शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८०२ - लेनदेन

भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १०

निर्णय नं. ६८०२     ने.का.प. २०५६ अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा

संवत् २०५१ सालको दे.पु.नं. ..... २४६४

फैसला मिति : २०५६।२।१०।२

 

मुद्दा :  लेनदेन ।

पुनरावेदक

वादी : सर्लाही जिल्ला सोनमा गा.वि.स. वडा नं. १ वस्ने रामतोला कुमारी

विरुद्ध

विपक्षी

प्रतिवादीः ऐ. संगा्रमपुर गा.वि.स. ५ वस्ने जासोदेवी कोइरीन 

 

§  जग्गा रजिष्ट्रेशन गरी दिने विषयमा लिखत खडा भएकोमा दुवै पक्षको मुख मिलेकै पाइन्छ । लिखतमा दुवै पक्षको हस्ताक्षर नभएको, लिखत लेख्ने सिताराम महतोले अदालतमा आई वयान गर्दा रुपैया लिनु दिनु गरी सकेको भन्न सकेको समेत पाइदैन र रजिष्ट्रेशनको ६ नं. मा लिखत रजिष्ट्रेशन भइ सकेपछि लिखत वमोजिमको जग्गा कच्चा ठहरिन गएमा थैली कपाली सरह भराई लिन पाउने व्यवस्था रहेकोमा सो अवस्था प्रस्तुत मुद्दामा नभइ घरसारको राजिनामा लिखत नै कानूनी मान्यता शुन्य रहेको अवस्थामा यस्तो कानूनी मान्यताविहिन लिखत वमोजिम सांवा व्याज भराई दिन नमिल्ने भएबाट शुरुले वादी दावी वमोजिम सांवा व्याज भरी पाउने भनी गरेको फैसला उल्टी गरेको पुनरावेदन अदालत, जनकपुरको इन्साफ मनासिव हुंदा सदर हुने ।

(प्र.नं. १२)

 

पुनरावेदक वादी तर्फबाट :

प्रत्यर्थी प्रतिवादी तर्फबाट :

अवलम्वित नजीर :

फैसला

      न्या.अरविन्दनाथ आर्चायः पुनरावेदन अदालत, जनकपुरको मिति २०५१।३।१९।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) वमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ ।

      २.    विपक्षीले आफ्नो नम्वरी दर्ताको कि.नं. ८५ को १-१७-१० को मोल घरसारमा रु.८००००। (अक्षरेपी असी हजार मात्र) वुझी लिई मिति ०४७।२।१७ का दिन रीतपूर्वकको राजिनामा थान २ गरी दिएको रजिष्ट्रेशन गर्न अड्डामा जांदा फरार भै र रजिष्टे«शन हुन नसकी कपाली भएकोले सावा रु.८००००। र भरी भराउ हुंदा सम्मको व्याजसमेत भराई पाउं भन्ने समेत फिराद पत्र ।

      ३.    विपक्षीसंग मैले घरसारमा नगदी जिन्सी लिएको छैन । मैले आफ्नो नाउंको जग्गा विक्रि गर्न मालपोत कार्यालयमा गै रजिष्ट्रेशन फारम खरिद गरी लेखेको रुपैया माग्दा सनाखत भएपछि दिन्छु भन्दा हुन सकेन । थैली दिएमा पास गरी दिन मन्जूर  छु । वादीले वदनियत चिताई थैली पचाउन र जग्गा लिने मनसायले नालेस दिएको हो । झुठा फिराद खारेज गरी पाउं भन्ने समेत प्रतिउत्तर पत्र ।

      मिति ०४७।२।१७ मा मा.पो.का. सर्लाहीको अगाडि ऋणी धनि दुवै आई हामीहरुका विच रु.८००००। लिनु दिनु गरी सक्यौं, १-१७-१० को राजिनामा लेखि दिनु पर्यों भनेकोले लिखत लेखि सहिछाप गराई दिएको हुं भन्ने समेत सीताराम महतोको वयान ।

      ४.    राजिनामाको ल्याप्चेछाप मेरै हो । राजिनामामा उल्लेख भएको थैली रु.८००००। पाएको छैन भन्ने समेत प्र.वा. वीरेन्द्र प्रसादको वयान ।

      ५.    राजिनामामा उल्लेख भएको थैली रु.८००००। विपक्षीले वुझी सकेका छन । थैली पाएको छैन भन्ने वयान झुठा हो भन्ने समेत वादी वा. रामवीरको वयान ।

      ६.    प्रतिवादीबाट वादीले सयकडा १०% व्याज सांवा रु.८००००। भरी पाउंने ठहर्छ भन्ने समेत शुरु सर्लाही जि.अ. वाट मिति ०४९।५।२१ मा भएको फैसला ।

      ७.    वादीले म वाट रु.८००००। र व्याज समेत भरी पाउने भनी शुरु सर्लाही जिल्ला अदालतबाट भएको त्रुटीपूर्ण फैसला वदर गरी वादीको फरेवी दावीबाट मुक्त गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरमा दायर भएको पुनरावेदन पत्र ।

      ८.    यसमा वादी प्रतिवादी दुवैको भनाई कि.नं. ८५ को १-१७-१० रजिष्ट्रेशन पारीत निमित्त मालपोत कार्यालयमा फारम भरेको कुरा स्वीकार गरेको मालपोत कार्यालयमा गै रजिष्ट्रेशन गर्दा रजिष्ट्रेशनको अन्तिम क्षणमा रुपियां पनि गनाउ गर्ने परिपाटी सन्दर्भमा शुरु इन्साफ विचारणिय हुंदा छलफल निमित्त अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाइ पेश गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरबाट मिति २०५०।१०।२७।४ मा भएको आदेश ।

      ९.    रजिष्ट्रेशन महलको ५ नं. ले लिखत भएको मितिले ६ महिनासम्म रजिष्ट्रेशन पारीत गरी दिने कानूनी प्रावधान रहेको छ । राजिनामा लिखत मिति ०४७।२।१७ मा हुन्छ भने रजिष्ट्रेशन गरी दिने म्याद ६ महिनासम्म पनि पर्खदै नपर्खि रजिष्ट्रेशन गर्ने अवस्था वांकी रहंदै ५ दिन भनि हतारिएर वादीले अदालतमा नालेश गर्नु पर्ने औचित्य र कारण समेत नदेखिएको जग्गा राजिनामा पारीत गर्ने उद्देश्यबाट तयार भएको राजिनामा फाराम रोक्का सनाखत हुनु पूर्व नै लिखतमा लेखिएको रकम प्रतिवादीले प्राप्त गरेको रहेछ भन्न नमिल्ने र त्यस्तो लिखतबाट सांवा व्याज भरी पाउने कानूनी व्यवस्थाको अभाव रहेवाट सो लिखतले कानूनी मान्यता प्राप्त गर्न समेत नसक्ने हुंदा कानूनी मान्यता विहिन लिखतबाट सांवा व्याज भरिभराउ गर्न मिलेन । तर्सथ शुरु सर्लाही जिल्ला अदालतले सांवा व्याज भरी पाउने ठहराएको निर्णय त्रुटीपूर्ण भै मिलेको नदेखिंदा उल्टी हुने ठर्हछ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरवाट मिति २०५१।३।१९।१ मा भएको फैसला ।

      १०.    रजिष्ट्रेशनको ६ नं. मा रजिष्ट्रेशन गराउनु पर्ने घरायसको लिखत रजिष्ट्रेशन गराई लिन सकेको रहेनछ भने त्यस्तो लिखतबाट कुनै अचल पक्रन वा दावा लाग्न सक्दैन । थैली परेकोमा सो थैली र व्याज कपाली सरह भराई लिन पाउने भन्ने कानूनी व्यवस्थाको विपरीत प्रतिवादीले रकम प्राप्त गरेको रहेछ भनी भन्न नमिल्ने भनी भएवाट सांवा व्याज भरी पाउने ठहर्‍याएको शुरुको इन्साफ उल्टी गरी सांवा व्याज भरी भराउ गर्न नमिल्ने भएको पुनरावेदन अदालत, जनकपुरको इन्साफ त्रुटीपूर्ण हुंदा वदर गरी शुरुको फैसला सदर गरी पाउं भन्ने समेत व्यहोराको मिति २०५१।१०।१७।३ मा यस अदालतमा दायर हुन आएको वादी रामतोला कुमारीको पुनरावेदन  पत्र ।

      ११.    नियम वमोजिम आजको  दैनिक मुद्दा पेशीमा सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न प्रमाण कागजहरुको अध्ययन गरी वादीले प्रतिवादीबाट सांवाव्याज भरी पाउने ठहर्‍याएको शुरु धनुषा जिल्ला अदालतको इन्साफ उल्टी गरी सांवा व्याज भराइ दिन नमिल्ने भनी भएको पुनरावेदन अदालत, जनकपुरको फैसला मिले नमिलेको के रहेछ सो हेरी निर्णय दिनु पर्ने देखियो ।

      १२.   यस्मा रु.८०,०००। को थैली राखि राजिनामाको लिखत लेखी प्र. ले रुपैया वुझी लिएका र पास गर्ने अड्डामा जांदा पास नगरी भागेकोले लिखत वमोजिमको रकम र व्याज समेत कपाली सरह भराई पाउं भन्ने वादी र रुपैया लेनदेन भएकै छैन रजिष्ट्रेशन गर्न अडृामा गएको हो त्यसै भागेको छैन, रुपैया माग्दा सनाखत भएपछि मात्र दिन्छु भनेको हो यसैमा कुरा नमिली रजिष्ट्रेशन हुन सकेन । थैली दिए रजिष्टे«शन गरी दिन मन्जूरी नै छ थैली पचाइ जग्गा समेत लिने वदनियत चिताई दिएको फिराद खारेज गरी पाउं भन्ने प्रतिवादी जिकिर भई विवाद सृजना भएको प्रस्तुत मुद्दामा शुरुले वादी दावी वमोजिमको सांवा व्याज समेत प्रतिवादीबाट भरी पाउने ठहर्‍याइ गरेको इन्साफलाई पुनरावेदन अदालत, जनकपुरले रजिष्ट्रेशनको ५ नं. को आधार लिई घरसारमा खडा भएको लिखतको रजिष्ट्रेशन गर्ने हदम्याद ६ महिना सम्म हुनेमा सो म्यादलाई पर्खदैन । लिखत खडा भएको मिति २०४७।२।१७ को ५ दिनमा नै हतार गरेर रजिष्ट्रेशन गरी पाउने म्याद  वांकी हुंदाहुंदै हतार गरेर अदालत जान पर्ने औचित्य र कारण समेत नदेखिएको र रजिष्ट्रेशन गर्ने अडृामा रोक्का नभिडेको कारण रजिष्ट्रेशन हुन नसकेकोबाट काम संम्पादन भईनसकी रुपैया लेनदेन गरेको भनाइलाई सांचो हो भन्न नसकिने र कानूनी मान्यता नै नपाएको लिखतबाट सांवा व्याज भरी पाउने कानूनी व्यवस्थाको अभाव रहेको भनी शुरुको इन्साफ उल्टी गरी दिएकोमा घरसारको लिखतमा थैली परेको अवस्थामा रजिष्ट्रेशनको ६ नं. मा सो थैली वमोजिमको सांवा व्याज कपाली सरह भराई पाउने व्यवस्था भएकोमा सो व्यवस्था विपरीत भएको पुनरावेदन अदालतको फैसला वदर गरी शुरु फैसला सदर गरी पाउं भनि वादीको  यस  अदालतमा  पर्न  आएको पुनरावेदन पत्रमा विचार गरी हेर्दा जग्गा रजिष्ट्रेशन गरी दिने विषयमा लिखत खडा भएकोमा दुवै पक्षको मुख मिलेकै पाइन्छ । लिखतमा दुवै पक्षको हस्ताक्षर नभएको, लिखत लेख्ने सिताराम महतोले अदालतमा आई वयान गर्दा रुपैया लिनु दिनु गरी सकेको भन्न सकेको समेत पाइदैन र रजिष्ट्रेशनको ६ नं. मा लिखत रजिष्ट्रेशन भइसकेपछि लिखत वमोजिमको जग्गा कच्चा ठहरिन गएमा थैली कपाली सरह भराई लिन पाउने व्यवस्था रहेकोमा सो अवस्था प्रस्तुत मुद्दामा नभई घरसारको राजिनामा लिखत नै कानूनी मान्यता शुन्य रहेको अवस्थामा  यस्तो कानूनी मान्यताविहिन लिखत वमोजिम सांवा व्याज भराई दिन नमिल्ने भएबाट शुरुले वादी दावी वमोजिम सांवा व्याज भरी पाउने भनी गरेको फैसला उल्टी गरेको पुनरावेदन अदालत, जनकपुरको इन्साफ मनासिव हुंदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको  पुनरावेदन  जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिप्रसाद शर्मा

 

इति संवत् २०५६ साल जेष्ठ १० गते रोज २ शुभम् ...................................... ।

                 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु