शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८१७ - मोही लगत कटृा

भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११

निर्णय नं. ६८१७     ने.का.प. २०५६ अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री हरिश्चन्द्र्रप्रसाद उपाध्याय

संवत् २०५३ सालको दे.पु.नं. .. ३७७६

फैसला मिति : २०५६।५।२८।२

 

मुद्दाः मोही लगत कटृा ।

 

पुनरावेदक

वादीः सुनसरी जिल्ला पकली गा.वि.स.वस्ने भगलु चौधरी

विरुद्ध

विपक्षी

प्रतिवादीः ऐ.ऐ. वस्ने कानन चौधरी

 

§  मोहियानी हक अंशवण्डा नहुने र खरिद विक्रि पनि गर्न नमिल्ने भन्ने कानूनी व्यवस्था भए वमोजिम पुनरावेदक वादी भगलु चौधरीले जग्गाधनीको स्वामित्वसम्म राजिनामा गरी लिएको मान्नु पर्ने देखिन आयो । अतः विवादित जग्गामा प्रतिवादी कानन चौधरीको मोहियानी हक यथास्थितिमा नै रहेको अवस्था देखिंदा मोही लगत कटृा गर्ने गरेको शुरु भूमि सुधार कार्यालयको निर्णय उल्टी गरी मोही लगत कटृा गरी पाउं भन्ने दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको देखिंदा सदर हुने । 

(प्र.नं. १०)

 

पुनरावेदक वादी तर्फबाट :

विपक्षी प्रतिवादी तर्फबाट :

अवलम्वित नजीर :

 

फैसला

      न्या.अरविन्दनाथ आचार्यः  पुनरावेदन अदालत, विराटनगरको मिति २०५२।११।१० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् र ठहर यसप्रकार छ

      २.    मेरो नाउं दर्ता रहेको जि. सुनसरी पकली गा.वि.स वाड नं. २(ख) कि.नं. २९७ को ज.वि. ०-७-७ धुर जग्गा मैले  मानन चौधरीबाट मिति २०४०।११।१५ मा खरिद गरी लिएको जग्गा मैले खरिद गरेकै सालदेखि आफैले जोती कमाई आएको हुंदा सो मेरो जग्गाको मोही पुर्जामा कानन चौधरी लेखिएको हुंदा सो मोहकिो नाम कटृा गर्न कारवाही गरी मोहीको लगत कटृा गरी पाउं भनी द.नं. ५६१८ मिति ०५०।३।१५ को भगलु चौधरीको उजुरी निवेदन पत्र ।

      ३.   वादी दावीको ज.वि. ०-१४-१-४ जग्गाको साविक जग्गाधनी जि. सुनसरी डुम्राहा गा.वि.स. वार्ड नं. ६ वस्ने चन्द्रविर चौधरी र म प्रतिवादी भू.सु.ऐन वमोजिम हक प्राप्त मोही भई जग्गा कमाई आएको छु । साविक कि.नं. ९ कित्ताफोड भई कायम हुन आएको हाल कि.नं. २९७ को जग्गा विगाहा ०-७-७ जग्गाको जग्गाधनी यी वादी भगलु चौधरी हुन । साविक जग्गाधनी चन्द्रविर चौधरी म प्रतिवादी मोहीको परिवार भित्रको नाता पर्ने मानिस होइनन् । भू.सु.ऐन अनुसार एउटै जग्गाको धेरै अंशी भए  सो अंशियार भित्रका मानिसलाई मोही हक नलाग्ने । वादी जग्गाको साविक जग्गाधनी गैर मानिस भएको र यी वादी  पनि गैर मानिस हुन । यस्मा मानन चौधरी भन्ने व्यक्ति म प्रतिवादीको भाई नाताका मानिस हुन । मानन चौधरी र म प्रतिवादीका वीच अंशवण्डा भइसकेको छ । मेरो मोही लगत कटृा गराउने उद्देश्यले अंशवण्डा भई सकेको भाईलाई यी वादीले जाल प्रपन्च रची साविक ज.ध. चन्द्रविरको नामबाट मानन चौधरीको नाउंमा दावीको जग्गा पारित गराई मानन चौधरीलाई ऋणी वनाई यी वादी भगलु चौधरी धनी भई जग्गा लिनु दिनु गरेका हुन । यी वादीले माथि लेखिए वमोजिम यो प्रपन्च रची वादी दावीको जग्गालाई एका परिवारको भित्रको मोही हुंदा लगत कटृा गरी पाउं भन्ने वादीको निवेदन कानून संगत नभएकोले खारेज गरी पाउं । यी वादीको जग्गामा म प्रतिवादीको अंश नलाग्ने र हाम्रो पैतृक सम्पत्ति समेत नहुंदा र विपक्षीले जालझेल गरी माग दावी लिएको मोही लगत कटृाको निवेदन माग वमोजिम मेरो मोही लगत कटृा नहुने हुंदा वादीको निवेदन खारेज गरी मेरो मोहियानी यथावत कायम राखी पाउं भन्ने समेत प्रतिउत्तर जिकिर ।

      ४.    सगोलका दाजुभाई मोहीको परिभाषा भित्र नपर्ने हुंदा वादी दावी अनुसार मानन चौधरीको नाम लगतबाट कटृा हुने ठहर्छ भन्ने समेत मिति २०५०।८।२९ मा भूमि सुधार कार्यालय सुनसरीबाट भएको फैसला ।

      ५.    भूमि सुधार कार्यालय, सुनसरीले गरेको फैसला कानून संगत नहुंदा वदरगरी मेरो मोहियानी हक यथावत कायम राखि पाउं भन्ने समेत प्रतिवादीले मिति २०५०।१०।२२ मा दर्ता गरेको पुनरावेदन पत्र ।

      ६.    साविकमा चन्द्रविर चौधरी जग्गाधनी र यी पुनरावेदक मोही भएको लगत यथावत रहेको अवस्थामा अंशियारले वीचमा एकपटक किनेको भन्ने आधारमा मोही लगत कटृा गर्ने भूमि सुधार कार्यालय सुनसरीको फैसला फरक पर्न सक्ने देखिएकोले अ.वं. २०२ नं. र पुनरावेदन अदालत  नियमावली, २०४८ वमोजिम झगडिया झिकाइ आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०५२।६।३।३ मा संयुक्त इजलासबाट भएको आदेश ।

      ७.    मोही हक समाप्त हुन नसक्नेमा वादीदावी अनुसार प्रतिवादी कानन चौधरीको नाम लगतबाट कटृा हुने ठहराई शुरु भूमि सुधार कार्यालय  सुनसरीले गरेको निर्णय उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०५२।११।१०।४ को फैसला ।

      ८.    उक्त फैसलामा चित्त वुझेन । कानूनी कर्तव्य र दायित्व पुरा गर्न नसक्ने मोहीलाई विना आधार यथावत कायम रहने गरी गरेको फैसला त्रुटीपूर्ण हुंदा वदर गरी शुरु भूमि सुधार कार्यालय सुनसरीको निर्णय सदर गरी पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन ।

      ९.    नियम वमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल प्रमाण कागजातहरुको अध्ययन गरी हेर्दा शुरुले मोही लगत कटृा हुने ठहर्याएको निर्णयलाई उल्टि गर्ने गरी गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ वा छैन ? सोही सम्वन्धमा निर्णय दिनु पर्ने देखियो ।

      १०.    निर्णय तर्फ विचार गर्दा मेरो नाउं दर्ता रहेको पकली गा.वि.स. वडा   नं. २ (ख) कि.नं. २९७ को ज.वि. ०-७¬७ मैले मानन चौधरीबाट खरिद गरि आफैले  जोती कमाई आएको छु । मेरो मोही पुर्जामा कानन चौधरी लेखिएको हुंदा मोहीको लगत कटृा गरी पाउं भन्ने वादी दावी र वादी दावीको जग्गाको साविक जग्गा जग्गाधनी जिल्ला सुनसरी डुम्राहा गा.वि.स. ६ वस्ने चन्द्र्रवीर चौधरी हुन र मैले भूमि सुधार ऐन वमोजिम हक प्राप्त गरी मोही जग्गा कमाई आएको छु । विवादित जग्गामा अंश नलाग्ने  र हाम्रो पैतृक सम्पत्ति समेत नहुंदा मोही कटृाको निवेदन वमोजिम मोही लगत कटृा हुने नहुंदा निवेदन खारेज गरी मोहियानी हक यथावत कायम गरी पाउं भन्ने प्रतिउत्तर  जिकिर  देखिन्छ । यसमा चन्द्रविर चौधरीकै पालामा कानन चौधरीले मोही हक प्राप्त  गरेको जग्गा डम्वर वहादुर राईले खरिद गरी मानन चौधरीलाई सो जग्गा राजिनामा पास गरी दिएको देखिन्छ । मानन चौधरीबाट पुनरावेदक वादी भगलु चौधरीले प्रतिवादी कानन चौधरी मोही भएको उक्त जग्गा मोही यथावत नै राखी राजिनामा पास गरी  लिएको  देखिन आउंछ । मोहियानी हक अंशवण्डा नहुने र खरिद विक्रि पनि गर्न नमिल्ने भन्ने कानूनी व्यवस्था भए वमोजिम पुनरावेदक वादी भगलु चौधरीले जग्गाधनीको स्वामित्वसम्म राजिनामा गरी लिएको मान्नु पर्ने देखिन आयो । अतः विवादित जग्गामा प्रतिवादी कानन चौधरीको मोहियानी हक यथास्थितिमा नै रहेको अवस्था देखिंदा मोही लगत कटृा गर्ने गरेको शुरु भूमि सुधार कार्यालयको निर्णय उल्टी गरी मोही लगत कटृा गरी पाउं भन्ने दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको  देखिंदा  सदर हुने  ठहर्छ । 

पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । धरौटी पुनरावेदकलाई फैसला भएको जनाउ दिइ मिसिल नियम वमोजिम वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. हरिश्चन्द्रप्रसाद उपाध्याय

 

इति संवत् २०५६ साल भदौ २८ गते रोज २ शुभम् ....................................... ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु