निर्णय नं. ६७५१ - करार वमोजिमको रकम लिई नामसारी गराई पाउं

निर्णय नं. ६७५१ ने.का.प. २०५६ अङ्क ७
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
संवत २०५१ सालको दे.पु.नं. .... २०९७
फैसला मितिः २०५६।१।६।२
मुद्दाः करार वमोजिमको रकम लिई नामसारी गराई पाउं ।
पुनरावेदक
प्रतिवादीः काठमाण्डौ जिल्ला काठमाण्डौ नगरपालिका धर्मपथ स्थित नेपाल वैक लिमिटेड प्रधान कार्यालयका तर्फबाट अख्तियार प्राप्त महाप्रन्धक विश्वम्भर मान सिंह प्रधान समेत
विरुद्ध
प्रत्यर्थी
वादीः जिल्ला रुपन्देही वुटवल नगरपालिका वार्ड नं. ६ वस्ने दशरथमान श्रेष्ठ
§ नेपाल बैंक लिमिटेड खस्यौलीले आफुसंग रहेको सम्पत्ति लिलाम गर्ने सम्बन्धमा सूचना प्रकाशित गरी सोही बमोजिम लिलाम गराई अर्को पक्षले लिलाम सकार गरेको कुरालाई नेपाल बैंक लिमिटेड प्रधान कार्यालयबाट समर्थन समेत भई गरी सकेको र बांकि रुपैया बुझाउने व्यवस्था समेत तोकेको स्थितिमा विपक्ष वादी दशरथमानले लिलाममा पाएको कुरालाई वंचित गरी अर्को लिलाम कारवाही उठाउने गरेको ने.बै.लि. रुपन्देहीको काम कारवाही कानूनन् नभएबाट वादी दशरथमानको नाममा नामसारी गरी दिने भन्ने रुपन्देही जि.अ.को फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मनासिब ठहर्ने ।
(प्र.नं. १२)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री अनुपराज शर्मा
प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा
अवलम्वित नजिरः
फैसला
प्र.न्या.मोहनप्रसाद शर्माः प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः
२. पार्टी उमेश चन्द्र जैन तथा निजसंग सम्वन्धित कम्पनीहरुले लिएको कर्जा वि.पि. इत्यादि कारोवारको थप म्याद भित्र पनि चुक्ता नभई निजले सुरक्षण राखेको जग्गाहरु २०४०।६।६ र २०४०।६।७ मा लिलाम हुने हुंदा नेपाल हायर पर्चेज कं. प्रा.लि. रुपन्देही जिल्ला वुटवल खस्यौली न.पं. वडा नं. ८(क) स्थित कि.नं. २३०, २३१, ४४८ र २२९ का जग्गाहरुमा मेरो वोल कवुललाई यस वैंकले स्वीकृति दिई आफुले वोलेको रु.३,७१,२००। रुपैयाको १०छ धरौटी वापत रु.३७१२०। खस्यौली शाखामा २०४०।६।७ मै रकम जम्मा गरेको थिए । लिलामको जग्गा लिने दिने गरी हामीहरु वीच परस्पर मै करार भइसकेको निर्विवाद छ । यसरी विधिवत लिलाम सकार गरी सूचनामा उल्लेख गरे वमोजिम धरौट रकम समेत जम्मा गरी नामसारीको लागि प्रतिक्षारत मलाई नामसारी गरी नदिई हाल सोही जग्गा २०४६।६।१५ मा पुनः लिलाम गर्न गो.प. मा सूचना प्रकाशित गरेकाले विपक्ष वैंकलाई लिलाम सदर गर्ने वा नगर्ने मात्र अधिकार सुरक्षित छ । लिलाम सदर गरिसकेपछि जग्गा नामसारी नगरी पुनः लिलाम गर्ने अधिकार छैन । विपक्षी वैंकहरुको निर्णयबाट ति वैंक र म फिरादीको वीचमा भएको करारको उल्लघंन हुन गएको हुंदा करार ऐन, २०२३ को दफा १०(१) वमोजिम यथावत परिपालनको उपचारद्वारा उक्त मलाई विक्री गर्न भनी करार भएको जग्गाको वोलीको वांकी मुल्य लिई जग्गा मेरो नाममा नामसारी गराई पाउं भन्ने फिराद पत्र ।
३. विपक्षी दशरथमान श्रेष्ठले लिलाम वढावढमा रु.३७१२००। लिलाम सकार गरेको हुंदा कुल अंकको १० प्रतिशतले हुन आउने रकम रु.३७१२०। धरौट वापत जम्मा गरेका हुन । उक्त जग्गा श्री कर कार्यालय काठमाण्डौ र मालपोत कार्यालयको पत्रबाट रोक्का राखिएको भन्ने वैंकलाई जानकारी हुन आएकोले विपक्षीका नाममा नामसारी दाखिल खारेज गराउन सकिने भएन। प्रस्तुत लिलाम वढावढलाई करार भनेमा पनि करार सम्वन्धी ऐन, २०२३ को दफा ८(१)(ज) मा करार गर्दाकै अवस्थामा असंम्भव भएको वा करार भैसकेपछि करार वमोजिम गर्न पर्ने काम असंम्भव भएकोमा त्यस्तो करार वदर हुनेछ भन्ने व्यवस्था छ । विपक्षी २०४१।३।४ को पत्रलाई आफ्नो अधिकारको श्रोत मान्नु हुन्छ भने २०४४।३।३० समेत ७ वटा पत्रबाट लिलाम सकार गरेको वदर भइसकेको मान्न विपक्षी विवन्धित छन् । सो २०४१।३।४ को पत्रबाट पनि विपक्षीलाई कुनै हक अधिकार दिएको छैन । वांकी ९०% लिने वारे छता पनि विपक्षीले २०४४ सालदेखि पत्रचार मात्र गरी वसेको रकम जम्मा गर्न वैंकले नलेखेको नमागेको र विपक्षीले हालसम्म पनि मुद्दा गर्दा रकम जम्मा नगरको समेत कारण अ.वं. ८२ नं. को आधारमा हक अधिकारविहिन फिराद खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. वादी प्रतिवादीका वीच सम्पन्न भएको करार प्रतिवादीले आफ्नो दायित्व पुरा नगरेको र आधा वांकी रकम वुझाउन तत्पर भै आफ्नो दायित्व प्रति सजग समेत रहेको देखिंदा वादी दावी वमोजिम रकम वुझी लिई दावीका ४ कित्ता जग्गा वादीका नाममा नामसारी गराई दिने ठहर्याई शुरु रुपन्देही जिल्ला अदालतबाट २०४८।४।२९ मा भएको फैसला ।
५. वादीले करार ऐन, २०२३ को दफा १८ ले ताकेको हदम्याद ३ महिना भित्रै नालेस प्रस्तुत गरेको भनेकोमा कुनै मितिमा के कुराबाट मुद्दा गर्नुपर्ने कारण पर्न गयो भन्ने कुरा स्पष्ट देख्न नसकेको र करार भंग भएको मानेता पनि वैंकको २०४४।३।३० को पत्रबाटै भंग भएको मानिनु पर्ने भएकोले सो दिनबाट हदम्याद कायम गरेमा वादीको फिराद हदम्याद नाघी दायर भएको छ । लिलाम विक्रीको सूचनामा कवुल मुल्यमा लिलाम विक्री गर्ने वा नगर्ने सम्पुर्ण अधिकार वैंकमा सुरक्षित राखिएको भनी उल्लेख गरी सो अधिकार प्रयोग गरेर विपक्षीलाई २०४४।३।३० मा नै उक्त जग्गा विक्री गर्न नमिल्ने भनी जानकारी गराइसकेको करार गर्ने पक्षले करार पुरा नगरेमा करार पुरा गर्न लगाउने भन्ने स्पष्ट व्यवस्था नभएकोले क्षतिपुर्ति सम्म भराइने मात्र हो । लिलाम हुंदाको अवस्थामा सो जग्गा आयकर ऐन, २०३१ वमोजिम रोक्का रहेकोले सो लिलामको कारवाही जग्गा मिच्नेको ९ नं. ले स्वतः वदर भागी छ । विवादको जग्गा नेपाल हायर पर्चेज कम्पनी प्रा.लि.का नाउंमा रहेकोले निजलाई समेत वुझ्न पर्नेमा शुरुबाट नवुझिएकोले मिलेको छैन । लिलाम कवोल गरेर धरौट राखि वांकी रकम वुझाउन तयार छु भन्ने विपक्षीले वांकी रकम धरौटी राखि मुद्दा गरेको छैन । यसरी गलत तर्क र वूंदा लगाई हामीलाई हराइएको हुंदा शुरुको फैसला वदर गरी पाउं भन्ने व्यहोराको प्रतिवादीको तत्कालीन लुम्विनी अंचल अदालतमा परेको पुनरावेदन पत्र ।
६. वादीले प्रतिवादीलाई वुझाउन पर्ने वांकी रकम समेत फिराद साथ राखी दावी गरेको नदेखिएको र जग्गा मिच्नेको ९ नं. को परिप्रेक्ष्यमा समेत शुरुको फैसला विचारणीय हुंदा अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावली २०४८ वमोजिम प्रत्यर्थीलाई झिकाउने भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको आदेश ।
७. वादी प्रतिवादी वीच सम्पन्न भएको करार प्रतिवादीले आफ्नो दायित्व पुरा नगरेको र वादी वांकी रकम वुझाउन तत्पर भै आफ्नो दायित्व प्रति सजग समेत रहेको देखिंदा वादी दावी वमोजिम रकम वुझी लिई दावीका ५ कित्ता जग्गा वादीका नाउंमा नामसारी गराई दिने ठहराएकोसम्म शुरुको इन्साफ मिलेकै देखिंदा वादीले लिलाम सकार गरे वमोजिम वुझाउनु पर्ने रु.३७१२००। मध्ये २०४०।६।७ मा वैंकमा धरौट वापत राखेको १० प्रतिशत रु.३७१२०। कटृा गरी नपुग वुझाउनु पर्न रु.३३४०८०। ३ दिनभित्र वादीबाट दाखिल गर्न लगाई सो दाखिल भएको रकम धरौटीमा आम्दानी वांधी पुनरावेदन परे मुद्दाको अन्तिम किनारा लागेपछि वा नपरे पुनरावेदनको अवस्था नाघेपछि प्रतिवादी नेपाल वैंक लिमिटेडलाई उठाई लैजानु भनी लेखि पठाई दावीका ४ कित्ता जग्गा वादीका नाउंमा नामसारी गरी दिनु भनी सम्वन्धित मालपोत कार्यालयमा लेखि पठाई दिने ठहर्छ । शुरु फैसलामा वादी पक्षबाट रुपैया दाखिल नगराई तपसिल खण्डको प्रकरण १ मा उल्लेखित दण्ड सजायको ४४ नं. वमोजिम गर्ने भनी राखेको लगतसम्म मिलेको नदेखिंदा सो सम्म वदर भै केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको फैसला ।
८. वैंकलाई हराई कानून विपरीत पुनरावेदन अदालत वुटवलले मिति २०५१।२।१८ मा गरेको फैसलामा चित्त वुझेन उक्त फैसला वदर गरी विपक्षी वादीको दावी खारेज गरी पाउं भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
९. वादी दशरथमान श्रेष्ठले दिएको रिट नं. २६९८ को मुद्दामा विपक्षीका नाममा कारण देखाउन जारी भएको आदेश वमोजिम विपक्षीहरु समेत उपस्थित भएको र सोही लगाउको प्रस्तुत मुद्दामा वादीले लिलाम सकार गरे वमोजिम वांकी ९०छ रकम नवुझाएको कारणबाट पुनः लिलाम रकम दाखिल गर्न लगाई निजको नाममा विवादित ४ कित्ता जग्गाहरु नामसारी गरिदिनुपर्ने देखिएकोले छलफलका लागि मुलुकी ऐन अदालती वस्दोवस्तको २०२ नं. तथा सर्वोच्च अदालत नियमावली २०४९ वमोजिम प्रत्यर्थीलाई झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५५।८।१०।५ को यस अदालतको आदेश ।
१०. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी नेपाल वैंक लिमिटेडका तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री अनुपराज शर्माले कानूनको प्रावधान वमोजिम सम्पत्ति लिलाम हुंदा राखिएको १० प्रतिशत धरौट रकम दाखिल गर्दैमा करार हुने र जग्गा स्वतः विपक्षी दशरथमान श्रेष्ठको नाममा नामसारी हुने होइन । नेपाल वैंक लिमिटेड र विपक्ष दशरथमान श्रेष्ठका वीच कुनै करार भएको छैन । विपक्षीलाई धरौट फिर्ता लैजान भनी नेपाल वैंक लि. ले पटक पटक पत्राचार गरेको छ । सम्पत्ति रोक्का रहेको अवस्थामा भएको लिलाम वैद्य हुंदैन । शुरु फिराद गर्दा वुझाउन वांकी रहेको अवस्थामा भएको लिलाम वैद्य हुदैन । शुरु फिराद गर्दा वुझाउन वांकी रहेको रकम धरौट राख्नु पर्नेमा राखेको छैन । शुरु जिल्ला अदालतले र पुनरावेदन अदालतले गरेको फैसला उल्टी हुनु पर्छ भन्ने जिकिर लिई वहस गर्नु भयो र प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले जिल्ला अदालत र पुनरावेदन अदालतले गरेको फैसलामा कुनै तात्विक भिन्नता छैन । नेपाल वैक लिमिटेडले यस मुद्दामा दोहोर्याई पाउं भन्ने निवेदन लिएर आउनु पर्नेमा पुनरावेदन गरेको मिलेको छैन । करारमै प्रष्ट रुपमा जग्गा नामसारी गर्ने समयमा रकम जम्मा गर्नु भन्ने लेखिएको हुंदा फिराद गर्दा वांकी रकम धरौट राख्नु पर्ने भन्ने आधार लिन मिल्दैन । नेपाल वैंकले मेरो पक्षलाई सम्पत्ति दिन्छु भनी सकेपछि सोही सम्पत्ति म वाहेक अरुलाई पछिबाट दिन्छु भनी भन्न मिल्दैन । शुरु जिल्ला अदालतले र पुनरावेदन अदालतले गरेको फैसला सदर हुनुपर्छ भन्ने जिकिर लिई गर्नु भएको वहस समेत सुनि पुनरावेदन अदालत वुटवलले गरेको फैसला मिलेको छ छैन ? भन्ने सम्वन्धमा निर्णय दिनु पर्न देखिन आयो ।
११. निर्णय तर्फ विचार गर्दा उमेश चन्द्र जैन र निजसंग सम्वन्धित कम्पनीले लिएको कर्जा वापत नेपाल वैक लिमिटेड वुटवल खस्यौलीमा सुरक्षण वापत धितो राखेको नेपाल हायर पर्चेज कम्पनी प्रा.लि. को नाममा रहेको जि. रुपन्देही वुटवल खस्यौली न.पा. वडा नं. ८(क) कि.नं. २३०, २३१, ४४८ र २२९ का जग्गाहरु नेपाल वैंक लिमिटेड खस्यौलीबाट लिलाम हुंदा मिति २०४०।६।७ मा विपक्षी वादीले वोल कवोलमा रु.३७१,२००। मा लिलाम सकार गरी सो रकमको कानून वमोजिम धरौट राख्नु पर्ने १०छ प्रतिशत रकम रु.३७,१२०। राखेको कुरामा विवाद देखिदैन । लिलाम सकार गरी वादीले लिलाममा सकार गरेको उक्त कित्ता जग्गाहरु नामसारी गर्न कारवाही हुंदा नेपाल वैंक लिमिटेड खस्यौली शाखाले संख्या ६१ (K.S.L) ४०।१८८३ मिति २०४१।३।४ को पत्रबाट लिलाममा तपाइले सकार गरेको घर जग्गा ने.वै.लि. प्रधान कार्यालयको मिति २०४०।१०।६ को पत्रद्वारा सदर गरेको व्यहोरा जानकारी गराउंदै हाल उक्त जग्गा कुनै कारणवस नामसारी हुन नसक्ने भएको हुंदा वोल कवोलको जम्मा गर्नुपर्ने वांकी रकम नामसारी हुने वेलामा वैंकले माग गरेका वखत वुझाउन ल्याउनु भन्ने समेत उल्लेख गरी यी विपक्ष वादीलाई पत्र दिएको देखिन्छ । नामसारी गरिदिने सम्वन्धमा ने.वै.लि. तर्फबाट कुनै कारवाही नै नगरी मिति २०४४।३।३० मा राखेको धरौट रकम फिर्ता लैजान आउनु भनी विपक्षी वादीलाई सूचना दिएको देखियो । यसै प्रसंगमा धरौटी रकम लिलाम वदर सम्वन्धमा कुनै निर्णय नै नगरी २०४६।६।१५ मा दोश्रो पटक सोही कि.न.ं का जग्गाहरु लिलाम गर्ने भनी सूचना प्रकाशित समेत गरेको देखिन्छ ।
१२. नेपाल बैंक लिमिटेड खस्यौलीले आफुसंग रहेको सम्पत्ति लिलाम गर्ने सम्बन्धमा सूचना प्रकाशित गरी सोही बमोजिम लिलाम गराई अर्को पक्षले लिलाम सकार गरेको कुरालाई नेपाल बैंक लिमिटेड प्रधान कार्यालयबाट समर्थन समेत भई गरी सकेको र बांकि रुपैया बुझाउने व्यवस्था समेत तोकेको स्थितिमा विपक्ष वादी दशरथमानले लिलाममा पाएको कुरालाई वंचित गरी अर्को लिलाम कारवाही उठाउने गरेको ने.बै.लि.रुपन्देहीको काम कारवाही कानूनन् नभएबाट वादी दशरथमानको नाममा नामसारी गरी दिने भन्ने रुपन्देही जि.अ.को फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन
जिकिर पुग्न सक्दैन ।
उक्त रायमा सहमत छु ।
न्या.अरविन्दनाथ आचार्य
इति सम्वत २०५६ वैशाख ६ गते रोज २ शुभम ............. ।