निर्णय नं. ६८०९ - लिखत वदर

निर्णय नं. ६८०९ ने.का.प. २०५६ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
संवत् २०५२ सालको दे.पु.नं. .. ३४३०
फैसला मिति : २०५६।३।१४
मुद्दा : लिखत वदर ।
पुनरावेदक
वादीः जिल्ला डोटी कालिकास्थान गा.वि.स. वा.नं. ९ घर भै हाल जि. कैलाली ध.न.पा. वा.नं. २ वस्ने नवराज ओझा समेत
विरुद्ध
विपक्षी
प्रतिवादीः डोटी सेती प्राविधिक शिक्षालय, दिपायल समेत
§ वादीले दावी गरेको जग्गा विपक्षी सेती प्राविधिक शिक्षालयले शुद्ध लेनदेन व्यवहारको महल वमोजिमको प्रकृयालाई मात्र पुरा गरी लिएको भन्ने कुरा देखिन आउंदैन । जिल्ला प्रशासन कार्यालयले सेती प्राविधिक शिक्षालयका लागि वादी दावीको जग्गा अधिग्रहण गर्ने गरी प्रकाशित सूचना एवं सो अनुरुप जग्गा प्राप्ति ऐन, २०३४ अनुसार भए गरिएका अन्य काम कारवाही उपर यी पुनरावेदक समेतले जग्गा प्राप्ति ऐनको दफा ११ ले तोकि दिएको म्यादभित्र कुने उजुर वाजुर गर्न सकेको देखिदैन । प्रतिवादी छत्रराज ओझाले आफ्नो प्रतिउत्तरमा मुआव्जा वापत प्राप्त जग्गाको रकम भाइहरुलाइ दिएको, तर नवरजा ओझाले वुझि लिन नमानेको हो भनी उल्लेख गरेको पाइन्छ । प्रस्तुत मुद्दामा शुरुमा नवराज ओझा सहित ९ जनाको फिराद परेको भएपनि पुनरावेदन अदालतमा ८ जनाको मात्र र सर्वोच्च अदालतमा ४ जनाले मात्र पुनरावेदन दायर गरी अन्य प्रतिवादीहरुले शुरु एवं पुनरावेदन अदालतको फैसलामा चित्त बुझाई वसेको स्थिति पनि देखिन आउंछ । उपरोक्त कारण एवं आधार प्रमाणबाट वादी दावी वमोजिम प्रतिवादी छत्रराजबाट मिति २०४८।६।१५ मा प्रतिवाद मध्येका डोटी सेती प्राविधिक शिक्षालयलाई राजिनामा पारीत गरी दिएको लिखत वदर हुन नसक्ने ठहर गरी शुरु डोटी जिल्ला अदालतले गरेको पुनरावेदन अदालत दिपायलको मिति २०५१।९।५।३ को फैसला मुल रुपमा मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं. १७)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
विपक्षी प्रतिवादी तर्फबाटः नायव महान्यायाधिवक्ता श्री वलराम के.सी., विद्वान अधिवक्ता श्री हरिहर दाहाल
अवलम्वित नजीर :
फैसला
न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत, दिपायल डोटीका फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) वमोजिम मुद्दा दोहोर्याई पाउं भन्ने वादीहरुको निवेदनमा मुद्दा दोहोर्याई हेर्ने गरी मिति २०५२।११।११।६ मा यस अदालत संयुक्त इजलासबाट भएका आदेशानुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ।
२. स्व. वुवाज्यु पदमनाथ ओझाका छोराहरुमा जेठा विपक्षी छत्रराज ओझा समेत अन्य ९ भाई गरी जम्मा १० जना सन्तान हौं । २०२२ सालमा वुवाले सर्म्पूण जग्गा को फांटवारी पेश गर्दा उमेर पुगेका विपक्षी लगायत ९ जना र उमेर नपुगेको १ छोरा भनि जनाउनु भएको सर्म्पूण जग्गाको फांटवारी घरको मुख्य देखिनु भएका विपक्षी दाजु छत्रराजले पेश गर्दा विवादित चुके आम समेतको खेत पाखोको फांटवारीमा यो जग्गा सगोलका १० भाइको अंश लाग्ने भनि २०४२ सालमा पेश गर्नु भएको छ । हालसम्म कुनै पनि छुटृी भिन्न नभएका हामी सगोलका अंशियारहरुको अंश हक लाग्ने पैतृक सम्पत्ति मध्ये विपक्षी छत्रराजले चुके आम भन्ने जग्गा ०४८।६।१५ गते मा.पो.का. मा हक छाडी रु.२,५०,९५४।४३ मुल्य कायम गराई सेती प्राविधिक शिक्षालय दिपायललाई सो को प्रतिनिधि टँ. हरि नारायणको उपस्थितिमा सो लिखत पारीत गराई दिएको सडक वाहेक भनि क्षे. २७-२-२-२ को जग्गा हामीहरुको जानकारी नहुने अवस्था परी न्युनतम मुल्य कायम गराई आफ्नो एकलौटी हक भोगको भनि झुठ्ठा व्यहोरा पारी हामी अंशियारहरुको हक मेट्ने कुरा गरेको फिरादी मध्येका संगोलका डिल्लीराज ओझाले हाल थाहापाई मिति ०४९।४।८ गते उक्त लिखतको नक्कल हेर्दा हामी सवैलाई थाहा भै त्यस्तो वेरित लेनदेन व्यवहारको १० नं. वमोजिम गैर कानुनी लिखतमा लेखिएको घर जग्गा समेत क्षेत्रफल २७-२-२-२ जग्गा मध्ये विक्रिकर्ता विपक्षीले पाउने १० भागको १ भाग वाहेक मुल सडक माथि उत्तरबाट ९ खण्ड वदर गरी पाउं भन्ने समेतको फिरादपत्र ।
३. जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९,१० को प्रक्रिया पुरा गरी सकेपछि उक्त जग्गामा यदि विपक्षी लगायतको हक लाग्ने भए ऐ.ऐनको दफा ११ वमोजिम उजुर दावी गरी सक्नु पर्नेमा सा केहि गर्न सकेको छैन । श्री ५ को सरकारको जग्गा प्राप्ति गरी दिने भन्ने निर्णय वमोजिम जग्गा प्राप्ति गरेको हो । उक्त जग्गा लेनदेन व्यवहारको महल वमोजिम लिएको नभै जग्गा प्राप्ति ऐन, २०३४ वमोजिम सर्म्पूण कार्यविधि पुरा गरी अधिग्रहण गरिएको हुंदा सो जग्गालाई वदर गरी पाउं भनि दिएको सर्म्पूण वादी दावी गैर कानुनी हुंदा खारेज गरी पाउं भन्ने समेतको सेती प्राविधिक शिक्षालय दिपायल १, ऐ.का प्रमुख मदनराज भट्ट १, ऐ.का टा. हरिनारायण श्रेष्ठ १ समेत जना ३ को प्रतिउत्तरपत्र ।
४. श्री ५ को सरकारले शिक्षण संस्था स्थापना गर्न खोजेको उपयुक्त ठाउं देखि आफै नाप नक्सा तयार गरी म समेतका ३५ जनाको नाममा दर्ता भएको जग्गा रोपनी १५१-६-३-१ को लगत नक्सा माल तथा नापी शाखाबाट आफ्नै तरिकाको नाप नक्सा वाउण्डरी तयार गरी सकेपछि यति कित्ताका जग्गाधनीले आफ्नो नामको द.प्र.पु. लिई १५ दिन भित्र आउनु, अन्यथा ज.प्रा.ऐन, २०३४ को दफा १२ वमोजिम भै जानेछ भन्ने जि.का. डोटीको मिति ०४५।१२।१७ को प्रकाशित सूचना अनुसार प्रा.सि.को नाममा जग्गा पारीत गरी दिएको हो, फिरादीहरुले ज.प्रा. ऐन, २०३४ को कार्यविधि अपनाई कारवाही गरी सोही ऐनको दफा ११ अनुसार जग्गा प्राप्ति नगर्ने कारण खोली उजुर गर्ने सुविधा दिई आएको कुरामा उजुर नगरी श्री ५ को सरकारको निर्णयलाई मानी सो म्यादभित्र उजुर नगरी लेनदेन व्यवहारको १० नं. को दावि लिई म्याद कायम गरी दिएको फिराद कानुनी त्रुटीपूर्ण हुंदा खारेज गरी फिरादीहरुलाई सजांय समेत गरी पाउं भन्ने समेतको छत्रराज ओझाको प्रतिउत्तरपत्र ।
५. प्रस्तुत मुद्दा डोटी जिल्ला अदालतको क्षेत्राधिकारको हुंदा दायरी लगत कटृागरी पक्षहरुलाई तारेख तोकी मिसिल डोटी जिल्ला अदालतमा पठाई दिने भन्ने ०५०।६।२१ को कैलाली जिल्ला अदालतको आदेश ।
६. वादीका साक्षीको वकपत्र र प्र.को साक्षीको बन्दासवाल सामेल रहेको ।
७. जग्गा प्राप्ति ऐन, वमोजिम अधिग्रहण गरी लिइसकेपछि राजिनामा पारीत गराउने प्रश्न नै नउठने र हरि नारायणलाई कुनै अधिकृत गरी तोकेको देखिएन । जग्गा अधिग्रहणको कारवाही वदर गर्न माग पनि भएको छैन । विवादित जग्गा समेत जग्गा प्राप्ति ऐन, २०३४ वमोजिम अधिग्रहण गरी सेती प्राविधिक शिक्षालय दिपायलले लिएको भन्ने स्पष्ट रुपमा प्रमाणित र पुष्टि भै रहेको देखिंदा लेनदेन व्यवहारको १० नं. वमोजिम वादी दावीको लिखत वदर हुने वा नहुने भन्ने निर्णयबाट परिण्ाँममा कुनै तात्विक असर आउन सक्ने देखिएन त्यस्तो कानुनी दृष्टिमा औचित्यहिन लिखत वदर हुने वा नहुने भनि निर्णय गर्नुपर्ने अवस्था नै प्रस्तुत मुद्दाको सन्दर्भमा विद्यमान देखिन नआएकोले वादी दावी पुग्न सक्ने ठहर्दैन भन्ने समेत शुरु डोटी जिल्ला अदालतको २०५०।१०।२७ को फैसला ।
८. उक्त त्रुटीपूर्ण फैसला वदर गरी हाम्रो हकभोगमा पर्न आउने विवादित जग्गाको हिस्साको लिखत वदर गरी पाउं भन्ने समेत व्यहोराको वादीहरुको पुनरावेदन अदालत दिपायलमा परेको पुनरावेदन ।
९. छलफलको लागि अ.व. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाउने भन्ने २०५१।३।९ गतेको पु.वे.अ. को आदेश ।
१०. घरको मुख्यले घर व्यवहार चलाउन पैतृक सम्पत्ति आाधासम्म विक्रि आफूखुस गर्न पाउने व्यवस्था अंशवण्डाको १९(१) ले गरेकै र लेनदेन व्यवहारको १० नं. ले पनि आफूखुशी गर्न पाउने सम्पत्ति विक्रि गरेकोमा वाहेक अरु सम्पत्ति विक्रि गर्दा सम्म संगोलका अंशियारको मन्जुरी लिनु पर्ने व्यवस्था गरेको र सो अवस्था यस मुद्दामा विद्यमान रहेको नहुंदा शुरु जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने ठहराएको इन्साफ मुनासिव देखिंदा सदर हुने ठहर्छ पुनरावेदन जिकर पुग्न सक्दैन भन्ने समेत व्यहोराको २०५१।९।५।३ मा पुनरावेदन अदालत, दिपायल डोटीबाट भएको फैसला ।
११. एक अंशीको लिखतले ९ अन्य असहमत हुने पक्षको हक जांदैन । विक्रि गरिएको सम्पत्तिको मुल्याकंन गरी सगोलको प्रयोजनार्थ सो विनियोजित गरिएको छैन भने निजको अंश भागबाट अंशवण्डा हुंदा सो कटृा हुने न्यायिक परंपरा नितान्त आवश्यक भएको र यस सन्दर्भमा अंशवण्डा को १० र १९ को व्याख्याको आवश्यकता छ । जग्गा प्राप्ति ऐनको प्रक्रिया पुरा नहुनु नै प्रस्तुत लिखत राजिनामा पारीतमा माध्यमबाट लिइएको, दिइएको प्रमाणित हुन्छ । अलग अलग व्यक्तिले सूचना प्रकाशित गर्नु, सूचनामा कुन ऐनको कुन दफाको प्रयोजनका लागि हो, खुलेको नहुनु राजपत्रमा सूचना नहुनु जस्ता कुराले जग्गा प्राप्ति ऐनको कार्यविधिको पालना नभई जग्गा किनवेचको प्रक्रिया अवलम्वित भएको देखिएको र नजीरको समेत ठाडो उल्लघंन गरी भएको उक्त पुनरावेदन अदालत, दिपायल डोटीको फैसला त्रुटीपूर्ण भएकोले मुद्दा दोहोर्याई पाउं भन्ने समेत व्यहोराको वादीहरुको तर्फबाट यस अदालतमा पर्न आएको निवेदनपत्र ।
१२. यस्मा पुनरावेदन अदालत, दिपायलबाट लेनदेन व्यवहारको १० नं. को त्रुटी गरी फैसला भएको देखिन आएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को त्रुटी विद्यमान हुंदा मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको छ, नियमानुसार गरी पेश गर्नु भन्ने २०५२।११।११।६ मा यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।
१३. यस्मा जग्गा प्राप्ति ऐन, २०३४ वमोजिम कारवाही भएको सम्वन्धित फाइल भिकाई लिई आउनु भनि महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने २०५४।१।२५।४ मा यस अदालत संयुक्त इजलासवाट भएको आदेश ।
१४. यस्मा जग्गा प्राप्ति ऐन, २०३४ वमोजिम कारवाही भएको सम्वन्धित फाइल जिल्ला कार्यालय, डोटी वा डोटी सेती प्राविधिक शिक्षालय, दिपायल जहां छ तहांबाट झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने २०५४।४।२०।२ मा यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।
१५. नियम वमोजिम दैनिक पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक नवराज ओझाको तर्फबाट वहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले विपक्षी छत्रराज मेरो पक्षको दाज्यु हुन । ०४८ साल आश्विण १५ गते मेरो पक्षको दाज्यु दिने र सेती प्राविधिक शिक्षालय लिने गरी भएको पारीत लिखत अनुसारको जग्गामा मेरो पक्षको समेत पारीत गरिएको विभिन्न कि.नं. ३० का जग्गाहरुमा अंशहक लाग्ने हो । उक्त जग्गा लेनदेन गर्दा लेनदेन व्यवहारको १० नं. को विपरीत गरिएको छ । उक्त जग्गा प्राप्त गर्ने सम्वन्धमा पहिले जग्गा प्राप्ति ऐन अनुसार कारवाही उठान गरी पछि आएर राजिनामा पारीत गरिएको छ । जग्गा प्राप्ति ऐन अनुसार उठान भए वमोजिम कारवाही भै जग्गा अधिग्रहण गरिएको भए म समेतले मुआव्जा पाउन सक्दथे र मेरो हक जाने थिएन । जग्गा प्राप्ति ऐनले जग्गावाला १ जना मात्र भएको खण्डमा जे जसरी पनि लिन सकिन्छ । सगोलको परिवार मध्ये १ जनाका नाममा रहेको सम्पत्ति एकजनाकै नाममा रहेकै कारण त्यस्तो व्यक्ति वास्तविक जग्गावाला हुन सक्दैन । विवादित जग्गा पैत्रिक हो भन्ने कुरामा कुनै विवाद नरहेकोले लेनदेन व्यवहारको १० नं. अनुसार मेरो पक्षको हक जति वदर हुनु पर्दछ भनी र सेती प्राविधिक शिक्षालयको तर्फबाट वहसको लागि उपस्थित नायव महान्यायाधिवक्ता श्री वलराम के.सी. ले सेती प्राविधिक शिक्षालयको लागि जग्गा अधिग्रहण गर्नको लागि जग्गा प्राप्ति ऐन, २०३४ अनुसार कारवाही उठान भै सकेपनि सो जग्गा प्राप्ति ऐनको दफा २६ र २७ वमोजिम किन्ने र वेच्नेको वीचमा छलफल र सहमती भएर पनि जग्गा प्राप्त गर्न सकिने भएकाले सेती प्राविधिक शिक्षालयले जग्गा प्राप्ति ऐन अनुसार कारवाही चलिरहेको जग्गा राजिनामा खरिद गरी लिएको कानुनसम्मत नै हुंदा उक्त दफा २६ र २७ को आधारमा पुनरावेदकको पुनरावेदन खारेज हुनु पर्दछ भनि त्यस्तै डोटी सेती प्राविधिक शिक्षालय तथा व्यवसायिक तालीम परिषदको तर्फबाट वहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले शिक्षालयको लागि जग्गा प्राप्ति सम्वन्धमा सर्म्पूण प्रक्रिया जग्गा प्राप्ति ऐन अनुसार गरिएको छ । जग्गा प्राप्ति ऐन अनुसारको सर्म्पूण कार्य भैकन पनि राजिनामा गरी लिने कार्य मात्र वढी भएको देखिन्छ । राजिनामाको लिखत गर्ने उउटा कार्य हो । तर प्रस्तुत राजिनामा शुद्ध लेनदेनको लिखत भने होइन । प्रस्तुत मुद्दामा वढी काम भएकै भन्ने आधारबाट मेरो पक्षको हकमा तात्विक असर पर्नु पर्ने होइन, जग्गा प्राप्ति ऐन, २०३४ को दफा २६ र २७ अनुसार लिने दिनेको मन्जुरी र सहमति वमोजिम जग्गा लिने दिने गर्न मिल्ने नै हुंदा छत्रराज ओझाबाट मेरो पक्षले जग्गा प्राप्ति ऐन अनुसारको कारवाही चलाई राजिनामा खरिद गरी लिएको जग्गा कानुन सम्मत नै भएकोले पुनरावेदन अदालतको फैसला सदर हुनु पर्दछ भनि गर्नु भएको वहस जिकिर समेत सूनियो ।
१६. यस्मा दुवै तर्फका विद्वान अधिवक्ताहरुको वहस जिकिर समेत सूनि पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत, डोटी दिपायलबाट मिति २०५१।९।५।३ मा भएको फैसला मिले नमिलेको के रहेछ ? सो सम्वन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
१७. यस्मा विपक्षी छत्रराज ओझाले अन्य अंशियार समेतको हक लाग्ने डोटी दिपायल न.पा. वडा नं. ७ को विपक्षी छत्रराज ओझाका नाममा रहेको कि.नं. ३० को जग्गाको वाटो कटाई २७-२-२ जग्गा लेनदेन व्यवहारको १० नं. विपरीत गरी विपक्षी डोटी सेती प्राविधिक शिक्षालयलाई राजिनामा गरी दिएकोले उक्त छत्रराम ओझा दिने र डोटी प्राविधिक शिक्षालय लिने गरी मिति २०४८।६।१५ मा भएको लिखत मध्ये १० भागको ९ भाग जग्गाको लिखत वदर गरी पाउं भन्ने समेत वादीको मुख्य दावी जिकिर र जिल्ला कार्यालय, डोटीले यस शिक्षालयका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने वारे ०४५।१२।१७ मा सार्वजनिक सूचना प्रकाशित गरी जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ र १० को प्रक्रिया समेत पुरा गरी विपक्षकिा दाजुको मन्जुरी वमोजिम श्री ५ को सरकारले निर्णय गरी छत्रराज ओझालाई मुआव्जा रकम समेत भुक्तानी गरी सकेको छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ र १० अनुसारको प्रक्रिया पुरा गरेपछि विपक्षीहरुको हक लाग्ने भएमा दफा ११ वमोजिम उजुर दावी गर्नु पर्नेमा नगरेको र उक्त जग्गा लेनदेन व्यवहारको महल अन्तर्गत लिएको नभै जग्गा प्राप्ति ऐन, २०३४ अन्तर्गत लिएको हुंदा वादी दावी खारेज गरी पाउं भन्ने समेत डोटी सेती प्राविधिक शिक्षालयको तर्फबाट र फिरादी नवराज ओझाले मुआव्जा रकम नवुझी वसेको देखिन्छ तापनि निज समेतको हक लाग्ने जग्गा अधिग्रहण गर्नका लागि निजलाई जग्गा प्राप्ति ऐन, २०३४ अन्तर्गतको कार्यविधि अपनाई कारवाही गरी ऐनको दफा ११ अनुसार जग्गा प्राप्त नगर्ने कारण खोली उजुर गर्ने सुविधा समेत दिएकोमा उजुर नगरी लेनदलेन व्यवहारको १० नं. अन्तर्गतको दावि लिई म्याद कायम गरी दिएको फिरादपत्र खारेज गरी पाउं भन्ने प्र. छत्रराज ओझाको मुख्य प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतले वादी दावी नपुग्ने ठहर गरी गरेको २०५०।१०।२७।४ को फैसला उपर वादी नवराज ओझा समेतका जना ८ ले पुनरावेदन अदालत दिपायल डोटीमा पुनरावेदन दिएकोमा पु.वे.अ. वाट शुरु फैसला सदर गरी भएको फैसला उपर नवराज ओझा सहित जना ४ को मुद्दा दोहर्याई पाउं भनी यस अदालतमा निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदनको लगतमा दायर हुन आएको प्रस्तुत मुद्दामा फिराद पत्रमा उल्लेखित डोटी सेती प्राविधिक शिक्षालयलाई राजिनामा पारीत गरी दिनु पुर्व उक्त जग्गा फिरादवाला नवराज ओझा समेत र प्रतिवादी छत्रराज ओझा समेतको हक भोगमा रहे भएको र छत्रराज ओझाको नाममा रहेको भन्ने कुरामा दुवै पक्षको मुख मिलेकै देखिन आउंछ । तर जहांसम्म उक्त जग्गा विपक्षी डोटी सेती प्राविधिक शिक्षालयले प्रचलित जग्गा प्राप्ति ऐन, २०३४ अनुसारको कारवाई अपनाई लिनु पर्नेमा लेनदेन व्यवहारको महलको १० नं. वमोजिम राजिनामा पारीत गरी लिई राजिनामा पारीत गरी लिंदा लेनदेन व्यवहारको १० नं.. अनुसार आफूखुशी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघर संगका अंशियार सवै साक्षी वसेको र मन्जुरी लिखत गरेको भए मात्र पक्का ठहर्छ भन्ने कानुनी व्यवस्था भएकोमा विपक्षी डोटी सेती प्राविधिक शिक्षालयले सो अनुसार नगरी पुनरावेदकको समेत हक खरिद गरी लिएको हदसम्मको लिखत वदर हुनु पर्दछ भन्ने पुनरावेदन जिकिर रहेको छ, सो सम्वन्धमा सर्वप्रथम यी वादी नवराज ओझा समेत र प्रतिवादी छत्रराज ओझा समेतको हकको जग्गा डोटी सेती प्राविधिक शिक्षालयलाई आवश्यक पर्ने भएकोले अधिग्रहण गर्ने भन्ने कुराको सूचना ०४५।१२।२७ मा प्रकाशित भए अनुरुप वादी नवराज ओझा समेतको हक लाग्ने प्रतिवादी छत्रराज ओझाको नाममा रहेको दिपायल न.पा.वा.नं. ७ कि.नं. ३० को क्षेत्रफल ३१-९-३-० मध्ये सडक कटँई वांकी क्षेत्रफल २७-२-२-२ जग्गा र सो जग्गामा रहेको पक्कि घर १ समेतको मुआव्जा छात्रराज ओझालाई भुक्तानी गर्ने व्यवस्था गरी निजका नामको जग्गा र घर निजको नाउंबाट कटृा गरी डोटी सेती प्राविधिक शिक्षालयको नाममा दर्ता गरी दिनु भनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद सेती प्राविधिक शिक्षालय दिपायलले मालापोत कार्यालय, सिलगढी डोटीलाई लेखेको प.सं. ०४८।४९ च.नं. ११६ मिति ०४८।६।१३ को पत्रानुसार मिति ०४८।६।१४ मा दिने जग्गाधनी छत्रराज ओझा र लिने सेती प्राविधिक शिक्षालय दिपायल डोटीका तर्फबाट प्रतिनिधि ता. हरिनारायण श्रेष्ठ भै मिति २०४८।६।१५ गतेका दिन मालपोत कार्यालय, डोटीको र.नं. १२५ वाट राजिनामा पारीत गरी दिए लिए उपर वा वादीले लेनदेन व्यवहारको १० नं. लाई आधार बनाई सो नं. मा उल्लेख भएको हदम्याद समाई शुरु जि.अ.मा फिराद पर्न आएको देखिन्छ । डोटी सेती प्राविधिक शिक्षालयको प्रतिउत्तर लेखाई वमोजिम उक्त कि.नं. ३० को जग्गामा विपक्षी प्राविधिक शिक्षालयले पक्की घरहरु निर्माण भै रहेको भन्ने कुरा पनि देखिन आउंछ । तर यी वादीको उक्त घर निर्माण भए उपर घर बनाउनेको महलको ११ नं. वमोजिम नालेश पर्न आएको अवस्था पनि देखिदैन । उक्त वादी दावीको जग्गा सेती प्राविधिक शिक्षालय डोटी दिपायलको लागि अधिग्रहण गर्ने गरी मिति २०४५।१२।२७ मा जग्गा प्राप्ति ऐन, २०३४ अनुसार र सूचना प्रकाशित भै सोही कारवाहीको क्रममा ०४८।६।११ मा मुल्य निर्धारण समेत भै सकेको स्थिति देखिन्छ । तर वादीले उक्त जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरी कारवाई गरे उपर जग्गा प्राप्ति ऐन, २०३४ को दफा ११ अनुसार तोकिएको अधिकारी समक्ष उजुर नगरी केवल ०४९।५।१० मा आएर प्रस्तुत मुद्दा दायर गरेको पाइन्छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा २७ अनुसार यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि श्री ५ को सरकारले सार्वजनिक कामको लागि कुनै जग्गा सम्वन्धित जग्गावालासित वार्ताद्वारा प्राप्त गर्न सक्ने र त्यसरी वार्ताद्वारा प्राप्त गर्दा यस ऐनमा लेखिएको अरु रीत पुर्याई रहनु पर्ने छैन भनि स्पष्ट व्यवस्था हुनुको साथै ऐ.को दफा २६ मा पनि श्री ५ को सरकारले कुनै जग्गा सार्वजनिक काममा लगाइसकेकोमा त्यस्तो जग्गा यस ऐनको रीत पुर्याई प्राप्त नगरिएको भएतापनि सम्वन्धित जग्गावालाले मन्जुरी गरेको अवस्थामा यस ऐन वमोजिम क्षतिपुर्ति वा मुआव्जा निर्धारण गरिएपछि सो जग्गा यस ऐन वमोजिम प्राप्त भए सरह मानिनेछ भन्ने व्यवस्था भएवाट प्रस्तुत वादी दावी वमोजिमको जग्गा जग्गा प्राप्ति ऐन, २०३४ अनुसारको कारवाही उठान भै सकेपछि अन्य प्रकृयाद्वारा जग्गा प्राप्त गरेको कार्यलाई जग्गा प्राप्ति ऐन, २०३४ विपरीत भएको भनी मान्न पनि मिल्दैन । अव वादीको समेत हक लाग्ने जग्गा वादीको मन्जुरी नलिई विपक्षी छत्रराज ओझाले विपक्षी मध्येका सेती प्राविधिक शिक्षालयलाई विक्री गर्ने र सेती प्राविधिक शिक्षालयले पनि अन्य अंशियार ( वादीहरु ) को मन्जुरी लिनुपर्ने भन्ने जुन फिराद दावी छ सो सम्वन्धमा विचार गर्दा वादीले दावी गरेको जग्गा विपक्षी सेती प्राविधिक शिक्षालयले शुद्ध लेनदेन व्यवहारको महल वमोजिमको प्रकृयालाई मात्र पुरा गरी लिएको भन्ने कुरा देखिन आउदैन । जिल्ला प्रशासन कार्यालयले सेती प्राविधिक शिक्षालयका लागि वादी दावीको जग्गा अधिग्रहण गर्ने गरी प्रकाशित सूचना एवं सो अनुरुप जग्गा प्राप्ति ऐन, २०३४ अनुसार भए गरिएका अन्य काम कारवाही उपर यी पुनरावेदक समेतले जग्गा प्राप्ति ऐनको दफा ११ ले तोकि दिएको म्यादभित्र कुनै उजुर वाजुर गर्न सकेको देखिदैन । प्रतिवादी छत्रराज ओझाले आफ्नो प्रतिउत्तरमा मुआव्जा वापत प्राप्त जग्गाको रकम भाइहरुलाई दिएको, तर नवराज ओझाले वुझि लिन नमानेको हो भनी उल्लेख गरेको पाइन्छ । प्रस्तुत मुद्दामा शुरुमा नवराज ओझा सहित ९ जनाको फिराद परेको भएपनि पुनरावेदन अदालतमा ८ जनाको मात्र र सर्वोच्च अदालतमा ४ जनाले मात्र पुनरावेदन दायर गरी अन्य प्रतिवादीहरुले शुरु एवं पुनरावेदन अदालतको फैसलामा चित्त बुझाई वसेको स्थिति पनि देखिन आउंछ । उपरोक्त कारण एवं आधार प्रमाणबाट वादी दावी वमोजिम प्रतिवादी छत्रराजबाट मिति २०४८।६।१५ मा प्रतिवादी मध्येका डोटी सेती प्राविधिक शिक्षालयलाई राजिनामा पारीत गरी दिएको लिखत वदर हुन नसक्ने ठहर गरी शुरु डोटी जिल्ला अदालतले गरेको फैसला सदर गरेको पुनरावेदन अदालत दिपायल डोटी को मिति २०५१।९।५।३ को फैसला मुल रुपमा मिलेकै देखिंदा सदर हुने ठहर्छ । तर पुनरावेदन अदालत डोटीले प्रस्तुत मुद्दाको ठहर निष्कर्षमा मुलुकी ऐन अंशवण्डाको महलको १९ नं. प्रयोग गरी प्र. छत्रराज ओझा घरको मुख्य भै कामकाज गर्ने भएको र त्यस्तो व्यक्तिले अचलमा आधासम्म घर व्यवहार चलाउनका लागि आधा सम्पत्ति आफूखुश गर्न पाउंछ भन्ने कुरा उल्लेख गरेको सन्दर्भमा भने सो १९ नं. को कानुनी व्यवस्था हेर्दा अंश नलिएका स्वास्नी छोरा वा विधवा वहारी भनी उल्लेख भै उक्त नंवरमा एकासगोलका अन्य अंशियार अर्थात दाजु भाईको सम्वन्धमा कुनै कुरा उल्लेख नभएको हुंदा सो नं.. लाई समेत उल्लेख गरी निर्णयाधार वूंदाको रुपमा ग्रहण गरी भएको फैसला मिलेको देखिन आएन । तर शुरु फैसलामा तात्विक असर नपर्ने गरी सो शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत, डोटीको मिति २०५१।९।५।३ को फैसला मिलेकै देखिंदा सदर हुन्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. कृष्ण कुमार वर्मा
इति संवत् २०५६ साल आषाढ १४ गते रोज शुभम् ..................................... ।