निर्णय नं. ६८१२ - वाली दिलाई मोही निष्काशन

निर्णय नं. ६८१२ ने.का.प. २०५६ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा
संवत् २०५२ सालको दे.पु.नं. .. ३०२१
फैसला मिति : २०५५।१२।१५।२
मुद्दा : वाली दिलाई मोही निष्काशन ।
पुनरावेदक
वादीः जिल्ला पर्सा हरपतगंज गा.वि.स. वडा नं. ८ वस्ने रामानन्द राउत वरै
विरुद्ध
विपक्षी
प्रतिवादीः जिल्ला पर्सा भवानीपुर गा.वि.स. वडा नं. २ वस्ने रघूवर साह कानु मरी मु.स. गर्ने रामेश्वर प्रसाद साह कानु
§ वादीको वावु प्रेम राउत वरैको नाममा दर्ता रहेको उक्त कि.नं. ४९ र ५ को जग्गा वावुको मृत्यु पछि छोराले सो जग्गाको वाली भराई पाउन दावी लिएकोमा वादीले सो जग्गाको वाली भरी पाउने ठहरिएको फैसला कायमै रहेको देखिन्छ । यसवाट वावुको मृत्युपछि छोराको हक सो जग्गामा स्थापित भएको छैन भन्न मिल्ने नदेखिंदा वावुको नामबाट छोराको नाममा जग्गा नामसारी भइ नसकेको भन्ने आधारमा मात्र मोही निष्काशन नहुने ठहर्याएको हद सम्मको पुनरावेदन अदालत, हेटौंडाको इन्साफ नमिलेकोले उल्टी भइ मोही निष्काशन समेत हुने ।
(प्र.नं. १२)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंह
प्रत्यर्थी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेव प्रसाद यादव
अवलम्वित नजीर :
फैसला
न्या.राजेन्द्रराज नांख्वा : पुनरावेदन अदालत हेटौंडाबाट २०५१।२।२६ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् र निर्णय यस प्रकार छ ।
२. मेरो स्वर्गिय पिता प्रेम राउत वरैको नाममा रहेको गा.पं. भवानीपुर वडा नं. २ कि.नं. ४९ को ज.वि. ०-१६-५ ऐ. वडा नं. १ कि.नं. ५ को ज.वि. ०-९-० समेतको मोही प्रतिवादी भई जग्गा जोती कमाइ आउनु भएकोमा यो २०४१ सालको वाली मलाई पनि दिनु भएन, अन्यत्र घरौटी समेत नराखेकोले उक्त जग्गाको कुत वाली धान मन १४।।०।।।० को प्रतिमन रु.८७। का दरले रु.१२६२ विगो भराइ मोही समेत निष्काशन गरी पाउं भन्ने वादीको उजुरी पत्र । प्रतिवादीका नाममा म्याद तामेल भइ आएकोमा म्यादभित्र प्रतिउत्तर नपरी शुरु म्याद गुजारी वस्ने मोही भएकोले वादी दावी अनुसार वाली मात्र भरी पाउने ठहरी मिति २०४३।१२।१६ मा भूमिसुधार कार्यालय पर्सावाट भएको फैसला ।
३. उक्त फैसला उपर चित्त नवुझी ना.अं.अ. मा वादी जग्गाधनिले पुनरावेदन गरी मिति २०४३।१२।१६ मा भूमि सुधार कार्यालय पर्साबाट भएको फैसला अ.वं. १९२ नं. वमोजिम कानुनी त्रुटी देखिएकोले कानुनी रीत पुर्याई यसै मिसिलबाट अव जे जो वुझ्नू पर्ने वुझी मोही निष्काशन तर्फ समेत वादी दावी पुग्ने नपुग्ने के रहेछ सो तर्फ समेत वोली इन्साफ गर्नु भनि तारेखमा रहेका पक्ष विपक्षीलाई शुरु भूमि सुधार कार्यालय पर्सामा मिसिल पठाइ दिने गरी शुरु भूमि सुधार कार्यालय पर्साको फैसला वदर गरीएको छ भनि मिति २०४५।६।१६।१ मा नारायणी अंचल अदालतमा फैसला भइ पक्ष्ँ विपक्षी वीच मुद्दा परी आएको रहेछ ।
४. दावीको जग्गाबाट प्रतिवादीको मोही हक भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम निष्काशन हुने ठहर्छ । भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(३) वमोजिम दावीको सालको वाली समेत भराइ लिन पाउने ठहर्छ भन्ने शुरु भूमि प्रशासन कार्यालय पर्साको मिति २०४८।९।१२ को फैसला ।
५. शुरु भूमि सुधार कार्यालय, पर्साको मिति २०४८।९।१२ गतेको फैसलाले दावीको जग्गावाट प्रतिवादीको मोही हक निष्काशन हुने र वाली समेत भराइ पाउने गरी भए गरेको इन्साफ न्याय संगत नहुंदा उक्त फैसला वदर गरी मेरो दावी अनुसारको अर्को इन्साफ गरी पाउं भन्ने पुनरावेदन जिकिर ।
६. यसमा यसै लगाउको दे.पु.नं. १९२५ को मुद्दामा २०४२ सालको हकमा अ.वं. २०२ नं. वमोजिम झगडिया झिकाएकोले प्रस्तुत २०४१ सालको मुद्दा देखिंदा यसमा पनि अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी वादीलाइ झिकाइ आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत, हेटौंडाको मिति २०४९।५।३० गतेको आदेश ।
७. साविक जग्गा धनिका नामवाट हालको जग्गा धनिका नाममा जग्गा नामसारी भइसकेको नदेखिएको अवस्थामा प्रतिवादीको कानून भनिएका जग्गा धनी नै कानूनले निर्दिष्ट गरेको व्यक्ति प्रमाणित भइसकेको नदेखिएको हुंदा कुत नवुझाएको भनि मोही निष्कासन हुने ठहर्याएको शुरु भूमि सुधार कार्यालय, पर्साको इन्साफ मिलेको नदेखिंदा सवुद प्रमाणको अभावमा मोही निष्कासन हुने ठहर्याएको हदसम्म केही उल्टी हुने ठहर्छ कुत वाली वुझाउन नपर्ने भन्ने पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको फैसला ।
८. पुनरावेदन अदालतबाट भएको उपरोक्त फैसलामा चित्त वुझेन, वाली मात्र भराइ मोही निष्काशन नहुने ठहर्याएको फैसला अ.वं. १९२ नं. तथा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९ को प्रतिकुल भइ त्रुटीपूर्ण भएकोले उक्त फैसला उल्टाइ शुरु इन्साफ सदर गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदक वादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
९. वावुको मृत्यु पश्चात छोराको हक हुने अवस्थामा जग्गा नामसारी नभएको कारणले मात्र जग्गाधनी नहुने भनि मोही निष्काशन नगर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाइ पेश गर्नु भन्ने यस अदालतका मा.न्या. लक्ष्मणप्रसाद अर्याल र मा.न्या. इन्द्रराज पाण्डेवाट भएको आदेश ।
१०. नियम वमोजिम पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंहले विपक्षी प्रतिवादीले २०४१ सालको वाली वुझाउन नल्याएको हुंदा उक्त सालको वाली भराइ मोहीबाट निष्काशन हुनु पर्नेमा वादी प्रतिवादीका वावु मरेको कारणले कानून वमोजिम नामसारीको प्रक्रिया पुरा नगरेको भन्ने आधारमा मोही निष्काशन तर्फ उल्टी गरेको पुनरावेदन अदालत हेटौंडाको इन्साफ त्रुटीपूर्ण हुंदा सो फैसला वदर गरी शुरु भूमि सुधार कार्यालयको फैसला कायम हुनु पर्छ भनि र प्रतिवादी रामेश्वर प्रसाद साह कानु तर्फका विद्वान अधिवक्ता श्री महादेव प्रसाद यादवले विपक्षीले विवादित साल भन्दा अघि र पछि वाली वुझ्दै आउनु भएको छ, वुझ्न नमानेको वाली भूमि प्रशासन कार्यालयमा धरौटी राखेको स्थिति छ । दावी पनि किटानी छैन । भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९ मात्र भनेर पुग्दैन उक्त दफाको उपदफा (१) र (३) समेत स्पष्ट रुपमा किटानी हुनुपर्नेमा सो नभएको समेत आधारमा पुनरावेदन अदालत, हेटौंडाको इन्साफ सदर हुनु पर्छ भनि गर्नु भएको वहस समेत सुनियो । दुवै पक्षका कानून व्यवसायीको वहस जिकिर एवं इजलाश समक्ष प्राप्त शुरु र रेर्कड मिसिल समेत अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत हेटौंडाबाट भएको इन्साफ मिले नमिले तर्फ विचार गर्नु पर्ने हुन आयो ।
११. यसमा विपक्षी मोहीले २०४१ सालको कुत वाली नवुझाएकोले मोही निष्काशन गरी कुत वाली समेत भराइ पाउं भनि उजुरी परेकोमा शुरु भूमि सुधार कार्यालयले मोही निष्काशन गरी कुत वाली समेत भराइ दिने गरी निर्णय गरे उपर पुनरावेदन पर्दा मोही निष्काशनतर्फ उल्टी गरेकोले सो उपर वादीको यस अदालतमा पुनरावेदन परी वावुको मृत्यु पश्चात छोराको हक हुने अवस्थामा जग्गा नामसारी नभएको कारणले मात्र जग्गाधनि नहुने भनि मोही निष्काशन नगर्ने गरेको पुनरावेदन अदालतको फैसला फरक पर्न सक्ने भन्ने आधारमा विपक्षी झिकाउने आदेश भइरहेको देखिन आउंछ । कुत वाली भराउने तर्फ वादीको पुनरावेदन नभएकोले त्यसतर्फ विचार गरी रहन परेन । मोही निष्काशन नगर्ने तर्फ गरेको निर्णय उपर वादीको पुनरावेदन परी आएकोले त्यसतर्फ विचार गर्दा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम दैवी परी वाली नास भएमा वा उव्जा हुन नसकेमा वाहेक मोहीले कुत वुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्ने छ भन्ने व्यवस्था रहेको देखिन्छ । प्रस्तुत मुद्दामा विपक्षी मोहीले आफूले उक्त विवादित सालमा दैवी परी वाली नास भएको वा उव्जाउ हुन नसकेको भन्ने कुरालाई समर्थन हुने गरी खण्डन गर्न वा कुनै प्रमाण पुर्याउन सकेको देखिदैन । प्रतिवादीका नाममा म्याद तामेल हुंदा प्रत्यूत्तरको म्याद गुजारी वादी दावीलाई स्वीकार गरी वसेको समेत देखिन आउंछ । उक्त साल भन्दा अगाडि वा पछाडिको वाली वुझाउन खोज्दा जग्गाधनीले लिन नमानेकोले भूमि प्रशासन कार्यालयमा घरौटी राखेको भन्ने जिकिर वहसको क्रममा विपक्षीतर्फका कानून व्यवसायीले लिनु भएको भएपनि विवादित सालको कुत वाली वुझाउन नसक्नाका स्पष्ट आधार र कारणहरु मध्ये विपक्षीबाट प्रस्तुत हुन आएको समेत देखिदैन ।
वादीको वावु प्रेम राउत वरैको नाममा दर्ता रहेको उक्त कि.नं. ४९ र ५ को जग्गा वावुको मृत्यु पछि छोराले सो जग्गाको वाली भराई पाउन दावी लिएकोमा वादीले सो जग्गाको वाली भरी पाउने ठहरिएको फैसला कायमै रहेको देखिन्छ । यसवाट वावुको मृत्युपछि छोराको हक सो जग्गामा स्थापित भएको छैन भन्न मिल्ने नदेखिंदा वावुको नामबाट छोराको नाममा जग्गा नामसारी भइ नसकेको भन्ने आधारमा मात्र मोही निष्काशन नहुने ठहर्याएको हद सम्मको पुनरावेदन अदालत, हेटौंडाको इन्साफ नमिलेकोले उल्टी भइ मोही निष्काशन समेत हुने ठहर्छ । सो वमोजिमको लगत भूमि सुधार कार्यालय, पर्सालाई दिनु । मिसिल नियमानुसार गरी वुझाइ दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. केदारनाथ उपाध्याय
इति संवत् २०५५ साल चैत्र १५ गते रोज २ शुभम् ............................. ।