शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८१४ - लिखत वदर

भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११

निर्णय नं. ६८१४     ने.का.प. २०५६ अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री हरिश्चन्द्र्रप्रसाद उपाध्याय

संवत् २०५१ सालको विविध नं. .. १४८

फैसला मिति : २०५६।५।१४।२

 

मुद्दा : लिखत वदर ।

 

विन्तिपत्रवाला

वादीः जिल्ला चितवन खैरहनी गा.वि.स. वार्ड नं. ६ वस्ने कृष्ण प्रसाद थपलिया

विरुद्ध

विपक्षी

प्रतिवादीः ऐ कठार गा.वि.स. वार्ड नं.८ सुण्डी वस्ने श्याम प्रसाद उप्रेती

 

§  मुलुकी ऐन जग्गा मिच्नेको ९ नं. ले रोक्का भएको जग्गा लिन दिन नहुने र लिनुदिनु गरेकोमा मर्का पर्नेले नालिस गरी वदर गराउन पर्ने जग्गा मिच्नेको १८ नं. र ने.का.प. २०४१ अंक १२ पृष्ठ १०९० मा प्रकाशित नि.नं. २३०६ को पुण्यमाया भटृराई विरुद्ध मालपोत कार्यालय झापा समेत भएको उत्प्रेषणको मुद्दा यस अदालतबाट प्रतिपादित सिद्धान्तवाट समेत देखिन आउंछ । २०३८।१०।२२ मा श्याम प्रसाद उप्रेतीले पहाड सिंहवाट राजिनामा पारीत गराइ लिएको विवादित कि.नं. १ को जग्गा रोक्का भएको अवस्थामा लिएको देखिएपनि त्यसबाट मर्का पर्ने व्यक्तिको जग्गा मिच्नेको ९ र १८ नं. अन्तर्गत नालिस परेको देखिदैन । जग्गा फुकुवा भएपछि २०३९।९।१९ मा खरिद गरी लिने यी वादी कृष्ण प्रसाद थपलियालाई २०३८।१०।२२ को लिखतबाट पहाड सिंहले प्रतिवादी श्याम प्रसादलाई हक हस्तान्तरण गरेकोबाट मर्का पुग्न गएको अवस्था हुने भन्न पनि मिलेन । मिति २०३८।१०।२२ को लिखत वदर नभइ कायम रही रहेको अवस्थामा स्वतः वदर हुने भन्न सकिने अवस्था माथि उल्लेखित कानुनी आधारबाट देखिदैन । मिति २०३८।१०।२२ को लिखत कायम नै रहेको अवस्थामा पहाड सिंहमा हक रहेको भनी मिति २०३९।९।१९ मा लिखत गरी दिन मिल्ने र पाउनेको जग्गामा हक पुग्ने भन्न नमिल्ने ।

(प्र.नं. १३)

 

विन्तिपत्रवाला वादी तर्फबाटः विद्वान अधिवक्ता श्री नारायणवल्लभ पन्त

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी

अवलम्वित नजीर : ने.का.प. २०४१ अंक १२ पृष्ठ १०९०

 

फैसला

      न्या.कृष्णजंग रायमाझीः  तत्कालीन मध्यमान्चल क्षेत्रिय अदालतबाट भएको फैसलामा इन्साफ जांच गरी पाउं भनी श्री ५ महाराजाधिराज सरकारका जूनाफमा परेको विन्तिपत्र यस अदालतमा प्राप्त भै इन्साफ जांच गर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् एवं ठहर यसप्रकार छ ।

      २.    सर्टिफिकेट कीर्ते मुद्दामा धरौट जमानत वापतमा पहाड सिंहले आफ्नो नामको चितवन कठार गा.पं. ९(ख) कि.नं. १ को ज.वि. २-१-१६ डिपोजिट दिएकोले मा.पो.का. चितवनमा रोक्का रहेकोले मकवानपुर जिल्लामा गई विपक्षी पहाड सिंह र श्याम प्रसाद मिली ०३८।१०।२२ मा रजिष्ट्रेशन पास गराएका रहेछन् र सो लिखत वदर गर्ने गरी प्र.जि.अ.ले गरेको निर्णय रिट क्षेत्रबाट वदर हुने भनि ०४१।४।२ मा आदेश भएको उक्त जग्गा फुकुवा भएकै दिन ०३९।९।१९ मा रु.५००००। मा मेरो नाममा दर्ता भएको सो लिखत वदर गराइ पाउं भनि श्याम प्रसादले म उपर दिएको मुद्दामा लिखत वदर हुने गरी यसै अदालतबाट ०४२।२।२५ मा निर्णय भएकोमा जमीन रोक्का भएको वखतमा फुकुवा नहुंदै श्याम प्रसाद लिने पहाड सिंह दिने गरी भएको लिखत वदर गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावि ।

      ३.    मेरो लिखत वदर हुनु पर्ने होइन, विपक्षीलाइ गरी दिएको राजिनामा वदर हुने ठहर्‍याई निर्णय भइ सकेकोले पुनः यही विषयलाई लिएर नालेस गर्ने विपक्षीलाई हकदैया नै छैन फिराद खारेज हुनु पर्दछ भन्ने समेत व्यहोराको श्याम प्रसाद उप्रेतीको प्रतिउत्तर जिकिर ।

      ४.    प्र. पहाड सिंहको मृत्यु ०४२।१।१२ मा भएको भनि तामेल भै आएको रहेछ । वादी दावी अनुसारको लिखत वदर हुने ठहर्दैन भन्ने समेत व्यहोराको चितवन जिल्ला अदालतको ०४४।३।९ को फैसला ।

      ५.    वादी दावि वमोजिम लिखत वदर नहुने ठहर्‍याएको शुरु जिल्ला अदालतको फैसलामा चित्त वुझेन । उक्त फैसला वदर गरी वादी दावि वमोजिम न्याय पाउं भन्ने वादी कृष्ण प्रसाद थपलियाको नारायणी अंचल अदालतमा परेको पुनरावेदन पत्र ।

      ६.    प्रतिवादी श्याम प्रसादले पहाड सिंहबाट २०३८।१०।२२ मा गराइ लिएको राजिनामा लिखत वदर हुने ठहर्छ शुरुको इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको नारायणी अंचल अदालतको मिति २०४६।५।२२ को फैसला ।

      ७. शुरुको इन्साफ उल्टी गरेको ना.अ.अ. को फैसला वदरभागी छ, सो फैसला वदर गरी न्याय पाउं भन्ने समेत व्यहोराको प्रतिवादी श्यामप्रसाद उप्रेतीको मध्यमान्चल क्षेत्रिय अदालतमा परेको पुनरावेदन पत्र ।

      ८.    यसमा यसै लगाउको दे.पु.नं. ९८५ को लिखत वदर मुद्दामा झ.झि. भएकोले छलफलका लागि अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाइ आएपछि पेश गर्नु भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४६।१२।६ को आदेश ।

      ९.    यिनै पक्ष विपक्ष्ँ भएको दे.पु.नं. ९८५ को लिखत वदर मुद्दामा आजै यसै इजलासवाट नारायणी अंचल अदालतको फैसला वदर भै शुरु चितवन जिल्ला अदालतको फैसला सदर भएको र प्रस्तुत मुद्दा सोही लिखत   वदर मुद्दासंग सम्वद्ध भएकोले सोही मुद्दामा लगाएको वुंदा प्रमाण समेतबाट यसमा समेत शुरु चितवन जिल्ला अदालतको फैसला उल्टी गरेको नारायणी अंचल अदालतको फैसला मिलेको नदेखिंदा वदर हुन्छ । इन्साफ शुरु चितवन जिल्ला अदालतको सदर हुन्छ भन्ने समेत तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४७।३।६ को फैसला।

      १०.    यिनै विपक्षी संगको यसै लगाउको लिखत दर्ता वदर मुद्दा यस विवादको मुल मुद्दा भएको हुंदा सो मुद्दाको विन्तिपत्रमा उल्लेखित तथ्य र कानुनी आधारलाई यो विन्तिपत्रको अभिन्न अंग मानि मध्यमान्चल क्षेत्रिय अदालतको फैसला उपर सर्वोच्च अदालतबाट इन्साफ जांच गरी पाउन हुकुम प्रमांगी पाउं भन्ने समेत वादी कृष्णप्रसाद थपलियाको विन्तिपत्र ।

      ११.    यसमा यसै लगाउको यिनै वादी प्रतिवादी भएको यस अदालतको संवत् २०४७ को वि.नं. १५ को मुद्दामा निस्सा प्रदान गरिएको हुंदा यसमा पनि निस्सा प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०५१।७।११ को आदेश ।

      १२.   नियम वमोजिम दैनिक पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरी विन्तिपत्रवाला वादी कृष्ण प्रसाद थपलियाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्तले रोक्का रहेको अवस्थामा वेइलाकामा गइ पारीत भएको लिखतले मान्यता पाउने होइन, त्यस्तो लिखत स्वतः अमान्य हुने हुंदा वदर गराइ रहनु पर्ने होइन, मेरो पक्षले जग्गा फुकुवा भएपछि मात्र लिखत गरी लिएकोले मेरो पक्षको लिखतले मान्यता पाउनु पर्नेमा मान्यता नै नहुने लिखतलाई वदर नहुने ठहर्‍याएको फैसला उल्टी हुनु पर्ने भन्ने र प्रत्यर्थी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारीले वेइलाकामा गइ लिखत पारित गर्न कानुनले रोक लगाएको छैन । मेरो पक्षले लिएको लिखत पहिलो भएको र त्यो लिखत वदर नगराइ यथास्थितिमा रहेकै अवस्था यि वादीले लिखत गराइ लिएको हुंदा मेरो पक्षले पारीत गरी लिएको लिखत वदर हुने अवस्था नहुंदा मध्यमान्चल क्षेत्रीय अदालतको फैसला सदर नै हुनु पर्ने भनि वहस प्रस्तुत गर्नु भयो ।

      १३.   दुवै तर्फका विद्वान अधिवक्ताहरुको वहस समेत सुनि तत्कालीन मध्यमान्चल क्षेत्रिय अदालतको लिखत वदर नहुने ठहर्‍याएको फैसला मिलेको छ, छैन ? निर्णय दिनु पर्ने भै इन्साफ तर्फ विचार गर्दा प्रमाणपत्र किर्ते मुद्दामा धरौट जमानत वापतमा पहाड सिंहले आफ्नो नामको चितवन कठार गा.पं. वार्ड नं.. ९ को कि.नं. ज.वि. २-१-१६ जग्गा जमानत दिएकाले मालपोत कार्यालय चितवनबाट रोक्का रहेको अवस्थामा मालपोत कार्यालय मकवानपुरमा गइ पहाड सिंहले श्याम प्रसादलाई मिति ०३८।१०।२२ मा रजिष्ट्रेशन पास गरी दिएको र जग्गा फुकुवा भएकै दिन ०३९।९।१९ मा मेरो नाममा दर्ता भएको सो लिखत वदर गराइ पाउं भनि श्याम प्रसादले म उपर दिएको मुद्दामा लिखत वदर हुने गरी  चितवन जिल्ला अदालतबाट २०४२।२।२५ मा निर्णय भएकोले रोक्का रहेको वखतमा फुकुवा नहुंदै लिने दिने गरेको लिखत वदर गरी पाउं भनी २०४३।५।१२ मा प्रस्तुत मुद्दाको फिराद परेको देखिन्छ ।

मुलुकी ऐन जग्गा मिच्नेको ९ नं. ले रोक्का भएको जग्गा लिन दिन नहुने र लिनुदिनु गरेकोमा मर्का पर्नेले नालिस गरी वदर गराउन पर्ने जग्गा मिच्नेको १८ नं. र ने.का.प. २०४१ अंक १२ पृष्ठ १०९० मा प्रकाशित नि.नं. २३०६ को पुण्यमाया भटृराइ विरुद्ध मालपोत कार्यालय झापा समेत भएको उत्प्रेषणको मुद्दा यस अदालतबाट प्रतिपादित सिद्धान्तवाट समेत देखिन आउंछ । २०३८।१०।२२ मा श्याम प्रसाद उप्रेतीले पहाड सिंहवाट राजिनामा पारीत गराइ लिएको विवादित कि.नं. १ को जग्गा रोक्का भएको अवस्थामा लिएको देखिएपनि त्यसबाट मर्का पर्ने व्यक्तिको जग्गा मिच्नेको ९ र १८ नं. अन्तर्गत नालिस परेको देखिदैन । जग्गा फुकुवा भएपछि २०३९।९।१९ मा खरिद गरी लिने यि वादी कृष्ण प्रसाद थपलियालाई २०३८।१०।२२ को लिखतबाट पहाड सिंहले प्रतिवादी श्याम प्रसादलाई हक हस्तान्तरण गरेकोबाट मर्का पुग्न गएको अवस्था हुने भन्न पनि मिलेन । मिति २०३८।१०।२२ को लिखत वदर नभइ कायम रही रहेको अवस्थामा स्वतः वदर हुने भन्न सकिने अवस्था माथि उल्लेखित कानुनी आधारबाट देखिदैन । मिति २०३८।१०।२२ को लिखत कायम नै रहेको अवस्थामा पहाड सिंहमा हक रहेको भनी मिति २०३९।९।१९ मा लिखत गरी दिन मिल्ने र पाउनेको जग्गामा हक पुग्ने भन्न मिलेन ।  तसर्थ  वादी  दावि वमोजिम लिखत वदर नहुने गरेको शुरु चितवन जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४७।३।६ को इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ । निवेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिश्चन्द्र्र प्रसाद उपाध्याय 

 

इति संवत् २०५६ साल भाद्र १४ गते  रोज २ शुभम् ....................................... ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु