निर्णय नं. ६८०५ - कुटपिट

निर्णय नं. ६८०५ ने.का.प. २०५६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
माननीय न्यायाधीश श्री ज्ञाइन्द्र वहादुर श्रेष्ठ
संवत् २०५१ सालको फौ.पु.नं. .. ८६८,८६७
फैसला मिति : २०५६।१।१३।२
मुद्दा : कुटपिट ।
पुनरावेदक
प्रतिवादी : जिल्ला सिराहा लाहन नगरपालिका वडा नं. ३ वस्ने कोमी महतो कोइरी ।
विरुद्ध
प्रत्यर्थी
वादीः ऐ.ऐ. वस्ने बच्चेलाल महतो समेत
पुनरावेदक
वादी : जिल्ला सिराहा लाहन नगरपालिका वडा नं. ३ वस्ने टिकाई महतोको छोरा वच्चेलाल महतो ।
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः ऐ.ऐ. वस्ने अच्छेलाल महतो समेत
§ सिराहा अस्पतालको मिति २०४५।३।२८ को रायमा खुटृा हाल काम नलाग्ने भन्ने शव्द उल्लेख भएकोबाट सधैं भरी काम नलाग्ने भन्ने नभइ पछि काम लाग्ने पनि हुन सक्ने देखिएको र यी पुनरावेदक वादी पुनरावेदन अदालतमा इजलासमा अगाडि आफ्नै खुटृाले हिडिरहेको भन्ने देखिंदा यी वादी वच्चेलालको खुटृा अद्यापी काम नलाग्ने छ भन्ने अर्थ गर्न नमिल्ने हुंदा डोमी महतो कोइरीको हकमा कुटपिटका ६ नं. अनुसार कैद वर्ष ४ गर्ने गरी शुरुले गरेको फैसलालाई कैद वर्ष २ (दुई) कायम गर्ने गरी सो हदसम्म केही उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं.. ११)
पुनरावेदक वादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री राजु महत
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री मोहमद शेष अव्वास
अवलम्वित नजीर :
फैसला
न्या. केदारनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अर्न्तगत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।
२. विपक्षी भाईनाताका अच्छेलाल डोमी, पृतम लालले अंश नदिएकाले हाम्रा पिताले निजहरु उपर अंश मुद्दा दिएको रिस लिई मिति २०४४।६।६ गते मगंलवारका दिन दिउंसो ३ वजेको समयमा मलाई घेरी विवाद गरी विपक्षीहरुले वांसको लाठी, फराठी फलामको रड, डायगर समेतले कुटपिट गरेकोले अन्यायमा परी लहान हे.पो. वाट घाउ खत जंचाई फेराद गर्न आएका छौं । प्र. डोमी महतोलाई कुटपिट का ६ नं. ले पृतम महतोलाई ऐ. ९ नं. र अच्छेलाललाई कुटपिट का ११,१३ नं. र सवैलाई हुल गरे तर्फ ऐ. १८ नं. ले संजाय गरी ऐ. २५ नं. वमोजिम घा खर्च समेत दिलाई भराई पाउं भन्ने वादी दावी ।
३. वादीहरुलाई हामी कसैले पनि कुटपिट गरेको छैनौं वादीहरु ७ जना मिली सुरेतसदा मुसहरलाई कुटपिट गरेकोमा कुटपिटको प्रहार वादीहरु समेतलाई परेको हो र वारदात भनिएको दिनमा हामी गाउंघरमा थिएनौं तसर्थ झुठा दावाबाट फुर्सत पाउं भन्ने प्र. हरुको संयुक्त प्रतिउत्तर जिकिर ।
४. यसमा वादी दावी वमोजिम प्रतिवादी मध्येका डोमी महतो कोइरीले वादी वच्चेलाल महतोलाई कुटपिटको ६ नं. वमोजिम कुटपिट गरी खुटृा भांची अंग भंग गरी दिएको र अन्य प्रतिवादीहरुले कुटपिटका ९,११,१३,१८ नं. वमोजिम कुटपिट गरेको ठहर्छ भन्ने समेत शुरु सिरहा जिल्ला अदालतको फैसला ।
५. शुरुले तथ्यको मुल्याकंन नै नगरी हामीलाई हराई गर्ने गरेको फैसलामा चित्त वुझेन प्रमाणको मुल्याकंन गरी उक्त त्रुटीपूर्ण फैसला वदर गरी लागेको कैद जरिवाना समेतबाट सफाइ पाउं भन्ने समेतको प्रतिवादीहरुको तत्कालीन सगरमाथा अंचल अदालत राजविराज वेञ्चमा परेको पुनरावेदन ।
