शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७५७ - हक कायम समेत

भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक:

निर्णय नं. ६७५७          ने.का.प. २०५६ अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा

माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल

संवत २०५२ सालको दे.पु.नं. .... २७९८

फैसला मिति : २०५५।१०।४।३

 

मुद्दा : हक कायम समेत ।

 

पुनरावेदक

प्रतिवादीः भ.पु.जि.भ.पु.न.पा. वडा नं. ८ तुलाछे बस्ने मिश्रीमाया मलेपति  समेत

विरुद्ध

विपक्षी

वादीः ऐ.ऐ. टिवुक्छे बस्ने सुवर्ण श्रेष्ठ समेत

 

§  रमेशमानको मिति २०४५।५।५ मा मृत्यु भएपछि विवादित सम्पत्तिमा यी वादीहरुको अपुताली हक हुनु पर्ने भन्ने दावीका हकमा विचार गर्दा मृतक रमेशमान फिरादी मध्येकी सुर्वण श्रेष्ठको छोरा भए पनि मिति २०३१।२।२७ को धर्मपुत्रको पारीत लिखत अनुसार निज रमेशमान विधिवत रुपमा जगतलालको धर्मपुत्र भैसकेको र सो लिखतको अस्तित्व उपर कुनैै चुनौती नभई वहाल नै रहेको अवस्थामा रमेशमान र यी वादी  मध्येकी सुर्वण श्रेष्ठको आमा छोराको नाता समाप्त भै निजहरु वीच दिदी र भाइको नाता स्थापित भइसकेको देखिन्छ । भाइको अपुताली दिदीमा सर्ने कानूनी व्यवस्थाको अभावमा यी वादीले रमेशमानको सम्पत्तिमा अपुताली हक पाउने भन्न मिल्ने देखिएन । रमेशमानलाई जगतलालले धर्मपुत्रको लिखत गरी दिएको भएतापनि जगतलालको मृत्यु पछि निजको नाउंको सम्पत्ति धर्मपुत्रमा नामसारी हक हस्तान्तरण इत्यादि भई नसकेको हुंदा जगतलाल कै अपुतालीमा दावी लिई आएको र पिताको नाममा दर्ता रहेको सम्पत्ति नजिकका अन्य हकवालाहरु जीवित नरहेको अवस्थामा हामी छोरीहरुको अपुताली हक कायम हुनु पर्छ भन्ने जिकिर लिएको देखिन्छ तापनि मिसिल संलग्न २०३४।११।२ को भक्तपुर गुठी तहसिल तथा खर्च कार्यालयको पर्चा वमोजिम भक्तपुर जि. सिपाडोल गा.वि.स.वडा नं. ९ को कि.नं. १३५ र कि.नं. २७ का जग्गाहरु जगतलालको नामबाट रमेशमानले आफ्नो नाममा नामसारी दर्ता गराएको देखिन्छ । यसबाट धर्मपुत्रमा नामसारी लगायत हक हस्तान्तरण भै नसकेको भन्ने वादीहरुको दावी आधारहीन देखिंदा जगतलालको अपुताली वादीहरुमा परेको भन्ने कथनको पुष्टि हुन सकेको छैन । यस प्रकार २०३१ सालमा पिता जगतलाल र २०३५ सालमा माता जननी मायाको स्वर्गवास भएपछि त्यसको १० वर्ष पछि २०४५ सालमा वावु जगतलालको अपुताली हक कायम गरी पाउं भनि लिएको वादी दावी पुग्न नसक्नेमा वादी दावी वमोजिम नामसारी हक कायम हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले उल्टी हुने ।

               (प्र.नं. ११)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री वलराम सेढाइ

विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री राधेश्याम अधिकारी र श्री प्रकाश वस्ती

अवलम्वित नजिरः ने.का.प. २०४६ अंक १० पृष्ठ १०६३ नि.नं. ३९७१

 

फैसला

      न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत पाटनको मिति २०५२।१।१३।४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।

      २.    जिजुवाजे भोलानाथ मलेपतिका ४ छोरामा जेठा गोलाफं सि. माहिला नवाफसिंह साहिला अजव सिं कान्छा इन्द्रमान सिं भएकोमा जेठाका २ छोरामा जेठा जगत बहादुर अघि नै परलोक हुनु भएको र कान्छा लालसिंका ललितमान सिं मलेपति एक मात्र छोरा भई लालसिं अघि नै परलोक भएका ललितमानको छोरा विपक्षी धनबहादुर मलेपति १ मात्र छोरा जायजन्म भएपछि निज ललितमान सिं पनि ०४६।५।३ मा परलोक हुनु भयो । माहिलो छोरा नवाफ सिं का जगतलाल मलेपति १ मात्र छोरा जन्मी निजको विवाह जननी मायां मलेपतिसंग भएकोमा निजहरुबाट छोराको जायजन्म नभई हामी फिरादी २ छोरी मात्र जायजन्म भएको र हामीहरुको विवाह समेत भै सकेकोले पिताको छोरा नभएकोले म सुवर्णको जेठा छोरा रमेशमानलाई पिता माताले मिति २०३१।२।२७ मा धर्मपुत्रको लिखत पारित गरी धर्मपुत्र दिनु भएको पिता मिति २०३१।२।२९ र माता २०३५ सालमा परलोक हुनुभयो र रमेशमान पनि ०४५ सालको भुकम्पमा परि परलोक भएकोले अपुतालीको २ र ३ नं. बमोजिम पिता जगतलालको धर्मपुत्र र रमेशमानको शेषपछिको हक खाने हकदार हामी फिरादी मात्र हौं । सोही वमोजिम हालसम्म भोग चलन गरी आएका छौं । पितामाता बृद्ध अवस्थाको भै स्याहार सुसार गर्ने मानिस कोही नभएकोले म सुवर्ण धर्मपुत्र रमेशमानसंग साथमा पिता मातासगैं रहि स्याहार सुसार गरी आएकोमा पिता माता परलोक भएपछि रमेशमान र म सुवर्णले काज कृयापिण्ड पानी गरि रमेशमानको समेत मैले नै काजकृया पिण्ड पानी गरी आएकोले जेठा वावु जगत लाल मलेपति परलोक भै सकेकोले वहांको र पिता ललितमानको हक खाने हकदार हामी मात्र हौं । निजहरुको जना २ को भ.पु. नखेल गा.वि.स. वडा नं. ४ (क) कि.नं. ३५ को क्षेत्रफल १-६-१ कि.नं. ३८ को क्षे.फ. १-१३-६ कि.नं. ३९ को क्षे.फ. ४-१५-१ वडा नं. ४ (ख) कि.नं. ४३ को क्षे.फ.१-१-१ कि.नं. ४४ को क्षे.फ.१-१-० कि.नं. ४५को क्षे.फ.०-१५-१ समेतको जग्गा उल्लेख गरि निवेदन दिई झुठ्ठा जालसाजीपूर्ण तवरले पिता जगतलालको नामको ज.ध.प्र.पुर्जाको फोटोकपि विपक्षीका पिताको फोटाकपि विपक्षीको नागरिकताको फोटाकपि समावेश गरि नामसारी गर्न निवेदन दिएको कुरा नक्कल सारी थाहा हुन आयो । पिता जगतलाल पि.प.गो.भ.प.पानी कार्यालयमा काम गरि आएको श्री ५ को सरकारको कर्मचारी भएको कुरा किताब खानामा रहेको रेकर्डबाट समेत भोलानाथको नाती नवाफसिंको छोरा जगतलाल मलेपति भएकोले हामी फिरादीको हक भोगको उल्लेखित जग्गाहरु मिति २०४७।१।१९ मा विपक्षीको नाउंमा नामसारी गराउने गरी निर्णय भएकोले पिता माताको पिण्डपानी काजकृया समेत धर्मपुत्र रमेशमान र म सुवर्णले गरी धर्मपुत्र रमेशमानको समेत परलोक भएकोले निजको काजकृया समेत म सुवर्णले गरी पिताको नामको जग्गा अपुतालीको २र३ नं. बमोजिम हाम्रो हक जानी भोग गरी आएको र ज.प.को २ क बमोजिम हाम्रो नाममा दर्ता दा.खा. गर्न मात्र वांकी छ। त्यस्तो निर्विवाद रुपमा हामीहरुका हक भोगको जग्गा विपक्षीले नामसारी गरि लगेकोले उक्त दुषित नामसारी दर्ता वदर गरी हामीहरुको नाममा हक कायम गरी पाउं भन्ने फिराद दावी ।

      ३.    वादी दावाका जग्गाहरु अपुतालीका २ र ३ नं. बमोजिम विपक्षहरुले पाउने नपाउने विषयमा उक्त जग्गा जगतलालको स्वआर्जनको हो वा पैतृक सम्पत्ति हो भन्ने विषयमा मुख्य कुरा देखिन आएको  छ । उक्त जग्गा निजको आर्जनको नभई पैत्रीक सम्पत्तिको निजहरु वीच अंशवण्डा भएको छैन र विपक्षीहरु विवाह भएको छोरीहरु भएकोले निजहरुले अपुताली पाउने होइन । विपक्षीका पिता जगतलालले रमेशमानलाई ०३१।२।२७ मा धर्मपुत्र दिई ०३१।२।२९मा जगतलालको मृत्यु भएको र ०४५।५।५ मा रमेशमानको मृत्यु भएकोले भाईको अपुताली दिदीमा आउने कानूनी प्रावधान नभएकोले र धर्मपुत्रको लिखत वदर नभएकोले पनि अपुतालीमा विपक्षीहरुलाई कुनै उजुर गर्न मिल्ने  होइन । निज जगतलाल प्रतिवादी काहां वसि राखेको र २०३० साल देखि वेरामी परि स्याहार संभार गर्दै जांदाको अवस्थामा विपक्षीहरुले धाकधम्की दिई धर्मपुत्रको लिखत गराई लिएका र ०३१।२।२९मा जगतलाको मृत्यु भएको हो निजको मृत्यु भइसकेपछि रमेशमान मलेपति विपक्षीहरुको भाई नाताको भएकोले अपुतालीमा विपक्षीहरुलाई कानूनले मद्दत गर्न सकिने नदेखिंदा विपक्षीहरुको फिराद दावा खारेज गरि पाउं भन्ने धनबहादुर समेतको प्रतिउत्तरपत्र ।

      ४.    प्रतिवादीको नाममा भएको विवादित जग्गाको दर्ता वदर गरी हक कायम गरी पाउं भन्ने वादी दावी पुग्न सक्दैन भन्ने मिति २०५०।२।६ गतेको भ.पु.जि.अ.बाट भएको फैसला ।

      ५. मिति २०५०।२।६ गतेको भ.पु.जि.अ.बाट भएको फैसला त्रुटीपूर्ण हुंदा वदर गरी हाम्रो फिराद दावी बमोजिम गरी पाउं  भन्ने पुनरावेदक वादी सुवर्ण श्रेष्ठ समेतको पुनरावेदन ।

      ६.    वाबुको नाममा भएको अचल सम्पत्तिमा छोरा मरी सकेको अवस्थामा छोरीको हक पुग्ने नपुग्ने भनी प्रश्न र अपुतालीको २ र ३ नं.को कानूनी व्याल सम्बन्धी प्रश्न समावेश भएको परिपे्रक्ष्यमा शुरुको फैसला विचारणीय हुंदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षी प्रतिवादीहरुलाई झिकाउने भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।

      ७.    मर्ने जगतलालको धर्मपुत्र रमेशमान समेत मरी सकेको अवस्थामा जगतलालको नाममा दर्ता भएको जग्गामा यी वादीहरु जगतलालको विवाहिता छोरी देखिएको अवस्थामा अपुतालीको २ र ३ नं. ले वादीहरु दुवैले वरावर अपुताली पाउने नै देखियो । प्रतिवादी गोलाफं तर्फका हांगाको चौथो पुस्ताको देखिएको र वादीहरु मर्नेको पुस्तावलीको २ पुस्ता भित्रको हकवाला देखिन आएकोले टाढाको हकवालाले अपुताली पाउने सक्ने देखिएन । त्यसमा पनि प्रतिवादीले विवादित जग्गा जगतलालबाट आफ्नो नाममा नामसारी गराउंदा झुठ्ठा व्यहोरा देखाई वादीहरुको हक मेट्ने कार्य गरेको देखिएको र जालसाजी मुद्दामा उल्लेखित बुंदा प्रमाणबाट समेत विवादित सम्पत्तिमा जगतलालको शेषपछि निजका छोरीहरु यी वादीहरु भैरहेको देखिदा शुरुले वादी दावी नपुग्ने ठहयाएको इन्साफ उल्टी भै वादी दावी बमोजिम विवादित सम्पत्तिमा वादीको हक कायम भै वादीकै नाममा दर्ता नामसारी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको मिति २०५२।१।१२।४ को फैसला ।

      ८.    पुनरावेदन अदालतको फैसलाले कसको अपुताली पर्यो भन्ने सम्बन्धमा नै उल्टो अर्थ गरेको छ । जगतलालले २०३१।२।२७ मा धर्मपुत्र राखी २०३१।२।२९ मा निजको मृत्यु भएकोले त्यतिखेर निजको श्रीमति र धर्मपुत्र रमेशमान जीवितै छन् । ०३५ साल जगतलालको श्रीमतिको मृत्युपछि वहांहरु दुवैका हकदार छोरा रमेशमान जीवितै थिए । रमेशमानले धर्मपिता माताको मृत्युपछि विभिन्न जग्गाहरु आफ्नो नाममा नामसारी पनि गराएका छन् । तर पुनरावेदन अदालतको फैसलामा रमेशमानको अपुताली परेकोमा २०३१।२।२९ मा परलोक भै सकेका जगतलालको अपुताली परेको भन्ने वोली वोल्न पुगेको छ । २०४५ सालमा मात्र रमेशमानको मृत्यु भएको छ । रमेशमानले उक्त धर्मपुत्रको लिखतको आधारमा जगतलालबाट जग्गा जमिन नामसारी समेत गराई लिई भोगी आएको अवस्थामा जगतलालको अपुताली पर्यो पनि व्याख्या गर्दा अपुतालीको २ र ३ नं.को ठाडै उल्लघंन हुन जान्छ । त्यस्तो गलत व्याख्या गरी हुन गएको फैसला वदर गरी शुरु भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गरी हक इन्साफ पाउं भन्ने समेत व्यहोराको   प्रतिवादी धन बहादुर मलेपति समेतको पुनरावेदन पत्र । ।

      ९.    यसमा जगतलाल पछि धर्मपुत्र रमेशमान २०४५ सालमा परलोक भएकोले ने.का.प. २०३५ नि.नं. ११४७ पृष्ठ ७९ को जालसाजी लिखत वदर मुद्दामा प्रतिपादित सिद्धान्तबाट वादीको वावुको अपुताली छोरीले पाउन नसक्ने र प्रतिवादीका नाममा दर्ता गर्ने गरेको निर्णय वदर नभएसम्म सो निर्णयबाट भएको दर्ता वदर गर्ने गरेको ने.का.प. २०४६ भाग १९ अंक १० पृष्ठ १०६३ नि.नं. ३९७१ को मुद्दामा प्रतिपादित सिद्धान्त प्रतिकूल देखिएकोले पुनरावेदन अदालत पाटनको फैसला फरक पर्ने देखिंदा छलफल निमित्त अ.वं. २०२ नं. अन्तरगत प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०५४।५।२३।२को आदेश ।

      १०.    नियम बमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा पिता जगललाल मलेपति र माता जननीमायांको छोरा जायजन्म नभई हामी फिरादी दुई छोरी मात्र जायजन्म भएकोमा हामी विवाहिता छोरीमध्ये म सुवर्णको जेठा छोरा रमेशमानलाई पिता माताले २०३१।२।२७ मा पारीत लिखत बमोजिम धर्मपुत्र लिनु भएकोमा २०३१।२।२९ मा पिता र २०३५ सालमा माता परलोक हुनुभयो । रमेशमान पनि ०४५ सालमा परलोक भएकोले अपुतालीको २ र ३ नं. बमोजिम पिता जगतलालको नामको भ.पु.जि.  नखेल गा.वि.स. वडा नं. ४ (क) कि.नं. ३५, ३८, ३९, ४३, ४४ र ४५ जग्गा हाम्रो हक जानी भोग गरी आएकोमा उल्लेखित जग्गाहरु मिति २०४७।१।१९ मा विपक्षीका नाउंमा नामसारी गराउने गरी निर्णय भएकोले उक्त दुषित नामसारी दर्ता वदर गरी हाम्रा नाममा हक कायम गरी पाउं भन्ने मुख्य फिराद दावी तथा विपक्षीका पिता जगतलालले रमेशमानलाई ०३१।२।२७ मा धर्मपुत्र लिई ०३१।२।२९ मा निजको मृत्यु भएको र ०४५।५।५ मा रमेशमानको मृत्यु भएकोले भाईको अपुताली दिदीमा आउने कानूनी प्रावधान नभएकोले धर्मपुत्रको लिखत वदर नभएकोले पनि अपुतालीमा विपक्षीहरुलाई कानूनले मद्दत गर्न नसक्ने हुंदा विपक्षीहरुको फिराद खारेज गरी पाउं भन्ने मुख्य प्रतिउत्तर जिकिर भै उत्पन्न विवादमा पुनरावेदक (प्रतिवादी) तर्फका विद्वान अधिवक्ता श्री बलराम सेढाईले प्रस्तुत मुद्दामा पिता जगतलालको अपुताली परेको हो वा भाई रमेशमानको अपुताली परेको हो भन्ने विषयमा सर्वप्रथम निरोपण हुनु पर्दछ । जगतलाल मलेपतिको मिति २०३१।२।२९ मा मृत्यु भै सकेकोले निजको शेष पछि अपुतालीमा दावी गर्न विपक्षीहरु अपुतालीमा उजुर गर्ने ३ वर्षको हदम्याद भित्र आउन सक्नु भएको छैन । अर्थात हदम्याद नाघी परेको नालिसबाट इन्साफ हुनै सक्दैन । रमेशमानको मृत्युपछि निजको अपुतालीमा विपक्षी वादीहरुले दावी लिएको हो भने पनि भाईको अपुताली दिदीले खान पाउने कानूनी व्यवस्थाको अभावमा विपक्षीको दावी गर्ने अधिकार नै नहुंदा पुनरावेदन अदालतको निर्णय वदर गरी वादी दावी नै खारेज हुनुपर्छ भनि वहस प्रस्तुत गर्नुभयो । विपक्षी (वादी) तर्फका विद्वान अधिवक्ताद्धय सर्व श्री राधेश्याम अधिकारी एवं श्री प्रकाश वस्तीले विपक्षी धनबहादुरले मालपोत कार्यालयमा नामसारीको लागि निवेदन दिदा मेरो पक्षका पिता जगतलाललाई अविवाहिता अवस्था भै मृत्यु भएको भनि झुठ्ठा व्यहोराको सिफारिशबाट नामसारी गराएको कार्य त्रुटीपूर्ण छ । पुस्तावली वाटै चौथो पुस्ताका हांगाका प्रतिवादीहरुले जगतलालको अपुताली पाउने होइन । मेरो पक्षका पिता जगतलाल र विपक्षी धनबहादुरका पिता ललितमान समेतको वीचमा नामसारी लिखत पारीत मुद्दा परि मिति २०२८।११।२१ मा भक्तपुर जिल्ला अदालतबाट फैसला भएको देखिएबाट मुलपुर्खाका वीचमा अंशवण्डा भएको छैन भन्ने विपक्षीको कथन झुठ्ठा सिद्ध हुन्छ । साथै मेरो पक्षले मृतक जगतलाल तथा रमेशमान दुवैको लालन पालन एवं पिण्डपानी गरेको र ०४५।५।५ मा रमेशमानको मृत्यु भएपछि मात्र नालेश गर्ने हदम्याद शुरु हुने हुंदा हदम्याद नाघी परेको भन्ने विपक्षीको कथन सरासर झुठ्ठा हो । तसर्थ अपुतालीको २ र ७ नं. अनुसार मेरो पक्ष फिरादीहरु जीवित  छंदाछंदै चार पुस्ताका विपक्षी धनबहादुरमा अपुताली जान नसक्ने हुंदा पुनरावेदन अदालत पाटनको निर्णय सदर कायम हुनु पर्छ भनि गर्नु भएको वहस जिकिर समेत सुनियो । दुवै तर्फका विद्वान अधिवक्ताहरुको वहस जिकिरहरुलाई मध्ये नजर राख्दै पुनरावेदन अदालत पाटनले गरेको निर्णय मिले नमिलेको के रहेछ ? र पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।

      ११.    अब निर्णय तर्फ विचार गर्दा यसमा फिरादीका पिता जगतलालले २०३१।२।२७ को पारीत लिखत अनुसार फिरादी मध्येका सुवर्ण श्रेष्ठका छोरा रमेशमान श्रेष्ठलाई धर्मपुत्र राखेपछि धर्मपिता निज जगतलालको २०३१।२।२९ मा र निजकी श्रीमती जननी मायांको २०३५ सालमा मृत्यु भएको तथा रमेशमान श्रेष्ठको मिति २०४५।५।५ मा मृत्यु भएको भन्ने तथ्यमा विवाद देखिदैन । प्र. धनबहादुरले मालपोत कार्यालय भक्तपुरको मिति २०४७।१।१९ को निर्णय अनुसार विवादित जग्गाहरु आफ्नो नाममा नामसारी दर्ता गराएकोमा मालपोत कार्यालय भक्तपुरको उक्त मितिको निर्णय वदर गरी पाउं भन्ने यि वादीहरुले दावी लिन सकेको पाइदैन । प्रतिवादीको नाममा नामसारी दर्ता गर्ने गरेको निर्णय वदर नभएसम्म सोको आधारमा भएको नामसारी दर्ता वदर गर्न नमिल्ने भनि ताराबहादुर विष्ट विरुद्ध प्रेममायां श्रेष्ठ समेत भएको दर्ता वदर मुद्दामा यस अदालत संयुक्त इजलासबाट मिति २०४६।९।२ मा (ने.का.प. २०४६ अंक १० पृष्ठ १०६३ नि.नं. ३९७१ मा) सिद्धान्त प्रतिपादन भइरहेको देखिएकोले उक्त प्रतिपादित सिद्धान्तबाट समेत दावी बमोजिम नामसारी दर्ता वदर हुन सक्ने अवस्था देखिएन । जहांसम्म वादीले आफ्नो फिरादपत्रको प्रकरण १ मा अपुतालीको २ र ३ नं. बमोजिम जगतलालको धर्मपुत्र रमेशमानको शेषपछि निजको सम्पत्तिमा फिरादीको अपुताली हक पुग्ने भनि दावी लिएको छ । सो सम्बन्धमा मुलुकी ऐन, अपुतालीको महलको २ नं. मा भएको व्यवस्था तर्फ दुष्टि दिंदा अपुताली पर्दा मर्नेको लोग्ने स्वास्नी, छोरा वा छोराको छोरा भएसम्म छोरीले अपुताली  पाउदैन । भन्ने उल्लेख भएको देखिन्छ । प्रस्तुत विवादमा फिरादीका पिता जगतलालको मिति २०३१।२।२९ मा मृत्यु हुंदा निजको हक खाने हकदार पत्नी जननीमायां र धर्मपुत्र रमेशमान जीवितै रहेको अवस्थामा अन्यथा प्रमाणित नभएसम्म यी वादीहरुको त्यस्तो अपुतालीमा हक पुग्ने भन्ने प्रश्नै आएन । अब  रमेशमानको मिति २०४५।५।५ मा मृत्यु भएपछि विवादित सम्पतीमा यी वादीहरुको अपुताली हक हुनु पर्ने भन्ने दावीका हकमा बिचार गर्दा मृतक रमेशमान फिरादी मध्येकी सुवर्ण श्रेष्ठको छोरा भए पनि मिति २०३१।२।२७ को धर्मपुत्रको पारीत लिखत अनुसार निज रमेशमान विधिवत रुपमा जगतलालको धर्मपुत्र भै सकेको र सो लिखितको अस्तित्व उपर कुनै चुनौती नभई वहाल नै रहेको अवस्थामा रमेशमान र यी वादी मध्येकी सुवर्ण श्रेष्ठको आमा छोराको नाता समाप्त भै निजहरु वीच दिदी र भाईको नाता स्थापित भई सकेको देखिन्छ । भाईको अपुताली दिदीमा पर्ने कानूनी व्यवस्थाको अभावमा यी वादीले रमेशमानको सम्पत्तिमा अपुताली हक पाउने भन्न मिल्ने देखिएन । रमेशमानलाई जगतलालले धर्मपुत्रको लिखत गरी दिएको भएता पनि जगतलालको मृत्यु पछि निजको नाउंको सम्पत्ति धर्मपुत्रमा नामसारी हक हस्तान्तरण इत्यादि भइ नसकेको हुंदा जगतलाल कै अपुतालीमा दावी लिई आएको र पिताको नाममा दर्ता रहेको सम्पत्ति नजिकका अन्य हकवालाहरु जीवित नरहेको अवस्थामा हामी छोरीहरुको अपुताली हक कायम हुनुपर्छ भन्ने जिकिर लिएको देखिन्छ । तापनि मिसिल संलग्न मिति २०३४।११।२ को भक्तपुर गुठी तहसिल तथा खर्च कार्यालयको पर्चा बमोजिम भक्तपुर जि.सिपाडोल गा.वि.स. वडानं. ९ को कि.नं. १३५ र कि.नं. २७ का जग्गाहरु जगतलालको नामबाट रमेशमानले आफ्नो नाममा नामसारी दर्ता गराएको देखिन्छ । यसबाट धर्मपुत्रमा नामसारी लगायत हक हस्तान्तरण भै नसकेको भन्ने वादीहरुको दावी आधारहीन देखिंदा जगतलालको अपुताली वादीहरुमा परेको भन्ने कथनको पृष्टि हुन सकेको छैन । यसप्रकार २०३१ सालमा पिता जगतलाल र २०३५ सालमा माता जननी मायांको स्वर्गवास भएपछि त्यसको १० वर्षपछि २०४५ सालमा वावु जगतलालको अपुताली हक कायम गरी पाउं भनि लिएको वादी दावी पुग्न नसक्नेमा वादी दावी बमोजिम नामसारी हक कायम हुने ठहयाएको पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले उल्टी हुने ठहर्छ ।

अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

      पुनरावेदन (प्र.) धनबहादुर मलेपति १ मिश्रीमायां मलेपति १ समेत जना २ के माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०५२।१।१३।४ को फैसला उल्टी भएकोले विपक्षी (वादी) ले फिराद गर्दा राखेको कोर्ट फि रु ३२०। र पुनरावेदन अदालत पाटनमा पुनरावेदन गर्दा राखेको कोर्टफि रु.४८ समेत जम्मा कोर्टफि रु३६८ निजहरुले पुनरावेदन गर्दा मिति २०५२।७।२९ मा यस अदालत मार्फत काठमाण्डौं जिल्ला अदालत तहसिल फांटमा धरौटीमा आम्दानी बाधेको देखिएकोले सो धरौटी फिर्ता पाउ भनि निजहरुको कानूनका म्याद भित्र दरखास्त परे कानूनको रीत पुयाई उक्त कोर्टफि रकम फिर्ता खर्च लेखि दिनु भनि काठमाण्डौ जिल्ला अदालत तहसिल फांटमा लगत दिनु .....         

      पुनरावेदक (प्रतिवादी)ऐ.ऐ. के माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले निजहरुले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फि.४८। भराई पाउं भनि विपक्षी वादीको यसै सरहदको जेथा देखाई कानूनको म्याद भित्र निज प्रतिवादीहरु दरखास्त परेमा कानूनको रीत पुयाई उक्त कोर्टफि भरी भराउ गरी दिनु भनि लगत राख्न शुरु भक्तपुर जिल्ला अदालतमा लेखि पठाउनु .......    

मिसिल नियमानुसार गरी बुझाई दिनु ...  

 

उक्त रायमा म सहमत छु ।

 

न्या.भैरवप्रसाद लम्साल

 

इति सम्वत २०५५ साल माघ ४ गते रोज ३ शुभम ............ ।

     

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु