निर्णय नं. ८९४४ - कर्तव्य ज्यान

ने.का.प. २०७०, अङ्क १
निर्णय नं.८९४४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री सुशीला कार्की
२०६६–CR–००७६
फैसला मितिः २०६९।९।१।१
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक वादीः प्रहरी नायव निरीक्षक आनन्दकुमार गुप्ताको प्रतिवेदनले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला पाल्पा मित्याल गा.वि.स.वडा नं. ९ बस्ने मिधनबहादुर रास्के मगर समेत
शुरु फैसला गर्ने :–
मा.न्या.श्री रामचन्द्र राई
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री दीपकराज जोशी
मा.न्या.श्री गोविन्दकुमार उपाध्याय
§ साविती बयान अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि र समर्थित नभएसम्म प्रहरीमा भएको साविती बयानलाई मात्र प्रमाणमा लिई कसूरदार ठहर्याउनु न्यायोचित् नहुने ।
(प्रकरण नं.५)
§ ज्यान लिने मनशायले कुटपीट गरी मारेका हुन् भनी तथ्यपूर्ण एवं शंकारहित प्रमाणबाट पुष्टि गर्न सकेको नदेखिएबाट प्रहरीमा साबित भएको एकमात्र कारणबाट प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(३) नं बमोजिम कसूरदार ठहर्याई सजाय गर्न नमिल्ने ।
(प्रकरण नं.६)
§ लखेट्दै जाँदा खोलामा खसी पानीमा डुबेर मृत्यु होला भनी नसोचेको अवस्थामा भवितव्य पर्न गई मृतकको मृत्यु हुन पुगेको अवस्थामा ज्यानसम्बन्धीको ६ नं. बमोजिम सजाय हुने ।
(प्रकरण नं.९)
पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता बिनोद पोखरेल
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन, ज्यान सम्बन्धीको ५, ६(२)
फैसला
न्या.सुशीला कार्कीः पुनरावेदन अदालत बुटवलको फैसलामा चित्त नबुझी सो उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :–
जिल्ला पाल्पा, मित्याल गा.वि.स.वडा नं. ९ स्थित दियारी भन्ने आरुङ्गखोलाको उत्तरपूर्व, आरुङ्गखोला र नवलपरासीको सीमाना पश्चिम, आरुङ्गखोला उत्तर दियारी पैह्रो यति चार किल्लाभित्रको आरुङ्गखोलामा मिसिएको खोलाको दहको दक्षिण पश्चिम छेउमा भएको बगरमा नाम, थर, वतन नखुलेको पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने घटनास्थल लास जाँच मुचुल्का ।
मिति २०६४।३।२ गतेका दिन जिल्ला पाल्पा मित्याल गा.वि.स.वडा नं. ९ मा बस्ने मिधनबहादुर रास्के मगर, ऐ.बस्ने धनबहादुर रास्के मगर, ऐ.बस्ने गुनबहादुर सारु, ऐ. बस्ने देवबहादुर जर्घा मगर, ऐ.बस्ने उत्तमसिंह गाहा समेतले एकजना अन्दाजी वर्ष ३५ को अपरिचित पुरुष व्यक्तिलाई गाउँबाट लखेट्दै लगी गाउँदेखि दक्षिणमा रहेको आरुङ्गखोलामा ढुङ्गाले हानी कर्तव्य गरी मारेको भन्ने खुल्न आएकोले निजहरूलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि यसै प्रतिवेदनसाथ दाखिला गरेको छु भन्ने प्रहरी नायव निरीक्षक आनन्दकुमार गुप्ताको प्रतिवेदन ।
मिति २०६४।३।२ गते मिधनबहादुर रास्के मगरको घर परिवारका मानिसहरू घरमा नभएको अवस्थामा अपरिचित व्यक्ति निजको घरभित्र पसी मिधनबहादुर रास्के मगरको बुहारीलाई समाउँदा निजले हल्लाखल्ला गरेको सुनी मिधनबहादुर रास्के मगर, धनबहादुर रास्के मगर सो ठाउँमा आई हामीहरूले दक्षिणतर्फ लखेट्दै आरुङ्गखोलाको नजिक पुर्याई मिधनबहादुर रास्के मगर, देवबहादुर र धनबहादुर रास्के मगरले कुटपीट समेत गरी पानीको दहमा खसाली दिएको हुनाले सोही पानीभित्र सो मानिस डुवी मृत्यु भएको भन्ने प्रतिवादी उत्तमसिंहले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६४।३।२ गते म समेत आफ्नो खेतमा काम गर्न गई फर्कदा एक अपरिचित व्यक्तिलाई घरमा देखें । बुहारीलाई रोए कराएको अवस्थामा देखी सोधपुछ गर्दा उक्त अपरिचित व्यक्तिले मलाई जवर्जस्ती करणी गर्न खोजेकोले रोएको हुँ भनेपछि म, धनबहादुर, उक्तमसिंह गाहा, गुनबहादुर सारु र देवबहादुरले कुटपीट समेत गरी पानीको दहमा खसाली दिएकोमा सोही पानीमा डुबी निजको मृत्यु भएको हो भन्ने मिधनबहादुरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६४।३।२ गते म आफ्नो खेतमा काम गर्न गएकोमा अं १२.३० बजेको समयमा मेरो बुबा मिधनबहादुर रास्के मगरले मलाई घरमा बोलाएकोले तत्कालै घरमा आउँदा एकजना अपरिचित व्यक्तिलाई घरअगाडि मेरो श्रीमती तथा बुबाले नियन्त्रणमा लिई राखेको अवस्थामा देखी सो सम्बन्धमा बुझ्दा हामीहरू घरमा नभएको अवस्थामा निज पुरुष व्यक्ति आई घरभित्र पसी मेरो श्रीमतीलाई जवर्जस्ती करणी गर्न खोज्दा मेरो श्रीमतीले हो हल्ला गरेको सुनी बुबा तत्कालै आई निजलाई नियन्त्रणमा लिई राखेको थाहा भयो । तत्पश्चात् म र बाबु धनबहादुर समेतका ५ जना मिली निज अपरिचित व्यक्तिलाई आरुङ्गखोलातर्फ लखेट्दै लगी कुटपीट गरी पानीमा खसालिदिएकोमा सोही पानीभित्र सो मानिस डुबी मृत्यु भएको हो । बुबाको निर्देशनमा मैले सो कार्य गरेको हुँ भन्ने प्रतिवादी धनबहादुरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६४।३।२ गते अं.१३.०० बजेको समयमा मिधनबहादुर रास्के मगर र धनबहादुर रास्के मगर समेतले आफ्नो घरमा हो हल्ला गरेको सुनी म समेत निजको घरमा पुगी बुझ्दा मिधनबहादुर रास्के मगरको घरपरिवारहरू घरमा नभएको अवस्थामा अपरिचित व्यक्ति निजको घरमा आई छुट्टि भिन्न भई बसेकी धनबहादुरको श्रीमतीलाई समाउँदा निजले हल्लाखल्ला गरेको थाहा भयो । निज व्यक्तिलाई नवलपरासी जिल्लातर्फ लखेट्नु पर्यो भनी मिधनबहादुर रास्के मगरले भनेपश्चात् हामी ५ जनाले दक्षिणतर्फ लखेट्दै लगी आरुङ्गखोलाको नजिक पुर्याई धनबहादुर रास्के मगरले सो व्यक्तिलाई खोलामा ढिकबाट धकेली दिएकोमा सो व्यक्तिको पानीमा डुबी मृत्यु भएको हो । मैले र उत्तम सिंह गाहाले निजलाई नमार भनी भन्दा पनि निजहरूले नसुनी बसेका हुन भन्ने प्रतिवादी गुनबहादुर सारुले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मिति २०६४।३।२ गते मिधनबहादुर रास्के मगरको घरमा हो हल्ला भएको सुनी म समेत तत्कालै निजको घरमा जाँदा एकजना तराई मूलको पुरुष व्यक्तिलाई नियन्त्रणमा लिई राखेको देखी सो सम्बन्धमा बुझ्दा निज अपरिचित व्यक्ति आई मिधनबहादुर रास्के मगर घरमा नभएको अवस्थामा निजको बुहारीलाई जवर्जस्ती करणी गर्न खोज्दा निजले हो हल्ला गरेकोले मिधनबहादुर समेतले नियन्त्रणमा लिएको थाहा पाएको हुँ । हामी ५ जनाले मृतकलाई कुटपीट समेत गरी दक्षिणतर्फ लखेट्दै लगी आरुङ्गखोलाको नजिक पुर्याई पानीमा खसालेकोमा सोही पानीमा डुबी निजको मृत्यु भएको हो भन्ने प्रतिवादी देवबहादुर जर्घा मगरले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
शरीरको विभिन्न भागमा घाउ चोट भई पानीमा डुबी मृत्यु भएको भन्ने मिति २०६४।३।१५ गते जिल्ला अस्पताल पाल्पाबाट प्राप्त मृतकको पोष्टमार्टम रिपोर्ट ।
मिति २०६४।३।२ गते म आफ्नो खेतमा काम गर्न गएकोमा सोही दिनको अं १३.०० बजेको समयमा धनबहादुरको श्रीमतीलाई जवर्जस्ती करणी गर्न खोजेको विषयलाई लिएर पाँचै जना प्रतिवादीहरूले हाल मृत्यु भएका व्यक्तिलाई लखेट्दै मार मार भनी हो हल्ला गरेको देखेको हुँ । सो पश्चात् प्रतिवादीहरूले मृतकलाई कुटपीट समेत गरी लखेट्दै लगी आरुङ्गखोलाको नजिक पुर्याई पानीको दहमा खसालेकोमा सोही पानीभित्र सो मानिस डुबी मृत्यु भएको हो भन्ने व्यहोराको बुझिएका किसनबहादुर खण्डालुले गरेको कागज ।
मिति २०६४।३।२ गते बिहानको खाना पकाई खाई मेरो श्रीमान खेतमा काम गर्न गएको बखत म घरमा बसेकीमा अं १२.३० बजेको समयमा तराई मूलको जस्तो देखिने लुङ्गी मात्र लगाएको पुरुष व्यक्ति आई मेरो घरभित्र पसी मलाई एक्कासी समाई पल्टाई जवर्जस्ती करणी गर्न खोजेकोले मैले तत्काल निजको पञ्जाबाट उम्कन सफल भई हार गुहार गर्दा ससुरा मिधनबहादुर, श्रीमान धनबहादुर र देवबहादुर रास्के मगर समेतका व्यक्तिहरू आई निज व्यक्तिलाई कुटपीट गरी निजलाई नवलपरासी जिल्लातर्फ लखेट्दै लगी आरुङ्गखोलाको पानीमा खसालिदिएकोमा सोही पानीमा डुबी मृत्यु भएको हो भन्ने कुरा श्रीमानले बताएपश्चात् मलाई थाहा भएको हो । सो अपरिचित व्यक्तिले मलाई पल्टाई जवर्जस्ती करणी गर्न खोज्दा मैले आत्मरक्षाका लागि हारगुहार गरेकी हुँ भन्ने बुझिएकी हेमावती रास्के मगरले गरेको कागज ।
मिति २०६४।३।२ गते एकजना अपरिचित व्यक्ति कोही नभएको अवस्थामा घरभित्र पसी धनबहादुरको श्रीमतीलाई समाती जवर्जस्ती करणी गर्न खोज्दा निजले हार गुहार गरेको सुनी मानिसहरू जम्मा भई निज व्यक्तिलाई नवलपरासी जिल्लातर्फ लखेट्दै लगी दक्षिणतर्फ रहेको आरुङ्गखोलाको नजिक पुर्याई प्रतिवादी मिधनबहादुर र धनबहादुरले ढुङ्गाले हानी घाइते बनाई खोलामा खसालिदिएकोमा सो पानीमा डुबी निजको मृत्यु भएको भन्ने सुनी थाहा पाएको हुँ भन्ने समेत व्यहोराको बुझिएका भिमबहादुर गाहा समेतले गरिदिएको एकै मिलानको कागज ।
जवर्जस्ती करणी गर्न खोजेको विषयलाई लिएर प्रतिवादीहरूले मृतकलाई लखेट्दै लगी कुटपीट गरी पानीमा फालेको र ढुङ्गाले हानी पानीबाहिर निस्कन नदिई डुबाई मारेको हुँदा प्रतिवादीहरू मिधनबहादुर रास्के मगर, धनबहादुर रास्के मगर, गुनबहादुर रास्के मगर, उत्तम सिंह गाहा, देवबहादुर जर्घा मगर समेत जना ५ को सो कार्य मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३ (३ ) नं. ले परिभाषित गरेको कसूर अपराध कायम भएकाले निज प्रतिवादीहरूलाई सोही ऐनको १३ (३ ) नं. बमोजिम सजाय हुन माग दावी लिएको भन्ने अभियोग पत्र ।
बुहारीलाई जवर्जस्ती करणी गर्न खोजेको विषयलाई लिएर छोरा धनबहादुरले मृतकलाई एक दुइ थप्पड हानेछ । मैले सो मानिसलाई हानेको छैन । त्यो तराई मूलको मानिस भाग्न खोज्दा पानीमा डुबी मरेको हो । कुटपीटको कारणबाट मरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी मिधनबहादुर रास्के मगरले अदालतसमक्ष गरेको बयान ।
मिति २०६४।३।२ गते धनबहादुर समेतको घरमा तराई मूलको मान्छेले धनबहादुरको श्रीमतीलाई समातेछ । धने र निजको बाबु समेतले भद्र भलाद्मी मान्छेलाई बोलाउन लाग्दा सो मान्छे भाग्दै गई पानीको दहमा खस्यो । बचाउन पर्यो भनी निजले चिच्यायो । पानीको ठूलो दह भएको र हामी पौडी खेल्न नजानेकाले बचाउने प्रयास गरेनौ । मैले सो मान्छेलाई मारे मराएको नहुँदा मलाई सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी देवबहादुर जर्घाले अदालतसमक्ष गरेको बयान ।
आरुङ्गखोलाको दियारी भन्ने ठाउँमा ठूलो पानीको दह छ । त्यो तराई मूलको मान्छे भाग्दै जाँदा त्यही दहमा पर्न गयो । हामी पौडी खेल्न नजान्ने भएकाले त्यो मान्छेलाई निकाल्ने प्रयास गरिएन । त्यो मान्छेलाई म तथा देवबहादुर जर्घा मगर समेतले हानेको र मारेको होइन । झूठा दावीबाट सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी धनबहादुर रास्के मगरले अदालतसमक्ष गरेको बयान ।
वारदातस्थल आरुङ्गखोलामा मानिसहरू चिच्याएको आवाज आएकोले हामी सो ठाउँमा गएका थियौं । हामी त्यहाँ जाँदा धनबहादुर र देवबहादुरले गुहारगुहार भनी कराएका थिए । मलाई पौडी खेल्न नआउने हुँदा पानीको दहमा जान सकिन । सो अपरिचित व्यक्तिलाई कोही कसैले कर्तव्य गरी मारेको होइन । उ आफै दहमा खसी निजको मृत्यु हुन गएको हो । मैले सो व्यक्तिलाई पिट्ने लखेट्ने समेत केही काम गरेको नहुँदा अभियोग दावीबमोजिम सजाय पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी उत्तमसिंह गाहाले अदालतसमक्ष गरेको बयान ।
मिति २०६४।३।२ गते प्रतिवादी धनबहादुर तथा मिधनबहादुरको घरमा नचिनेको मान्छे आएको थियो । सो मान्छेलाई बुद्धिजिविकहाँ लैजान भनी खोज्दा उक्त मानिस भागी दहमा खसेको र सोही ठाउँमा निजको मृत्यु भएको हो । पछि गाउँलेलाई जानकारी गराई लाश जाँच गर्न भनी म समेतले बोकी तानसेन ल्याएका हौँ । म निर्दोष भएकोले अभियोगबाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गुनबहादुर सारुले अदालतसमक्ष गरेको बयान ।
वादीका साक्षी हेमावती रास्केको र प्रतिवादीहरूका साक्षी भुवन सोती मगर र हस्तबहादुर गाहाले गरेको बकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादी धनबहादुर रास्के मगरले मृतकलाई धपाउँदै लगी आरुङ्गखोलामा पुर्याई ढिकबाट धकेली निस्कन नदिई पानीमा डुवाई मृतकलाई कर्तव्य गरी मारेको देखिंदा निज प्रतिवादी धनबहादुर रास्के मगरलाई ज्यान सम्बन्धी महलको १३(३) नंं बमोजिम सर्वश्वसहित जन्मकैद सजाय हुने ठहर्छ । अन्य प्रतिवादीहरू मिधनबहादुर, देवबहादुर, उत्तमसिंह र गुनबहादुर सारु समेतले मृतकलाई खोलामा डुबाई निस्कन नदिई मारेको भन्ने खम्बीर हुने सबूद प्रमाण वादी पक्षबाट पेश दाखिला हुन नसकेकोले अभियोग दावीको भरमा मात्र यी प्रतिवादीहरूलाई कसूरदार ठहर्याउनु न्यायको रोहमा उचित नहुँदा निजहरूले अभियोग दावीबाट सफाई पाउने ठहर्छ भन्ने शुरु पाल्पा जिल्ला अदालतको फैसला ।
मैले मृतकलाई कुनै किसिमको कुटपीट तथा पानीमा डुवाई मार्नेसमेतको कार्य गरेको होइन । निजलाई उसको शंकास्पद व्यवहारको कारण जान्ने सुन्ने व्यक्तिहरूको जिम्मा लगाई आवश्यक कारवाही गर्न भनी लिएर जाँदा आफै पानीमा खसी डुबेर मृत्यु भएको हो भनी मैले बयान गरेको कुरालाई प्रमाणमा नलिई केवल अनुसन्धानमा बुझिएका व्यक्तिहरूको भनाईलाई आधार लिई मलाई कसूरदार ठहर गर्न नमिल्ने भएकोले शुरु फैसला उल्टी गरी वादी दावीबाट सफाई पाउँ भन्ने प्रतिवादी धनबहादुर रास्के मगरको पुनरावेदन पत्र ।
अपरिचित व्यक्तिले मिधनबहादुरको घरभित्र पसी भात खाई बुहारीलाई जवर्जस्ती करणी गर्न लागेको निहुँमा धनबहादुर लगायतका प्रतिवादीहरूले मृतकलाई लखेट्दै आरुङ्गखोला छेउ पुगेपछि खोलामा फाली ढुङ्गाले हानी निस्कन नदिई सोही कुटाईको कारण मृत्यु भएको देखिएपछि एकजना प्रतिवादी धनबहादुरलाई मात्र सजाय गरी समान स्तरका कसूदारहरूलाई सफाई दिन मिल्दैन । तसर्थ शुरु फैसला उल्टी गरी प्रतिवादीहरू मिधनबहादुर, देवबहादुर, गुनबहादुर र उत्तम सिंह समेतलाई अभियोग दावीबमोजिम नै सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा मृतकले हेमावतीलाई समाई जवर्जस्ती करणी गर्न खोजेको विषयलाई लिएर रिसको आवेशमा लखेट्दै लगी पानीमा डुबाएको कुरामा प्रतिवादीहरू सावितै देखिंदा सफाई पाउने प्रतिवादीहरूलाई र कसूरदार ठहर्याएको प्रतिवादी धनबहादुरको पनि पुनरावेदन परेको अवस्थामा प्रमाणको मूल्याङ्कन र विश्लेषण गर्दा शुरुको फैसला फरक पर्नसक्ने अवस्था रहेकोले छलफलको लागि विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत बुटवलको आदेश ।
यसमा प्रतिवादीहरूको प्रहरीमा भएको साविती बयान, स्वतन्त्र प्रमाणबाट समर्थित नभएसम्म प्रमाणमा लिई निर्णायक बनाउन मिल्दैन । मृतकको लाश जाँच तथा शव परीक्षण प्रतिवेदनबाट मृतकको शरीरमा भित्री वा बाहिरी चोट परेको कुनै घा खत रहेको पाइदैन । मृत्युको कारण Asphyxia due to drowning भन्ने सम्म उल्लेख भएको देखिन्छ । मृतकलाई लखेट्ने सिलसिलामा मृतक दहमा खस्न गई मृतकको मृत्यु हुन गएको वारदातलाई मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १३(३) नं. ले समेटेको नदेखिएको हुँदा प्रतिवादी धनबहादुरलाई १३(३) नं. बमोजिम सर्वस्व सहित जन्मकैद गरेको र अरु सबै प्रतिवादीलाई सफाई दिएको शुरु फैसला सो हदसम्म केही उल्टी भै यस्तो अचानक घट्न गएको वारदात मुलुकी ऐन ज्यान सम्बन्धीको महलको ५ नं. को दायराभित्र परेकोले सोही महलको ६ नं. को देहाय २ बमोजिम प्रतिवादीमध्येका धनबहादुरलाई २ वर्ष कैद तथा प्रतिवादीहरू देवबहादुर र मिधनबहादुरलाई रु.५,००।– जरीवाना हुने ठहर्छ । अरु दुई प्रतिवादीहरू गुनबहादुर र उत्तमसिंहको वारदातमा कुनै संलग्नता नदेखिएकोले निजहरूलाई सफाई दिएको शुरु फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । सबै प्रतिवादीहरूलाई ऐ.१३ (३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, बुटवलको फैसला ।
पुनरावेदन अदालत बुटवलको फैसलामा चित्त बुझेन । मिसिल संलग्न जाहेरी, लाश जाँच प्रतिवेदन, प्रतिवादीहरूको अधिकारप्राप्त अधिकारीसमक्ष भएको स्वीकारयुक्त बयानलगायत बुझिएका व्यक्तिहरूको कागज समेतबाट प्रतिवादी धनबहादुरको श्रीमतीलाई जवर्जस्ती करणी गर्न खोजेको कारण देखाई प्रतिवादीहरूले मृतकलाई सामूहिक रूपमा लखेट्दै लगी कुटपीटसमेत गरी पानीको दहमा खसाली कर्तव्य गरी मारेको तथ्य स्थापित हुन आएको अवस्थामा मिसिल संलग्न प्रमाणहरूको न्यायोचित् मूल्याङ्कन नै नगरी प्रतिवादीहरूको साबिती बयान स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको भन्ने समेतका आधारमा प्रतिवादीहरू उत्तमसिंह गाहा र गुनबहादुरलाई अभियोग दावीबमोजिमको कसूर अपराधबाट सफाई दिने तथा प्रतिवादीहरू धनबहादुर, देबबहादुर र मिधनबहादुरलाई कम सजाय गर्ने गरी भएको पुनरावेदन अदालत बुटवलबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेतको नेपाल सरकारको यस अदालतमा दायर हुन आएको पुनरावेदन पत्र ।
नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको शुरु मिसिल अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता बिनोद पोखरेलले प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष साविती बयान दिएका छन् । प्रतिवादीहरू उपरको किटानी जाहेरी, लाश जाँच प्रतिवेदन र बुझिएका व्यक्तिहरूको कागज समेतबाट मृतकको मृत्यु प्रतिवादीहरूकै कर्तव्यबाट भएको हो भन्ने समर्थित भैरहेको अवस्थामा प्रतिवादीहरूको साबिती बयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको भन्ने आधारमा धनबहादुर, देबबहादुर मिधनबहादुरलाई कम सजाय गरेको र अन्य प्रतिवादीहरूलाई सफाई दिने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको नदेखिंदा सो फैसला बदर गरी सबै प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भनी गर्नु भएको बहस समेत सुनियो ।
विद्वान सहन्यायाधिवक्ताको बहस सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादीमध्येका धनबहादुरलाई २ वर्ष कैद, देवबहादुर र मिधनबहादुरलाई रु ५००।– जरीवाना हुने र गुनबहादुर र उत्तमसिंहले अभियोग दावीबाट सफाई पाउने ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ, छैन र वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्छ, सक्तैन हेरी निर्णय दिनुपर्ने देखियो ।
२. प्रतिवादीहरू उपरको अभियोग हेर्दा मृतकले धनबहादुरको श्रीमतीलाई जवर्जस्ती करणी गर्न खोजेको कारण देखाई निजहरूले मृतकलाई सामूहिक रूपमा लखेट्दै लगी कुटपीट समेत गरी अरुङ्गखोलाको पानीको दहमा खसाली पानीबाहिर निस्कन नदिई डुबाई कर्तव्य गरी मारेको हुँदा निजहरूलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको अभियोग दावी देखिन्छ ।
३. घटनास्थल प्रकृति मुचुल्का र शव परीक्षण समेतका मिसिल संलग्न कागजातबाट मृतकको मृत्यु भएकोमा विवाद देखिंदैन । अब अभियोग दावी एवं पुनरावेदन जिकीरबमोजिम प्रतिवादीहरू कै कर्तव्यबाट मृतकको मृत्यु हुन गएको हो होइन र निजहरूलाई अभियोग दावीबमोजिमको सजाय हुनुपर्ने हो, होइन भन्ने सम्बन्धमा विचार गर्दा प्रतिवादी धनबहादुरको श्रीमतीलाई जवर्जस्ती करणी गर्न खोजेको जरियाबाट प्रस्तुत वारदात घट्न गएको देखिन्छ । प्रतिवादीमध्ये उत्तमसिंह र गुनबहादुरले अधिकारप्राप्त अधिकारी र अदालत समेतमा बयान गर्दा वारदातमा इन्कार रही बयान गरेको देखिन्छ भने अन्य प्रतिवादीहरू मिधनबहादुर, धनबहादुर र देबबहादुरले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा मृतकलाई कुटपीट समेत गरी पानीको दहमा खसालिदिएको कुरामा साबित रही बयान गरेको देखिन्छ भने अदालतमा आई बयान गर्दा आरोपित कसूरमा आफू इन्कार रही बयान गरेको देखिन आउँछ ।
४. प्रतिवादी मिधनबहादुरले अदालतमा आई बयान गर्दा आफू कसूर गरेकोमा इन्कार रही प्रतिवादी धनबहादुरले मृतकलाई एक दुई थप्पड हानेका हुन् भनी पोली बयान गरेको देखिन्छ । मौकामा कागज गर्ने भीमबहादुर समेतले कागज गर्दा प्रतिवादीहरूले मृतकलाई कुटपीट गरेको र पछि मृतकको पानीमा डुबी मृत्यु हुन गएको हो भन्ने सुनी थाहा पाएको हु भनी कागज गरिदिएको देखिन्छ । मृतकको शव परीक्षण प्रतिवेदन हेर्दा मृत्युको कारण Asphyxia due to drowing भन्ने उल्लेख भई शरीरको भित्री वा बाहिरी भागमा चोटपटक नदेखिएको भन्ने समेत उल्लेख छ ।
५. उपरोक्त तथ्यलाई विश्लेषण गर्दा प्रहरीमा साबित हुने मिधनबहादुर, धनबहादुर र देवबहादुरको साबिती बयान मिसिल संलग्न स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणबाट समर्थित भएको देखिंदैन । साविती बयान अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि र समर्थित नभएसम्म प्रहरीमा भएको साविती बयानलाई मात्र प्रमाणमा लिई प्रतिवादीलाई कसूरदार ठहर्याउनु न्यायोचित् हुने देखिंदैन । साविती बयान आफैमा महत्वपूर्ण प्रमाण भए तापनि साविती बयान मात्र अभियोग पुष्टि गर्ने आधार बन्न सक्दैन । साविती बयानलाई मात्र अभियोग पुष्टि गर्ने आधार बनाइयो भने त्यसले फौजदारी न्याय प्रणालीमा थुप्रै जटिलताहरूलाई निम्त्याउन सक्छ । यसबाट अनुसन्धान एवं अभियोजन पक्षले आफ्नो दावी प्रमाणित गर्नका लागि अन्य प्रमाणहरूको सङ्कलन र विश्लेषण गर्नमा भन्दा अभियुक्तलाई साविती गराउन बाध्य पार्ने सम्भावनालाई बल पुर्याउन सक्ने सम्भावनालाई नकार्न सकिंदैन । जसले वास्तविक अपराधी उम्कने र अनुसन्धानको क्रममा अभियुक्तको रूपमा उपस्थित भएका व्यक्ति दण्डित हुनुपर्ने अवस्था सिर्जना हुन सक्छ । तसर्थ साविती बयान अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन आएको नदेखिएको अवस्थामा प्रतिवादीले आरोपित कसूर गरेको ठहर्याई सजाय गर्नु न्यायसगत हुने देखिंदैन ।
६. प्रस्तुत मुद्दामा प्रतिवादीहरू पाँचै जना मिली मृतकलाई ढुङ्गा समेतले हानी कुटपीट गरी पानीको दहमा फाली कर्तव्य गरी मारेको भन्ने अभियोग लगाएको देखिन्छ । मृतकलाई मार्ने प्रतिवादीहरूको मनसाय देखिँदैन । प्रतिवादीले ढुङ्गा समेतले हानी मृतकलाई कुटपीट गरेको भए सोको चोटपटक देखिनुपर्नेमा शव परीक्षण प्रतिवेदनबाट शरीरको भित्री तथा बाहिरी भागमा चोटपटक नदेखिएको भन्ने भनाईले प्रतिवादीहरू उपर वादीको दावी समर्थित हुन आएको देखिएन । यसरी हेर्दा प्रतिवादीहरूले मृतकको ज्यान लिने मनशायले कुटपीट गरी मारेका हुन भनी तथ्यपूर्ण एवं शंकारहित प्रमाणबाट पुष्टि गर्न सकेको नदेखिएबाट प्रहरीमा साबित भएको एकमात्र कारणबाट प्रतिवादीहरू मिधनबहादुर, धनबहादुर र देबबहादुरलाई ज्यानसम्बन्धीको १३ (३) नं बमोजिम कसूरदार ठहर्याई सजाय गर्न मिल्ने देखिएन ।
७. पुनरावेदन अदालत बुटवलबाट फैसला हुँदा प्रतिवादी मध्येका धनबहादुर, देबबहादुर र मिधनबहादुरको कसूर ज्यान सम्बन्धीको ५ नंं ले परिभाषित गरेको कसूरअन्तर्गत परेको भन्ने ठहर्याई ऐ.को ६ नं. को देहाय २ बमोजिम प्रतिवादी धनबहादुरलाई २ वर्ष कैद र प्रतिवादीहरू देबबहादुर र मिधनबहादुरलाई जनही रु.५००।– रूपैया जरीवाना हुने तथा अन्य प्रतिवादी गुनबहादुर र उत्तम सिंहले सफाई पाउने ठहर गरी फैसला भएको देखिन्छ ।
८. मुलुकी ऐन, ज्यान सम्बन्धीको ५ नं. हेर्दा “ज्यान लिने इबिलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ” भन्ने उल्लेख छ भने ऐ.६ नं. को देहाय २ मा “होस नपुर्याई वा हेलचेक्र्याई गरी कुनै काम गर्दा भवितव्य परेकोमा पाँचसय रूपैयासम्म जरीवाना वा दुई वर्षसम्म कैद वा दुबै सजाय हुन्छ” भन्ने उल्लेख छ ।
९. प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातको समग्र अध्ययन गर्दा प्रतिवादी धनबहादुरको श्रीमतीलाई जवर्जस्ती करणी गर्न खोजेको विषयलाई लिएर वारदात घट्न गएको देखिन्छ । उक्त वारदातमा के कुन प्रतिवादीको के कस्तो भूमिका र संलग्नता थियो भन्ने सम्बन्धमा विचार गर्दा मृतकलाई मार्नेसम्मको पूर्व रिसइवी मनसाय एवं पूर्व योजना प्रतिवादीहरूमा देखिंदैन । मृतकले जवर्जस्ती करणी गर्न खोजेको विषय थाहा हुन आएपछि प्रतिवादीहरूमध्ये धनबहादुर, मिधनबहादुर र देबबहादुर समेत भेला जम्मा भएपश्चात् मृतक वारदात स्थलबाट भागी हिडेकोमा निजलाई उल्लिखित प्रतिवादीहरूले लखेट्दै लगी नवलपरासी स्थित अरुङ्गखोलातर्फ लगेको र भाग्ने क्रममा मृतक उक्त खोलाको दहमा खसी डुबी मृत्यु हुन गएको भन्ने मिसिल संलग्न कागजात एवं प्रतिवादीहरूकै अदालतसमक्ष भएको बयान समेतबाट पुष्टि हुन आउँछ । यसरी प्रतिवादीहरूले मृतकलाई मानुपर्ने कुनै पूर्व रिसइवी, पूर्व योजना वा मनसाय तत्वको अभाव देखिए तापनि यी प्रतिवादीहरूले लखेटेकै कारण भाग्दै जाँदा अचानक खोलाको दहमा खसी सोही पानीमा डुबी मृतकको मृत्यु भएको भन्ने मिसिल संलग्न कागजातबाट देखिन आयो । अब यी प्रतिवादीहरूको कसूरको मात्रा हेर्दा मृतकलाई पछ्याउँदै जाँदा बाटोमा प्रतिवादी धनबहादुरले मृतकलाई एकदुई थप्पड हानेका थिए भनी प्रतिवादी धनबहादुरका बाबु मिधनबहादुरले अदालतमा समेत पोली बयान गरेको देखिन्छ । मृतकलाई धनबहादुरले थप्पड नहानेको भए निजका बाबुले नै पोली बयान गर्नुपर्ने अवस्था आउने थिएन । मृतकको शब परीक्षण प्रतिवेदनमा मृत्युको कारणमा पानीमा डुबेको कारण श्वास प्रश्वास बन्द हुन गई मृत्यु हुन गएको र मृतकको शरीरमा घाउँचोट नदेखिएको भनी उल्लेख भएबाट प्रतिवादीहरूले मृतकलाई ढुङ्गाले समेत हानी कुटपीट गरेको भन्ने पुष्टि हुन आएन । मृतकलाई लखेट्दै जाँदा निजको खोलामा खसी पानीमा डुबेर मृत्यु होला भनी नसोचेको अवस्थामा भवितव्य पर्न गई मृतकको मृत्यु हुन पुगेको देखिन्छ । उक्त वारदातमा भाग्ने र भगाउँने क्रममा मृतक पानीमा डुब्न गई सोही कारणबाट निजको मृत्यु हुन गएको देखिएबाट कसूरको मात्राअनुसार हेलचेक्र्याईपूर्वक मृतकलाई लखेट्दै बाटोमा एक दुई थप्पड हिर्काउने प्रतिवादी धनबहादुरलाई दुई वर्ष कैद तथा मृतकलाई लखेट्ने कार्यमा संलग्न प्रतिवादीहरू मिधनबहादुर र देबबहादुरलाई रु.५००।– जरीवाना गर्ने गरी र निजहरू बाहेकका अन्य प्रतिवादीहरू गुनबहादुर र उत्तम सिंहको वारदातमा कुनै संलग्नता रहेको भन्ने मिसिल संलग्न कागजातबाट नदेखिएकोले निजहरूलाई सफाई दिने ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसलालाई अन्यथा भन्न मिलेन ।
१०. तसर्थ प्रतिवादीहरूले अभियोग दावीबमोजिमको कसूर गरेको देखिन नआएकोले शुरु फैसलालाई उल्टी गरी प्रतिवादीमध्येका धनबहादुर, मिधनबहादुर र देवबहादुरले ज्यान सम्बन्धी महलको ५ नं. बमोजिमको कसूर गरेको ठहर्याई ऐ.६(२) नं. बमोजिम सजाय गर्ने गरी र अन्य प्रतिवादीहरूलाई सफाई दिने ठहर्याई भएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । सबै प्रतिवादीहरूलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रामकुमार प्रसाद शाह
इति संवत् २०६९ साल पुस १ गते रोज १ मा शुभम् ........
इजलास अधिकृतः वासुदेव पौडेल