निर्णय नं. ६७८६ - भाडा दिलाई घर खाली

नि.नं. ६७८६ ने.का.प. २०५६ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल
संम्वत २०५३ सालको दे.पु.नं. ३८०६, ३८०४
फैसला मिति : २०५५।८।७।२
मुद्दाः भाडा दिलाई घर खाली ।
पुनरावेदक
प्रतिवादी : रौतहट जिल्ला गौर न.पा. वडा नं. १ मा स्थापित श्री लक्ष्मी नारायण देवता मन्दिरको संरक्षीका पर्सा जिल्ला विरगंज न.पा. वडा नं. ४ वस्ने सत्यमाया मानन्धर
विरुद्ध
प्रत्यर्थी
वादी : रौतहट जिल्ला गौर न.पा. वडा नं. २ वस्ने कपिल देव पाठक
पुनरावेदक
प्रतिवादी : रौतहट जिल्ला गौर न.पा. वडा नं १ वस्ने जगरनाथप्रसाद कलवार
विरुद्ध
प्रत्यर्थी
वादी : ऐ.ऐ. वस्ने कपिलदेव पाठक
§ रौतहट जिल्ला अदालतले सत्यमायाको वयानमा उल्लेखित पत्र अदालतले समेत सक्कलै दाखिल गर्नु भन्ने व्यहोराको मिति २०५०।८।२१ मा आदेश भएको पनि देखियो । फैसला गर्दा अधिकार पत्रको सक्कल दाखिल गर्न नसकेको भन्ने र २०२१।६।१ को लिखत वारेमा पनि अ.वं. ७८ नं. वमोजिमको प्रकृया अपनाई विवेचना भएको राय ठहरबाट देखिन्छ । उल्लेखित २०१४।९।१७ को लिखत सक्कलै दाखिल गराई अदालती वन्दोवस्तको ७८ नं. को प्रकृया अपनाउनु पर्ने तथा २०२१ सालको लिखतको मुल्याकंन गर्नुपर्ने अवस्था मिसिलबाट देखिन आयो । न्याय प्रशासन ऐन, २०४८ को दफा १४ ले पुनरावेदन अदालतबाट नै हुन सक्ने कुरामा शुरु रौतहट जिल्ला अदालतको फैसला वदर गरी शुरु अदालतमा पुनः इन्साफ गर्न पठाएको पुनरावेदन अदालत हेटौंडाको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १४(घ) को प्रतिकूल समेत हुंदा वदर गरी दिएको छ । अव आफू कहां परेको पुनरावेदनमा ७५ वर्ष नाघेको वृद्ध समेत संलग्न भएको मुद्दा देखिएकाले प्राथमिकतामा राखि कानून वमोजिम जे जो वुझनु पर्छ वुझी चांडो कारवाही किनारा गर्नु भनि हाजिर रहेका पक्ष विपक्षलाई तारेख तोकि मिसिल पुनरावेदन अदालत हेटौंडामा पठाई दिने ।
(प्र.नं. १२)
पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री हरिहर दाहाल
प्रत्यर्थी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता द्वय श्री राजेन्द्र घिमिरे र सविता वराल
अवलम्वित नजिर :
फैसला
न्या.कृष्णजंग रायमाझीः पुनरावेदन अदालत हेटौंडाको मिति २०५३।१।९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा ठहर यसप्रकार छ ।
२. विपक्षीले म फिरादीको जिम्मा र रेखदेख गर्न गौर न.पा. वडा नं. १ मा रहेको श्री लक्ष्मी नारायण देवताको नाम दर्ताको जग्गामा भएको पक्की घरमा ०३३ साल श्रावण १५ गते देखि आज सम्म वस्नू भएकोमा आजसम्म सो घरको वुझाउनु पर्ने सालको रु.४९२। को दरले हुने भाडा किराया नवुझाएको साथसाथै सो घर हाल मन्दिरको आफ्नो काम व्यवहारका लागि खाली गराउनु पर्दा खाली पनि नगरेकोले विपक्षी उपर यो नालेस गर्न आएको छु । मेरो साक्षी सवुद वुझी भाडा किराया रु७९९५। विपक्षीबाट दिलाई भराई सो घर कानून वमोजिम खाली गराई त्यस्मा मन्दिरको चलन समेत अदालतबाट दिलाई पाउं भन्ने समेत व्यहोराको वादीको फिराद पत्र ।
३. विपक्षी कपिल देव पाठक, श्री लक्ष्मी नारायण देवता मन्दिरको जिम्मा रेखदेखवाला भएको, सो देवता मन्दिरको के कस्तो किसिमबाट जिम्मा र रेखदेखवाला भएका हुन सो फिराद दावीमा कुनै प्रमाण दिन नसकेको र वास्तवमा निज विपक्षी कपिलदेव पाठकलाई सो लक्ष्मी नारायण देवता मन्दिरको जिम्मा र रेखदेख गर्ने अख्तियारवाला कसैले पनि सुम्पिएको नहुंदा निज विपक्षीले सो मन्दिरको नाउंमा यसै गौर न.पा. वडा नं. १ वस्ने तहसिलदार मानवहादुर मानन्धरले आफ्नो जिम्दारी अवस्थामा नै करिव ६९-०-० विगाहा जग्गा भगवानको नाउंमा दिएको र सो देवता मन्दिर समेतको सो सम्पत्तिको जिम्मेदारी कारिन्दा विपक्षी कपिलदेव पाठक नभै त. मानवहादुर मानन्धरको छँेरी सत्यमाया मानन्धरलाई निज अख्तियारवालाले सुम्पिएको हुंदा आफ्नू हकै नपुग्ने कुरामा म उपर दावी गरी दिएको अ.वं. ८२ नं. को हकदैया विपरीतको प्रस्तुत मुद्दाबाट इन्साफ गरी रहनु नपर्ने हुंदा अ.वं. १८० नं. बमोजिम खारेज नै हुनु पर्ने हुंदा खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको प्रतिउत्तर जिकिर ।
४. अ.वं. १३९ नं. वमोजिम वुझिएको सत्यमाया मानन्धर १, कृष्णवहादुर मानन्धर १ वा. वा. मिथिलेस राय यादव १ समेत जना ३ ले गरेको वयान ।
५. वादीको साक्षी भोभालु ठाकुर १ अहमद मिया १, प्रतिवादीको साक्षी विनोद कुमार अग्रवाल १, सत्यनारायण सिंह राजपुत १ समेत जना ४ ले गरेको वकपत्र ।
६. दावीको घरमा वादीको नालेस गर्ने हकदैया नै पुगेको नदेखिंदा त्यस्तो हक नपुगेको व्यक्ति यि वादीले प्रतिवादीलाई ०३३।४।८ मा गरी दिएको लिखतको समेत स्वतः कानूनी मान्यता नहुने हुंदा प्रस्तुत मुद्दामा तथ्य्मा प्रवेश गरी इन्साफ गरिरहन नपर्ने भै वादी दावी खारेज हुने ठहर्छ भने रौतहट जिल्ला अदालतको मिति ०५१।११।१८ को शुरु फैसला ।
७. शुरु अदालतबाट मेरो लिखत प्रमाणको न्यायोचित मुल्याकंन हुनुपर्नेमा मेरो हकको सो प्रमाणहरुको मुल्याकंन नगरी गरिएको फैसला वदर गरी माग दावी वमोजिम न्याय पाउं भन्ने पुनरावेदन पत्र ।
८. यस्मा प्रमाणको मुल्याकंन गरी इन्साफ गर्नुपर्नेमा खारेज गर्ने गरेको शुरुको फैसला फरक पर्ने देखिएकोले छलफलको लागि अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति ०५२।८।२४।१ को आदेश ।
९. यस्मा पुनरावेदक वादीलाई अ.वं. ७८ नं. को प्रकृया नअपनाई भएको शुरुको मिति २०५१।११।१८ को खारेजी फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ प्रतिवन्धात्मक वाक्यांशको प्रतिकूल भएकोले सो खारेजी फैसला वदर गरी दिएको छ । अव जे जो वुझ्नु पर्ने हुन्छ वुझी प्रत्यर्थी प्रतिवादीले मानवहादुरवाट पाएको भनेको अधिकार पत्र सम्वन्धमा अ.वं. ७८ नं. को प्रकृया अपनाई पुनरावेदक वादीले २०२१।६।१ मा प्रत्यर्थी प्रतिवादीको आमा कृष्ण कुमारीले दिएको अख्तियार पत्रको मुल्याकंन समेत गरी ठहर निर्णय गर्नु भनी रुजु पक्षलाई तारेख तोकी प्रस्तुत मिसिल शुरु रौतहट जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको २०५३।१।९ को फैसला ।
१०. पुनरावेदन अदालत हेटौंडाको उक्त फैसलामा चित्त वुझेन प्रतिवादी सत्यमायालाई दिएको अधिकार पत्रको लिखत वादीलाई अ.वं. ७८ नं. वमोजिम नसुनाई प्रमाणमा ग्रहण गर्यो भन्ने सम्वन्धमा विपक्षी कपिलदेव पाठकले यसै लगाउको जग्गा खिचोला समेतका मुद्दाहरुमा म सत्यमायाले २०१४।९।१७ मा पिता त. मानवहादुरबाट पाएको अधिकार पत्रको अस्तित्वलाई स्वीकार गर्नु भएको तर अधिकारपत्र वमोजिम सत्यमायाले मन्दिर संचालन नगरेको हुंदा मिति २०२१।६।१ देखि मैले संचालन गरी आएको भनी जग्गा खिचोला मुद्दामा लिखत समेत पेश गरेका छन् । वादी कपिल देवले कही पनि सत्यमायाले अधिकार पत्र प्राप्त गरेको छैन भन्ने जिकिर वा दावी गरेको छैन । मिति २०२१।६।१ को कागज मलाई लगाउको जग्गा खिचोला मुद्दामा अ.वं. ७८ नं. वमोजिम सुनाइएकोमा मैले लिफामा खडा गरेको लिखत हो भनी वयान गरेपछि विशेषज्ञको राय समेत लिई उक्त लिखतलाई निष्प्रभावी हुने गरी शुरु अदालतबाट फैसला भै सकेको छ । जग्गा खिचोला मुद्दामा अ.वं. १३९ नं. वमोजिम वुझिएका व्यक्तिहरुले वावुको पालामा परिवारको सदस्यको नाताले मन्दिरको काममा सहयोग गर्ने गरेको कुरा स्वीकार गरी वयान गरेको अवस्थामा प्रमाणको मुल्याकंन नगरी पुनरावेदन अदालतवाट भएको त्रुटिपूर्ण फैसला वदर गरी शुरुको फैसला सदर गरी पाउं भन्ने समेतको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
११. यसमा मुख्य मुद्दा मानेको दे.पु.नं. ३८०४ मा अ.वं. १३९ नं. वमोजिम वुझी प्रतिवादी कायम भएकी सत्यमायालाई अ.वं. २०२ नं. वमोजिम नझिकाएको जग्गा खिचोला मुद्दामा २०२१।६।१ को लिखत सुनाई त्यस उपर शुरु जिल्ला अदालतले वोली सकेको २०१४।९।३ को लिखतलाई वादी कपिलदेवले स्वीकार गरेको अवस्थामा मुल्याकंन नगरेको लिखत नसुनाएको भनि र आफूले प्रमाणको मुल्याकंन नगरी शुरुमा पठाउने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको नदेखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियम वमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति २०५५।३।९ को आदेश ।
१२. नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र अधिवक्ता श्री हरिहर दाहाल तथा प्रत्यर्थीका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, अधिवक्ताद्वय श्री राजेन्द्र घिमिरे र सविता वरालले गर्नु भएको वहस जिकिर समेत सुनी मिसिल अध्ययन गरी निर्णयतर्फ विचार गर्दा अदालती वन्दोवस्तको १३९ नं.. ले वुझिएकी सत्यमाया मानन्धरले मिति २०५०।४।२४ मा वयान गर्दा आफ्ना स्वर्गीय पिता मान वहादुर मानन्धरले लक्ष्मी नारायण मन्दिरको रेखदेख गर्ने व्यवस्थापक मलाई वनाई चिठी लेखेको र सो चिठी आमाको हातमा परी भाइहरुसंग छ भन्ने समेतको वयान गरेको र पछि मिति २०५०।१२।२८ मा दरखास्त साथ प्रतिवादी जगरनाथबाट पनि पेश भएको र २०१४।९।१७ को अधिकार पत्रको फोटो प्रतिलिपि पेश गरेको देखिन्छ । रौतहट जिल्ला अदालतले सत्यमायाको वयानमा उल्लेखित पत्र अदालतले समेत सक्कलै दाखिल गर्नु भन्ने व्यहोराको मिति २०५०।८।२१ मा आदेश भएको पनि देखियो । फैसला गर्दा अधिकार पत्रको सक्कल दाखिल गर्न नसकेको भन्ने र २०२१।६।१ को लिखत वारेमा पनि अ.वं. ७८ नं. वमोजिमको प्रकृया अपनाई विवेचना भएको राय ठहरबाट देखिन्छ । उल्लेखित २०१४।९।१७ को लिखत सक्कलै दाखिल गराई अदालती वन्दोवस्तको ७८ नं. को प्रकृया अपनाउनु पर्ने तथा २०२१ सालको लिखतको मुल्याकंन गर्नुपर्ने अवस्था मिसिलबाट देखिन आयो । न्याय प्रशासन ऐन, २०४८ को दफा १४ ले पुनरावेदन अदालतबाट नै हुन सक्ने कुरामा शुरु रौतहट जिल्ला अदालतको फैसला वदर गरी शुरु अदालतमा पुनः इन्साफ गर्न पठाएको पुनरावेदन अदालत हेटौंडाको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १४(घ) को प्रतिकूल समेत हुंदा वदर गरी दिएको छ । अव आफू कहां परेको पुनरावेदनमा ७५ वर्ष नाघेको वृद्ध समेत संलग्न भएको मुद्दा देखिएकाले प्राथमिकतामा राखि कानून वमोजिम जे जो वुझनु पर्छ वुझी चांडो कारवाही किनारा गर्नु भनि हाजिर रहेका पक्ष विपक्षलाई तारेख तोकि मिसिल पुनरावेदन अदालत हेटौंडामा पठाई दिने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालत हेटौंडाको फैसला वदर भै पुनः इन्साफ गर्न पुनरावेदन अदालतमा पठाउने ठहरी फैसला भएकोले सो अदालतको फैसलाबाट राख्ने गरेको लगत राख्न परेन, शुरु रौतहट जिल्ला अदालतको फैसला वमोजिम रहेको लगत कायम गर्नु भनि शुरु जिल्ला अदालतमा लेखि पठाउनु ............................... १
मिसिल ठहर खण्डमा लेखिए वमोजिम गर्नु . १
उक्त रायम म सहमत छु ।
न्या. दिलिपकुमार पौडेल
इति संवत् २०५५ साल मंसीर ७ गते रोज २ शुभम् ................................ ।