निर्णय नं. ३६८१ - आगलागी

निर्णय नं. ३६८१ ने.का.प. २०४५ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४५ सालको फौ.पु.नं. ४०९
फैसला भएको मिति : २०४५।११।४।४ मा
पुनरावेदक/वादी : भोला चौधरी समेतको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : मोरंग बाहुनी गा.पं. वार्ड नं. २ बस्ने गोग्दु खवास
मुद्दा : आगलागी
(१) सरजमीनका चस्मदिद गवाहहरुले अदालत समेतमा आई चस्मदिद भई सरजमीनको व्यहोरालाई पुष्टाई गर्दै बकपत्र गरिदिएकोमा २ जना सरजमीनका व्यक्तिले नदेखेको भनी सफाई दिँदैमा प्रतिवादीले आरोपित कसूर गरेनन् होला भनी मान्न सकिने अवस्था नदेखिने ।
(प्रकरण नं. १५)
(२) बैशाख महिनामा पानी कुर्नु पर्दैन, पानी प्रशस्त पुग्छ भनी त्यसलाई क्षेत्रीय अदालतले हाम्रो देशको किसानहरुको अस्वाभाविक प्रकृया हो भनी भन्नु या मान्नु कृषि प्रधान देशको किसानहरुको दैनिक चर्या पटक्कै बुझ्न नसकेको भन्ने कुरा प्रष्ट देखिन्छ र यस्तो किसिमको तर्कलाई युक्तियुक्त तर्क मान्न नमिल्ने ।
(प्रकरण नं. १६)
पुनरावेदकतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्रीकृष्णराम श्रेष्ठ
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
फैसला
न्या.गजेन्द्रकेशरी वास्तोला : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।
२. ०३६ साल बैशाख १३ गते बेलुका हामी घरमा खाना खाई सुतेपछि रातको १० बजेको समयमा बाहुनी गा.पं. वडा नं. ३ बस्ने नितलाल खवास, टिभरलाल खवास, गोगदु खवास समेत तीन जनाले मेरो घरको पछाडी गाई गुवालीको चारै छेउबाट आगो लगाएछन् गुवाली बल्न थाल्दा मैले थाहा पाई बाहिर निस्कँदा अपराधी तीन जना भागेको उज्यालोमा चिने । आगलागी भयो भनी गाउँमा हल्ला गरे हावा चलेकोले सुमित खवास, निलप्रसाद आचार्य, ज्ञानलाल, भोला चौधरी समेत ४ जनाको घर समेत नोक्सान भएको हुँदा जाहेरी दर्खास्तमा भएको बिगो दिलाई अपराधीलाई कानून बमोजिम सजायँ गरी पाउँ भन्ने जाहेरी दर्खास्त ।
३. ०३६।१।१३ गतेको राती जाहेरवालाको घरमा आगो लागेको ठीक हो । कस्ले आगो लगायो भन्न सक्दिन हामीहरुले आगो लगाएको होइन हामीहरु निर्दोष छौं । केशव कार्कीले चुनावमा भोट नदिएको रीसले झुठ्ठा उजूर दिन लगाएका हुन भन्ने गोगदु खवास, निमुलाल र टिमलालको एकै मिलानको प्रहरीमा भएको कागज ।
४. पक्राउ परेका तीनै जना अभियुक्तहरु राम्रो चाल चलनका व्यक्तिहरु होइन । तीन जनाले आगो लगाएको हामी खेतमा पानी लगाउन पैनीमा जाँदा देखेका हौं भन्ने समेतको सरजमीन मुचुल्का ।
५. अभियुक्तहरु, तीनै जना उपर आगो लगाएकोमा मुलुकी ऐन आगो लगाउनेको महलको ५ नं. बमोजिम र बिगोको हकमा ऐ. को ९ नं. बमोजिम सजायँको माग दावी गरी प्रस्तुत गरेको प्रहरी प्रतिवेदन ।
६. ०३६।१।१३ गतेको रात गाउँकै कितुवा खवासले रामायण भनेकाले म निजकै घरमा रामायण सुनि बसेको थिएँ । आगो लागेको देखि म पनि आगो निभाउन जान लागेको थिएँ । धान छ नजानु होस् भनी सासुले भनेको हुँदा आगो निभाउन गइन । मैले आगो लगाएको होइन भन्ने टियरलाल खवासको बयान कागज ।
७. ०३६।१।१३ गतेको रात मेरो घरमा पाहुना आएकोले सत्कार गर्न घरमै बसेको छु । घटनास्थलमा म गइन । मैले आगो लगाएको होइन । सो रात प्रतिवादीहरुसंग मेरो भेटघाट समेत भएन भन्ने गोगदु खवासको बयान कागज ।
८. ०३६।१।१३ गते रात म आफ्नै घरमा छु । जाहेरवालाको घरमा आगो लागेकोले आगो निभाउन मद्दतको लागि म समेत आगो निभाउन गएको थिएँ । पञ्चायतको चुनावको रिसले झुठ्ठा उजूर गरेको हुन भन्ने समेत निमुलाल भन्ने दुधलाल खवासको बयान कागज ।
९. तीन जना प्रतिवादीहरु भई जाहेरवालाको घरमा आगो लगाएको ठहर्छ । मुख्य ४ घर भएकोले जनही ७ वर्ष कैद हुन्छ बिगोको हकमा ज्ञानलालको रु. ९८०।–, निलप्रसादको ४०९०।–, सुमितको रु. ६२,१०२। कायम हुने समेत ठहर्छ भन्ने शुरु मो.जि.अ.को मिति ०३७।२।१३ को फैसला ।
१०. शुरु मोरङ जिल्ला अदालतको इन्साफमा चित्त बुझेन भन्ने गोगदु खवासको पुनरावेदनपत्र ।
११. पुनरावेदकले जाहेरवालाको घरमा आगो लगाएको हो भनी शंका विहिन तवरबाट निष्कर्षमा आउन सकिने अवस्था प्रमाणित हुन नआएबाट निजले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । मोरंग जि.अ.को इन्साफ सो हदसम्म उल्टी हुन्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।१०।९ को फैसला ।
१२. जाहेरवालाहरुले प्र.गोगदु खवास समेतलाई भाग्दै गर्दा देखेको किटानी जाहेरीलाई सरमजीनका चस्मदिद मानिसहरुले पुष्टयाई गरेको हुँदा हुँदै प्र.गोगदु खवासलाई सफाई दिएको पू.क्षे.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारतर्फबाट पर्न आएको निवेदनपत्र ।
१३. यसमा जाहेरी दर्खास्तमा अभियुक्त गोगदु खवास उपर किटानी पोल भएको र अदालतमा आई बकपत्र गर्दा पनि सो जाहेरीलाई समर्थन गरी बकपत्र गरेको, जाहेरवालाका यी किटानी पोल मौका सरजमीनका चस्मदिद व्यक्तिहरुले पनि अदालतमा आई गरेको बकपत्रबाट समेत समर्थन भइरहेको देखिन आएको यस स्थितिमा प्र.गोगदु खवासले सफाई पाउने ठहराएको पू.क्षे.अ. को फैसला सर्वोच्च अदालतबाट विभिन्न मुद्दाहरुमा प्रतिपादित सिद्धान्तको विपरीत देखिन आएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०४३।१२।२५ को आदेश ।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकारतर्फबाट उपस्थित हुनु भएका विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ तथा विपक्षीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले गर्नु भएको बहस समेत सुनी प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतले प्र.गोगदु खवासलाई आरोपीत कसूरबाट सफाई दिने ठहराएको इन्साफ मिलेको छ छैन भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।
१५. यस्मा सुमितलाल खवास, भोला चौधरी खवास, निलप्रसाद आचार्य र ज्ञानलाल खवास यी ४ जना जाहेरवालाहरुले अदालत समेतमा आई जाहेरी दर्खास्तलाई समर्थन गरी प्रतिवादीहरुले आगो लगाउँदै गरेको र भागेको देखेको भनी बकपत्र गरेका छन् । यसको अतिरिक्त सरजमीनका चस्मदिद गवाहहरुले अदालत समेतमा आई चस्मदिद भई सरजमीनको व्यहोरालाई पुष्टाई गर्दै बकपत्र गरी दिएकोमा २ जना सरजमीनका व्यक्ति उमालाल र ज्ञानु देवान खवासले गोगदुलाई नदेखेको भनी सफाई दिँदैमा प्रतिवादी गोगदु खवासले आरोपित कसूर गरेनन् होला भनी मान्न सकिने अवस्था देखिँदैन ।
१६. क्षेत्रीय अदालतको फैसलामा रातको समयमा पानी लगाउन जाने अवस्था पनि सामान्य स्थितिमा कसरी पर्न गएको ? भन्ने समेतको आधार लिई न्यायिक कसौटीमा राख्न नमिल्ने भन्ने तर्क गरी प्रतिवादी गोगदु खवासलाई सफाई दिएको हाम्रो जस्तो कृषिप्रधान देशको वस्तुस्थितिको अनभिज्ञता क्षेत्रीय अदालतको फैसलाबाट देखिएको छ । त्यसमा पनि धनचन खवासले ०३६ साल बैशाख १३ गते म समेतका व्यक्ति खेतमा पानी पटाउन भनी रातको अं. ९।१० बजेतिर गई पानी फर्काई कुलोको डिलमा बसेको अवस्था जाहेरवाला भोलाको घर गुहालीमा सलाई कोरी घरमा लगाएपछि आगलागी भई उज्यालो भएको र पानी कुर्ने मध्येका रिपुध्वज कार्कीको हातमा भएको लाइट बाली हेर्दा गोगदु, टिमर र निमुलाई भाग्दै गरेको देखी उनीहरुलाई लखेट्नु भन्दा आगो निभाउनु उचित सम्झी पक्राउ नपरेका हुन भनी सरजमीनको व्यहोरालाई समर्थन गरी अदालत समेतमा आई बकपत्र गरेकोमा बैशाख महिनामा पानी कुर्नु पर्दैन, पानी प्रशस्त पुग्छ भनी त्यसलाई क्षेत्रीय अदालतले हाम्रो देशको किशानहरुको अस्वाभाविक प्रकृया हो भनी भन्नु या मान्नु कृषि प्रधान देशको किसानहरुको दैनिक चर्या पटक्कै बुझ्न नसकेको भन्ने कुरा प्रष्ट देखिन्छ र यस्तो किसिमको तर्कलाई युक्तियुक्त तर्क मान्न पनि मिल्दैन ।
१७. प्रतिवादीहरु आरोपित कसूरमा इन्कार रहे तापनि उनीहरुको आफ्नो इन्कारी बयानलाई समर्थन गर्ने कुनै सबूद प्रमाण पेश गर्न सकेका छैनन् । यिनीहरु माथि जाहेरवालाहरुले किटानी जाहेर दिएका र सरजमीनका व्यक्तिहरु कसैले आगो लगाउँदै गरेको देखेका, कसैले आगो लगाई भाग्दै गरेको देखेको भनी बकपत्र गरेको आधार समेतबाट प्रतिवादी गोगदु खवासलाई कसूरदार ठहर गरेको मोरङ जिल्ला अदालतको इन्साफ मनासिब छ । पूर्वाञ्चल क्षेत्रीय अदालतले निजलाई सफाई दिने ठहर्याएको इन्साफ गल्ती भई बदर हुने ठहर्छ अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी गोगदु खवास के माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरुले गर्ने गरेको कैद वर्ष ७।– र जाहेरवालाको बिगो निजबाट समेत भराई दिने भनी कसेको लगत कायम राखी कैदको हकमा लगत कसी असूल गर्नु र बिगोको हकमा ऐनका म्याद भित्र जाहेरवालाको दर्खास्त परे कानून बमोजिम भरिभराउ दस्तूर लिई भराई दिनु भनी शुरु मोरङ जिल्ला अदालतमा लगत दिन काठमाडौं जिल्ला अदालतमा लगत दिई नियमानुसार गरी मिसिल बुझाई दिनु...१
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४५ साल फाल्गुण ४ गते रोज ४ शुभम् ।