शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३६८० - राजीनामा बदर हक कायम

भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२

निर्णय नं. ३६८०     ने.का.प. २०४५                 अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४४ सालको दे.पु.नं. ५५४

फैसला भएको मिति : २०४५।११।२९।१ मा

 

पुनरावेदक/प्रतिवादी : जिल्ला कपिलवस्तु, हरिपुर गा.पं. वडा नं. ८ झुसिया बस्ने जगाधर केवट स्वर्गीय भई निजको मु.स. गर्ने विश्राम केवटसमेत

विरुद्ध

प्रत्यर्थी/वादी : जिल्ला कपिलवस्तु, हरिपुर गा.पं. वडा नं. ८ झुसिया बस्ने सुदायन केवट

 

मुद्दा : राजीनामा बदर हक कायम

 

(१)                वादी प्रतिवादीहरुसंग सगोलमा रहे भएको र छुट्टि भिन्न नभएको भए संग सगोलमा रहँदा बस्दा सोही उखडाबाट प्राप्त भएको वादीका छोराका नाम दर्ताको जग्गालाई पनि सगोलको अंश लाग्ने जग्गा भन्नु पर्नेमा सो नभनी छोराको निजी आर्जनबाट कमाएको भनी वादीले दावी लिएको देखिँदा वादी सुद्ध मनले अदालत प्रवेश गरेको हुन् भन्न नसकिने ।

(प्रकरण नं. १२)

(२)               आफूले उखडामा कमाएको जग्गा उखडाबाट निजहरुका आफ्ना नाममा नम्बरीमा दर्ता गरी पाएको जग्गालाई दुवैले अलग अलग रुपमा आर्जन गरेको सम्पत्ति मान्नु पर्ने ।

(प्रकरण नं. १२)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्तलाल दास

प्रत्यर्थी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस

उल्लिखित मुद्दा : देवी दासको मु.सु. गर्ने कुमार दास मानन्धर विरुद्ध प्रेमकृष्ण बानियाँ भएको लिखत बदर मुद्दा (ने.का.प. २०४२, नि.नं. २२२३, पृष्ठ ५) मा सिद्धान्त प्रतिपादित ।

 

फैसला

न्या.गजेन्द्रकेशरी वास्तोला : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको  अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ ।

२.    बाबु जियावनका छोरा गया, प्रतिवादी जगाधर, गजायन र सुदायन समेत ४ (चार) भाइ भई बाबु, आमा, गया र गजायन समेतको मृत्यु भई सकेको छ, गया र गजायनको स्वास्नी सन्तान कोही छैन । म र दाजु प्र.गजाधर समेत २ जना मात्र दाजु भाइ बराबरको अंशियारा भएको र एका सराकतमै बसिआएको सगोलबाट कमाई गरेको दाजु प्र.गजाधरको नाउँमा दर्ता भएको जग्गा तथा पैत्रीक सगोलका जेथा समेत गैह्र सगोलमा भोगचलन गरी आएको दाजु गजाधर र मेरो बीचमा अंश बण्डा भएको छैन । गजाधरले मेरो समेत अंश हक लाग्ने दाजु गजाधरका नाउँमा दर्ता भएको ज.वि. २९ मेरो मन्जूरी बेगर थैली रु. ९०००।मा हक छाडी दिने गजाधर र लिने प्र.वसीती केवट भई ०३७।६।१५।४ मा घरसारमा राजीनामा लिखत गराई ०३७।६।२६ मा रजिष्ट्रेशन भएको कुरा प्रमाणका मानिसहरुबाट थाहा पाई लेनदेन व्यवहारको १० नं. अन्तर्गत फिराद गरेको छु । जग्गा बिगहा २९ जग्गाको राजीनामा लिखतबाट प्रत्येक कित्तामा आधिका हिसाबले मेरो अंश हकको बिगहा १½ जग्गाको राजीनामा लिखत बदर गरी फिर्ता गराई हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३.    वादी र म समेत सराकतमा बसेको होइन । दावी दावा अनुसारको जग्गा जिमिदार जुगल किशोर, महातम अमिराजी समेतको फाँटमा उखडामा कमाई आए अनुसार २०२१ सालमा उखडा फाराम भरी क्षतिपूर्ति बुझाई उखडाबाट सपोट गरी पाएको आफुखुस गर्न पाउने वादीको मन्जूरी लिन नपर्ने म प्रतिवादी गजाधरको मात्र एकलौटी हक भोग भएको २९ रु. ९,०००।मा राजीनामा गरी दिएको र बाँकी बिगाहा ३१११८ आफ्नो छोरा विश्राम केवटलाई हालैको बकसपत्र गरी दिएको हो । वादीको हक भोगको होइन । पैतृक आर्जनको जग्गा वादीको छोरा लौटनको नाउँमा दर्ता कायम राखी दाना माना छुट्याई म प्रतिवादी गजाधरले आफूले प्रयास गरी उखडामा पाएको जग्गा ५१२७ भएको पैतृक आर्जनको चल अचल सम्पत्ति समेत भाग शान्ती छुट्याई दुवै जना छुट्टा छुट्टै बसी आफ्नो खति उपति गरी आएको छु भन्ने समेतको प्रतिउत्तर जिकिर ।

३.    वादी दावी अनुसार लेनदेन व्यवहारको १० नं. अनुसार राजीनामा वादीको हक आधीसम्म बदर हुने ठहर्छ भन्ने समेत शुरु कपिलवस्तु जिल्ला अदालतको मिति ०३९।६।७ को  फैसला ।

४.    कपिलवस्तु जिल्ला अदालतको इन्साफमा चित्त बुझेन । उक्त इन्साफ उल्टाई हक इन्साफ पाउँ भन्ने समेतको प्रतिवादीहरु विश्राम केवट १, वसीती केवट १ समेत जना २ को लुम्बिनी अञ्चल अदालतमा परेको संयुक्त पुनरावेदनपत्र ।

५.    वादी दावी बमोजिमको प्रतिवादीहरुले लिनु दिनु गरेको राजीनामा लिखत वादीको हक जति बदर भई वादीको हक कायम हुने ठहर्दैन । सो बदर हुने ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ नमिली गल्ती भई उल्टी हुने ठहर्छ भन्ने लुम्बिनी अञ्चल अदालतको मिति ०४२।४।२७ को फैसला ।

६.    लुम्बिनी अञ्चल अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशले बदरभागी हुँदा पुनरावेदनको अनुमति पाई हक इन्साफ पाउँ भन्ने समेतको वादी सुदायन केवटको क्षेत्रीय अदालतमा परेको निवेदन ।

७.    यस्मा वादी प्रतिवादीहरु बीच अंश बण्डा भएको भन्ने नदेखिएको र निजी आर्जन सम्बन्धी दफा संशोधन हुनु भन्दा अगावै उखडामा जग्गा प्राप्त गरेको देखिँदा वादीको हक नलाग्ने भन्न मिलेन । कानूनको व्याख्यामा त्रुटि भएको देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालत एक न्यायाधीशको इजलासबाट मिति ०४२।११।१६।५ मा  भएको आदेश ।

८.    यसमा वादी सुदायन केवट र प्रतिवादी मध्ये गजाधर केवटको मु.स. गर्ने विश्राम केवट अंशियार भएको कुरामा विवाद रहेको देखिन आएन । निजहरु छुट्टि भिन्न भएको भन्ने तथ्य आधार प्रतिवादी पक्षबाट पेश हुन आएको पनि पाइएन । एका सगोलमा रहे भएको सम्पत्ति अंशियाराको मन्जूरी बेगर बिक्री गरेमा लेनदेन व्यवहारको १० नं. ले आफ्नो हक बदर गराउन पाउने कानूनी व्यवस्था भएको र वादीको मन्जूरी लिई बिक्री गरेको भन्ने सबूद प्रतिवादीबाट पेश हुन आएको पनि पाइँदैन । तसर्थ कपिलवस्तु जिल्ला अदालतको वादीको हक जतिको ०३७।६।२६।१ को राजीनामा लिखत बदर गर्ने गरेको इन्साफ मनासिब ठहर्छ । लुम्बिनी अञ्चल अदालतको सो फैसला उल्टी गर्ने गरेको त्रुटिपूर्ण हुँदा बदर हुन्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४४।२।३।१ को फैसला ।

९.    यसमा वादी र बाबु गजाधर बीच धेरै नै पहिले घरसारमा छुट्टि भिन्न भएको मतदाता सूचीबाट समेत देखिएको र आफ्नो प्रयासबाट आर्जन भएको उखडा जग्गामा अंश बण्डाको १८ नं. अन्तर्गत मेरो एकलौटी हक लाग्ने, कसैको मन्जूरी लिई राख्नु नपर्ने कुरा प्रष्ट हुँदा हुँदै पनि लेनदेन व्यवहारको १० नं. को प्रयोग हुनै नसक्नेमा गलत व्याख्या गरिएकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख)(ग) तथा १३(७) अन्तर्गत पुनरावदेनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वर्साती केवट, विश्राम केवट१ समेत जना २ को संयुक्त रुपमा यस अदालतमा पर्न आएको निवेदनपत्र ।

१०.    प्रस्तुत मुद्दामा ७ नं. फाराम आफ्नो आफ्नो भरेको देखिन्छ । उखडा जग्गा निजी आर्जनको मान्नु पर्नेमा संयुक्त अंश हकको मानी लेनदेन व्यवहारको १० नं. बमोजिम अरु अंशियारहरुको मन्जूरी लिनु पर्नेमा नलिई बिक्री गरेको भनी वादीको हक जति लिखत बदर गर्ने गरी गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा लेनदेन व्यवहारको १० नं. को व्याख्यात्मक त्रुटि हुनुको साथै यस अदालतबाट प्रतिपादित नजीरको विपरीत निर्णय गरेकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख)(ग) बमोजिम अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति ०४४।३।२६।६ को आदेशानुसार प्रस्तुत मुद्दा यस अदालतको देवानी दायरीमा दर्ता हुन आएको रहेछ ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री जयकान्तलाल दास तथा प्रत्यर्थी वादीका तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री शिवानन्द दास सरसले गर्नु भएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यस्मा मेरो समेत हक अंश लाग्ने दाजु गजाधरका नाममा दर्ता भएको २९ जग्गा मेरो मन्जूरी बेगर बर्साती केटवलाई ०३७।६।१५।४ मा घरसारमा राजीनामा गरी ०३७।६।२६ मा रजिष्ट्रेशन पारीत समेत गरी दिएकाले सो मध्ये मेरो हकको आधी प्रत्येक कित्ताबाट राजीनामा लिखत बदर गरी फिर्ता गराई हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी भएकोमा वादी र म समेत सगोलमा छैनौं । वादी दावाको जग्गा जिमिदार जुगल किशोर, महात्तम अमिराजी समेतको फाँटमा उखडामा कमाई आए अनुसार ०२१ सालमा उखडा फाराम भरी क्षतिपूर्ति बुझाई उखडाबाट सपोट गरी पाएको वादीको मन्जूरी लिई रहनु नपरी आफू खुसी गर्न पाउने एकलौटी हक भोगको भएकोले राजीनामा गरी दिएको हुँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर देखिन्छ ।

१२.    वादी दावीको जग्गा उखडाबाट प्राप्त भएको जग्गा हो भनी प्रतिवादीले जिकिर लिएको र सो जग्गा उखडा होइन भन्ने कुराको प्रमाण वादी पक्षले पेश गर्न सकेको छैन । वादी प्रतिवादीहरुसंग सगोलमा रहे भएको र छुट्टि भिन्न नभएको भए संग सगोलमा रहँदा बस्दा सोही उखडाबाट प्राप्त भएको वादी सुदायनका छोरा लौटनका नाम दर्ताको जग्गालाई पनि सगोलको अंश लाग्ने जग्गा भन्नु पर्नेमा सो नभनी छोरा लौटनको निजी आर्जनबाट कमाएको भनी वादीले दावी लिएको देखिँदा वादी शुद्ध मनले अदालत प्रवेश गरेका हुन भन्न सकिँदैन । यस्का अतिरिक्त यि वादी प्रतिवादीहरुले आफूले उखडामा पाएको जग्गालाई ०२१ सालमा ७ नं. फाराम भर्दा वादीले आफ्ना छोरा लौटनका नाममा र प्रतिवादी गजाधरले आफ्ना नामबाट भरेको पाइन्छ । वादी र प्रतिवादीहरु अंशियार देखिए तापनि यिनीहरुको पैतृक सम्पत्ति रहे भएको भन्ने कुरा पक्षहरुबाट पेश भएको मिसिल प्रमाणबाट देखिन आउँदैन । आआफूले उखडामा कमाएको जग्गा उखडाबाट निजहरुका आफ्ना नाममा नम्बरीमा दर्ता गरी पाएको जग्गालाई दुवैले अलग अलग रुपमा आर्जन गरेको सम्पत्ति मान्नु पर्ने हुन आउँछ । यसरी आफूले आर्जन गरेको सम्पत्ति अंश बण्डाको १८ नं. ले आफूखुस गर्न पाउने व्यवस्था भएको र देवी दासको मु.स. गर्ने कुमार दास मानन्धर विरुद्ध प्रेमकृष्ण बानिया भएको लिखत बदर मुद्दामा (ने.का.प. २०४२, नि.नं. २२२३ पृष्ठ ५) आफूले आर्जेको सम्पत्ति आफूखुस हुने भनी सिद्धान्त समेत प्रतिपादन भएको देखिँदा प्रतिवादी गजाधर केवटले बर्साती केवटलाई गरी दिएको राजीनामा बदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको लुम्बिनी अञ्चल अदालतको इन्साफ मनासिब भई पश्चिमाञ्चल क्षेत्रीय अदालतले दावी बमोजिमको राजीनामा बदर हुने ठहर्‍याएको इन्साफ गल्ती भई बदर हुने ठहर्छ । पश्चिमाञ्चल क्षेत्रीय अदालतले बर्साती केवटका नाममा राजीनामा भई गएको कित्ताहरुको आधा सुदायन केवटका नाममा हक कायम दर्ता गरी दिनु भनी मालपोत कार्यालयमा लेखी पठाउन पश्चिमाञ्चल क्षेत्रीय अदालत लगत नगदी शाखामा पठाएको लगत व्यहोरा जनाई लगत कट्टा गर्नु भनी लगत दिन काठमाडौं जिल्ला अदालतमा लेखी पठाई नियमानुसार गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४५ साल फाल्गुण २९ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु