शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८१८ - ठगी

भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११

निर्णय नं. ६८१८     ने.का.प. २०५६ अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

संवत् २०५२ सालको फौ.पु.नं. १३०३

फैसला मिति : २०५६।४।३१।२

 

मुद्दाः ठगी ।

 

पुनरावेदक

प्रतिवादीः जि. सिरहा गा.वि.स. सिरहा वार्ड नं. ४ वस्ने मटुक यादव

विरुद्ध

प्रत्यर्थी

वादीः ऐ.ऐ. वस्ने सियावती यादवनी

 

§  मुलुकी ऐन ठगीको महलको १ नं.. मा कसैले आफ्ना हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मा रहेको छ, उसलाई ललाई फकाई वा जाल परिपंच गरी वा आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने किर्ते कागज बनाई दिई वा पेश गरी वा आफूसंग नभएको कुरा आफूसंग छ भनि झुक्याई वा झुठो कुरालाई सद्दे हो भनी झुक्याई वा अरु जुनसुकै व्यहोरासंग धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल लिए दिए दिलाएमा वा अर्काको माल मेरो हो भनी वा मेरो भएको छ भनी लिखत गरी वा नगरी सोही माल लिए दिए विक्रि व्यवहार गरेमा वा सटृापटृा गरी लिएमा ठगी गरेको ठहर्छ भन्ने उल्लेख भइरहेकाले राख्न दिएको कुरा ठगीको परिभाषा भित्र पर्न आएको समेत देखिएन । राख्न दिएको भन्ने सम्वन्धमा कानून वमोजिम उजुर परे ठहरे वमोजिम हुने नै हुंदा ठगीको परिभाषाभित्र नपरेको प्रस्तुत फिरादबाट कारवाई गर्न नमिल्ने भई खारेज हुने ।          

            (प्र.नं. १०)

 

पुनरावेदक प्रतिवादी तर्फबाट :

विपक्षी वादी तर्फबाट :

अवलम्वित नजीर :

 

फैसला

      न्या.उदयराज उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ ।

      २.    विपक्षी मटुकी मेरो स्वयं भाई हुन । मेरो पति ३० वर्ष अघि नै स्वर्गवास भै सक्नु भएको छ । त्यसैले म सिरहा मै वस्दछु । भाईके अति नै विश्वास गर्दछु । ०४६ साल पौष महिनामा आजभन्दा २ वर्ष अगाडि चोरहरुले खेत खनी चोरी गरी आतंक बनाई रहेका थिए । त्यसैले विपक्षीले गर गहना चोरी हुने संभावना देखाई  तिम्रो गहना मलाई राख्न देउ भनी ललाई पकाई गरेकाले २५ तोलाको गोडामा लगाउने चांदीको कल्ली थान २, चांदीको हसुली ४५ तोलाको थान १, चांदीको चुरा २५ तोलाको थान २, चांदी रुपैया १४ वटा भएको हारी थान १, कानमा लगाउने आधा तोलाको सुन्को रिंग थान २ समेत ०४६।९।२६ गतेका दिन विपक्षीलाई राख्न दिएको थिएं । मैले पटक पटक माग गर्दा आलटाल गरी पचाउने नियत गरेकाले ०४७।१०।२७ मा निवेदन दिंदा जिल्ला प्रहरी कार्यालय सिरहाबाट झिकाई वुझी कागज गराउंदा निवेदीकाको सामान मैले लिएको छु । २ महिनापछि वैंकबाट निकाली दिन्छु भनेका थिए । सो भाखा समेतमा नदिएकाले मैले जिल्ला प्रशासन कार्यालय सिरहामा ताकेता गर्दा निवेदीकाको गहना वापत ०४८ साल आश्विन २ गते सम्ममा रु.५०००। दिन्छु भनि ०४८।५।२ गते कागज गरी दिएकोमा आज भोलि गर्दै आलटाल गरेकोले फेराद गरेको छु । विपक्षी त्यसरी ठगी गरेकाले दिए ठगी गरी लिएको उल्लेखित गर गहना जस्ताको त्यस्तै नदिए चांदी तोला १ को रु.१५०। ले १०९ तोला चांदीको हुने रु.१६३५७। सुन तोला १ को रु.७९५४। ले आधा तोला सुनको रु.३८७७। समेत जम्मा रु.२०३२७ । विपक्षीबाट मु.ऐन ठगीका ४ नं. अनुसार दिलाई सजाय समेत गरी पाउं भन्ने वादी दावी ।

      ३.    फेरादीलाई मैले ठगी गरेको होइन, छैन । वादीले राजनिति नेताहरुसंग वल पुर्‍याई जिल्ला प्रशासनमा निवेदन दिंदा जिल्ला प्रशासनबाट मलाई कागज नसुनाई लेखी राखेको कागजमा सहीछाप गराए, सो कागज प्रमाणमा लाग्नु पर्ने होइन । विपक्षीले गुजारा चलाउन नसकेको र वरावर म संग सहायता माग गरी रहेको तथा विपक्षीको वैनी ज्वाई शोभा यादवसंग मेरो लेनदेन मुद्दा परिरहेकोमा निज शोभा यादवले उचाली झुठा मुद्दा दिएकी हुन भन्ने समेत प्रतिउत्तर ।

      ४.    प्रमाण परिवन्दबाट वादी दावी पुग्न नसकी सो दावीबाट प्र.ले सफाई पाउने ठहर्छ भन्ने समेत सिरहा जिल्ला अदालतको मिति ०४९।३।१४।१ को फैसला ।

      ५.    सि.जि.अ.ले लिनु पर्ने प्रमाणलाई नलिएको र लिन नहुने प्रमाणलाई लिई मलाई हराई त्रुटीपूर्ण फैसला गरेको हुंदा उक्त फैसला उल्टाई मेरा वादी दावा वमोजिम गरी पाउं भन्ने समेत वादीको पुनरावेदन पत्र ।

      ६.    यसमा पुनरावेदक वादी र प्रत्यर्थी प्रतिवादी सहोदर दिदी र भाई देखिएकोले विधवा दिदीको धन संरक्षण गर्ने उद्देश्य देखाई वादीवाट प्रतिवादीले ललाई फकाई उक्त वादीको फिरादमा उल्लेखित धनमाल लिएको हो भन्ने कुरा जिल्ला प्रशासन कार्यालय सिरहामा प्रत्यर्थी प्रतिवादीले ०४७।११।२५ मा गरी दिएको कागजको सन्दर्भमा ठगी तर्फको वादी दावी नपुग्ने भनि शुरु सिरहा जिल्ला अदालतले गरेको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम प्रत्यर्थी झिकाई नियम वमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति ०५०।३।३० को आदेश ।

      ७.    वादी सियावतीले गहना लिएको र फिर्ता नदिएको भन्ने कुरा प्रतिवादीले जिल्ला प्रशासन कार्यालयमा मिति ०४८।५।२ मा गरी दिएको कागजलाई अन्यथा भनि वदर गराउन सकेको समेत नदेखिएको अवस्थामा प्रमाण ग्रहण योग्य छैन भनि भन्न मिलेन । यसैगरी प्रतिवादी मटुक यादवले ०४७।११।२५ मा पनि कागज गरी दिएको तर उक्त कागजलाई जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरी दिएको नदेखिंदा सो कागज वमोजिमको गहना उपरको दावी निरर्थक देखिन आयो। २०४८।५।२ को प्रतिवादीले गरी दिएको कागजबाट रु.५०००। का गहना वुझी लिई वादीलाई अन्य व्यहोराबाट गलफतमा पारी सो गहनाको हदसम्म प्रतिवादीले ठगी गरेको देखिंदा शुरु फैसला केही उल्टी भई सो विगोसम्म वादीले भरी पाउने र प्रतिवादीलाई विगो वमोजिम रु.५०००। जरीवाना समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको फैसला ।

      ८.    जिल्ला प्रशासन कार्यालयले मेरो इच्छा विरुद्ध गराएको कागज कानूनी मान्यता प्राप्त गर्न नसक्ने भएको तर सोही कागजको आधार लिई पुनरावेदन अदालतले मलाई हराई फैसला गरेको, वादीको फिरादपत्र ठगीको १, , ३ नं.. को परिभाषा भित्रको नभएको वादीले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा र अदालतमा दिएको फिरादमा उल्लेख गरेको गहनाको विवरण फरक रहेको, कुनै चल अचल सम्पत्ति नभएको वादीसंग तेश्रो रकमको गहना रहन नसक्ने भएको समेतबाट पुनरावेदन अदालत राजविराजको फैसला त्रुटीपूर्ण हुंदा वदर गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदन ।

      ९.    जिल्ला प्रशासन कार्यालयमा भएको कागजको आधारमा ठगी ठहर्न ठगीको १ नं. को परिभाषा भित्र पर्ने अवस्था नदेखिंदा पुनरावेदन अदालत राजविराजको इन्साफ फरक पर्ने देखिंदा छलफलको लागी विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।

      १०.    नियम वमोजिम पेशी सुचीमा चढी पेश हुन आएको  प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरी निर्णय तर्फ विचार गर्दा यसमा वादी लेखबाटै प्रतिवादी निजको भाई नाताको भन्ने देखिन्छ । जिल्ला प्रशासन कार्यालय सिरहामा निज वादीले  शान्ति सुरक्षा कायम राखी चांदीको जेवर दिलाई पाउं भनि मिति ०४७।१०।२७ मा र पुनः गहना (चांदी, सुन) फिर्ता दिलाइ जिउ धनको सुरक्षा गरी पाउं भनि मिति ०४८।२।२६ मा दिएको निवेदनमा ठगी गरेको भन्ने स्पष्ट वेहोरा उल्लेख गरेको पाइदैन । फिराद हेर्दा सुन चांदीको गहनाहरु मिति ०४६।९।२६ मा विपक्षीले लिएको र मैले राख्न दिएको भनी प्रकरण  (१)  मा स्पष्ट उल्लेख गरेको पाइन्छ । मुलुकी ऐन ठगीको महलको १ नं.. मा कसैले आफ्ना हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मा रहेको छ । उसलाई ललाई फकाई वा जाल परिपंच गरी वा आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने किर्ते कागज बनाई दिई वा पेश गरी वा आफूसंग नभएको कुरा आफूसंग छ भनि झुक्याई वा झुठा कुरालाई सद्दे हो भनी झुक्याई वा अरु जुनसुकै व्यहोरासंग धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल लिए दिए दिलाएमा वा अर्काको माल मेरो हो भनी वा मेरो भएको छ भनी लिखत गरी वा नगरी सोही माल लिए दिए विक्रि व्यवहार गरेमा वा सटृापटृा गरी लिएमा ठगी गरेको ठहर्छ भन्ने उल्लेख भइरहेकाले राख्न दिएको कुरा ठगीको परिभाषा भित्र पर्न आएको समेत देखिएन । राख्न दिएको भन्ने सम्वन्धमा कानून वमोजिम उजुर परे ठहरे  वमोजिम हुने नै हुंदा ठगीको परिभाषा भित्र नपरेको प्रस्तुत फिरादबाट कारवाई गर्न नमिल्ने भई खारेज हुने ठहर्छ । पुनरावेदन अदालत राजविराजको इन्साफ नमिलेकोले उल्टी हुन्छ । अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

      माथि इन्साफ खण्डमा लेखिए अनुसार फिराद खारेज हुने भै पुनरावेदन अदालत राजविराजको इन्साफ उल्टी हुने ठहरेकोले पुनरावेदन अदालत राजविराजको मिति ०५१।५।६।२ को फैसलाको तपसील खण्डको दफा १ र २ कायम नरहने हुंदा सो को लगत कटृा गरी दिनु भनि शुरु सिरहा जिल्ला अदालतमा लेखी पठाई दिनु ................            

मिसिल नियम वमोजिम गरी वुझाई दिनु.. 

 

उक्त रायमा म सहमत छु ।

 

न्या.भैरवप्रसाद लम्साल

 

इति संवत् २०५६ साल श्रावण ३१ गते रोज २ शुभम् ...................................... ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु