शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७५० - लेनदेन

भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक:

निर्णय नं. ६७५०     ने.का.प. २०५६ अङ्क ९

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

सम्वत् २०५४ सालको दे.पु.ई.नं.. १२५

फैसला मितिः २०५५।१२।४।५

 

मुद्दाः लेनदेन ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला चितवन भरतपुर न.पा. वार्ड नं. २ वस्ने प्रेम वहादुर विश्वकर्मा

विरुद्ध

विपक्षी

वादीः जिल्ला म्याग्दी राखु भगवती गा.वि.स. वडा नं. ३ पखरीटोल वस्ने भिम वहादुर खत्री क्षेत्री

 

§  प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि मुद्दाका पक्षले आफ्नो कुरा अदालत समक्ष राख्न पाउनु पर्छ र आफ्नो विरुद्धमा लाग्ने प्रमाणको सम्वन्धमा जानकारी पाउने अधिकार मुद्दाका पक्षलाई हुने ।

   (प्र.नं. १४)

§  वादीसंग कर्जा लिएको कुरालाई प्रतिवादीले स्वीकार गर्दा गर्दै पनि उक्त कर्जा आफुले वुझाइसकेको र सो को लिखत समेत वादी स्वयंले च्याती नष्ट गरिसकेको हुंदा हाल प्रस्तुत गरिएको लिखत सद्दे नभएको वा वादीले धोका दिएको हुन सक्ने भन्ने जिकिर लिएको अवस्था विद्यमान रहेकोले विवादित लिखत प्रतिवादीलाई समेत देखाई उसले सद्दे कीर्ते वा जालसाजी के भन्छ सो व्यहोरा समेतका आधारमा न्याय निरुपण गर्नुपर्ने  हुन्छ । प्रतिवादीले आफ्ना विरुद्ध प्रस्तुत हुने प्रमाण देख्न सुन्न नपाएको अवस्थामा उक्त लिखतको विश्वसनीयता  एवं आधिकारिकता पुष्टि भएको मान्न सकिदैन । दुवै पक्षको मुख मिलेको अवस्थामा र प्रमाण कागजका सम्वन्धमा विवाद नउठेको अवस्थामा त्यस्तो प्रमाण कागज देखाउन सुनाउन पर्ने अवस्था हुंदैन, जव लिखत कागज नै विवादित हुन्छ त्यस अवस्थामा त्यस्तो विवादित कागज मुद्दाका पक्षले देख्न सुन्न पाउनु पर्ने ।    

                     (प्र.नं. १५)

 

पुनरावेदक तर्फबाटः

विपक्षी तर्फबाटः

अवलम्वित नजिरः

 

फैसला

      न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत पोखराको फैसला उपर परेको निवेदनमा यस अदालतबाट दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको  प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ ।

      २.    यी विपक्षीले मेरी एकाघरकी आमा धन कुमारी खत्रि क्षेत्री संगबाट खेलो व्यापार गर्न वापत भनि वर्ष दिन भित्रमा सयकडा १० थप व्याज लगाई सावां र व्याज एकै मुष्ट गरी बुझाउने शर्त कवुल गरी साक्षीका रोहवरमा ल्याप्चे र हस्ताक्षर सहि समेत गरी मिति ०३६।१२।२४ का दिन रु. १५०००। ऋण लगी खानु भएको । आमा धन कुमारी खत्रि क्षेत्री मिति २०४६।३।८ का दिन र वुवा चन्द्र वहादुर विपक्षले ऋण लिनु अघि नै २०३५।११।५ मा परलोक भै सक्नु भएकोले सो तमसुकी सांवा व्याजमा मेरो दावि गर्न अ.वं. ८२ नं. ले हक पुग्ने र उक्त रकम वुझाउनु होस् भन्दा तमसुक गरी दिएकै छ कानून वमोजिम गरी लिनु होस भनि जवाफ दिनु भएकोले विपक्षले गरीदिनु भएको २०३६।१२।२४ को कपाली भाखापत्र वमोजिमको रु.१५०००। र सो को व्याज रु.१४९४१।५६ समेत जम्मा रु.२९९४१।५६  र लेनदेन महलको ४ नं. वमोजिम भरी पाउने भरी भराउका मिति सम्मको व्याज समेत विपक्षीबाट दिलाई भराई न्याय पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।

      ३.    धन कुमारीका नाउंमा तमसुक भएपनि निजका एकाघरका जानीफकार छोरा विपक्षबाट कर्जा लिएकोमा जग्गाको आयस्ता उठाउने सम्वन्धमा २०४६ साल  वैशाखमा चितवनबाट म्याग्दी आएका वखत धम्की रोगबाट ग्रसीत भए उपचार गर्न पर्यो मेरो रुपैयाको सांवा व्याज दिनुहोस भनि भनेकाले तत्काल म संग रुपैया नभएको कारण मेरो हक भोगको भगवती गा.पं. वडा नं. ३ स्थित वुढावाको दाईको जग्गा मध्ये ६-२-५-० जग्गा डम्वर वहादुर विश्वकर्मालाई २०४६।१।१०  मा रु.२७०००। मा विक्रि गरी सोही रुपैयाबाट निज धन कुमारीका नाउंमा तमसुक गरी मेलै लिएको कर्जाको सांवा व्याज समेत हिसाव गरी एकमुष्ट रुपैया मिति २०४६।१।१० का दिन धन कुमारीको घरको मुख्य जानिफकार विपक्षी समेतका रोहवरमा निज धन कुमारीलाई वुझाई सांवा व्याज समेत चुक्ता गरेको हुं । त्यसपछि मैले गरी दिएको लिखित मलाई फिर्ता दिनु होस् भनि माग्दा मलाई कुनै हेर्ने मौका नै नदिई यिनै वादीले एउटा कागज निकाली च्याती आगोमा पोली दिएकोले सो तमसुक पोलियो भन्ने विश्वासमा परेको हुं । मैले डम्वर वहादुरलाई जग्गा पारीत गरिदिएपछि वांकी रहेको जग्गा मागेकोमा चलेको भाउ अनुसार मुल्य दिनुहोस जग्गा दिन्छु सस्तो मुल्यमा त दिन्न भनेकोमा मैले सस्तो मुल्यमा विपक्षीलाई जग्गा नदिएको कारणबाट यो झुठा मुद्दा दायर गरेका हुन । अ.वं. ७८ नं. अनुसार सो लिखत सुन्न पाएका वखत नामाकरण गर्ने छु, झुठा फिराद गर्ने विपक्षीलाई नै  दण्ड संजायको २१ नं. अनुसार गरी विपक्षीको झुठँ माग दाविबाट फुर्सद दिलाई पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

      ४.    २०३६।१२।२४ को कपालीनामा तमसुक कानूनको रीतपुर्वक नै देखिएकोले वादी दावी अनुसारको तमसुकी सांवा र दशौदी व्याज समेत वादी भिम वहादुर खत्रीले प्रतिवादी प्रेम वहादुर विश्वकर्माबाट भराई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको म्याग्दी जिल्ला अदालतको मिति २०४७।१०।२७ को फैसला ।

      ५.    कथित तमसुकबाट म उपर मुद्दा लाग्न सक्ने अवस्था समेत नभएको मेरो प्रतिउत्तर जिकिरमा उल्लेखित कुराहरुलाई समेत मनन्  गरी पेटवोलीका व्यक्ति र तमसुकी साक्षीहरु समेत वुझि अ.वं. ७८ नं. को  प्रकृया समेत अपनाई उक्त म्याग्दी जिल्ला अदालतको फैसला गलत तर्कमा आधारीत एवं कानूनसंगत समेत नहुंदा सो वदर गरी विपक्षीको झुठा माग दावीबाट समेत फुर्सद गरी न्याय इन्साफ पाउं भन्ने समेत व्यहोराको साविक धवलागिरी अंचल अदालतमा परेको प्रतिवादीको पुनरावेदन पत्र ।

      ६.    यसमा सक्कल तमसुक विपक्षीलाई देखाई सुनाएको नदेखिंदा शुरुको इन्साफ विचारणीय हुंदा अ.वं. २०२ नं. वमोजिम झगडिया झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको साविक धवलागिरी अंचल अदालतको आदेश ।

      ७.    प्रतिवादीले प्रतिउत्तर फिराउंदा आफुले धन कुमारीसंग कर्जा लिएको कुरा स्वीकारै गरेको र कर्जा लिएको रुपैया चुक्ता गरी सकेको भनी उल्लेख गरेकोमा त्यस्तो कर्जा चुक्ता गरी सकेको भए सो को प्रमाण पेश गर्न सक्नु पर्नेमा प्रमाण पेश गर्न सकेको नदेखिएकोले शुरु जिल्ला अदालतबाट पुनरावेदक प्रतिवादीबाट विपक्षी वादीले लिखत वमोजिमको सांवा व्याज भरी पाउने ठहर गरेको फैसला मिलेकै देखिंदा  सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको मिति २०४९।५।२५ को फैसला।

      ८.    मेरो प्रतिउत्तर जिकिरमा मैले पछि सक्कल देख्न सुन्न पाएका वखत अ.वं. ७८ नं. वमोजिम नामाकरण गर्ने नै छु भन्ने शुरु देखि नै दावि गर्दा गर्दै पनि मलाई नदेखाई अ.वं. ७८ नं.. मा कानूनले तोकेको प्रकृयाको अवलम्वन नगरी शुरु र पु.वे.अ. पोखराको फैसलामा प्रत्यक्ष कानूनी त्रुटि हुंदा मेरो निवेदन जिकिर वमोजिम अपनाउनु पर्ने कानूनी प्रकृया नअपनाई म्याग्दी जिल्ला अदालतको फैसला सदर गरेको पु.वे.अ. को फैसला उल्टाई मेरो प्रतिउत्तर जिकिर अनुसार गरी मुद्दा दोहोर्याई इन्साफ पाउं भन्ने समेत व्यहोराको निवेदक प्रतिवादीको निवेदनपत्र ।

      ९.    प्रतिवादीको प्रतिउत्तरमा सांवा व्याज मैले बुझाई सकेको भनि विपक्षीले कागज नै च्याती दिनु भएको थियो । हाल दावी गर्नु भएको कागज देख्न पाएको अवस्थामा नामाकरण गर्ने छु भनि जिकिर लिएको  पाइन्छ । उक्त सक्कल कागज प्रतिवादीलाई मुलुकी ऐन अ.वं. ७८ नं. वमोजिम सुनाउनु पर्नेमा नसुनाएकोले उक्त ऐनको व्याख्यात्मक त्रुटि भएको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) वमोजिम दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५१।८।१५ को आदेश ।

      १०.    सामान्य न्यायिक प्रकृयामा लिखत भएको कुरालाई प्रतिवादीले स्वीकार गरेको स्थितिमा निजले रकम वुझाई सकेको छु, भरपाइ फेला परेन इत्यादि भन्छ भने स्वभावतः त्यस्तो भरपाई वा तमसुक झुठा  खडा गरेको प्रमाण वादीले पेश गर्नुपर्छ । नसकेमा वादी दावी कायम हुने तार्किक परिणती हुन जान्छ, तर प्रतिवादीले लिखतको कुरा स्वीकार गर्नुका साथै सो लिखतको रुपैया वुझाई प्रयोजन नरहेको कारणले वादी द्वारा जलाईएको जिकिर लिदैं वादीद्वारा धोखा दिएको वा अर्कै लिखत बनाइएका जस्तो आशंका देखाई सो लिखत हेर्न सुन्न पाउनका लागि जिकिर लिन्छ भने अ.वं. ७८ नं. को व्यवस्था त्यस्तोमा आकर्षित हुंदैन भन्नाले स्वस्थ्य न्यायिक प्रकृया  वस्ने देखिदैन । त्यस्तो अवस्थामा वादीको प्रमाण प्रतिवादीलाई प्रतिवादीको प्रमाण वादीलाई देखाउनु अनावश्यक न्यायिक प्रकृया हुन्छ भन्ने मलाई लाग्दैन । अ.वं. ७८ नं. को प्रकृयालाई अनावश्यक ठानी दुई दुई तह अदालतले यसरी हतारीनु पर्ने नै न्यायको रोह रीत अनुकुल थियो भन्ने पनि मलाई लाग्दैन । त्यसमाथि यस अदालतबाट झिकाएको वादी उपस्थित भै सकेपछि आफु किन झिकाइएको हो दुई तारिख लिई सकेपछि स्वतः जानकारी लिनु पर्ने र त्यसपछि तारेखमा वसि आफ्नो लिखत दाखिल गरे पुर्पक्ष गराउनु पर्नेमा म्यादमा आएपछि एउटा तारेख सम्म लिई त्यसपछि तारेख गुजारी वसेको समेत कारणबाट विवादको लिखत इजलास स्वयंले पनि हेर्न पाएको छैन । यस स्थितिमा पुनरावेदन अदालतबाट लिखत दाखिल गर्न वादीलाई म्याद पठाइ दाखिल गरेमा तैकात गरीदिनुपर्ने देखिएकोले शुरु अदालतको र पुनरावेदन अदालत पोखराको मिति २०४९।५।२५ को फैसला वदर हुने ठहर्छ । उपरोक्त वमोजिम अ.वं. ७८ नं. वमोजिमको प्रकृया त्यहीबाट अपनाई कानून वमोजिम पुनरावेदन किनारा गर्नु भनी रुजु पक्षलाई तारेख तोकी न्याय प्रशासन ऐन, २०४८ को दफा ८ को उपदफा (३) खण्ड (ख) वमोजिम पुनरावेदन अदालत पोखरामा प्रस्तुत मुद्दाको मिसिल पठाई दिनु । मा.न्या. श्री राजेन्द्रराज नांख्वाबाट अ.वं. ७८ नं. को प्रक्रिया अपनाउनु नपर्ने गरी शुरु र पुनरावेदन अदालत पोखराको फैसला समर्थन गरी वेग्लै निर्णय लेख्नू भएकोले मतैक्य हुन नसकेको हुंदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम निर्णयको लागि पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय ।

      ११.    प्रतिवादीले प्रतिउत्तरपत्र वाटै सो लिखत गरी दिएको कुरा स्वीकारेको देखिन्छ र साथै वादीले फिरादपत्रसाथ सो सक्कल तमसुकको  नक्कल अदालतमा पेश गरेको   छ । सो लिखत अनुसारको सांवा व्याज मिति २०४६।१।१० को दिन  वुझाई सकेको छु भनि प्रतिउत्तर पत्रमा जिकिर लिएको देखिन्छ । त्यसरी सांवा व्याज वुझाई सकेपछि सो तमसुक फिर्ता दिनु होस् भनि माग्दा मलाई हेर्ने मौका नदिई तपाईको तमसुक भनि एउटा कागज निकाली यिनै वादीले च्याती आगोमा पोली दिए भन्ने पनि प्रतिवादीले प्रतिउत्तरमा उल्लेख गरेबाट प्रतिवादीले वादीलाई गरी दिएको २०३६।१२।२४ को तमसुक नै च्याती आगोमा पोली दिएको हो भनि किटानसाथ जिकीर लिन सकेको देखिएन । यस्तो अवस्थामा दावीको २०३६।१२।२४ को तमसुक मैले गरी दिएको भनि प्रतिवादीले स्वीकारेको तमसुकलाई अ.वं. ७८ नं. अन्तर्गत निज प्रतिवादी पुनरावेदकलाई सुनाइरहन आवश्यक देखिएन । तसर्थ सो २०३६।१२।२४ को तमसुक अनुसार सांवा व्याज वादीले प्रतिवादीवाट भरी लिन पाउने ठहराएको शुरुको इन्साफ सदर गर्ने गरेको पुनरावेदन अदालत पोखराको मिति २०४९।५।२५को इन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ । सो २०३६।१२।२४ को लिखत अ.वं. ७८ नं. अन्तर्गत प्रतिवादीलाई नसुनाएको वाट शुरु   तथा  पु.वे.अ. को फैसला इन्साफ वदर गरी अ.वं. ७८ नं. को प्रकृया पुरा गरी    इन्साफ हुन पुनरावेदन अदालत पोखरामा पठाउने गरेको मा.न्या. श्री केदारनाथ उपाध्यायको रायसंग सहमत हुन सकिएन । सर्वोच्च अदालत नियमावली, २०४९ को  नियम ३(१) (क) वमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वाको छुट्टै राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५४।७।२५ को फैसला ।  

      १२.   नियम वमोजिम पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा यसमा दुवै पक्षले यस अदालतबाट तोकी पाएको तारेख गुजारी वसेको देखिन्छ । शुरु म्याग्दी जिल्ला अदालतले मिति २०३६।१२।२४ को कपाली तमसुक कानूनको रीतपुर्वक देखिएको भनी वादी दावी वमोजिम प्रतिवादीबाट सांवा व्याज भराई लिन पाउने ठहर्‍याएकोमा उक्त विवादित लिखत आफुलाई नदेखाई अ.वं. ७८ नं. को त्रुटी गरी भएको फैसला वदर गरी पुनः ७८ नं. वमोजिम प्रकृया अपनाई इन्साफ पाउं भन्ने व्यहोराको प्रतिवादीको तत्कालीन धवलागिरी अंचल अदालतमा पुनरावेदन परी धवलागिरी अचंल अदालतबाट झ.झी आदेशमा विवादित लिखत विपक्षीलाई देखाई सुनाएको नदेखिएको भन्ने कुरालाई नै आधार लिएको देखिन्छ । पुनरावेदन अदालत पोखराबाट फैसला हुंदा प्रतिवादीले वादीबाट कर्जा लिएको स्वीकार गरेको र कर्जा चुक्ता गरी सकेको भन्ने जिकिर लिएतापनि त्यसरी कर्जा चुक्ता गरेको प्रमाण पेश गर्न नसकेको भन्ने आधारमा शुरु फैसला सदर गरेकोमा प्रतिवादीको मुद्दा दोहोर्‍याई इन्साफ पाउं भनी यस अदालतमा निवेदन परी अ.वं. ७८ नं. वमोजिमको प्रकृया अवलम्वन नगरिएको भन्ने आधारमा नै दोहोर्‍याउने निस्सा प्रदान भएको रहेछ । प्रस्तुत मुद्दामा विवादित लिखत आफुलाई नसुनाइएको भन्ने जिकिर लिने प्रतिवादीलाई अ.वं. ७८ नं. वमोजिम विवादित लिखत सुनाई सो को नामाकरण गर्ने मौका प्रदान गरिनु पर्ने हो या होइन भन्ने सम्वन्धमा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरुको वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखिन्छ । यसमा विवादित कपाली तमसुक अ.वं. ७८ नं. वमोजिम हेर्न सुन्न र त्यसको नामाकरण गर्न पाउनु पर्ने भन्ने जिकिर लिने प्रतिवादीलाई उक्त लिखत नदेखाई नसुनाई फैैसला गर्न मिल्ने हो या होइन भन्ने सम्वन्धमा नै निर्णय दिनुपर्ने हुन आएको छ ।

      १३.   निर्णय तर्फ विचार गर्दा फिरादकर्ता वादीले आफ्नी आमा धन कुमारी खत्री क्षेत्रीसंग मिति २०३६।१२।२४ मा  प्रतिवादीले रु.१५०००। कर्जा लिएकोमा हालसम्म पनि नवुझाएको हुंदा सो को सांवा  व्याज समेत गरी हुन आउने रु.२९९४१।५६ निजबाट दिलाई भराइ पाउं भनी फिराद गरेको र प्रतिवादीले आफ्नो प्रतिउत्तरमा कर्जा लिएको र सो को तमसुक गरिदिएको कुरालाई स्वीकार गरेको भएतापनि उक्त कर्जा रकम २०४६।१।१० का दिन वादी समेतको रोहवरमा निज धन कुमारीलाई वुझाई उक्त कपाली तमसुकको लिखत फटृा गराउन माग्दा यिनै वादीले तमसुक भनी एउटा कागज निकाली मलाई हेर्न समेत नदिई च्याती आगोमा पोलि दिएकोले विश्वासमा परी वसेको हुं । हाल आएर फिराद गरेको हुंदा अ.वं. ७८ नं. वमोजिम उक्त कागज देख्न सुन्न आएका वखत नामाकरण गर्नेछु भन्ने समेत व्यहोरा उल्लेख गरेको  देखिन्छ । प्रतिवादीले वादीद्वारा प्रस्तुत गरिएको लिखतमा नै शंका व्यक्त गरी अ.वं. ७८ नं. वमोजिम उक्त लिखत देखाई सुनाई सद्दे किर्ते वा जालसाजीको नामाकरण गर्ने मौका पाउं भनी जिकिर लिएको अवस्थामा शुरु म्याग्दी जिल्ला अदालतले प्रतिवादीलाई सो मौका प्रदान गरेको देखिएन । सोही लिखत कै आधारमा प्रतिवादीबाट सांवा व्याज भरी पाउने ठहर्‍याएको शुरु फैसलामा अ.वं. ७८ नं. कै त्रुटि देखाई प्रतिवादीले पुनरावेदन गरेको र पुनरावेदन सुन्ने तत्कालीन धवलागिरी अंचल अदालतले अ.वं. ७८ नं. कै आधारमा अ.वं. २०२ नं. वमोजिम झ.झी आदेश गरेको भएतापनि पछि अ.वं. ७८ नं. को प्रकृयामा अवलम्वन गरेको समेत देखिदैन । पुनरावेदन अदालत पोखराको फैसलामा विवादित लिखतलाई नै आधार बनाई अ.वं. ७८ नं. को कार्यविधि पुरा नहुदै फिराद दावी पुग्न नसक्ने अवस्था देखिन नआएको भनी उल्लेख भएको देखिन्छ । मुद्दा दोहोर्‍याई हेरी पाउं भनी प्रतिवादीको निवेदन परेकोमा यस अदालतको संयुक्त इजलासबाट विवादित सक्कल कागज प्रतिवादीलाई मुलुकी ऐन अ.वं. ७८ नं. वमोजिम सुनाउनु पर्नेमा नसुनाएकोले उक्त ऐनको व्याख्यात्मक त्रुटि भएको भन्ने आधारमा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भएको अवस्था   छ ।

      १४.   यसरी वादीसंग कर्जा लिएको कुरालाई प्रतिवादीले स्वीकार गरेको तर सांवा व्याज सहित सो कर्जा चुक्ता गरिसकेको र कपाली तमसुक वादीले नै च्याती फट्टा   गरेको हुंदा फिराद दावीमा आधार लिएको लिखत देख्न सुन्न पाएमा नामाकरण गर्नेछु भनी प्रतिवादीले जिकिर लिएको अवस्थामा शुरु एवं पुनरावेदन अदालतबाट प्रतिवादीको उक्त जिकिर वमोजिम कारवाई भएको देखिएन । अ.वं. ७८ नं. को कानूनी व्यवस्थालाई हेर्दा सवुत प्रमाण वुझ्ने भनी तोकिएको तारीखमा वादीको प्रमाण कागज प्रतिवादीलाई र प्रतिवादीको प्रमाणको कागज वादीलाई सक्कलै देखाई सुनाई सद्दे किर्ते वा जालसाजी के भन्छ सोही व्यहोराको वयान गराउनु पर्छ भनी उल्लेख भएको पाइन्छ । यसरी उक्त कानूनी व्यवस्थाले आफ्ना विरुद्धमा प्रस्तुत हुने प्रमाण कागज देख्ने सुन्ने र त्यसमा प्रतिक्रिया जनाउने मौका  समेत प्रदान गर्ने उद्देश्य ग्रहण गरेको छ । प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि मुद्दाका पक्षले आफ्नो कुरा अदालत समक्ष राख्न पाउनु पर्छ र आफ्नो विरुद्धमा लाग्ने प्रमाणको सम्वन्धमा जानकारी पाउने अधिकार मुद्दाका पक्षलाई  हुन्छ ।

      १५.   प्रस्तुत विवादमा वादीसंग कर्जा लिएको कुरालाई प्रतिवादीले स्वीकार गर्दा गर्दै पनि उक्त कर्जा आफुले वुझाइसकेको र सो को लिखत समेत वादी स्वयंले च्याती नष्ट गरिसकेको हुंदा हाल प्रस्तुत गरिएको लिखत सद्दे नभएको वा वादीले धोका दिएको हुन सक्ने भन्ने जिकिर लिएको अवस्था विद्यमान रहेकोले विवादित लिखत प्रतिवादीलाई समेत देखाई उसले सद्दे कीर्ते वा जालसाजी के भन्छ सो व्यहोरा समेतका आधारमा न्याय निरुपण गर्नुपर्ने  हुन्छ । प्रतिवादीले आफ्ना विरुद्ध प्रस्तुत हुने प्रामाण देख्न सुन्न नपाएको अवस्थामा उक्त लिखतको विश्वसनियता एवं आधिकारिकता पुष्टि भएको मान्न सकिदैन । दुवै पक्षको मुख मिलेको अवस्थामा र प्रमाण कागजका सम्वन्धमा विवाद नउठेको अवस्थामा त्यस्तो प्रमाण कागज देखाउन सुनाउन पर्ने अवस्था हुंदैन, जव लिखत कागज नै   विवादित हुन्छ त्यस अवस्थामा त्यस्तो विवादित कागज मुद्दाका पक्षले देख्न सुन्न पाउनु पर्छ ।

अ.वं. ७८ नं. ले  त्यसरी  अनिवार्य कार्यविधिका रुपमा गरेको व्यवस्थालाई पन्छाएर विवादित लिखत हेर्न सुन्न पाउं भनी माग गर्ने प्रतिवादीको मागका सम्वन्धमा विचार नै नगरी शुरु म्याग्दी जिल्ला अदालत एवं पुनरावेदन अदालत पोखराबाट समेत फैसला भएको देखिन्छ । अ.वं. १८४ क नं. मा समेत दुवै थरको मुख नमिलेको अवस्थामा अवलम्वन गर्नुपर्ने कार्यविधिको व्यवस्था गरिएको छ, जस अनुसार जुन जुन कुरामा मुख नमिली इन्साफ गरी ठहराउनु पर्ने हो सो कुराहरु र त्यस सम्वन्धमा वुझ्नू पर्ने प्रमाणहरु स्पष्ट खोली पर्चा खडा गरी सवुद प्रमाण झिकाउन आदेश दिई सवुद प्रमाण वुझन तारिख समेत तोक्नु पर्छ र प्रमाण झिकाउन तारिखमा अड्डाले अ.वं. ७८ नं. वमोजिम कारवाई गर्नु पर्छ । तर प्रस्तुत विवादमा शुरु म्याग्दी जिल्ला अदालत एवं  पुनरावेदन अदालत पोखराबाट उल्लेखित कार्यविधिको पालना भएको देखिएन । यस स्थितिमा प्रस्तुत विवादमा अ.वं. ७८ नं. को  प्रकृया अपनाउनु नपर्ने भनी शुरु एवं पुनरावेदन अदालत पोखराको फैसला सदर गरेको माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वाको रायसंग सहमत हुन सकिएन । पुनरावेदन अदालतबाट वादीलाई लिखत दाखिल गर्न म्याद पठाई दाखेल गरेमा तहकीकात गरी दिनुपर्ने देखिएकोले शुरु अदालतको र पुनरावेदन अदालत पोखराको मिति २०४९।५।२५ को फैसला वदर हुने ठहर्‍याई अ.वं. ७८ नं. वमोजिम प्रकृया त्यहीबाट अपनाई कानून वमोजिम पुनरावेदन किनारा गर्नु भनी रुजु पक्षलाई तारेख तोकी पुनरावेदन अदालत पोखरामा मिसिल पठाउने ठहर गरेको माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय मनासिव ठहर्छ । तसर्थ न्याय प्रशासन ऐन, २०४८ को दफा १४ को खण्ड (घ) वमोजिम प्रस्तुत मुद्दाको मिसिल पुनरावेदन अदालत पोखरामा पठाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौ ।

 

न्या. कृष्णजंग रायमाझी

न्या. हरिश्चन्द्रप्रसाद उपाध्याय

 

इति संवत् २०५५ साल चैत्र ४ गते रोज ५ शुभम् ...................................... ।

                 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु