निर्णय नं. ६७७८ - लिखत वदर

निर्णय नं. ६७७८ ने.का.प. २०५६ अङ्क ९
पूर्ण इजलास
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत २०५५ सालको दे.पु.इ.नं. .. ५५
फैसला मिति : २०५२।३।२।६
मुद्दाः लिखत वदर ।
पुनरावेदक
वादी : जि.महोत्तरी.एकरहिया गा.वि.सं. वडा नं. १ वस्ने कृष्ण देव झा मैथिली
विरुद्ध
प्रत्यर्थी
प्रतिवादी : ऐ.ऐ. वस्ने नागेश्वर ओझाइन समेत
§ वादी दावा नपुग्ने भन्ने शुरु फैसला र वादीको नालेस गर्ने हकदैया नभएको भनि फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा तात्विक भिन्नता भए नभएको कुरा मुद्दा मुद्दाको परिप्रेक्ष्यमा मात्र विचार हुन सक्ने हुन आउंछ । प्रस्तुत मुद्दाको सम्वन्धमा हेर्दा शुरु महोत्तरी जिल्ला अदालतले स्त्री अंशधनको महलको २ नं.ले छोरा नहुने विधवा स्त्रीको लागि हकवाला वा अरु कसैको मंजुरी लिनु पर्ने कानूनी वाध्यता नरहेकोले लिखत वदर गरी पाउं भन्ने वादी दावा पुग्न नसक्ने ठहर्छ भनी फैसला गरेको देखिन्छ भने पुनरावेदन अदालत जनकपुरवाट स्त्री अंशधनको २ नं. ले प्र. नागेश्वरीको छोरा नहुंदा वादीलाई नालेस गर्ने हकदैया नै नहुंदा फिराद खारेज गर्नुपर्नेमा शुरुले इन्साफ गरेको उल्टि हुन्छ । हकदैया विहीन व्यक्तिको फिराद खारेज हुने ठहर्छ भनी शुरु जिल्ला अदालतले अंगालेको स्त्री अंशधनको महलको २ नं. कै आधारमा फिराद खारेज गरेको देखिन आयो । यसर्थ जुन कानूनको आधारमा शुरुले वादी दावी नपुग्ने ठहर्याएको हो त्यहि कानूनको आधारमा पुनरावेदन अदालतले वादीको नालेस गर्ने हकदैया छैन भनी फिराद खारेज गरेवाट यी दुइ अदालतहरुको फैसलामा उद्घोषणात्मक रुपमा भिन्नता देखिएतापनि तात्विक असर केही परेको छ भन्न सकिने अवस्था भएन । अतः यस्तो अवस्थामा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्र्तगत पुनरावेदन अदालत जनकपुरको फैसला उपर यस अदालतमा पुनरावेदन लाग्न नसक्ने ।
(प्र.नं. १२)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री राम प्रसाद भटृराई
प्रत्यथी तर्फबाट :
अवलम्वित नजिर : दे.पु.इ.नं. ४८, पुनरावेदक रामचलितर मण्डल विरुद्ध मुलुकी मण्डल धानुक, बृहत पूर्ण इजलासबाट मिति २०५२।१।१५ मा भएको फैसला
फैसला
न्या.मोहनप्रसाद शर्माः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. मुल पुरुष हसिलालको २ छोरा जेठा मुनिधर कान्छा सुन्दर झा भएका मुनिधरको छोरा जयकान्तको २ भाई छोरामा जेठा वासुदेव झा कान्छा म फिरादी कृष्णदेव झा हुं । वासुदेवको छोरा रामनारायण हुनु भएको । प्र. नागेश्वरी सुन्दर झाको छोरा यसोदर झा की पत्नी हुन । यसरी नागेश्वरी काकी र रामनारायण भतिजा हुन । रामनारायण नागेश्वरीको नाती नाता पर्ने हुंदा नागेश्वरीको सवभन्दा नजिकको हकदार म फिरादी हुं । प्र.रामनारायण झाले नागेश्वरीलाई आफ्नो प्रभाव पारी धर्मपुत्र कायम गरी लेखाएको धर्मपुत्रको कागज उपर मेरो उजुरी परी सो लिखत वदर भएको मिसिल प्रमाण मौजुद छ । नागेश्वरीको रेखदेख सेवा र निजको सासु परलोक हुंदा कृया समेत मैले नै गरेको छु । प्र. नागेश्वरीको अपुताली खाने हकवाला म फिरादी भएको हुंदा निजसंग कुनै किसिमको कागज गराउंदा मेरो रोहवरमा गर्नुपर्ने मेरो मन्जूरी वेगर हक छाडेको कुनै कागज गर्न गराउन नहुनेमा तपसिलमा उल्लेखित जग्गाको वकपत्रको लिखत प्र. नागेश्वरीले प्र. रामनारायणलाई मिति ०४६।११।३ र नं. ३१४४ वाट पारित गरी दिनु भएको जो कानून प्रतिकूल छ । मेरो साक्षी प्रमाण वुझी उल्लेखित र.नं. ३१४४ को वक्सपत्रको लिखतमा उल्लेखित तर्फवाट कित्ता पिच्छे आधीको लिखत वदर गरी पाउं भन्ने वादी ।
तपसिल
जिल्ला गा.पं. वा.नं. कि.नं. क्षेत्रफल तर्फबाट
महोत्तरी एकर हिया १(क) २४२ ०.५.० पूर्व
,, ,, २ ३१ ०.१.१० पश्चिम
,, ,, ,, ११६ ०.१.२ ,,
,, ,, १
गाउं व्लक भित्रको सर्भे नापी नभएको तिरो नलाग्ने वन जंगल गौचर सार्वजनिक वाटो नभएको राजवृक्ष साह हलवाई सो पूर्व सर्व नारायण झाको र किल्ला भित्रमा उत्तर दक्षिण, पश्चिमतर्फवाट ७१ फिट पूर्व तर्फवाट २४ फिट पूर्व, पश्चिम उत्तर तर्फवाट १०६ फिट दक्षिण तर्फवाट ७८ फिट लम्चा चौडाको पश्चिम मुखको सोवासी फुसको घर एकको मोल रु.१०००। मध्ये उत्तरतर्फवाट आधी ......
३. फिरादमा उल्लेखित पुस्तावारी सांचो भएकोले त्यस्मा कुनै विरोध छैन, जहांसम्म मुद्दा दायरीको प्रश्न विपक्षीलाई हामी माथि मुद्दा दायर गर्ने हकदैया नै छैन । स्त्री अंशधनको २ नं. ले आफ्नो अंश हकको चल वा अचल आफूखुस गर्न पाउने प्र.नागेश्वरीलाई पूर्ण अधिकार प्रदान गरेको छ । मेरो सम्पत्ति कसैलाई कुनै किसिमको व्यहोराले प्रदान गर्नलाई कसैले प्रतिवन्ध लगाउने कानूनमा उल्लेख छैन । विधवा म नागेश्वरीको छोरा छैन । विपक्षी मेरो छोरा हुनुहुन्न । मेरो सम्पत्ति खुख गर्नलाई विपक्षीको मंजुरी लिनुपर्ने कानूनी वाध्यता छैन । बिपक्षी आधिकारीक व्यक्ति नभएकोले मैले आफ्नो खुसीराजीले प्र. रामनारायणलाई गरिदिएको वकसपत्रको लिखत वदर गरि पाउं भन्ने वादी दावी खारेज गरी पाउं भन्ने नागेश्वरी देवी र मेरो हजुर आमा नागेश्वरीले आफ्नो हकको सम्पत्ति पारित वापत आफ्नो खुसीराजिले वकसपत्र गरिदिनु भएको छ। उक्त सम्पत्तिमा विपक्षीको कुनै हक अधिकार छैन । साथै निजको मंजुरी लिन पर्ने आवश्यकता छैन । आधी लिखत वदर गरी पाउं भन्ने वादी दावी खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्र. राम नारायणको संयुक्त प्रतिउत्तर पत्र ।
४. स्त्री अंशधनको २ नं. मा छोरा नभए सो पछिका नजिकका हकवालाको मंजुरी लिन पर्ने आवश्यक पर्ने गरी व्यवस्था भएको देखिएन । उक्त ऐनमा गरिएको व्यवस्था अनुसार स्त्रीको आफ्नो सन्तान र पति वाहेकका अरु हकवालामा स्त्री अंशधनको कुनै अधिकार रहन जाने वा पाउने भन्ने विधिकर्ताको आसय रहेको देखिदैन । अतः लिखत वदर गरी पाउं भन्ने वादी दावी पुग्न सक्तैन भन्ने म.जि.अ को ०४७।१०।१० को फैसला ।
५. मैले प्र.नागेश्वरीको सेवासुसार गरी राखेको मात्र हैन आफ्नो घरमा खाना खर्च औषधोपचार गराई राख्न परेको हुंदा मेरो दावी नपुग्ने भनि शुरुले फैसला गरेकोमा चित वुझेन भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
६. वादीको मंजूरी नलिई गरेको सम्पूर्ण लिखत वदर हुने ठहर्याएको शुरुको इन्साफ फरक पर्ने देखिएकोले अ.वं. २०२ नं. वमोजिम बिपक्षी झिकाउने भन्ने पुनरावेदन अदालत जनकपुरको आदेश ।
७. नालेश गर्ने हकदैया नै नभएको व्यक्तिको फिरादपत्र खारेज गर्नु पर्नेमा शुरुले इन्साफ गरेको हुंदा शुरुको मिति २०४७।१०।१० को फैसला उल्टी हुन्छ र हकदैया विहिन व्यक्तिको फिराद दावा नै अ.वं. ८२ नं. ले खारेज हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत जनकपुरको फैसला ।
८. पुनरावेदन अदालत जनकपुरको फैसलामा चित्त वुझेन सो फैसला वदर गरी इन्साफ पाउं भन्ने समेतको वादी कृष्णदेव झाको पुनरावेदन ।
९. वादी प्रतिवादी एका सगोलमा नवसी भिन्न भै वसेको र वादी प्रतिवादीको छोरा होइन भन्ने कुरामा विवाद नभै दुवै पक्षले स्वीकार गरेको हुंदा वादीलाई अ.वं. ८२ नं. वमोजिम नालेश गर्ने हकदैया नै नभएको अवस्थामा नालेश खारेज गर्नुपर्नेमा इन्साफ गरेको शुरुको फैसला उल्टी गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मनासिव ठहर्छ भन्ने समेत व्यहोराको मा.न्या. श्री ओमभक्त श्रेष्ठको राय र जिल्ला अदालतको वादी दावी नपुग्ने फैसला उल्टाइ खारेज गर्ने गरेको पु.वे.अ. जनकपुरको फैसलामा तात्विक भिन्नता नरहेकोले यस अदालतमा पुनरावेदन लाग्न सक्ने देखिएन । न्या.प्र.ऐन, २०४८ को दफा ९(१)(ग) अन्र्तगत पुनरावेदन नलाग्ने हुंदा प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ ।, पु.वे.अ. जनकपुरको कार्यविधिगत त्रुटिले गर्दा प्रस्तुत पुनरावेदन दायर भएको हुंदा आजका मितिले ७ दिन भित्र न्या.प्र.ऐन, २०४८ को दफा १२ अन्र्तगत निवेदन दिए लिइने कुराको जानकारी पाएको कागज गराई निवदेन परेमा लिई कानून वमोजिम गर्नु भन्ने मा.न्या. श्री केदारनाथ उपाध्यायको छुट्टै राय समेत भएको यस अदालत संयुक्त इजलासको मिति ०५१।४।१६ को राय वाझी फैसला ।
१०. प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री राम प्रसाद भटृराईले नागेश्वरी देवी होस ठेगानामा नभएको अवस्थामा निजको कागज गराएको यस्तो अवस्थामा हकवाला पुनरावेदकको मंजुरी वेगर गराएको कागज अ.वं. २४ नं. वमोजिम वदर भागी छ भनी गर्नु भएको वहस समेत सुनियो ।
११. यसमा प्रतिवादी मध्येकी नागेश्वरीले प्र. राम नारायणलाई मिति २०४६।११।३ मा गरि दिएको वकसपत्रको लिखत मध्ये आधा लिखत वदर गरी पाउन यी पुनरावदकले नालेस दिएकोमा शुरु जि.अ.ले वादी दावी पुग्न नसक्ने भनि फैसला गरेकोमा पुनरावेदन अदालत जनकपुरले वादी प्र. नागेश्वरीको छोरा नभएको हुंदा वादीलाई नालेस गर्ने हकदैया नै नभएवाट फिराद खारेज हुन्छ भनि गरेको फैसला उपर प्रस्तुत पुनरावेदन परेको देखिन आयो ।
१२. न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) को खण्ड (ग) ले शुरु निर्णय उपर पुनरावेदन अदालतले पुनरावेदन सुनी गरेको निर्णयमा तात्विक भिन्नता भएको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरेवाट शुरु फैसला र पुनरावेदन अदालतको फैसलामा तात्विक भिन्नता भए नभएको हेर्नलाई उक्त फैसलाहरुले परिणामतः विवादित विषयमा कस्तो असर पारेको छ भन्ने कुरा नै मुल रुपमा हेर्नु पर्ने देखियो । तसर्थ, वादी दावा नपुग्ने भन्ने शुरु फैसला र वादीको नालेस गर्ने हकदैया नभएको भनि फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा तात्विक भिन्नता भए नभएको कुरा मुद्दा मुद्दाको परिप्रेक्ष्यमा मात्र विचार हुन सक्ने हुन आउंछ । प्रस्तुत मुद्दाको सम्वन्धमा हेर्दा शुरु महोत्तरी जिल्ला अदालतले स्त्री अंशधनको महलको २ नं.ले छोरा नहुने विधवा स्त्रीको लागि हकवाला वा अरु कसैको मंजुरी लिनु पर्ने कानूनी वाध्यता नरहेकोले लिखत वदर गरी पाउं भन्ने वादी दावा पुग्न नसक्ने ठहर्छ भनी फैसला गरेको देखिन्छ भने पुनरावेदन अदालत जनकपुरवाट स्त्री अंशधनको २ नं. ले प्र. नागेश्वरीको छोरा नहुंदा वादीलाई नालेस गर्ने हकदैया नै नहुंदा फिराद खारेज गर्नुपर्नेमा शुरुले इन्साफ गरेको उल्टि हुन्छ । हकदैया विहीन व्यक्तिको फिराद खारेज हुने ठहर्छ भनी शुरु जिल्ला अदालतले अगांलेको स्त्री अंशधनको महलको २ नं. कै आधारमा फिराद खारेज गरेको देखिन आयो । यसर्थ जुन कानूनको आधारमा शुरुले वादी दावी नपुग्ने ठहर्याएको हो त्यहि कानूनको आधारमा पुनरावेदन अदालतले वादीको नालेस गर्ने हकदैया छैन भनी फिराद खारेज गरेवाट यी दुइ अदालतहरुको फैसलामा उद्घोषणात्मक रुपमा भिन्नता देखिएतापनि तात्विक असर केही परेको छ भन्न सकिने अवस्था भएन । अतः यस्तो अवस्थामा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्र्तगत पुनरावेदन अदालत जनकपुरको फैसला उपर यस अदालतमा पुनरावेदन लाग्न सक्ने अवस्था देखिएन । दे.पु.इ.नं. ४८ पुनरावेदक राम चलितर मण्डल विरुध्द मुलुकी मण्डल धानुक भएको लेनदेन मुद्दामा वृहत पूर्ण इजलासवाट मिति ०५२।१।१५ मा भएको फैसला समेतवाट यी पुनरावेदकलाई मुद्दा दोहर्याई पाउं भन्ने निवेदन दिन मौका दिनु पर्ने अवस्था समेत नभएवाट ७ दिने म्याद दिने भन्ने कुरा वाहेक पुनरावेदन खारेज हुने ठहरयाएको माननीय न्यायाधीश श्री केदारनाथ उपाध्यायको राय मुनासिव ठहर्छ ।
उक्त रायमा हामी सहमत छौं ।
न्या. गोविन्दवहादुर श्रेष्ठ
न्या. इन्द्रराज पाण्डे
इति सम्वत २०५२ साल आषाढ २ गते रोज ६ शुभम् .....