निर्णय नं. ८९४८ - वैंक ठगी

ने.का.प. २०७०, अङ्क १
निर्णय नं.८९४८
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री प्रकाश वस्ती
संवत् २०६७ सालको स.फौ.नं.०६६–CR–०६२८, ०६२९
फैसला मितिः २०६९।६।२३।३
मुद्दाः वैंक ठगी ।
पुनरावेदक वादीः नेपाल इण्डोस्वेज बैंकको पत्रले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं ९ घर भै काठमाडौं महानगरपालिका वडा नं ४ महाराजगंज बस्ने मधुसुदन पुरी समेत
पुनरावेदक प्रतिवादीः काठमाडौ जिल्ला, काठमाडौं महागरपालिका वडा नं. ३ महाराजगञ्ज घर भै हाल कारागार कार्यालय नुवाकोटमा कैदमा रहेका मधुसुदन पुरी
विरुद्ध
प्रत्यर्थी वादीः तत्कालीन नेपाल इण्डोस्वेज बैंक लि. का कार्याकारी प्रमुख मार्क डुमेजको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः–
मा.न्या.श्री प्रकाशचन्द्र गजुरेल
पुनरावेदन फैसला गर्नेः–
मा.न्या.श्री लक्ष्मणमणि रिसाल
मा.न्या.श्री हरिबहादुर बस्नेत
§ कानूनमा निषेध गरेको कार्य आपराधिक कार्य हो । त्यस कार्यबाट परिणाम निस्केको हुनुपर्दछ र त्यसबाट निस्कने परिणाम कानूनले निषेध गरेको हुनुपर्दछ । आपराधिक मनसाय भन्नाले कुनै पनि आपराधिक कार्य गर्दा वा सो कार्य गर्ने सम्वन्धमा कर्ताले राखेको सोच अथवा विशेष मष्तिष्कीय अवस्थालाई बुझाउने ।
§ यो अपराधकर्ताको दोषपूर्ण मानसिक अवस्था (Guilty state of mind) हो । ठगी जस्तो फौजदारी कसूरमा मनसाय तत्वको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कर्ताले आफूले गर्न लागेको कार्यको परिणाम के हुन्छ भन्ने कुरा पहिले नै देखेको सोचेको वा पूर्वजानकारी राख्नु पर्ने ।
(प्रकरण नं.६)
§ ठगी गरिएकै रकमबाट आर्जित भनी अभियोग लागेपछि ठगी गरिएको रकम बाहेक अन्य रकमबाट ती सम्पत्ति आर्जन भएको देखाउने प्रमाण भार यस्तो जिकीर लिने प्रतिवादीमै रहने ।
(प्रकरण नं.८)
§ दसी प्रमाण अमूर्त भईकन पनि धेरै कुरा बोलिरहेका हुन्छन् । दसी सामानले अपराधलाई पुष्टि गर्ने मात्र नभई अपराधीहरूको परिचय पनि खुलाउने ।
(प्रकरण नं.९)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, विद्वान अधिवक्ताहरू बच्चुसिँह खड्का, तुल्सी सिंखडा, सोमकान्त मैनाली, दीपक श्रेष्ठ र सुधीरमान श्रेष्ठ तथा विद्वान वैतनिक अधिवक्ता रामहरि शर्मा
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता सरोज गौतम
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन ठगीको १ र .४ नं.
फैसला
न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०६३।५।१ गतेको फैसलाउपर वादी प्रतिवादी दुवैको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्याई हेरिपाऊँ भन्ने निवेदन परेकोमा निस्सा प्रदान भै निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :–
हेरया छे टुई नेपालीको नाममा दर्ता रहेको मार्क कार्पेट इन्डष्ट्रिज यस बैँकको ग्राहक नियमित गरिने बैंकिङ्ग कारोबारको सिलसिलामा मिति सन् १५–१२–१९९९ वि.स. २०५६।८।२६ गते उक्त ग्राहकको खाताबाट रु.४९,६०,०००।–(उनान्चासलाख साठीहजार) आन्तरिक स्थानान्तरण (INTERNAL TRANSFER) बाट बैँकको अर्का ग्राहक गोपालबहादुर गुरुङलाई भुक्तानी भएको थियो । र, सो रकम सोही मितिमा झिकिएको थियो । उक्त गोपालबहादुर गुरुङको खाता खोल्दा परिचयकर्तामा याक कार्पेटका नोर्वु छिरिङ देखाइएको थियो । सोही दिन चेक नं.बि.०२०५०७ बाट रु.३,००,०००।– (तीन लाख) भुक्तानी भै गएको र सोही दिन रु.१३,१५,०००।– (तेह्रलाख पन्ध्र हजार) युनिभर्सल कार्डिङ एण्ड वासिङ इन्डष्ट्रिजको नाममा खिचेको चे.नं. ०२०५०२ बाट भुक्तानी गएको थियो । त्यसै गरी सन् १६–१२–१९९९ अर्थात २०५९।९।१ गतेमा नेपाल ग्रीनलेज बैँक लि.मार्फत प्राप्त प्रेमबहादुर शाहीको नाममा मिति १५–१२–१९९९ मा खिचिएको चे.नं. ३०२०५१० बाट रु.९६,७५,०००।– (छयानब्बे लाख पचहत्तर हजार) भुक्तानी भै गएको थियो । त्यस्तै २०–१२–१९९९ मा खिचिएको चे.नं. डब्लु ०२०५०६ बाट रु.४३,००,०००।– (त्रिचालीस लाख) भुक्तानी भै गएको थियो । पछि मिति ०६–०१–२००० अर्थात २०५६ साल पुस ६ गते उक्त याक कार्पेट इण्डष्ट्रिजका अख्तियारप्राप्त नोर्वु छिरिङले उल्लिखित रकम आफूले नझिकेको भनी जानकारी गराएपछि के भएको रहेछ भनी हेर्दा उक्त कार्पेटका तर्फबाट चेकबुक पाऊँ भनी २०५६।८।२८ गते दर्खास्त पर्न आएको र सो दर्खास्तमा भएको हस्ताक्षर र दस्तखत नमूना कार्डको हस्ताक्षर नाङ्गो आँखाले हेर्दा भिडेकै देखिने हुँदा चेकबुक दिएको र त्यसरी नै चेकमा भिड्ने हस्ताक्षरको आधारमा उल्लिखित चेकहरूको भुक्तानी भएको रहेछ । हाल नोर्वु छिरिङको कथनअनुसार गोपालबहादुर गुरुङ्गको परिचय चेक मागपत्र र माथि उल्लिखित चेकहरूसमेतका कुनै लिखतमा आफूले हस्ताक्षर नगरेको भनेबाट यसरी कीर्ते कागज पेश गरी बैँक ठगी गरेको देखिन आएकोले कारवाही गरिपाऊँ भन्ने नेपाल इण्डोस्वेज बैँकका कार्यकारी प्रमुख मार्क डुमेजले दिएको अपराधको सूचना ।
मैले याक कार्पेट इण्डष्ट्रिज खोलेको थिएँ । यस इन्डष्ट्रिजका प्रोपराइटर मेरो श्रीमती याङच्कस्की नेपाली हुन । उक्त इण्डष्ट्रिज ललितपुर सैँवुमा छ । इण्डोस्वेज बैँकका खातावाला गोपालबहादुर गुरुङ्गसँग मेरो चिनजान छैन । उक्त बैँकमा ठगी गरेको रकम निकाल्दा पेश गरिएका चेक कागजातहरूमा भएको हस्ताक्षर मेरो होइन । मेरो कार्पेटमा क्यासियरको काम मिङमा लामाले गर्दछन् । उनले बैँकमा आउने इस्टेटमेण्ट लिने जस्ता कार्यहरू गर्दछन् । अग्रीम भुक्तानी हुँदा २ करोड १४ लाख जति नेपाली रूपैयाँ भएकोले बैँकमा जम्मा गरेको थिएँ । सो रकममध्ये २ करोड ५ लाख ५० हजार रकम निकाली ठगी गरेको मलाई थाहा भएन । हाल मेरो खातामा ७ लाख जति बाँकी छ । बैँकले सहिछाप जाँच गरी भुक्तानी दिनुपर्ने थियो । यसमा बैँकका कर्मचारीको पनि सँलग्नता हुनसक्छ । लोगो, प्याड सबै नक्कली तयार गरी बैँक ठगी गरेको हो । लोगो भएको खाली चेकसमेत साथै राखी पेश गरेको छु भन्ने समेत व्यहोराको नोर्वुछिरिङ शेर्पाले अनुसन्धानका क्रममा गरेको बयान ।
नेपाली नागरिकता प्रमाणपत्र मिति २०३९।३।४ मा नं. ९१०९ को प्रेमबहादुर शाहीका नाममा जारी नभएको श्याम महर्जनका नाममा जारी भएको र पोष्ट वक्स नं. ४८७६ जावे थापा र पो.व.नं. ५७८२ जे.वी.श्रेष्ठका नाममा दर्ता भैरहेको भन्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँ र गोश्वारा हुलाक कार्यालयबाट लेखिआएका पत्रहरू ।
म इण्डोस्वेज बैँकको क्यास डिपार्टमेण्टमा असिस्टेण्ट पदमा कार्यरत् छु । क्लियरिङ शाखामा काम गर्छु । अन्य बैँकबाट आएका चेक र काम गरेको बैँकबाट बाहिर जाने चेकहरू खातामा क्रेडिट र डेविट गरी पठाउने काम मेरो हो । नोर्वु छिरिङको नगद रूपैयाँ ठगी गरेको सम्बन्धमा मलाई केही थाहा छैन भन्ने इण्डोस्वेज बैँकका सरोज शाक्यले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
नेपाल इण्डोस्वजे बैँकमा नोर्वु छिरिङले करेन्ट खाता ००११२०६०१० खोल्दाका कागजात एवं गोपालबहादुर गुरुङ्गले सेभिङ्ग एकाउण्ट नं. १७९३१९० खोल्दाका कागजातहरू र सो खाता नं.बाट भुक्तानी भएका सक्कल चेकहरूसमेत ईन्टरनल ट्रान्सफर पेपर तथा भौचरसमेतका कागजातहरू उपत्यका अपराध अनुसन्धान शाखाले नेपाल इण्डोस्वेज बैँकबाट माग गरेको तथा प्रेमबहादुर शाहीको ग्रीनलेज बैँक बानेश्वरमा करेन्ट खाता नंं. १०२०५१००४१००१ खोल्दाका कागजात एवं कृष्ण राईका नाममा रहेको सेभिङ्ग खाता नंं १०२०३९०४१०२०१ मा रहेको बैँक स्टेटमेण्ट र खाता खोल्दा प्रस्तुत गरेका कागजातसमेत माग गरेको पत्र र उपरोक्त खाताको रकम रोक्कासमेत गर्न लेखिएको पत्र ।
डिसेम्बर १४ सन् १९९९ का दिन कार्पेट इण्डष्ट्रिजको लेटरप्याडमा चेक हराएकोले पुनः चेक पाऊँ भनी राजेश कार्कीलाई दिई पठाउनु भनी नोर्वु छिरिङले लेखेको पत्र प्राप्त भएपछि शुभरत्न शाक्यकोमा लगी स्पेसीमेन कार्ड र निवेदनमा भएको नोर्वु छिरिङको हस्ताक्षर ओ.के. गर्नुभयो । तत्पश्चात् अर्को चेकबुक इस्यू गरेको हो । याक कार्पेट इण्डष्ट्रिजमा कार्यरत् मिङमा लोप्सान काम विशेषले बाहिर गएको हुनसक्ने र चेक दिँदा रिक्वीजिशन फर्म (Requisition form) खातावालालाई दिएको नदिएको रेकर्ड राख्ने व्यवस्था पनि नभएको हुँदा निवेदनको आधारमा हस्ताक्षर ओ.के. भएपछि चेकबुक दिएको हो । मेरो बैँक ठगीमा सँलग्नता छैन भन्ने समेत व्यहोराको बैँकका सुपरभाइजर लक्ष्मी जोशीले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज ।
बैँकमा रहेका खातावाला व्यक्तिहरूको एक खाताबाट अर्को खातामा एकाउण्ट ट्रान्सफर गर्ने प्रारम्भिक काम मैले गर्छु । खाता ट्रान्सफर गर्ने व्यक्तिको ब्यालेन्समा सहिछाप शुभरत्न शाक्य तथा राजेन्द्र बज्राचार्यले गर्नु हुन्छ । मेरो शुरु प्रोसेसिङ गर्ने कार्यमात्र हो । बोसहरूबाट यकीन गरेपछि मात्र ट्रान्सफर हुन्छ भन्ने समेत व्यहोराको सिनियर असिस्टेण्ट प्रमिला शाक्यले अनुसन्धान अधिकारीसमक्ष गरेको कागज ।
मेरो डिपार्टमेण्टमा मैले फाराममा उल्लिखित कागजातहरू चेक गरी रुजु गर्ने कार्यहरू गर्छु । बैँक ड्राफ्ट रुजु चेक गर्ने कार्य मेरो होइन भन्ने व्यहोराको इण्डोस्वेज बैँकका सिनियर म्यानेजर कमलबिक्रम सिँहले अनुसन्धानको क्रममा गरेको बयान ।
म याक कार्पेटमा काम गर्छु । इण्डष्ट्रिजको नवीकरणसम्बन्धी काम समेत गर्छु । यती कार्पेट इण्डष्ट्रिजबाट कसले ठगी गरे कसले रूपैयाँ झिके थाहा भएन । मेरो सँलग्नता छैन भन्ने केदारलाल अमात्यले गरी दिएको कागज ।
म याक कार्पेट इण्डष्ट्रिजको प्रोप्राइटर हुँ । मेरो नेपाल इण्डोस्वेज बैँकको खाताबाट २ करोड ५ लाख ५० हजार कीर्ते कागजसमेत तयार गरी चेकबुक हराएको भनी अर्को चेकबुक लिई खाताबाट रूपैयाँ झिकी को कसले ठगी गरेका हुन् । समयमै बैँकले खबर गरी दिएको भए ठगी हुने थिएन होला भनी याङकीत नेपालीले गरेको कागज र मेरो काम कार्पेट निर्यात गर्ने हो । २ करोड ५ लाख ५० हजार ठगी भएकोमा मलाई थाहा छैन भन्ने याक कार्पेटका प्रोडक्सन ईञ्चार्ज छिरिङ तोप्ग्यालले गरेको कागज ।
मेरो काम छिरिङ तोप्ग्यालको आदेशबमोजिम गर्ने हो । इण्डोस्वेज बैँकमा रहेको नोर्वु छिरिङको रूपैयाँ ठगी गरी कसले झिके थाहा भएन भन्ने याक कार्पेट इण्डष्ट्रिजका तेन्जिङ नोर्साङले गरेको कागज ।
नोर्वु छिरिङका विवादित चेकका दस्तखत कार्डहरू निवेदनमा भएका दस्तखत सक्कली चेकको दस्तखत लेटरप्याड स्टाम्प छाप समेत परीक्षण गर्न केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशाला उपत्यका अपराध अनुसन्धान शाखामा पठाएको २०५६।१०।४ को पत्र मिसिल सामेल रहेको ।
नोर्वु छिरिङको सक्कली हस्ताक्षर तथा चेकका फारामका विवादित हस्ताक्षरमा निजको भनिएका हस्ताक्षरहरू एवं याक कार्पेट इण्डष्ट्रिजका सक्कली रबर स्टाम्पमा भिन्नता भएको राजेश कार्कीले चेकबुक पाऊँ भनी नोर्वु छिरिङको हस्ताक्षर भएका निवेदनमा राजेश कार्कीले हस्ताक्षर गरेको चेकबुक र हस्ताक्षरमा भिन्नता नभएको भन्ने समेत व्यहोराको प्रत्येक विवादग्रस्त चेक फर्म आदि परीक्षण गरी केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाको २०५६।१०।५ को प्रतिवेदन ।
२० जनवरी २००० को पत्रसाथ १४ डिसेम्बरमा चेक पाऊँ भनी दिएको निवेदनलाई नोर्वु छिरिङलाई देखाउँदा मैले हस्ताक्षर देखाउँदा देखेँ । मैले हस्ताक्षर गरेको पत्र होइन भनी भनेका थिएनन् । नोर्वुले चेकबुक कलेक्ट गर्न मिङमा बाहेक राजेश कार्कीलाई दिएको चेकमा रिक्वीजिसन स्लेप थाइल्याण्डमा छापिएको हुँदा गलत हुन सक्छ भन्ने समेत व्यहोरा उल्लिखित भएको ।
मधुसुदन पुरीको घर कोठाभित्रको अपराधको प्रमाणजन्य वस्तु तलासी लिने क्रममा दराज खोली हेर्दा सुनतोला १००, नेपाली रु.१०००।–, रु.५००।– नोटहरू रु.४२,२९,०००।– राजस्व अनुसन्धान विभाग, पुनरावेदन अदालतसमेतका लेटर प्याड, प्राडो गाडी र बल्खुमा घरजग्गा लिखतका तमसुक ७७ लाखमा खरीद गरिएको घरका चावीहरूसमेत भएको भन्ने ०५६।१०।११ गते भएको बरामदी मुचुल्का ।
प्रतिवादी गोपालबहादुर गुरुङ्ग भन्ने, प्रेमबहादुर शाही भन्ने, विक्रम शाही भन्ने खिलबहादुर शाहीको तलासी लिँदा जिल्ला प्रशासन कार्यालय रौतहटबाट जारी भएको नं. १६७५।८४४ को खिलबहादुर शाहीको नाउँमा नागरिकता प्रमाणपत्र बिक्रम शाहका नाउँको परिचयपत्र फेला परी बरामद भएको बरामदी मुचुल्का ।
काठमाडौँ जिल्ला, काठमाडौ महानगरपालिका वडा नं. ७ बस्ने जीवनकुमार श्रेष्ठको घरमा भाडामा बसेका प्रतिवादी महेश भण्डारीको कोठा तलासी गर्दा घर कम्पाउण्डमा मोटरसाइकल रहेको नेपाली रु.१०००।– र रु.५००।– दरका रु.१०,००,०००।– (दशलाख) नगदसमेत बरामद गरेको बरामदी मुचुल्का ।
प्रतिवादी बन्टी गिरीको तलासी गर्दा नेपाली रु.१,१०,०००।– (एकलाख दशहजार) फेला परेको सो रूपैयाँ इण्डोस्वेज बैँक ठगी गरी ल्याएको भन्ने बरामदी मुचुल्का ।
काठमाडौँ उपत्यकाभित्र रहेका स्वेदसी विदेशी बैँकहरूबाट विभिन्न व्यक्ति एवं संस्थाहरूको नाममा रहेको खाता नं. तथा हस्ताक्षरबाट कीर्ते कागजात तयार गरी ठगी गर्ने गिरोहको पत्ता लाउने सिलसिलामा नेपाल इण्डोस्वेज बैँकबाट २ करोड ५ लाख ५० हजार ठगी गर्ने मधुसुदन पुरी, महेश भण्डारी, बन्टी गिरी, खिलबहादुर शाहीलाई कब्जामा लिँदा बरामदी मुचुल्काअनुसारका सामानहरू बरामद गरी मुचुल्का गराएको र निजहरूले हिमालय बैँक ठमेलबाट ७१ लाख बराबर रकम ठगी गरेको, रा.बा.बैँक टंगालबाट ४ लाख ५० हजार बराबरको रकम ठगी गरेको, नेपाल बंगलादेश बैँक बानेश्वर शाखाबाट १८ लाख ८५ हजार ठगी गरेको, कृषि विकास बैँक चावहिल शाखाबाट जीवनकुमार श्रेष्ठको नाउँको २ लाखसमेत ठगी गरेको र सदाखुशी इन्टरप्राइजेजको नामबाट ३५ लाख बराबरको रकम ठगी गर्न लाग्दा सफल हुन नसकेको र ठगी गरेको रूपैया घरजग्गा, गाडी, टी.भी., भी.सी.डी. समेतका सामान खरीद गरेका र ठगी गर्नेमा ध्रुब पराजुली, बद्रीप्रसाद विडारीसमेत सँलग्न रहेको खुल्न आएकोले कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने उपत्यका अपराध अनुसन्धान शाखाका प्रहरी नायव उपरीक्षक तेजबहादुर ढुंगानासमेतले दिएको प्रतिवेदन ।
सोनी सिडी थान–१, सोनी साउण्ड बक्स–१, ३४ ईञ्चको टी.भी. थान–१, सिडी रिमोट कन्ट्रोल–१, टीभीको रिमोट १ खिलबहादुर शाहीबाट बरामद भएको बरामदी मुचुल्का ।
जनवरी ७, २००० को नेपाल ग्रीनलेज बैँक लि.बाट खिलबहादुर भन्ने प्रेमबहादुर शाहीको एकाउण्ट नं.१०२०५१००४१००१ को खाताबाट नगद १,४८,७००।– प्राप्त भएको ।
हामीले बैँक ठगी गर्ने योजना बनाएमुताविक हिमालयन बैँक ठगी गर्ने उद्देश्यले मधुसुदन पुरीले एउटा चेक काटी बद्री बिडारीलाई दिएपछि बद्री बिडारीले हिमालयन बैँकमा गई २५ लाख ल्याएका हुन् । त्यसपछि आई.के.सिँहको फर्जी नाममा नेपाल एभरेष्ट बैँकमा खाता खोली हिमालयन बैँकबाट ४६ लाखको चेक काटी मधुसुदनले दिएपछि हिमालयन बैँकबाट रकम ट्रान्सफर गराई एभरेष्ट बैँकबाट ४६ लाख रूपैयाँ झिकी लगी मधुसुदन पुरीलाई दिएको हुँ । मलाई सोबापत रु.३०,०००।– दिएका थिए । ध्रुब पराजुलीले १ लाख, बद्री विडारीले ३५ लाख, महेश भण्डारीले १ लाख दिएका हुन् । बंगलादेश बैँक ठगी भए सम्बन्धमा मलाई थाहा छैन । महेश भण्डारीले कृषि विकास बैँकका चेकको फोटोकपीे ल्याएपछि आवश्यक कागजात बनाई २ लाखको चेक काटी दिएपछि मैले चेक लिई कृषि विकास बैँक चावहिलमा गै २ लाख ल्याएपछि मधुसुदनले रु.१५,०००।– दिएका र बन्टी गिरीलाई समेत रु.१५,०००।– दिएका थिए । बाँकी रूपैयाँ मधुसुदनले लिएका थिए । इण्डोस्वेज बैँकमा रहेको याक कार्पेटको चेकको फोटोकपी महेश भण्डारीले मधुसुदन पुरीलाई दिएपछि दुवै जना मिली आवश्यक कागजात तयार गरेपछि १५ डिसेम्बर १९९९ मा दिई तीन लाखको चेक काटी नक्कली सहिछाप मधुसुदनले गरी बन्टी गिरीलाई साट्न दिएपछि निजले सो चेक साटी लिएर आएपछि मधुसुदनलाई दिए । त्यसपछि १३ लाख १५ हजारको चेक काटी महेश भण्डारीलाई मधुसुदनले दिएपछि चेक साटी ल्याई मैले र बद्री विडारी भै नक्कली नाम प्रेमबहादुर शाही र गोपालबहादुर गुरुङ्गको नाममा दुईवटा कीर्ते नागरिकता तयार गरी राखेको थियो, सोहीमध्ये प्रेमबहादुर शाही बनी सोही दिन ग्रीनलेज बैँकमा खाता खोली इण्डोस्वेज बैँकबाट याक कार्पेटको खाताबाट ९६ लाख ७५ हजार रकम ट्रान्सफर गरी प्रेमबहादुर शाहीको नामको दस्तखत गरी निकालेको हुँ । १५ डिसेम्बर १९९९ कै दिन मेरो नाम गोपालबहादुर गुरुङ्ग भनी इण्डोस्वेज बैँकमा खाता खोली इण्डोस्वेज बैँकमा रहेको याक कार्पेटको खाताबाट ४९ लाख ६० हजार ट्रान्सफर गरी सोही दिन झिकेको हुँ । २० डिसेम्बर १९९९ का दिन पुनः ग्रीनलेज बैँकमा गई नक्कली नाम प्रेमबहादुर शाही भनी खोलेको खातामा याक कार्पेटको इण्डोस्वेज बैँकमा रहेको खाताबाट ४३ लाख ट्रान्सफर गरी मैले नै सही गरी निकालेको हुँ ।
यसरी हामी सबै जना भई नेपाल इण्डोस्वेज बैँकबाट ठगी गरी ल्याएको जम्मा २ करोड ५ लाखमध्ये मधुसुदनले लिई महेश भण्डारीलाई रुं १५,४५,०००।– नगद तथा जिन्सीसमेत गरी दिएको मलाई ४ लाख ८ हजार बराबरको रकम दिएको बन्टी गिरीलाई १ लाख ५० हजार र बद्री विडारीलाई १४ लाख धु्रव पराजुलीलाई ८५,०००।– दिएका हुन् । मैले लिएको रकममध्येबाट बरामद भै आएको टी.भी.समेत १,६७,०००।– मा खरीद गरेको हुँ । अरु रकम मासी यो मेरो फोटो बद्री विडारीलाई दिएको थिएँ । निजले नागरिकता कीर्ते बनाई दिएका र नागरिकताको प्रमाणपत्र राखी खाता खोलेको हुँ । सक्कल प्रति बद्री विडारीसँग थियो । मिति १५ डिसेम्बर १९९९ भएको इण्डोस्वेज बैँकमा पेश भएको चेकको राजेश कार्कीको हस्ताक्षर महेश भण्डारीको हुनुपर्दछ । नागरिकताको हस्ताक्षरसहित मेरो हो । खाता खोल्दा पहिले कार्डको अक्षर बद्री विडारीको र हस्ताक्षर मेरो हो । ग्रीण्डलेज बैँकमा खाता खोल्दा लेखिएका कार्डका अक्षर मधुसुदन पुरीको र हस्ताक्षर मेरो हो भन्ने समेत व्यहोराको गोपालबहादुर गुरुङ्ग, प्रेमबहादुर शाही, विक्रम शाह समेत भन्ने प्रतिवादी खिलबहादुर शाहीको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मधुसुदन पुरी मेरो मामा नाता पर्ने हुन् । निजहरूले कहिँबाट कसैको चेकको फोटोकपी उपलब्ध गराई नयाँ चेकबुकको लागि निवेदन दिए । नयाँ चेक लिई मधुसुदन पुरीले चेकमा हस्ताक्षर गरी रूपैयाँ निकाल्दा रहेछन् । यस्तैमा कृषि विकास बैँकमा जीवनकुमार श्रेष्ठका नाउँको नयाँ चेकबुक बैँकबाट लिई मधुसुदनले २ लाखको चेक काटी खिलबहादुर शाही र म गएपछि निजले मलाई रु.१५,०००।– दिएका हुन् । त्यसपछि महेश भण्डारी र मधुसुदन पुरीले याक कार्पेटका नोर्वु छिरिङको सही छाप भएको चेक प्राप्त भएपछि नयाँ चेकका लागि कीर्ते दस्तखत गरी फर्जी कागज तयार गरी महेश भण्डारीले नयाँ चेक ल्याएछन् । १५ डिसेम्बर १९९९ मा मधुसुदनले ३ लाखको चेक काटी सहिछाप गरी मलाई साट्न पठाएकोले पछि मैले साटी ल्याई मधुसुदन पुरीलाई दिएको हुँ । पुनः सोही दिन १३ लाख १५ हजारको चेक काटी महेश भण्डारीलाई साट्न दिएँ । सोही दिन खिलबहादुरले प्रेमबहादुर शाहीको नामबाट ग्रीण्डलेज बैँकमा खाता खोले इण्डोस्वेज बैँकमा उक्त याक कार्पेटको खाताबाट ९६ लाख रकम ट्रान्सफर गरी ३ दिनपछि झिकेको हो । १५ डिसेम्बर १९९९ का दिन खिलबहादुर शाहीको नाम गोपालबहादुर गुरुङ बनाई याक कार्पेटको खाताबाट ४९ लाख ६० हजार ट्रान्सफर गरी त्यही दिन झिकेका हुन् । २० डिसेम्बर १९९९ का दिन पुनः ग्रीनलेज बैँकमा रहेको प्रेमबहादुर शाहीको नामको खातामा ४३ लाख इण्डोस्वेज बैँकको याक कार्पेटको खाताबाट झिकेको पैसामध्ये मलाई १,५०,०००।– दिएका हुन् भन्ने व्यहोराको वन्टी गिरीको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मेरो ज्वाइँ नाताका मधुसुदन पुरी र मेरो सल्लाहअनुसार कुनै पनि बैँकको खाताको सहिछाप भएको चेकको फोटोकपी ल्याई दिएपछि बैँकबाट रूपैयाँ झिकौँला भनेको हुँदा मैले विश्वासमणि आचार्यलाई एउटा सहिछाप भएको चेकको फोटोकपी उपलब्ध गराई दिनु भनेकोले निजले रेन्बो कलर ल्यावको खाताको चेकको फोटोकपी ल्याई मधुसुदन पुरीलाई दिए । सो चेकबाट हस्ताक्षर मिलाई चेक हराएकोले नयाँ चेक उपलब्ध गराई पाऊँ भनी लेखी मधुसुदन पुरीले दिएपछि मैले नयाँ चेकबुक ल्याइदिएँ । यसरी राष्ट्रिय वाणिज्य बैँक टंगाल शाखाबाट ल्याएको चेकबाट २ लाख रूपैयाँ चेक काटी बद्री विडारीलाई साट्न दिए । पुनः २ लाख रूपैयाँको चेक काटी भोलिपल्ट पठाएपछि बद्री विडारीले ल्याई दिएँ । सोवापत मलाई रु.२५,०००।– वद्री विडारीलाई २ लाख आफूले १ लाख २५ हजार राखेका थिए । त्यसपछि ध्रुब पराजुलीले एक चेकको फोटोकपी मलाई दिनु भएको छ । सो एपोलो मेनपावरको हो । सो काम गर्नु पर्दछ भनी मधुसुदन पुरीले भनेकोले सो कार्यमा धु्रब पराजुली, बद्री विडारी, खिलबहादुर शाही, मधुसुदन पुरी र म भई ७१ लाख ६७ हजार निकाल्न सफल भएपछि मलाई १ लाख, धु्रबलाई १ लाख, खिलबहादुरलाई ३० हजार र बद्रीलाई ३५,००,०००।– दिएका थिए । कृषि विकास बैँकमा खाता रहेको मेरो घरधनी जीवन श्रेष्ठले मधुसुदनसँग सापटी लिएको रूपैया चुक्ता गर्न ६० हजारको चेक काटी दिएका थिए । सो चेकको फोटोकपी राख्नु भएको रहेछ । पछि त्यही फोटोकपीबाट अरु बैँक ठगी गर्दाको प्रक्रिया अपनाई चेकबुक लिई २ लाख निकाल्नु भएछ । सो रूपैयाँ मेरो घरधनीकै भएपछि जम्मा गरी दिएँ । मेरो घरधनी जीवनकुमार श्रेष्ठको अफिसमा याक कार्पेटको चेकआएपछि राजु पराजुली चेक साट्न इण्डोस्वेज बैँक जान लाग्दा निजसँग चेकको फोटोकपी लिई मधुसुदनलाई दिएँ । त्यसपछि याक कार्पेटको प्याड हेर्न घरेलु उद्योग अफिसमा गै प्याडको फोटोकपी ल्याई वानेश्वर स्थित स्क्रीन प्रिन्टमा गई अर्डर गरी फर्किएपछि प्याड तयार भएपछि मधुसुदनलाई दिएँ । त्यसपछि निजले नयाँ चेकबुक लिनका लागि नोर्वु छिरिङको हस्ताक्षर गरी निवेदन दिएपछि मधुसुदन पुरी, बद्री विडारी, धु्रव पराजुली, खिलबहादुर शाही र बन्टी गिरीसमेतको सल्लाहअनुसार १५ डिसेम्बर १९९९ मा ३ लाखको चेक काटी मधुसुदनले बन्टी गिरीलाई साट्न दिएपछि निजले चेक साटी ल्याए । सोही दिन १३ लाख १५ हजारको चेक साट्न दिएपछि बन्टीलाई लिई गै चेक साटी मधुलाई दिएको हुँ । खिलबहादुर शाहीको नाम ढाँटी प्रेमबहादुर शाहीको नेपाल ग्रीनलेज बैँकमा खाता खोली ९६ लाख रकमसमेत ट्रान्सफर गरी ३ दिनपछि झिकी यो यसरी इण्डोस्वेज बैँकबाट पटक–पटक गरी ठगी गरेको निकालेको रकमबाट मधुसुदन पुरीले मलाई १२ लाख ६० हजार नगद र २ लाख ८५ हजारको सुजुकी मोटरसाइकल दिएको हो । ठगी कार्यमा धु्रव पराजुली, बद्री विडारी, वन्टी गिरी, खिलबहादुर शाही मधुसुदन पुरी र मेरो प्रमुख हात छ । बैँकमा म नगएकोले बैँकका कर्मचारीको मिलेमतो छ छैन मलाई थाहा छैन भन्ने व्यहोराको महेश भण्डारीको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मैले बैँक ठगी गरी रूपैयाँ निकाल्न पटक–पटक महेश भण्डारीसँग छलफल गर्दा बैँकको फोटोकपी ल्याउने र बैँक ठगी गर्ने सल्लाह गरेपछि महेश भण्डारीले रा.बा.बैँक टंगाल शाखाको रामेश्वरप्रसाद अर्यालको खाता नं. र सहिछाप भएको चेकको फोटोकपी ल्याई मलाई दिएपछि सो चेकको दस्तखत हेरी नमूना दस्तखत गरी चेकबुक हराएकोले नयाँ उपलब्ध गराई पाऊँ भनी निवेदन लेखी गई महेश भण्डारीलाई पठाई चेकबुक लिई खातामा भएको रकमको स्टेटमेण्ट माग गरी ल्याई नयाँ चेकबुकबाट २ लाखको चेक काटी महेश भण्डारीको फर्ममा काम गर्ने बद्री विडारीलाई चेक साट्न लगाई पुनः २ लाख ५० हजारको चेक काटी ल्याएपछि मैले २ लाख २५ हजार, महेश भण्डारीले २५००० र २ लाख बद्री विडारीलाई दिएको हो । त्यसपछि हिमालयन बैँकका एपोलो मेनपावरको चेकको फोटोकपी अर्का वकील धु्रबप्रसाद पराजुलीले ल्याई दिएपछि ठगी गर्न सफल भएमा आएको रकम बाँडी खाउँला भनी मैले नक्कली सही गरी नयाँ चेकबुक स्टेटमेण्टसमेत लिई विभिन्न पटक चेक साट्न बद्री विडारीलाई पठाई ७१ लाख ६७ हजार स्रूपैया ल्याई मलाई दिएपछि धु्रव पराजुलीलाई १ लाख, महेश भण्डारीलाई १ लाख, खिलबहादुरलाई ३० हजार, बद्री विडारीलाई ३५ लाख दिएको र बाँकी आफूले लिएको हुँ । त्यस्तै बंगलादेश बैँकबाट पनि आफ्नो चेकबुक हरायो भनी निवेदन गरी नक्कली जस्तो सहिछाप गरी १८ लाख ७५ हजार निकाली आफैँले लिएको हुँ । त्यस्तै कृषि विकास बैँक चावहिलबाट जीवनकुमार श्रेष्ठको चेकको फोटोकपी लिई चेक लिई २ लाख झिकेको र खिलबहादुरलाई रु.१५,०००।– बन्टी गिरीलाई रु.१५,०००।– दिएँ । त्यसपछि याक कार्पेटको नामको चेक महेश भण्डारीको घरधनी जीवनकुमार श्रेष्ठकोमा आएकोमा सोको फोटोकपी लिई प्याडसमेत चेकबुक लिएर नोर्वु छिरिङको नक्कली हस्ताक्षर गरी चेकबुक लिई विभिन्न मितिमा रकम निकाली खिलबहादुर शाहीको नाम ढाँटी प्रेमबहादुर शाहीको नामबाट नेपाल ग्रीनलेज बैँक वानेश्वरमा खाता खोली इण्डोस्वेज बैँकबाट याक कार्पेटको खाताको रकम ट्रान्सफर गरी झिकेको हो । त्यस्तै खिलबहादुर शाहीले गोपालबहादुर गुरुङ्ग बनी नेपाल इण्डोस्वेज बैँकमा खाता खोली विभिन्न मितिमा रकम ट्रान्सफर गर्दै झिक्ने कार्य गरेको हो । नेपाल इण्डोस्वेज बैँक दरबारमार्गबाट पटक–पटक गरी याक कार्पेटको खाताबाट कीर्ते दस्तखत गरी निकालेको रकममध्ये प्रतिवादी महेश भण्डारीलाई नगद रु.१२ लाख ६० हजार र २ लाख ८५ हजारको मोटरसाइकल, खिलबहादुर शाहीलाई नगद १ लाख ५० हजार र सुन गहना २ लाख ५८ हजारको खरीद गरी दिएको हुँ । बन्टी गिरीलाई पटक–पटक गरी १ लाख ५० हजार नगद दिएको, धु्रव पराजुलीलाई ८५ हजार, बद्री विडारीलाई १४ लाख दिएको हुँ । म बैँकमा भजाउन लिन नगएकोले बैँक कर्मचारीको मिलमतो थियो थिएन थाहा छैन । अरु बैँक ठगीको रूपैयाँ खाई मासी सकियो र इण्डोस्वेज बैँक ठगी गर्दाको मेरो भागमा परेको रु.६९,१२,०००।– रकम मेरो श्रीमती विमला रूपाखेतीको नाममा खरीद गरेको ७७ लाखको घरजग्गा, बरामद भएको गाडी रु.२८ लाख २० हजारको गाडी र बरामद भै आएको ४२ लाख २९ हजारसमेत सोही ठगी गरी घरमै राखेको मध्येको हो । मैले चेक टिस्यु पेपरको सहायताले सहिछाप गरेको हो । गोपालबहादुर गुरुङ्गको नामको नेपाल इण्डोस्वेज बैँकमा खाता खोली नोर्वु छिरिङको दस्तखत मैले गरेको हो । चेकबुक लिने राजेश कार्कीको दस्तखत महेश भण्डारीले गरेको हो । प्रेमबहादुर शाहीको नामबाट खिलबहादुर शाहीले नेपाल इण्डोस्वेज बैँकमा खाता खोल्दा परिचय गराउने कृष्ण राईको दस्तखत मैले गरेको हुँ । नेपाल बंगलादेश बैँकबाट निकालेको रूपैयाँ आफैले सही विगारी निकाली बैँकमाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा दिएको हुँ भन्ने समेत व्यहोराको मधुसुदन पुरीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मैले तलका स्टाफले गरेर ल्याएको कागजात ठीक छ छैन हेरी ओ.के.गरी सिनियर अफिसर राजेन्द्रलाल बज्राचार्यकोमा पेश गर्ने गर्दछु । त्यहाँ ओ.के.भएपछि चेक भुक्तानी हुन्छ । नोर्वु छिरिङको दस्तखत गरी दिएको निवेदनमा भएको हस्ताक्षर र बैँकमा रहेको स्पेसीमेन कार्डको दस्तखत नाङ्गो आँखाले हेर्दा उस्तै मानेर ओ.के.गरेको हुँ । ट्रेस गरेको थाहा भएन । अन्य भुक्तानी भएको चेकको दस्तखत राजेन्द्रलाल बज्राचार्यले भेरीफाई गरी ओ.के.गर्नु भएको हो बैँक ठगी हुने कार्य मैले गरेको छैन भन्ने व्यहोराको शुभरत्न शाक्यले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान ।
नोर्वु छिरिङको नामबाट हस्ताक्षर गरी रकम निकालेको चेकहरूमध्ये शुभरत्न शाक्यले ओ.के.गरेको हो । आन्तरिक स्थानान्तरणमा भएको हस्ताक्षर हेरी मैले मात्र पास गरी दिएको हुँ । नाङ्गो आँखाले हेर्दा हस्ताक्षर मिलेकोले र ट्रेस गरेकोले सहिछाप उस्तै लागेकोले ओ.के. गरेको हो भन्ने व्यहोराको अनुसन्धान अधिकारीसमक्ष राजेन्द्रलाल बज्राचार्यले गरेको कागज ।
मेरो याक कार्पेटको इण्डोस्वेज बैँकमा रहेको खाताबाट २ करोड ५ लाख ५० हजार ठगी निकालेको बैँकमा भएको दस्तखत मेरो होइन । मेरो दस्तखत कीर्ते गरी ठगी गर्ने मधुसुदन पुरी, महेश भण्डारी, बन्टी गिरी, खिलबहादुर शाही, धु्रव पराजुली, बद्री विडारीसमेतलाई कडा कारवाही होस् भन्ने समेत व्यहोराको नोर्वु छिरिङको कागज ।
प्रतिवादीहरूबाट बरामद भएका वस्तुहरूमध्येका सामानहरूको मूल्याङ्कन भै मुचुल्कासमेत मिसिल सामेल रहेको ।
रकम स्थानान्तरण गर्ने र सहिछाप भिडाउने कार्य मैले नगर्ने हुँदा बैँक ठगी गर्ने प्रतिवादीहरूलाई कडा कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको विजयबहादुर श्रेष्ठले गरेको कागज ।
नेपाल इण्डोस्वेज बैँक लि.मा रहेको याक कार्पेटका नोर्वु छिरिङ लामाको करेण्ट खाता नं. ००११२०६०१० को बैँक खातामा याक कार्पेट इण्डष्ट्रिजको उत्पादनबाट अग्रीम भुक्तानी भै जम्मा हुन गएको रकममध्ये रु.२,०५,५०,०००।– (दुईकरोड पाँचलाख पचास हजार) रूपैयाँ प्रतिवादीहरूले नयाँ चेक प्राप्त गरी नोर्वु छिरिङको कीर्ते हस्ताक्षर ट्रेस गरी प्राप्त गरी विभिन्न झूठ्ठा कागजातहरू तयार गरी खाता खोली आ–आफ्ना नाममा चेक साटी रूपैयाँ झिकी बैँक ठगी गरेको हुँदा प्रतिवादीहरू मधुसुदन पुरी, महेश भण्डारी, वन्टी गिरी खिलबहादुर शाही, धु्रव पराजुली, बद्रीप्रसाद विडारीसमेत उपर मुलुकी ऐन ठगीको महलको १ नं.को कसूर अपराधमा सोही महलको ४ नं.अनुसार हदैसम्म सजायको मागदावी र नोर्वु छिरिङको दस्तखत चेक राजु खनालले दिएको भनी जीवन श्रेष्ठले गरेको कागजबाट देखिँदा तथा प्रतिवादी मधुसुदन पुरीको श्रीमती विमला रूपाखेती (पुरी) को नाममा ठगी गरी ल्याएको नगदबाट घरजग्गा र जीप खरीद गरेको देखिँदा ठगी गर्नेलाई मद्दत दिने राजु खनाल र विमला पुरीउपर ठगीको महलको १ नं. र ५ नं. को कसूरमा ५ नं. अनुसार ठगी गर्नेलाई हुने सरह ४ नं. अनुसार सजायको मागदावी गरिएको छ । निजहरूबाट बरामद हुन आएका नगद, जिन्सी, प्राडो जीप, रूपैया तथा ठगी गरी खरीद गरेको घरजग्गाको मूल्य रु.१,७३,०४,७००।– नगद बराबरको जिन्सी सामानहरू नेपाल इण्डोस्वेज बैँक लि.लाई सोही महलको ४ नं. अनुसार दिलाई भराई ठगी गर्ने प्रतिवादीहरूबाट बरामद हुन नआएको नपुग विगो रु.३२,३५,३००।– प्रतिवादीहरूबाट बैँकलाई दिलाई भराई पाऊँ । बैँक ठगिएको र सुरक्षाको दृष्टिकोणसमेतलाई ध्यानमा राख्दा प्राडो जीप, मोटरसाइकलसमेतको बैँक ठगी गरी प्रतिवादीले आर्जन गरेको घरमा तत्काल इण्डोस्वेज बैँकको निवेदन परेमा कानूनबमोजिम दिलाई भराई पाऊँ फरार रहेका प्रतिवादीहरू धु्रव पराजुली, बद्रीप्रसाद विडारी, राजु खनाल, विमला पुरीको नाउँमा कानूनबमोजिम म्याद जारी गरी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
बरामद भएको दुवै नागरिकतामा भएको फोटो मेरो हो र प्रहरीले मबाट बरामद गरेको हो । मैले बद्री विडारीलाई लाइसेन्स बनाउन भनी रु.५,०००।– समेत दिएको थिएँ । मेरो फोटो टाँसी अर्काको नागरिकता कसले बनाए थाहा छैन मैले बनाएको होइन र नागरिकतामा भएको सही मेरो होइन । इण्डोस्वेज बैँकमा र ग्रीनलेज बैँकमा खाता खोल्दा गोपालबहादुर गुरुङ्ग र प्रेमबहादुर शाहीको फाराम र त्यसमा भएको फोटो देखेँ सो फोटो मैले बद्री विडारीलाई मोटरसाइकलको लाइसेन्स बनाउन दिएको फोटो हो । फाराममा भएको सहिछाप मेरो होइन । मैले खाता खोलेको छैन । मेरो फोटो टाँसी अर्काको नामबाट खाता खोलेका रहेछन् । मलाई थाहा छैन । मैले बैँकको रकम ठगी गरी झिकी आएको छैन भन्ने खिलबहादुर शाहीले अदालतमा आई गरेको बयान ।
मैले बैँक ठगी गरेको छैन । बरामद भएको सुन मेरो श्रीमतीको पेवाबाट खरीद गरी राखेको हो । बरामद भएको रकम र प्राडो पैतृक सम्पत्ति बेचेर आएको रकम र त्यसबाट खरीद गरेको हो । घर श्रीमतीको आमाको पैतृक सम्पत्तिबाट प्राप्त पैसासमेतबाट नन्दबहादुर पाण्डेबाट आर्थिक कारोबार मिलाउन खरीद गरेको भन्ने सुनेको हो । बरामद भएको विभिन्न अफिसको प्याड मेरो साथबाट बरामद भएको होइन । मैले बैँक ठगी गरेको छैन भनी मधुसुदन पुरीले अदालतमा आई गरेको बयान ।
बरामदको रु.१०,००,०००।– रूपैयाँ मेरो हेटौडाको घर बिक्री गर्ने विष्णुप्रसाद नेपालसँग बैना गरी लिएको रकम हो । मोटरसाइकल पनि सोही रकमबाट किनेको हो । मैले बैँक ठगी गरेको र रूपैयाँ लिएको छैन भन्ने प्र.महेश भण्डारीले अदालतमा गरेको बयान ।
बरामदको रु.१,००,०००।– मेरो रकम हो । आमाले मलाई मोटरसाइकल किन्न दिएको हो । रकम रु.१,५०,०००।– प्रहरीले बरामद गरेकोमा रु.१,१०,०००।– मात्र देखाएको छ । आमाले मलाई रु.२,००,०००।– दिनु भएको थियो । रु.५०,०००।– मोटरसाइकल बुकिङ्ग गर्न दिएको हुँ । मैले कुनै बैँकमा खाता खोलेको छैन र बैँक ठगी गरेको र ठगीको रूपैया खाएको पनि छैन भन्ने समेत व्यहोराको बन्टी गिरीको अदालतमा भएको बयान ।
म ब्राइटर केमिकल्समा काम गर्थेँ । याक कार्पेटलाईसमेत कार्पेट धुलाईका लागि केमिकल्स आपूर्ति गर्ने सिलसिलामा म त्यहाँ सामान आपूर्ति गर्ने हुँदा सामान आपूर्ति गर्नका लागि अर्डर लिन जान्थेँ । प्रतिवादी महेश भण्डारी ब्राइटर केमिकल्स रहेकै भवनमा डेरा गरी बस्ने हुँदा निजसँग सामान्य चिनजान थियो । उनीहरूले इण्डोस्वेज बैँक ठगी गरेको कुरा पत्रपत्रिकाबाट सुनेको हुँ । म ब्राइटरका जीवन श्रेष्ठले लाए अराएको काम गर्थेँ । याक कार्पेटलाई सप्लाई गरेको केमिकल्सको भुक्तानी एक डेढ महिनामा हुने गर्दथ्यो । भुक्तानीको रकम उठाउन जाने गर्थेँ । मिति २०५६।८।१७ गतेका दिन रु.११,३२५।– को चेक लिन भैँसेपाटी स्थित कार्यालयमा गएको थिएँ । त्यो चेक लिएर जीवन श्रेष्ठको घरमा आएँ । त्यो घरमा २।३ जना नचिनेका मानिसहरू थिए । त्यसपछि चेक त्यहीँ छोडी म गोदाममा काम गर्न गएँ । काम सकेर आएपछि दरवार मार्ग गएर चेक साटेर ल्याएँ । महेश भण्डारीलाई चेकको फोटोकपी गरेर मैले दिएको होइन । मैले त्यो केमिकल्समा काम छाडेँ भन्ने समेत व्यहोराको अदालतबाट जारी भएको म्यादमा हाजीर भएका प्रतिवादी राजु खनालले गरेको बयान ।
प्रतिवादी राजु खनाललाई रु.१०,००,०००।– नगद धरौटी जमानी दिए तारिखमा राख्नु र दिन नसके थुनामा पठाई दिनू भन्ने मिति २०५७।४।१० गतेको शुरु अदालतको आदेश ।
जाहेरवाला, प्रहरीमा कागज गर्ने व्यक्ति, बरामदी मुचुल्काका व्यक्तिहरूलाई दिन किटान गरी जिल्ला सरकारी वकील कार्यालयमार्फत् उपस्थित गराउनु भनी जिल्ला प्रहरी कार्यालयमा लेखी पठाई सोही दिन प्रतिवादीहरूका साक्षी बुझी पेश गर्नु भन्ने मिति २०५८।६।२५ मा आदेश भै आदेशअनुसारको कार्य सम्पन्न भै वकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादीमध्येका वद्री विडारीको नाउँमा शुरु अदालतबाट जारी भएको समाह्वान म्याद मिति २०५६।१२।२६ मा निजको घर दैलामा टाँस भै निजले सो म्यादमा हाजीर नभै म्याद गुजारी बसेको । त्यस्तै अर्का प्रतिवादी विमला रूपाखेती पुरीका नाउँमा जारी भएको २०५७।५।७ गतेको तामेली म्याद हातैमा बुझी म्यादभित्र हाजीर नभै बसेको र प्र. धु्रव पराजुलीका नाउँमा जारी भै तामेल भएको शुरु म्याद घरदैलामा टाँस भएकोमा हाजीर नभै म्याद गुजारी बसेको ।
ठगी गरी ल्याएको रकम बाँडी खाएको कार्यमा निजको सँलग्नता रहेको भन्ने कुरा पुष्टि हुन नआएकोले सबूदको अभावमा आरोपित कसूरबाट प्रतिवादी राजु खनालले सफाई पाउने ठहर्छ । प्रतिवादी विमला रूपाखेती पुरीको हकमा विचार गर्दा निजले शुरु म्यादै गुजारी बसेको देखिँदा अभियोग दावीलाई स्वीकार गरेको मान्नुपर्ने र निजको ठगी कार्यमा प्रत्यक्ष सरोकार नभए पनि ठगी गरेको रकमबाट निजले सुनका गरगहना र जग्गाहरू खरीद गरेको देखिँदा ठगीको ५ नं. बमोजिम मतियार देखिएको हुँदा कसूरको प्रकृतिअनुसार निजलाई ठगीको ५ र ४ नं.बमोजिम तजवीजी कैद १ वर्ष र रु.५,०००।– जरीवाना हुने ठहर्छ ।
माथि विवेचित प्रमाणबाट प्रतिवादीहरू मधुसुदन पुरी, महेश भण्डारी, गोपालबहादुर गुरुङ्ग–प्रेमबहादुर शाही भन्ने खिलबहादुर शाही, बन्टी गिरी, धु्रव पराजुली, बद्री विडारीले इण्डोस्वेज बैँकका सेवाग्राही याक कार्पेटको खातामा रहेको रु.२ करोड ५ लाख ५० हजार र खातावालाको कीर्ते दस्तखत गरी नयाँ चेकबुक लिई सो चेकमा कीर्ते सहिछाप दस्तखत गरी ठगी गरेको हुँदा प्रतिवादीहरूलाई ठगीको ५ नं. ले कसूरको मात्राअनुसार जनही कैद ४ वर्ष ६ महिना हुन्छ । जरीवानाको हकमा प्रतिवादीहरूले ठगी गरेको विगो दामासाहीका दरले खाएको मान्नुपर्ने हुँदा विगो रु.२,०५,५०,०००।– को दामासाहीले हुन आउने रु.३४,२५,०००।– जनही प्रतिवादीहरूलाई जरीवाना हुने ठहर्छ । प्रतिवादीहरूबाट बरामद हुन आएको जिन्सी, प्राडो जीप, ठगीको रूपैयाँबाट खरीद गरेको घरजग्गा नेपाल इण्डोस्वेज बैँकलाई दिलाई नपुग हुन आउने विगो रु.३२,३५,३००।– प्रतिवादीबाट बैँकलाई दिलाई भराई पाउने ठहर्छ भन्ने शुरु काठमाडौं जिल्ला अदालतबाट मिति २०६१।२।७ मा भएको फैसला ।
प्रतिवादीहरूले अदालतमा आई बयान गर्दा कसूरमा इन्कार रही बयान गरे तापनि अनुसन्धानकर्तासमक्ष कसूरमा साविती भै बयान गरेका छन् । प्रतिवादीहरूको सो साविती बयान चेक गरिपाऊँ भनी दिइएको निवेदनमा उल्लिखित स्ट्याम्प प्याड र खातावालाको नक्कली सहीसँग नभिड्ने भन्ने केन्द्रीय प्रहरी बैज्ञानिक प्रयोगशालाको राय र प्रेमबहादुर शाही भन्ने व्यक्तिको नाममा खोलिएको खातासमेतबाट पुष्टि भैरहेको पाइन्छ । यस्तो हुँदाहुँदै पनि अनुसन्धानकर्तासमक्ष केवल अभियुक्तहरूलाई जवर्जस्ती मुखसाविती गराएकोमात्र आधारमा मसमेतलाई शुरु अदालतबाट प्रस्तुत मुद्दामा अत्यन्त हचुवापूर्ण ढंगले कसूरदार ठहर गरिएको शुरु अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरी अभियोग मागदावीबाट सफाई दिने गरी इन्साफ पाऊँ भन्ने व्यहोराको प्रतिवादी बन्टी गिरीको पुनरावेदन पत्र ।
मलाई प्रमाणगत आधारमा कसूरदार ठहर गर्न मिल्ने होइन । कानूनी, सैद्धान्तिक एवं प्रामाणिक विश्लेषणका आधारमा समग्र मुद्दा नै खारेज भई मैले सफाई पाउनु पर्छ । मिसिल सँलग्न कागजातहरूको न्यायिक मूल्याङ्कन नै नगरी भएको शुरु फैसला त्रुटिपूर्ण हुँदा उक्त शुरु फैसला बदर गरीपाऊँ भन्ने व्यहोराको प्रतिवादी मधुसुदन पुरीको पुनरावेदन पत्र ।
शुरु अदालतको मप्रति पूर्वाग्रही भई गरेको शुरु फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी मेरो पुनरावेदन जिकीरअनुसार इन्साफ पाऊँ भन्ने व्यहोराको प्रतिवादी खिलबहादुर शाहीको पुनरावेदन पत्र ।
शुरु अदालतले प्रतिवादीहरूलाई विगोबमोजिम जरीवाना गर्दा दामासाहीले नगरी जनही विगो बराबरको अलग–अलग जरीवाना गर्नुपर्नेमा सो नगरी दामासाहीले हुनआउने जरीवाना रकमसमेत किटान गरी भएको उक्त ठहर मुलुकी ऐन ठगीको महलको ४ नं. को व्यवस्थाको आशयप्रतिकूल भै प्रत्यक्ष त्रुटिपूर्ण छ । अतः विगो खुली आएको र कसूर ठहरेका प्रतिवादीलाई जरीवाना पनि दामासाहीले हुने ठहरेको हदसम्मको फैसला बदर गरी सबै प्रतिवादीहरूलाई बिगोबमोजिम अलग–अलग जरीवाना गरिपाऊँ । उक्तअनुसार जानी–जानी आफ्ना श्रीमान्ले ठगी गरी ल्याएको विगो रु.१ करोड ५ लाख २० हजार बराबरको अचल सम्पत्ति आफ्ना नाममा धारण गरी बसेको देखिएकी प्रतिवादी विमला रूपाखेती पुरीलाई समेत सो बिगोबमोजिम जरीवाना ठहर गरी यी प्रतिवादीहरूको हकमा समेत अभियोग माग दावीबमोजिम ठहर गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
यसमा विगोबमोजिम जरीवाना नगरी भएको शुरुको फैसला मुलुकी ऐन ठगीको ४ नं. को कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त पुनरावेदन नगर्ने प्रतिवादीहरूलाई झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको २०६२।१।३० को आदेश ।
पुनरावेदक प्रतिवादीहरूले अदालतमा बयान गर्दा अभियोग दावीअनुसारको कसूर गरेको होइन भनी बयान गरे तापनि अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा बैँकको चेकबुक पाऊँ भनी कीर्ते निवेदन दिई चेकबुक प्राप्त गरी खातावालाको कीर्ते सहिछाप चेकमा गरी बैँकबाट रकम निकालेको हो भन्नेसमेतको बयान गरी कसूर गरेमा सावित भएको पाइन्छ । उक्त चेकबुक पाऊँ भन्ने निवेदन र चेकमा भएको सहीसमेतका कागजातहरू खातावालाको सहिछापसँग नभिडने नमिल्ने भनी केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको जाँच प्रतिवेदनबाट स्पष्ट हुन आएको देखिँदा चेकबुक पाऊँ भनी दिएको निवेदनमा र रकम झिकेको चेकमा खातावालाको कीर्ते सहिछाप गरी रकम लिएको तथ्यमा विवाद देखिएन । प्रतिवादीहरूबाट बरामद भएका घरजग्गाको लिखत, मोटरसाइकल, प्राडो गाडी र नगद रूपैयाँसमेतका सामग्रीहरूबाट पनि बैँक ठगी गरेको तथ्य निर्विवाद रूपमा पुष्टि हुन आएको पाइयो । यसरी मिसिल सँलग्न सबूद प्रमाणहरूबाट पुनरावेदक प्रतिवादीहरूले अभियोग दावीबाट सफाई पाउनु पर्छ भन्ने पुनरावेदन जिकीर र वादी नेपाल सरकारले पुनरावेदन गर्दा लिएका जिकीरहरूतर्फ विचार गर्दा सो जिकीरलाई पुष्टि गर्ने खालको कुनै ठोस सबूद प्रमाण पेश हुन नसकेको र दावी प्रमाणित गर्ने मुख्य दायित्व वादीमा नै निहीत रहेको हुँदा वादी प्रतिवादी दुबैको पुनरावेदन जिकीरसँग सहमत हुन सकिएन । शुरु काठमाडौं जिल्ला अदालतबाट मिति २०६१।२।७ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६३।५।१ को फैसला ।
कुल विगो खुलिआएको र कसूर ठहरेका प्रतिवादीहरुलाई विगो बराबरको अलग, अलग जरीवना गर्नु पर्नेमा दामाशाहीले जरीवाना हुने ठहराएको हदसम्म प्रस्तुत फैसला मिलेको छैन । प्रतिवादी राजु खनालको पेटमा ठगीको विगो नपरेको भए तापनि महेश भण्डारीलाई चेकको फोटोकपी गर्न नदिएको भए प्रस्तुत ठगी कार्य सम्पन्न हुन सक्ने थिएन । ठगी गर्नेलाई मद्दत दिने कार्य प्रतिवादी राजु खनालबाट भएको छ । तथ्यगत प्रमाण, निजको तथा अन्य कसूरदार मधुसुदनसमेतको स्वीकारोक्तिको आधारमा निजलाई सजायको मागदावी लिइएको छ । महेश भण्डारीले उक्त चेकको फोटोकपी गरी मधुसुदन पुरीलाई दिएको भनी स्वीकार गरेका छन् । त्यस्तै ब्राइटर केमिकल्सका मालिक प्रतिवादी महेश भण्डारीकै घरधनी जीवन श्रेष्ठ भएकोले निजको खाताबाटसमेत निकालिएको २ लाख भने आफ्नै घरबेटी भएकोले फिर्ता जम्मा गरिदिएँ भन्ने मौकाको बयानलाई आधार लिई प्रतिवादी मधुसुदन पुरी र महेश भण्डारीउपर सजाय ठहर भैरहेको अवस्थामा प्रतिवादी राजु खनाललाई केवल अदालतको इन्कारी बयानका आधारमा मात्र सफाई दिएको प्रस्तुत फैसलामा गम्भीर त्रुटि हुन पुगेको छ । प्रतिवादी विमला पुरीको हकमा पनि जानी–जानी आफ्ना श्रीमानले ठगी गरी ल्याएको विगो रु.१ करोड ५ लाख २० हजार बराबरको अचल सम्पत्ति आफ्ना नाममा धारण गरी बसेको देखिएको अवस्थामा सो विगोबमोजिम जरीवाना ठहर हुनुपर्नेमा विगो नखुलेको भनी घटी जरीवाना गरेको हदसम्म उक्त फैसला मिलेको छैन । प्रस्तुत मुद्दामा दोहोर्याउने निस्सा पाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको निवेदन पत्र ।
खातावालाको सहिछाप म निवेदकले नै कीर्ते गरेको भनी निश्चित गरिएको छैन । मसँग लिइएका विवादित चेकसमेतमा भएका दस्तखत र हस्तलिपिबमोजिमका नमूना र विवादित दस्तखत हस्तलिपि एकआपसमा मेल खाएको छैन । निर्विवाद दसी कोही कसैबाट बरामद भएको अवस्था छैन । नयाँ चेकबुक माग गरिएको विवादित निवेदन तथा चेकहरूसमेतमा प्रयोग गरिएको याक कार्पेट इण्डष्ट्रिजको छाप, लेटरप्याड, रकम झिक्न प्रयोग भई बाँकी रहेका चेकहरू (चेकबुक), खातावालाको दस्तखत उतारेको भनिएको ट्रेस पेपर, नेपाल इण्डोस्वेज बैँकका अर्का खातावाला गोपालबहादुर गुरुङ र नेपाल ग्रीण्डलेज बैँकका खातावाला प्रेमबहादुर शाहीका विवादित खाता कारोबारसम्बन्धी चेकबुक, भौचरसमेतका कागजात कुनै पनि मालवस्तु दसीको रूपमा बरामद भै पेश भएका छैनन् । बैँकबाट लगेको भनिएको नगद रकम नै रीतपूर्वक दसीको रूपमा पुष्टि हुन सकेको छैन भने दसीको रूपमा दावी नै नपरेको गाडी, घरजग्गा, सुनसमेत धनमाल कथित वारदातकै रकमबाट खरीद गरिएका हुन् भनी निश्चित् रूपमा ठहर गर्ने अवस्था हुँदैन । तसर्थ, मुद्दा दोहोर्याई हेरी न्याय इन्साफ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीमध्येका मधुसुदन पुरीको तर्फबाट यस अदालतमा परेको निवेदन पत्र ।
यसमा प्रतिवादीहरूमध्ये राजु खनाललाई सफाई, विमला रूपाखेतीलाई ठगीको ५ नं.बमोजिम मतियार कायम गरी १ वर्ष कैद र रु.५,०००।– जरीवाना र अन्य प्रतिवादीहरूलाई ठगीको ४ नं.बमोजिम जनही ४ वर्ष ६ महिना कैद र रु.३४,२५,०००।– जरीवाना हुने गरी फैसला भएको देखिन्छ । प्रतिवादी राजु खनालले अदालतमा बयान गर्दा चेक आफ्नो साथमा लगी जीवन श्रेष्ठको घरमा छोडेको थिएँ भनी उल्लेख गरेको स्थितिमा निजलाई सफाई दिइएको र ठगीको ५ नं. ले मतियारलाई पनि ठगी गर्नेलाई सरह सजाय हुने कानूनी व्यवस्था भएको अवस्थामा विमला रूपाखेतीलाई कम सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा ठगीको ४ नं. र ५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने वादी नेपाल सरकारका तर्फबाट यस अदालतमा परेको निवेदनमा भएको मिति २०६६।१२।१३ को आदेश ।
यसमा केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालाको मिति २०५६।१०।५ को परीक्षण प्रतिवेदन पेश गर्ने विशेषज्ञलाई अदालतसमक्ष झिकाई बकपत्र गराएको अवस्था नदेखिएकोले पुनरावेदन अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा २३(७) समेतको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । आदेशको जानकारी सम्वन्धित बैँकलाई दिई नियमानुसार पेश गर्नु भन्ने प्रतिवादीमध्येका मधुसुदन पुरीका तर्फबाट यस अदालतमा परेको निवेदनमा भएको मिति २०६६।१२।१३ को आदेश ।
आदेशानुसार विशेषज्ञको बकपत्र भएको ।
नियमबमोजिम दैनिक पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको शुरु र पुनरावेदन मिसिलसमेत अध्ययन गरी पुनरावेदक प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान बरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, विद्वान अधिवक्ताहरू बच्चु सिँह खड्का, तुल्सी सिंखडा, सोमकान्त मैनाली तथा विद्वान वैतनिक अधिवक्ता रामहरि शर्माले आ–आफ्ना पक्षहरूलाई सफाई हुनुपर्दछ भन्ने र त्यस्तै बैँकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता दीपक श्रेष्ठ र सुधीरमान श्रेष्ठ तथा नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता सरोज गौतमले अभियोग माग दावीबमोजिम सजाय हुनुपर्दछ भनी गर्नुभएको बहस जिकीरसमेत सुनियो ।
विद्वान कानून व्यवसायीहरूको बहस जिकीरसमेत सुनी हेर्दा पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिले नमिलेको के रहेछ सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
मिसिल अध्ययन गरी हेर्दा प्रतिवादीहरूले नेपाल इण्डोस्वेज बैँक लि.मा रहेको याक कार्पेटका नोर्बु छिरिङ लामाका नामको खाताको कीर्ते हस्ताक्षर गरी नयाँ चेक प्राप्त गरी विभिन्न झूठ्ठा कागजातहरू तयार गरी नयाँ खाता खोली बैँकमा रहेको अरुको खाताबाट कीर्ते हस्ताक्षर गरी नगद रकम झिकी बैँक ठगी गरेकाले प्रतिवादीहरू मधुसुदन पुरी, महेश भण्डारी, वन्टी गिरी, खिलबहादुर शाही, धु्रव पराजुली, बद्रीप्रसाद बिडारीसमेतउपर मुलुकी ऐन ठगीको १ नं.बमोजिमको कसूरमा ऐ.४ नं.बमोजिम हदैसम्मको सजाय हुन अभियोग रहेकोमा प्रतिवादीहरू मधुसुदन पुरी, महेश भण्डारी, गोपालबहादुर गुरुङ–प्रेमबहादुर शाही भन्ने खिलबहादुर शाही, वन्टी गिरी, ध्रुव पराजुली, बद्री बिडारीले बैँक ठगी गरेको ठहर भई जनही ४ वर्ष ६ महिना कैद हुने र विगोको हकमा जनही दामासाहीले जरीवाना हुने र ठगी गरेको रकमबाट खरीद भएको घरजग्गा, गाडी, सुन र ठगी गरेको नगद रकम बैँकलाई दिलाई नपुग विगो प्रतिवादीहरूबाट बैँकलाई दिलाई भराई पाउने र प्रतिवादीमध्येका राजु खनालले सफाई पाउने र प्रतिवादी बिमला रूपाखेती (पुरी) मतियार देखिएकोले ठगीको ५ र ४ नं.बमोजिम १ वर्ष कैद र रु.५०००।– जरीवाना हुने ठहराएको शुरुको फैसलाउपर वादी प्रतिवादी दुवैको पुनरावेदन परेकोमा शुरु सदर हुने ठहराएको पुनरावेदन अदालत पाटनको फैसलाउपर वादी प्रतिवादी दुवैकोतर्फबाट मुद्दा दोहोर्याई हेरिपाऊँ भन्ने निवेदन परी निस्सा प्रदान भै निर्णयार्थ पेश भएको रहेछ ।
२. निर्णयतर्फ विचार गर्दा सक्कली चेकको फोटोकपी गर्ने, चेकबुक हराएको निवेदन गरी नयाँ चेक बुक लिने, रकम झिक्ने, नक्कली नागरिकताको प्रमाणपत्र तयार गर्ने, अरूको नागरिकतामा आफ्नो फोटो टाँसी दुरुस्त पारी नक्कली नागरिकता बनाई सोको आधारमा नयाँ खाता खोली सोही खातामा रकम ट्रान्सफर गर्ने, ट्रान्सफर गरेको रकम खाताबाट झिक्ने, लेटरप्याडहरू समेत दुरुस्त किसिमको नक्कली तयार गरी बैँकलाई झुक्यानमा पारी सम्पूर्ण कुराहरू नक्कली रूपमा तयार गर्नेजस्ता कार्यहरु बैँक ठगी गर्ने उद्देश्यबाट भएको र सोअनुसार ठगी गरी रकम झिक्ने कार्य गरेको प्रतिवादीहरू विरुद्ध अभियोग छ । प्रमाणका रोहबाट यी कार्यहरूको पुष्टि हुन्छ वा हुँदैन र पुष्टि हुन्छ भने त्यो ठगी हो वा होइन र ठगी हो भने क–कसलाई के कस्तो सजाय हुनुपर्दछ भन्ने नै यस मुद्दाको निर्णायक प्रश्न रहेको छ ।
३. प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूले आफूले बैँक ठगी गर्नुपूर्व ठगी गर्ने मनसाय लिई ठगी गर्ने पूर्वयोजना बनाई गरिएका पूर्वतयारीलगायत सक्कली चेक फोटोकपी गरी लिएको, सोबाट हस्ताक्षर मिलाएको, हस्ताक्षर मिलाई नयाँ चेकबुक निकालेको र सो नयाँ चेकबुकबाट बैँकमा भएको अर्काको खाताबाट रकम झिक्न सफल भएको कुरामा अधिकारप्राप्त अधिकारी समक्ष सावित देखिन्छन् । यसका साथै सोही ठगी गर्ने पूर्वतयारी स्वरूप नक्कली नागरिकता तयार गर्ने, नक्कली लेटरप्याड तयार गर्ने, नक्कली नाममा खाता खोल्नेलगायतका कामहरू गरेकोमा समेत साबित देखिन्छन् । यसै गरी सो ठगी गरेको रकम रूपैयाँ क–कसले कति–कति बाँडी खाएको हो । सो रकमबाट क–कसले के कति सामान किनेको हो । घरजग्गा, सुन, प्राडो जीप, मोटरसाइकल, महँगो मूल्य पर्ने टी.भी., महँगो मूल्य पर्ने साउण्ड बक्स आदिजस्ता विलासी सामानहरू खरीद गरेको, कुन–कुन मितिमा कुन–कुन बैँकबाट कति–कति रकम झिकी क–कसले कति–कति रकम बाँडी खाएको हो, कसरी रकम ट्रान्सफर गरेको हो, नक्कली नामबाट खाता खोली रकम जम्मा गरेको तथा रकम ट्रान्सफर गरी सोही दिन कसरी रकम झिकेको हो आदि तथ्य समेत क्रमबद्ध रूपमा सो बैँक ठगी गर्न गरिएका पूर्व तयारीदेखि सम्पूर्ण कार्य सम्पन्न गर्दासम्मका सम्पूर्ण कुराहरूसमेत सविस्तार उल्लेख गर्दै साविती भै यी प्रतिवादीहरू मधुसुदन पुरी, महेश भण्डारी, खिलबहादुर शाही, ध्रुव पराजुली तथा बद्रीप्रसाद विडारीसमेतले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको पाइन्छ । सो कुरा जाहेरी सूचनाबाट पनि पुष्टि भैरहेको छ ।
४. एकाको खाताको रकम अर्को व्यक्तिले आपराधिक रूपमा झिकेको कुरामा द्विविधा छैन । प्रतिवादीहरूसँग बैंकबाट झिकिएको रकमबाट घर जग्गा, गाडी, सुन समेत खरीद गरेको कुरामा सादृश्यता देखिन्छ । सम्पत्ति आर्जनमा प्रश्न उठेको अवस्थामा सोको वैध स्रोत देखाउने प्रतिवादीको दायित्व हो । प्रमाण भारको यो दायित्व पूरा गर्न प्रतिवादीहरू चुकेका छन् । यसबाट समेत निजहरूको अधिकारप्राप्त अधिकारीसमक्षको सावितीको सम्पुष्टि भएको मान्नु पर्ने हुन्छ ।
५. यसका साथै हस्ताक्षर जाँच गर्न पठाइएकोमा वास्तविक खातावालाको हस्ताक्षर सहिछापसँग नमिल्ने नभिड्ने भनी बैज्ञानिक रूपमा परीक्षण भै आएको केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाको प्रतिवेदनसमेतबाट देखिन आयो । यसका साथै यसै साथ पेश भएको मुद्दा नं.०६६–CR–०६२९ को लगाउ मुद्दामा भएको मिति २०६९।१।२५ गतेको यस अदालतको आदेशानुसार लिखत परीक्षण प्रतिवेदन पेश गर्ने विशेषज्ञलाई झिकाई बकपत्र गराउँदासमेत उक्त परीक्षण प्रतिवेदनमा उल्लेख गरेको कुरालाई नै समर्थन हुने गरी वकपत्र गरिदिएको पाइन्छ । सो प्रतिवेदनलाई हेर्दा पनि चेकबुक पाऊँ भनी दिएको निवेदन र रकम झिकेको चेकमा खातावालाको सहिछाप कीर्ते गरी दुरुस्त पारी रकम लिएको तथ्यमा विवाद देखिँदैन ।
६. कानूनमा निषेध गरेको कार्य आपराधिक कार्य हो । त्यस कार्यबाट परिणाम निस्केको हुनुपर्दछ र त्यसबाट निस्कने परिणाम कानूनले निषेध गरेको हुनुपर्दछ । आपराधिक मनसाय भन्नाले कुनै पनि आपराधिक कार्य गर्दा वा सो कार्य गर्ने सम्वन्धमा कर्ताले राखेको सोच अथवा विशेष मष्तिष्कीय अवस्थालाई बुझाउँछ । यो अपराधकर्ताको दोषपूर्ण मानसिक अवस्था (Guilty state of mind) हो । ठगी जस्तो फौजदारी कसूरमा मनसाय तत्वको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कर्ताले आफूले गर्न लागेको कार्यको परिणाम के हुन्छ भन्ने कुरा पहिले नै देखेको सोचेको वा पूर्वजानकारी राखेको हुन्छ । प्रस्तुत मुद्दामा पनि यी प्रतिवादीहरूले आफूले गरेको कार्यबाट निषेधित परिणाम आउँदछ अथवा अपराध हुन्छ भन्ने कुरा जानी–जानी वा थाहा जानकारी हुँदाहुँदै अपराध घटाएको देखिन्छ । सो अपराध घटाउनको लागि पूर्वतयारी स्वरूप खातावालाको हस्ताक्षर मिलाउनको लागि हस्ताक्षर भएको चेकको फोटोकपी गरी लिने, नयाँ चेकबुक लिनको लागि हस्ताक्षर मिलाई निवेदन दिएर नयाँ चेकबुक लिने, खाता खोल्नको लागि नक्कली नागरिकता बनाउने, नक्कली लेटरप्याड तयार गर्नेलगायतका यी प्रतिवादीहरूद्वारा गरिएका कार्यहरू बैँक ठगी गर्ने मनसाय र उद्देश्य लिएर गरिएको र यसबाट निषेधित परिणाम निस्कन्छ भन्ने कुरा जानी–जानी गरेको र सो मनसाय (Mens rea) अनुरूपको कार्य (Actus reus) समेत सम्पन्न भएको देखिन्छ ।
७. यसरी हेर्दा ठगी जस्तो फौजदारी कसूरमा यी प्रतिवादीहरूले जानी–जानी सो कार्य आपराधिक कार्य हो र सोबाट निषेधित परिणाम निस्कन्छ भन्ने थाहा जानकारी हुँदाहुँदै ठगी गर्ने सोचबिचार गरी मनसायका साथै कुनैले चेकको फोटोकपी गर्ने, कुनैले हस्ताक्षर मिलाउने, कुनैले नक्कली नागरिकता बनाउने, कुनैले लेटरप्याड बनाउने, कुनैले रकम ट्रान्सफर गर्नेलगायतका कुनै न कुनैले एउटा संगठित अपराधलाई पूर्णता दिन संजालयुक्त कार्य (Networking) मा सहभागिता जनाई बैंक ठगीको अपराधमा कुनै न कुनै भूमिका निर्वाह गरेर बैँक ठगी गर्ने कार्य सम्पन्न भएको स्पष्ट रूपमा देखिन आयो ।
८. प्रतिवादीहरूबाट सोही समयमा खरीद गरेका घरजग्गाका लिखत, तथा तत्काल खरीद गरी प्रयोग प्रचलनमा भएका मोटरसाइकल, प्राडो गाडी, सुन, महँगो मूल्य पर्ने टी.भी., महँगो मूल्य पर्ने साउण्ड बक्सलगायतका अन्य उपकरणहरू पनि निजहरूबाट भएको अपराधका प्रमाण हुन् । ठगी गरिएकै रकमबाट आर्जित भनी अभियोग लागेपछि ठगी गरिएको रकम बाहेक अन्य रकमबाट ती सम्पत्ति आर्जन भएको देखाउने प्रमाण भार यस्तो जिकीर लिने प्रतिवादीमै रहने कुरा हो ।
९. यसको अलावा छाप र लेटरप्याडहरू वरामद भएको देखिनुका साथै यी प्रतिवादीहरूले रकम झिक्न प्रयोग गरेका चेकहरू मिसिल सामेल रहेका देखिन्छन् । यी दसीले पनि सो आपराधिक कार्य यी प्रतिवादीहरूबाट नै भएको रहेछ भन्ने कुराको पुष्टि हुन्छ । दसी प्रमाण अमूर्त भईकन पनि धेरै कुरा बोलिरहेका हुन्छन् । दसी सामानले अपराधलाई पुष्टि गर्ने मात्र नभई अपराधीहरूको परिचय पनि दिन्छन् । यी दसी आफूसँग रहनु पर्नाका कारण सम्बन्धित प्रतिवादीले प्रकट गर्न सकेको पाइँदैन । अपराधको प्रकृति र दसीको स्वरूपमा देखिएको सामान्जस्यताले यो अपराध ती दसी बरामद भएको व्यक्तिबाट बाहेक अरुले गरेका हुन नसक्ने सुनिश्चितता प्रस्तुत मुद्दामा प्रकट भइरहको छ । दसी प्रमाण निश्चयात्मक प्रमाण हुन सक्दछ भन्ने सिद्धान्तको उपयुक्त उदाहरण प्रस्तुत मुद्दामा देखिएको छ ।
१०. प्रतिवादी विमला रूपाखेती पुरीसमेतलाई मुख्य अभियुक्त सरह सजाय होस् भन्ने र सबै प्रतिवादीहरूलाई दामासाहीले जरीवाना नगरी सबैलाई विगोबमोजिम जरीवाना हुनुपर्दछ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीरतर्फ हेर्दा प्रतिवादी विमला पुरी दावीको अभियोगमा प्रत्यक्ष संलग्न नभै निजका पति मधुसुदन पुरीले गरेको अकार्यमा सहयोग गरेको भन्ने भनाई वादीले सप्रमाण पुर्याउन सकेको अवस्था देखिँदैन । निजले अदालतबाट जारी भएको म्यादमा अदालतमा उपस्थित भई आफ्नो भनाई राख्न नसकेको र म्यादै गुजारी बसेको देखिँदा अभियोग दावीलाई स्वीकार गरेको मान्नुपर्ने देखिन आए तापनि निजको ठगी कार्यमा प्रत्यक्ष सरोकार भएको वादीले प्रमाणबाट गुजार्न सकेको पाइँदैन । ठगी गरेको रकमबाट निजले सुनका गरगहना र जग्गाहरू खरीद गरेको देखिँदा ठगीको ५ नं. बमोजिम मतियार देखिएको हुँदा कसूरको प्रकृतिअनुसार निजलाई ठगीको ५ र ४ नं.बमोजिम तजवीजी कैद १ वर्ष र रु.५,०००।– जरीवाना हुने ठहराएको शुरुको फैसलालाई सदर हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिन आयो ।
११. साथै सबै प्रतिवादीहरूलाई विगोबमोजिम जरीवाना हुनुपर्दछ भन्ने वादीको पुनरावेदन जिकीर रहेको र ठगीको महलको ४ नं. को व्यवस्थालाई हेर्दा “ठगी गर्नेलाई ठगी गरेको विगो कायम भएमा” भन्ने वाक्यांश रहेको र प्रस्तुत वारदातमा एकजनाभन्दा बढी भै ठगी गरी लिए खाएको पुष्टि भैरहेको अवस्थामा सबै जनालाई विगोबमोजिम जरीवाना गर्नु उपयुक्त हुने देखिन आएन ।
१२. त्यस्तै प्रतिवादीमध्येका राजु खनाललाई सफाई दिएको सम्बन्धमा विचार गर्दा निजले उक्त चेकको फोटोकपी प्रतिवादी महेश भण्डारीलाई नदिएको र निजहरू बस्ने घरमा उक्त चेक राखेको झोला राखी गोदाममा काम गर्न गएको र काम सकेर आएपछि आफ्नो झोला लिएर दरवारमार्ग गएर चेक साटेको भनी अदालतबाट जारी भएको म्यादमा हाजीर भै गरेको बयानबाट देखिन्छ । यसरी एकातर्फ उक्त चेकको फोटोकपी गरी अन्य प्रतिवादीहरूलाई दिएको भन्ने देखिँदैन भने अर्कोतर्फ यी अन्य प्रतिवादीहरूले सोही चेकको फोटोकपीलाई प्रयोग गरी बैँकबाट ठूलो मात्रामा रकम निकाली लिए खाएको देखिए तापनि सो रकमबाट यी प्रतिवादी राजु खनाललाई यो यसरी यति रूपैँया दिएको भनी किटान गरी अन्य प्रतिवादीहरुले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा आई बयान गर्दासमेत पोल गरेका छैनन् । अन्य प्रतिवादीहरूले यस मुद्दामा र यसैसाथ फैसला भएका अन्य मुद्दाहरूमासमेत क–कसले कसरी चेक साटेको हो । कति रकम निकालेको हो । क–कसले कति–कति रकम बाँडी खाएको हो भन्ने कुरा स्पष्ट हुने गरी क्रमिक रूपमा एक अर्कोमा पोल गर्दै अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा समेत बयान गर्दा लेखाई दिएका छन् । यदि यी प्रतिवादी राजु खनाललाई पनि यी अन्य प्रतिवादीहरूले सो ठगीको रकमबाट केही रकम दिएको भए वा सो ठगी गर्ने कार्यमा सहभागी भएको भए अवश्य पोल गर्ने नै थिए । यसरी कुनै पनि तरहबाट हेर्दा प्रतिवादी राजु खनालले चेकको फोटोकपी महेश भण्डारीलाई दिएको नदेखिएको, ठगी गरेको रकम लिए खाएको नदेखिएको, ठगी गरेको रकम लिए खाएका छन् भनी अन्य प्रतिवादीरूले पोल पनि नगरेको र सोबाहेक सो चेकमा हस्ताक्षर गर्ने, नक्कली नागरिकताको प्रमाण पत्र बनाउने, नयाँ चेकबुक झिक्ने, नक्कली लेटरप्याड बनाउने, नक्कली छाप बनाउने लगायतका अन्य कुनै कार्यमा यी प्रतिवादी राजु खनालको संलग्नता र सहभागिता नदेखिँदा प्रतिवादीमध्येका राजु खनालले सफाई पाउने ठहराएको शुरुको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला निजका हकमा पनि मिलेकै देखिन आयो ।
१३. तसर्थ, यसै मुद्दाका साथसाथै आज यसै इजलासबाट फैसला भएका स.फौ.पु.नं. ०६६–CR–०६२२ र ०६६–CR–०६२३, ०६६–CR–०६२४ र ०६६–CR–०६२५, ०६६–CR–०६२६ र ०६६–CR–०६२७ नं. का बैँक ठगी मुद्दाहरू तथा सरकारी छाप दस्तखत कीर्ते मुद्दा नं. ०६६–CR–०६३०, कीर्ते जालसाजी मुद्दा नं. ०६६–CR–०६३१ तथा उत्प्रेषणको रिट नं. ०६३–WO-१०७९ लगायतका मुद्दाहरूमा भएका निर्णयहरूमा लिइएका आधार, प्रमाण र कारणहरूबाट समेत प्रतिवादीहरू मधुसुदन पुरी, महेश भण्डारी, गोपालबहादुर गुरुङ्ग–प्रेमबहादुर शाही भन्ने खिलबहादुर शाही, वन्टी गिरी, ध्रुव पराजुली, बद्रीप्रसाद विडारीले इण्डोस्वेज बैँकका सेवाग्राही याक कार्पेटको खातामा रहेको रु.२ करोड ५ लाख ५० हजार खातावालाको कीर्ते दस्तखत गरी नयाँ चेकबुक लिई सो चेकमा कीर्ते सहिछाप दस्तखत गरी ठगी गरेको हुँदा प्रतिवादीहरूलाई ठगीको ५ नं. ले कसूरको मात्राअनुसार जनही कैद ४ वर्ष ६ महिना र विगो रु.२,०५,५०,०००।– को दामासाहीले हुन आउने रु.३४,२५,०००।– जनही प्रतिवादीहरूलाई जरीवाना हुने ठहर्याएको र प्रतिवादीहरूबाट बरामद हुन आएको जिन्सी, प्राडो जीप, ठगीको रूपैयाँबाट खरीद गरेको घरजग्गा नेपाल इण्डोस्वेज बैँकलाई दिलाई नपुग हुन आउने विगो रु.३२,३५,३००।– प्रतिवादीबाट बैँकलाई दिलाई भराई पाउने ठहर्याएको र प्रतिवादी विमला रूपाखेती पुरी मतियार देखिएको हुँदा कसूरको प्रकृतिअनुसार निजलाई ठगीको ५ र ४ नं.बमोजिम तजवीजी कैद १ वर्ष र रु.५,०००।– जरीवाना हुने ठहर्याएको तथा प्रतिवादी राजु खनालले अभियोग माग दावीबाट सफाइ पाउने ठहर्याएको शुरु काठमाडौँ जिल्ला अदालतको मिति २०६१।२।७ को फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०६३।५।१ मा भएको फैसला मिलेकै देखिँदा कुनै परिवर्तन गरिरहनु परेन सदर हुने ठहर्छ ।
१४. अभियोग दावीबाट सफाई पाउनुपर्छ भन्ने पुनरावेदक प्रतिवादीको जिकीर र वादी नेपाल सरकारले पुनरावेदन गर्दा लिएका जिकीरहरूसँग सहमत हुन सकिएन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०६९ साल असोज २३ गते रोज ५ शुभम् ।
इजलास अधिकृतः हेमबहादुर सेन