शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८१६ - अपुताली जग्गाको लिखत वदर गरी खिचोला मेटाई चलन चलाई पाउं

भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११

निर्णय नं. ६८१६     ने.का.प. २०५६ अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

संवत् २०५२ सालको दे.पु.नं. .. २९१५

फैसला मिति : २०५६।३।१४।२

 

मुद्दाः अपुताली जग्गाको लिखत वदर गरी खिचोला मेटाई चलन चलाई पाउं ।

 

पुनरावेदक

प्रतिवादीः जि. रुपन्देही फरेना गा.वि.स. वाड नं. ७ वस्ने उमाशंकर तिवारी त्रिपाठी समेत

विरुद्ध

विपक्षी

वादीः ऐ.ऐ. वस्ने जैकरण तिवारी समेत

 

§  २०१६ सालको वण्डापत्रले प्यारी तिवारीन र मोति तिवारीनले आफ्नू हकको अंश जग्गा आफूखुश गर्दा अन्य अंशियारको स्वीकृति लिनु पर्ने भन्ने शर्त उल्लेख गरी वण्डापत्र पारीत गरेको देखिन्छ । सो शर्त ने.का.प. २०४६ नि.नं. ३८५० पृष्ठ ६३१ मा अंश हकको निर्वाधतालाइ शर्त राखेको कानुनी मान्यता विहिन हुने भन्ने समेत प्रतिपादित नजिरको विपरीत हुंदा सो शर्त कानुन विपरीत भै स्वतः निस्कृय हुने हुन्छ । साथै पियारी तिवारीन मरी सकेपछि निजको अंशको सम्पत्ति पुन ४ भाग गरी मिति ०४४।४।१२ मा वण्डापत्र पारीत भै सकेकाले एकातर्फ पियारीको मृत्यु भएपछि निज उपरको शर्तको तात्पर्य नै रहेन भने झन २०४४ को वण्डापत्रमा समेत शर्त उल्लेख नभएपछि उक्त शर्त वमोजिम मोती तिवारीनले वादीहरुबाट स्वीकृति लिनुपर्ने आवश्यकता नै नदेखिंदा शर्त वमोजिम स्वीकृति नलिइ वक्सपत्र गरेको वदर गरी पाउं भन्ने दावी पुग्न नसक्ने ।  

      (प्र.नं. १२)

 

पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल

अवलम्वित नजीर : ने.का.प. २०४६ नि.नं. ३८५० पृष्ठ ६३१

 

फैसला

      न्या.गोविन्दवहादुर श्रेष्ठः  न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको संक्षिप्त तथ्य् एवं ठहर यसप्रकार छ ।

      २.    वृज नारायणका ४ छोरा क्रमशः गोकर्ण, जैकरण, झिन्कू भन्ने वलिकरण र विशम्भर हुन । वलिकरणको पत्नी मोति तिवारीन हुन । विसम्भरको छोरा विपक्षी हुनुहुन्छ । ०१६ सालमा अंशवण्डा पत्र हुंदा झिन्कु भन्ने वलिकरणको परलोक भै सकेकोले निजको अंश हक सम्वन्धमा वण्डापत्रमा अंश छुट्याइए तापनी वांकी ३ भाईको स्वीकृति लिएर मात्र कुनै किसिमको लिखत पत्र वेच विखन गर्न सक्ने गरी निजको विधवा पत्नी प्यारी तिवारीनको सहमतिले वण्डापत्र खडँ भै माझ खण्ड मालबाट रजिष्ट्रेशन भएको र त्यसै अनुसार दाखा भै जोत भोग गरी आएको २०४६ साल कार्तिक २ गते मोति तिवारीनको मृत्यु भएको त्यसको भोलीपल्टै देखी मोति तिवारीनको जग्गा कव्जा गरेको हुंदा निजको नामको जग्गा नजिकको हकवाला हामी गोकर्ण, जैकरण र विपक्षीका वावु विसम्भर भएकोले नामसारी गराउन मृत्यु दर्ता प्रमाण लिई मालमा जांदा २०४४।१०।४ को शेषपछिको वक्सपत्र लेखाइ पारित गराउनु भएको भन्ने थाहा भएको ३ भाईको स्वीकृति लिएर मात्र सम्पत्ति आफ्नो खुश गर्न पाउने कुरामा त्यसो नगरी विपक्षीहरुले उक्त जग्गालाई मोति तिवराइनवाट शेषपछिको वक्सपत्र गराइ पास गराउंदैमा अधिकारै नभएको व्यक्तिले गरी दिएको कागजबाट विपक्षीहरुको हक स्थापित हुने  होइन । शेषपछिको वक्सपत्र वदर गरी फिरादको तपसिलमा लेखिएको जग्गाको खिचोला मेटाई अपुताली हक कायम गरी चलन चलाई पाउं भन्ने समेत व्यहोराको वादीको फिराद  पत्र ।

      ३.    फिरादीहरुको भनाई अनुसार मोति तिवराइन फिरादीको घरमा वस्ने गरेको र फिरादीहरुले सेवा काज कृया गरेको कुनै कुरा होइन । हामी उमाशंकर, घनश्याम, प्रेमशंकर, मधू शंकरले आफ्नो घरमा राखी मोति तिवराइनको खेती गृहस्थी रेखदेख सेवा गरी तिर्थ व्रत दान पुण्य गराई आएको र २०४६।७।२ गते मरेपछि काजकृया हामीले नै एकलौटी खर्च लगाई हाम्रो वावु विसम्भरवाट गराएको हो । मोती तिवराइनले २०४४।१०।४ मा पारीत गरी दिएको शेषपछिको वक्सपत्रमा पनि शर्तहरु उल्लेख भएको सो अनुसारको शर्त पुरा गरेको प्रमाणित भै रहेको छ । मोति तिवारीनको मृत्यु पश्चात निजका नाममा दर्ता रहेको जग्गा मालपोत कार्यालय रुपन्देहीबाट २०४६।७।२८ मा हाम्रो नाममा संयुक्त नामसारी दर्ता समेत भै भोग चलन गर्दा खिचोला हुने  प्रश्नै उठ्दैन । जग्गाको हदवन्दी लागु हुने हल्लाले २०१६ सालमा वण्डा गरेपनि सगोल मै वसी पुनः ०४४ सालमा वण्डा भएको पनि छ । ०१६ सालमा वण्डा गरेपनि सगोल भै वसी पुनः ०४४ सालमा वण्डा भएको पनि छ । ०१६ सालमा कायम रहेको मुलूकी ऐन विधवाका अंश धनको १ नं. ले विधवा स्वास्नी मानिसले आफ्नो अंश वेचविखन गर्दा हकवालाको मन्जूरी लिन पर्ने वाध्यात्मक कानुनी व्यवस्था भएको कारणले उक्त वण्डापत्रमा मोति तिवारीन पियारी तिवारीनले आफ्नो अंश वेच विखन गर्न परेमा हकवाला तिन भाईको मन्जूरी लिन पर्ने भनि उल्लेख गरे पनि पियारी परलोक भएपछि सगोलमा आर्जेको जग्गा समेत गरी ०४४।४।१ मा मिनही घरवास र ०४४।४।७ मा वण्डा गरी दर्ताको जग्गा समेत पास गरेको हो । त्यसकारण ०१६।२।२७ को निस्कृय भएको वण्डापत्रमा लेखिएका शर्त वन्देजहरु लागु रहन सक्दैन । विपक्षी गोर्कण तिवारीले ०४४।४।७ को पारीत वण्डापत्र वदर गरी पाउं भनि रुपन्देही जिल्ला अदालतमा दिनु भएको मुद्दामा हाम्रो प्रतिवाद परेपछि २०४५।३।८ मा लिखत वदरै राखी दावी छाडी मिलापत्र भएको छ । त्यसकारण ०४४।१०।४ को शेषपछिको वक्सपत्र वदर हुने प्रश्नै छैन । २०३३ सालमा संशोधित स्त्री अंश धनको २ नं.. ले दिएको सुविधा मोति तिवारीनले पाउनु पर्ने हो भन्ने समेत प्रतिउत्तर पत्र ।

      ४.    शुरु जि.अ. का आदेशानुसार साक्षी, प्रमाण मिसिल कागजात वुझिएको समेत मिसिल सामेल रहेछ ।

      ५.    यसमा २०४४ सालको अंशवण्डाको कागज हेर्दा २०४४।४।१ को वण्डापत्रमा घर घडेरी तर्फ अंशवण्डा भएको भन्ने उल्लेख भएको र २०४४।४।७ को कागजमा घनश्याम, अशोक कुमार र मोति तिवारीन समेतका संयुक्त दर्ताको जग्गा अंशवण्डा भएको पाइएकोले उक्त वण्डापत्रमा ०१६।२।२७ मा भएको वण्डापत्रलाइ असर पार्ने कुनै किसिमको व्यहोरा उल्लेख भएको पाइदैन । यिनै २०४४।४।१ र २०४४।४।७ का वण्डापत्र सम्वन्धमा कायमै राख्ने गरी मिलापत्र भएको कुराले २०१६ सालको लिखतलाई असर पार्ने वा रद्द गर्ने वा निस्कृय पार्ने कुनै व्यहोराको उल्लेख नभएको उक्त २०१६ सालको लिखतको शर्त मन्जूर छैन भनि उजुर  गरी रद्द गराउने तर्फ मोति तिवारीनले कुनै कारवाही नचलाई स्वीकार गरी वसेकै अवस्थाको शर्तनामा निस्कृय भयो भन्न सकिने ठोस प्रमाण प्रतिवादी पक्षबाट प्रस्तुत हुन सकेको पाइएन । नपाइनाले वादी दावी वमोजिम २०४४।१०।४ को शेषपछिको वक्सपत्र लिखत वदर हुने हुंदा खिचोला मेटाई चलन चलाइ दिने ठहर्छ भन्ने शुरु रुपन्देही जिल्ला अदालतको मिति २०४९।५।२२ को फैसला ।

      ६.    शुरु रुपन्देही जिल्ला अदालतबाट वादी दावी वमोजिम शेष पछिको वक्सपत्र लिखत वदर हुने ठहराइ हामीलाइ हराइ भएको फैसला उपर चित्त वुझेन । २०१६ सालको लिखतको शर्त मंजुर छैन भनि उजुर गरी रद्द गराउने तर्फ मोति तिवराइनले कुनै कारवाही नचलाइ वसेको अवस्थाको शर्तनामा निस्कृय भयो भन्न सकिने ठोस प्रमाण प्रतिवादी पक्षबाट प्रस्तुत हुन नसकेको भन्ने तर्क लगाइ शुरुबाट भएको त्रुटीपूर्ण फैसला उल्टी गरी प्रतिउत्तर तथा पुनरावेदन जिकिर अनुसार इन्साफ पाउं भन्ने पुनरावेदक । प्रतिवादी उमाशंकर तिवारी समेत जना ४ को पु.वे.अ. वुटवलमा पर्न आएको पुनरावेदन पत्र ।

      ७.    यसमा २०१६ सालको वण्डापत्रको शर्तलाई उल्लघंन गरी शेषपछिको वक्सपत्र वदर गरी दिएको भन्ने वादी भएको, विवादको शेषपछिको वक्सपत्रमा २०४४ सालमा वण्डापत्रबाट मोति तिवराइनले पाएको जग्गा समेत परेको सो ०४४।४।१२ को पारीत वण्डापत्रमा कुनै शर्त वन्देज नराखेको स्व. मोति तिवराइनको अपुतालीमा प्रतिवादीको समेत हक लाग्ने अवस्थाको देखिएको स्थितिमा शेषपछिको वक्सपत्र लिखत सम्पुर्ण वदर गर्ने गरेको शुरुको फैसला विचारणिय हुंदा अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम छलफलको लागि विपक्षी झिकाइ आए वा गुजारे थमाउने अवस्था नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने पु.वे.अ. वुटवलको मिति ०५०।२।२६ को आदेश।

      ८.    २०४४ सालको लिखत वमोजिमको प्यारीको अंश भाग शर्त वन्देज सहित मोतिका नाउंमा सर्न आएकोले उक्त लिखतको जग्गामा समेत जेठाजु र देवरको मंजुरी लिनु पर्ने देखियो । प्रस्तुत मुद्दामा मंजुरी लिनुपर्ने दुई अंशियार मात्र लिखत वदरतर्फ अदालतमा प्रवेश गरेकोले मंजुरी गरी वस्ने प्रतिवादीहरुका वावु विश्वम्मर तिवारीले भाग सदर गर्नु पर्नेमा सो समेत वदर हुने ठहर्‍याएको शुरु रुपन्देही जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा केही उल्टी हुन्छ । मिति २०४४।१०।४ को मृतक मोति तिवारीनले प्रतिवादीहरुलाई गरेको शेषपछिको वक्सपत्र लिखतको ३ खण्डको २ खण्ड वदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत वुटवलको मिति ०५२।२।२५ को  फैसला ।

      ९.    शुरु रुपन्देही जिल्ला अदालतको फैसला पुरै उल्टी गरी विवादित लिखत सवै सदर गर्नु पर्नेमा नगरी ३ भागको २ भाग शुरु फैसला सदर गरी विवादित लिखत वदर गरेको हदसम्म पुनरावेदन अदालत, वुटवलको फैसला नमिलेकोले सो हदसम्म पुनरावेदन अदालतको  फैसला वदर गरी न्याय इन्साफ पाउं भन्ने पुनरावेदक । प्रतिवादी उमाशंकर तिवारी समेतको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

      १०.    नियम वमोजिम पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट वहसमा उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले विद्यमान कानुनले प्रदान गरेको हक र सुविधा निर्विवाद रुपले उपभोग गर्न पाउनु पर्ने तत्कालीन कानुनले लगाएको वन्देज सोही अनुरुप हुने भनि भन्नलाइ समानताको हक सम्वन्धी कानुनी सिद्धान्त कै विपरीत हुन्छ । आफ्नु अंशको सम्पत्ति आफूखुश गर्न स्त्री अंश धनको २ नं.. वाहेक अन्य कानुनले वन्देज गरेको छैन । अतः वक्सपत्र कानुन अनुरुप नै छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो भने विपक्षी वादी तर्फबाट विद्वान अधिवक्ता श्री श्रीहरि अर्यालले लेखत गर्दा आफूले शर्त गरेपछि स्वतः वदर हुने होइन सो शर्त उजुर गरी वदर गराउनु पर्छ । पुरै वक्सपत्र वदर गराउने दावी भएपछि कित्ता नं. हरु दावीमा फरक पर्र्यो भन्दैमा तात्वीक असर पर्दैन दावी ५४ कित्तामा छ वकसपत्रमा पनि ४४ कित्ता नै छ ।  पियारीबाट आएको जग्गा १४ कित्ता हो । वांकी ३० कित्ता मोति कै अंश भागको हो । दावी अनुरुप वक्सपत्रलाई कानुनले मान्यता प्रदान गर्न नसक्ने हुंदा वदर हुनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।

      ११.    विद्वान अधिवक्ताहरुले प्रस्तुत गर्नु भएको वहस समेत सुनि पुनरावेदन अदालत वुटवलले शुरु अदालतको फैसला केही उल्टी गरी ३ भागको २ भाग लिखत वदर गर्ने ठहराएको इन्साफ मुनासिव वेमुनासिव के रहेछ त्यस्को निर्णय दिनु पर्ने देखिन आएको छ ।

      १२.   निर्णय तर्फ विचार गर्दा २०१६ सालको वण्डापत्रमा उल्लेखित शर्त विपरीत प्रतिवादीहरुले मोति तिवारीनबाट पारीत गराई लिएको शेषपछिको वक्सपत्र वदर गरी पाउं भन्ने वादी र हामीले मोति तिवारीनलाई पालन पोषण गरी निजबाट प्राप्त शेषपछिको वक्सपत्र कानुन वमोजिम छ शर्त कुनै उलंघन भएको छैन । दावी झुठा हो भन्ने  समेत  प्रतिउत्तर जिकिर भएको पाइन्छ । २०१६ सालको वण्डापत्रले पियारी तिवारिन र मोति तिवारीनले आफ्नु हकको अंश जग्गा आफूखुश गर्दा अन्य अंशियारको स्वीकृति लिनु पर्ने भन्ने शर्त उल्लेख गरी वण्डापत्र पारीत गरेको देखिन्छ । सो शर्त ने.का.प. २०४६ नि.नं. ३८५० पृष्ठ ६३१ मा अंश हकको निर्वाधतालाई शर्त राखेको कानुनी मान्यता विहिन हुने भन्ने समेत प्रतिपादित नजिरको विपरीत हुंदा सो शर्त कानुन विपरीत भै स्वतः निस्कृय हुने हुन्छ । साथै पियारी तिवारीन मरिसकेपछि निजको अंशको सम्पत्ति पुन ४ भाग गरी मिति ०४४।४।१२ मा वण्डापत्र पारीत भै सकेकाले एकातर्फ पियारीको मृत्यु भएपछि निज उपरको शर्तको तात्पर्य नै रहेन भने झन २०४४ को वण्डापत्रमा समेत शर्त उल्लेख नभएपछि उक्त शर्त वमोजिम मोती तिवारीनले वादीहरुबाट स्वीकृति लिनुपर्ने आवश्यकता नै नदेखिंदा शर्त वमोजिम  स्वीकृति नलिइ वक्सपत्र गरेको वदर गरी पाउं भन्ने दावी पुग्न सक्दैन । तर स्त्री धन  अंशको  २ नं.. ले विधवाले अचलमा आधामात्र आफूखुश गर्न पाउने भन्ने उल्लेख भएबाट समेत आधि वक्सपत्र वदर हुन्छ । तदनुरुप वांकी अघि वक्सपत्रको जग्गा मध्ये अंशियारहरु वादी जैकरण तिवारी र गोर्कण तिवारीको ३ भागमा २ भाग हक लाग्ने हुंदा सो ३ खण्डमा २ खण्ड वक्सपत्र वदर हुने भै वादीहरुको हक दर्ता कायम हुने ठहर्छ । विवादित वक्सपत्रको आधा अंश हकको  जग्गाको वक्सपत्र सदर गरी सो मध्ये आधामा ३ खण्डको २ खण्ड वक्सपत्र वदर हुने ठहर गर्नु पर्नेमा पुरै वक्सपत्रको ३ खण्डको २ खण्ड वदर गर्ने ठहराएको सो हदसम्म पुनरावेदन अदालत वुटवलको इन्साफ नमिलकोले केही उल्टी हुने ठहर्छ ।  मिसिल नियम वमोजिम गरी  वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. केदार प्रसाद गिरी

 

इति संवत् २०५६ साल असार १४ गते रोज २ शुभम् ................................... ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु