निर्णय नं. ६७५५ - अंश

निर्णय नं. ६७५५ ने.का.प. २०५६ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
संम्वत २०५५ सालको दे.पु.नं.. .... ४६०५
फैसला मिति : २०५६।२।१४।६
मुद्दा : अंश ।
पुनरावेदक
प्रतिवादी : म्याग्दी जिल्ला शिख गा.वि.स. वडा नं. ३ वस्ने मान सिंह पुर्जा
विरुद्ध
प्रत्यर्थी
वादी : ऐ. शिख गा.वि.स. वडा नं. ३ वस्ने टुल्कुमाया पुर्जा समेत
§ वादी र प्रतिवादी दुवै वीच यौन सम्वन्ध भएको र वच्चा जन्मेको कुरा स्थापित भएको स्थितिमा वादी प्रतिवादी वीच वैवाहिक सम्वन्ध कायम हुन आउने हुंदा वादी र निजको साक्षी खनिसरा तिलीजाको वयान र वकपत्रमा तथ्यगत कुरामा केही फरक पर्दैमा उक्त वयान वकपत्रलाई प्रमाणमा ग्रहण गर्न मिल्दैन भन्न नमिल्ने हुंदा वादी र प्रतिवादी वीच वादी दावी वमोजिम नाता कायम हुने र अंश समेत छुटयाई पाउने ठहर्याएको पुनरावेदन अदालत पोखराको फैसला मनासिव ठहर्ने ।
(प्र.नं. १४)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर र श्री वच्चु सिंह खड्का
प्रत्यर्थी वादीतर्फबाटः विद्वान अधिवक्ता श्री गौवहादुर आले मगर
अवलम्वित नजिर :
फैसला
न्या.गोविन्दवहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ वमोजिम दोहोर्याउन पाउने निवेदन परी निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. विपक्षी मान सिंहले रीतिस्थिति अनुसार म वादी टुल्कुमायासंग २०४१ सालमा वैवाहिक सम्वन्ध कायम गरी विपक्षीको करणी विर्यबाट छोरा लाल प्रसाद जन्मेपछि विपक्षी रोजगारको लागि भारत जानुभई भारतीय फौजमा भर्ति हुनु भई २०४५।५।३१ मा विदामा घर फर्कनु भयो । विपक्षीले म र छोरा समेतको स्याहार सुसार खान लाउन मिलाउनुको वदला २०४५।६।१५ गते नरसुवा गर्वूजालाई विवाह गरी म समेतलाई २०४५।६।३० गते घरबाट निकाली दिनु भएको म स्वस्थ्थ श्रीमती घरमा छंदाछंदै विपक्षीले श्रीमती ल्याउनु भएको र खान लाउनको समेत प्रवन्ध नगरी घरबाट निकाली दिनु भएकोले विपक्षीका वावु सन्तूका २ भाई छोरा ३ वहिनी छोरी एक श्रीमती भएकोमा २ भाई र १ वहिनीको विवाहदान भैसकेकोले अंशवण्डाको १७ नं. ले विवाह खर्च पर सार्नु पर्ने २ जना वहिनीहरु मात्र छन र विपक्षीका वावु ४ अंशियारा भएकोले विपक्षीले ४ खण्डको एक खण्ड अंश भाग पाउने हुंदा सो एक खण्डको ४ वण्डा गरी २ वण्डा मैले र मेरा छोराले पाउने हुंदा विपक्षीसंगबाट फांटवारी लिई मैले पाउनु पर्ने २ वण्डा दिलाई पाउं भन्ने समेत लाल प्रसाद पुर्जाको हकमा र आफ्ना हकमा समेत टुल्कुमाया पुर्जाको फिराद पत्र रहेछ ।
३. विपक्षीको भनाइ झुठा हो । मैले विपक्षीसंग वैवाहिक सम्वन्ध कायम गरेको छैन । म भारतीय सेनामा भर्ति भै आफ्नो रोजगारको लागि काम गर्दै आएको व्यक्ति हुं । केही रुपमा झारी खाउंला भन्ने मनसायले विपक्षीले म प्रति आरोपित कसुरमा मुद्दा दायर गरेकी हुन । मैले अंश दिनुपर्ने होइन । अ.वं. ८२,८३ नं. ले हक नपुग्नेले फिराद दायर गरेकोमा खारेज गरी पाउं र जन्मेको भनिएको र मेरो रगत जांच गरेमा मेरा करणी विर्यबाट गर्भ रहन गई छोरा जन्मेको समेत कुनै केही होइन । साक्षी प्रमाणहरु समेत वुझेमा सत्य सांचो कुरा अवगत हुने हुंदा विपक्षीको दावीवाट फुर्सद दिलाई पाउं भन्ने समेत मान सिंह पुर्जाको प्रतिउत्तर पत्र रहेछ ।
४. अ.वं. ८० नं. वमोजिम नाता तर्फ वयान हुंदा, मलाई निज मान सिंहको गर्भ रहेको २०४१ सालको हो । निजको विर्यबाट छोरा जन्मी ४ वर्षको भयो । हामीहरु एउटै गाउंमा वस्ने र निज स्कूलमा पढ्ने गर्दथे र म वनमा घांसपात गर्न जान्थे । त्यसवखत स्याता धनिसारको होटेलमा भेटघाट हुन्थ्यो र सांझमा पनि उक्त होटेलमा कहिले कांहि भेटघाट भै राती वास वस्दा सम्वन्ध भै गर्भ रहन गएको हो । २०४१ साल चैत्र २८ गते सम्वन्ध भै उक्त रातीको करणीबाट गर्भ रहन गई जातक जन्मेको हो । त्यसभन्दा पहिले पनि निजको घरको गोठ गौशालामा पनि करणी भएको हो मेरो पेटमा चांहि ६ महिनाको वच्चा भएपछि मलाई भित्र्याउ भनि म निज मान सिंहको घरमा जांदा निजले भित्र्याएन र मैले महिला संगठनसंग मान सिंहको गर्भ हो भनि भने। महिला संगठनले मान सिंहको घरमा भित्र्याउन लगेपछि निजको वावुले पौष महिनामा वच्चा जन्मेकोमा घर्म छाडने छैन भनि भने । त्यसपछि पौष ७ गते वच्चा जन्म्यो । त्यसपछि जांदा सासुले घरमा पस्न नदिई ढोका लाएकोले माइतको वारीमा कटेरा हाली वसेकी हुन । न्वारान चांहि हाम्रो जातमा जुन व्यक्तिको हो उसैले गरी दिएन भने आफै गर्ने चलन छ । मानसिंहको नाउंमा न्वारन म आफैले गरेकी हुं न्वारान नगरेपछि मैले गाउंमा साक्षी भलादमी जम्मा गर्दा पछि निजको वावुले मेरो घरमा एउटाको अनुहार लिई हाल्दछ । ६ महिना पछि मिल्यो भने भित्र्याउला भनि भनेपछि त्यसपछि निज वालकको अनुहार हेर्न आएनन । गाउंको समाज जोडी अनुहार आएको छ भनि भन्दा मानसिंहको वावुले भित्र्याउन मानेनन् । त्यसपछि प्रधानपंचले स्वीकृत दिएपछि फिराद गर्न आएको हुं भन्ने समेत टुल्कुमाया पुर्जाले म्याग्दी जिल्ला अदालतमा गरेको वयान ।
५. वादी टुल्कुमायाको भनेका कुरा सरासर झुठा हुन । फाल्गुण र चैत्रमा गर्भ रही वैवाहिक सम्वन्ध कायम गरी गर्भ रह्यो भनि भन्नु भयो । फाल्गुण वा चैत्र भनि यहि महिना हो भनि कुन महिना कति गते हो कुन वार हो नभनेबाट पनि निजले गरेको वयान झुठा हो । सो समयमा विद्यार्थी थिए । विद्यार्थी जीवनमा के कस्तो हुनु पर्दछ र को कस्तो व्यवस्था हुन्छ भन्ने कुरा सवैलाई थाहा भएकै कुरा हो । त्यसवखत म घुमफिर पनि गर्दिनथे । विपक्षी झुठो व्यहोरा गरी पढ्दा पढ्दै मलाई नाना भाती लेखि दुई चार पैसा झारी खाउंला भनि नभएको आपेक्ष लगाई दुःख दिईन । तर विपक्षीको मेरो हाम्रो वोलचालसम्म त हुन्थ्यो । त्यसैले चैत्र दशैमा ढोवाबाट ७ दिन ७ रात हराएर वाटोमा आउदै थियो । गाउं घरमा केटा वा मैले भनेको थिए कि अवश्य पनि भुडी वोकी आउंछ भनि जिस्काएको थिए । विपक्षी रिसाएको थियो । उक्त समयमा नै निजले भुडी वोकेको रहेछ होला र त रिसाएको होला । त्यसवेला देखि निज म संग वोल्दा पनि वोलेन म संग निजको सम्वन्ध पनि भएन । करणी लिनु दिनु गरे भन्ने वयान झुठा हो भन्ने समेत मानसिंहको म्याग्दी जिल्ला अदालतमा गरेको वयान रहेछ ।
६. वादी टुल्कमाया र प्रतिवादी मान सिंहको वीचमा लोग्ने स्वास्नीको सम्वन्ध स्थापित गर्न सकिने देखिदैन । सो नदेखिंदा प्रतिवादी मानसिङ पुर्जाले टुल्कुमाया र नावालक लाल प्रसादलाई अंश दिनुपर्ने ठहर्दैन भन्ने समेत शुरु म्याग्दी जिल्ला अदालतको फैसला रहेछ ।
७. विपक्षी म र नावालकका पति पिता भएका विपक्षीको अर्को पत्नी समेत भएकोले लोग्ने स्वास्नीको ४ नं. तथा अंशवण्डाका १, ३५ नं. ले समेत अनिवार्य अंश दिनुपर्नेमा अंश दिनु नपर्ने गरिएको शुरुको गंभिर र कानूनी त्रुटिपूर्ण फैसला वदर गरी वादी दावा वमोजिम अंश समेत दिलाई पाउं भन्ने समेत टुल्कुमाया समेतको पुनरावेदन जिकिर रहेछ ।
८. प्रतिवादी टुल्कुमाया मेरी श्रीमती होइनन् र निजबाट जन्मेको वच्चा मेरो छोरा होइन भनी ठोस सवुद प्रमाण पेश गर्न सकेको मिसिल संलग्न प्रमाणबाट देखिदैन । वादी टुल्कुमाया पुर्जाले नाता कायम तर्फको वयानमा उल्लेखित साक्षी खिनसरा तिलीजीले वकपत्र गर्दा वादी टुल्कुमाया पुन र मानसिङ पुर्जा २०४१।१२।२८ गतेको राती संगै सुतेको मैले नै देखेको हुं भनी वकपत्र गरी दिएको र अन्य साक्षीले पनि प्रतिवादी मानसिङ पुर्जाको अनुहार र टुल्कुमायाबाट जन्मेको वच्चाको अनुहार मिलेकै देखिंदा वादीहरुले अंश पाउनु पर्छ भन्ने वकपत्र गरेको र वादीले शुरु देखि नै मानसिंह पुर्जाका करणी विर्यबाट वच्चा जन्माएको कुरा निसंकोच स्वीकार गर्दै आएको समेतबाट टुल्कुमाया र मानसिंह पुर्जाको करणी विर्यबाट लाल प्रसादको जन्म भएको पुष्टि हुन आएकोले गलत तर्कमा आधारीत शुरु फैसला मिलेको नदेखिंदा वदर भै टुल्कुमाया र मानसिंहको स्वास्नी र लालप्रसाद निज मानसिंहका छोरा ठहर्छ । साथै दावी अनुसार अंश समेत पाउने ठहर्छ भन्ने समेत धवलागिरी अंचल अदालतको मिति २०४७।१०।२४ को फैसला रहेछ ।
९. मैले विपक्षीसंग वैवाहिक सम्वन्ध कायम गरेको छैन । जन्मको भनेको वालक र मेरो रगत जांच गरी पाउं । वादीको फिराद र वयान परस्परमा वाझिएको छ । मेरो वयान एवं प्रतिउत्तरलाई मेरा साक्षीले प्रमाणित गरेको छन् । धनिसरा र खिनसराको वकपत्रमा सत्यता छैन। त्यस्ता वकपत्र न्यायको लागि ग्राह्य छैन । टुल्कुमायाले गर्भधारण गरेको सम्वन्धमा वावुको ठेगाना लगाउने भनी २०४२ साल असोज तिर वडा सभा हुंदा मैलै विपक्षी टुल्कुमायाको गर्भ मेरो होइन सिखं गा.वि.वडा नं. ३ स्वात वस्ने लक्ष्मण पुर्जाको हो भनी भन्दा लक्ष्मण पुर्जाले सो कुरा स्वीकारेका र सहवास गरेको कुरामा टुल्कुमायाले पनि स्वीकार गरेकी थिइन । मेरो साक्षी सुन बहादुरको वकपत्र समेतबाट विपक्षी लक्ष्मण पुर्जासंगै सुतेको भन्ने देखिन आएको हुंदा निज लक्ष्मण पुर्जा र भु.पु.प्र.पं. वुद्धिचन चौचाङ्गी समेतलाई वुझी ध.अं.अ. को फैसला उल्टाई मेरो प्रतिउत्तर जिकिर अनुसार समेत गरी न्याय इन्साफ पाउं भन्ने समेत मानसिङ पुर्जाको पुनरावेदन अदालत पोखरामा परको पुनरावेदन पत्र रहेछ ।
१०. यसमा वादीको साक्षी खिनीसराले करणी भयो भनेको रातमा वादी प्रतिवादी वीच करणी भयो भन्ने व्यहोरा दर्शिने गरी वकपत्र गरी दिएको पाइने निजको भनाइ लेखबाट निज सो जानकारी राख्न सक्ने सामान्य अवस्थामा रहे भएकी देखिन आउंछ । वादीले प्रतिवादी उपर नै दावी लिनुपर्ने कारणलाई त्यसै अन्यथा संझन नमिल्ने र पितृत्वको कुरामा र लोग्ने स्वास्नीको सम्वन्धको कुरामा अन्यथा ठोस एवं युक्तियुक्त आधार प्रमाण नभएसम्म स्वास्नीमानिसको भनाइलाई मान्यता नदिने भनी हाल्न मिल्दैन । प्रतिवादीले पुनरावेदनमा मात्र आएर लक्ष्मण पुर्जालाई र वुद्विचन चौचांगीलाई वुझी पाउं भनी लिएको जिकिर कानूनमा आधारीत देखिन आएन। यस तर्फको पुनरावेदन जिकिरसंग सहमत हुन सकिएन । तसर्थ उल्लेखित वुंदा प्रमाण समेतबाट वादी दावी वमोजिम नाताकायम गरी अंश छुट्याई पाउने ठहर्याएको समेत धवलागिरी अंचल अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत पोखराको फैसला ।
११. यसमा वादीको एकमात्र देख्ने साक्षी भनेको खनिसराको वकपत्र र वादीले गरेको वयान परस्पर अमिल्दो र अन्तरविरोधपूर्ण भएको र होटलवालीको वकपत्र नभएको परिप्रेक्ष्यमा परस्पर अमिल्दो र अन्तरविरोध पूर्ण वयान वकपत्रको आधारमा भएको पुनरावेदन अदालत पोखरा समेतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा २८, ३०, ३१ र सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्त समेतको त्रुटी भएकोले उक्त फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को खण्ड (क) र (ख) समतको अवस्था विद्यमान हुंदा उक्त फैसला दोहार्याई हेरी इन्साफ पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको निवेदन पत्र ।
१२. यसमा वादीले प्रतिवादी संग २०४१ सालमा विधिवत वैवाहिक सम्वन्ध भएको भनी दावी लिएको भएपनि नाता सम्वन्धको वयान गर्दा विधिवत वैवाहिक सम्वन्ध विषयमा तथ्य खुलाई वयान गरेको देखिन आएन । वादी प्रतिवादी वीच करणी लिनुदिनु भइ जायजन्म भएको भन्ने कुरासम्म पुनरावेदन अदालत र धौलागिरी अंचल अदालतको फैसलाले विवेचना गरेको देखिन आउंछ । करणी लिनु दिनु भएको कुरालाई नै वैवाहिक सम्वन्ध हो भनी कानूनी अर्थ वा वैवाहिक सम्वन्धको कानूनी व्याख्या गर्न नमिल्ने भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) वमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।
१३. नियम वमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री पन्नामान तुलाधर र श्री वच्चू सिंह खड्काले वादी टुलुक माया पुर्जा र निजको देख्ने भनिएका एकमात्र साक्षी खनिसराको वयान र वकपत्र परस्पर अमिल्दो र अन्तर विरोधपूर्ण भएकोमा होटलवालीलाई समेत वुझी निर्णय गर्नुपर्नेमा अस्पष्ट वकपत्र समेतेको आधारमा वादी दावी वमोजिम अंश समेत पाउने ठहर्याएको पुनरावेदन अदालत समेतको फैसला त्रुटीपूर्ण हुंदा वदर गरदिनु पर्छ भनी र प्रत्यर्थी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गौ बहादुर आलेमगरले वादी र प्रतिवादी वीच करणी लिनु दिनु गरेको कुरा वादीका प्रत्यक्षदर्शी साक्षी खनिसरा पुर्जाले प्रष्ट रुपमा वकपत्र गरेका समेत हुंदा वकपत्रलाई विरोधाभाषपूर्ण भन्न नमिल्ने हुंदा वादी दावी वमोजिम वादीले प्रतिवादीबाट अंश पाउने ठहर्याएको पुनरावेदन अदालत समेतको फैसला सदर गरिनु पर्छ भनी गर्नु भएको वहस समेत सुनि वादी दावी वमोजिम वादीले प्रतिवादीबाट अंश समेत पाउने ठहर्याएको पुनरावेदन अदालत समेतको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय दिनुपर्ने देखियो ।
१४. आज निर्णय सुनाउनका लागि पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा यसमा विपक्षी मानसिंह पुर्जाले गाउंले रीतिस्थिति अनुसार म वादी टुल्कुमाया संग २०४१ सालमा वैवाहिक सम्वन्ध कायम गरी विपक्षीको करणी विर्यबाट गर्भाधान भइ २०४२ सालमा छोरा लालप्रसादको जन्म भएको र विपक्षीले घरबाट निकाला गरेकाले विपक्षीबाट अंशवण्डा दिलाई पाउं भन्ने टुल्कुमाया पुर्जाको फिराद दावी देखिन्छ । वादी टुल्कुमायाले प्रतिवादी मानसिंह पुर्जाको करणी विर्यबाट जातक छोरा जन्मेको हो र प्रतिवादी मान सिंह पुर्जा वीच करणी भएको देख्ने साक्षी खनिसरा छन भनी नाता कायम तर्फ वयान गरेको देखिन्छ । करणी भएको देख्ने भनिएकी वादीको साक्षी खनिसरा तिलीजाले मिति २०४१।१२।२८ मा वादी टुल्कुमाया पुर्जा र प्रतिवादी मान सिंह पुर्जा वीच करणी लिनु दिनु भएको र उक्त करणीबाट गर्भ रहन गई छोरा लालप्रसादको जन्म भएको हो भनी वकपत्र गरेको देखिन्छ । यसरी वादी र प्रतिवादी दुवै वीच यौन सम्वन्ध भएको र वच्चा जन्मेको कुरा स्थापित भएको स्थितिमा वादी प्रतिवादी वीच वैवाहिक सम्वन्ध कायम हुन आउने हुंदा वादी र निजको साक्षी खनिसरा तिलीजाको वयान र वकपत्रमा तथ्यगत कुरामा केही फरक पर्दैमा उक्त वयान वकपत्रलाई प्रमाणमा ग्रहण गर्न मिल्दैन भन्न नमिल्ने हुंदा वादी र प्रतिवादी वीच वादी दावी वमोजिम नाताकायम हुने र अंश समेत छुटयाई पाउने ठहर्याएको पुनरावेदन अदालत पोखराको फैसला मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गोपालप्रसाद खत्री
इति सम्वत २०५६ साल जेठ १४ गते रोज ६ शुभम ............ ।