शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७९५ - गाली वेइज्जती

भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १०

निर्णय नं. ६७९५    ने.का.प. २०५६ अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री

संवत् २०४९ सालको फौ.पु.नं. ..६४०

फैसला मितिः २०५६।१।९।५

 

मुद्दाः गाली वेइज्जती ।

 

पुनरावेदक

वादीः  का.जि.का.म.न.पा. वडा नं. २ वस्ने गजानन्ध वैद्य

विरुद्ध

विपक्षी

प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. ३१ वस्ने चच्छु साप्ताहिकको सम्पादक पदमभक्त खरेल

 

§  वादीको व्यक्तिगत चरित्रलाई लिएर प्रतिवादीले विवादित सामाग्री प्रकाशित गरेको नभई वादीको व्यापारिक हैसियतका सम्वन्धमा लेखिएको देखिन आउंदछ । वादीले गरेको व्यापारका विषयमा खोतल्न भन्ने विचार राज्यको ध्यान आकर्षित गर्ने उद्देश्यले गरेको हो वेइजत गर्ने उद्देश्यले होइन भन्ने प्रतिवादीको प्रतिरक्षात्मक भनाइ रहेको देखिन्छ । वादी एक प्रतिष्ठित व्यापारी भएको, त्यस्तो व्यापारिको कृयाकलापले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्ने सार्वजनिक चासो हुन जाने हुंदा त्यस्तो विषयमा ध्यानाकर्षण गराउनुलाई वदनियत पूर्ण वेइजतिको कार्य भनी हाल्न उचित पनि नदेखिने ।

(प्र.नं. १३)

§  गाली वेइजती मुद्दामा व्यक्तिगत चरित्रमा प्रष्ट रुपले आंच आउने कार्य भएको एकिन गर्न सक्ने हुनु पर्दछ । प्रतिवादीको वेइजत गर्ने नियत पनि पुष्टि हुनु पर्दछ । सामान्य गोश्वारा प्रकृतिको अभिव्यक्तिबाट वेइजतिका तत्वहरु स्थापित भएको भन्न  मिल्दैन । संविधानद्वारा प्रत्याभुत विचारको अभिव्यक्तिको स्वतन्त्रता अभिव्यक्तिको भाषा, शैलि र प्रकृतिमा निर्भर गर्ने नभई कानूनले किटेको दण्डनीय घेरा भित्र प्रष्टरुपले पर्नु पर्ने हुन्छ । तसर्थ प्रतिवादीले वादीको वेइजती नै गर्ने नियतबाट सो छापी वादीको वेइजति गरेको भन्न नमिल्ने हुंदा वेइजती ठहर गरेको शुरु जि.अ.को इन्साफ उल्टी गरि प्रतिवादीलाई आरोपित कसुरबाट सफाई दिने गरी गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै हुंदा सदर हुने । 

         (प्र.नं. १४)

 

पुनरावेदक वादीको तर्फबाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल

विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामजी विष्ट

अवलम्वित नजिरः

 

फैसला

      न्या.लक्ष्मणप्रसाद अर्याल : पुनरावेदन अदालत पाटन ललितपुरको २०४९।७।१८ को फैसला उपर चित्त नवुझी वादीको पुनरावेदन परि आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छः

      २.    म फिरादी उद्योगी र व्यापारी हुं विपक्षी प्रतिवादीले २०४४ सालको भाद्रको अन्तिम साता तिर मेरो कार्यालयमा आइ म पत्रकार हुं रु.दश हजार दिनु पर्‍यो भन्दा मैलै यसरी कम्पनीको पैसा दिन मिल्दैन भन्दा निजले क्रुध्द भई आफ्नो चक्षु पत्रिका मार्फत वदनाम गराउछु भनी धम्की दिएको र आफ्नो पत्रिका चक्षुको वर्ष १० अंक १३ मिति २०४४।६।३० ऐ. को अंक १४ मिति २०४४।७।११ ऐ. को अंक १५ मिति २०४४।७।२० मा मलाई दोषपूर्ण तथा मिथ्या लान्छना लगाई वैद्य निलम काण्ड खोतले धेरै काण्ड उदाङ्गिने तस्करहरुको अर्को मुहान फेला पर्ने वैद्य निलम काण्डको दोश्रो भाग शिषर्कहरु अर्न्तगत श्रीमती निलम पाण्डेसंग फिरादीको सम्वन्ध तस्करी लागु पदार्थको कारोवार गरेको जस्तो असत्य आपत्तिजनक र वेइजतीपूर्ण लान्छना र दोष लगाई गाली वेइजती ऐन, २०१६ को दफा ३ र ५(१)(२) वमोजिम प्रतिवादीले कसुर गरेको हुंदा हदै सम्म सजाय गरि ऐनको दफा १२ वमोजिम क्षतिपुर्ति समेत दिलाई पाउं भन्ने समेत व्यहोराको गजानन्द वैद्यको फिराद पत्र ।

      ३.    विपक्षीको सार्वजनिक प्रश्नसंग सम्वन्ध राख्ने आचरणको विषयमा वुझिने सम्मको कुरा मात्र नियतले श्री ५ को सरकारद्वारा चासो राख्नु पर्ने कुरामा म फिरादीले प्रकाश गरेको हुं । यस्तोमा निजले आफ्नो वेइजती भएको भन्न कदापी मिल्दैन । चक्षु, प्रकाशनलाई क्षती पुर्‍याउने नियतले यो मुद्दा दायर गरेको हुंदा विपक्षीलाई नै गाली वेइजति ऐन, २०१६ को दफा १० वमोजिम सजाय गरि पाउं भन्ने समेत व्यहोराको चक्षुका सम्पादक पदम भक्त खरेलको प्रतिउत्तर पत्र ।

      ४.    उक्त समाचारका शव्दहरु अपमानजनक देखिंदा गाली वेइजती ऐन, २०१६ को दफा ३ वमोजिम प्रतिवादीले वादीको वेइजति गरेको ठहर्छ सो ठहर्नाले ऐ ऐनको दफा ५ वमोजिम प्र. लाई रु.५००। जरिवाना हुन्छ र ऐ ऐनको दफा १२ वमोजिम रु.१०००। वादीले क्षतिपुर्ति समेत भराई पाउने ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ.को मिति २०४६।६।२८ को फैसला ।

      ५.    शुरु का.जि.अ. को फैसला प्रमाण ऐन, २०३१ को दफा ३,५४ र मु.ऐन अ.वं. १८४, १८५ समेतको विपरीत हुंदा वदर गरि पाउं भन्ने समेत व्यहोराको चक्षुका सम्पादक पदमभक्त खरेलको वा.अं.अ. मा परेको पुनरावदेन पत्र ।

      ६.    यसमा चक्षु साप्ताहिक वर्ष १० अंक १५ मा प्रणव प्ररसको पत्र समेत प्रकाशित गरेको परिप्रेक्ष्यमा शुरु जि.अ.ले गरेको इन्साफ विचारणीय हुंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको वा.अं.अ. को २०४७।७।७ को आदेश ।

      ७.    रुपैया नदिएको रिस वादी माथि पोख्नु थियो भने वादीकै सम्वन्धमा मात्र प्रकाशित गरिएको हुनुपर्ने सो नभए समेतबाट रुपैया नदिएकोमा रिस राखी उक्त सामानहरु प्रतिवादीले प्रकाशित गरेका हुन भनी विश्वास गर्न समेत मिलेन । तसर्थ उपरोक्त कारण प्रमाणबाट वादी दावी नपुग्ने ठहराउनु पर्नेमा  प्रतिवादीले वादीलाई गाली वेइजती ऐन, २०१६ को दफा ३ वमोजिम वेइजति गरेको ठहराएको शुरु जिल्ला अदालतको इन्साफ गल्ती हुंदा उल्टी भै वादी दावी नपुग्ने ठहर्छ भन्ने पुनरावेदन अदालतको २०४९।७।१८ को फैसला ।

      ८.    दावी वमोजिम गाली वेइजति ठहराउनु पर्नेमा गाली वेइजति ठहर गरेको शुरु इन्साफ उल्टि हुने गरि गरेको पुनरावेदन अदालत ललितपुरको फैसला उल्टी गरि वादी दावी वमोजिम सजाय गरि पाउं भन्ने वादीको यस अदालतमा परेको पुनरावेदन ।

      ९.    प्रतिवादीलाई सफाई दिई वादी दावी नपुग्ने गरेको पुनरावेदन अदालतको इन्साफ फरक पर्न जाने देखिंदा विपक्षी झिकाइ आएपछि नियम वमोजिम पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको २०५५।३।१ को आदेश ।

      १०.    नियम वमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट वहसको लागी उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले मेरो पक्षलाई विपक्षी चच्छू साप्ताहिक पत्रिकाका प्रकाशक तथा सम्पादकले आफ्नो उक्त पत्रिकामा विभिन्न शीर्षक राखी त्यसमा लेखिएका कुरा पढ्न र सुन्न लायक नभई मेरो पक्ष प्रतिष्ठित व्यापारीको इज्जत प्रतिष्ठामा धक्का पुग्ने किसिमले वेइजतिपूर्ण कुराहरु उल्लेख गरेबाट गाली वेइजति ऐन, २०१६ वमोजम प्रतिवादीलाई सजाय हुनु पर्ने स्थिति हुंदा वेइजति गरेको ठहर गरि सजाय समेत गर्ने गरेको शुरु जि.अ. को फैसला सदर गरि पुनरावेदन अदालतको इन्साफ उल्टी हुनु पर्दछ भन्ने र विपक्षी प्रतिवादीको तर्फबाट वहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री रामजी विष्टले मेरो पक्षले विपक्षी वादीको कुनै पनि इज्जत प्रतिष्ठामा धक्का पुग्ने गरि वदनियतपूर्ण तरिकाले लेख प्रकाशित गर्नु भएको नभई आफू कांहा प्राप्त भएका समाचार लेख मात्र ऐन संविधानले प्रदान गरेको अधिकार भित्र रहेर छाप्ने प्रकाशन गर्ने काम गर्नु भएको हो त्यसैले पुनरावेदन अदालतले वादी दावी पुग्न नसक्ने गरि गरेको फैसला मिलेकै हुंदा सदर हुनु पर्ने स्थिति छ भनी गर्नु भएको वहस जिकिर समेत सुनियो ।

      ११.    प्रस्तुत मुद्दामा पुनरावेदन अदालतले गरेको इन्साफ मनासिव वेमुनासिव के रहेछ सो सम्वन्धमा निर्णय दिनुपर्ने भई इन्साफ तर्फ विचार गर्दा यस्मा पुनरावेदक वादीले प्रतिवादी चक्षु साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक पदमभक्त खरेलले आफ्नो चक्षु पत्रिकाको वर्ष १०, अंक १३, मिति २०४४।६।३० ऐ. अंक १४ मिति २०४४।७।११ ऐ. को अंक १५ मिति २०४४।७।२० मा दोषपूर्ण तथा मिथ्या लान्छना लगाई वेइजतिपूर्ण कुराहरु प्रकाशित गरी र सोही पत्रिकाको वर्ष १० अंक २५ मिति २०४४।९।२४ मा रोषपूर्ण मिथ्या लन्छाना लगाई वेइजति पूर्ण कुरा हरु उल्लेख गरि गाली वेइजती ऐन, २०१६ को दफा ३ दफा ५(१)(२) वमोजिमको कसुर गरेको हुंदा हदै सम्म सजाय गरि ऐ को दफा १२ वमोजिमको क्षतिपुर्तिको माग गरि वेग्ला वेग्लै फिराद दायर भै आएको देखिन आयो ।

      १२.   प्रतिवादीले आफ्नो पत्रिका त्यस प्रकार प्रकाशित लेखहरुका सम्वन्धमा विभिन्न पत्रिकामा आ-आफ्ना प्रतिकृयाहरु समेत व्यक्त गरि लेखिएको देखिन्छ । प्रतिकृया नामक साप्ताहिक पत्रिकाको २०४४।७।१६ को अंकमा प्रतिवादीले प्रकाशित गर्न नहुने प्रकाशित गरेमा क्षोभ प्रकट गरिसकेको स्मरण साप्ताहिकको २०४४।१०।२ को अंकमा वादीको व्यक्तिगत चरित्र र प्रतिष्ठा राम्रो भएको भनी प्रकाशित भएको सरोकार नामक साप्ताहिक पत्रिकाका वादीको चरित्र हत्या गरिएको भन्ने कुरामा आपत्ति जनाएको वादीका सम्वन्धमा प्रकाशित सुधा सागरको २०४४।७।२७ को अंक पित पत्रकारीता हो भनिएको त्यसैगरी २०४४।७।१३ मा नयां आवाज पत्रिकामा वादीका सम्वन्धमा कपोल कल्पित पित पत्रिका हो भनी व्यक्त गरेको पाइन्छ । यसरी वादीका सम्वन्धमा प्रतिवादीले प्रकाशित गरेको कुरा पत्रकारीताको मर्‍यादा अनुकुल नभएको भन्ने देखिन आएको  छ।

      १३.   वादीले मुख्य आपत्ति जनाएको विषय वैद्य निलम काण्ड भन्ने उल्लेखित विषयमा देखाई निलम वैद्यको सम्वन्धका कुरा उल्लेख गरि पूर्ण र झुठ्ठा लान्छना पूर्ण कुरा लेखिएको भन्ने उल्लेख भएको भन्ने समेत देखिन आएको छ । निलम पाण्डेको विषयमा लेखिएको आपत्तिजनक लेखमा निज समेतले कानूनन आपत्ति जनाएको मिसिलहरुबाट देखिन आएको छैन । पत्रकारले पालन गर्नुपर्ने नैतिक आचरण र दण्डनिय गाली  वेइजतिको  विषयमा  एउटै नभई फरक फरक हुन्छ । वादीको व्यक्तिगत चरित्रलाई लिएर प्रतिवादीले विवादित सामाग्री प्रकाशित गरेको नभई वादीको व्यापारिक हैसियतका सम्वन्धमा लेखिएको देखिन आउंदछ । वादीले गरेको व्यापारका विषयमा खोतल्न भन्ने विचार राज्यको ध्यान आकर्षित गर्ने उद्देश्यले गरेको हो वेइजत गर्ने उद्देश्यले होइन भन्ने प्रतिवादीको प्रतिरक्षात्मक भनाइ रहेको देखिन्छ । वादी एक प्रतिष्ठित व्यापारी भएको, त्यस्तो व्यापारिको कृयाकलापले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्ने सार्वजनिक चासो हुन जाने हुंदा त्यस्तो विषयमा ध्यानाकर्षण गराउनुलाई वदनियत पूर्ण वेइजतिको कार्य भनी हाल्न उचित पनि देखिंदैन ।

      १४.   गाली वेइजती मुद्दामा व्यक्तिगत चरित्रमा प्रष्ट रुपले आंच आउने कार्य भएको एकिन गर्न सक्ने हुनु पर्दछ । प्रतिवादीको वेइजत गर्ने नियत पनि पुष्टि हुनु पर्दछ । सामान्य गोश्वारा प्रकृतिको अभिव्यक्तिबाट वेइजतिका तत्वहरु स्थापित भएको भन्न   मिल्दैन । संविधानद्वारा प्रत्याभुत विचारको अभिव्यक्तिको स्वतन्त्रता अभिव्यक्तिको भाषा, शैलि र प्रकृतिमा निर्भर गर्ने नभई कानूनले किटेको दण्डनीय घेरा भित्र प्रष्टरुपले पर्नु   पर्ने हुन्छ । तसर्थ प्रतिवादीले वादीको वेइजती नै गर्ने नियतबाट सो छापी वादीको वेइजति गरेको भन्न नमिल्ने हुंदा वेइजती ठहर गरेको शुरु जि.अ.को इन्साफ उल्टी गरि प्रतिवादीलाई आरोपित कसुरबाट सफाई दिने गरी गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै हुंदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम  वमोजिम  गरि वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गोपालप्रसाद खत्री

 

इति सम्वत २०५६ साल वैशाख ९ गते रोज ५ शुभम ............ ।

     

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु