शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८ - बकसपत्र जालसाजी

भाग: साल: २०१५ महिना: चैत्र अंक:

निर्णय नं. ८        ने.का.प. २०१५

(सदर अपील पहिला फाँट ऊपर)

सिंगलबेञ्च

न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री

फौ.अ.नं.४३४x ४३५

अपिलाट : बुद्धिलाल श्रेष्ठसमेत

विरूद्ध

रेस्पोन्डेन्ट : चेतलाल श्रेष्ठ

मुद्दा : बकसपत्र जालसाजी

 

(१)   विधवा अंश धनको १ (४) नं ४० बर्ष पुगेकी विधवाले हकवालाको मन्जूरी नलिई आफ्नो भागको चल अचल सबै बकसपत्र गरिदिएको बदर गराउन आएमा हकवालाले हेरे विचार गरेको नदेखिएमा अचलको आमदानीले बर्ष दिन सम्म खान नपुग्ने भए हकवालाको मन्जूरी नभए पनि सदर हुने ठहर्छ ।

            बकस दिने चिर कुमारी समेत यही वादी समेतका नाउँमा अंश पाउँ भनी नालिस गरेको देखिएबाट वादीले हेर विचार गरेको भन्न नहुने र अंश मुद्दामा यही वादीले दिएको प्रतिवादीमा बर्ष दिनको आयस्ताले खान नपुग्ने भन्ने लेखिएकोबाट हेर विचार नगरेको र खाना समेत नपुग्ने देखिनाले त्यस्ता ४० बर्ष नाघि उमेर पुगी सकेकी विधवाले विधवा अंश धनको नं. १ को ४ दफा बमोजिम प्रतिवादी चेतलाललाई शेषपछिको बकसपत्र गरी दिएको सदर गर्ने ठहर्‍याएको इन्साफ अपिल पहिला फाँटका हाकीम असिष्टेन्टले छिनेको मुनासिव ।

(प्रकरण नं. ६)

(२)   हा.क.को १५ नं राय बझाई छिनेको इन्साफ उल्टिएमा राय बझाउने कर्मचारीलाई जरिवाना हुने ।

            राय बझाई छिनेको इन्साफ उल्टीमा समेत वि.ढुंडिराज के हा.क.१५ नं. का ऐन बमोजिम मो.रु. २। दुई जरिवाना हुन्छ ।

(प्रकरण नं. ६)

(३)   हा.क.नं. १० इन्साफ पारी छीन्ने हाकीम उपर अपील हुँदा सोही इन्साफ सदर भएमा अपील दिनेलाई दण्ड हुने ।

            इन्साफ पारी छिन्ने हाकिम उपर अपील गरेमा हा.क.१० नं. का ऐन बमोजिम अपीलले लिने गरेको दण्ड रू ५।को पहिला तहको अपील हुँदा सैकडा १० ले मो.रु. ।५० पैसा दण्ड हुन्छ ।

(प्रकरण नं. ६)

फैसला

      १.     यसमा अन्यायी चेतलाल समेतले हामी उपर रा.का.दे.पै.मा दिएको अंश मुद्दा किनारा नभई आफ्नाआफ्ना भागको यो यति भन्ने निर्णय हुन नपाउँदै आमा चिर कुमारीलाई फकाई ल.पु.पोता राजिष्ट्रेशनमा लगी हाकिम समेतलाई मिलाई ०११।८।१९ गतेका दिन बकसपत्र पास गरेको रहेछन् । सो कुरा निज आमा परलोक भई वहाँको मुद्दा सकार गर्न आउनु भन्ने रा.का.दे.बाट म्याद आई हाजिर हुन गएकोमा १२।११।२५ गतेका तारिखका दिन हाम्रा मन्जूरी बेगर गराएको बकसपत्रको नक्कल मिसिल सामिल देखिएबाट थाहा पाई नालिस गर्न आएको छु । अन्यायवालाहरूले जालसाजीबाट गराएको सो बकसपत्र बदर गराई पाउँ भन्ने बुद्धिलाल वोधलाल समेतको दावी रहेछ ।

      २.    वादीहरूले आमा र म समेतलाई खान लाउन नदिई निकाला गरेकोले आमा र मेरो समेत अंशमा नालिस परी रहेको र आमा र म सगोल भई आमालाई पालन पोषण समेत मैले नै गरेकोले आमाको भाग मलाई बकसपत्र गरी दिएको र आमा परलोक भए पछि पनि दाग बत्ती काज क्रिया मैले नै गरेको । आमा जीवित छंदै देखि आमालाई हेर विचार पालन पोषण नगरेबाट निज वादीहरूको मन्जूरी समेत लिन नपर्ने हुँदा वादी दावी झुठ्ठा हो भन्ने चेतलालको प्रतिवादी रहेछ ।

      ३.    सो बकसपत्र भएका दिन म अड्डा मै हाजीर नभएको । मैले जालसाजी गरें भन्ने कुरा झुठ्ठा हो भन्ने ल.पु.पोता रजिटे«ष्शन अड्डाको हाकिम ना.सु.ईन्द्रबहादुरको रिपोर्ट रहेछ ।

      ४.    निजै वादी प्रतिवादीहरूको अंश मुद्दाको मिसिल झिकाई हेर्दा निजहरू ९८ सालमा मानु छुट्टी बेग्लै बसेको भन्ने लेखिएको र निजै वादीहरूका नाउँमा बकस दिने चिर कुमारी समेतले अंशमा नालिस गरेकी देखिएकोले वादीहरूले आमालाई हेर विचार गरेको रहेछ भन्न नहुने र अंश मुद्दामा यही वादीले दिएको प्रतिवादीमा बर्ष दिनको आयस्ताले खान नपुगी ऋण समेत लागेको भन्ने लखिएकोले खान पुग्ने भन्न नहुने । हेर विचार नगरेको र खाना समेत नपुग्ने हुनाले विधवा अंश धनका ऐन बमोजिम सबै उठाउन पाउने भई बकस दिएको जालसाजी भन्ने पत्यार लायकको सबुद नहुनाले समेत वादीहरूले प्रतिवादी ऊपर झुठ्ठा उजुर गरेको ठहर्छ भन्ने अपील पहिला फाँटका हाकिम असिष्टेन्टको फैसला रहेछ ।

      ५.    निज वादी प्रतिवादीहरूको अंश मुद्दा र बाली मुद्दाको मिसिलबाट बिर्ता समेत भएको र निजहरूको लेनदेन मुद्दाबाट पनि धान ।११ आउने जग्गा देखिएको तायदातीमा पनि पोता दर्ता भएको जग्गा ११।।। देखिएकोबाट बिना सबुद खान पुग्दैन भन्न नहुने । विधवा अंश धनको १ नं. का ऐनले पनि पिता पुर्खाको श्री सम्पत्ति हुँदा जम्मै उठाउन सो ऐनले नहुने । आधा खुस गर्न पाउने हुँदा आधा बदर हुने ठर्हछ भन्ने विचारी ढुंडिराजको राय पर्चा रहेछ ।

      ६.    सो उपर जालसाजी गरी लिएको बकसपत्र सदर गरी दिएकाले चित्त बुझेन भन्ने वादी बुृद्धिलाल वोधलाल समेतको आधा बदर गरी दिने गरेको विचारीका फैसला उपर चित्त बुझेन भन्ने प्र.चेतलाल समेतको अपील । मिसिलको व्यहोरा निज बुद्धिलाल र चेतलाल समेतलाई राखी पेश हुन आएको । यसमा बकस दिने चिर कुमारी समेतको यही वादी समेतका नाउँमा अंश पाउँ भनी नालिस गरेको देखिएबाट वादीले हेर बिचार गरेको भन्न नहुने र अंश मुद्दामा यही वादीले दिएको प्रतिवादीमा बर्ष दिनको आयस्ताले खान नपुग्ने भन्ने लेखिएकोबाट हेर विचार नगरेको र खान समेत नपुग्ने देखिनाले त्यस्ती ४० बर्ष नाघी उमेर पुगी सकेकी विधवाले विधवा अंश धनका १ नं. ४ दफा बमोजिम प्रतिवादी चेतलाललाई शेषपछिको बकसपत्र गरी दिएको सदर गर्ने ठहराएको इन्साफ अपील पहिला फाँटका हाकिम असिष्टेन्टले छिनेको मुनासिव छ । राय बझाई छिनेको मुनासिव छ । राय बझाई छिनेको इन्साफ उल्टीमा समेत विचारी ढुंडिराज के हा.क.१५ नं. का ऐन बमोजिम मो.रु. २। दुई जरिवाना हुन्छ । असूल गर्न अ.त.फौ.मा लगत दिने र अपिलाट बादी बुद्धिलाल १ बोधलाल १ समेत जना २ के ईन्साफ छिनने हाकिम उपर अपिल गरेमा हा.क.१० नं.का ऐन बमोजिम अपीलले लिने गरेको दण्ड रू ५।को पहिला तहको अपील हुँदा सैकडा १० ले मो.रु. ।५० पचास पैसा दण्ड हुन्छ । बुद्धिलाल रूजु हुँदा निजबाट मो.रु. ।२५ पच्चीस पैसा असूल गर्ने र वोधलालको हकमा वारिस हुँदा निजबाट मो.रु. ।२५ पच्चिस पैसा असुल गर्न सो समेतको लगत दिई मिसिल बुझाइदिनु ।

 

इति सम्बत् २०१४ साल फाल्गुन २७ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु