएको शुरु जिल्ला अदालतको इन्साफलाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । कोर्टफी राखी दायर भएको हुँदा कसैलाई केही गरी रहन परेन, नियम बमोजिम मिसिल बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु ।

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४३ साल ज्येष्ठ २२ गते रोज ५ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु