शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७८१ - लिखत नामसारी वदर

भाग: ४१ साल: २०५६ महिना: पौस अंक:

निर्णय नं. ६७८१     ने.का.प. २०५६ अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा

संम्वत २०५३ सालको दे.पु.नं. .... ३५७४

फैसला मिति : २०५६।१।६।२

 

मुद्दाः लिखत नामसारी वदर ।

 

पुनरावेदक

प्रतिवादी : जिल्ला इलाम मोहमफुवा गा.वि.स. वडा नं. ३ वस्ने रामलक्ष्मी राई समेत

विरुद्ध

विपक्षी

वादी : ऐ.ऐ. वस्ने टिकामाया राई समेत

 

§  सगोलको अंशियारा नभएको व्यक्तिले वादीको मन्जूरी लिएरमात्र जग्गा विक्रि गर्नु पर्ने भन्न मिल्ने नदेखिई यि प्र. रामलक्ष्मीले आफ्नो हक भोगको आफूखुश गर्न पाउने जग्गा विक्रि गरेकोले वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु इलाम जिल्ला अदालतको फैसला मिलेकै देखियो । अतः वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरुको फैसला उल्टी गरी वादी दावीको ३ खण्डको १ खण्ड लिखत वदर गर्ने गरेको पुनरावेदन अदालत, इलामको मिति २०५१।९।७को फैसला गल्ती भई उल्टी हुने ।  

(प्र.नं.२०)

 

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिकृण कार्की 

विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री महेन्द्रकान्त मैनाली

अवलम्वित नजिर :

 

फैसला

      न्या.केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।

      २.    माइला मानवहादुर ०१९ सालमा छुट्टी भिन्न भै वसेको र हामी जेठा दाजु सिंहविर साथ रहि सगोलका जग्गाहरु सगोलबाटै भोगचलन गरी आएका हामी फिरादीहरुको समेत हक अंश लाग्ने जग्गा जेठा दाजु र केही जग्गा भाउजु रामलक्ष्मीका नाउंमा दर्ता गरी सगोलबाटै भोगी आउदैमा दाजु सिंहविर परलोक हुनु भै दाजु दर्ताको जग्गा पनि भाउजुकै नाउंमा नामसारी गरी गोश्वरावाटै भोगी आएका जग्गा हामीलाई थाहा पत्ता नदिइ हाम्रो हक मेटि कि.नं. ५८ रो. १२¬३-०-० र कि.नं. ५६ रो. ६-८-० को जग्गा मुल्य रु. पच्चिस हजार देखाई ०४६।३।१६ मा र  कि.नं. ५७ रो. १८-१४-२-० र कि.नं. १९७ रो.४-५-२-० को मुल्य रु. दुई लाख देखाई ०४६।८।२७ मा विक्रेता भाउजु लछीमाया र क्रेता पदमप्रसाद भई पारीत गराई नामसारी समेत गराएको हुनाले म टिकामाया ३५ वर्ष नाघी सकेको हुनाले अंशवण्डाको १६ नं. वमोजिम अंश पाउने प्रष्ट छ भने म धनवहादुरले ऐ.को. १ नं. वमोजिम वण्डा पाउने प्रष्ट छ, त्यसरी हामी अंशियारको सगोलको सम्पत्ति वेच विखन गर्दा हामी एका घरका अंशियारलाई साक्षी राखि वा मन्जूरीको लिखत गराई लिइ वेचविखन गरेको भएमात्र पक्का ठहर्ने लेनदेन व्यवहारको १० नं. मा प्रावधान छ  भने सो को प्रतिकूल हामीलाई थाहा नदिई हाम्रो हक मेटी राजिनामा पारीत गराएको हुंदा उल्लेखित दुई लिखतमा उल्लेखित कित्ता नं. तथा क्षेत्रफलका जग्गा मध्ये ३ भागको दुई भाग हाम्रो अंश हक लाग्ने हदसम्म लिखत र नामसारी समेत वदर गराई पाउं भन्ने समेत व्यहोराको ०४६।११।९ को फिराद पत्र ।

      ३.    जसवहादुरको ३ भाई छोराहरुको वीचमा अंशवण्डा भई अलग अलग जग्गा दर्ता र तिरो भरो समेत अलग अलग गरी मेरा पति सिंहविर छुटृी भिन्न भएको कुरा ०२१ सालको अंशवण्डाको लिखत कागज र मिति ०२७।१२।६ मा मनवहादुर राईबाट मेरा पति सिंहविरले राजिनामा गरी लिएको लिखतबाट पनि प्रष्ट हुन्छ । उक्त लिखतमा धनवहादुर राईको अंश भागमा परेको जग्गा मैले व्यहोरा जनाई विपक्षी स्वयम फड्के साक्षीमा वस्नू भएको र, मनबहादुर राईबाट मेरो पति सिंह विरले राजिनामा गरी लिएको २०२८।४।१ को  लिखतमा समेत विपक्षी धनबहादुर राई फड्केमा साक्षी वस्नू भएको छ । यसबाट पनि वादी प्रतिवादी वीचमा अंशवण्डा भई सकेको रहेछ भन्ने कुरा प्रष्ट हुन आउंछ । मेरा पतिले ०२३ सालमा ७ नं. फाराम छट्टै भरेबाट चन्द्रवहादुर राईबाट मेरो पति सिंहविरले मिति ०३६।५।२५ गते गरी लिएको राजिनामाको लिखत एवं विपक्षी धनवहादुर राईले रामवहादुर राईलाई र मनवहादुर राईले राजवहादुरलाई क्रमशः मिति ०३६।८।१३ र ०४३।१२।१८ गते आफ्ना नामको जग्गा दर्ता गरी विक्रि गरेको राजिनामा लिखत कागजबाट पनि वादी प्रतिवादी वीचमा अंशवण्डा भइसकेको कुरा प्रमाणित हुन आउंछ । साथै विपक्षीका नाउंमा जग्गा दर्ता भई निजैले भोगचलन गरी आएको हुनाले पैत्रिक सम्पत्ति जग्गा जमीन अलग अलग दर्ता गरी विक्री व्यवहार समेत भएको व्यवहार प्रमाणबाट अंशवण्डा भइसकेकोले फिरादी सगोलको अंशियार नहुंदा आफूखुस गर्न पाउने हुंदा वादीहरुको मन्जूरी लिनु नपर्ने र म छुटृी भिन्न भैसकेको संग वादी टिकामायाले म संग अंश खोज्न पाउने होइन अंश खोज्नु परे धनबहादुर मानबहादुर संग अंश खोज्नु पर्ने हुंदा मैले विक्रि गरेको लिखत दर्ता नामसारी वदर हुने होइन भन्ने समेत व्यहोराको प्र. रामलक्ष्मी राइनीको ०४६।११।२४ को प्रतिउत्तर पत्र ।

      ४.    प्र. रामलछीका लोग्ने सिंहवीर जेठा माइला मनवहादुर, साइला फिरादी धनवहादुर समेत ३ भाई हुन, निजहरु सर्भे नापी अगावै छुटृी भिन्न भएका हुन, धनवहादुरले पनि आफ्नो दर्ताको जग्गा राम कुमारलाई राजिनामा पास गरी दिएका छन, त्यसबाट समेत वादीहरु छुटृी सकेको भन्ने प्रष्ट देखिएको छ हक पुग्ने व्यक्तिले दिएको जग्गाको लिखत र दर्ता छुटिृएका व्यक्तिले ऊजूर गर्दैमा वदर हुन सक्ने होइन भन्ने समेत व्यहोराको ०४६।१२।२० को पदमप्रसाद राईको प्रतिउत्तर पत्र ।

      ५.    प्रतिवादीबाट पेश भएको ०२१।९।२ को घरवारी वण्डापत्र र ०२८।४।१ का रु.१५०। को र ०२७।१२।६ को घरसारी लिखत समेत फिराद  गर्नु अगाडिको मिति पारी कलमी र साक्षी समेत मिलि जालासाजबाट खडा गरेका हुन भन्ने समेत व्यहोराको वादी वा. हरि प्रसादले ०४७।४।१६ मा गरेको   वयान ।

      ६.    मैले पेश गरेको घरसारको वण्डापत्र र राजिनामा लिखतहरु समेत लेखत लेखिएकै मितिमा सद्दे व्यवहारबाट लेखि तयार भएका लिखतहरु हुन, जालसाजबाट खडा गरेको लिखत होइन भन्ने समेत व्यहोराको ०४७।४।१६ को प्र. वा कृष्णप्रसादले गरेको वयान ।

      ७.    प्र. वाट प्रमाण निमित्त पेश भएका ०२१।९।२, ०२७।१२।६ र ०२८।४।१ का लिखतहरुलाई वादीले जालसाज भनि गरेकाले सो लिखतका लिखत साक्षी अन्तरसाक्षी समेतलाई प्रतिवादी सरह वुझी पेश गर्नु भन्ने ०४७।७।१ को आदेश ।

      ८.    धनवहादुरको भाग अंशको जग्गा जेठा सिंहविरले किन्ने भएकोले म समेतलाई साक्षी वसी दिनु भन्दा तमसुक लेख्ने रामवहादुरकै घरमा वसी ०२७।१२।६ मा रामवहादुरले तमसुक लेखि सो तमसुकमा यिनै वादी धनवहादुर समेतले राजीखुशीले सहिछाप गरी दिएका लिखत हुन र म समेत साक्षी वसेको हुं जालसाजबाट खडा गरेको लिखत नभै सद्दे लिखत हुन भन्ने समेत व्यहोराको बुझिएका प्र. वौद्धसिं राईले अदालतमा गरेको वयान ।

      ९.    ०२१।९।२ को सक्कल वण्डापत्र  खडा हुंदा वादी धनवहादुर नावालख भएपनि निजकै वावुको संरक्षकमा वण्डापत्र मैले लेखि दिएको हुं ०२७।१२।६ को लिखत र ०२८।४।१ को लिखत समेत सद्दे व्यवहारबाट खडा भएको लिखत हुन, मलाई लेख्न लगाएकोले मैले लेखी दिएको हुं सवै लिखत सद्दे हुन भन्ने समेत व्यहोराको प्र. रामवहादुर राईले अदालतमा गरेको वयान ।

      १०.    प्र. वाट पेश भएका वण्डापत्र सद्दे व्यवहारबाट भएकोले म समेत सो वण्डापत्रमा साक्षी वसी दिएको हुं जालसाजबाट खडा गरेको होइन भन्ने समेत व्यहोराको वण्डामा साक्षी वस्ने प्र. सिंहविर राईले गरेको वयान ।

      ११. व्यवहार प्रमाणबाट जसवहादुरका छोराहरुको वण्डा भै सकेको देखिने र अविवाहिता छोरी वादी टिकामायाले अंश पाएको अवस्था नदेखिंदा टिकामायाले अंशमा दावी लिएका वखत ठहरे वमोजिम हुने नै हुंदा प्र. रामलक्षीको पति छुटृी भिन्न भै सकेको र पतिको अंशको जग्गा आफ्नो नाममा नामसारी दर्ता गराई हक कायम गराएको देखिंदा वादीको मन्जूरी लिई जग्गा विक्रि गर्नुपर्ने नदेखिएकोले प्र. रामलक्ष्मीले आफ्नो हक पुग्ने जग्गा प्र. पदमप्रसाद राईलाई विक्रि गरेको देखिंदा लिखत वदर हुन नसक्ने भै लिखत सदर रहने भएकोले लिखत दर्ता वदर गरी पाउं भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ । ०२१ सालको वण्डापत्र ०२७ र ०२८ सालको घरसारे लिखतलाई वादी पक्षले जालसाजी भनि दावी लिए तर्फ हेर्दा ०२१ सालको वण्डापत्र लिखत सद्दे देखिंदा वादीको जालसाजी तर्फको वयान दावी नपुग्ने ठहर्छ । ०२७ र ०२८ सालको घरसारे लिखत पारीत नभएको हुंदा त्यस्तो कानूनी अस्तित्व नभएकोले जालसाज वा सद्दे छुटर्‍याई रहनु नपर्ने ठहर्छ भन्ने ०४९।१०।५ को इलाम जिल्ला अदालतको फैसला ।

      १२.   वादी दावी नपुग्ने ठहराएको शुरुको इन्साफ वदर गरी दावि अनुसार लिखत र दर्ता वदर गरी पाउं भन्ने समेत वादी टिकामाया राई समेतको पु.वे.अ.मा परेको पुनरावेदन पत्र ।

      १३.   शुरुले टिकामायाको हकम अंशमा दावी लिएको वखत ठहरे वमोजिम हुने भनि गरेको इन्साफमा अंशवण्डाको १६ नं.. र लेनदेन व्यवहारको १० नं. को त्रुटी देखिएकोले अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पु.वे.अ. वाट भएको आदेश ।

      १४.   वादीहरु र प्र. सिंहविरकी श्रीमतीको वीचमा नातामा विवाद नदेखिई अंशियार देखिएको र जुनसुकै अंशियारका नाममा दर्ता रहेको भए पनि अन्यथा प्रमाणित नभए सम्म सवै अंशियारको हक लाग्ने हुंदा विवादित जग्गा अर्थात प्र. रामलक्ष्मीले प्र. पदमप्रसादलाई ०४६।३।१६ र ०४६।८।२७ मा राजिनामा गरिएको कि.नं.. ५८, ५६ र ५७ तथा १९७ को जग्गामा वादीको पनि अंश लाग्ने देखिएकोले वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको इन्साफ उल्टी हुने भै वादीको हक जति अर्थात सो जग्गाको ३ खण्डका २ खण्ड लिखत वदर भई प्र. पदमप्रसादको नाममा भएका नामसारी दर्ता समेत त्यति हदसम्म वदर भई वादीको नाममा दर्ता हुने ठहर्छ भन्ने समेत व्यहोराको २०५१।९।७।५ मा पुनरावेदन अदालत इलामबाट भएको फैसला ।

      १५.   धनवहादुरको नाममा हालसम्म पनि त्यत्रो जग्गा कुन श्रोतबाट आयो उक्त जग्गा जमीन पैत्रिक सम्पत्ति होइन भनेर विपक्षी धनवहादुरले भन्न नसकेको अवस्थामा सिंहविर र धनवहादुरको भोग विक्रि व्यवहार पृथक भइ रहेको पुष्टि भइरहेको छ । फिरादको प्रकरण नं. २ मा मनवहादुर ०१९ सालमा छुटिृएको भनेर लेखिएको छ । वण्डाको कागज छैन तर पनि अंशवण्डा भएको कुरामा मुख मिलेको छ । सिंहविरको मृत्युपछि रामलक्ष्मीले अरु कोही हकदार नभएको केवल आफू मात्र हकदार भएको भनी सिंहविरको नाम दर्ताको जग्गा नामसारी गरी लिंदा सोही व्यहोराको सिफारिश गा.वि.स.ले गरेकोमा यी वादीहरुको सो कुरा थाहापाई चुपचाप वसेबाट समेत पुनरावेदन अदालतको उल्लेखित निर्णय वदर गरी इलाम जिल्ला अदालतको फैसला सदर राखि पाउं भन्ने समेत व्यहोराको रामलक्ष्मी राई र पदमप्रसाद राई समेत जना २ को यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

      १६.    यसमा २०२१।९।२ मा भएको धरसारको वण्डापत्रमा वादी धनवहादुर समेतको सहिछाप भएपछि उक्त लिखतको वैधतावारे टुंगो लगाउनु पर्नेमा पु.वे.अ. इलामबाट रजिष्ट्रेशन पारीत नभएको सम्म उल्लेख गरी फैसला भएको छ । अंशवण्डाको ३० नं. ले २०३४।९।२७ अघिको पारीत नभएको घरसारको वण्डापत्रले पनि अंशवण्डा भए नभएको प्रयोजनको लागि मान्यता पाउने हुंदा रजिष्ट्रेशन पारीत नहुंदैमा त्यसको औचित्यतर्फ विचारै गर्नु नपर्ने होइन । साथै धनवहादुर, मनवहादुरले आ आफ्नो जग्गाहरु विक्रि व्यवहार गर्ने गरेको कागजात पेश भएको सन्दर्भमा धनवहादुर समेतको अंश भएको छैन भनि निजको भाग वदर गर्ने ठहर्‍याएको पुनरावेदन अदालत इलामको निर्णय नमिलेको हुंदा अ.वं. २०२ नं. वमोजिम छलफललाई विपक्षी झिकाई नियम वमोजिम पेश गर्नु भन्ने २०५४।१२।४।३ मा यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।

      १७.   नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी पक्षबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्कीले पुनरावेदिका रामलक्ष्मीका पति सिंहविर २०२१ सालमै छुटृी भिन्न भइसकेको २०२१ सालको वण्डापत्रको लिखतवाट देखिएको छ । सो लिखत सद्दे ठहरिएको छ ७ नं.फांटवारीबाट पनि अलग अलग भएको देखिएको छ । टिकामाया वण्डा हुंदा ३५ वर्ष पुगेकी छैनन्, छुटृी भिन्न भएको व्यक्तिले अंश दिनु पर्दैन, टिकामायाले अंश पाएकै खण्डमा पनि ४ भागको १ भाग पाउने हो सो भन्दा वढी हुन सक्ने स्थिति छैन । पुनरावेदन अदालतको इन्साफ उल्टी भई इलाम जिल्ला अदालतको इन्साफ सदर कायम रहनु पर्छ भनी वहस प्रस्तुत गर्नुभयो । विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महेन्द्रकान्त मैनालीले २०२१ सालको अंशवण्डाको कागजातलाई मान्यता नदिएको कारणबाट ३ भागको १ भाग वदर हुने स्थिति छ, विपक्षीले पुनरावेदनको प्रकरण ३ क मा वरावर अंश नभएको कुरामा स्वीकारोक्ति छ, वावु आमा जीवित हुंदै अंश दिन मुख्य दायित्व भएका वावुसंग वण्डा गर्नु पर्नेमा सो नभएको स्थितिमा सो वण्डालाई कसरी स्वीकार्ने ? अंश लिनु पर्ने व्यक्ति सिंहविर र धनवहादुर वांकी रहेपछि निजहरुवाटै टिकामायाले अंश पाउनु पर्ने हो अघि नै छुटिृई सकेको व्यक्तिबाट अंश पाउनु पर्ने होइन ।  अतः पुनरावेदन अदालतको इन्साफ सदर हुनु पर्छ भनि वहस गर्नुभयो ।

      १८.   दुवै पक्षबाट उपस्थित विद्वान कानून व्यवसायीहरुको वहस जिकिर समेत सुनी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ ? सो को निर्णय दिनु पर्ने हुन आएको छ ।

 

      १९.    यसमा हामीहरुले अंश पाइ नसकेको र सगोलको सम्पत्तिबाट सिंहविरका नाममा समेत दर्ता गराई सगोलमा भोगी आएकोमा सिंहविरको मृत्यु पश्चात भाउजु प्र. रामलक्ष्मीको नाममा नामसारी भएको हाम्रो समेत हक लाग्ने कि.नं. ५८, ५६, ५७ र १९७ को जग्गा प्र. रामलक्ष्मीले पदमप्रसादलाई राजिनामा गरी दिएकोले ३ खण्डको २ खण्ड वदर गरी पाउं भन्ने फिराद दावी र ०२१ सालमा नै वण्डा भै मेरो पति सिंहवीरको एकलौटी हकको भएको जग्गा विक्री गरेको हुंदा लिखत वदर हुनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर देखिन्छ । लिखत वदर गरी पाउं    भन्ने वादी दावी नपुग्ने ठहरी शुरुवाट फैसला भएको र शुरुको इन्साफ उल्टी भई ३ खण्डको २ खण्ड लिखत वदर हुने ठहरी पुनरावेदन अदालतबाट भएका फैसला उपर प्रतिवादीको पुनरावेदन पर्न आई निर्णय सुनाउन आजको तारेख तोकी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको रहेछ ।

      २०.   यसमा २०२१।९।२ को अंशवण्डाको लिखतबाट यि प्रतिवादी रामलक्ष्मीका पति सिंहविरले आफ्नो भागको अंश लिई छुटृी भिन्न भएको देखिएको र २०२३।११।२०  मा भरेको ७ नं. फांटवारी हेर्दा दर्ता  रतनवहादुर राई बडा वावु गरी वावु जसवहादुर राईको हक हुन आएकोमा निजको छोरालाई अंश पर्न आएको भनी जग्गावालाको नाम सिंहवीरलाई लेखिएको देखिन आएबाट समेत सिंहवीर २०२१ सालमा छुटिृ भिन्न भएको कुरा थप पुष्टि हुन आउंछ । मालपोत कार्यालय इलामबाट प्राप्त जग्गाधनी दर्ता श्रेस्तामा मनवहादुर र धनवहादुरका नाममा जग्गा दर्ता रही मनवहादुर राई र धनवहादुर राईका नाममा मात्र सगोलको जग्गा संयुक्त रुपमा दर्ता भएको देखिन्छ । सिंहविरको मृत्यु पश्चात निजको श्रीमती रामलक्ष्मी राईले सिंहविरका नाउंको जग्गा एकलौटी हकको देखाई मालपोत कार्यालयमा निवेदन दिई आफ्ना नाउंमा जग्गा नामसारी गरेबाट समेत सिंहविर अघि नै छुटिृ भिन्न भई अलग वसेको देखिन आएवाट  वादी  प्रतिवादी सगोलका अंशियारा देखिएनन् ।

सगोलको अंशियारा नभएको व्यक्तिले वादीको मन्जूरी लिएरमात्र जग्गा विक्रि गर्नुपर्ने भन्न मिल्ने नदेखिई यि प्र. रामलक्ष्मीले आफ्नो हक भोगको आफूखुश गर्न पाउने जग्गा विक्रि गरेकोले वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु इलाम जिल्ला अदालतको फैसला मिलेकै देखियो । अतः वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरुको फैसला उल्टी गरी वादी दावीको ३ खण्डको १ खण्ड लिखत वदर गर्ने गरेको पुनरावेदन अदालत, इलामको मिति २०५१।९।७को फैसला गल्ती भई उल्टी हुने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

      माथि इन्साफ खण्डमा ठहरे वमोजिम वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरुको फैसला उल्टी गरी वादी दावीको ३ खण्डको २ खण्ड लिखत वदर गर्ने गरेको पुनरावेदन अदालत इलामको फैसला उल्टी हुने ठहरेकाले पुनरावेदन अदालतले दावीको ३ खण्डको २ खण्ड जग्गा वादीहरुका नाउंमा दा.खा. गरी दिन भनि शुरु जिल्ला अदालतमा दिएको लगत कायम राख्नु परेन उक्त लगत कटृा गर्न शुरु इलाम जिल्ला अदालतमा लेखि पठाउनु ..... १

मिसिल नियमानुसार गरी बुझाई दिनु .... २

 

उक्त रायमा म सहमत छु ।

 

न्या. कृष्णकुमार वर्मा

 

इति संवत् २०५६ साल वैशाख ६ गते रोज २ शुभम् ......................................... ।

                 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु