शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३ - थैली बुझाई पाउँ

भाग: साल: २०१६ महिना: बैशाख अंक:

निर्णय नं. १३       ने.का.प. २०१६

(अपील पहिला उपर)

डिभिजन बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री प्रकाश शम्शेर ज.ब.रा.

अपील नं. ७३४

अपीलाट : उदयबहादुर गौली समेत

विरूद्ध

विपक्षी : टेकबहादुर गौली क्षेत्री

मुद्दा : थैली बुझाई पाउँ

(१)   पेश गरिएका तमसुकहरूमाकुनै पास भएको र कुनै पास नभएको भएमापास गराउनु नपर्ने भए पनिहदम्याद गुज्रेको देखिएमालख सारेको भए पनीपास भएको थैली मात्र बुझाउनु पर्ने ।

     धनी धनबहादुर ऋणी बलबहादुर भएको मोरू १३०। को ९७।९।१६ को रजिष्ट्रेशन पास भएको लिखत बाहेक अरू मिति मितिको तमसुक पास गर्नु नपर्ने अवस्थाको भोगबन्धकी दृष्टीबन्धकीको तमसुक देखिए तापनि सो तमसुकहरूमा यति जग्गा यति तिरो यस ठाउँमा गर्नुपर्ने भन्ने केही नखुलेको । जग्गाको नाउँसम्म लेखेको । दृष्टीबन्धकमा भएको भाखा बाद र भोगबन्धकीमा भोग लिएका मितिदेखि सो लिखतमा लेखेका जग्गा तिरो भरो गरेको कुनै रसिद प्रतिवादीले दिन नसकेकोबाट हदम्याद गईसकेको देखिनाले यस्तो हदम्याद गईसकेको लिखत दाताहरू बेपत्ता भईसकेपछि लख लिई हाल मात्र भोग गरेको देखेको हुँदा अरू शुरू अपीलका फैसलामा लेखेका बुँदा प्रमाणबाट समेत सो रजिष्ट्रेशन पास पर्ने भएको तमसुक समेत सौपाई घरायसमा लख लिई सो पास भएकै तमसुकका नाताबाट प्र. उदयबहादुरले जग्गा खाईरहेकै हुँदा सो रजिष्ट्रेशन पास भएको थैली मोरू. १३०। फुल बेञ्चका आदेशबमोजिम बुझाई निखनी लिन पाउने ।

(प्रकरण नं. ८)

(२)  भोग, दृष्टी दिने मानिस बेपत्ता भएमानजिकको हकवालाले निखन्न चाहेमाभोग, दृष्टि दिने मानिसले पछि थैली बुझाई लिन पाउने गरीनिखन्न दिनुपर्ने ।

     बन्धकी दिने दाता मरेको नभई बेपत्ता भएको देखिएको । यस्तो बेपत्ता भएकोमा यति बर्ष भित्र फर्केर आउँछ भन्ने केही नियम नभई २०।२५ बर्षसम्म पनि बिते । कोही त्यो भन्दा बढी पनि बित्ने सम्भव भएको हुनाले त्यस्ताले भोगबन्धक दृष्टिबन्धक दिएका जग्गाहरू निजका नजिकका हकवालाहरूले निखन्न आएकोमा निखन्न नपाउने गरिदिंदा नजिकका हकवालाले कहिल्यै नपाउने । बन्धकी लिने साहुले राजिनामा फार्छ्या सरह खाईरहने अवस्था पर्न जाने भएकाले यस्तो बेपत्ता भएको मानिसहरूको जग्गा जमिन घर समेत भोगबन्धक दृष्टिबन्धक परेकोमा नजिकका हकवालाले निखनी लिन पाउने नै गरिदिंदा न्यायोचित पर्ने देखिएकोबाट यसमा वादीले प्रतिवादीबाट जग्गा निखनी लिन पाउने ठहर्छ । बन्धकी दिने आसामी दानबहादुर, शेरबहादुर, बलबहादुरले निखन्न आएमा थैली बुझी लिई जग्गा छाडी दिनुपर्छ ।

 

फैसला

      १.     मेरो ३ पुस्ता भोगको हकदार दानबहादुर, सेरबहादुर, बलबहादुर बिदेशतर्फ गई बेपत्ता भएको । निजहरूको र मेरो अंशको जग्गा साँधमा जोडेको त्यस्तो जग्गा बलबहादुरले धननारायणलाई बन्धकी दिई राखेको । निजबाट पनि यो प्रतिवादीले लिएको । म हकदार भएकोले थैली बुझी लेउ भनेमा नबुझेको । अन्यायी उदयबहादुरले बलबहादुरको घर समेत भत्काएमा नोक्सानी समेत भराई थैली बुझाई जग्गा मेरै कायम गरी पाउँ भन्ने समेत इत्यादी कुराको वादी रहेछ ।

      २.    अमरसिंहको ३ छोरामा जेठा भुजवलको नाती बलबहादुर, शेरबहादुर, दानबहादुर हुन । महिला रामकृष्णको नाती म उदयबहादुर, कान्छा हरिकृष्णको नाती यो वादी हुन । त्यसो हुँदा हामी बराबर नाताका हौं । धननारायणलाई मोरू १३०।गोपिलाललाई रू. ६०।सोमेलाई रू. ४४।निजको लोग्ने लालुलाई रू. ६।मा बलबहादुरले जग्गा बन्धकी दिई गएको हो । निज बन्धकी लिने साहुहरूले मबाट रूपैयाँ बुझी लिई मलाई लख दिएको शेरबहादुरले मबाट रू. १०।लिई दृष्टि लेखी दिएबाट जग्गा भोग गरी आएको छु । बन्धकी लिने हकदार खडा छँदाछँदै निखन्न दिनुपर्ने होइन भन्ने समेत उदयबहादुरको र मैले बलबहादुरबाट रू. २३।मा बन्धकी र शेरबहादुरबाट रू. ३३।मा दृष्टि दिएबाट मैले भोगी आएको छु । आसामी छदांछदैं निखन्न दिनुपर्ने होइन भनी कृष्णदत्त समेतको एउटै प्रतिवादी रहेछ ।

      ३.    साक्षीको बकाई समेतबाट हकदार वादी नै देखिएकाले रजिष्ट्रेशन पास भएको मोरू १३०।तिरी निखनी लिन पाउँछ । अरू थैलीको हकमा साहु आसामीका १, २ नं. का ऐनबमोजिम गर्नु भनी प्रतिवादी उदयबहादुर, कृष्णदत्तलाई सुनाई दिने । जग्गाको आयस्तामा साँवामा कट्टा गरी बाँकी निजको सन्तान आएमा बुझाई दिने । बलेको घर उदयबहादुरले भत्काएको ठहर्छ । घर बिगो किटान गरी हक पुग्नेले नालिस गरेको बखत तहकिकात हुने । हाल धुरी ढालेमासम्म सजाय गर्ने भन्ने पश्चिम ३ नं. पुरकोट बसन्तपुर ग्राम पन्चायतको फैसला रहेछ ।

      ४.    दाता जिवीत छदैं निखन्न दिनै नपर्ने । बलबहादुरले गोपेलाई ठूलो गरो सुर्को खेत रू. ६० मा भोग दिएको । धननारायणलाई रू. १३०।मा पास गरी कुडले भन्ने पाखो र आधे गरी भोग दिएको । सोमेलाई रू. २०। रू. २४ मा चौविस रूपैयामा लामो गरो भोग दिएको । निजै सोमेको लोग्ने लालुबाट रू. ६।लिई सो लामो गरो भोग दिएबाट निजै साहुहरूले भोग गरी आएको । रूपैयाँ बुझाई मैले लख लिएको जग्गा र म उदयबहादुरसँग रू. १०।लिई गल्ली मुनीको दृष्टि लेखी दिई दृष्टिबाट भोग हुन आएको र बलबहादुरले २३ मा घर मुनीको पाखो दृष्टि लेखी र शेरबहादुरले रू. ३३।मा पुछारको पाखो लेखी दिएबाट भोग गरी आएको जग्गालाई पास भएको रू. १३०।बाहेक अरू थैलीमा साहु आसामीका १ नं. बमोजिम सुनाई दिने भनी पञ्चायतले छिनेकोमा चित्त बुझेन । गल्ती इन्साफ गरेको उल्टाई पाउँ भन्ने समेत इत्यादी कुराको उदयबहादुर, कृष्णदत्तको अपील जिकिर रहेछ ।

      ५.    शुरूकै इन्साफ मनासिव छ भनी अपील पहिलाबाट २००९।३।२६ मा फैसला गरेको रहेछ ।

      ६.    अपीलले हद मुनी गरी किनारा गरेकोले इन्साफ जाँची पाउँ भन्ने प्रतिवादीको निवेदनमा श्री मा.प्रधान न्यायाधीशबाट ईनसाफ जाँची दिनु भन्ने आदेश रहेछ ।

      ७.    यो मुद्दा सिंगलबेञ्चमा पेश हुँदा डिभिजन बेञ्चमा पेश गर्नु भन्ने आदेशबमोजिम डिभिजन बेञ्चमा पेश हुँदा बन्धकी दिने आसामी बिदेश गई बेपत्ता भएकोमा आसामीका हकवालाले यो म्याद भित्र उजुर गरे निखन्न पाउँछ वा पाउँदैन भन्ने ऐनमा नखुलेकोले ऐनको व्याख्या गर्न यो मुद्दा फुल बेञ्चमा पेश गर्नु भन्ने डिभिजन बेञ्चका आदेशबमोजिम फुल बेञ्चमा पेश हुँदा आसामी बेपत्ता भएको । त्यस्ताले भोगबन्धक दृष्टिबन्धक दिएको जग्गाहरू निजका नजिकका हकावालाले निखन्न आएमा निखन्न नपाउने गरिदिंदा नजिकका हकवालाले कहिल्यै नपाउने । बन्धकी लिने साहुले राजिनामा फार्छ्या सरह खाईरहने अवस्था पर्न जाने भएकोले यस्तो बेपत्ता भएका मानिसहरूको जग्गा जमिन घर समेत भोगबन्धक दृष्टि बन्धक परेकोमा नजिकको हकवालाले निखनी लिन पाउने नै गरिदिंदा न्यायोचित पर्ने देखिएकोबाट यसमा वादीले प्रतिवादीबाट जग्गा निखनी लिन पाउने ठहर्छ । बन्धकी दिने आसामी दानबहादुर, शेरबहादुर, बलबहादुरहरूले निखन्न आएमा थैली बुझी लिई जग्गा छाडी दिनुपर्छ । अब के कतिमा निखनी लिन पाउने हो ? भन्नेतर्फ २ अड्डाले परेको थैलीमा घटी बढी गरेको देखिनाले लखबन्धकमा लिने साहुलाई आफूलाई लख दिने साहुहरूबाट लिएको लिखत लिई आउनु भनी ७ दिनको तारिख तोकी थैली कायम गर्न मुद्दा डिभिजन बेञ्चमा पेश गर्नु भनी फुल बेञ्चको आदेश रहेछ ।

      ८.    यसमा दुवै थर झगडीयाको वारिस राखी फुल बेञ्चका आदेशबमोजिम पेश हुन आएको मिसिल र प्रतिवादीले पेश गर्न ल्याएको सक्कल लिखत भनेको समेत हेर्दा धनी धनबहादुर ऋणी बलबहादुर भएको मोरू. १३०। को ९७।९।१६ को राजिष्ट्रेशन पास भएको लिखत बाहेक अरू मिति मितिको तमसुक पास गर्नु नपर्ने अवस्थाको भोगबन्धकी दृष्टिबन्धकीको तमसुक देखिए तापनि सो तमसुकहरूमा यति जग्गा यति तिरो यस ठाउँमा गर्नु भन्ने केही नखुलेको । जग्गाको नाउँसम्म लेखेको । दृष्टिबन्धकमा भएको भाखा बाद र भोगबन्धकीमा भोग लिएका मिति देखि सो लिखतमा लेखेका जग्गाको तिरो भरो गरेको कुनै रसिद सबुद प्रतिवादीले दिन नसकेकोबाट हदम्याद गईसकेको देखिनाले त्यस्तो हदम्याद गईसकेको लिखत दाताहरू बेपत्ता भईसकेपछि लख लिई हालमात्र भोग गरेको देखेको हुँदा अरू शुरू अपीलका फैसलामा लेखेको बुँदा प्रमाणबाट समेत सो रजिष्ट्रेशन पास भएको तमसुक समेत सौंपाई घरायसमा लख लिई सो पास भएकै तमसुकका नाताबाट प्र. उदयबहादुरले जग्गा खाईरहेकै हुँदा सो रजिष्ट्रेशन पास भएको थैली मोरू. १३०।फुल बेञ्चको आदेशबमोजिम बुझाई निखनी लिन पाउने नै हुँदा शुरुले सो पास भएको थैली मोरु १३०। तिरी निखन्न पाउँछ भनी छिनेको सदर गरी अपील पहिलाले छिनेको मनासिव छ । इन्साफ पारी छिनेकोमा जँचाए वापत समेत तपसीलबमोजिम गरी मिसिल, मिसिल बिभागमा बुझाई दिनु ।

तपसील

शुरूले प्र. उदयबहादुरलाई मोरू ७। प्र. कृष्णदत्तलाई रू. ५। दण्ड गरेकोमा इन्साफ जँचाए वापत हा.का. ११ नं. ले त्यसको सयकडा १०। ले हुने मोरू ।७० उदयबहादुरलाई र रू. ।५० कृष्णदत्तलाई दण्ड लाग्छ । वारिस हुँदा असुल गर्नु भनी अ.त.मा लगत दिने ..................१

वादी मैनाकुमारीले निखन्न पाउने ठहरेका मोरु १३०।साहु आसामी १३ नं. बमोजिम आजका ३५ दिन भित्र अ.त.बिगो फाँटमा धरौट राखी मु.स.व.बु.का ५९ दफाका ऐनका म्याद ३ बर्ष भित्र बुझाई पाउँ भनी वादीले दिलाई पाउँ भनी प्र. उदयबहादुरले दर्खास्त गरेमा दिलाई भराई दिनु भन्ने अ.त.बिगो फाँटमा लगत दिनु ......................२

प्रतिवादीले पेश गर्न ल्याएको सक्कल लिखत भनेको लिखतहरूको नक्कल मिसिलमा भैरहेको देखिएको । पास भएको मोरू. १३०।को बाहेक अरू लिखतहरू म्याद गइसकेको लिखत हुँदा र सो पास भएको तमसुक पनि वादीले निखन्न आएका बखत दरपीठ गरी दिनुपर्ने हुँदा र सो सवै सक्कल भनेको लिखत प्रतिवादीलाई नै फिर्ता दिनु ................३

 

इति सम्वत् २०१२ साल बैशाख १३ रोज शुभम् ।



डिभिजन बेञ्चको फैसलामा उल्लेख भएको फुल बेञ्चको आदेश

यसमा दुवै थर झगडीयाको वारिस समेत राखी पेश हुन आएको पेश भयो । यो मुद्दामा बन्धकी दिने दाता मरेको नभई बेपत्ता भएको देखिएको । यस्तो बेपत्ता भएकोमा यति बर्ष भित्र फर्केर आउँछ भन्ने केही नियम नभई, २०।२५ बर्षसम्म पनि बिते । कोही त्यो भन्दा बढी पनि बित्ने सम्भव भएको हुनाले त्यस्ताले भोगबन्धक दृष्टिबन्धक दिएका जग्गाहरू निजका नजिकका हकवालाहरूले निखन्न आएकोमा निखन्न नपाउने गरिदिंदा नजिकका हकवालाले कहिल्यै नपाउने । बन्धकी लिने साहुले राजिनामा फार्छ्या सरह खाईरहने अवस्था पर्न जाने भएकाले यस्तो बेपत्ता भएको मानिसहरूको जग्गा जमिन घर समेत भोगबन्धक दृष्टिबन्धक परेकोमा नजिकका हकवालाले निखनी लिन पाउने नै गरिदिंदा न्यायोचित पर्ने देखिएकोबाट यसमा वादीले प्रतिवादीबाट जग्गा निखनी लिन पाउने ठहर्छ । बन्धकी दिने आसामी दानबहादुर, शेरबहादुर, बलबहादुरहरूले निखन्न आएमा थैली बुझी लिई जग्गा छाडी दिनु पर्छ । अब के कतिमा निखनी लिन पाउने हो ? भन्नेतर्फ २ अड्डाले परेको थैलीमा केही घटी बढी गरेको देखिनाले लखबन्धकमा लिने साहुलाई आफूलाई लख दिने साहुहरूबाट लिएका लिखत लिई आउनु भनी ७ दिनको तारिख तोकी थैली कायम गर्न मुद्दा डिभिजन बेञ्चमा पेश गर्नु ।

 

इति सम्वत् २०११ साल चैत्र १७ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु