शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७५३ - मोही लगत कटृा

भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक:

निर्णय नं. ६७५३    ने.का.प. २०५६ अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री टोपवहादुर सिंह

सम्वत् २०५३ सालको दे.पु.नं.. ३७४५

फैसला मितिः २०५५।१०।४।२

 

मुद्दाः मोही लगत कटृा ।

     

पुनरावेदक

वादीः  जि. सुनसरी धरान न.पा. वडा नं. १९ वस्ने धन कुमार राई

विरुद्ध

विपक्षी

प्रतिवादीः ऐ. वकलौरी गा.वि.स. वडा नं. ७ वस्ने छेदी चौधरी

 

§  भुमि सम्वन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २६(ग) अनुसार कुनै मोहीले जग्गा छोडी भागी वेपत्ता भएमा मोही हक समाप्त हुने कानूनी व्यवस्था गरेको पाइन्छ । यस स्थितिमा एकातिर उपरोक्त आधारमा वादीको दावी पनि देखिदैन भने अर्को तर्फ वादीले दावी गरेको अवस्थामा प्रतिवादी कारागारमा थुनामा रहेको अवस्थामा देखिंदा प्रतिवादी भागेको वा वेपत्ता भएको भनी मान्न नमिल्ने ।

             (प्र.नं. १०)

 

पुनरावेदक वादी तर्फबाटः

विपक्षी प्रतिवादी तर्फबाटः

अवलम्वित नजिरः

 

फैसला

      न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत विराटनगरको मिति २०५३।२।३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत दायर भई पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

      २.    जि.सुनसरी सिंगिया गा.वि.स. वडा नं. ७(क) कि.नं. १२४ को ज.वि. २-६-० जग्गा ज.ध. खडानन्द ठकुरीका नाउं दर्ता रहेकोमा विपक्षी वादीले ज.ध. उपर मोही वेदखली मुद्दा दिई कारवाही हुंदा वादी दावी खारेज गर्ने गरी २०३३।९।२९ गते भु.सु.का. बाट निर्णय फैसला भएकोमा उक्त जग्गा निज ज.ध. खडानन्द ठकुरीबाट मैलै राजिनामा पारीत गरी लिएकोमा सो जग्गाको मोही महलमा उक्त वादी नाउं लेखिएको हुंदा वादीको पुनरावेदन समेत केहि नपरी चित्त वुझाई वसेको हुंदा त्यस कार्यालयको फैसला वमोजिम उक्त कि.नं. १२४ जग्गाको मोही छेदी लाल चौधरीका नाउंको मोहियानी लगत कटृा गरि पाउं भन्ने समेत व्यहोराको धन कुमारी राईको मिति २०५०।२।३२ को निवेदन पत्र ।

      ३.    साविक ज.ध. खडानन्दले मोही लगत कटृा गरी पाउं भन्ने उजुरी दिनुपर्नेमा सो नगरी हाल जग्गा खरिद गर्ने धन कुमार राइले दावी लिएको र साविक ज.ध. को वारेसनामा सम्म नभएको हुंदा मुलुकी ऐन अ.वं. ६५ नं. र ८२ नं. को प्रतिकूल भएबाट वादी दावी खारेज गरि पाउं भन्ने समेत व्यहोराको मिति २०५०।५।२८ को प्रतिउत्तर  पत्र ।

      ४.    जग्गा नकमाई अन्यत्र गै वस्ने मोहीको लगत भुमि सम्वन्धी ऐन, २०२१ को दफा २६(ग) अनुसार लगत कटृा हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५०।१२।२८ को शुरु भु.सु.का.को फैसला ।

      ५.    वादी दावी वमोजिम उक्त जग्गाको मोही हकको लगत खडानन्दले नकटाई प्रत्यर्थी वादीलाई विक्रि गरेको अवस्थामा उक्त मोही वेदखली मुद्दा खारेज भएको आधारमा कटृा हुने नहुने के हो सो तर्फमात्र इन्साफ दिनुपर्नेमा सो तर्फ केहि नवोली दावी नै नभएको कुरामा मोहीले जग्गा छोडी अन्यत्र गै वसेकोले भु.सं. ऐन, २०२१ को दफा २६(ग) अनुसार मोही लगत कटृा हुने गरी भएको शुरु फैसला प्रतिपादित कानूनी सिद्धान्त समेतका आधारमा त्रुटिपूर्ण भएकोले वदर गरी पाउं भन्ने समेत व्यहोराको मिति २०५१।३।८ को प्रतिवादीको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र ।

      ६. पुनरावेदक प्रतिवादीले तारेख गुजारेको प्रकाशपुर गै वसेको भन्ने वकलौरी गा.वि.स.को सिफारिश समेतको आधारमा पुनरावेदकको मोही लगत कटृा हुने ठहराएको शुरु निर्णय विचारणीय हुंदा छलफलको लागि विपक्षी झिकाउने समेत व्यहोराको मिति २०५२।३।१२ को पुनरावेदन अदालत विराटनगरको आदेश ।

      ७.    भुमि सम्वन्धी ऐन, २०२१ को दफा २६(ग) अनुसार प्रतिवादीले मोही छाडी भागी वेपत्ता भएको भन्ने वादी दावी नभएकोले वादी दावी भन्दा वाहिर विना कानून आधार प्रमाण शुरु भु.सु.का.ले निर्णय गरेको देखिएको मोही वेदखली खारेज हुने ठहर्‍याएको आधार मोही लगत कटृाको आधार प्रमाण आधार वन्न नसक्ने हुंदा सो आधार लगाई कानून विपरीत किसिमले मोही लगत कटृा हुने ठहर्‍याई शुरु भुमिसुधार कार्यालय सुनसरीबाट भएको फैसला नमिलेकोले उल्टी भइ वदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०५३।२।३ को फैसला ।

      ८.    पुनरावेदन अदालतको इन्साफमा चित्त वुझेन । भु.सु.का. सुनसरीले मोही लगत कटृा गर्ने गरेको निर्णय कानूनी र न्याय पूर्ण हुंदा सो फैसला सदर गरी पु.वेअ. विराटनगरको फैसला वदर गरी न्याय पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र।

      ९.    नियम वमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको सम्वन्धित सक्कल मिसिल अध्ययन गरी हेर्दा मोही लगत कटृा हुने ठहर्‍याई शुरु भुमिसुधार कार्यालय सुनसरीले गरेको निर्णय उल्टी हुने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको छ छैन ? र पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? सो विषयमा नै निर्णय दिनुपर्ने हुन आयो ।

      १०.    यसमा निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादी मोही भएकोमा कुनै विवाद देखिदैन । निज प्रतिवादी मोहीले जग्गा छाडी भागी वेपत्ता भएको भन्ने  वादीले फिराद दावीमा उल्लेख गर्न सकेको छैन । भुमि सम्वन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २६(ग) अनुसार कुनै मोहीले जग्गा छोडी भागी वेपता भएमा मोही हक समाप्त हुने कानूनी व्यवस्था गरेको पाइन्छ । यस स्थितिमा एकातिर उपरोक्त आधारमा वादीको दावी पनि देखिदैन भने अर्को तर्फ वादीले दावी गरेको अवस्थामा प्रतिवादी कारागारमा थुनामा रहेको अवस्थामा देखिंदा प्रतिवादी भागेको वा वेपत्ता भएको भनी मान्न मिल्ने देखिएन ।

      ११.    तसर्थ भुमि सम्वन्धी ऐन, २०२१ को दफा २६(ग) अनुसार प्रतिवादीले मोही छाडी भागी वेपत्ता भएको भन्ने वादी दावी नभएकोमा वादी दावी भन्दा वाहिर गै मोही लगत कटृा गर्न कानून सम्मत नहुंदा मोही लगत कटृा गर्ने ठहर्‍याएको शुरु भुमिसुधार कार्यालय सुनसरीको फैसला उल्टी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.टोपबहादुर सिंह

 

इति सम्वत २०५५ साल माघ ४ गते रोज २ शुभम् .... .............. ।

                 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु