शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८१५ - लेनदेन

भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११

निर्णय नं. ६८१५     ने.का.प. २०५६ अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री हरिश्चन्द्र्रप्रसाद उपाध्याय

संवत् २०५३ सालको दे.पु.नं. .. २८३५

फैसला मिति : २०५६।४।३१।२

 

मुद्दा : लेनदेन ।

 

पुनरावेदक

प्रतिवादीः जि. सिन्धुली महादेवस्थान गा.वि.स. वडा नं. ४ वस्ने गंगावीर थिङ

विरुद्ध

विपक्षी

वादीः ऐ.ऐ. वडा नं. ६ वस्ने इन्द्र वहादुर श्रेष्ठ

 

§  ऋण तिरेको कानुन वमोजिमको कागज नभएको साक्षीको भनाइबाट मात्र ऋण तिरेको भन्न कानुन संगत नहुने हुंदा लिखत वमोजिमको सांवा व्याज वादीले दावी वमोजिम प्रतिवादीबाट दिलाइ भराइ पाउने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको मिति ०५२।९।१६ को फैसला मुनासिव देखिंदा सदर हुने ।

(प्र.नं. १३)

 

पुनरावेदक प्रतिवादी तर्फबाट : 

विपक्षी वादी तर्फबाट :

अवलम्वित नजीर :

 

फैसला

      न्या.गोविन्दवहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत जनकपुरको मिति ०५२।९।१६ को फैसला उपर पर्न आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।

      २.    विपक्षी गंगावीरको म फिरादीको घर दलानमा वसी मिति ०४३।९।२१ गते का दिन ३८२५। रुपैया खसी वोका व्यापार गर्नको लागि लिनु भै सहीछाप गरी दिनु भएको थियो । भाखा नाघे पश्चात वेला वेलामा रुपैयाको कुरा गर्दा सांवा व्याज एकैपटक दिनेछु भनि समय वढाउदै गएका थिए । मिति २०४९।७।१० गतेका दिन विपक्षीले आफ्नो छोरा इश्वर वहादुरलाई लिई मेरो घरमा आइ तपाइको सांवा व्याज तिर्दछु लिखत निकाल्नु भन्नु भएकोले मैले लिखत निकाली दिए विपक्षीले सांवाव्याज नदिइ कागज समेत जवरजस्ती लिइ हिडनु भएकोले फर्पिङकोट प्रहरी चौकीमा निवेदन दिइ प्रहरीलिइ गइ कागज फिर्ता गराएपछि तिम्रो रुपैया तिर्दिन भनि जवाफ दिए पनि पर्खि रहेको थिएं । विपक्षीसंग पुनः मिति २०४८।१२।१० मा रुपैया माग्दा रुपैया पाउन हातमा रुपैया लिएर हिड्नु पर्छ भन्ने जवाफ दिनु भएकोले सांवा रु ३८२५। हालसम्मको दसौदले हुने व्याज २३४३। समेत जम्मा रु.६१६८। विपक्षीबाट दिलाइ भराई पाउं भन्ने समेत व्यहोराको फिराद दावी ।

      ३.    विपक्षीसंग मिति २०४३।९।२१ मा रु.११००। लिइ लिखत पढी वाची नसुनी सहीछाप गरी दिएको थिएं, भाखाको दिनमा विपक्षीले मलाइ रु.३८२५। र सोको  व्याज समेत दिनु पर्‍यो भनि माग गर्नु भयो मैले तपाइसंग रु.११००। मात्र लिएको रु.११००। र सो को व्याज तिर्छु रु.३८२५। तिर्दिन भनेपछि ०४९।७।१० गते महादेवस्थान गा.वि.स. वडाका अध्यक्ष गणेश वहादुर उपाध्यक्ष यज्ञ वहादुरलाई रकम उठाइ दिनको लागि भन्नु भएछ र गा.वि.स.को अध्यक्ष उपाध्यक्षले मलाइ वोलाउनु भएकोले गा.वि.स.मा २०४९।७।१० गते गै छलफल गर्दा मैले रु.३८२५। तिर्नु पर्ने निर्णय दिनु भएकोले मैले रु.३८२५। र मिति २०४९।९।२१ गते ०४९।४।१० गते तक ५ वर्ष ७ महिना महिना १९ दिनको ऐन वमोजिम हुने व्याज समेत एकमुष्ट विपक्षीलाई प्रमाण खण्डको साक्षीहरुको रोहवरमा वुझाएको हुं । तर विपक्षीले रुपैया वुझेको भरपाई गरी दिनु भएन र लिखत समेत च्याती दिनु भएन । गा.वि.स.का अध्यक्ष, उपाध्यक्षले यसो गर्नु राम्रो भएन भन्दा उपाध्यक्षलाई हातपात गरी उपाध्यक्षले निवेदन दिइ छलफल गर्दा गल्ती गरे भनि माफि माग्दै गा.वि.स लाई रु.४२०। समेत दिनु भएको थियो । सोही दिन मैले रुपैया वुझाइ सकेको छु वुझाउन वांकी छैन पटक पटक रुपैया लिने खाने नियतले झुठा नालेस गरेका हुन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

      ४.    प्रतिवादी गंगाविरले गरेको वयान झुठा हो मैले दाखेल गरेको कागजमा लागेको ल्याप्चे सहिछँप प्रतिवादीकै हो लिखत जालसाजी किर्ते नभै सद्दे हो प्रतिवादीको ल्याप्चे सहिछाप जांच गरी पाउं भन्ने समेत वादी वा. रामहरी कार्कीको वयान ।

      ५.    वादी इन्द्र वहादुरसंग २०४३ साल पौष २१ गते रु.३८२५। नगद वुझि लिई प्र. गंगाविरले लेखत लेखी सहीछाप गरी वादीलाई दिएको हो । तमसुक दुर्गाराजले लेखेका र नर वहादुर र म किनाराका साक्षी वसेका छौं । मसी सकिएको कामवाट सहिछाप गर्न साफि भएको हो लिखतमा भएको सहिछाप गंगाविरको हो । म समेत भै ल्याप्चे छँप समेत किर्ते गरी तमसुक खडा गरेको होइन छलफल हुंदा सांवा व्याज वुझाउन मंजुर गरेको थियो पछि लेखतमा साक्षीको सही नभएको र पहिला अलि अलि वुझाएको रुपैयाको भर्पाई वादीले दिएन भनि रुपैया नतिरेको हो मैले किर्ते जालसाजी गरेको होइन भन्ने समेत जालसाजीका प्रतिवादी मदन वहादुर श्रेष्ठको वयान ।

      ६.    विवादित तमसुकमा लागेको कारणीले औठा छाप र अदालतबाट नमुना लिएको गंगाविर थिङको औठा छाप आपसमा भिड्छ भन्ने विवादग्रस्त लिखत विशेषज्ञ विश्वराज पौडेलको च.नं. ४०६ मिति ०५१।२।२९ को राय प्रतिवेदन ।

      ७.    प्रमाण ऐन, २०३१ को दफा २७(२) वमोजिम प्रतिवादीले प्रमाणको भार पुर्‍याएको अवस्था देखियो । २०४९।७।१० मा प्रतिवादीले वादीलाई गा.वि.स. मा छलफलका क्रममा ऋण रकम तिरेका थिएनन् भनि वादी तर्फबाट कुनै प्रत्यक्ष साक्षी प्रमाण प्रस्तुत हुन नआएको हुंदा प्रतिवादी गंगाविरले ०४३।९।२१ को तमसुक लिखत वमोजिमको सांवा व्याज रकम वादी इन्द्र वहादुरलाई २०४९।७।१० का दिन गा.वि.स. का अध्यक्ष समेतका प्रमाण मानिसहरुको ग्रुप स्थितमा वुझाएको शंका रहित तवरबाट पुष्टी भएकोले वादीको फिराद पत्र दावी पुग्न सक्दैन भन्ने जि.सि.अ. को मिति ०५१।४।३० को फैसला ।

      ८.    वादी दावी पुग्न सक्दैन भनि भएको शुरु सिन्धुली जिल्ला अदालतको फैसला त्रुटीपूर्ण हुंदा वदर गरी दावी वमोजिमको सांवा व्याज प्रतिवादीबाट दिलाइ भराइ पाउं भन्ने व्यहोराको पु.वे.अ. मा परेको पुनरावेदन पत्र ।

      ९.    शुरु सिन्धुली जिल्ला अदालतले वादी दावी पुग्न सक्दैन भनि गरेको फैसला मिलेको नदेखिंदा शुरु फैसला उल्टी हुने ठहर्छ । लिखत वमोजिम सांवा व्याज वादीले दावी वमोजिमको प्रतिवादीबाट दिलाइ भराइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको पु.वे.अ. जनकपुरको मिति ०५२।९।१६ को फैसला ।

      १०.    मुद्दासंग सम्वद्ध तथ्यको आधारमा अ.वं. १८४(क) नं. तथा प्रमाण ऐन, २०३१ को दफा २७ र ५४ समेतको आधारमा सिन्धुली जिल्ला अदालतले गरेको न्याय पूर्ण फैसला वदर गरी पु.वे.अ. ले मैले एकपटक वुझाइ सकेको रुपैया पुन तिर्नु पर्ने गरी गरेको फैसला अन्याय पूर्ण हुंदा सो फैसला वदर गरी सिन्धुली जिल्ला अदालतको फैसला सदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको  पुनरावेदन पत्र ।

      ११.    नियम वमोजिम दैनिक पेशी सुचिमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी इन्साफ तर्फ विचार गर्दा यसमा पुनरावेदन अदालत जनकपुरको इन्साफ मिले नमिलेको के रहेछ सो सम्वन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

      १२. यसमा प्रतिवादीलाई मिति ०४३।९।२१ का दिन लिखत गरी रु.३८२५। दिएकोमा मिति ०४९।१०।१० मा रुपैया माग्दा नदिएकोले सांवा र सो को व्याज समेत दिलाइ पाउं भन्ने वादी भै मैले सांवा व्याज साक्षीहरुको रोहवरमा एकमुष्ट वुझाइ सकेको छु । विपक्षी वादीले भरपाई पनि गरी दिनु भएन र लिखत समेत च्याति दिनु भएन रुपैया वुझाउन वांकी छैन भन्ने प्रतिउतर परेको प्रस्तुत मुद्दामा वादी दावी पुग्न नसक्ने ठहराएको सिन्धुली जिल्ला अदालतको फैसला उपर वादीको पुनरावेदन परी वादी दावी पुगी शुरु फैसला उल्टी भए उपर प्रतिवादीको पुनरावेदन पर्न आएको देखियो ।

      १३.   रकम वुझाएको सम्वन्धमा प्रतिवादीले साक्षी र मौखिक कथन वाहेक  रकम वुझाएको भरपाइ पेश दाखिल गर्न   सकेको छैन, प्रमाण ऐन, २०३१ को दफा   २७ को उपदफा (२) हेरिएमा प्रचलित   नेपाल कानुन वमोजिम वादीलाई दिनु वा वुझाउनु पर्ने कुरा सो कानुन वमोजिम दिए वा वुझाएको छु भनि प्रमाणित गर्ने भार प्रतिवादीको हुने छ भनि उल्लेख भएको छ त्यसैगरी मुलूकी ऐन लेनदेन व्यवहारको  महलको ५ नं. को देहाय १ मा भएको  कानुनी व्यवस्था हेर्दा सांवा जम्मै वुझाउदा आसामीले सो सम्वन्धमा गरी दिएको लिखत फटृा गराइ सोही लिखतमा असुली जनाउन लगाइ वुझाउनु पर्छ । कुनै कारणले सो लिखत फेला नपरेमा सोही व्यहोरा जनाइ साहुबाट भरपाइ गराइ लिनु पर्छ, सो वमोजिम नगरेको सदर हुंदैन भनि  प्रष्ट रुपमा व्यवस्था गरेको छ यसरी प्रतिवादीले कानुनले निर्दिष्ट गरेको कर्तव्य पुरा गरेको देखिएन । कानुनले नै  प्रष्ट रुपमा तोकिएको कर्तव्य  पुरा नगर्ने  पक्षलाई  अदालतले  सहयोग गर्न सक्दैन । अतःएव ऋण तिरेको कानुन वमोजिमको कागज नभएको साक्षीको भनाइबाट मात्र ऋण तिरेको भन्न कानुनसंगत नहुने हुंदा लिखत वमोजिमको सांवा व्याज वादीले दावी वमोजिम प्रतिवादीबाट दिलाइ भराइ पाउने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको मिति ०५२।९।१६ को फैसला मुनासिव  देखिंदा  सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. हरिश्चन्द्र्रप्रसाद उपाध्याय

 

इति संवत् २०५६ साल श्रावण ३१ गते रोज २ शुभम् .................................. ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु