शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७८५ - लिखत वदर

भाग: ४१ साल: २०५६ महिना: पौस अंक:

नि.नं. ६७८५        ने.का.प. २०५६ अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री टोपवहादुर सिंह

संम्वत २०५२ सालको दे.पु.नं. .... २८४०

फैसला मिति : २०५५।१२।१२।६

 

मुद्दाः लिखत वदर ।

 

पुनरावेदक

वादी : भक्तपुर जिल्ला वाल कुमारी गा.वि.स. वडा नं. ७ वस्ने खड्ग कुमार नानी श्रेष्ठ समेत

विरुद्ध

प्रत्यर्थी

प्रतिवादी : भक्तपुर जिल्ला वाल कुमारी गा.वि.स. वडा नं. २ वस्ने जगतवहादुर मानन्धर समेत ।

 

§  मुलुकी ऐन, लेनदेन व्यवहारको ४० नं. को व्यवस्था हेर्दा हदम्याद लाग्दैन भनेको कुरामा वाहेक अरुमा भए गरेका मितिले २ वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्थाबाट लिखत भए गरेका मितिले २ वर्ष भित्र नालेस गर्न पाउने र दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था समेत भएबाट विवाद जग्गाको २०३८।१।१७ को राजिनामाको लिखत वदर गराई पाउं भनि वादीको नालेस दुई वर्ष नघाई २०४७।१२।२६ मा परेको देखिएको छ । यसरी दुई वर्षको हदम्याद नघाई दायर भएको प्रस्तुत मुद्दा लेनदेन व्यवहारको ४० नं. भित्रको भन्न मिलेन त्यस्तो हदम्याद नघाई दायर भएको मुद्दाको औचित्यमा प्रवेश गरी रहनु पर्ने अवस्था भएन ।प्रस्तुत फिराद हद म्यादको अभावमा खारेज  हुने ।

(प्र.नं. १३)

पुनरावेदक वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर

प्रत्यर्थी प्रतिवादीको तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराम श्रेष्ठ

अवलम्वित नजिर :

 

फैसला

      न्या.टोपबहादुर सिंहः पुनरावेदन अदालत पाटनको मिति २०५०।३।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्र्तगत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा ठहर यसप्रकार छ ।

      २.    पुर्खा देखिको हामीहरुको स्ववासी हकभोगको घर र पाताल देखि दक्षिण तथा कृष्णमान दुवालको घर देखि उत्तरतर्फको पूर्व पश्चिम लम्वाईको पूर्व वाटो, पश्चिम म दिल कुमारको वगैचा उत्तर विपक्षी जगतकुमार कर्मि श्रेष्ठको वगैचा दक्षिण, जोतीमानको घर यति चार किल्ला भित्रको पूर्व पश्चिम हात ४० र उत्तर दक्षिण हात ७ को घर पाताल जग्गा हक नपुग्ने विपक्षी जगतवहादुर मानन्धरले आफ्नो हक भोगचलनको भनि मिति २०३८।१।१७ का दिन मालपोत कार्यालय भक्तपुर मार्फत विपक्षी जगत कुमार कमी श्रेष्ठलाई राजिनामा पारीत गरी लिनु गरेको र राजिनामा पारीत गरी लिए पनि जग्गामा भोग नगरी लिखत समेत प्रकाशमा नल्याई गुप चुप राखेको र विपक्षी जगत कुमार कर्मी श्रेष्ठले २०४७।१२।४ मा पातालको पूर्व कुनाको परखाल भत्काई हात हाल्न आई रोकी सोध्दा राजिनामा गरेको थाहा भइ नक्कल सारी फिराद गर्न आएको छौं । विपक्षीहरुले लिनु दिनु गरी पारीत गरेको उल्लेखित मिति २०३८।१।१७ को लिखत वदर गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावि ।

      ३. विपक्षीहरुको स्ववासी हक भोगचलनको भनेको घर र पाताल अनी मैले निज प्रतिवादी मध्येका जगतवहादुर मानन्धरसंग उक्त राजिनामा पारीत गरी लिएको घर पाताल अलग अलग को हो । त्यसैले उक्त राजिनामा पारीत गरी लिएको घर पाताल जग्गामा विपक्षी फिरादीहरुको कुनै किसिमको हकदैया नै छैन । फिराद खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी जगतकुमार कर्मी श्रेष्ठको प्रतिउत्तर जिकिर ।

      ४.    २०३८।१।१७ मा म वाट खरीद गरी प्र. मध्येको जगतकुमारले भोगचलन गरी घर समेत बनाई बसोवास गरी आएको देख्ने थाहा पाउने कुरालाई वुझ पचाई विपक्षीहरुको कहिल्यै कुनै हक नभएको तत्काल मेरो एकलौटी हक भोगको घर पाताल जग्गा विधिवत राजिनामा पारीत गरी दिएको २०३८।१।१७ को लिखत वदर हुन सक्दैन । खरिदकर्ता प्र. मध्येका जगतकुमार कर्मी श्रेष्ठले भोगचलन गरी आएको धेरै वर्षपछि आएर मलाई समेत दु:ख कष्ट दिने दुराशयले प्र्रेरीत भएर दायर गरेको विपक्षीहरुको फिराद खारेज गरी हक नपुग्ने दावी गरेमा निजहरुलाई सजाय समेत गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी जगतवहादुर मानन्धरको प्रतिउत्तर जिकिर ।

      ५.    विवादित जग्गाको वादीको उल्लेख गरेको ४ किल्लासंग नभिडेको वादीको जग्गा हो भन्ने कुराको प्रमाण वादीले पेश गर्न नसकेको र जुन जग्गा २०३८ सालमा विक्रि भएको छ सो जग्गामा वादीको हक रहे भएको नदेखिएको हुंदा राजिनामा वदर गरी पाउं भन्ने वादी दावि पुग्न सक्दैन भन्ने भ.पु.जि.अ.को ०४९।१।९ को  फैसला ।

      ६.    वादी दावी नपुग्ने भई राजिनामा लिखत वदर नहुने ठहराई भएको भ.पु.जि.अ. को उक्त फैसलामा चित्त वुझेन । सो फैसला वदर गरी फिराद दावि वमोजिम गरी पाउं भनि वादीले पुनरावेदन अदालतमा २०४९।२।२७ मा दिएको पुनरावेदन पत्र ।

      ७.    शुरुको फैसला विचाराणिय हुंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाउनु  भन्ने पुनरावेदन अदालत पाटनको मिति ०४९।११।३ को आदेश ।

      ८.    यसमा मिति २०४८।१।१७ मा जगतवहादुरले जगत कुमारलाई राजिनामा गरी दिएकोमा सो लिखत वदर गर्न लेनदेन व्यवहारको ४० नं. को हदम्याद कायम गरी मिति २०४७।१२।२६ मा मात्र फिराद दायर भएको देखिन्छ । पुनरावेदकले फिरादमा उल्लेख गरेको चार किल्ला र १९८३, १९८४ र २००५ सालको लिखतको चार किल्लाको जग्गा एउटै हो भन्ने कुरा वादी पुनरावेदकले प्रमाणित गर्न सकेको देखिदैन । प्रतिवादीको साक्षीको वकाइबाट विवादित जग्गा प्रतिवादीले राजिनामा गरी लिएपछि भोगी आएको भनि वकपत्र गरेको देखिन्छ । सो जग्गा वादी पुनरावेदकको भोग भएको सवुद पनि पुर्‍याउन नसकेकोले लिखत वदर गरी पाउं भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरुको इन्साफ मनासिव हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन ।

      ९.    पुनरावेदन अदालत, पाटनको उक्त फैसलामा चित्त वुझेन वादीले पेश गरेको १९८३ १९८४ र २००५ सालको लिखतहरुबाट र प्रतिवादी जगत कुमार कर्मी श्रेष्ठले गराई लिएको मिति २०४६।५।२६ को लिखतबाट पनि मिति २०४८।१०।८।४ को नक्साको यो विवाद न.नं. ११ र १२ को घर पाताल वादीहरुको हक भोगमा रहेको देखिंदा देखिंदै चार किल्ला प्रमाणित गराउन नसकेको भनि वादीलाई हराएको त्रुटीपूर्ण फैसला वदर गरी फिराद दावि वमोजिम गरी पाउं भन्ने समेतको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र । 

      १०.    यसमा फिरादको प्रकरण २ मा पूर्व वाटो, पश्चिम दिल कुमारीको वगैचा, उत्तर विपक्षी जगतवहादुरको वगैचा, दक्षिण जोतिमानको घर भन्ने जनिएकोमा शुरुको फैसलाले नक्सामा किल्ला भिडाउंदा उत्तर वाटो पूर्व जगत कुमारीको घर समेतको किल्ला अंगाली भिडाइ फैसला भएको देखिएको र सो फैसलालाई नै पुनरावेदन अदालत पाटनले सदर गरेको देखिंदा पुनरावेदन अदालत पाटन समेतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटी रहेको देखिएकोले पुनरावेदन अदालत पाटनको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को (क) र (ख) समेतको त्रुटी भएको देखिंदा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०५१।१२।२४ को आदेश ।

      ११.    नियम वमोजिम आज निर्णय सुनाउन तारेख तोकि पेश भएको प्रस्तुत मुद्दाको मिसिल कागज प्रमाणहरुको अध्ययन गरी पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले विवादको जग्गामा हकै नपुग्ने प्र. मध्येको जगतवहादुर मानन्धरले विपक्षी प्र. मध्येको जगत कुमार कर्मी श्रेष्ठलाई २०३८।१।१७ मा राजिनामा पास गरी दिएका छन्। दाताको हकै नपुग्ने जग्गामा आफ्नो हकमा छ भनि कुनै व्यक्तिलाई राजिनामा गरी दिदैंमा लिनेको हक कायम हुन सक्तैन । दातामा जे जस्तो हक छ, पाउनेले पनि सोही हक पाउने हुंदा हकै नपुग्ने जगतवहादुर मानन्धरले पारीत गरी दिएको २०३८।१।१७ को राजिनामा वदर गरी पाउं भनि वहस गर्नु भयो भने प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शिवराम श्रेष्ठले २०३८।१।१७ मा राजिनामा पास गरी लिए दिएको लिखत वदर गराई पाउं भनि मिति २०४७।१२।२६ मा परेको नालेश लेनदेन व्यवहारको ४० नं. को हदम्याद नघाई पर्न आएको छ । लेनदेन व्यवहारको ४० नं. मा हदम्याद लाग्दैन भनेको कुरामा वाहेक अरुमा भए गरेको मितिले दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था भएको हुंदा प्रस्तुत मुद्दा खारेज गरी पाउं भनि वहस प्रस्तुत गर्नु भयो ।

      १२.   उपरोक्त वहस जिकिर समेतलाई दृष्टिगत गरी पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ सो सम्वन्धमा निर्णय गर्नुपर्ने देखियो । निर्णयतर्फ विचार गर्दा विवादको जग्गामा हकै नपुग्ने जगतवहादुर मानन्धरले जगत कुमार कर्मी श्रेष्ठलाई २०३८।१।१७ मा राजिनामा पास गरी दिएको लिखत वदर गरी पाउं भन्ने फिराद दावी र विपक्षीको हक नभएको जग्गामा दावी गर्ने वादीलाई हक नभएकोले फिराद खारेज गरी पाउं भन्ने प्रतिउत्तर जिकिर भएको प्रस्तुत लिखत वदर मुद्दामा शुरु भक्तपुर जिल्ला अदालतवाट वादी दावि नपुग्ने ठहर्‍याएको फैसलामा चित्त नवुझाई वादीको पुनरावेदन अदालतमा पुनरावेदन परी सो अदालतबाट शुरुको इन्साफ सदर ठहर्‍याई भएको इन्साफमा चित्त नवुझी वादीको दोहोर्‍याई पाउं भनी यस अदालतमा परेको निवेदनमा निस्सा प्रदान भै पेश हुन आएको देखिन्छ ।

      १३.   यसमा प्रतिवादी मध्येको जगतवहादुर मानन्धरले प्रतिवादी मध्ये कै जगत कुमार कर्मी श्रेष्ठलाई पूर्व वाटो, पश्चिम दिल कुमारको वगैचा, उत्तर जगत कुमार कर्मी श्रेष्ठको वगैचा, दक्षिण जोतीमानको घर यति किल्ला भित्रको जग्गा २०३८।१।१७ मा  राजिनामा गरी दिएको देखिन्छ । यसरी राजिनामा पास भएको लिखत वदर गराई पाउं भनी वादी खड्ग कुमार नानी श्रेष्ठ समेतको मिति २०४७।१२।२६ मा मुलुकी ऐन लेनदेन व्यवहारको ४० नं. को हदम्यादको आधारमा प्रस्तुत मुद्दाको फिराद पर्न आएको छ । यसरी २०३८।१।१७ मा भएको राजिनामाको   लिखतलाई वदर गराई पाउं भनी २०४७।१२।२६ मा मात्र परेको नालेस लाग्न सक्ने  हो  वा होइन सो सम्वन्धमा विचार गर्दा मुलुकी ऐन, लेनदेन व्यवहारको ४० नं. को व्यवस्था हेर्दा हदम्याद लाग्दैन भनेको कुरामा वाहेक अरुमा भए गरेका मितिले २ वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्थाबाट लिखत भए गरेका मितिले २ वर्ष भित्र नालेस गर्न पाउने र दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था समेत भएबाट विवाद जग्गाको २०३८।१।१७ को राजिनामाको लिखत वदर  गराई पाउं भनि वादीको नालेस दुई वर्ष नघाई दायर २०४७।१२।२६ मा परेको देखिएको छ ।  यसरी दुई वर्षको हदम्याद नघाई दायर भएको प्रस्तुत मुद्दा लेनदेन व्यवहारको ४० नं. भित्रको भन्न मिलेन त्यस्तो हदम्याद नघाई दायर भएको मुद्दाको औचित्यमा प्रवेश गरिरहनु पर्ने अवस्था भएन । प्रस्तुत फिराद हद म्यादको अभावमा खारेज हुने  ठहर्छ ।  प्रस्तुत मुद्दाको फिराद दावि नै खारेज गर्नु पर्नेमा मुद्दाको औचित्यमा प्रवेश गरी इन्साफ गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिंदा प्राविधिक (Technical) आधारमा सो हदसम्म उल्टी हुन्छ । दायरीबाट मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई  दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. कृष्णजंग रायमाझी

 

इति संवत् २०५५ साल चैत्र १२ गते रोज ६ शुभम् ........................................ ।

                 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु