निर्णय नं. ६८०४ - लेनदेन

निर्णय नं. ६८०४ ने.का.प. २०५६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
सम्वत २०५३ सालको दे.पु.नं. .... ३८३३
सम्वत २०५३ सालको दे.पु.नं. .. ३४६४
फैसला मितिः २०५६।२।२०।५
मुद्दाः लेनदेन ।
पुनरावेदक
वादीः सिन्धुपाल्चोक जिल्ला, दुवाचौर गा.वि.स वार्ड नं. ८ देउरीनी वस्ने चेतनाथ गिरी
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः ऐ.ऐ. वार्ड नं. ६ इसी भुमेस्थान वस्ने गर्भेकामी सुनार
पुनरावेदक
प्रतिवादीःसिन्धुपाल्चोक जिल्ला पाल्चोक गा.वि.स. वार्ड नं. ६ वस्ने गर्भे कामी सुनार
विरुद्ध
प्रत्यर्थी
वादीः सिन्धुपाल्चोक जिल्ला दुवाचौर गा.वि.स. वार्ड नं. ८ वस्ने चेतनाथ गिरी
§ प्रस्तुत विवादमा उल्लेखित दुवै लिखतको प्रकृतिले ती लिखत करारनामाको लिखत हुंदाहुंदै पनि लिखत अनुसार भएन भन्ने पक्षले करार ऐन अनुसार नै उपचार खोज्नू पर्नेमा आकर्षित हुनै नसक्ने लेनदेन व्यवहारको २ नं. अनुसार वादीको फिराद परेको देखिन्छ । तसर्थ करार ऐन अर्न्तगतबाट क्षतिपुर्तिको दावी लिई आउनु पर्ने पक्षले लेनदेन व्यवहारको २ नं.. अर्न्तगतबाट नालिश गरेको देखिंदा फिराद खारेज गर्ने गरेको शुरु जि.अ.को फैसला उल्टी गरी पछिल्लो अर्थात २०४९।२।४ को लिखत वमोजिमको रकम प्रतिवादीबाट भरी पाउने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिंदा उल्टी भै करार ऐन अर्न्तगतको विवादमा लेनदेन व्यवहारको २ नं. आकर्षित हुन नसक्ने भनी फिराद खारेज गर्ने गरेको शुरु सिन्धुपाल्चोक जि.अ.को मिति २०५१।३।१५ को फैसला सदर हुने ।
(प्र.नं. २०)
पुनरावेदक प्रतिवादी तर्फबाटः
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजिरः
फैसला
न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ ।
२. विपक्षी र मेरो सल्लाह अनुसार दुवाचौर गा.वि.स. वडा नं. ८ को कि.न. ३९७, क्षे.फ. ६-१५-३-१ खेत रु.८०,००० मुल्य गरी दिने निश्चित भई २०४८।१०।१३।३ मा वैना रु.३०,०००। दिई फाल्गुण भित्र पास गर्ने गरी वैना कागज गरेकोमा फाल्गुणमा पास गरी दिनु होस भन्दा नगरेपछि तपाईले दिएको रु.३०,०००। वैना मैले पनि जग्गा किन्न रु.२५,०००। वैना दिएकोमा समयमा दिन नसकी मेरो वैना पच भएको हुंदा तपाईले ७५,०००। लिएर आएमा खेत पाउनु हुन्छ नत्र दिन्न भन्ने पत्र प्राप्त भएपछि म विपक्षीको घर गई रु.५०,०००। दिन्छु भन्दा नमानेको र २०४९।२।४ गते भेटी रु.४२,०००। दिएं र वांकी ८,०००। मा.पो.का. मा दिन्छु भनी भन्दा पनि आलटाल गरी मेरो ७२,०००। पचाउने नियत गरेकोले लिखत गरी दिनु पर्यो भन्दा विपक्षी आफै दोहोरी कागज गर्ने भनी गर्भे सुनारका ४२,०००। वैनावटृा गरी आउने २०४९।२।४ गते भित्र जग्गा पास गरी नदिए वैना पच हुने गरी दोहरी कागज गरी दिएको । पौष महिना अगावै पास गर्नु पर्ने हुंदा पास खर्च र दिनु पर्ने रु.८,०००। समेत दिई पास गरी दिनुस् भन्दा तिमिसंग वैना स्वरुप रु.७२,०००। लिएको हुं सो जग्गा तिमिलाई दिने वाला छैन अरुले ९०,०००। दिने भएछ म दिन्न वैनाको पैसा पच भयो भनेकोले वैना स्वरुप पहिलो पटक दिएको रु.३०,०००। र दोस्रो पटक दिएको रु.४२,०००। समेत जम्मा रु.७२,०००। विपक्षबाट मलाई भराई विपक्षलाई कानून वमोजिम संजाय समेत गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावी ।
३. मिति २०४९।२।४ गते विपक्षीले मलाई पौष भित्र जग्गा पास गर्ने गरी रु.४२,०००। दिएको पौष महिना नलाग्दै मंसिर २८ गते फिराद दायर गरेको त्यस्तोमा लेनदेन व्यवहारको २ नं. को सुविधा नपाउने र करार ऐन, २०२३ को म्याद आधार समेतलाई अवलम्वन गनुपर्नेमा विपक्षीले गैह्र कानूनी उपस्थित भएको मैले निजको फिराद दावी वमोजिम तिर्न वुझाउन पर्ने होइन झुठ्ठा वादी दिएको विपक्षीलाई कानून वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. मिति २०४८।१०।१३ गते भएको रु.३०,०००। को लिखित सद्दे हो । सो लिखतमा लेखिए अनुसार थैली पुरा नगरेकोले पास नगरेको हो । सोही जग्गाको लागि पछि खरिद विक्रीको समयको सल्लाह गर्दा ३०,०००। को व्याज समेत जोडी ४२,०००। पुर्याई सो ४२,०००। लाई मोठ थैली मानी वैनावटृाको कागज गरेको हो कि.नं. ३९७ कै सम्वन्धमा लिखत भएको हो । पहिलो रु.४२,०००। नगद लिएको छैन, लिखत सद्दे हो भन्ने समेत व्यहोराको प्र.वा. अक्कलबहादुर कामीले सद्दे किर्तेमा गरेको वयान ।
५. २०४८।१०।१३ मा ३०,०००। रुपैया चेतनाथ गिरीले गर्भे सुनारलाई दिएको सो रुपैया वैना लिएको खेत किन्नको लागि हो पछि २०४९।२।१३ मा ३०,०००। लाई व्याज समेत जोडी ४०,०००। को कागज प्रतिवादी गर्भे सुनारको घरमा भएको हो । पछि भएको कागज र अघिको रु.३०,०००। को कागज एउटै रुपैयाको हो । ३०,०००। को सांवा व्याजको रु.४२,०००। को कागज गरी धितो समेत एउटै राखेको हो । पहिलाको कागज च्यात्न पर्दैन भनी संगै राखेको हो । चेतनाथले नच्यातेको हो सो कागज २०४९।२।४ गते गराएको हो पछि कागज खडा गरी रुपैया दिएको होइन व्याज कुन दरमा राखेको हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्र.को साक्षी रामचन्द्र खड्काको वकपत्र ।
६. २०४८।१०।१३ गते जम्मा जग्गाको मोल रु.८०,०००। मध्ये ३०,०००। रुपैया वादीबाट प्रतिवादीले लिने दिने गरी मैले लेखेको हो भन्ने लिखत साक्षी ज्ञान व. गिरीको वकपत्र ।
७. रु.३०,०००। को लिखतको सांवा व्याज हिसाव गरी रु.४२,०००। लिखत वनाई साक्षी वसेको हुं छुट्टा छुट्टै रुपैया दिएर लिखत वनाएको होइन भन्ने समेत व्यहोराको अन्तर साक्षी जेठा सुनारको वकपत्र ।
८. मिति २०४९।२।४ को लिखत वादी प्रतिवादी वीच गर्ने गरी भएको हो भन्ने समेत व्यहोराको अन्तर साक्षी कृष्ण कुमारी गिरीको वकपत्र ।
९. ज्ञानबहादुरले लेखी ३०,०००। लिने दिने गरी गरेको कागजमा साक्षी वसेको हुं, पछि काठमाण्डौ जांदा रु.४२,०००। कागज गराई पुजी समेत ल्याएको हुं भन्ने समेत व्यहोराको लिखत साक्षी ददिराज गिरीको वकपत्र ।
१०. २०४८।१०।३ मा चेतनाथलाई जग्गा दिने भए साक्षी वसिदे भनेको रु.३०,०००। गनेर दिएको देखेको हुं भन्ने लिखत साक्षी नरबहादुर गिरीको वकपत्र ।
११. लिखतको प्रकृति र व्यहोराबाट प्रतिवादीबाट वादीले कि.न. ३९७ को खेत पास गरी लिने र नलिए वैना पच हुने भन्ने लेखिएबाट लिखत करारनामा देखिन आएकोले करार म्याद २०४९।९।२९ पूर्व नै २०४९।८।२८ मा नै ल्याएको हुंदा करार ऐन अनुसार हुने भनी फिर्ता गर्नुपर्नेमा सो नभएको र रकम फिर्ता पाउने शर्तनामामा उल्लेख समेत नभएको हुंदा वादी दावी वमोजिमको रकम भराई दिन मिल्ने नभई वैना रकम भराई पाउं भन्ने दावी लेनदेन व्यवहारको २ नं. भित्र नहुंदा वादी दावी अ.वं. १८० नं. वमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०५१।३।१५ को फैसला ।
१२. वैनावटृाका लिखतहरु पनि लेनदेन व्यवहारको लिखत अर्न्तगत पर्ने र सोही महलको दफा ४० अनुसार हदम्याद कायम हुनेमा र नजिर समेतलाई ख्याल नगरी गरेको सि.पा.जि.अ.को फैसला गैह्र कानूनी र वदरभागी हुंदा वादी दावी वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको चेतनाथ गिरीले पुनरावेदन अदालत पाटनमा दिएको पुनरावेदन ।
१३. २०४९।९।२९ गतेसम्म जग्गा पास गरी लिने म्याद भएपनि २०४९।८।२० मा जग्गा पास गरी नदिने भन्ने दावी भएबाट फिराद गर्नुपर्ने कारण २०४९।८।२० गते परेको अवस्थामा खारेज गर्ने गरको शुरु इन्साफ फरक पर्ने देखिंदा छलफल निमित्त अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाउने भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनबाट भएको आदेश ।
१४. यी वादी प्रतिवादीका वीच २ वटा लिखत भएको भनी दुवै लिखतको रुपैया भराई पाउन फिराद दायर भएकोमा उक्त दावीका २ लिखत मध्ये वादी प्रतिवादीका वीच के कति रुपैया लिई दिई कागज भएको रहेछ त भनी हेर्दा मिति २०४८।१०।१३ र २०४९।२।४ को दुइटै लिखत कि.न.३९७ कै जग्गाको वैनावटृा वापत भएको देखिंदा २०४९।१०।१३ मा रु.३०,०००। वैना लिई सकेपछि पुनः २०४९।२।४ मा रु.४२,०००। वैना लिन दिन पर्ने औचित्य देखिन नआएबाट र २०४९।२।४ को लिखतले २०४८।१०।१३ को लिखतका सम्वन्धमा केही वोलेको समेत नदेखिंदा २०४८।१०।१३ को लिखतको रकम समेत गाभी २०४९।२।४ को लिखत भएको मान्नु पर्ने हुन आयो । शुरु जिल्ला अदालतले लेनदेन व्यवहारको २ नं. आकर्षित नहुने भनी वुंदा उल्लेख गरेको हकमा फिरादपत्रमा लेनदेन व्यवहारको २ नं. अर्न्तगत दावी गरेको देखिएतापनि लेनदेन व्यवहारको ४० नं. को म्याद भित्रैको फिराद देखिंदा वादीले फिराद दावी मध्येको २०४९।२।४ को लिखतको रु.४२,००० सम्म प्रतिवादीबाट भरी पाउने ठहर्छ । फिरादपत्र खारेज गर्ने गरेको शुरु सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनबाट मिति २०५२।११।८ मा भएको फैसला ।
१५. २०४८।१०।१३ मा रु.३०,०००। र २०४९।२।४ मा रु.४२,००० लिनुदिनु भै लिखत समेत भएकोमा एकै प्रकृतिको एउटा लिखतलाई मान्यता दिई अर्कोलाई मान्यता नदिने गरी एउटा लिखत वमोजिमको रकम रु.४२,०००। मात्र भरी पाउने ठहर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण हुंदा सो फैसला वदर गरी फिराद दावी वमोजिम दुवै लिखतको पुरै रुपैया दिलाई भराई पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१६. जग्गाको मुल्य तोकी भाखा भित्र पास गर्ने र पास गरी नलिए वैनाको रकम पच हुने भन्ने शर्त भएको वैनावटृाको लिखत शर्तनामा लिखत भएकाले त्यस्तो शर्त समेतको वैनावटृाको लिखतमा आकर्षित हुनै नसकने लेनदेन व्यवहारको महल अनुसार गरेको पुनरावेदन अदालत पाटनको फैसला प्रचलित कानून एवं प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएकाले उक्त फैसला वदर पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१७. नियम वमोजिम पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा सिन्धुपाल्चोक जिल्ला दुवाचौर गा.वि.स. वार्ड नं. ८ को कि.न. ३९७ को क्षे.फ. ६-१५-३-१ को खेत रु.८०,०००। मोल गरी दिने निश्चित गरेकोले २०४८।१०।१३ मा बैना स्वरुप रु.३०,०००। प्रतिवादीलाई दिई फाल्गुण महिना भरीमा पास गरी दिने शर्तमा लिखत समेत गरी दिएको उल्लेखित म्यादभित्र जग्गा पास गरी नदिएको हुंदा पुनः मिति २०४९।२।४ मा निज प्रतिवादीलाई भेटी रु.४२,०००। दिई वांकी रु.८,०००। मालपोत कार्यालयमा दिन्छु भनी भनेकोमा पास गर्न नमानी आलटाल गरेको र मेरो रु.७२,०००। समेत पचाउने नियत राखेकोले लिखत गरीदिनु होस् भनी भन्दा २०४९।९।२९ गते भित्र जग्गा पास गरी नलिए बैना पच हुने शर्तमा दोहोरी लिखत गरी दिएको भएतापनि हालसम्म पनि जग्गा पास गरी नदिएको हुंदा उल्लेखित लिखत वमोजिमको संपूर्ण रकम रु.७२,०००। प्रतिवादीबाट भराई पाउं भन्ने मुख्य फिराद दावी रहेकोमा वैनावटृाको लिखतमा लेनदेन व्यवहारको २ नं. को आधारमा फिराद गर्न मिल्दैन, त्यस्तो लिखत करारनामाको लिखत भएकाले करार ऐन वमोजिमको कार्यविधि अवलम्वन गर्नु पर्दछ, वादी दावी झुठा हो र बैनावटृाको लिखत अनुसारको दायित्व वादीले पुरा नगरेको हुंदा फिराद दावी खारेजयोग्य छ भन्ने प्रतिउत्तर रहेको देखिन्छ । लिखत करारनामा प्रकृतिको देखिन आएको हुंदा करार ऐन वमोजिम फिराद परे कानून वमोजिम हुने भनी त्यस्तो लिखतबाट बैना रकम भराई पाउं भन्ने दावी लेनदेन व्यवहारको २ नं. को परिभाषा भित्र नपर्ने भन्ने आधारमा शुरु सिन्धुपाल्चोक जिल्ला अदालतबाट फिराद खारेज हुने ठहर्याएकोमा सो उपर पुनरावेदन अदालत पाटनमा वादीको पुनरावेदन परी पुनरावेदन अदालतबाट पहिलो लिखतको रकम समेत गाभी पछिल्लो लिखत भएको मान्नु पर्ने भनी लेनदेन व्यवहारको ४० नं. को हदम्याद भित्रको लिखत मानी शुरु जिल्ला अदालतको फैसला उल्टी गरी फिराद दावी मध्येको २०४९।२।४ को लिखतको रु.४२,०००। प्रतिवादीबाट भरी पाउने ठहर्याएको देखिन्छ । पुनरावेदन अदालतको फैसला उपर वादी प्रतिवादी दुवैको यस अदालतमा दोहोरो पुनरावेदन परेको अवस्था छ । यसमा प्रथमतः विवादित लिखतहरुका सन्दर्भमा करार ऐन, २०२३ आकर्षित हुने हो या लेनदेन व्यवहारको महल अनुसार हुने हो ? भन्ने प्रश्नको निरुपण गरी प्रस्तुत मुद्दा टुङ्गो लगाउनु पर्ने देखिन्छ ।
१८. लिखतको व्यहोरालाई हेर्दा पहिलो अर्थात २०४८।१०।१३ को लिखतमा कि.न. ३९७ को खेत रु.८०,०००। मुल्यमा फागुन भरमा रजिष्ट्रेशन पास गर्ने गरी सो रुपैंया मध्ये रु.३०,०००। बुझि लिएं, बांकी रुपैंया रजिष्ट्रेशन पास गर्दा चुक्ता गरी लिनुदिनु गर्ने गरी हामी साहु असामी दुवै थरको मनोमानी खुशीराजीसंग यो कवोलनामा लेखी सहिछाप गरिदियां भन्ने उल्लेख भएको देखिन्छ । त्यसै गरी पछिल्लो अर्थात २०४९।२।४ गतेको लिखतमा गर्वे सुनारको कित्ता नं. ३९७ को खेत चेतनाथ गिरीले लिने वोलले गर्दा चेतनाथ गिरीले मिति २०४९।२।४ गते जग्गा लिनको लागि गर्भे सुनारको हातमा रु.४२,०००। वैनावटृा गरी २०४९ साल पुष २९ गते भित्र जग्गा पास गरी नलिएमा रु.४२,०००। वैनावटृापच हुने अर्थात फिर्ता नहुने व्यहोरा उल्लेख गरी साक्षी समेत राखी दुवै पक्षको सहीछाप भएको देखिन्छ । उल्लेखित दुवै लिखत वैनावटृाको लिखत भएको कुरामा विवाद छैन र त्यसमा दुवै पक्षको मुख मिलेकै देखिन्छ ।
१९. विवादित लिखतमा जग्गाको मोल रु.८०,०००। कायम गरिएको, सो जग्गा रजिष्ट्रेशन पारीत गरिदिने लिने कुरा उल्लेख भएको पारीत गरिदिने अवधि समेत किटान गरिएको र तोकिएको समयमा पास गरी नलिएमा हुने परिणाम अर्थात बैनावटृा पच हुने कुरा समेत लेखिएको छ । करार ऐन, २०२३ को दफा २(क) मा करार भन्नाले दुई वा दुई भन्दा वढी पक्षहरुका वीच कुनै काम गर्न वा नगर्नका लागि गरिएको मन्जुरी संझनु पर्छ भन्ने व्यहोरा उल्लेख छ । साथै ऐ. दफा ४(१) मा कुनै व्यक्तिले कुनै व्यक्ति समक्ष प्रस्ताव राखेकोमा प्रस्ताव पाउने व्यक्तिले सो प्रस्ताव स्वीकृति गरेमा करार भएको मानिने छ भनि उल्लेख भएको सन्दर्भमा प्रस्तुत विवादको विवादित लिखतमा कि.नं. ३९७ को जग्गा मोल रु.८०,०००। कायम गरी प्रतिवादीको नाममा रहेको उक्त जग्गा वादीले राजिनामा पारीत गरी लिने र सो वापत हाल वैना स्वरुप केही रकम दिने प्रतिवादीबाट २०४९।९।९ भित्र उक्त जग्गा रजिष्ट्रेशन पारीत गरी वादीले लिने र नलिएमा बैनावटृा पच हुने समेतका शर्तहरु उल्लेख भएको र त्यसमा दुवै पक्षले स्वीकृति जनाएको देखिंदा त्यस्तो लिखतलाई करारको प्रकृतिको लिखत मान्नु पर्ने हुन्छ । लेनदेन व्यवहारको २ नं. मा तमसुक भएका मितिले दश वर्षभित्र केही व्याज असुल पनि नभएको, भाखापत्र पनि नगराएकोमा सो म्यादपछि नालेस लाग्न सक्दैन भन्ने उल्लेख भएको स्थितिमा विवादित लिखतलाई तमसुकको संज्ञा दिन सकिएन । करार ऐनले करारको लिखतको ढांचा तोकि दिएको पाइदैन, तर ऐनमा रहेको करारको परिभाषा तथा प्रस्ताव एवं स्वीकृति जस्ता कुराहका आधारमा उक्त लिखत करारको लिखत हो भन्ने कुरा स्थापित हुन्छ । करार ऐन अनुसार करारका दुवै पक्षमा करारीय दायित्व (Contractual Obligation) निहित रहने र कुनै पक्षबाट त्यस्तो दायित्व पुरा नगरिएमा करारको उलघंन भएको मानी ऐ. ऐनको दफा १५(१) वमोजिम करार उल्लघंन गर्ने पक्षबाट अर्का पक्षले क्षतिपुर्ति भराई लिन पाउंछ र त्यस्तो पक्षले करार ऐन वमोजिमकै कार्यविधि अवलम्वन गर्नु पर्दछ ।
२०. प्रस्तुत विवादमा उल्लेखित दुवै लिखतको प्रकृतिले ती लिखत करारनामाको लिखत हुंदा हुंदै पनि लिखत अनुसार भएन भन्ने पक्षले करार ऐन अनुसार नै उपचार खोज्नू पर्नेमा आकर्षित हुनै नसक्ने लेनदेन व्यवहारको २ नं. अनुसार वादीको फिराद परेको देखिन्छ । तसर्थ करार ऐन अर्न्तगतबाट क्षतिपुर्तिको दावी लिई आउनु पर्ने पक्षले लेनदेन व्यवहारको २ नं.. अर्न्तगतबाट नालिश गरेको देखिंदा फिराद खारेज गर्ने गरेको शुरु जि.अ.को फैसला उल्टी गरी पछिल्लो अर्थात २०४९।२।४ को लिखत वमोजिमको रकम प्रतिवादीबाट भरी पाउने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिंदा उल्टी भै करार ऐन अर्न्तगतको विवादमा लेनदेन व्यवहारको २ नं. आकर्षित हुन नसक्ने भनी फिराद खारेज गर्ने गरेको शुरु सिन्धुपाल्चोक जि.अ.को मिति २०५१।३।१५ को फैसला सदर हुने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम फिराद खारेज गर्ने गरेको शुरु सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला सदर हुने ठहरेकोले पुनरावेदक प्रतिवादी गर्भे कामी सुनारले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फि रु.३६४।५० तथा धरौटी रु.१७५९।५० समेत फिर्ता पाउं भनी ऐनका म्यादभित्र प्रतिवादीको दर्खास्त परे कानून वमोजिम फिर्ता दिनु भनी शुरुमा लेखि पठाई दिनु .... १
माथि इन्साफ खण्डमा लेखिए वमोजिम फिराद खारेज गर्ने गरेको शुरु सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला उल्टी गरी वादीले सांवा व्याज भरी पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला उल्टी भै शुरु जि.अ.को फैसला सदर हुने ठहरेकोले पुनरावेदन अदालत पाटनको फैसलाको तपसील खण्डको देहाय १ ले राख्ने गरेको लगत कटृा गरी सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला वमोजिम गर्नु भनी शुरुमा लेखी पठाई दिनु ..... २
दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ............................... ३
उपर्युक्त रायमा म सहमत छु ।
न्या. गोपालप्रसाद खत्री
इति संवत् २०५६ साल जेष्ठ २० गते रोज ५ शुभम् ..................... ।