६. यस्मा शुरु इन्साफ विचारणीय हुंदा छलफलका निमित्त अ.वं. २०२ नं. वमोजिम विपक्ष झिकाई पेश गर्नु भन्ने समेतको तत्कालीन सगरमाथा अंचल अदालतको आदेश ।
७. वादीहरुलाई लागेको चोटपटक प्रतिवादीहरुले छाडेको हतियारवाट लागेको होइन भनी भन्न प्रमाणको अभावमा नमिल्ने हुंदा प्रतिवादीहरुले छोडेको हतियारवाट नै वादीहरुलाई चोट पटक लागेको सिद्ध हुन आएको छ । वादी मध्येका बच्चेलाललाई कुटपिट गरेकोमा कुटपिटका ६ नं. वमोजिम अंग काम नलाग्ने भनी कैद वर्ष ४ समेत गरी प्रतिवादी मध्येका डोमी महतो कोइरीलाई शुरु सिरहा जिल्ला अदालतले संजाय गरेको देखियो । प्रत्यर्थी वादी वच्चेलाललाई इजलास समक्ष बोलाई निजको प्रतिवादीहरुले भांची टुटाइ दिएको खुटृा काम लाग्ने न नलाग्ने के हो भनी हेर्दा निजको भांचिएको भनेको खुटृाले राम्रोसंग हिडडुल गर्न सक्ने अवस्थाको देखिई हिडडुल गरी रहेको समेत देखिंदा यस्तो अवस्थामा कुटपिटको ६ नं. अनुसार २ वर्ष कैद गर्नु पर्नेमा शुरुले ४ वर्ष कैद गरेको नमिलेको देखिन आएकोले सो हदसम्म शुरु सिरहा जिल्ला अदालतको इन्साफ उल्टी भै अरु प्रतिवादीहरुका हकमा वादीहरुलाई कुटपिट गरेको ठहर्छ भनी मिति २०४६।३।२२।५ मा शुरु सिरहा जिल्ला अदालतबाट भएको फैसला मिलेकै हुंदा सदर हुने ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको फैसला ।
८. मौकाको दरखास्तमा कुटपिट ग¥यो भनिएको सुकन महतोलाई प्रतिवादी नबनाइएको खुटृा भांची वेकम्मा पारेको भन्ने फिराददावी नै नभएको घा जांच केश फारामले अंग भंगको पुष्टी नगरेको अंगभंग भो भनेको वादी हिडी रहेको सही सलामत रहेको भन्ने तथ्य मिसिल संलग्न कागज प्रमाणबाट खुल्दाखुल्दै शुरु जिल्ला अदालतले गरेको फैसला पुरै उल्टाई मलाई सफाइ दिनु पर्नेमा शुरुले कैद वर्ष ४ गर्ने गरेकोलाई कैद वर्ष २ मात्र गर्ने भनी ग्रहण गर्नु पर्ने प्रमाणलाई प्रमाणमा नलिई र ग्रहण गर्नु नमिल्ने प्रमाणलाई प्रमाणमा लिई गरेको पुनरावेदन अदालतको फैसला न्यायिक छैन तसर्थ पुनरावेदन अदालत तथा शुरु जिल्ला अदालतले संजाय गर्ने गरेको फैसला उल्टाई दावीबाट सफाइ गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी डोमी महतो कोइरीको पुनरावेदन पत्र ।
९. म पुनरावेदक वच्चेलालको खुटृा डोमी महतोले भांची तोडी दिएकोले काम लाग्न सक्ने छैन भन्ने चिकित्सकको राय भएकोमा मेरो खुटृा काम लाग्ने नलाग्ने के हो भन्ने कुरा चिकित्सकवाट एकिन नै नगराई अन्दाजको आधारमा प्रतिवादी डोमी महतोलाई शुरुले ४ वर्ष कैद गर्ने गरी गरेको संजाय २ वर्ष कैद घटाई गरिएको फैसला त्रुटीपूर्ण छ । मेरो खुटृा हालसम्म पनि काम लाग्न सक्ने छैन भन्ने कुरा चिकित्सकबाट जांच गराएमा प्रष्ट हुनेछ अतः पुनरावेदन अदालतको त्रुटीपूर्ण फैसला वदर गरी शुरु जिल्ला अदालतको डोमी महतोको हकमा समेत भएको फैसला कायम राखि पाउं भन्ने समेत व्यहोराको वादी वच्चेलाल महतोको पुनरावेदन पत्र ।
१०. नियम वमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी वच्चेलाल महतोको तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता राजु महतले विपक्षी डोमी महतोले प्रहार गरेको सांघातिक हतियारको चोटवाट मेरो पक्षको खुटृा भांचि अंगभंग भई हालसम्म काम नलाग्ने अवस्थाको भएकोमा पुनरावेदन अदालतवाट अगाडि उभाई अन्दाजको भरमा खुटा काममा लाग्ने भई हिडंडुल गर्न सक्ने भएको भनी प्रतिवादी डोमी महतोलाई शुरुले गरेको कैद वर्ष ४ घटाइ कैद वर्ष २ मात्र कायम गरेको छ । खुटृा काम लाग्ने नलाग्ने भन्ने कुरा सम्वन्धित विशेषज्ञले निर्धारण गरी राय दिने कुरा हो तर प्रस्तुत मुद्दामा पुनरावेदन अदालतबाट त्यसो नभई केवल अन्दाजको भरमा फैसला गरिएको छ । मेरो पक्षको खुटृा अद्यापी काम नलाग्ने अवस्था मै छ । तसर्थ चिकित्सकको रायलाई प्रमाणमा लिई गरिएको शुरु फैसलाले प्रतिवादी डोमी महतोलाई गर्ने गरेको संजाय कानूनसम्मत हुंदा पुनरावेदन अदालतको फैसला उल्टाई शुरु फैसला सदर कायम गरी पाउं भन्ने समेतका जिकिर लिई गर्नु भएको वहस र पुनरावेदक प्रीतवादी डोमी महतो कोइरीका तर्फबाट उपस्थित विद्वान अधिवतmा मोहम्मद शेष अव्वासले मेरा पक्षले विपक्षी वादीलाई कुटपिट गरेका होइनन वारदात मिति र समयमा मेरा पक्ष गाउं घरमा थिएनन् यी वादी र सुदैसदा मुसहर वीच झगडा भई कुटपिट हुंदा सो झगडामा नै यीनलाई चोटपटक लागेको हो भन्ने सत्य तथ्य कुरा देखाई मेरा पक्षले प्रतिवाद गरेको र सो लाई पुष्टि गर्ने गरी मेरा पक्षका साक्षीले समेत वकपत्र गरेको तथा यी वादीसंग मेरा पक्षको अंश सम्वन्धी रिसइवी रहेको भन्ने कुरा मिसिलबाट खुलेको अवस्था हुंदा हुंदै केवल वादीको कथन र जालसाज मुद्दामा भएको फैसलालाई आधार लिई शुरु जिल्ला अदालतले ४ वर्ष कैद तथा सो लाई घटाइ पुनरावेदन अदालतले २ वर्ष कैद गर्ने गरेको फैसला कानूनसम्मत नहुंदा वदर गरी प्रतिउत्तर जिकिर वमोजिम मेरा पक्षलाई सफाई दिलाई पाउं भन्ने समेतका जिकिर लिइ गर्नु भएको वहस समेत सुनी मिसिल संलग्न कागज प्रमाण अध्ययन गरी हेर्दा यस्मा पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छ, छैन सो मा नै निर्णय दिनु पर्ने हुन आयो ।
११. निर्णयतर्फ विचार गर्दा यसमा विपक्षी भाईनाताका अच्छेलाल डोमी, पृतमलाल समेतले अंश नदिएकोले हाम्रा पिताले निजहरु उपर अंश मुद्दा दिएको रिस लिई मिति २०४४।६।६ गते मंगलवारका दिन दिउंसो ३.०० वजेको समयमा मलाई घेरी विवाद गरी विपक्षीहरुले वासंको लाठी फराठँ फलामको रड डायगर समेतले कुटपिट गरेकोले अन्यायमा परी घा खत जचांइ फेराद गर्न आएका छौं । प्रतिवादी डोमी महतोलाई कुटपिटका ६ नं. पृतम महतोलाई ऐ. ९ नं. र अन्यलाई कुटपिटका ११,१३ नं.. र हुल गरे तर्फ सवैलाई १८ नं. ले संजाय गरी ऐ. २५ नं. वमोजिम घा खर्च समेत दिलाई पाउं भन्ने वच्चेलाल महतो र हर्ष नारायण महतोको फिराद र वादीहरुलाई हामीहरु कसैले पनि कुटपिट गरेका छैनौं । सुरेत सदा मुसहरलाई वादी समेतले कुटपिट गर्दा कुटपिटको प्रहार वादीहरुलाई समेत परेको हो, वारदात भनिएको दिनमा हामी गाउंघरमा थिएनौं तसर्थ झुठा दावीबाट फुर्सद पाउं भन्ने प्रतिउत्तर भएकोमा डोमी महतो कोइरीले वादी वच्चेलाल महतोलाई कुटपिटका ६ नं. वमोजिम खुटृा भांची अंगभंग गरी दिएको र अन्य प्रतिवादीहरुले वादीलाई कुटपिटका ९,११,१३,१८ नं. वमोजिम कुटपिट गरेको ठहर्छ भनी डोमी महतो कोइरीलाई ४ वर्ष कैद र २८००। जरिवाना तथा अन्य प्रतिवादीहरुलाई जनही ७८०। जरिवाना गर्ने गरी फैसला भएकोमा सो फैसला उपर प्रतिवादीहरुको पुनरावेदन पर्दा प्रतिवादी डोमी महतोको कैदको हकमा कैद वर्ष ४ को सटृा कैद वर्ष २ हुने र अन्य प्रतिवादीहरुको हकमा शुरु इन्साफ सदर हुने गरी फैसला भई सो फैसलामा चित्त नवुझी सफाइ पाउनु पर्ने भनी प्रतिवादी मध्येका डोमी महतो कोइरी र प्रतिवादी डोमी महतोलाई ४ वर्ष कैद गरेको शुरु फैसला सदर हुनुपर्ने भनी वादी मध्येका वच्चेलाल महतोको यस अदालतमा पुनरावेदन पर्न आएको देखिंदा अन्य प्रतिवादीहरुका हकमा विचार गरी रहन परेन । डोमी महतो कोइरीको हकमा पुनरावेदनको रोहबाट हेर्दा वादी प्रतिवादी वीच अंश मुद्दाको रिसइवी रहेको २०४४।६।६ गते डोमी महतो समेतले कुटपिट गरी खुटृा भांची अंगभंग गरेको भन्ने किटानी फिराद दावी वच्चेलालको खुटृा हाल काम नलाग्ने भन्ने सिराहा अस्पतालको २०४५।३।२८ को राय वादी दावा समर्थन हुने गरी अदालतमा भएको वादीका साक्षीको वकपत्र देखिन्छ । तर वारदात मिति समयमा हामी गाउं घरमा थिएनौं । हामीले कुटपिट गरेका होइनौ, भन्ने प्रतिवादी जिकिरलाई समर्थन हुने गरी प्रतिवादी डोमी महतो समेतबाट कुनै प्रमाण गुर्जान सकेको देखिदैन । यी वादीले कुटपिट मुद्दामा पेश गरेका घा जांच समेतका प्रमाण जालसाज हुन भनी प्रतिवादी अच्छेलाल महतो कोइरी समेतबाट दायर भएको जालसाज मुद्दामा मिति २०४६।३।२२ मा सिरहा जिल्ला अदालतबाट वादी दावी नपुग्ने गरी फैसला भएको समेत देखिन्छ । प्रतिवादीहरु उपरको किटानी जाहेरी २०४४।६।१२ को घा जांच केश फारम वादीका साक्षी राजलाल महतोले मेरो सामुन्नेमा प्रतिवादी डोमी महतो समेतले फलामको रड समेतका हतियारले वादीलाई कुटपिट गरेका हुन भनी गरी दिएको किटानी वकपत्र समेतका कागज प्रमाणहरु हेर्दा वादीलाई लागेको चोट यी प्रतिवादी डोमी महतो समेतले प्रहार गरेको हतियारबाट होइन भन्न मिल्ने अवस्था मिसिल संलग्न उक्त कागज प्रमाणबाट देखिन आउंदैन । अव वादीको पुनरावेदनको हकमा विचार गर्दा
सिराहा अस्पतालको मिति २०४५।३।२८ को रायमा खुटृा हाल काम नलाग्ने भन्ने शव्द उल्लेख भएकोबाट सधैं भरी काम नलाग्ने भन्ने नभइ पछि काम लाग्ने पनि हुन सक्ने देखिएको र यी पुनरावेदक वादी पुनरावेदन अदालतमा इजलासमा अगाडि आफ्नै खुटृाले हिडिरहेको भन्ने देखिंदा यी वादी वच्चेलालको खुटृा अद्यापी काम नलाग्ने छ भन्ने अर्थ गर्न नमिल्ने हुंदा डोमी महतो कोइरीको हकमा कुटपिटका ६ नं. अनुसार कैद वर्ष ४ गर्ने गरी शुरुले गरेको फैसलालाई कैद वर्ष २ (दुई) कायम गर्ने गरी सो हदसम्म केही उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ ।पुनरावेदक वादी वच्चेलाल र प्रतिवादी डोमी महतोको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. ज्ञाइन्द्रवहादुर श्रेष्ठ
इति संवत् २०५६ साल वैशाख १३ गते रोज २ शुभम् ............. ।