निर्णय नं. ६७९० - कर्तव्य ज्यान

नि.नं. ६७९० ने.का.प. २०५६ अङ्क ९
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
संम्वत २०५४ सालको फौ.पु.नं. ... १६९४
फैसला मिति : २०५५।८।२८।२
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादी : ललितपुर जिल्ला भारदेउ गा.वि.स. वार्ड नं. ७ घर भै ललितपुर जिल्ला दौवहाल वस्ने हाल जिल्ला कारागार शाखा नख्खू ललितपुर थूनामा रहेको राजु भन्ने राजकुमार श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी
वादी : रामवहादुर श्रेष्ठको जाहेरीले वादी श्री ५ को सरकार
§ घटनास्थल प्रकृति मुचुल्कामा लाश फेला परेको इनारलाई बाहिरबाट फलामे जालीले ढँकिएको भनी उल्लेख भएको रहेछ । उक्त जाली हटाइएको अवस्था समेत देखिएन । आफै हाम फाल्ने व्यक्तिले हटाएको फलामे जाली हटेकै अवस्थामा रहनु पर्ने हुन्छ । फलामे जाली हटेको अवस्था नदेखिंदा कुनै व्यक्तिले इनारमा फाली जाली यथावत रुपमा राखेको हुन सक्ने अवस्था देखिन आउंछ । सोही लाश जांच प्रकृति मुचुल्का हेर्दा दुवै आंखा बन्द रहेको, मुख अर्ध खुल्ला, रहेको तलको चारवटा दांत देखिएको शरीरमा कहिं कतै चोटपटक निलडाम, घाउ, खत आदि केही नदेखिएको, दुवै हात फैलिएको र दुवै खुटृा अर्ध खुम्चिएको अवस्थाबाट समेत मृतक लक्ष्मी स्वयं इनारमा हामफाली बाच्ने संघर्ष गर्दा पर्न सक्ने घा खत समेतको अभाव देखिंदा कुनै व्यक्तिले निजलाई मारी इनारमा फाली इनार वाहिरको फलामे जाली समेत ठिक दुरुस्त अवस्थामा राखेको हुन सक्ने देखिन आउंछ । अव कस्ले निज लक्ष्मी श्रेष्ठलाई मारेको हुन सक्तछ भन्ने तर्फ विचार गर्दा अन्य कुनै व्यक्तिको संभावना मिसिलबाट देखिन आएको छैन । आफ्नो स्वास्नी अर्कासंग बिग्रिएको देख्दा लोग्नेलाई रिस उठनु र लोग्ने स्वास्नी वीच विवाद हुनु अस्वभाविक देखिंदैन । सोही पृष्ठभुमिमा प्रतिवादी राजकुमार श्रेष्ठले मृतक लक्ष्मी श्रेष्ठलाई कर्तव्य गरी मारेको ठहर्याएको शुरु ललितपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने ।
(प्र.नं. ३७)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर, विद्वान अधिवक्ता श्री वच्चु सिंह खड्का
प्रत्यर्थी वादी तर्फबाटः विद्वान उप सरकारी अधिवक्ता श्री सरोज गौतम
अवलम्वित नजिर : ने.का.प. २०१७, नि.नं. १००, पृ.३९
फैसला
न्या.केदारनाथ आचार्य:न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) वमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ ।
२. मिति २०५२।१०।२९ गते वेलुका अं. ६।३० वजेको समयमा मेरी श्रीमती लक्ष्मी श्रेष्ठ ल.पु.जि. इमाडोल गा.वि.स. वडा नं. २ वस्ने अजित कुमार विष्टसंग कुराकानी गरी रहेको मैले भेटेको हुंदा मैले कोठामा किन यस्तो गरेको भनी साधारण गाली गरेकोमा सोही राती म पिसाव फेर्न जांदा कुन वेला कोठाबाट निस्की गई थाहा भएन । नगद तथा धनमाल समेत लिई गएको हुंदा निज अजित कुमार विष्टले लगेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको ०५२।११।२ को राजकुमार श्रेष्ठले जि.प्र.का. ल.पु.मा दिएको निवेदन ।
३. मिति २०५२।१०।२९ गते राती हराएकी मेरी श्रीमती लक्ष्मी श्रेष्ठ ल.पु.जि.ल.पु.न.पा. वडा नं. १८ कायगुननी टोलको इनारभित्र फेला परेको भन्ने स्थानीय मानिसहरुको हल्ला सुनी हेर्न जांदा देखें चिने । मृतक अवस्थामा इनार भित्र फेला परेको लाश मेरो श्रीमती लक्ष्मी श्रेष्ठको हो । मैले मिति २०५२।१०।१९ गते अजित कुमार विष्टसंग कुरा गरेको र पसलबाट चिया पठाउंदा अजित कुमारको अफिस कोठामा दुवै जना अनुचित कार्य गरेको फेला परेको हुंदा मैले २।४ थप्पड श्रीमतीलाई हिर्काएको थिएं, सोही आवेशमा आई समाजको डरले गर्दा इनारमा हाम फाली आत्महत्या गरेको हो वा अन्य कुनै कारण हो । लाश प्रति कानून वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको मिति २०५२।११।३ को राज कुमार श्रेष्ठको जाहेरी दरखास्त ।
४. २०५२।११।३ गतेका दिन ल.पु.न.पा. वडा नं. १८ कायगुननी टोल स्थित पानीको इनारमा फेला परेको मृतक लक्ष्मी श्रेष्ठको लाश इनारको २० फिट माथि देखि पानीको सतहमा डुवि रहेको देखिएको सो लाशलाई पानीबाट उतारी उत्तानु पारी हेर्दा पेट नफुलेको, सो लाशलाई घोप्टो पारी थिचि हेर्दा मृतकका मुखबाट पानी ननिस्किएको, हात गोडाको छाला चाउरिएको भन्ने समेत व्यहोराको मिति २०५२।११।३ को लाश प्रकृति मुचुल्का ।
५. मृतक लाश पोष्ट मार्टमका लागि पाटन अस्पतालमा पठाउंदा भिसेरा जांच पश्चात मात्र मृत्युको कारण यकिन भन्न सकिने भनी भिसेरा जांच गर्नको लागि साथै पठाएको पाटन अस्पतालको मिति २०५२।११।४ को पोष्टमार्टम रिर्पोट ।
६. मेरी वहिनी वर्ष २० की लक्ष्मी श्रेष्ठको मिति २०५२।१।२५ गते राजु भन्ने राजकुमार श्रेष्ठसंग विवाह भएकोमा वहिनीलाई निजले समय समयमा कुटपिट गरेको कुरा थाहा पाई रहेकोमा गत तिहारमा वहिनीलाई निज राजकुमारले कुटपिट गरी घरबाट निकाली दिएको भनी भनेको हुंदा संझाई वुझाई निजको जिम्मा लगाई पठाएकोमा २०५२।१०।२९ गते राती मेरो वहिनी हराएको भनी मेरो भाई दिल वहादुर श्रेष्ठलाई राती कोठामा आई भनेको भनी भोलिपल्ट मलाई भन्न आएको हुंदा म समेत भै वहिनीको खोजी गर्दै हिडेकोमा २०५२।११।४ गतेका दिन मेरो वहिनी लक्ष्मी श्रेष्ठको मृत लाश डेरा कोठँ नजिक इनारमा फेला परेको भन्ने खवर पाई तत्काल आई हेर्दा लाश दाह संस्कार गरी सकेको मेरो वहिनीलाई निजको श्रीमान राजु भन्ने राजकुमार श्रेष्ठ र ससुरा कृष्ण वहादुर श्रेष्ठ समेत भै कर्तव्य गरी मारेको हुनु पर्दछ, कानून वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको मिति २०५२।११।१० को राम वहादुर श्रेष्ठको जाहेरी दरखास्त ।
७. मिति २०५२।१०।२९ का दिन ल.पु.जि. इमाडोल गा.वि.स वडा नं. २ घर भै ल.पु. धौगालमा लेखापढी सेन्टर खोली वस्ने अजितकुमार विष्टले चिया मागेको हुंदा पसलबाट १ कप चिया लिई गएकोमा धेरैवेर सम्म श्रीमती लक्ष्मी श्रेष्ठ चिया पुर्याई नआएकी र पसलमा चिया खाने मानिसहरुको पैसा फिर्ता गर्नुपर्ने भएको हुंदा खुद्रा पैसा नभएकोले म आफै उक्त लेखापढी सेन्टरमा जांदा मेरी श्रीमती लक्ष्मी श्रेष्ठ भूईमा सुतेकी र निज अजित कुमार विष्ट पाइन्ट लगाउंदै गरेको देखि मैले वोलाई २।४ थप्पड हिकाई पसल उठाई वेलुका आमाको कोठामा गै खाना खाई दुवै जना आफ्नो संधै सुत्ने कोठामा आई श्रीमतीलाई किन अजित कुमार विष्टसंग त्यस्तो कार्य गरेको भन्दा केही गरेको छैन, समातेको मात्र हो भनी भनेको हुंदा समातेको भए किन नकराएको भनी मैले रिसले मुड्कीले निजको कञ्चटमा ६।७ चोटी हानें । निज सानो स्वरले रुन थालिन र तत्कालै भूईमा ढलिन् र त्यतिनै खेर काम्न थालिन । एकै क्षणमा निज लक्ष्मी श्रेष्ठको मृत्यु भयो । त्यसपछि केही सोची मृतकको दाई ल.पु. शंखमुलमा वस्ने भएको हुंदा रातको अन्दाजी १ बजेको समयमा निजको घरमा गै राती सुतेको ठाउंबाट तिम्रो वहिनी हराएको हुंदा खवर गर्न आएको, भोलि मेरो कोठामा आउनु भनी दिल वहादुर श्रेष्ठलाई खबर गरी तत्काल फर्की आई कोठामा रहेको मृतक लक्ष्मी श्रेष्ठलाई खाट मुनी छिराई म सुतें । भोलिपल्ट जि.प्र.का. ल.पु.मा आई मौखिक उजुरी गरी अजित कुमार विष्ट उपर शंका लाग्छ भनी खोज्न लगाई म आफ्नै कोठामा फर्कि आई सोही कोठामा सुतें । श्रीमती लक्ष्मी श्रेष्ठलाई मार्दा कोही थिएन । मिति २०५२।११।२ गते रातको १ बजेको समयमा लाशलाइ वोकी ल.पु.न.पा. वडा नं. १८ को कायगुननी टँेलमा पानीको इनारमा लगी फालेको हो भन्ने समेत व्यहोराको प्रतिवादी राजु भन्ने राज कुमार श्रेष्ठले प्रहरीमा गरेको वयान ।
८. मिति २०५२।१०।२९ का दिन चिया मगाएकोमा लक्ष्मी श्रेष्ठले चिया लिई आएकी र मेरो हिसाव पनि भनेकीले दिउंला भनेकोमा मनकामना जानु छ, मलाई एक हजार रुपैया दिनुस् भनी भनेकी हुंदा मैले अहिले छैन भनी भनेको थिएं । चिया खादैं गर्दा मेरो मनमा अनेक कुरा खेल्न थालेकोले मैले लक्ष्मी श्रेष्ठलाई जिस्काउदा केही नभनेको र ढोका छेउमा गै कसेको मात्र थिएं । निजको श्रीमान आई बोलाई २ थप्पड हिर्काएको हुंदा किन हिर्काएको भनी भन्दा केही नभनी गएकोले मैले अफिस वन्द गरी चिया पसलमा आई रु.१०००। दिई आफ््नो घरमा गएको थिएं । निजलाई मैले केही गरेको थिइन । मिति २०५२।११।३ गते लक्ष्मी श्रेष्ठको मृत लाश फेला परेको भन्ने सुनेको मात्र हो । मैले लाश देखेको छैन भन्ने समेत व्यहोराको अजितकुमार विष्टले प्रहरीमा गरेको ठाडो कागज ।
९. मिति २०५२।१०।२९ गते राती अं. १ बजेको समयमा श्रीमती लक्ष्मी श्रेष्ठ हराईन भनी छोरा राजुकुमार श्रेष्ठले भन्न आएको हुंदा म समेत भै खोज तलास गरेको हुं, निज फेला नपरेको हुंदा सवै ठाउंमा खबर गरेको थिएं । २०५२।११।३ गते मृत अवस्थामा इनारमा लाश फेला परेको भन्ने सुनेको हो ।निजलाई को कस्ले मारे वा आत्महत्या गरी मरिन् मलाई थाहा छैन भन्ने समेत व्यहोराको कृष्ण वहादुर श्रेष्ठले प्रहरीमा गरेको ठाडो कागज ।
१०. लक्ष्मी श्रेष्ठले गत तिहारमा माइत जान्छू भनी भन्दा राजकुमार श्रेष्ठले घरमा त पुगौं तलांई पख भनी कुटपिट गरेको हुंदा संझाई बुझाई पठाएकोमा २०५२।११।३ गतेका दिन लक्ष्मी श्रेष्ठको लाश कायगुननी टोलमा फेला परेको भन्ने सुनी थाहा पाएको हो भन्ने समेत व्यहोराको गणेश वहादुर श्रेष्ठले प्रहरीमा गरेको ठाडो कागज ।
११. मिति २०५२।११।३ गते वुहारी लक्ष्मी श्रेष्ठको मृत अवस्थामा लाश फेला परेको भन्ने कुरा सुनें । अन्य कुरा मलाई थाहा छैन भन्ने समेत व्यहोराको भक्त कुमारी श्रेष्ठले प्रहरीमा गरेको ठाडँे कागज ।
१२. मिति २०५२।११।३ गते लक्ष्मी श्रेष्ठको मृत लाश फेला परेको भन्ने सुनेको हुं भन्ने समेत व्यहोराको देव वहादुर श्रेष्ठले प्रहरीमा गरेको ठाडो कागज ।
१३. लक्ष्मी श्रेष्ठको लाश फाल्न म समेत गएको भनी किनभने मलाई थाहा छैन । म सो दिन एअरर्पोटमा थिएं भन्ने समेत व्यहोराको प्रतिवादी रामशरण अधिकारीले प्रहरीमा गरेको वयान कागज ।
१४. लक्ष्मी श्रेष्ठलाई राज कुमार श्रेष्ठले कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको अम्वर श्रेष्ठले प्रहरीमा गरेको ठाडो कागज ।
१५. सुनी थाहा पाए अनुसार प्रतिवादी राज कुमार श्रेष्ठले नै कर्तव्य गरी लक्ष्मी श्रेष्ठलाई मारी फालेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको सर्जमीन मुचुल्का ।
१६. लक्ष्मी श्रेष्ठलाई मारी नवराज अधिकारीको सहायताले फालेको कुरा निजको साविती वयानले प्रष्ट पारेको हुंदा प्रतिवादी राजु भन्ने राजकुमार श्रेष्ठले ज्यान सम्वन्धी महलको १ र १३ नं..विपरित अपराध गरेको प्रष्ट देखिन आएकोले निजलाई ऐ. ऐनको १३(३) नं. अनुसार संजाय हुन र प्रतिवादी नवराज भन्ने रामशरण अधिकारीलाई ऐ. ऐनको १७(३) नं. अनुसार संजाय हुनको लागि माग दावी लिई ललितपुर जिल्ला अदालतमा मिति २०५२।१२।९ मा पेश गरिएको अभियोग पत्र ।
१७. मृतक लक्ष्मी श्रेष्ठलाई इनारमा फाल्न मैले मद्दत गरेको होइन र मलाई लगाइएको आरोप सत्य सांचो होइन, सर्जमीनका मानिसले मलाई शंका गरेका छैनन् मलाई केही थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी रामशरण अधिकारीले अदालतमा गरेको वयान ।
१८. जाहेरवाला राम वहादुर श्रेष्ठले दिएको जाहेरी दरखास्त सवै झुठा हो । मैले मेरी श्रीमतीलाई मारेको होइन, सो देख्ने कोही पनि छैन, प्रहरीमा कुटपिट गरी सहीछाप गराएको हो भन्ने समेत व्यहोराको प्रतिवादी राजु भन्ने राजकुमार श्रेष्ठले अदालतमा गरेको वयान।
१९. मेरो वहिनी लक्ष्मी श्रेष्ठलाई मारी इनारमा फालेको हो भन्ने समेत व्यहोराको जाहेरवाला रामवहादुर श्रेष्ठले गरेको वकपत्र ।
२०. डुवेर मरेको भए पानी हुनु पर्ने, पानी थिएन कर्तव्य नै हुन सक्छ भन्ने समेत व्यहोराको देववहादुर श्रेष्ठले गरेको वकपत्र ।
२१. लक्ष्मी श्रेष्ठ आत्महत्या गरी मरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी राज कुमार श्रेष्ठको साक्षी कमल श्रेष्ठले गरेको वकपत्र ।
२२. मृतकको पेटमा पानी भएको, जीउमा अन्य कुनै ठूलो चोट पटक नभएको र भिसेराको परिक्षणबाट कुनै विषालु चिज सेवन गरेको नपाइएको हुंदा मृत्यु डुवी मरेको हुनु पर्दछ भन्ने समेत व्यहोराको लाश पोष्ट मार्टम गर्ने डा. रमा गोर्खालीले गरेको वकपत्र ।
२३. मृतक लक्ष्मी श्रेष्ठको मृत्यु राज कुमार श्रेष्ठको कर्तव्यबाट नै भएको हुनु पर्दछ भनी मैले प्रहरीमा लेखाएको हुं भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने अम्वर श्रेष्ठले गरेको वकपत्र।
२४. प्रहरीमा भएको कागजमा भएको व्यहोरा मेरो आफ्नै हो भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने व्यक्ति भक्त कुमारी श्रेष्ठ र कृष्ण वहादुर श्रेष्ठले गरेको वकपत्र ।
२५. मैले राजकुमार श्रेष्ठको श्रीमतीको हात समातेको, ढोका बन्द गरेको समेत होइन । मृतकलाई निजको लोग्ने राज कुमार श्रेष्ठले २ थप्पड हिर्काएको होइन, केवल गाली मात्र गरेको थियो । मैले मृतकसंग अनुचित कार्य गरेको होइन, छैन भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने व्यक्ति अजित कुमार विष्टले गरेको वकपत्र ।
२६. किटानी जाहेरी दरखास्त लाश प्रकृति मुचुल्का र प्रतिवादी राजकुमार श्रेष्ठले कसुर गरेकोमा विश्वास देखाई कागज गर्ने अन्य व्यक्तिहरुले गरेको ठाडो कागज र यस अदालतमा गरेको वकपत्र लगायतका सम्पूर्ण परिस्थितिजन्य प्रमाण (Circumstantial Evidence) प्रतिवादी राजकुमार श्रेष्ठले मृतकलाई कुटपिट गरी कर्तव्य गरी ज्यान मारेको ठहर्छ । तर वारदातको रुप हेर्दा मुलुकी ऐन ज्यान सम्वन्धीको महलको १३(३) नं. को दावी निजको हकमा आकर्षित हुने अवस्था देखिदैंन । तत्काल उठेको रीस थाम्न नसकी कन्चटमा हिर्काउदा मृत्यु भएको देखिंदा ज्यान सम्वन्धीको १४ नं. अनुसार निजलाई कैद वर्ष १० (दश) हुन्छ । अर्का प्रतिवादी रामशरण अधिकारी उपरको अभियोग दावी मिसिल संलग्न प्रमाणबाट प्रमाणित समेत नभएकोले निज उपरको अभियोग दावी पुग्न सक्दैन, निजले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु ललितपुर जिल्ला अदालतको मिति २०५३।११।१० को फैसला ।
२७. पोष्टमार्टम रिर्पोटमा फोक्सो पेट आन्द्राको अवस्था डुवी मरेको मानिसको लक्षणयुक्त छ भन्ने उल्लेख भएको र मलाई कसुरदार ठहर्याउने कुनै तथ्यगत आधार नै नभएको हुंदा शंकाको भरमा शुरु जिल्ला अदालतले मलाई कसुरदार ठहर्याउने गरी गरेको फैसला त्रुटीपूर्ण हुंदा अभियोगबाट सफाई पाउं भन्ने समेत व्यहोराको प्र. राज कुमार श्रेष्ठको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
२८. प्र. राज कुमार श्रेष्ठको हकमा ज्या.सं. १४ नं. को कसुर कायम गरी १० वर्ष कैद गर्ने र रामशरण अधिकारीलाई सफाई दिने गरी भएको शुरु जिल्ला अदालतको फैसला त्रुटीपूर्ण हुंदा प्रतिवादीलाई अभियोग पत्र माग वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
२९. प्रतिवादी राजकुमार श्रेष्ठ समेतले मृतकलाई मारेको हो भनि मृतकका दाजु राम वहादुर श्रेष्ठले किटानी जाहेरी दिएको र यी प्रतिवादी अधिकार प्राप्त अधिकारी समक्ष आरोपित कसुर गरेकोमा सावित रही वयान गरेको देखियो । सर्जमीनका मानिसहरुले मृतकलाई कुटपिट गरी यिनै प्रतिवादीले मारी इनारमा फालेकोमा विश्वास लाग्ने भनि लेखाई दिएका एवं प्रहरीमा कागज गर्ने मानिस समेतले यी प्रतिवादी उपर गढाउ गरी वकपत्र गरेकोबाट पुनरावेदक प्रतिवादीको प्रहरी समक्षको वयान समर्थित भएको पाईयो । पोष्टमार्टम रिर्पोटमा पानीमा डुबी मरेको भन्ने उल्लेख भएको तर्फ हेर्दा भिसेरा जांच पछि मात्र एकिन गर्न सकिने भन्ने लेखिएको लाश प्रकृति मुचुल्काबाट पानीमा डुवी मरेको लक्षण देखा नपरेको अवस्था देखिंदा पोष्ट मार्टम रिर्पोटलाई पूर्ण विश्वास गर्न सकिने अवस्था मिसिलबाट नदेखिएको हुंदा पुनरावेदक प्रतिवादीको जिकिर मनासिव देखिन आएन । प्रतिवादीले मृतकलाई मार्ने पूर्व योजना र मनसायको अभाव रही आफ्नी श्रीमती परपुरुषसंग अनैतिक सम्वन्धमा रहेको कारण तत्काल उठेको रीस थाम्न नसकी मृतकलाई कुटपिट गर्दा मृत्यु भएको अवस्था मिसिलबाट देखिंदा निज प्रतिवादी राजकुमार श्रेष्ठ उपरको शुरु जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । अर्का प्रतिवादी रामशरण अधिकारी उपर ज्यान सम्वन्धीको १७ (३) नं. अनुसार संजायको माग दावी भएकोमा निजलाई पोल गर्ने प्रतिवादी राजकुमार श्रेष्ठले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा निज राम शरणको नाम किटान गर्न नसकेको निज प्रतिवादीले प्रहरी र अदालत समक्ष्ँ इन्कार वयान गरेको तथा निज उपरको अभियोग दावी पुष्टि भएको अवस्था मिसिलबाट नदेखिंदा निजले सफाई पाउने ठहर्याएको समेत शुरु जिल्ला अदालतको इन्साफ मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५४।४।२८ को फैसला ।
३०. प्रहरी हिरासतमा मलाई कुटपिट गरी शारीरिक यातना दिई कागज गराएको हुंदा त्यस्तो कागजलाई आधार मानी कसुरदार ठहर्याउन मिल्दैन, सर्जमिनका व्यक्तिहरुले निजी विचारका रुपमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन मिल्ने होइन, पोष्टमार्टम रिर्पोटबाट मृतक लक्ष्मी श्रेष्ठको मृत्यु पानीमा डुवी भएको भन्ने कुरा स्पष्ट रुपले पुष्ट्याई भएको र लास जांच प्रतिवेदनमा समेत पानीमा डुबी मरेको मानिसको प्रकृति विद्यमान भएकोमा त्यसलाई प्रमाणमा नलिई मलाई कसुरदार ठहर्याउने गरी भएको फैसला वदरभागी छ, मृतकको मृत्यु कुटपिटबाट भएको भन्ने कहिंकतै वाट नदेखिएको र घाउ चोट समेत नभएको कुटपिट गरी मारेको भन्ने कुरा पुष्टी हुन सकेको छैन, यसरी प्रहरी प्रतिवेदनमा दावी लिइए अनुसार मृतकलाई कुटपिट गरी मारेको भन्ने कुराको वस्तुगत आधार प्रमाणको अभावमा मलाई कसुरदार ठहर्याउने गरी भएको ललितपुर जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५४।४।२८ को फैसला त्रुटिपूर्ण एवं गैरकानूनी हुनुको साथै सर्वोच्च अदालतबाट स्थापित सिद्धान्तको समेत प्रतिकूल भएकाले वदर गरी सफाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी राज कुमार श्रेष्ठको यस अदालतमा परेको पुनरावेदन पत्र ।
३१. यस्मा मिति २०५२।११।३।५ मा खडा भएको घटनास्थल तथा लाश प्रकृति मुचुल्कामा मृतकको शरीरमा कुनै घाउ खत नदेखिएको नाकबाट सिंगान जस्तो निस्की रहेको हातको पन्जाको छाला र खुटृाको पैतालाको भाग चाउरी परेको भन्ने कुरा र लाश जांच प्रतिवेदनमा (Post Mortem Report) मा मृत्युको कारण डुवेर मरेको फोक्सोले छाति छोएको भन्ने उल्लेख भएको देखिएको हुंदा प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयान कागजको भरमा मात्र प्रतिवादीलाई कर्तव्य गरी मारेको ठहर्याई संजाय समेत गरेको पुनरावेदन अदालत पाटनको मिति २०५४।४।२८ को फैसला नमिली फरक पर्ने देखिंदा मुलुकी ऐन, अ.वं. २०२ नं. वमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतबाट मिति २०५५।३।९ मा भएको आदेश ।
३२. नियम वमोजिम पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा यसमा मृतक लक्ष्मी श्रेष्ठको मृत्यु पानीमा डुवी भएको भन्ने तथ्ययुक्त प्रमाणले पुष्टी गरीरहेको अवस्थामा शारीरिक यातनाका आधारमा भएको प्रहरी समक्षको वयानलाई मात्रै आधार मानी कुटपिट गरी मारी पानीमा फालेको भन्ने ठहर्याएको शुरु एवं पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुनुको साथै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको समेत प्रतिकूल भएकाले उक्त फैसला वदर गरी सफाई पाउं भन्ने मुख्य पुनरावेदन जिकिर रहेको पाइयो । पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री पन्नामान तुलाधर र वच्चु सिंह खड्काले गर्नु भएको वहस जिकिरमा पुनरावेदक राजकुमार श्रेष्ठ निरपराध छन् । लक्ष्मी श्रेष्ठलाई निजले कर्तव्य गरी मारेको पुष्टी हुन सकेको छैन । पोष्टमार्टम रिपोर्टबाट लक्ष्मी श्रेष्ठको मृत्यु पानीमा डुवेर (Drowning) भएको भन्ने किटानी राय डाक्टरको छ । मोदीको मेडिकल जुरिस्प्रुडेन्समा उल्लेख भए अनुसारको अवस्था विद्यमान रहेको अवस्थामा कर्तव्य ठहर्याउन मिल्दैन । लक्ष्मी श्रेष्ठको शरीरमा कुनै चोटपटक छैन । राजकुमार श्रेष्ठले आफ्नो श्रीमती लक्ष्मी श्रेष्ठलाई मारी इनारमा फाली दिएको भन्ने आधार प्रमाण केही छैन । लोग्ने स्वास्नी विच सानो वार्तालाप सम्म भएकोमा लक्ष्मी श्रेष्ठ भागी वेपत्ता भएको र राजकुमारले खोज तलाश गर्दा पनि फेला नपरेबाट प्रहरीमा हुलिया निवेदन दिएको स्पष्ट छंदाछंदै अनुमानको भरमा राज कुमार श्रेष्ठलाई ज्यान सम्वन्धीको १४ नं. वमोजिम १० वर्ष कैद सजाय गर्ने गरेको शुरु इन्साफ सदर गरेको पुनरावेदन अदालतको इन्साफ त्रुटीपूर्ण भएवाट दुवै फैसला वदर गरी सफाई हुनु पर्दछ भन्ने र वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान उप सरकारी अधिवक्ता श्री सरोज गौतमले गर्नु भएको वहस जिकिरमा आफ्नो श्रीमती लक्ष्मी श्रेष्ठ र अजीत कुमार विष्ट वीच अनैतिक कार्य हुन लाग्दा देख्ने लोग्नेलाइ रीस उठनु स्वभाविकै हो । आफैले लक्ष्मी श्रेष्ठलाई मारेकोमा अभियुक्त राज कुमार श्रेष्ठ प्रहरी समक्ष्ँ सावित रहेको अवस्था छ । डुवी मरेको (Drowning) भन्ने तथ्य तर्क संगत छैन । ज्यान सम्वन्धीको महल अनुसार वा मेडिकल जुरिस्प्रूडेन्समा मर्ने व्यक्तिको अवस्था अनुकुलको विवरण देखिंदैन । पर पुरुषसंगको अनैतिक सम्वन्ध देखि रिस उठी मारेको भन्ने तथ्य स्थापित भएकोले राज कुमार श्रेष्ठको कर्तव्यबाट लक्ष्मी श्रेष्ठको मृत्यु भएको ठहरी ज्यान सम्वन्धीको १४ नं. वमोजिम संजाय गर्ने ठहराएको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेकै भई सदर कायम हुनुपर्दछ भनी उल्लेख गर्नु भएको छ ।
३३. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा ऊपर्युक्त वहस जिकिर एवं पुनरावेदन सहितको मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा आफ्नो श्रीमतीलाई मारी इनारमा फालेको ठहरी अभियुक्त राज कुमार श्रेष्ठलाई दश वर्ष कैद गर्ने ठहराएको शुरु ललितपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटन, ललितपुरको इन्साफ मिले नमिलेको के रहेछ भन्ने तर्फ निर्णय दिनुपर्ने हुन आएको छ ।
३४. आफ्नो श्रीमती लक्ष्मी श्रेष्ठले अजित कुमार विष्टसंग अनैतिक सम्वन्ध कायम राखेको देखी कुटपिट गरी मारी निजको लाश इनारमा फाली दिएकोले ज्यान सम्वन्धीको १३(३) नं. अनुसार संजाय गरी पाउं भन्ने समेतको अभियोग दावी भएको प्रस्तुत मुद्दा निज राज कुमार श्रेष्ठले आफ्नो श्रीमती लक्ष्मी श्रेष्ठ २०५२।१०।२९ गते देखि वेपत्ता भएकोले खोज तलास गरी पाउं भनी प्रहरी कार्यालय ललितपुरमा दिएको मिति २०५२।११।२ को हुलिया दर्खास्तबाट उठेको देखिन्छ । निजै प्रतिवादी राज कुमार श्रेष्ठले दिएको २०५२।११।३ को जाहेरी दर्खास्तमा आफ्नो चिया पसलबाट संगै रहेको लेखापढी अफिसमा चिया पुर्याउन गएको र धेरै वेर सम्म पनि नआएकीले उक्त लेखापढी अफिसमा जांदा आफ्नी श्रीमती लक्ष्मी श्रेष्ठ र अजितकुमार विष्ट विच अनैतिक कार्य भएको देखि २।४ थप्पड हिर्काएको, सामाजिक भय र डरले इनारमा हाम फाली मरेकी हुन वा कसरी निजको लाश इनार भित्र पर्न गएको हो अनुसन्धान गरी पाउं भनी उल्लेख भएको देखिन्छ भने मृतक लक्ष्मी श्रेष्ठका दाजु राम कुमार श्रेष्ठले दिएको अर्को जाहेरी दरखास्तबाट यिनै र।जकुमार श्रेष्ठ समेतको कर्तव्यबाट लक्ष्मी श्रेष्ठको मृत्यु भएको भन्ने देखिंदा मृतक लक्ष्मी श्रेष्ठको मृत्यु आफै इनारमा हाम फाली आत्महत्या गरेबाट भएको हो वा कसैको कर्तव्यबाट भएको हो भन्ने प्रश्नका साथै कसैको कर्तव्यबाट लक्ष्मी श्रेष्ठको मृत्यु भएको भए मार्ने व्यक्ति राज कुमार श्रेष्ठ वा अरु नै व्यक्ति हो भन्ने तर्फ विचार गरिनु पर्ने हुन आउंछ ।
३५. प्रथमतः लक्ष्मी श्रेष्ठको मृत्यु भएकोमा विवाद छैन । घटनास्थल तथा लाश प्रकृति मुचुल्का हेर्दा ल.पु.न.पा. वार्ड नं. १८ कायगुननी टोलस्थित पूर्वमा वेखा मर्हजनको घर पश्चिममा थाम महर्जनको पक्की घर उत्तरमा काइचा महर्जनको घर, दक्षिणमा सानुकाजी महर्जनको घर यति ४ किल्ला भित्र अवस्थित ३ फिट ७ इन्च अर्धव्यास गहिराई अंदाजी ३५ फिट भएको वाहिर फलामे जालीले ढाकिएको इनार माथिबाट हेर्दा फिंज आईरहेको देखि वाल्टी झिक्ने फलामे कांटाले चलाई हेर्दा एक मृतक महिलाको लाश २० फिट माथि देखि पानीको सतहमा डुबी रहेको देखिएकोले उक्त लाशलाई झिक्न खोज्दा झिक्न नसकी तत्कालै दमकलका मानिसहरुलाई बोलाई निजहरुको सहयोगबाट फलामे कांटाले मृतकको कपालमा अल्झाई इनारबाट वाहिर निकालेर हेर्दा ललितपुर जि. भारदेउ गा.वि.स. वार्ड नं. ८ पोवोर घर भै हाल ललितपुर जिल्ला ल.पु.न.पा. वार्ड नं. १८ स्थित मालपोत कार्यालय अगाडि चिया पसल गरी बस्ने राजकुमार श्रेष्ठकी श्रीमती वर्ष १९ की लक्ष्मी श्रेष्ठ भन्ने वुझिएको उक्त लाशको कपाल कालो लामो भएको सेतो धर्के सर्ट भएको रातो रंगिन लुङ्गी लगाएको उक्त लाश घोप्टो अवस्थामा रहेको उक्त लाशलाई उत्तानो पारी हेर्दा निधारमा गोलो रातो टिका भएको, नाकबाट सिंगान जस्तो पदार्थ निस्की रहेको, दुवै आंखा वन्द रहेको मुख अर्ध खुल्ला रहेको, तलको चारवटा दांत देखिएको, कानमा सुनको झुम्का लगाएको दाहिने हातमा चारवटा रातो चुरा भएको, वायां हातमा सिटिजन क्वार्च घडी भएको र १२ वजे र २१ मिनेट १५ सेकेण्ड वजेको देखिएको, हात दुवैतिर फैलिएको, मुठी २ हातको अर्ध खुला भएको, हातको पञ्जाको छालाहरु चाउरी परी सेतो भएको देखिएको दुवै खुटृा अर्ध खुम्चिएको अवस्थामा रही पैतालाको भाग चाउरी परी सेतो भएको, शर्ट भित्र रातो व्लाउज र सो भित्र कालो रंगको चेष्टर (व्रा) भएको कम्मरमा सेतो पटुका वांधिएको र सो भित्र रु.१४२। भएको उक्त पटुका र लुङ्गी तथा भित्र रहेको कटु समेत खोली हेर्दा शरीरको अगाडिको भागमा कहिं कतै चोटपटक निलडाम, घाउ तथा खत भएको नदेखिएको, शरीरको पछाडीको भागमा समेत कुनै चोटपटक भएको नदेखिएको मलद्वारबाट दिसा ननिस्केको, गुप्ताङ्गबाट केहि निस्केको नदेखिंएको । उक्त लाशलाई घोप्टो पारी पेट थिचि हेर्दा मुखबाट पानी ननिस्केको कपालको रौ उखाली हेर्दा ननिस्केको समेतको लाश प्रकृति मुचुल्का देखिन आउंछ । मिसिल सामेल रहेको लाश जांच प्रकृति मुचुल्कामा देखाइएको लाशको प्रकृतिसंग ज्यान सम्वन्धीको ३ नं. मा उल्लेख भएको प्रकृतिसंग मिल्ने नमिल्ने कस्तो रहेछ भनि हेर्दा लाशको टाउको गर्धन वा कहिंकतै चोटपटक, रगत लागेको देखिंदैन । मृतक लक्ष्मी श्रेष्ठलाई घोप्टो पारी मिच्दा पानी निस्केको समेत देखिंदैन । हातको छाला चाउरिएको देखिंदैन, हातको पञ्जाको छाला सम्म खुम्चिएको देखिन्छ । हातको छाला भन्नाले हातको अगाडि पछाडी सवैतिरको छाला खुम्चिएको देखिनु पर्दछ । पञ्जा मात्रलाई हातको छाला मान्न मिल्दैन । मेडिकल जुरिस्प्रुडेन्समा यस तर्फ कस्तो विवेचना गरेको रहेछ भनी (Textbook of Medical Jurisprudence and Toxicology,Twenteeth Edition Third Impression page-163-174) हेर्दा त्यस्मा उल्लेखित (Drowning) को लक्षण समेत मृतक लक्ष्मी श्रेष्ठको लाशमा विद्यमान देखिंदैन। मुख्यतः सेतो सावुनको फिंज (Froth) जस्तो वस्तु नाक मुखमा प्रशस्त मात्रामा देखिनु पर्ने हुन्छ । नाकबाट निस्केको वस्तु सावुनको फिंज (Froth) जस्तो वस्तु हो भनी मान्न सकिने अवस्था रहेन । अर्को मुख्य कुरामा हातको मुठ्ठीमा केही चिज समाए जस्तो गरी वेस्सरी कस्सिएको हुनु पर्ने भन्ने देखिन्छ । लक्ष्मी श्रेष्ठको हातका मुठीहरु अर्ध खुला अवस्थामा रहेको देखिन्छ । हातको नङमा माटो पसेको वा भग भित्र माटो पसेको अवस्था पनि देखिंदैन ।
३६. ने.का.प. २०१७, नि.नं. १००, पृष्ठ ३९ रेशमलाल विरुद्ध प्यारेलाल माडवारी भएको ज्यान मुद्दामा यस अदालतबाट फैसला हुंदा (प्रकरण ३ मा उल्लेख भए अनुसार) पानीमा डुबी मरेको चिन्हहरुमा नाकबाट सावुनको फिंज जस्तो (केही रगत पनि मिसिएको) आउंछ र नाक मुख वरिपरी जम्मा हुन्छ, हातको मुठी कस्सिएको हुन्छ र नंग भित्र माटो वा हात भित्र मुठीमा केही घांस वा अरु केही चिज हुन्छ, पेटमा पानी हुन्छ हात खुटृा ढाडिई चाउरी परेको हुनुपर्ने देखिन्छ । यी सवै चिन्हहरु मध्ये केहि रगतको छिटा छिटी भएको सावुनको फिंज जस्तो वाक्लो फिंज नाकबाट आउनु र नाकमुख वरपर जम्मा हुनु एक प्रमुख चिन्ह हो, जसको आधारमा यो मानिस पानीमा डुबी मरेको हो भन्ने अनुमान गर्न सकिन्छ भनी उल्लेख भएको देखिन्छ । प्रस्तुत मुद्दामा मृतक लक्ष्मी श्रेष्ठको लाशबाट माथि उल्लेख भए अनुसारको कुनै अवस्था रहेको पाइएन ।
३७. अतः मृतक स्वयं पानीमा डुबी (Drowning) मरेको भन्न सकिने अवस्था देखिन
आएन । घटनास्थल प्रकृति मुचुल्कामा लाश फेला परेको इनारलाई बाहिरबाट फलामे जालीले ढँकिएको भनी उल्लेख भएको रहेछ । उक्त जाली हटाइएको अवस्था समेत देखिएन । आफै हाम फाल्ने व्यक्तिले हटाएको फलामे जाली हटेकै अवस्थामा रहनु पर्ने हुन्छ । फलामे जाली हटेको अवस्था नदेखिंदा कुनै व्यक्तिले इनारमा फाली जाली यथावत रुपमा राखेको हुन सक्ने अवस्था देखिन आउंछ । सोही लाश जांच प्रकृति मुचुल्का हेर्दा दुवै आंखा बन्द रहेको, मुख अर्ध खुल्ला रहेको, तलको चारवटा दांत देखिएको शरीरमा कहिंकतै चोटपटक निलडाम, घाउ, खत आदि केही नदेखिएको, दुवै हात फैलिएको र दुवै खुटृा अर्ध खुम्चिएको अवस्थाबाट समेत मृतक लक्ष्मी स्वयं इनारमा हामफाली बाच्ने संघर्ष गर्दा पर्न सक्ने घा खत समेतको अभाव देखिंदा कुनै व्यक्तिले निजलाई मारी इनारमा फाली इनार वाहिरको फलामे जाली समेत ठिक दुरुस्त अवस्थामा राखेको हुन सक्ने देखिन आउंछ । अव कस्ले निज लक्ष्मी श्रेष्ठलाई मारेको हुन सक्तछ भन्ने तर्फ विचार गर्दा अन्य कुनै व्यक्तिको संभावना मिसिलबाट देखिन आएको छैन । आफ्नो स्वास्नी अर्कासंग बिग्रिएको देख्दा लोग्नेलाई रिस उठनु र लोग्ने स्वास्नी वीच विवाद हुनु अस्वभाविक देखिंदैन, सोही पृष्ठभुमिमा प्रतिवादी राजकुमार श्रेष्ठले मृतक लक्ष्मी श्रेष्ठलाई कर्तव्य गरी मारेको ठहर्याएको शुरु ललितपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमती छ ।
न्या. दिलिपकुमार पौडेल
इति संवत् २०५५ साल मंसीर २८ गते रोज २ शुभम् ..................................... ।