शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७५४ - कर्तव्य ज्यान

भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक:

निर्णय नं. ६७५४    ने.का.प. २०५६ अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल

संवत् २०५४ सालको फौ.पु. नं. ... १६४२

फैसला मितिः २०५५।१२।२२।२

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः ललितपुर जि.भटेृडांडा गा.वि.स. वडा नं. ३ घर भै हाल केन्द्रीय कारागार शाखा भद्रगोल काठमाडौंमा थुनामा रहेको धन वहादुर लोप्चन

विरुद्ध

विपक्षी

वादीः कान्छी मायां तमाङ को जाहेरीले श्री ५ को सरकार

 

§  ४ वर्षको नावालक राज कुमारलाई मार्नु पर्ने सम्मको रिसइवी भएको  नदेखिएको मार्ने मनसाय पनि नरहेको मार्ने मनसायले नै कुटपिट गरेको भन्ने कुराको सवुद प्रमाणबाट वादी पक्षले पुष्टि गर्न नसकेको, खाना खान लाग्दाको अवस्था खानामा पिसाव फेरी दिने सो पिसाव फेरेको खाना नखाई पर सार्दा सो खाना खुट्टाले हानी यी पुनरावेदकको जिउ भरी पारि दिएको कारणबाट तत्काल रिस उठेको रिस थाम्न नसकी साधारण कुचोले कुटपिट गर्दा सोही चोटबाट मृत्यु भएको देखिंदा ज्यान सम्वन्धी महलको १३ नं. आकर्षित हुन सक्ने देखिन आउंदैन । ज्यान मार्नाको मनसाय पनि नरहेको, ज्यान लिनु पर्ने सम्मको रीसइवी पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी साधारण लाठा ढुङगा लात मुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद  गर्नुपर्छ भन्ने ज्यान सम्वन्धी महलको १४ नं. मा गरिएको कानूनी व्यवस्था नै आकर्षित हुने ।      

   (प्र.नं. १८)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री भोजेन्द्र खत्री

विपक्षी वादी तर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

अवलम्वित नजिरः

 

फैसला

      न्या.दिलीपकुमार पौडेलः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छः

      २.    मिति ०५०।१२।२७ गते राती १२:०० वजेको समयमा मेरो श्रीमान धन वहादुर लोप्चन (तामाङले) मेरो छोरा वर्ष ४ को राजकुमार तामाङलाई तिमी भित्र अर्को कोठामा सुत्न जाउं भनि मेरो छोरा उठेर जादै थियो । वाहिर पिसाव गरेर आइज भनि नजिकै भएको अम्रिसाको कुचाले चार पांच पटक वेस्कन हिर्काए पछि मेरो छोरा राजकुमार वाहिर गई पिसाव गरी आयो । पुनः छोरालाई एक्कासी झम्टीई ४ चार पटक भुईमा पछारी लाताले कुटी मेरो छोरालाई घटनास्थलमा नै मारेको हुंदा मेरो श्रीमानलाई पक्राउ गरी आवश्यक कारवाही गरी पाउं भन्ने समेत व्यहोराको कान्छी तमाङनीको जाहेरी दर्खास्त रहेछ ।

      ३.    ल.पु.जि. ठेचो गा.वि.स. वडा नं. १ स्थित श्री राम महर्जनको पक्की घर उक्त घरको छिडी तलाको भित्री कोठाको झ्याल थुनी मृतक राजकुमार तामाङको लास रहेको उक्त लासको दुवै नाक र मुखवाटै सेतो फिज निस्केको मृतकको दायां आंखाको दायातर्फ १ इन्च र दायां आंखा माथि निधारको भागमा अं. आधा इन्च छाला घस्र्रिएको घाउ भएको मृतकको पाताको धाडमा अं. १ इन्च चौडाई भएको कुनै वस्तुले कुटपिट गरी घस्रिएको जस्तो निल डाम भएको मृतकको लिङ्गवाट पिसाव निस्किएको भन्ने समेत व्यहोराको लास जांच प्रकृति मुचुल्का रहेछ ।

      ४.    मिति २०५१।१२।२७ गते राती अन्दाजी १२:०० वजेको समयमा मेरो श्रीमान र निजको कान्छी श्रीमती र मृतक राजकुमार तमाङसंग झगडा भै रहेको थियो । के कति कारणवाट झगडा भयो थाहा छैन । सो समयमा मेरो श्रीमान धन वहादुर लोप्चन (तामाङ) ले मृतक वच्चा राजकुमार तामाङलाई ३,४ पटक कुचाले हानी २,३ पटक भुंइमा समेत पछारेको थियो । पछि वच्चा वेहोस भएकोले निजहरु दुवै जना मिली वच्चालाई पानी ख्याउन लागेका थिए एकैछिन पछि निज वच्चाको घटनास्थलमा नै मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रत्यक्षदर्सी जुनुमाया लोप्चन  (तामाङ) को ठाडो कागज रहेछ ।

      ५.    मिति ०५०।१२।२७ गते राती अन्दाजी १२:०० वजेको समयमा सुत्ने तरखर गर्दा निज छोरा राजकुमार तामाङले विस्तरामा पिसाव गरेको रहेछ त्यसपछि मैले निज छोरालाई वहिर गई पिसाव गरी आइज भनि नजिकै भएको अमरीसाको कुचोले विस्तारै ३,४ पटक हिर्काए । त्यसपछि कान्छी श्रीमती कान्छी माया तमाङनी छुटृाउन आउंदा निजलाई समेत ३,४ पटक हिर्काएपछि निज छोरा राजकुमार तामाङ पिसाव गरी कोठामा आएपछि ३,४ पटक उचाल्दै सिमेन्ट ढलान भएको कोठाको भुईमा पछार्दै गरे र लडेपछि निजलाई लात्ताले समेत हानेको हुं । निजलाई कुचोले र लातले हान्दा कहा कहां लाग्न गयो भन्न सक्दीन भन्ने समेत व्यहोराको प्रतिवादी अभियुक्त धन वहादुर लोप्चन (तामाङ) ले अदालत र प्रहरीमा गरेको साविती वयान  रहेछ ।

      ६.    टाउकोमा समेत आघात चोट लागि मृत्यु भएको देखिन्छ भन्ने समेत व्यहोराको पाटन अस्पतालको लास पोष्टमार्टम प्रतिवेदन रहेछ ।

      ७.    मिति २०५०।१२।२७ गतेका दिन जाहेरवालीको छोरा वर्ष  ४ को राजकुमार तामाङ दिन भर हिडडूल गरी रहेको देखेको हो । उक्त दिन राती १२:०० वजेको समयमा जाहेरवालीको श्रीमान धन वहादुर लोप्चन (तामाङ) ले जाहेरवालीको छोरा राजकुमार तामाङलाई कुटपीट गरी मारेको भन्ने कान्छी माया तामाङनीले भनेको हुंदा थाहा पाई तत्काल घटनास्थल पुग्दा निज वच्चाको मृत्यु भइसकेको रहेछ भन्न समेत व्यहोराको सर्जमिनका मानिसहरुले लेखाई दिएको सर्जमिन मुचुल्का रहेछ।

      ८.    पक्राउमा परी आएका अभियुक्त धन वहादुर लोप्चन (तामाङ) ले उल्लेखित मितिमा उल्लेखित किसिमसंग आफ्नो कान्छी श्रीमतीको छोरा वर्ष ४ को राजकुमार तामाङलाई कुटपीट गरी मारी मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. अनुसारको कसुर अपराध गरेको अनुसन्धानवाट प्रष्ट देखिन आएको हुंदा निज पक्राउमा परी आएको अभियुक्त धन वहादुर लोप्चन (तामाङ) को हकमा सोही ऐनको सोही महलको १३(३) नं. अनुसार हदैसम्म कारवाही सजाय हुन माग दावी लिई सक्कल मिसिल घटनास्थलमा फेला परेको अमरिसाको कुचो र अभियुक्त धन वहादुर लोप्चन (तामाङ) लाई यसै अभियोग पत्र साथ प्रस्तुत गरिएको व्यहोरा सादर अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको अभियोग पत्र रहेछ ।

      ९.    प्रतिवादीले ज्यान सम्वन्धीको महलको १३(३) नं. वमोजिमको कसुर गरेको ठहर्नाले निज प्रतिवादीलाई सोहि नं. वमोजिम सर्वस्व सहित जन्मकैद हुने ठहर्छ । तर अपराध हुंदाको अवस्थालाई विचार गर्दा मृतक राजकुमार बारंबार ओछ्यानमा पिसाव फेर्ने गरेको कारणले प्रतिवादीलाई रिस उठी सोही रिसले कुच्चोले प्रहार गरेको देखिन आएकोले प्रतिवादीलाई सर्वस्वसहितको सजाय दिंदा चर्को हुने भन्ने प्रतिवादीलाई कैद वर्ष ८ मा सजाय हुनुपर्ने चित्तले देखेकोले अ.वं. १८८ नं. वमोजिम आफ्नो राय पेश गरेको छु । साधक जाहेर गर्नुभन्ने समेत व्यहोराको ल.पु.जि.अ. को मिति ०५१।३।२३ को फैसला ।

      १०.    शुरु ल.पु.जि.अ.को फैसला त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी गरी मलाई ज्यान सम्वन्धी महलको ६ नं. देहाय दफा ३ अनुसार जरिवाना सम्म मात्र गर्ने निर्णय गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी धन वहादुर लोप्चनको पु.वे.अ पाटनमा परेको पुनरावेदन ।

      ११.    मृतक वालकलाई केवल कुचोले एक पटक हानेको भन्ने मात्र नदेखिई प्रतिवादीको प्रहरी समक्षको वयान हेर्दा पहिले देखि मार्ने मनसाय राखी कुचोले हानेपछि सिमेन्ट भुईमा ३,४ पटक पछारेको भन्ने देखिन्छ । उक्त कुरालाई लास जांच प्रतिवेदनले पुष्टि गरेको देखिंदा ज्या.स.को ५ नं. आकर्षित हुने देखिएन । प्रतिवादीको प्रहरी समक्ष भएको बयान अन्यथा हो कि भन्नलाई पनि निजले आफ्नो निर्दोषिताको कुनै सवुद प्रमाण अदालत समक्षको वयानमा दिन नसकेकोले प्रतिवादी निर्दोष भन्न सकिने अवस्था आएन । तसर्थ निजकै कर्तव्यवाट मृतकको मृत्यु भएकोले निजलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद गरी अ.वं. १८८ नं. प्रयोग गरी ८ वर्ष कैद सजाय गर्ने गरेको शुरु इन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति ०५३।१२।१९ को फैसला ।

      १२.   मृतक छोरा राजकुमारसंग मेरो कुनै प्रकारको पुर्व रिसईवी उद्देश्य नभएको, निजलाई मार्ने मनसाय समेत नभएको, निजको राति विस्तरामा पिसाव फेर्ने नराम्रो वानी भएको र तरकारी एवं खानामा समेत पिसाव गरेकोले निज सारै उछृङखल उदण्ड स्वभावको समेत भएकोले निजलाई शिक्षा एवं सुधारात्मक किसिमले साधारण कुचोले हिर्काउंदा अचानक कन्चटमा लाग्न गै परिणाम स्वंरुप भवितव्यमा परी निजको मृत्यु हुन गएको हुनाले प्रस्तुत मुद्दामा मलाई ज्यान सम्वन्धीको ५ नं. को कसुर ठहरी ऐ.को ६ नं. वमोजिम सजाय हुनुपर्नेमा १३(१) को कसुर ठहर्‍याई १३(३) नं. वमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरु ललितपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला पूर्णतः कानूनी त्रुटि हुंदा उक्त फैसला वदर गरी पाउं भन्ने पुनरावेदक प्रतिवादी धन वहादुर लोप्चनको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

      १३.   नियम वमोजिम दैनिक पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री भोजेन्द्र खत्रीले मेरो पक्षको मृतक छोरालाई मार्नु पर्ने सम्मको कुनै पुर्व रिसइवी नभएको, मृतकले विस्तारा तथा कहिलेकाही खादै गरेको खानामा समेत पिसाव गरिदिने जस्तो सारै उच्छृङखल स्वभावको हुंदा निजलाई शिक्षा एवं सुधारात्मक किसिमले साधारण कुचोले हिर्काउंदा अचानक कन्चटमा लाग्न गै भवितव्य परि निजको मृत्यु हुन गएको अवस्था विद्यमान भएकोले वारदातको रुपवाट ज्यान सम्वन्धी ५ नं. वमोजिम कसुर ठहरी ६ नं. वमोजिम सजाय गर्नुपर्नेमा सोही महलको १३(३) नं. बमोजिम संजाय गरेको पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले सो फैसला वदर हुनुपर्दछ भनि आफ्नो वहस प्रस्तुत गर्नु भयो भने विपक्षी वादी श्री ५ को सरकारको तर्फवाट उपस्थित विद्वान नायव महान्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले मृतक प्रतिवादीको झडकेलो छोरो भएको, पहिलेदेखि विछ्यौनामा वरावर पिसाव गरिदिने हुंदा रिसाई रहेको वारदातको दिनमा पनि विछ्यौनामा पिसाव गरिदिएकोले मृतक ४ वर्षको वच्चालाई एक्कासी कुच्चोले पटक पटक सवेदनशील ठाउंमा चोट प्रहार गरी सिमेन्टमा ३,४ पटक वजारेको र सोही कारणवाट मृत्यु भएको र उक्त तथ्य पोष्टमार्टम रिपोर्टवाट समेत समर्थित भएको अवस्थामा भवितव्यको वारदात कायम गर्न मिल्दैन । तसर्थ पुनरावेदन अदालतले प्रतिवादीलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय गरेको फैसला मिलेको हुंदा सो फैसला सदर हुनुपर्दछ भनि आफ्नो वहस प्रस्तुत गर्नु भयो । उपरोक्त दुवै पक्षका कानून व्यवसायीहरुको वहस जिकिर सुनि सम्वन्धित मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतले प्रतिवादीलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सजाय गर्ने गरेको फैसला मिले नमिलेको के हो ? र पुनरावेदकको पुनरावेदन जिकिर वमोजिम हुने नहुने के हो ? सो विषयमा नै मुख्य रुपमा निर्णय दिनुपर्ने हुन आयो ।

      १४.   यस्मा निर्णयतर्फ विचार गर्दा आफ्नो कान्छी श्रीमती कान्छी तमाङनीको ४ वर्षको छोरा राजकुमार तमाङलाई पुनरावेदक प्रतिवादी धन वहादुर लोप्चन तमाङले कुटपिट गरी मारेकाले मुलुकी ऐन ज्यान सम्वन्धीको महलको १३(३) नं. वमोजिम सजाय हुनुपर्ने भन्ने माग दावी लिई वादी श्री ५ को सरकार तर्फवाट अभियोग पत्र दायर भएकोमा प्रतिवादीले कुटपीट गरेको कारणवाट राजकुमारको मृत्यु भएको देखिंदा ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वस्वसहित जन्म कैद हुने र ८ वर्ष कैद मात्र हुनुपर्ने भनि राय व्यक्त गरी शुरु ललितपुर जिल्ला अदालतवाट भएको फैसला पुनरावेदन अदालतवाट सोही इन्साफ सदर हुने गरी फैसला भएको पाइन्छ ।

      १५.   उक्त फैसलामा चित्त वुझेन मृतक राजकुमारसंग कुनै प्रकारको पुर्व रिसइवी नभएको, मार्ने मनसाय समेत नरहेको निजको राती विस्तरामा पिसाव गर्ने नराम्रो वानी भएको खाना खाइरहेको समयमा खानामा समेत पिसाव गरेकाले शिक्षा एवं सुधारात्मक किसिमले कुचोले हिर्काउदा कंचटमा लाग्न गै मृत्यु भएको हुंदा ज्यान सम्वन्धी महलको ५ नं. को कसुर हुन गै सोही ऐनको दफा ६ वमोजिम सजाय हुनुपर्ने भन्ने प्रतिवादीको मुख्य पुनरावेदन जिकिर रहेकोले सर्वप्रथम मृतक राजकुमारको मृत्यु के कस्तो परिस्थिति र अवस्थावाट भएको हो ? र निजको मृत्यु भवितव्य वा कर्तव्य के हो त्यसतर्फ विचार गर्नुपर्ने देखिन्छ ।

      १६.    मृतक राजकुमार यी पुनरावेदक प्रतिवादीकी कान्छी श्रीमती कान्छी तमाङनीको पहिलेको लोग्ने तर्फको ४ वर्षको छोरा भन्ने कुरामा विवाद नभएको, मृतक राजकुमार वरावर राती ओछ्यानमा पिसाव गर्ने नराम्रो वानी भएको भन्ने कुरामा पनि विवाद छैन । सो को अतिरिक्त निज मृतक राजकुमार उच्छृङखल तथा उदण्ड स्वभावको भन्ने कुरा पुनरावेदक प्रतिवादी आफैले स्वीकार गरेको छ । घटना घटेको रात २०५०।१२।२७ गते रातीको समयमा सुत्ने तरखर गर्दा निज छोरा राजकुमारले विस्तरामा पिसाव गरेको रहेछ । वाहिर गै पिसाव गरी आ भनी कुचोले ३।४ पटक हिर्काएको र पिसाव  गरी कोठामा आएपछि ३।४ पटक उचाल्दै भुइमा पछारी लडेपछि लातले समेत हानेको सोही चोटवाट मृत्यु भएको भनी अधिकार प्राप्त अधिकारी समक्ष कागज गरेको देखिन्छ भने अदालत समक्ष वयान गर्दा प्रहरी समक्ष गरेको कागज जोर जुलुम जवरजस्तीसंग मेरो इच्छा विरुध्द वयान गराइएको भन्दै यी पुनरावेदक प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष भुइमा उचाल्दै पछादै गरेको र लातले समेत हानेको कुरा अस्वीकार गरी खाना खान लाग्दाको अवस्था उक्त खाना र तरकारीको भाडामा पिसाव गरी सो खाना नखाई परसार्दा खुटृाले हानी सारा जुठो खाना मेरो जिउभरी पारिदिएकोले रिस उठी अमरिसाको कुचोको टुप्पोले कन्चट टाउकोमा हिर्काएको भनि लेखाएको पाइन्छ । यसरी अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागजमा सुत्ने तरखर गर्दाको समयमा सदाझै ओछ्यानमा पिसाव गरेकोले रिसाई अमरिसाको कुचोले हिर्काउने र भुइंमा समेत उचाल्दै पछारदै गरी लडेपछि लातले हानेको सोही चोटवाट मरेको हो भन्ने र अदालत समक्ष गरेको वयानमा खान लाग्दाको अवस्था खाना र तरकारीको भाडामा पिसाव गरिदिएकोले सो खाना नखाई पर सार्दा खुटृाले हानी जिउभरी पारिदिएकोले रिस उठी कुचोले कुटपिट गरेको भनाइ रहेको पाइन्छ । वरावर ओछयानमा पिसाव गर्ने वानी भएको कारणवाट रिसाई घटना गरेको रात भन्दा अघिल्ला दिनहरुमा कुटपीट गर्न सक्नेनै अवस्था देखिन्छ । वारदातको रात भन्दा अघि पनि यी राजकुमारलाई ओछ्यानमा पिसाव गर्ने गरेको अवस्थामा वरावर कुटपीट गर्ने गरेको भन्ने नत मर्नेकी आमाको जिकिर छ न त यी पुनरावेदकको जेठी श्रीमती जुनुमायाको अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागजवाट  देखिन्छ । यस पृष्ठभुमिमा घटना घटेको रात केहि विशेष कारण नपरी यी पुनरावेदक प्रतिवादीले ४ वर्षको नावालक राजकुमारलाई कुटपिट गर्नुपर्ने अवस्था श्रृजना भयो होला भनि सहजै अनुमान गर्न सकिन्न । सदा झै ओछ्यानमा पिसाव गरेको कारणले पिसाव गर्न जा भनी कुचाले हिर्काउन वाहिर पिसाव गरी कोठामा आएपछि पुनः भुईमा उचाल्दै पछार्दै गरेको भन्ने कुरा अस्वभाविक एवं अविश्वसनीय देखिन आउछ । अदालतमा गरेको वयान    कागजमा पुनरावेदक प्रतिवादीले खाना खान लाग्दा सो खादै गरेको खाना र तरकारीको भाडामा पिसाव गरेकोले सो खाना नखाई पर सार्दा सो खाना लातीले हानी यी पुनरावेदकको जीउ भरि जुठो खाना पारिदिएको विशेष कारणवाट एक्कासी रिसको आवेगमा मृतक राजकुमारलाई कुचोले टाउकोमा एक भन्दा बढी पटक हिर्काएको भनि अदालत समक्ष गरेको वयान वढी स्वभाविक एवं विश्वसनीय देखिन आउंछ ।

      १७.   जहांसम्म मृतक की आमा जाहेरवालीले आफ्नै जाहेरीमा मृतक राजकुमार ओछ्यानमा वरावर पिसाव गर्ने खराव वानी भएको घटनाको रातमा पनि ओछ्यानमा पिसाव गरेकोले पुनरावेदक प्रतिवादीले पिसाव गरी आइजा भनि ३।४ पटक कुचोले र पिसाव गरी आएपछि पुनः भुईमा उचाल्दै पछार्दै गरेको कारणवाट छोराको मृत्यु भएको भनि लेखाएको व्यहोराको सम्वन्धमा जाहेर वालीलाई अदालत समक्ष उपस्थित गराई वकपत्र गराउन सकेको पाइदैन । जाहेरवालीको छोरालाई प्रतिवादीले कुटपिट गरी मारेको भनि जाहेरवालीले भनेर थाहा पाएको भनि सरजमिन मुचुल्कामा लेखाउने व्यक्तिहरुलाई पनि उपस्थित गराई वकपत्र गराउन सकेको पाइदैन । मृतक राजकुमारलाई ३।४ पटक कुचोले र ३।४ पटक भुइमा पछारी मारेको भनि प्रहरीमा कागज गर्ने प्रतिवादीकी जेठी श्रीमती जुनुमायालाई पनि अदालतमा उपस्थित गराई वकपत्र गराइएको पाइदैन । यसरी मौका तहकिकात हुंदाको समयमा वुझिएका व्यक्तिहरुलाई अदालत समक्ष उपस्थित गराई वकपत्र नगराएसम्म प्रमाण ऐन, ०३१ को दफा १८ ले मौका तहकिकात हुंदा लेखाएको कुरा प्रमाणमा ग्राह्य हुन सक्ने देखिदैन । जाहेरवालीको जाहेरी दरखास्त आफैमा प्रमाण होइन सो जाहेरीमा लेखिएको कुरा अन्य स्वतन्त्र प्रमाणबाट समर्थित नभएसम्म जाहेरीमा लेखिएको कुरा सवै स्वीकारयोग्य हुंदैन जे जती तथ्यमा पुनरावेदक प्रतिवादीको स्वीकारोक्ति छ वा प्रमाणबाट समर्थित छ त्यति तथ्य सम्म अदालतले प्रमाणको रुपमा ग्रहण गर्न सक्छ । पुनरावेदक प्रतिवादीले मृतकलाई कुचोले हिर्काएको भन्ने तथ्यमा विवाद छैन । मृतकको शव परीक्षण प्रतिवेदन हेर्दा पनि घाउ चोटहरु अधिकांश टाउको र टाउको आसपासको भागमा लागेको देखिन्छ । टाउकोको हड्डी भांचिएको भन्ने उल्लेख छ । टाउकोमा रगत जमेको   छ । टाउकोमा आघात चोट लागी मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको पाइन्छ । पुनरावेदक प्रतिवादीले पनि कंचट तथा टँउकोमा कुचोले एक भन्दा वढी पटक हिर्काएको भन्ने अदालत समक्ष गरेको वयानमा लेखाएको पाइन्छ । लास जांच प्रकृति मुचुल्कामा उल्लेखित घाउ चोट तथा शव परीक्षण प्रतिवेदनमा उल्लेखित घाउ चोटको प्रकृति सामान्य अवस्थाको नभै गंभीर किसिमको देखिन्छ । घाउ चोटको प्रकृति एवं सो घाउचोट लागेको शरीरको भागको अवस्थालाई दृष्टिगत गर्दा पुनरावेदक प्रतिवादीले कुचोले धेरै पटक ४ वर्षको कलिलो उमेरको राजकुमारको संवेदनशील अंग टाउको कंचट जस्तो मर्मस्थलमा हिर्काएको कारण मृत्यु भएको देखिंदा ज्यान सम्वन्धी महलको ५ नं.  आकर्षित हुन सक्ने अवस्था देखिन आउदैन ।  किनभने ज्यान लिने इवी लाग वा मनसाय नभै कसैले आफुले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसै द्वारा केही भै कुनै मानिस मर्न गएकोमा भवितव्य ठहर्छ भने उक्त ज्यान सम्वन्धी महलमा गरिएको व्यवस्था अनुरुप मृतकसंग कुनै रिसईवी नभएको मार्ने मनसाय समेत नरहेको भए पनि मृतकलाई कुचोले हिर्काएको र निज नलडेसम्म कुटन नछाडेको र सो प्रहारवाट लागेको घाउचोटको प्रकृति एवं अवस्थालाई विचार गर्दा उक्त ज्यान सम्वन्धीको ५ नं. मा गरिएको अवस्था अनुरुप भवितव्यवाट राजकुमारको मृत्यु भएको भनि मान्न मिल्दैन । पुनरावेदक प्रतिवादीले उल्लेख गरेको नजिर एवं पुनरावेदक तर्फवाट विद्वान अधिवक्ताले वहसको क्रममा उल्लेख गर्नु भएका कतिपय नजिरहरुमा उल्लेखित तथ्य र अवस्था प्रस्तुत मुद्दाको तथ्य एवं अवस्था भिन्दा भिन्दै भएको हुंदा उक्त नजीरहरु प्रस्तुत मुद्दामा आकर्षित हुन सकेको देखिदैन ।

      १८.   अव अभियोग दावी वमोजिम प्रतिवादीलाइ ज्यान सम्वन्धी महलको १३(३) नं.वमोजिम सजाय गरेको मिलेको छ छैन भनि हेर्दा ४ वर्षको नावालक राजकुमारलाई मार्नुपर्ने सम्मको रिसईवी भएको नदेखिएको । मार्ने मनसाय पनि नरहेको । मार्ने मनसायले नै कुटपिट गरेको भन्ने कुराको सवुद प्रमाणवाट वादी पक्षले पुष्टि गर्न नसकेको, खाना खान लाग्दाको अवस्था खानामा पिसाव फेरिदिने सो पिसाव फेरेको खाना नखाई पर सार्दा सो खाना खुटृाले हानी यि पुनरावेदकको जिउभरी पारिदिएको कारणवाट तत्काल उठेको रिस थाम्न नसकी साधारण कुचोले कुटपिट गर्दा सोही चोटवाट मृत्यु भएको देखिंदा ज्यान सम्वन्धी महलको १३ नं. आकर्षित हुन सक्ने देखिन आउदैन । ज्यान मार्नाको मनसाय पनि नरहेको, ज्यान लिनुपर्ने सम्मको रिसइवी पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी साधारण लाठा ढूंगा लात मुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्याद भित्र ज्यान मरेका दश वर्ष कैद गर्नुपर्छ भन्ने

ज्यान सम्वन्धीको १४ नं. मा गरिएको कानूनी व्यवस्था नै  आकर्षित हुने  देखिन्छ ।  अतः

पुनरावेदक प्रतिवादीले मृतक राजकुमारलाई तत्काल उठेको रिस थाम्न नसकी कुचोले कंचट र टाउको जस्तो संवेदनशील ठाउंमा एक भन्दा वढी पटक चोट छाडेकोवाट टाउकोको हडृी भाचिई टाउकोमा आघात चोट लागि मृत्यु भएको देखिंदा ज्यान सम्वन्धी महलको १४ नं. वमोजिम नै सजाय हुने  ठहर्छ । ज्यान सम्वन्धी महलको १४ नं. वमोजिम सजाय गर्नुपर्नेमा ज्यान सम्वन्धी महलको १३(३) नं.वमोजिम सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले केहि उल्टी हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकीर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाईदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गोविन्दबहादुर श्रेष्ठ

 

इति सम्वत २०५५ साल चैत्र २२ गते रोज २ शुभम .......... ।

                 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु