शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८९४७ - जीउ मास्ने बेच्ने

भाग: ५५ साल: २०७० महिना: बैशाख अंक:

ने.का.प. २०७०,           अङ्क १

निर्णय नं.८९४७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुशीला कार्की

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

०६७CR०३९८, ०१५६

फैसला मिति २०६९।४।१७।४

 

मुद्दा :जीउ मास्ने बेच्ने ।

 

पुनरावेदक वादीः क कुमारीको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः दाङ जिल्ला, त्रिभुवन न.पा.वडा नं.६ बस्ने शान्ती वली सार्की समेत

 

पुनरावेदक प्रतिवादीः दाङ जिल्ला, विजौरी गा.वि.स.वडा नं.३ घर भई हाल कारागार कार्यालय      तुल्सीपुर दाङमा थुनामा रहेकी दिलकुमारी ठकुरी

विरुद्ध

प्रत्यर्थी वादीः क कुमारीको जाहेरीले नेपाल सरकार

 

शुरु फैसला गर्ने :

मा.न्या.श्री नारायणप्रसाद श्रेष्ठ

पुनरावेदन तहमा फैसला गर्ने :

मा.न्या.श्री हरिबाबु भटृराई

            मा.न्या.श्री पवनकुमार शर्मा

 

§  मिसिल संलग्न प्रमाणबाट कुनै पनि अपराधमा प्रतिवादीले सो अपराध गर्नमा निर्वाह गरेको भूमिका र निजको संलग्नतासमेतलाई विचार गरी अदालतले कानूनले दिएको तजविजी अधिकारको प्रयोग गरी कसूर कायम गर्ने र सजाय निर्धारण हुने ।

§  सजायको प्रयोजन सम्बन्धित व्यक्तिलाई अपराध वोध गराउनु हो, बदला लिनु होइन । सजायको प्रयोजन सम्बन्धित व्यक्तिलाई भविष्यमा आफूलाई सुधार्ने अवसर दिनु हो, निजलाई समाप्त नै गरिदिने होइन । कसूरको प्रकृति र अपराध गर्नेको प्रवृत्ति तथा अवस्थाका आधारमा सजायको हद तोकिने हो । न्यायकर्ताले सजायको तल्लो हद तोक्दैमा कानूनको उल्लंघन नै भएको मान्न नमिल्ने ।

(प्रकरण नं.१०)

§  फौजदारी मुद्दामा दण्ड निर्धारण गर्दा विधायिकी कानूनले तोकिएको सीमाभित्र रही कसूरको प्रकृति र अपराधमा रहेको दोषको मात्राअनुसार सजाय निर्धारण गरिन्छ । यो विशुद्ध न्यायिक स्वविवेकको विषय पनि हुने ।

(प्रकरण नं.११)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान् अधिवक्ता रामप्रसाद अर्याल

प्रत्यर्थी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता सूर्यप्रसाद पोखरेल

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ४, ८(१), (४)

 

फैसला

न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत तुल्सीपुरको मिति २०६६।१०।२६ को फैसलाउपर वादी तथा प्रतिवादी दुवै पक्षको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :

मिति २०६२।९।२८ गते प्रतिवादी शान्ती सार्की, दिलमाया ठकुरी, मीना सार्कीसमेतले मलाई ललाई फकाई राम्रो काममा लगाई दिने तथा विवाहसमेत गरिदिने भनी आपसमा सल्लाह गरी मलाई घोराहीबाट कष्णनगर हुँदै भारतको तुल्सीपुरअन्तर्गत लालपुर लगी, झुक्याई भारतीय रूपैयाँ ७,०००।मा विक्री गरेकाले कानूनबमोजिम कारबाही गरिपाऊँ भन्ने समेत व्यहोराको क कुमारीको जाहेरी दरखास्त ।

मिति २०६२।९।२८ मा मलाई सजिलो काम लगाई दिने भन्दै दाङ घोराहीबाट कष्णनगर पुर्‍याई त्यहाँ बास बसी अर्को दिन रेल चढी चढाई अपरिचित देशीको घरमा बसी खाना खाई प्रतिवादीहरूले मलाई त्यहाँ छोडी बजार जाने बहानामा त्यहाँबाट गएका र बेलुका फर्की नआएपछि निजहरू कहाँ गए भनी सोध्दा निजहरूले तिमीलाई रु.७,०००।मा बेची छाडी गए भनेकाले त्यसपछि आफू बेचिएको थाहा पाएँ भन्ने समेत व्यहोराको पीडित क कुमारीको बयान कागज ।

जाहेरवालासँग चिनजानपश्चात् निज मसँगै बस्ने गरी मेरो घरमा गएकीमा सोको ४/५ दिनपछि मेरो माइती घरतर्फकी बहिनी दिलकुमारी ठकुरी, मीना सार्की भारत जाने क्रममा मेरो घरमा आएका थिए । भोलिपल्ट निजहरूले जाहेरवालीलाई पनि साथै लग्ने भनी भन्दा मैले पनि स्वीकृति दिए । त्यसपछि खाना खाई निजहरू सबै भारततर्फ गएका हुन् । दिलकुमारी र मीना सार्की भारतबाट फकिर्एपछि भारत जाँदा निजहरूले मबाट लिएको रु.२,००० ।सापटी रकम फिर्ता गरेका हुन् भन्ने समेत व्यहोराको प्रतिवादी शान्ती सार्कीको बयान कागज ।

जाहेरवालालाई २०६२ साल पुसको अन्त्यतिर शान्ती सार्कीको घरबाट म र मीना सार्कीले लिई घोराहीबाट बस चढी कष्णनगर हुँदै अर्को दिन तुल्सीपुर पुग्यौँ । त्यसपछि भारतको लालपुर पुगी पूर्व परिचित देशी बुढाको घरमा जाहेरवालीलाई त्यहाँ छोडी हामी आयौँ । जाहेरवालीलाई त्यही छोडेवापत देशी बुढाले हामीलाई भा.रु.४०००।दिएका थिए भन्ने समेत व्यहोराको प्रतिवादी दिलकुमारी ठकुरीको बयान कागज ।

जाहेरवालीसँग शान्ती सार्कीको घरमा जाँदा चिनजान भएको थियो । २०६२ साल पुस अन्त्यतिर मेरो मुटुको उपचार गर्न भनी भारत जाने क्रममा हामी शान्ती सार्कीको घरमा गई बस्यौँ । अर्को दिन जाहेरवाली पनि कामको लागि भारत जाने भनी हामीसँग गई लालपुर भारतमा दिलकुमारीको पूर्व परिचितको घरमा तीनै जना बस्यौं । दिलकुमारी र म बजार आई मेरो उपचार गराई घर फर्कियौ । घर आउँदा हामीहरूलाई देशी बुढाले भा.रु.४०००।दिएका छन् भनी दिलकुमारीले भनेकी हुन भन्ने समेत व्यहोराको मीना सार्कीको बयान कागज ।

प्रतिवादी शान्ती सार्की दिलकुमारी हमाल, मीना सार्कीसमेतले यी पीडितलाई भारत लगी रु.७,०००।मा विक्री गरेको ठीक साँचो हो । पीडितलाई सर्भ नेपाल र नेपाल प्रहरीको सहयोगमा भारतबाट उद्धार गरी नेपाल ल्याइएको हो भन्ने समेत व्यहोराको बुझिएका जंगबहादुर तामाङसमेतले गरिदिएको एकै मिलानको कागज ।

पीडितलाई राम्रो काम दिने प्रलोभन देखाई भारतको लालपुरमा लगी प्रतिवादीमध्येका शान्ती सार्की, दिलकुमारी हमाल ठकुरी र मीना सार्कीले भा.रु.७००० मा बिक्री गरेको पुष्टि हुन आएकोले निज तीन जना प्रतिवादीहरूउपर जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ४ बमोजिमको कसूरमा सोही ऐनको दफा ८(१) बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग माग दावी ।

अभियोग दावी सम्पूर्ण झूठा हो, आफू मीना सार्कीलाई उपचार गराउन वारदातको दिन नभई २०६२।११।१४ गते भारत गएको र त्यहाँ नातेदार बसन्ती बस्नेत (यादव) को घरमा ४ दिन बसी नेपाल फकिर्एको र भारत जाँदा शान्ती सार्कीबाट लिएको सापटी रु.२०००।प्रतिवादी मीनाले दाङमा शान्ती सार्कीलाई दिनुभएको हो । मैले सापटी लिए दिएको र जाहेरवालालाई भारतमा लगी बेचेको भनेको सम्पूर्ण व्यहोरा झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी दिलकुमारी हमाल ठकुरीले अदालतमा गरेको बयान ।

मसमेत भई जाहेरवालीलाई बेचेको होइनौं । म भारतमा पनि गइन । प्रतिवादी मीना सार्की बिमारी भएकोले प्रतिवादी दिलकुमारी र मीनामात्र उपचारको लागि भारत गएका र जाहेरवालीलाई प्रतिवादीहरूले भारतको पटना मेलामा भेटेको भन्ने सुनेकी हुँ । प्रतिवादीहरूलाई मैले रु.२,०००।सापटी दिएकीसम्म हुँ भन्ने समेत व्यहोराको शान्ती सार्कीले अदालतमा गरेको बयान ।

मैले जाहेरवालीलाई भारतमा लगी बिक्री गरेको होइन । वारदात भएको भनिएको दिन म बिमारी भई घरमै थिएँ । त्यसपछि २०६२।११। १२ र १३ गतेतिर प्रतिवादी दिलकुमारीसँग भेट भई निजले औषधि गर्न जाउँ भन्दा भारतको लालपुरमा गई देखाई ३/४ दिनपछि मात्र घर फर्किएका हौँ । मैले जाहेरवालीलाई नबेचेकोले सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी मीना सार्कीले अदालतमा गरेको बयान ।

जाहेरवाली बेचिएको भन्ने कुरा सर्भ नेपालको सामाजिक कार्यकर्ताबाट थाहा पाई प्रतिवादी शान्ती सार्कीलाई उक्त संस्थामा ल्याई बुझ्दा जाहेरवाली भारतमा बेचिएको भन्ने थाहा भएपछि नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा निज जाहेरवालाको उद्धार गरेका हौं । पीडितले प्रतिवादीहरूबाट आफू बेचिएको भनेको थिइन भन्ने समेत व्यहोराको वादीका साक्षी जंगवहादुर तामाङको बकपत्र ।

प्रतिवादीले जाहेरवालीलाई भारतमा लगी बिक्री गरेको भन्ने कुरा झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी मीना सार्कीका साक्षी तुलसीराम नेपालीले गरेको बकपत्र ।

प्रतिवादी शान्ती सार्कीले जाहेरवालीलाई बिक्री गरेकी होइनन्, वारदात भनिएको दिन हामी साथै बजारमा भएकाले प्रतिवादी शान्ती सार्कीले जाहेरवालीलाई बिक्री गरेको भन्ने कुरा झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी शान्ती सार्कीकी साक्षी रूपमा नेपालीको बकपत्र ।

वारदात भएको भनिएको दिन प्रतिवादी दिलकुमारी हमाल आफ्नै घरमा भएकी र एउटै गाउँ भएकाले उक्त दिन हामीसँगै गाई चराउन ग्वाला गएकोले यी प्रतिवादीले जाहेरवालीलाई बिक्री गरेकी होइनन् भन्ने समेत व्यहोराको प्रतिवादी दिलकुमारीका साक्षी कमल पौडेलको बकपत्र ।

मलाई प्रतिवादी शान्ती सार्कीले घोराहीमा भेटी तिमीले दुःख पाएकी छौ, म तिमीलाई काठमाडौँ लगी राम्रो काम लगाई दिन्छु भनी आफ्नो घरमा २/३ दिन राखी काठमाडौँ जाने भनी झुक्याई निज प्रतिवादी र अन्य प्रतिवादीसमेतले भारतको लालपुर भन्ने ठाउँमा पुर्‍याई आफूहरू भाग्ने बहाना बनाई मलाई त्यही छोडी आएका हुन् । मलाई प्रतिवादी मीना सार्की, प्रतिवादी दिलकुमारी हमाल (ठकुरी) ले कृष्णनगर हुँदै भारत पुर्‍याएका र गाउँको एक देशीको घरमा छोडी फर्की नआएपछि देशी बुढालाई सोध्दा आफूलाई निजहरूले रु.७,०००।मा बेचेको भन्ने थाहा भयो । निजहरू नेपालमा फर्की आउँदा प्रहरीले प्रतिवादी मीना सार्कीलाई पक्री सोधपुछ गर्दा मलाई बिक्री गरेको कुरा बताएपछि बोर्डर पुलिस गई मलाई छुटाई ल्याएका हुन् भन्ने समेत व्यहोराको पीडितको बकपत्र ।

पीडितको जाहेरी, निजको अदालतसमक्षको बकपत्रसमेतको आधार प्रमाणहरूबाट प्रतिवादी दिलकुमारी ठकुरीसमेतले पीडितलाई भारतमा लगी बेचेको प्रमाणित हुन आउँदा जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम प्रतिवादी दिलकुमारी ठकुरी र प्रतिवादी मीना सार्कीलाई जनही कैद वर्ष १० हुने ठहर्छ । अर्की प्रतिवादी शान्ती सार्कीलाई जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ८(४) बमोजिम ५ वर्ष कैद सजाय हुने ठहर्छ भन्ने समेत व्यहोराको दाङ देउखुरी जिल्ला अदालतको मिति २०६५ । ३ । १९ को फैसला ।

अधिकारप्राप्त अधिकारीसमक्षको बयान पढी बाँची नसुनाई त्यसै सहिछाप गराएको र उक्त बयान आफ्नो नभएको भनी आरोपित कसूरमा इन्कार रही मैले बयान गरेको र उक्त बयानलाई मेरो साक्षी रूपमा नेपालीले समेत बकपत्रबाट प्रमाणित गरिदिएको, जाहेरवालीले दिएको जाहेरी दरखास्त र बकपत्र विरोधाभाषपूर्ण हुँदा सो समेतलाई नजरअन्दाज गरी मेरो साक्षी प्रमाणको कुनै उचित मूल्याङ्कन नगरी प्रतिवादीले कुनै सबूद प्रमाण प्रस्तुत गर्न नसकेको भनी कसूर कायम गरी सजायसमेत हुने ठहर्‍याई शुरु अदालतबाट भएको फैसला त्रुटिपूर्ण भई बदरभागी हुँदा बदर उल्टी गरी फुर्सद दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी शान्ती सार्की वलीको पुनरावेदन पत्र ।

अधिकारप्राप्त अधिकारीसमक्षको बयान आफ्नो राजीखुशीको नभई पढी बाँची नसुनाई सहिछाप गराएको भनी मैले इन्कारी बयान गरेको तथा उक्त वारदातमा आफू घरमै भएको कुरा मेरो साक्षी कमल पौडेलले बकपत्र गरी प्रमाणित गरिदिएको अवस्थामा उक्त बकपत्रलाई प्रमाणमा नलिई प्रतिवादीले प्रमाण गुजार्न नसकेको भनी विरोधाभाषपूर्ण रूपमा रहेको जाहेरी दरखास्त र जाहेरीवालीको मौकाको बयान एवं बकपत्रलाई फैसलाको निर्णयाधार बनाई गरिएको शुरु अदालतको फैसला प्रकाशित नजीर सिद्धान्तसमेतको प्रतिकूल भई बदरभागी भएकाले बदर उल्टी गरी झूठा अभियोग दावीबाट फुर्सद दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी दिलकुमारी हमाल ठकुरीको पुनरावेदन पत्र ।

प्रतिवादीहरूले पीडितलाई राम्रो काम लगाई दिने बहानामा भारतमा लगी वेश्यावृत्तिमा लगाएको भन्ने अभियोग तथ्यबाट स्थापित भई रहेकोमा प्रतिवादीमध्येकी शान्ती सार्कीले विवाह गरी दिन्छु भनेर लगेको होइन भन्ने समेत आधार लिई तथ्यको गलत विश्लेषण गरी कम सजाय गरेको र तीनै जना प्रतिवादीको संयुक्त प्रयासको परिणतिस्वरूप कसूर भएको अवस्थामा सजायको न्यूनतम् हदमा सजाय गर्न सक्ने अवस्था नरहे पनि शुरुले कानूनको गलत व्याख्या गरी गरेको फैसला त्रटिपूर्ण भई बदरभागी हुँदा बदर उल्टी गरी शुरु अभियोग माग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

प्रतिवादीहरू मीना सार्की र दिलकुमार ठकुरीलाई जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ४ को कसूर अपराधमा सोही ऐनको दफा ८(१) अनुसार १० (दश) वर्ष कैद गर्ने ठहर गरेको शुरु दाङ देउखुरी जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी शान्ती सार्की वलीलाई ऐ.ऐनको दफा ४ अनुसारको कसूर कायम गरेको मिलेकै देखिए पनि सजायतर्फ शुरुले उपल्लो हद समाई सजाय गरेको चर्को पर्ने देखिँदा ऐ.ऐनको दफा ८(४) बमोजिम ३ वर्ष ६ महिना कैद हुने हुँदा दाङ देउखुरी जिल्ला अदालतको मिति २०६५ । ३ । १९ को फैसला सो हदसम्म केही उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत तुल्सीपुरको मिति २०६६ । १० । २६ को फैसला ।

किटानी जाहेरी दरखास्त, अदालतबाट प्रमाणित पीडितको बयान एव बकपत्र समेतबाट पीडितलाई प्रतिवादी शान्ती सार्की वलीले आफ्नो घरमा राखी तीनै जना प्रतिवादीहरू मिली ललाई फकाई भारतमा लगी बेच्ने परिपञ्चसमेत गरी भारतमा लगी बिक्री गरेको भन्ने देखिई रहेको अवस्थामा निज प्रतिवादी शान्ती सार्कीलाई अभियोग माग दावीभन्दा कम सजाय र अन्य प्रतिवादीहरूको हकमा तल्लो हदको सजाय भएको नमिलेको हुँदा पुनरावेदन अदालत तुल्सीपुरको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबमोजिमको उपल्लो हदको सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र ।

मैले आरोपित कसूर अपराधमा पूर्णतः इन्कार गरी बयान गरेको र पीडितले आरोपित कसूर अपराधमा मेरो संलग्नता नरहेको भनी अदालतमा बयान गरेको अवस्थामा अभियोग दावीबाट सफाई दिनुपर्नेमा अभियोग दावीबमोजिम कसूरदार ठहर्‍याई भएको शुरु तथा पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी दिलकुमारी ठकुरीको पुनरावेदन पत्र ।

नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको शुरु मिसिल अध्ययन गरी पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान् सहन्यायाधिवक्ता सूर्यप्रसाद पोखरेलले पीडितको किटानी जाहेरी दरखास्त, अदालतबाट प्रमाणित पीडितको मौकाको बयान एवं पीडितले दिएको जाहेरी एंव मौकाको बयान कागजलाई समर्थन हुने गरी गरेको बकपत्रसमेतबाट पीडितलाई आफ्नो घरमा राखी ललाई फकाई परिपञ्चसमेत मिलाउने प्रमुख योजनाकार शान्ती सार्की वली नै रहेको तथ्य प्रतिवादी शान्ती सार्की वलीको मौकाको बयानबाट पनि पुष्टि भइरहेको छ । जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ६(२) मा पीडितको मौकामा बयान गराई सो बयानलाई अदालतबाट प्रमाणित गराउनु पर्ने व्यवस्था गरेको र सो बयानलाई अन्यथा भनेमा अभियुक्तले नै सोको प्रमाण पेश गर्नुपर्ने व्यवस्था ऐ.ऐनको दफा ७(२) मा रहेकोमा उक्त प्रमाणित बयानलाई प्रतिवादीले खण्डन गर्न सकेको छैन । यस्तो अवस्थामा प्रतिवादी शान्ती सार्कीलाई अभियोग दावीभन्दा कम सजाय गरेको तथा अन्य प्रतिवादीहरूलाई अभियोग दावीअनुसार कसूर कायम गरे पनि तल्लो हदको सजाय गरेको पुनरावेदन अदालत तुल्सीपुरको फैसला त्रटिपूर्ण हुँदा अभियोग दावीबमोजिम सजायसमेत हुनुपर्छ भनी बहस गर्नुभयो । त्यसैगरी पुनरावेदक प्रतिवादी दिलकुमारी ठकुरीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता रामप्रसाद अर्यालले प्रतिवादी दिलकुमारी ठकुरी अदालतमा बयान गर्दा इन्कार रहेकी, अनुसन्धान अधिकारीसमक्ष भएको निजको बयान निजको स्वेच्छाको नभएको र अदालतमा भएको निजको इन्कारी बयानलाई निजको साक्षी कमल पौडेलको बकपत्रबाट पुष्टि भएको एवं स्वयं पीडितले पनि यी प्रतिवादीउपर अदालतमा बकपत्र गर्दा किटानी पोल नगरेको अवस्थामा अनुसन्धानको क्रममा भएको बयानको आधारमा मात्र कसूरदार ठहर्‍याई सजाय गरेको पुनरावेदन अदालत तुल्सीपुरको फैसला त्रुटिपूर्ण हुँदा अभियोग दावीबाट सफाई पाउनु पर्ने भन्ने बहस गर्नुभयो ।

अब उपरोक्तानुसारको बहस जिकीरसमेत सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत तुल्सीपुरको फैसला मिलेको छ छैन, वादी प्रतिवादीको पुनरावेदन जिकीरबमोजिम हुने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

२. यसमा जाहेरवाली एवं पीडित प्रतिवादीलाई शान्ती सार्कीले आफ्नो घरमा राखी राम्रो काम लगाई दिने प्रलोभनमा पारी दाङबाट भारतको लालपुर भन्ने ठाउँमा लगी भा.रु.७,०००।मा निज प्रतिवादीहरू मीना सार्की, दिलकुमारी ठकुरी र शान्ती सार्कीले विक्री गरेकोले निज प्रतिवादीहरूउपर जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ४ बमोजिमको कसूरमा सोही ऐनको दफा ८(१) बमोजिमको सजायको माग दावी लिई अभियोग पत्र पेश भएकोमा प्रतिवादी दिलकुमारी ठकुरी र प्रतिवादी मीना सार्कीलाई उक्त ऐनको दफा ४ को कसूरमा दफा ८(१) बमोजिम १०(दश) वर्ष कैद सजाय हुने र प्रतिवादी शान्ती सार्कीलाई उक्त ऐनको दफा ४ को कसूरमा दफा ८(४) बमोजिम ५(पाँच) वर्ष को हुने ठहराएको शुरु दाङ जिल्ला अदालतको फैसलाउपर वादी तथा प्रतिवादी दुबैको तर्फबाट पुनरावेदन पत्र परेकोमा पुनरावेदन अदालत तुल्सीपुरबाट प्रतिवादीहरू मीना सार्की र दिलकुमारी ठकुरीको हकमा शुरु फैसला सदर गरी र प्रतिवादी शान्ती सार्की वलीको हकमा तीन वर्ष छ महिना कैद सजाय हुने भनी शुरु फैसला केही उल्टी गर्ने गरी फैसला भएको देखियो ।

३. यसमा प्रतिवादीमध्येकी मीना सार्की र प्रतिवादी शान्ती सार्की वलीले आफूहरूलाई सजाय गर्ने गरेको पुनरावेदन अदालत तुल्सीपुरको फैसलाउपर पुनरावेदन नगरी चित्त बुझाई बसेबाट निजहरूलाई सजाय गर्ने ठहर गरेको सो फैसलाउपर केही विचार गरिरहन परेन ।

४. पुनरावेदन अदालत तुल्सीपुरको फैसलाउपर सफाई पाउनु पर्ने भन्ने सम्बन्धमा प्रतिवादी दिलकुमारी ठकुरीको र अभियोग पत्रमा उल्लिखित प्रतिवादीहरूलाई माग दावीबमोजिम सजाय हुनुपर्नेमा कम सजाय भएकोले अभियोग दावीबमोजिम उपल्लो हदको सजाय हुनुपर्ने भन्ने सम्बन्धमा वादी नेपाल सरकारको पुनरावेदन परेको देखिन आयो ।

५. पीडित जाहेरवालीले आफूलाई प्रतिवादी दिलकुमारी ठकुरीसमेतले काठमाडौँमा लगी राम्रो काम लगाई विवाहसमेत गरिदिने आश्वासन दिई आफूलाई झुक्याई दाङको घोराहीबाट कष्णनगर हुँदै भारतको लालपुरमा लगी भा.रु.७,०००।मा बिक्री गरेकोले निज प्रतिवादीहरूलाई आवश्यक कारवाही गरिपाऊँ भनी किटानी जाहेरी दरखास्त दिई अदालतमा आई सोही व्यहोरालाई समर्थन गरी बकपत्र गरिदिएको देखिन आउँछ ।

६. त्यसैगरी निजै पीडितको अदालतबाट प्रमाणित भएको मौकाको बयान कागजमा पनि निजले आफूलाई प्रतिवादी दिलकुमारीसहितका प्रतिवादीहरूले झुक्याई भारतको लालपुर भन्ने ठाउँमा एक अपरिचित देशीको घरमा छोडी आफूहरू बजार जाने बहानामा त्यहाँबाट गएका र पछि फर्केर नआएपछि निजहरू कहाँ गए भनी सोध्दा तिमीलाई भा.रु.७,०००।मा बेची छाडी गए भनी निज देशी मानिसले भन्दा मात्र आफू बेचिएको भन्ने थाहा पाएको भन्ने व्यहोरा उल्लेख गरेको देखिन आउँछ ।

७. प्रतिवादीहरूले जाहेरवालीलाई भारतमा लगी बिक्री गरेकोमा सूर्भ नेपाल र नेपाल प्रहरीको सहयोगमा पीडितलाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको हो भनी जंगबहादुर तामाङले मौकामा कागज गरी सो मौकाको कागज व्यहोराको समर्थन हुने गरी अदालतमा बकपत्र गरिदिएको अवस्था देखिन्छ ।

८. पुनरावेदक प्रतिवादी दिलकुमारीले अदालतमा बयान गर्दा आरोपित कसूरमा इन्कार रहे पनि मीना सार्कीको उपचारको सिलसिलामा आफू पनि भारतमा गएको र त्यहाँ जाहेरवालीसँग भेट भएको भन्ने कुरालाई स्वीकार गर्दै बयान गरेको अवस्था छ । अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा निज प्रतिवादी आरोपित कसूरमा सावित भई बयान गरेको देखिन्छ ।

९. जीउ मास्ने बेच्ने अपराधमा पीडित स्वयं उक्त कसूर अपराधको महत्वपूर्ण प्रमाण हुन्छ । प्रतिवादी दिलकुमारीको अनुसन्धान अधिकारीसमक्षको साविती बयान जाहेरवालीको जाहेरी दरखास्त, अदालतबाट प्रमाणित मौकाको बयान कागज, बकपत्र, मौकाको कागज गर्ने जंगबहादुर तामाङको बकपत्र र स्वयं प्रतिवादीको अदालतको बयानसमेतबाट पुष्टि भएको अवस्था देखिँदा निज प्रतिवादीले आरोपित कसूर अपराध नगरेको भन्न मिल्ने अवस्था देखिएन । यस्तो अवस्थामा निज प्रतिवादीलाई आरोपित कसूरमा अभियोग माग दावीबमोजिमको कसूर कायम गरी सोहीबमोजिम तजविजी १०(दश) वर्ष कैद सजाय हुने ठहर गरेको पुनरावेदन अदालत तुल्सीपुरको फैसलालाई अन्यथा भन्न मिलेन ।

१०. अब वादी नेपाल सरकारको पुनरावेदन जिकीर सम्बन्धमा विचार गर्दा अभियोग पत्रमा प्रतिवादी बनाइएका तीनै जना प्रतिवादीहरूउपर पुनरावेदन अदालत तुल्सीपुरबाट फैसला हुँदा सबै प्रतिवादीहरूलाई कसूरदार ठहर्‍याई सजाय हुने ठहर गरेकोमा पुनरावेदन पत्रमा स्वीकारै गरिएको पाइयो । केवल प्रतिवादीहरू मीना सार्की र प्रतिवादी दिलकुमारी ठकुरीलाई उपल्लो हदको कैद सजाय नभएको भन्ने र प्रतिवादी शान्ती सार्की वलीको हकमा अभियोग दावीबमोजिम कसूर कायम नगरी माग दावीभन्दा कम कसूर कायम गरी सजाय गरेको भन्ने हकमा सम्म पुनरावेदन परेको देखिन्छ । मिसिल संलग्न प्रमाणबाट कुनै पनि अपराधमा प्रतिवादीले सो अपराध गर्नमा निर्वाह गरेको भूमिका र निजको संलग्नतासमेतलाई विचार गरी अदालतले कानूनले दिएको तजविजी अधिकारको प्रयोग गरी कसूर कायम गर्ने र सजाय निर्धारण गर्ने गर्दछ । यसै क्रममा प्रस्तुत मुद्दामा पनि आरोपित कसूरमा प्रतिवादीहरूको भूमिका र संलग्नतालाई दृष्टिगत गरी सजाय गरेको देखिन आउँछ । ऐनले तोकेको उपल्लो हदको सजाय नै हुनुपर्ने भन्ने सम्बन्धमा वादी पक्षले पुनरावेदन पत्रमा जिकीर लिए पनि सोको कुनै आधार दिन सकेको देखिन आउँदैन । सजायको प्रयोजन सम्बन्धित व्यक्तिलाई अपराधवोध गराउनु हो, बदला लिनु होइन । सजायको प्रयोजन सम्बन्धित व्यक्तिलाई भविष्यमा आफूलाई सुधार्ने अवसर दिनु हो, निजलाई समाप्त नै गरिदिने होइन । कसूरको प्रकृति र अपराध गर्नेको प्रवृत्ति तथा अवस्थाका आधारमा सजायको हद तोकिने हो । न्यायकर्ताले सजायको तल्लो हद तोक्दैमा कानूनको उल्लंघन नै भएको मान्न मिल्दैन । माथिल्लो निकायलाई सजायको हद अमिल्दो लागेमा पुनरावेदन जिकीर रहेको अवस्थामा सो परिवर्तन हुन नसक्ने होइन । तर, प्रस्तुत विवादमा पुनरावेदन अदालतले प्रतिवादीहरूलाई तोकेको सजाय परिवर्तन गर्नुपर्ने अवस्था देखिएन ।

११. फौजदारी मुद्दामा दण्ड निर्धारण गर्दा विधायिकी कानूनले तोकिएको सीमाभित्र रही कसूरको प्रकृति र प्रतिवादीको उक्त कसूर अपराधमा रहेको दोषको मात्राअनुसार सजाय निर्धारण गरिन्छ । यो विशुद्ध न्यायिक स्वविवेकको विषय पनि हो । यस्तो स्वविवेकको प्रयोग गरी दण्ड निर्धारण गरेको विषयमा पुनरावेदन लाग्ने पनि होइन । त्यस्तै प्रतिवादी शान्ती सार्की वलीको घरमा पूर्व परिचित भएको कारण पीडित बस्न गएको र निज प्रतिवादी पीडितलाई बेच्ने कार्यमा अप्रत्यक्ष रूपमा संलग्न भएको देखिए पनि भारतमा निज पीडितलाई लिई एको भन्ने नदेखिई केवल बेच्नको लागि प्रपञ्च मिलाई दिएको सम्म देखिएको अवस्थामा उक्त कसूरमा निजको भूमिका र संलग्नतालाई दृष्टिगत गरी अभियोग दावीबमोजिमको कसूर कायम नगरी कम कसूर कायम गरी सोहीबमोजिम सजाय भएकोलाई अन्यथा भन्न मिल्ने देखिएन ।

१२. तसर्थ उपरोक्त विवेचित आधार र कारणबाट प्रतिवादी दिलकुमारी ठकुरीलाई जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ४ को कसूर कायम गरी सोही ऐनको दफा ८(१) बमोजिम १० (दश) वर्ष कैद र प्रतिवादी शान्ती सार्की वलीलाई पनि सोही ऐन दफा ४ बमोजिमको कसूर कायम गरी सोही ऐनको दफा ८(४) बमोजिम ३(तीन) वर्ष ६ (छ) महिना कैद सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत तुल्सीपुरको मिति २०६६।१०।२६ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । वादी तथा प्रतिवादी दुबैको पुनरावेदन जिकीर पुग्न सक्दैन । दायरीको लगत कटृा गरी मिसिल नियमानुसार बुझाई दिनू ।

 

उक्त रायमा म सहमत छु ।                         

न्या.सुशीला कार्की

 

इति संवत् २०६९ साल साउन १७ गते रोज ४ शुभम्––

इजलास अधिकृतकमलराज विष्ट

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु