शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६७९७ - उत्प्रेषण लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउं

भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १०

निर्णय नं. ६७९७    ने.का.प. २०५६ अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल

संम्वत २०५४ सालको रिट नं. .... २८५३

आदेश मिति : २०५६।५।२५।६

 

विषयः उत्प्रेषण लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउं ।

 

निवेदक : जिल्ला सिरहा नगरपालिका वडा नं. १ वस्ने वर्ष ५६ को रामसेवक महरा

विरुद्ध

विपक्षीः ऐ.ऐ. वडा नं. २ वस्ने वर्ष ४५ को प्रेम महतो कोइरी समेत

 

§  जिल्ला न्यायाधीशद्वारा यसप्रकार सम्पन्न भइसकेको कार्यवाहीलाई वदर गर्न पाउने अधिकारको सिमा दण्ड संजायको ६१ नं. को कानूनी व्यवस्थाले निर्धारण गरेको र सो कानूनको व्यवस्थाबाट फैसला कार्‍यान्वयनको सिलसिलामा तहसिलदार कर्मचारीका कार्यवाहीमा चित्त नवुझ्ने पक्षले १५ दिनभित्र उजूरी दिएमासम्म निजले त्यस्तो उजूरीको सम्वन्धमा जांचवुझ गरी उपर्युक्त आदेश गर्न सक्ने व्यवस्था रहेको देखिन आउंछ । विपक्षी प्रेम महतो कोइरीले मिति २०५३।८।६ मा दिएको उजूरी निवेदन कानूनको कुन म्याद अन्तरगत परेको हो ? र अनिश्चित कालसम्म छानविन गर्न पाउने क्षेत्राधिकार सो जिल्ला अदालतलाई कुन कानूनले दिएको हो ? सिरहा जिल्ला अदालत र त्यसलाई सदर गर्ने गरेको पुनरावेदन अदालत, राजविराजको २०५३।११।३ को आदेश र सो अदालतहरुको लिखित जवाफमा पनि खुलाउन सकेको देखिन आएन । यसप्रकार अदालतको फैसला वमोजिम साहुको तिर्नु वुझाउनु पर्ने पक्षले घिङन्याइ गरी लिलामीको सूचना म्याद समेतको वास्ता नगरेकोमा डांक लिलाम हुंदा सकार गरी रकम चुक्ता गरी चलन पाउने पक्षले अदालतसंग गरेको व्यवहार समेत कांचो हुने गरी घडेरी जग्गा र कित्ता नम्वर सच्याएको भन्ने विवादास्पद तथ्यहरुलाई उल्लेख गरी सहजताका साथ लिलाम सम्वन्धी सम्पूर्ण कार्यवाही वदर गर्नुबाट लिलाममा सकार गर्ने पक्षको विश्वासमा आंच आउने समेत देखिन आएको र सो म्याद नघाइ त्यस्तो काम कारवाही गर्न गराउन जिल्ला अदालत र पुनरावेदन अदालत समेतलाई कानूनको अधिकार नभएकोले उक्त दुवै अदालतको आदेश र सो अर्न्तगत भएका काम कारवाहीहरु उत्प्रेषण आदेशद्वारा वदर हुने ।

                     (प्र.नं. ११)

 

निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री सीताराम तिवारी ।

विपक्षीतर्फबाटः विद्वान अधिवक्ता द्वय श्री सतिशकृष्ण खरेल र श्री विदुर विक्रम थापा ।

अवलम्वित नजीरः

 

आदेश

      न्या. केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (२) वमोजिम यस अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ । 

      २.    जिल्ला सिरहा लहान न.पा. वडा नं. २ वस्ने वादी जिवछ महतो कोइरी विरुद्ध प्रतिवादी ऐ.वस्ने विपक्षी प्रेम महतो कोइरीसंगको लेनदेन मुद्दामा सिरहा जिल्ला अदालतको मिति २०४८।८।६ र पुनरावेदन अदालत, राजविराजको २०४९।९।२३ गतेको अन्तिम फैसलाबाट निज वादीले प्रतिवादीबाट सांवा व्याज तथा कोर्टफि समेत भरी पाउने ठहर भएकोमा निज वादीले आफ्नो विगो असुल उपर गरी पाउन विपक्षी मध्येको प्रेम महतो कोइरीको नामको जिल्ला सिरहा सिगंराही मटिपर्वा वडा नं. ८ कि.नं.. ३७८ ऐ. वडा नं. ४ (क) कि.नं. ११२ ऐ. कि.नं. ११४ ऐ. कि.नं.. १६५ र ऐ. कि.नं. २८८ समेतको जग्गा उल्लेख गरी सिरहा जिल्ला अदालतमा मिति २०५२।४।१२ गतेमा निवेदन दिनु भएको थियो । सो कारवाहीको जनाउ दिई विगो वुझाउन ल्याउने वारेको मिति २०५२।५।८ मा जारी भएको ३५ दिने सूचना म्यादभित्र विपक्षी प्रेम महतो कोइरीले मिति २०५२।९।१९ गतेमा आफ्नै स्वहस्ताक्षरले वुझीलिएर पनि विगो दाखिल गर्नु भएन। वादीले देखाएको मध्ये ऐ. कि.नं. ३७८ क्षेत्रफल ०-७-१ ऐ. कि.नं. ११२ क्षेत्रफल ०-५-७ को जग्गा सिरहा जिल्ला अदालतको प.सं. ०५२।५३ च.नं. ७३३० मिति २०५३।२।२९ को पत्रबाट रोक्का राखी तथा मिति २०५३।२।३१ मा जायजात गरी पठाई दिनु भन्ने पुर्जि जारी गरी मिति २०५२।२।२३ मा जायजात भई वादी तथा प्रतिवादी विपक्षी मध्येका प्रेम महतो कोइरीले पनि सो को मुचुल्कामा सही गर्नु भएको थियो । त्यसमा मिति २०५३।३।२८ मा पंचकिर्ते मुल्याकंन समेत भएको थियो । उक्त जायजात मुचुल्का तथा पंचकिर्ते मुल्याकंनमा उक्त जग्गाको प्रतिकठा रु.५००। को दरले मुल्याकंन भएकोमा मिति २०५३।४।२५ गतेको लिलाम डांकको तारेख मुकरर गरी मिति २०५३।४।२ मा जारी भएको उक्त शुरु डांक लिलामीको सूचना विपक्षी मध्येको प्रेम महतो कोइरीको घरदैलोमा मिति २०५३।४।५ मा तामेल समेत भएको थियो । उक्त तोकिएको मितिमा रीतपूर्वकको डांक लिलाम वढावढ गर्दा निज वादीले विगोको रु.५०,०१६।४१ पैसामा मात्रै सकार गर्न इच्छा गरेको र म निवेदकले सो भन्दा वढी अर्थात रु.५०,५१६। मा डांक लिलाम सकार गरी तदनुसारको रकम दाखिला गरेकोमा सोही रकमबाट वादीको निवेदन परेमा विगोको २.५ प्रतिशत दस्तूर असुल उपर गरी वादीलाई भुक्तानी दिने र वढी रकम रु.४९९।५९ पैसा विपक्षी मध्येको प्रेम महतो कोइरी हाजिर भएमा भुक्तानी दिन ७ दिने म्याद निजको नाममा जारी गर्ने भनि विगोको दायरी लगत कटृा गरी मिसिल तामेलीमा राख्ने मिति २०५३।४।२७ मा आदेश भएको थियो ।

      ३. उक्त डांक लिलाम उपरमा दण्ड संजायको ६१ नं. वमोजिम उजुर परेको छ, छैन भन्ने उजूरी शाखालाई सोधनी हुंदा उजूरी परेको नदेखिएको भन्ने जवाफ सो शाखाबाट प्राप्त भएपछि म निवेदकले डांक लिलाम सकारेको जिल्ला सिरहा सिंगराही मटिपर्वा गा.वि.स. वडा नं. ८ कि.नं. ३७८ को क्षेत्रफल ०-७-१ र ऐ. वस्ने ४(क) कि.नं. ११२ को क्षेत्रफल ०-५-७ मध्ये पूर्वतर्फबाट ०-२-१९ जग्गा म निवेदकको नाममा दाखा दर्ता गरी दिनु भनी मालपोत कार्यालयको नाममा मिति २०५३।५।१० मा नै पत्रलेखि सोही वमोजिमको वोधार्थ पत्रबाट मलाई चलन पुर्जि समेत दिई मिति २०५३।५।११ मा मैले उक्त जग्गाको जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरी तदनुसार जग्गा भोगचलन गर्दै आएको थिएं कुनै विवाद थिएन । विपक्षी मध्येका प्रेम महतो कोइरीले उक्त जग्गा डांक लिलाम सम्वन्धी कारवाहीको नक्कल मिति २०५३।६।१ मा प्राप्त गरी कुनै उजुर वाजुर समेत नगरी चित्त वुझाई वसी सकेपछि अर्काको उचल्याइमा लागी हदम्याद सम्पूर्ण समाप्त भइसकेको कुरामा मिति २०५३।८।६ मा सिरहा जिल्ला अदालतमा निवेदन दिनु भएकोमा जायजेथा मुचुल्का हेर्दा जग्गा घडेरी भन्ने उल्लेखित भएको र सच्चिएको कि.नं. ११२ मा पक्षको सहीछाप समेत भए गरेको नदेखिएकोले मिति २०५३।४।२५ को डांक लिलामको कारवाही रीतपूर्वक मान्न सकिने अवस्थाको नभै वदरयोग्य हुंदा वदर गरी दिएको छ । पुनः जायजात मुचुल्का गरी कानून वमोजिम डांक लिलाम कारवाही गर्नु भन्ने मिति २०५३।८।१४ मा गैरकानूनी आदेश भयो । सिरहा जिल्ला अदालतको उक्त वेरीतको आदेश वदर गरी पाउन मुलुकी ऐन, अ.वं. ११७ अनुसार राजविराज पुनरावेदन अदालतमा निवेदन चढाएकोमा कैफियत प्रतिवेदन समेत मगाई कानून वमोजिम गर्नु भन्ने मिति २०५३।११।३ मा आदेश भएको भन्ने उक्त आदेशको प्रतिलिपि मिति २०५३।११।६ मा सराइ लिएपछि मात्र यथार्थ व्यहोरा थाहा हुन आयो । विपक्षी मध्येका प्रेम महतो कोइरीले साहुलाई अदालतको फैसला अनुसार वुझाउनु पर्ने सांवा रु.३१,०००। व्याज रु.१८,४९६।६५ तथा नपुग कोर्ट फि रु.५१९।७६ गरी जम्मा रु.५०,०१६।४१ वापत वादीले साहुले देखाएको र सम्मानित सिरहा जिल्ला अदालत, तहसिल शाखाबाट जायजात तथा पंचकिर्ते मुल्याकंन समेत कायम गरिएको आधारमा जिल्ला सिरहा सिंगराही मटिपर्वा गा.वि.स. वडा नं. ४(क) कि.नं. ११२ क्षेत्रफल ०-५-७ मध्ये पूर्वतर्फबाट क्षेत्रफल ०-२-१९ र ऐ.ऐ. वडा नं. ८ कि.नं. ३७८ को क्षेत्रफल   ०-७-१ जग्गा गरी २ कित्ता जग्गाको लागि कानूनको रीत पुर्‍याई डांक लिलाम गरिंदा अरुले सकार गर्न नचाहेको तथा साहु वादीले विगो वापतको रु.५०,०१६।४१ पैसामा मात्र सकार गर्ने भई म निवेदकले निजले डांक वोलको भन्दा वढी अर्गात वढावढ गरी रु.५०,५१६। मा डांक सकार गरी विगो समेत जम्मा गरी सो मैले जम्मा गरेको रकमबाट अदालतको दस्तूर वापत २५ प्रतिशत कटाइ वादी साहुलाई भुक्तानी दिने र वांकी रु.४९९।५९ प्रीतवादी अर्थात विपक्षी मध्येको प्रेम महतो कोइरीलाई भुक्तानी दिलाउन ७ दिनेको म्याद जारी गरिएकोमा उक्त डांक लिलामको कारवाहीमा चित्त नवुझ्ेको भए विपक्षी प्रेम महतोले मुलुकी ऐन दण्ड सजायको ६१ नं. वमोजिम १५ दिनभित्रमा उजुर गर्न पाउनेमा विपक्षी चित्त वुझाएर नै वस्नू भएको थियो । त्यतिमात्र होइन विपक्षी प्रेम महतोले मलाई सो डांक लिलाम गरेको कुरा डांक लिलाम सम्वन्धित कागजात सारेपछि मात्र थाहा भएको हो कि भनी एकै छिनका लागि भनिएको खण्डमा पनि निज विपक्षी आफैले उक्त डांक लिलाम सम्वन्धी सम्पूर्ण कागजातको नक्कल मिति २०५३।६।१ मा सारी लिएर सो मा   चित्त वुझाइ सकेपछि अर्काको उचल्याइमा लागेर मात्र सम्पूर्ण हदम्याद गुजारी मिति २०५३।८।६ मा सिरहा जिल्ला अदालतमा पेश गर्नु भएको निवेदनको आधारमा उक्त अदालतबाट रीतपूर्वक भएको डांक लिलामको कारवाहीलाई वदर गर्ने आदेश भएको र सो गैरकानूनी आदेशलाई पुनरावेदन अदालत राजविराजले सदर गरेकोबाट दण्ड संजायको ६१ नं. को हदम्यादको प्रत्यक्ष गंभिर त्रुटी भई ने.का.प. २०४१ अंक १ पेज नं. ४ मा प्रकाशित सेम कुमारी श्रेष्ठ वि. मनोहर नारायणको मुद्दामा प्रतिपादित नजिरको विपरीत भएको छ । रीतपूर्वक डांक लिलाम सम्पन्न भई म निवेदकले सिरहा जिल्ला अदालतको प.सं. ०५३।५४ विगो नं. ५४४ च.नं. ८३० मिति २०५३।५।१० को पत्रबाट चलन पुर्जि पाइ म निवेदकले आफ्नो नाममा मिति २०५३।५।११ मा जग्गा दा.खा. दर्ता गराई भोगचलन गरी सकेपछि हदम्याद नाघि कुनै ऐन कानूनको आधार नदेखाइ परेको विपक्षी प्रेम महतो कोइरीको ठाडो निवेदन उपरमा सिरहा जिल्ला अदालतले कुन ऐन कानून अन्तरगत आफ्नो अधिकार क्षेत्र ग्रहण गरी रीतपूर्वकको डांक लिलामलाई वदर गर्ने आदेश गरेको हो, सो आदेशमा कुनै कुरा खुल्दैन । कानूनले अधिकार क्षेत्र  गह्रण गर्न नपाउने कुरामा अधिकार क्षेत्र ग्रहण गरी गरेको वेरीत तथा गैरकानूनी आदेशलाई राजविराज पुनरावेदन अदालतले पनि सदर गरी कानून वमोजिम गर्नु भन्ने गरेको आदेश त्रुटीपूर्ण छ ।

४.    शुरु जिल्ला अदालतबाट डांक लिलाम वढावढमा भाग लिनका लागि मैले आफ्नो अर्को घर परिवारको जो भएको गरगहना अनाज समेत विक्रि गरी जुटाएको रकमबाट डांक लिलाम सकार गरी रकम समेत भुक्तानी गरी तदनुसार प्राप्त गरेको सम्पत्ति भोग चलन समेत गरी सकेकोले म निवेदकको नाममा दाखिल दर्ता भइसकेको कुरामा सो दर्ता वदर सम्वन्धमा कुनै उजुर वाजुर समेत नपरेको अवस्थामा शुरु सिरहा जिल्ला अदालतबाट भएको मिति २०५३।८।१४ को गैरकानूनी आदेश तथा सो लाई सदर गरीएको पुनरावेदन अदालत, राजविराजको मिति २०५३।११।३ को आदेशबाट म निवेदक ठुलो अन्यायमा परेको छु । माथि उल्लेख गरे वमोजिम शुरु सिरहा जिल्ला अदालत तथा पुनरावेदन अदालत, राजविराजको वेरीत   तथा गैर काननी आदेशबाट मलाई नेपाल अधिराज्यको संविधान, २०४७ को भाग ३ को धारा ११(१) र ऐ.को धारा १७(१) द्वारा प्रत्याभुत गरिएको संवैधानिक हक अधिकार कुण्ठित भएकोले सो त्रुटीपूर्ण गैरकानूनी आदेश वदर गराई पाउन अन्य कुनै प्रभावकारी वैकल्पिक उपाय नभएकोले ऐ. संविधानको धारा ८८(२) अनुसार यस सम्मानित अदालतको असाधारण अधिकार क्षेत्र गुहार्न आएको छु, अतः उत्प्रेषण लगायतको अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी शुरु सिरहा जिल्ला अदालतको मिति २०५३।८।१४ र पुनरावेदन अदालत, राजविराजको मिति २०५३।११।३ को आदेश वदर गरी पाउं । साथै यो निवेदनको टुंगो नलाउदै शुरु सिरहा जिल्ला अदालतको मिति २०५३।८।१४ गतेको आदेशमा उल्लेख भए अनुसार पुनः डांक लिलामको कारवाही गर्ने प्रवल संभावना भएकोले यो निवेदनको अन्तिम टुंगो नलागी पुनः डांक लिलामको कार्य नगर्नु नगराउनु भनि सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१(१) अनुसार विपक्षीहरुको नाममा अन्तरीम आदेश समेत जारी गरी पाउं भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको रिट निवेदन पत्र ।

५.    विपक्षीहरुबाट लिखित जवाफ आएपछि पेश गर्नु र लिखित जवाफ प्राप्त नभएसम्म लिलाम कार्य नगर्नु भनि अन्तरीम आदेश पनि जारी गरिएको छ, भन्ने समेत व्यहोराको यस अदालतबाट जारी भएको कारण देखाउ आदेश ।

६.    मिति २०४८।८।१६ को अन्तिम फैसलाबाट विगो भरी भराउ भएको काम कारवाही कानून वमोजिम भई भरी भराउको निर्णय भएको, जग्गा सकार गर्ने तर्फ धनीलाई नै सकार गराई २०५३।४।२५ को डांक लिलाम उपर यस अदालत समक्ष अ.वं. १७ नं. वमोजिम आएको हुंदा सो सम्वन्धमा हेरी शुरु आदेश मिलेकै देखिएकोले यस अदालतबाट सदर गरी कानून वमोजिम गर्नु भनिएको हो । निवेदकको माग वमोजिम यस रिट निवेदनवाट उत्प्रेषण लगायत कुनै पनि आज्ञा आदेश वा पुर्जि जारी हुनु पर्ने नहुंदा रिट निवेदक खारेज गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदन अदालतबाट पर्न आएको लिखित जवाफ ।

      ७.    वादी जिवछ महतो र प्रतिवादी प्रेम महतो कोइरीसंगको लेनदेन मुद्दामा यस अदालतको मिति २०४८।८।२६ र पुनरावेदन अदालत, राजविराजको २०४९।९।२३ गतेको फैसला समेतबाट भरी पाउने ठहरेको सांवा व्याज तथा कोर्टफि समेतमा नियम वमोजिम वादीको दरखास्त परी जायजात तायदात भई मिति २०५२।४।२५ मा डांक लिलाम हुंदा निवेदकले डांक सकार गरी पुर्जि समेत पाएकोमा निज प्रेम महतो कोइरीले मिति २०५३।८।६ मा  दिएको निवेदनमा जायजात मुचुल्का हेर्दा   जग्गा घडेरी भन्ने उल्लेख भएको र सच्यिएको कि.नं. ११२ मा पक्षको सहीछाप समेत भए गरेको नदेखिएकोले २०५३।४।२५ गतेको डांक लिलामको कारवाही रीतपूर्वक मान्न सकिने अवस्थाको नभई वदरयोग्य हुंदा वदर गरी पुनः जायजात मुचुल्का गरी कानून वमोजिम डांक लिलामको कारवाही गर्नु भन्ने मिति २०५३।८।४ मा यस अदालतबाट आदेश भएको र कानून वमोजिम यस अदालतबाट कानून वमोजिम भएको आदेशबाट निवेदकको कुनै पनि मौलिक हकमा आघात पुग्न गएको अवस्था नभएकोले रिट निवेदन पत्र खारेज गरी पाउं भन्ने समेत व्यहोराको सिरहा जिल्ला अदालतको लिखित जवाफ ।

      ८.    प्रतिकठृा न्युनतम ३५,०००। जाने जग्गा लिलामीको सम्वन्धमा मलाई जानकारी दिने म्याद समेत रीतपूर्वक तामेल नगरी तयार पंचकिर्ते मुचुल्कालाई  केरमेट गरी कि.नं. हरु परिवर्तन गरी लिलाम गर्ने काम गरेको कुरा थाहा पाएपछि तत्कालै सिरहा जिल्ला अदालतमा उक्त काम कारवाही वदर गरी पाउनका लागि निवेदन दिई वदर भए पश्चात साहुलाई वुझाउनु    पर्ने भनिएको सांवा व्याजको रकम समेत  वुझाई सकेको छु । यस्तो अवस्थामा यस अदालतवाट प्रतिपादित सिद्धान्त समेत वमोजिम जिल्ला अदालतले लिलाम वदर गरी रकम वुझाई सकेको अवस्थामा सो वदरको आदेश वदर हुने होइन । विपक्षीले जे जस्तो जाल परिपंच गरेपनि मलाई लिलामीको जानकारी नै नभएपनि १५ दिनभित्र उजुर नपरेको कारणले मेरो सर्वश्व हुनु पर्छ भन्ने कुरा न्याय र कानूनको मान्यता विपरीत भएको हुंदा रिट निवेदन पत्र खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्रेम महतो कोइरीको लिखित जवाफ ।

      ९.    नियम वमोजिम पेशी सुचीमा चढी इजलाश समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फका विद्वान अधिवक्ता श्री सीताराम तिवारीले जिल्ला अदालतवाट रीतपूर्वक लिलाम भई निवेदकले लिलाम सकार गरी निजको नाममा नामसारी दर्ता समेत भइसकेको स्थितिमा विपक्षीको गैरकानूनी रुपमा उजूरी लिई आफ्नो  निर्णयलाई आफै वदर गर्ने गरेको निर्णय  त्रुटीपूर्ण भएकोले उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय वदर गरी मिति २०५२।४।२५ को डांक लिलाम कायम गरी पाउं भनि र विपक्षी प्रेम महतो कोइरीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री सतिसकृष्ण खरेल र श्री विदुर विक्रम थापाले विवादित जग्गा  लिलाम सम्वन्धी मितिको सूचना रीतपूर्वक तामेल नगरी पंचकिर्ते मुचुल्का केरमेट गरी कि.नं. हरु परिवर्तन गरी लिलाम गर्ने गरेको दुषित काम कारवाही वदर गर्न निवेदन दिंदा सिरहा  जिल्ला अदालतबाट वदर भई सो उपर पुनरावेदन अदालतमा वेरीतको आदेश  वदरमा उजूरी पर्दा कानून वमोजिम गर्नु भन्ने आदेश भइरहेको र उपरोक्त निर्णय तथा आदेशहरु कानून सम्मत भएकोले रिट निवेदन खारेज हुनु पर्छ भनि गर्नु भएको वहस जिकिर समेत सुनियो ।

      १०.    रिट निवेदकको निवेदन जिकिर विपक्षीहरुको लिखित जवाफ दुवै पक्षका कानून व्यवसायीहरुको वहस वुंदा तथा आदेश वमोजिम झिकाइएका तत् सम्वन्धी मिसिल समेत अध्ययन गरी हेर्दा यसमा निवेदकको माग वमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने सम्वन्धमा नै निर्णय दिनु पर्ने हुन आयो ।

      ११.    यसमा वादी जीवछ महतो कोइरी र प्रतिवादी प्रेम महतो कोइरी भएको लेनदेन मुद्दाको फैसला वमोजिमको विगो भरी भराउको लागि आसामीको नामको सिरहा मटिपर्वा वडा नं. ८ को कि.नं. ३७८ को ज.वि. ०-७-१ र ऐ. नामको वडा नं. ४(क) कि.नं. ११२ को ज.वि. ०-५-७ समेतको जग्गाहरु देखाई भरी भराउको लागि कारवाही चलाएको र जायजात हुंदा धानवाली लाग्ने र घडेरी समेत हुन सक्ने व्यहोरा समेत उल्लेख भई मिति  २०५३।२।१६ मा मुचुल्का भएको र मिति २०५३।४।२ मा डांक लिलामको सूचना जारी भई २०५३।४।५ मा विपक्षी प्रेम महतो कोइरीको घरदैलोमा म्याद तामेली भएको समेत देखिन्छ । तदनुप्राप्त मिति २०५३।४।२५ मा डांक लिलाम भई २०५३।५।१० सम्म कसैको उजुर नपरेपछि मिति २०५३।५।११ मा रिट निवेदकले चलन पुर्जि पाई विवादको जग्गा नामसारी गराई जग्गाधनी प्रमाणपुर्जा समेत प्राप्त गरेको देखिन आउंछ । सो कारवाही उपर विपक्षी प्रेम महतो कोइरीले २०५३।८।६ मा नक्कलसारी थाहा पाएको भनि उजूरी गरेकोमा सिरहा जिल्ला अदालतले मिति २०५३।८।१४ मा उपरोक्त लिलामी र चलन सम्वन्धी सम्पूर्ण कारवाही वदर गरे उपर प्रस्तुत रिट निवेदन पर्न आएको देखियो । कानूनको  व्यवस्था हेर्दा जिल्ला न्यायाधीशद्वारा यसप्रकार सम्पन्न भइसकेको कार्यवाहीलाई वदर गर्न पाउने अधिकारको सिमा दण्ड संजायको ६१ नं. को कानूनी व्यवस्थाले निर्धारण गरेको र सो कानूनको व्यवस्थाबाट फैसला कार्‍यान्वयनको सिलसिलामा तहसिलदार कर्मचारीका कार्यवाहीमा चित्त नवुझ्ने पक्षले १५ दिन भित्र उजूरी दिएमासम्म निजले त्यस्तो उजूरीको सम्वन्धमा जांचवुझ गरी उपयुक्त आदेश गर्न सक्ने व्यवस्था रहेको देखिन आउंछ । विपक्षी प्रेम महतो कोइरीले मिति २०५३।८।६ मा दिएको उजूरी निवेदन कानूनको कुन म्याद अर्न्तगत परेको हो ? र अनिश्चित कालसम्म छानविन गर्न पाउने क्षेत्राधिकार सो जिल्ला अदालतलाई कुन कानूनले दिएको हो ? सिरहा जिल्ला अदालत र त्यसलाई सदर गर्ने गरेको पुनरावेदन अदालत, राजविराजको २०५३।११।३ को आदेश र सो अदालतहरुको लिखित जवाफमा पनि खुलाउन सकेको देखिन आएन। यसप्रकार अदालतको फैसला वमोजिम साहुको तिर्नु वुझाउनु पर्ने पक्षले घिङन्याइ गरी लिलामीको सूचना म्याद समेतको वास्ता नगरेकोमा डांक लिलाम हुंदा सकार गरी रकम चुक्ता गरी चलन पाउने पक्षले अदालतसंग गरेको व्यवहार समेत कांचो हुने गरी घडेरी जग्गा र कित्ता नम्वर सच्याएको भन्ने विवादास्पद तथ्यहरुलाई उल्लेख गरी सहजताका साथ लिलाम सम्वन्धी सम्पूर्ण कार्यवाही वदर गर्नुबाट लिलाममा सकार गर्ने पक्षको विश्वासमा आंच आउने समेत देखिन आएको र सो म्याद नघाइ त्यस्तो काम कारवाही गर्न गराउन जिल्ला अदालत र पुनरावेदन अदालत समेतलाई कानूनको अधिकार नभएकोले उक्त दुवै अदालतको आदेश र सो अर्न्तगत भएका काम कारवाहीहरु उत्प्रेषण आदेशद्वारा वदर हुने  ठहर्छ । विपक्षी अदालतहरुको जानकारीको लागि आदेशको प्रतिलिपि पठाई मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. दिलिपकुमार पौडेल

 

इति संवत् २०५६ साल भाद्र २५ गते रोज ६ शुभम् .......................................... ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु