निर्णय नं. ६८१३ - जग्गा हक कायम दर्ता वदर

निर्णय नं. ६८१३ ने.का.प. २०५६ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री हरिश्चन्द्र्रप्रसाद उपाध्याय
संवत् २०५२ सालको दे.पु.नं. .. २९००
फैसला मिति : २०५६।२।१७।२
मुद्दा : जग्गा हक कायम दर्ता वदर ।
पुनरावेदक
वादीः लमजुङ जिल्ला गाउं शहर गा.वि.स. वडा नं. ६ वस्ने देव वहादुर वोहरा
विरुद्ध
विपक्षी
प्रतिवादीः ऐ.ऐ. वस्ने सन्त कुमारी वोहरा समेत
§ गुठी संस्थान कालिका गुठीका नाममा अस्थायी दर्ता गर्ने गरेको सम्वन्धमा वादीले नालिस दिंदा गुठीलाई प्रतिवादी बनाउनु पर्नेमा नवनाएको मिलेको नदेखिएको र अ.वं. १३९ नं. वमोजिम गुठी प्रतिवादी भएको अवस्थामा पनि गुठी संस्थान ऐन, २०३३ को दफा ६२ ले तत्कालीन अन्चल अदालतवाट प्रस्तुत मुद्दा कारवाही र किनारा गरिनु पर्ने अवस्थाको देखिएको छ । उपरोक्त आधारमा अधिकार क्षेत्र विहिन लमजुङ जिल्ला अदालतमा गुठीको मोही सन्त कुमारी उपर दिएको नालेसबाट इन्साफ गर्न नमिल्ने नै देखिंदा वादी दावी खारेज हुने ठहर गरी भएको पुनरावेदन अदालत पोखराको फैसला मिलेको देखिंदा मनासिव ठहर्ने ।
(प्र.नं.१६)
पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री यज्ञमुर्ति वन्जाडे
प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री लिलेन्द्र कडेल
अवलम्वित नजीर :
फैसला
न्या.कृष्णजंग रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) अन्र्तगत दोहर्याउने निस्सा पाई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।
२. होम वहादुर वोहोरा जिम्मा १९९० सालमा सन्त वहादुरको दर्ता दाजु भाई भिन्न हुंदा पिताजी शेर वहादुरका अंश भागमा परी वावु परलोक भई हामी दाजुभाई वीच भिन्न हुंदा मेरो अंशमा परेको माटो मुरी ।७।१० मध्ये पुर्व डिल पश्चिम लाल वहादुरको खेत दक्षिण सन्त वहादुरको खेत उत्तर आमा कपालीको खेत समेत ४ किल्ला भित्रको साविक माटो मुरी ४ को तीस मुरे आमवोटे खेत मेरो अंश भागमा परी हकभोग गरी आएको थिए । हाल सर्वे नापी हुंदाका वखत उपस्थित भइ कित्ताकांट गराउन नसकेको कारणवाट विपक्षीले पश्चिम उत्तर तर्फको अलिकति जग्गा मात्र कि.नं. ३६८ मा मेरो नाउंमा कित्ताकांट गराइ बांकी पुर्व तर्फको पुर्व डिल पश्चिम लाल वहादुरको खेत उत्तर मेरो वांकी जग्गा दक्षिण सन्त वहादुरको खेत यति चार किल्ला भित्रको करीव माटो मुरी ।३ को जग्गा विपक्षीका लोग्ने धन वहादुरले मेरो रैकरको जग्गा गुठी वनाइ खाने उद्देश्यबाट कि.नं. ३६७ मा लमजुङ कालिकाको गुठी बनाइ गुठीमा कित्ताकांट गराउनु भइ गुठी दर्ता गर्ने गरेको ६ नं. नापी गोश्वाराको निर्णय पर्चा वदर गरी विवादित जग्गामा मेरो हक कायम गराइ मेरो नाउंमा दर्ता गराइ पाउं भन्ने समेत व्यहोराको फिराद पत्र रहेछ ।
३. कि.नं.३६९ मा दर्ता भएको जग्गा मेरो रैकरको जग्गा हो रैकरको दर्ता प्रमाण र तालूकदार समेतको भनाइको आधारमा मेरो रैकर जग्गा हुनाले लोग्ने धन वहादुरका नाउंमा रैकरमा दर्ता भएको हो । गुठीलाइ रैकरमा परिणत गरी दर्ता गराउनु भएको छैन । विपक्षीको रैकर जग्गालाई गुठी भनि आफुलाई मोही कायम गरी गुठी जग्गा रैकरमा आफ्ना नाउंमा दर्ता गराएको भए विवादित जग्गामा दावि उजुर गर्दा कि.नं. ३६९ मा पनि गुठीमा परिणत गरी पाउं भनि तत्काल उजुर गर्ने थिए सो नसकेबाट विवादित कि.नं. ३६७ को जग्गा गुठी हो र कि.नं. ३६९ को जग्गा गुठी होइन भन्ने स्पष्ट छ । विवादित जग्गा दोहोरो खान्कीको जग्गा हो भन्ने कुरा दर्ता उतारले प्रमाणित गर्दछ । अतः वादी दावा झुठा हो कि.नं. ३६७ को जग्गा लमजुङ कालिका गुठी कायम गरी पाउं भन्ने झुठा वादी दाविबाट फुर्सद गराइ पाउं भन्ने समेत प्रतिउत्तर पत्र रहेछ ।
४. मेरो रैकरको जग्गा गुठीमा नाप नक्सा गराए भन्ने वादी दावी पुग्न सक्तैन, वादी दावा झुठा ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४५।३।७ को शुरु लमजुङ जिल्ला अदालतको फैसला ।
५. लमजुङ जिल्ला अदालतको उक्त फैसला उपर गण्डकी अंचल अदालतमा पुनरावेदन परी गुठी संस्थान नवुझी दर्ता किल्लाको विषयमा विवेचना नै नगरी गरेको २०४५।३।७ को लमजुङ जिल्ला अदालतको फैसला वदर गरी दिएको छ । गुठी संस्थान समेत वुझी पुनः ठहर निर्णय गर्नु भनि शुरु लमजुङ जिल्ला अदालतमा मिसिल पठाउने ठहराएको गण्डकी अंचल अदालतको मिति २०४६।५।१३ को फैसला ।
६. उक्त जग्गा गुठी नै हो भन्ने समेत व्यहोराको गुठी संस्थानको प्रतिनिधि मालपोत कार्यालय लमजुङका खरिदार तारानाथ वसौलाको वयान ।
७. विवादित जग्गाको क्षेत्रीय किताव उतारको प्रतिलिपि जिल्ला डोरबाट भएको नक्सा मुचूल्का मिसिल सामेल रहेछ ।
८. विवादित कि.नं. ३६७ को जग्गा वादीको दावि अनुसार रैकर भन्ने देखिन नआइ गुठी लगत समेतबाट कालिका माइको गुठी जग्गा भन्ने देखिन आएकोले विवादित जग्गाको दर्ता वदर गरी हक कायम गरी पाउं भन्ने वादी दावि पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु लमजुङ जिल्ला अदालतको मिति २०४८।९।६३।३ को फैसला ।
९. लमजुङ जिल्ला अदालतको फैसलामा चित्त वुझेन यसर्थ सो त्रुटीपूर्ण फैसला वदर गरी मेरो फिराद दावि वमोजिम सर्वे नापिको कि.नं. ३६७ मा मेरो हक कायम गरी कालिका गुठीका नाउंमा भएको अस्थायी दर्ता वदर गरी मेरा नाउंमा स्थायी दर्ता गर्ने निर्णय गरी पाउं भन्ने समेत व्यहोराको वादी देव वहादुर वोहोराको पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन।
१०. वादीले प्रमाण दिई आधार लिएको १९९० सालको दर्ताको ४ किल्लाभित्र नै २०४८।५।१९ मा भइ आएको विवादित न.नं. १३ मिल्न भिड्न आएको अवस्था देखिएको र १९९४ सालको गुठीको लगत र २०१९ सालको गुठीको लगतको चार किल्ला न.नं. ६,१२,१५ समेतका उत्तर पश्चिम र दक्षिणका किल्लाहरु मुलतः भिड्न आएको अवस्था नदेखिंदा यस्तो परिप्रेक्ष्यमा वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको फैसला मनासिव देखिन नआएकोले अ.वं. २०२ नं. समेत वमोजिम विपक्षीलाई झिकाइ पेश गर्नु भन्ने पुनरावेदन अदालत पोखराको आदेश ।
११. केवल गुठीको मोही सन्त कुमारी उपर दिएको नालेसबाट इन्साफ गर्न नमिल्ने भएकोले फिराद खारेज गर्नुपर्नेमा इन्साफ गरेको शुरु लमजुङ जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा वदर हुन्छ । प्रस्तुत मुद्दा अधिकार क्षेत्र विहिन अदालतमा उचित पक्षलाई प्रतिवादी नबनाई दायर गरेकोले खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको मिति २०५०।६।२६ को फैसला ।
१२. पुनरावेदन अदालत पोखराले खारेज हुने ठहर्याई गरेको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को त्रुटी रहेकोले मुद्दा दोहोर्याइ हेरी पाउं भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको निवेदन ।
१३. यसमा नापीमा मुल रुपमा देव वहादुर र सन्त कुमारीको वीचमा विवाद उठेको देखिंदा अधिकार विहिन अदालतमा उचित पक्षलाई प्रतिवादी नगराइ दायर गरेको खारेज हुने ठहर्याएको पुनरावेदन अदालत पोखराको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(क) को त्रुटी देखिंदा दोहर्याइ दिने निस्सा गरी दिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५२।३।१६ को आदेश ।
१४. नियम वमोजिम दैनिक पेशी सुचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री यज्ञमुर्ति वन्जाडेले पुनरावेदन अदालतले फिराद दावी खारेज गर्ने गरेको फैसला ऐन कानुन वमोजिम मिलेको नभइ त्रुटीपूर्णं हुंदा उक्त फैसला उल्टी गरी वादी दावी वमोजिम गरी पाउं भन्ने र प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लिलेन्द्र कंडेलले कालिका गुठीका नाममा दर्ता भएको जग्गाको सम्वन्धमा उक्त गुठीलाई प्रतिवादी नै नवनाई क्षेत्राधिकार विहिन अदालतमा गरेको फिराद दावि खारेज गरेको पुनरावेदन अदालतको फैसला मिलेकै हुंदा सदर कायम नै हुनु पर्छ भनि गर्नु भएको वहस जिकिर समेत सूनी पुनरावेदन अदालत पोखराबाट भएको फैसला मिलेको वा नमिलेको सम्वन्धमा निर्णय दिनु पर्ने देखियो ।
१५. निर्णय तर्फ विचार गर्दा मेरो अंश भागमा परी हक भोगमा रहेको रैकर जग्गालाई विपक्षीहरुले गुठीको जग्गा बनाइ कि.नं. ३६७ मा लमजुङ कालिका गुठीका नाममा कित्ताकाट गराइ गुठीमा दर्ता गरेको नापी गोश्वराको निर्णय पर्चा वदर गरी हक कायम गरी दर्ता गरी पाउं भन्ने वादी दावी र फिराद दावी झुठा हो, कि.नं. ३६७ को जग्गा विपक्ष्ँीको नभइ गुठीको हुंदा लमजुङ कालिका गैठीको नाममा कायम गरी पाउं भन्ने समेत प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने ठहर गरी भएको फैसला उपर वादीको पुनरावेदन अदालत पोखरामा पुनरावेदन पर्दा वादी दावि खारेज हुने ठहर्याई भएको पुनरावेदन अदालत पोखराको फैसला उपर वादीको यस अदालतमा दोहर्याउने निस्सा माग हुंदा निस्सा प्रदान भै दर्ता भएको देखिन्छ ।
१६. यसमा प्रस्तुत विवादित कि.नं. ३६७ को जग्गा नापि गोश्वारा ६ नं. नापि टोलीवाट लमजुङ कालिका गुठी गाउं शहरको नाममा अस्थायी दर्ता गरी तेरो मेरो विवादमा चित्त नबुझे अदालतमा जानु भनि मिति २०४३।१२।२० मा निर्णय भएको पाइन्छ । गुठी संस्थान कालिका गुठीका नाममा उक्त जग्गा अस्थायी दर्ता गर्ने नापि टोलीको निर्णय उपर वादीले नालिस गर्दा उक्त लमजुङ कालिका गुठीलाई प्रतिवादी नबनाइ सो गुठीका मोही सन्त कुमारीलाई मात्र प्रतिवादी बनाइ दावि लिएको देखिन्छ । जसको नामको दर्ता हो सो व्यक्तिलाइ प्रतिवादी बनाइ फिराद दर्ता गर्न सकेको पाइदैन । गण्डकी अंचल अदालत पोखराको मिति २०४६।५।१ को फैसला वमोजिम लमजुङ जिल्ला अदालतबाट गुठी संस्थान कालिका गुठीका प्रतिनिधिलाई वुझी मिति २०४७।१२।४ मा वयान गराइ तारेखमा राख्ने आदेश समेत भएको देखिन्छ । गुठी संस्थान कालिका गुठीका नाममा अस्थायी दर्ता गर्ने गरेको सम्वन्धमा वादीले नालिस दिंदा गुठीलाई प्रतिवादी बनाउनु पर्नेमा नवनाएको मिलेको नदेखिएको र अ.वं. १३९ नं. वमोजिम गुठी प्रतिवादी भएको अवस्थामा पनि गुठी संस्थान ऐन, २०३३ को दफा ६२ ले तत्कालीन अन्चल अदालतवाट प्रस्तुत मुद्दा कारवाही र किनारा गरिनु पर्ने अवस्थाको देखिएको छ । उपरोक्त आधारमा अधिकार क्षेत्र विहिन लमजुङ जिल्ला अदालतमा गुठीको मोही सन्त कुमारी उपर दिएको नालेसबाट इन्साफ गर्न नमिल्ने नै देखिंदा वादी दावी खारेज हुने ठहर गरी भएको पुनरावेदन अदालत पोखराको फैसला मिलेको देखिंदा मनासिव ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरी लगत कटृा गरी मिसिल नियमानुसार वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय
इति संवत् २०५६ साल जेष्ठ १७ गते रोज २ शुभम् ........................................ ।