निर्णय नं. ६८०८ - अदालतको अपहेलनामा कारवाही सजाय गरी पाउं

निर्णय नं. ६८०८ ने.का.प.२०५६ अङ्क ११
संयुक्त इजलास
सम्माननीय का.मु.प्रधान न्यायाधीश
श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
संवत् २०५५ सालको फौ.वि.नं. .. १०७
आदेश मितिः २०५६।५।२४।५
विषयः अदालतको अपहेलनामा कारवाही सजाय गरी पाउं ।
निवेदकः शाखा अधिकृत श्री नरिश्वर भण्डारी, सर्वोच्च अदालत समेत
विरुद्ध
विपक्षीः अधिवक्ता नरेन्द्रकुमार के.सी.
§ के कस्तो अवस्था वा के कस्तो कार्यबाट अदालतको अपहेलनाजन्य कार्य भएको मानिने भन्ने सम्वन्धमा सर्वोच्च अदालत ऐन, २०४८ मा व्यवस्था नभएपनि स्वतन्त्र न्यायपालिकाको संरक्षणको लागि अदालत स्वयंले ती कुराहरुको निर्क्र्यौल गर्न सक्ने स्वविवेकीय अधिकार प्रदान गरेको देखिन्छ । यस अदालतबाट विभिन्न अपहेलना सम्वन्धी विभिन्न मुद्दामा त्यसको प्रकृति अवस्था र विषयवस्तुको गांभीर्यताको आधारमा विस्तृतरुपमा अपहेलनाजन्य कार्यको परिभाषा गरेको पाइन्छ । जसमा अदालतको आज्ञा आदेश वा फैसलाको अवज्ञा वा निरादर गर्नु वा जनसाधारणमा अदालत वा अदालतबाट हुने न्याय प्रशासनको कार्य प्रति अविश्वास वा अनास्था हुने वा हुन सक्ने कुनै कार्य गर्नु कुनै प्रकारले अदालतको सम्मान मर्यादा वा प्रतिष्ठामा आघात पुग्ने अन्य कार्य गर्नु वा न्यायाधीश प्रति प्रतिकुल वा न्यायाधीशको निष्पक्षताको र निजको सद्विवेक वा कार्यक्षमतामा कुनै प्रकारको शंका उठाउनु वा अन्य कुनै प्रकारले न्यायाधीशको मर्यादा सम्मान वा प्रतिष्ठामा आघात पर्न सक्ने कुनै कार्य गर्नु वा अदालतमा विचाराधीन रहेको मुद्दा मामिलामा अनुचित प्रभाव पार्न वा पर्न सक्ने गरी कुनै कुरा व्यक्त गर्नु वा कुनै कार्य गर्नु वा न्याय प्रशासनको कार्यमा लागेका अदालतका कर्मचारी वा मुद्दा मामिलाका सम्वन्धमा कुनै कानून व्यवसायीलाई गाली वेइज्जती गर्नु वा अनुचित वाधा वा अवरोध उत्पन्न गराउनु वा डर त्रासमा पार्नु वा अदालतमा इन्साफ माग्न आउने मुद्दाका कुनै पक्षलाई वा कुनै मुद्दामा कुनै साक्षीलाई सो मुद्दामा भए गरेको कुनै कुरालाई लिएर गाली वेइज्जति गर्नु वा त्यस सम्वन्धमा अनुचित वाधा वा अवरोध उत्पन्न गराउनु वा डर, त्रासमा पार्नु समेतका कार्य गर्नुलाई मोटामोटी रुपमा अदालतको अपहेलनाजन्य कार्य भएको मानिन्छ भन्ने आधार स्वीकार गरिएको पाइन्छ । इजलासमा आशिन न्यायाधीशले कुनै व्यक्तिलाई कुनै कुरा सोधपुछ गर्नको लागि वोलावट हुंदा आउन इन्कार गर्नु वा अटेर गर्नु वा इन्कार वा अटेर गरेको जस्तो देखिनुलाई पनि अदालतको अपहेलनाजन्य कार्य नै हुन आउने देखिन्छ । कानून व्यवसायको पेशा अंगाली वसेको विद्वान अधिवक्ता जस्तो व्यक्तिले इजलासबाट खोजी हुंदा आनाकानी गरी इजलासमा उपस्थित नहुनु सोभनीय कार्य समेत हुन सक्दैन । लिखित जवाफ प्रस्तुतकर्ता अधिवक्ता श्री नरेन्द्रकुमार के.सी उल्लेखित मितिमा अदालत परिसरमा उपस्थित नभएको भए विपक्षी उर्मिला डंगोलले देखेको भनी भन्नूपर्ने र अदालतका अर्दलीले समेत नभएको कुरालाई हो भनी प्रतिवेदन दिनु पर्ने कारण आधार र अवस्था देखिन आउंदैन । न्याय प्रशासनको सिलसिलामा इजलासबाट वोलावट हुंदा उल्लेख भए वमोजिम गरिएको कृयाले यस अदालतको अपहेलना भएको रहेनछ भन्ने अवस्था देखिन आएन । लिखित जवाफ प्रस्तुतकर्ताले विना शर्त क्षमा प्रार्थना गरेको देखिंदा अव उप्रान्त यस्तो कार्य हुन नजावोस भन्ने अपेक्षा गर्दै कुनै सजाय गर्नु नपर्ने ।
(प्र.नं. ८)
निवेदक तर्फबाटः
विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री नरेन्द्रकुमार के.सी., विद्वान अधिवक्ता श्री अनुपराज शर्मा तथा विद्वान अधिवक्ता श्री शम्भु थापा
अवलम्वित नजिरः
आदेश
का.मु.प्र.न्या.केशवप्रसाद उपाध्यायः यस अदालतका शाखा अधिकृत श्री नरिश्वर भण्डारी समेतको प्रतिवेदनबाट दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छः
२. आज मिति २०५५ साल चैत्र २ गते रोज ३ का दिन यस अदालतको इजलास नं. ३ मा मा.न्या.श्री केदारनाथ उपाध्याय र मा.न्या. श्री टोपबहादुर सिंहको संयुक्त इजालास गठन भै मुद्दा सूनुवाई गर्ने क्रममा पेशी सुचीको क्र.सं. ६ मा उल्लेख भएको २०५४ सालको रिट नं. ३१६९ निवेदक रेनुका देवी उपाध्याय विरुद्ध मालपोत कार्यालय डिल्लीवजार समेत भएको उत्प्रेषण सम्वन्धी रिट निवेदनमा निवेदक तर्फबाट रहनु भएका कानून व्यवसायी अधिवक्ता श्री नरेन्द्र कुमार के.सी. ले ज्वरो आई कावु वाहिरको परिस्थिति परी इजलास समक्ष उपस्थित हुन नसक्ने भएकाले पेशी स्थगित गरी पाउं भनी दरखास्त पेश गर्न ल्याई पेशी स्थगित आदेश भएपछि अदालत परिसर भित्रै निज कानून व्यवसायी हिडी कुराकानी गरिरहेको भन्ने विपक्षी उर्मिला डंगोलले इजलास समक्ष व्यक्त गर्नु भएको यस इजलासका अर्दली मार्फत खोज तलास गरी ल्याउन पठाउंदा यहां छैन भनी दिनु भनी गैर जिम्मेवार पूर्ण अभिव्यक्ती दिएको र निज यसै परिसरमा रही हिंडडुल गरेको र अन्य कानून व्यवासायीसंग कुराकानी गरेको भन्ने वुझिन आएकोले उक्त भएको यथार्थ व्यहोरा इजलासको जानकारीको लागि आदेशानुसार प्रतिवेदन पेश गरेका छौ भन्ने समेत व्यहोराको प्रतिवेदन ।
३. आज यस इजलास समक्ष पेश भएको रिट नम्वर ३१६९ निवेदिका रेनुका देवी उपाध्याय विरुद्ध मालपोत कार्यालय काठमाण्डौ समेत भएको उत्प्रेषणको रिट निवेदनमा निवेदिका पक्षका कानून व्यवसायी अधिवक्ता नरेन्द्रकुमार के.सी.प्र.प.सं. ८२४ ले रुघा खोकीको ज्वरो आई असमर्थ भएको भनी पेशी स्थगित गराएको र सो गराई सकेपछि अदालत परिसरमा हिडडुल गरी रहेको भन्ने अर्का पक्षले सुचित गरेको निजलाई वोलाउन इजलासबाट अर्दली खटाउंदा आउन नमानेको भन्ने इजलास सहायक तथा अर्दलीको प्रतिवेदन समेत हुंदा यस परिस्थितिमा यथार्थ कुरा वुझ्नको लागि इजलासबाट खोजी हुंदा पनि असहयोग गरेको र विपक्षीको मुद्दा ढीलो गराउने उद्देश्य लिई न्यायिक प्रकृयालाई विलम्व गर्ने उद्देश्य देखिएको हंदा निज उपर किन कारवाही नगर्ने ? निजको केही स्पष्टीकरण भए लिई यही इजलास लागेको दिन पेश गर्नु होला भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५५।१२।२।३ को आदेश ।
४. मिति २०५५।१२।२ गतेका दिन म यस सम्मानित अदालतको परिसरमा उपस्थित भएको थिइन । सो दिन म आफ्नै घरमा सन्चो नभएकोले आराम गरी वसेको थिएं । मैले सम्मानित अदालतलाई अनादर असहयोग गर्ने कुनै काम कुराहरु गरेको छैन । उक्त मुद्दा ढीलो गराउने न्यायिक प्रकृयालाई विलम्व गर्ने गराउने मेरो उद्देश्य र मनसाय नभएको व्यहोरा समेत सादर निवेदन गर्दछु भन्ने समेत व्यहोराको अधिवक्ता नरेन्द्रकुमार के.सी.ले यस अदालतमा पेश गरेको स्पष्टीकरण ।
५. प्राप्त स्पष्टीकरण हेर्दा निजलाई कार्यवाही नहुनु पर्ने सन्तोषप्रद आधार नदेखिएकोले पेशी स्थगन सम्वन्धमा यथार्थ कुरा वुझ्न इजालसबाट वोलावट हुंदा समेत असहयोग गरी न्यायिक प्रशासनिक काम कारवाहीमा आफ्नो कर्तव्य पालन प्रति सचेत नरही इजलासको आदेशलाई अनादर गरी अदालतको कर्मचारीलाई झुठ्ठा कुरा इजलासलाई खवर गर्न लगाउने सम्मको कुचेष्ट गरेकोमा अवहेलनाको अभियोगमा निज कानून व्यवसायीलाई सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ वमोजिम कारवाही गर्नुपर्ने हुंदा फौजदारी विविधको दायरीमा दर्ता गरी निज कानून व्यवसायीलाई विपक्षी कायम गरी निजलाई यस अदालतको अपहेलनामा कारवाही र सजाय किन नगर्ने हो ? यो आदेश प्राप्त भएको ७ (सात) दिन भित्र निजबाट लिखित जवाफ लिई निज स्वयंलाई तारेखमा राखी नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतमा संयुक्त इजलासको मिति २०५५।१२।२३।३ को आदेश ।
६. मिति २०५५।१२।२ गतेका दिन मलाई रुघा खोकीको कारणले ज्वरो समेत आई विरामी भई आफ्नो घरमा आराम गरेर वसेको अवस्थामा म लिखित जवाफवाला सम्मानित अदालतको परिसरमा आई घुमफिर गरेको भन्ने सवाल नै उठ्दैन । उपस्थित भएको हुनाले इजलासबाट वोलावट भएको सूचना आदेश प्राप्त गर्ने संभावना भएमा सम्मानित अदालतको अर्दलीलाई चिन्दिन साथै भेटेको पनि छैन । म लिखित जवाफवाला कानून व्यवसायीले कानून व्यवसायको लामो अवधिका सदासर्वदा सम्मानित अदालतको आदर तथा सम्मान गरि आएको छु। म बाट कहिलेपनि सम्मानित अदालतको मान प्रतिष्ठामा आंच आउने कुनै काम गरेको छैन । भविष्यमा पनि आदर सम्मान गरिनै रहनेछु । यदि मैलै सम्मानित इजलासको वोलावटको आदेश जानकारी पाएको भए म विरामी कै अवस्थामा भएपनि हाजिर हुने थिएं । एक निष्ठावान कानून व्यवसायीको हैसियतले सम्मानित श्री सर्वोच्च अदालतको सम्मान र आदर गर्नु मेरो प्रथम कर्तव्य हुन्छ । सम्मानित अदालतको सम्मान र आदर गर्नु मेरो प्रथम कर्तव्य हुन्छ । सम्मानित अदालतको सम्मान र गरिमाको वृद्धिमा नै मेरो व्यवासाय सम्मानित हुन्छ । सम्मानित अदालतबाट गरिने सम्पुर्ण न्यायिक प्रकृयाका काम कार्यवाहिमा सकारात्मक तथा सकृय सहयोग गर्नुपर्ने मेरो कर्तव्य हो र त्यस कर्तव्यलाई मेरो पेशाको धरोहरको रुपमा लिएको छु । यति हुंदा हुदै पनि सम्मानित अदालतका रिट निवेदिका रेनुका देवीको विपक्षीले दिएको गलत सूचनाका कारण सम्मानित अदालतको न्यायिक प्रशासनिक काम कार्यवाहीमा आफ्नो कर्तव्य पालन प्रति सचेत नरही इजलासको आदेशलाई अनादर गरी अदालतको कार्मचारीलाई झुठ्ठा कुरा इललासलाई खवर गर्न लगाउने सम्म कुचेष्ठा गरेको अपहेलनाको अभियोगमा म एक कानून व्यवसायी माथि अदालतको अपहेलनाको आरोप लागेको हो तापनि सम्मानित अदालतबाट उल्लेखित कारण र आधारहरुको मुल्यांकन गरी अधियोगबाट छुटकारा हुनेछ भन्ने आशा र भरोसा राख्दछु । सम्मानित अदालतको गरिमा मर्यादा सम्मान कायम गर्नु म एक कानून व्यवसायीको हैसियतले ठुलो कर्तव्य र दायित्व वोध गरी कुनै कारणवश सम्मानित सर्वोच्च अदालतको अपहेलना हुन गएको देखिएमा निशर्त क्षमाप्रार्थी भएको व्यहोरा समेत सम्मानित अदालत तथा इजलास समक्ष सादर अनुरोध गर्दछु भन्ने समेत व्यहोराको अधिवक्ता नरेन्द्रकुमार के.सी.को लिखित जवाफ ।
७. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा लिखित जवाफ प्रस्तुतकर्ता अधिवक्ता श्री नरेन्द्रकुमार के.सी.को तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अनुपराज शर्मा तथा विद्वान अधिवक्ता श्री शम्भु थापाले गर्नु भएको वहस समेत सुनियो ।
८. विद्वान अधिवक्ताहरुको वहस समेत सुनी निर्णय तर्फ विचार गर्दा सत्य तथ्य कुरा सोधपुछको लागि इजलासबाट वोलावट हुंदा जानी जानी नआई न्यायिक प्रकृयामा अवरोध समेत पुर्याई इजलासको अवज्ञा गरेकाले त्यस्तो कार्य गर्ने अधिवक्ता श्री नरेन्द्रकुमार के.सी. लाई सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ वमोजिम किन सजाय हुन नपर्ने भन्ने आधारमा प्रस्तुत मुद्दा दर्ता भई कारवाहीयुक्त अवस्था रहेको पाइयो । आफु सो दिन घरमै वसेको इजलासबाट वोलावट भएको थाहा नपाएको अदालतको मान सम्मान र गरिमा कायम गर्न सधै प्रयत्नरत रहेकोले अवहेलना गरेको होइन कथंकदाचित त्यस्तो परको भए निशर्त क्षमाप्रार्थी छु भन्ने भनाइ अधिवक्ता श्री के.सी.को रहेको देखिन्छ । रिट नं. ३१६९ मा विपक्षी वनाएकी उर्मिला डंगोलको अभिकथनबाट निज अधिवक्ता यसै अदालतको परिसरमा घुमिरहेको भन्ने भनाइ रहेको भन्ने समेत मिसिलबाट देखिन आउंछ ।
के कस्तो अवस्था वा के कस्तो कार्यबाट अदालतको अपहेलनाजन्य कार्य भएको मानिने भन्ने सम्वन्धमा सर्वोच्च अदालत ऐन, २०४८ मा व्यवस्था नभएपनि स्वतन्त्र न्यायपालिकाको संरक्षणको लागि अदालत स्वयंले ती कुराहरुको निर्क्र्यौल गर्न सक्ने स्वविवेकीय अधिकार प्रदान गरेको देखिन्छ । यस अदालतबाट विभिन्न अपहेलना सम्वन्धी विभिन्न मुद्दामा त्यसको प्रकृति अवस्था र विषयवस्तुको गांभीर्यताको आधारमा विस्तृतरुपमा अपहेलनाजन्य कार्यको परिभाषा गरेको पाइन्छ । जसमा अदालतको आज्ञा आदेश वा फैसलाको अवज्ञा वा निरादर गर्नु वा जनसाधारणमा अदालत वा अदालतबाट हुने न्याय प्रशासनको कार्य प्रति अविश्वास वा अनास्था हुने वा हुन सक्ने कुनै कार्य गर्नु कुनै प्रकारले अदालतको सम्मान मर्यादा वा प्रतिष्ठामा आघात पुग्ने अन्य कार्य गर्नु वा न्यायाधीश प्रति प्रतिकुल वा न्यायाधीशको निष्पक्षताको र निजको सद्विवेक वा कार्यक्षमतामा कुनै प्रकारको शंका उठाउनु वा अन्य कुनै प्रकारले न्यायाधीशको मर्यादा सम्मान वा प्रतिष्ठामा आघात पर्न सक्ने कुनै कार्य गर्नु वा अदालतमा विचाराधीन रहेको मुद्दा मामिलामा अनुचित प्रभाव पार्न वा पर्न सक्ने गरी कुनै कुरा व्यक्त गर्नु वा कुनै कार्य गर्नु वा न्याय प्रशासनको कार्यमा लागेका अदालतका कर्मचारी वा मुद्दा मामिलाका सम्वन्धमा कुनै कानून व्यवसायीलाई गाली वेइज्जती गर्नु वा अनुचित वाधा वा अवरोध उत्पन्न गराउनु वा डर त्रासमा पार्नु वा अदालतमा इन्साफ माग्न आउने मुद्दाका कुनै पक्षलाई वा कुनै मुद्दामा कुनै साक्षीलाई सो मुद्दामा भए गरेको कुनै कुरालाई लिएर गाली वेइज्जति गर्नु वा त्यस सम्वन्धमा अनुचित वाधा वा अवरोध उत्पन्न गराउनु वा डर, त्रासमा पार्नु समेतका कार्य गर्नुलाई मोटामोटी रुपमा अदालतको अपहेलनाजन्य कार्य भएको मानिन्छ भन्ने आधार स्वीकार गरिएको पाइन्छ । इजलासमा आशिन न्यायाधीशले कुनै व्यक्तिलाई कुनै कुरा सोधपुछ गर्नको लागि वोलावट हुंदा आउन इन्कार गर्नु वा अटेर गर्नु वा इन्कार वा अटेर गरेको जस्तो देखिनुलाई पनि अदालतको अपहेलनाजन्य कार्य नै हुन आउने देखिन्छ । कानून व्यवसायको पेशा अंगाली वसेको विद्वान अधिवक्ता जस्तो व्यक्तिले इजलासबाट खोजी हुंदा आनाकानी गरी इजलासमा उपस्थित नहुनु सोभनीय कार्य समेत हुन सक्दैन । लिखित जवाफ प्रस्तुतकर्ता अधिवक्ता श्री नरेन्द्रकुमार के.सी उल्लेखित मितिमा अदालत परिसरमा उपस्थित नभएको भए विपक्षी उर्मिला डंगोलले देखेको भनी भन्नूपर्ने र अदालतका अर्दलीले समेत नभएको कुरालाई हो भनी प्रतिवेदन दिनु पर्ने कारण आधार र अवस्था देखिन आउंदैन । न्याय प्रशासनको सिलसिलामा इजलासबाट वोलावट हुंदा उल्लेख भए वमोजिम गरिएको कृयाले यस अदालतको अपहेलना भएको रहेनछ भन्ने अवस्था देखिन आएन । लिखित जवाफ प्रस्तुतकर्ताले विना शर्त क्षमा प्रार्थना गरेको देखिंदा अव उप्रान्त यस्तो कार्य हुन नजावोस भन्ने अपेक्षा गर्दै कुनै सजाय
गर्नु परेन । नियमानुसार गरी मिसिल वुझाई दिनु ।
उपयुक्त रायमा म सहमत छु ।
न्या.अरविन्दनाथ आचार्य
इति सम्वत २०५६ साल भाद्र गते रोज ५ शुभम् ................. ।