निर्णय नं. ६८२० - अंश

निर्णय नं. ६८२० ने.का.प. २०५६ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री ज्ञाइन्द्र वहादुर श्रेष्ठ
संवत् २०५२ सालको दे.पु.नं. .. २८७०
फैसला मिति : २०५६।५।२८।२
मुद्दाः अंश ।
पुनरावेदक
वादीः विश्राम थारुको पत्नी जि. वर्दिया वदालपुर गा.वि.स. वा.नं. १ वस्ने वर्ष ५४ की अगनी थरुनी
विरुद्ध
विपक्षी
प्रतिवादीः ऐ.ऐ. वस्ने रंगीलाल थारुको छोरा अ.वर्ष ५० को पूर्णवहादुर थारु समेत
§ मुलुकी ऐन, अंश वण्डाको १८ नं. वमोजिम मानो नछुटिईसंग वसेको अंशियार छन् भने जूनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट वढे वढाएको संगोलको आर्जन र लनेदेन व्यवहारको महलको ८ नं. वमोजिम लगाएको ऋण सवै अंशियारलाई भाग लाग्छ भन्ने स्पष्ट उल्लेख भएकोले यी वादी प्रतिवादी वीच मुद्दा पर्दाको अघिल्लो दिनसम्मको संपूर्ण सम्पत्ति संगोलको सम्पत्ति नै कायम हुन आउंछ । विक्रि वितरणबाट प्राप्त गरेको जग्गालाई निजी आर्जनको जग्गा भन्ने जिकिरको सम्वन्धमा निजी आर्जन भन्नाले उक्त अंश वण्डाको १८ नं. वमोजिम कुनै अंशियारले आफ्नो ज्ञान वा शिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वक्स पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धन महलको ५ नम्वर वमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफुखुशी गर्न पाउंछ भन्ने प्रावधान भएकोले विवादित विक्रि वितरणमा प्राप्त जग्गालाई निजी आर्जनको भनि पुनरावेदन अदालतले व्याख्या गरेको कानूनतः मिल्न नआउने ।
(प्र.नं. १४)
पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ताद्वय श्री वालकृष्ण न्यौपाने तथा सहयोग पोखरेल
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
अवलम्वित नजीर :
फैसला
न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत नेपालगंजको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य् एवं ठहर यसप्रकार छ ।
२. मुलपुर्खा झुठारी थारुका २ छोरा महाविर थारु र कलवीर थारु, महाविरका छोरा भगिलाल र रेगीलाल, कुलवीरका छोरा विश्राम थारु हुन । रेगीलालको छोरा पुरन थारु र लाल वहादुर थारु हुन । भागिलालका ४ छोरा पतिराम थारु, जित वहादुर थारु, दोगाले थारु, जग्गु थारु हुन । विश्राम थारुको मगनी थरुनी विवाहित पत्नी हुं । म बाट शंकर थारु, पुनाराम थारु, गोविन्द थारु, दुर्गा थारु र शिवराम थारु समेतका छोराहरु जन्मिएका हुन । प्र. हरु मेरा अंशियारहरु हुन र हामीहरुको वीचमा अंशवण्डा भएको छैन । ०४८।३।२५ गते प्र. हरुसंग मेरो अंश भाग दिनुहोस भन्दा दिनौं भनी जवाफ दिएकाले फांटवारी लिई सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग दिलाई भराई पाउं भन्ने व्यहोराको फिराद पत्र ।
३. वादीले उल्लेख गरेको पुस्तावारी वाहेक सम्पूर्ण कुराहरु झुठा हो । २०२२।११।१५ गते विपक्षीका पति ससुराकै पालामा अचल सम्पत्ति केही नहुंदा सम्पत्ति वांडफांड भैसकेको छ । विपक्षी अलग वसेपछि विक्रि वितरणमा प्राप्त गरी भोग गरेको जग्गामा अंश वण्डाको १८ नं. वमोजिम वादीलाई अंश दिनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. वादी प्रतिवादीहरुका साक्षीहरुको वकपत्रहरु र दुवै पक्षबाट पेश भएका अंशको फांटवारी समेत मिसिल संलग्न रहेका ।
५. मोही १ नं. फारमबाट पुर्खौली जग्गा पनि देखिएको मानो छुटिृएको भए सो जग्गा वाडंन नपर्ने कुनै कारण नदेखिएको प्रतिउत्तर जिकिरलाई तथ्ययुक्त रुपमा साक्षीबाट समर्थित हुन सकेको नदेखिएको र वादी दावी साक्षीबाट पुष्टि भैरहेको देखिंदा २०३८ सालमा मानो छुटृीएको कायम भै वादीले आफ्नो ५ जना छोराको हकमा दावी गरेको नहुंदा दाखिल भएका फांटवारीवाट २ भाग गरी १ भागको ६ भाग लगाइ १ भाग अंश वादीले पाउने ठहराई वर्दिया जिल्ला अदालतबाट ०५०।९।१।५ मा भएको फैसला ।
६. मैले फिरादमा सम्पूर्ण सम्पत्तिमा २ भाग लगाई एक भाग दिलाइ पाउं भनि सो फिरादको पेटवोलीमा मेरा ५ जना छोराहरु भएको कुरा समेत उल्लेख गरेको र पतिको परलोक भैसकेपछि निजको सम्पत्तिमा मेरो हक लाग्दछ । मेरा छोराहरु कारणी सरह देखिन आएको भए अ.वं. १३९ नं. वमोजिम वुझि इन्साफ गर्नु पर्दथ्यो । सम्पूर्ण सम्पत्तिमा २ भाग लगाइ १ भागमा ६ भागको १ भाग अंश पाउने गरी मलाई आंशिक रुपमा हराइ वर्दिया जि.अ. वाट भएको फैसला त्रुटीपूर्ण हुंदा उक्त २ भागको १ भाग सम्पत्ति दिलाई भराइ पाउं भन्ने व्यहोराको वादीको पुनरावेदन पत्र ।
७. हामीहरु वीचमा २०२२ सालमा अंशवण्डा भएको कुरा व्यवहार प्रमाणबाट पुष्टि भएको छ। त्यसपछि अलग अलग रुपमा वि.वि. वाट जग्गा प्राप्त गरेको, जग्गामा अंशवण्डाको १८ नं. ले वादीको अंश हक लाग्दैन । पेश भएको फांटवारीबाट २ भाग लगाई १ भागको ६ भाग लगाई १ भाग अंश पाउने ठहर भै पष विपक्षका छोराहरुबाट हामी उपर अंश लाग्न सक्ने भएबाट समेत वर्दिया जि.अ.वाट भएको त्रुटीपूर्ण फैसला वदर गरी पाउं भन्ने समेत व्यहोराको प्र. हरुको संयुक्त पुनरावेदन पत्र ।
८. प्रतिवादीहरुले आफ्नो प्रयासबाट निजी तवरले प्राप्त गरेको जग्गाहरुलाई संगोलको आर्जनको जग्गा भनी भन्न सकिने अवस्था नहुंदा प्रतिवादीहरुले आफ्नो प्रयासवाट निजी तवरले प्राप्त गरेको जग्गाहरुमा अंश वण्डाको १८ नं. व्यवस्था अनुसार वादीले अंश नपाउने हुनाले वादीले उक्त जग्गाहरुबाट अंश पाउने ठहराई भएको शुरु वर्दिया जिल्ला अदालतको मिति २०५०।९।१।५ को फैसला कानून संगत नदेखिनाले उल्टी हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने मिति २०५२।९।१०।२ को पुनरावेदन अदालत नेपालगंजको फैसला ।
९. उक्त फैसला उपर चित्त नवुझी पुनरावेदक वादीको तर्फबाट यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।
१०. यसमा पुनरावेदक वादी अगनी थरुनी ससुरा कुलवीरको नाउंमा विक्रि वितरणमा प्राप्त जग्गा प्रतिवादीहरु लाल वहादुर थारु र पूर्ण वहादुर थारुको वावु रेगीला थारुले आफ्नो नाउमा नामसारी गराएको भन्ने रङगीलालको नाउंमा पाना नं. ८७५ को जग्गाधनी पुर्जाबाट जिल्ला वर्दिया वदालपुर गा.वि.स. वार्ड नं. १ कि.नं. २०।१७६ को ज.वि. ४-०-० जग्गा देखिन आउंछ । उक्त जग्गा वादी प्रतिवादीहरुको पहिला नै वण्डा भएको भए कुलविरका सन्तानहरुमा जानुपर्ने सो अनुरुप भएको नभई विक्रि वितरणको जग्गा प्रतिवादी तर्फ गएको कारणबाट समेत पुनरावेदन अदालत नेपालगंजले गरेको फैसलाको इन्साफ फरक पर्न सक्ने देखिंदा मुलुकी ऐन, अ.वं. २०२ नं. वमोजिम विपक्षीहरुलाई झिकाइ नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०५५।३।३०।३ को आदेश ।
११. नियम वमोजिम दैनिक मुद्दा पेशी सुचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट विद्वान अधिवक्ताद्वय श्री वालकृष्ण न्यौपाने तथा श्री सहयोग पोखरेलले फिराद परेको अघिल्लो दिनलाई मानो छुटिृएको मिति कायम हुनु पर्ने हुंदा मेरो पक्ष वादीको माग दावी वमोजिम २ भागको १ भाग अंश प्र.वाट दिलाई भराई पाउनु पर्नेमा शुरु जिल्ला अदालतले २ खण्डको १ खण्डको ६ भागको १ भाग मात्र दिलाएको शुरु वर्दिया जिल्ला अदालतको र वादी दावी पुग्न नसक्ने ठहराएको पु.वे.अ. नेपालगंन्जको फैसला नमिलेकोले उल्टी भै वादी दावी वमोजिम वादीलाई २ भाग को १ भाग दिलाई भराई दिनु पर्ने हुंदा सो पु.वे.अ. को फैसला उल्टी हुनु पर्दछ भनी वहस प्रस्तुत गर्नुभयो भने विपक्षी प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले पुनरावेदक वादी मेरो पक्ष प्र.हरुबाट ०२२ सालमा नै छुटृीइ भिन्न भैसकेकोले वादीले अंश नपाउने हुंदा यसमा शुरु अदालतले गरेको फैसला नमिली सो लाई उल्टी गरी गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला सदर कायम हुनु पर्दछ भनि वहस प्रस्तुत गर्नुभयो ।
१२. विद्वान अधिवक्ताहरुको वहसको सन्दर्भमा इजलास समक्ष प्राप्त हुन आएको संपूर्ण मिसिल एवं कागजात समेत अध्ययन गरी हेर्दा पुनरावेदन अदालत नेपालगन्जले पुनरावेदक वादीले विपक्षी प्रतिवादीहरुबाट अंश नपाउने ठहर गरेको फैसला मिले नमिलेको के हो र यसमा पुनरावेदन माग दावी वमोजिम जिकिर पुग्ने हो, हैन भनि यस अदालतबाट निर्णय दिनु पर्ने हुन आयो ।
१३. अव निर्णय तर्फ विचार गर्दा यसमा मुल पुर्खा झुठारी थारुका २ छोरा महाविर थारु र कुलविर थारु, महाविर थारुका छोरा भगीलाल र रंगिलाल, कुलविर थारुको छोरा विश्राम थारु हुन । रंगिलालका छोरा पुरन थारु र लाल वहादुर थारु हुन । भगिलालका ४ छोरा पतिराम थारु, जित वहादुर थारु, डोगाले थारु, जग्गु थारु हुन । विश्राम थारुको म अगनी थरुनी विवादित पत्नी हुं । म बाट शंकर थारु, पुनाराम थारु, गोविन्द थारु, दुर्गा थारु र विशराम थारु समेतका छोराहरु जन्मिएका हुन । प्र. हरु मेरा अंशियारहरु हुन र हामीहरुको वीचमा अंश वण्डा भएको छैन । मेरा पति स्व. विश्राम जिवित छंदै ०३८ सालमा घरसारमा छुटिृइ अलग भएको २०४८।३।२५ गते प्रतिवादीहरुसंग अंश भाग माग गर्दा दिन इन्कार गरेकोले संपूर्ण चल अचल सम्पत्तिको फांटवारी लिइ २ भाग लगाइ एक भाग म वादीलाई दिलाई भराई पाउं भन्ने मुख्य फिराद दावी र वादीले उल्लेख गरेका पुस्तावारी वाहेक संपूर्ण कुराहरु झुठा हो । महाविर थारु, भंगी थारु, रंगीलाल र निजका छोराहरु कुलवीरका छोरा विश्राम थार हुंदा संगोलमा वस्न नसक्ने अवस्था हुंदा २०२२।११।१५ गते विपक्षीका पति विश्राम ससुरा कुलवीरकै पालामा नै वण्डा गर्नु पर्ने अचल सम्पत्ति केही पनि नभएको हुंदा जो भएको चल सम्पत्ति वांडफांड भइ अंश वण्डा गरी छुटृी भिन्न हुंदा वण्डापत्र रजिष्ट्रेशन पारीत गर्नुपर्ने अवस्था नभएको अलग अलग वसेपछि विक्रि वितरणमा जग्गा प्राप्त गरी भोग चलन गरी आएका छौं । अंश दिनुपर्ने होइन छैन भन्ने समेत व्यहोराको प्रत्यूत्तर परी चलेको प्रस्तुत मुद्दामा कारवाही किनारा हुंदै जांदा वादी दावालाई साक्षीबाट पुष्टि भैरहेकोले २०३८ सालमा मात्र मानो छुटिृएको कायम गरी वादीले आफ्नो ५ जना छोराको हकमा दावी गरेको नहुंदा दाखिल भएको फांटवारीबाट २ भाग गरी एक भागको ६ भाग लगाइ एक भाग अंश पाउने ठहर्छ भनि शुरु वर्दिया जिल्ला अदालतबाट मिति २०५०।९।१।५ मा भएको ठहर निर्णय भए उपर चित्त नवुझी दुवै वादी तथा प्रतिवादीबाट पुनरावेदन परी कारवाही किनारा हुंदा पुनरावेदन अदालत नेपालगंज वांकेले प्र्रतेवादीहरुले विक्रि वितरणमा प्राप्त गरेको जग्गाहरु वाहेक निजहरुका नाउंमा कुनै पैतृक एवं सगोलको संपत्ति दर्ता रहेको नदेखिएको तथा भूमि सम्वन्धी नियमहरु २०२१ अनुसार विक्रि वितरणमा प्राप्त गरेका जग्गाहरुलाई सगोलको आर्जनको जग्गा भनि भन्न सकिने अवस्था नहुंदा प्रतिवादीहरुले आफ्नो प्रयासबाट निजी तवरले प्राप्त गरेको जग्गाहरुमा अंश वण्डाको १८ नं. को व्यवस्था अनुसार वादीले अंश नपाउने हुनाले वादीले उक्त जग्गाहरुबाट अंश पाउने ठहराइ भएको शुरु वर्दिया जिल्ला अदालतको मिति २०५०।९।१।५ को फैसला कानून सम्मत नदेखिनाले उल्टी हुने ठहराइ मिति २०५२।९।१०।२ मा फैसला भएकोमा सो उपर चित्त नवुझी यी पुनरावेदक वादीका तर्फबाट यस अदालत समक्ष पुनरावेदन पर्न आएको देखिन्छ ।
१४. यसमा वादीले फिरादमा उल्लेख गरेको पुस्तावारीलाई प्रतिवादीले समेत स्वीकार गरेको छ । सो पुस्तावारीबाट मुल पुर्खा झुठारी थारुका दुइ भाई छोराहरु मध्ये महावीरका तर्फको प्रतिवादीहरु र वादीका ससुरा कुलवीर थारुका छोरा विसराम थारुको श्रीमती वादी अगनी थरुनी देखिन्छिन । यसरी वादी र प्रतिवादीहरु अंशियार रहेकोमा विवाद देखिदैन । साथै वादीले २०३८ सालमा मानो छुटिृएको भन्ने उल्लेख गरेकोमा प्रतिवादीहरुले २०२२।११।१५ मा भएको वण्डा भैसकेको भन्ने प्रत्युत्तर जिकिर रहेता पनि मानो छुटिृएको र वण्डापत्रको लिखत रहे भएको देखिंदैन । साथै निजहरुको व्यवहार प्रमाणबाट छुटिृइ नरम गरम मिलाई वसेको देखिदैन । तसर्थ शुरु वर्दिया जिल्ला अदालतले दुवै पक्षबाट लिएको तायदाती मध्ये वादीको तायदातीबाट वादीहरु तर्फ जम्मा ३-५-१० जग्गा रहेको र प्रतिवादीको तायदातीबाट प्रतिवादीतर्फ १९-१३-५ जग्गा रहेकोबाट जग्गाको क्षेत्रफल धेरै कम वेशी रहेको प्रष्ट हुन्छ । मोहीको लगत १ नं. मा कि.नं. ०३२ र ०३५ पुर्खौली जग्गा रहेको व्यहोरा प्रतिवादी भगीराम थारुले भरेको २०२१ सालको लगतमा वादीका ससुरा कुलवीर थारु र पति विसराम थारु समेत संगोलमा उल्लेख भएको छ । भूमि सुधार कार्यालय वर्दिया र मालपोत कार्यालयबाट प्राप्त मिसिल संलग्न श्रेस्ताबाट वादी प्रतिवादी समेतका अंशियारहरुका नाममा रहेको जग्गा श्रेस्ताबाट वादी प्रतिवादीको नामको जग्गा मिले भिडेको समेत छ । साथै वादीको ससुरा कुलवीर दर्ताको विक्रि वितरणबाट प्राप्त जग्गा प्रतिवादी लाल वहादुर थारु तथा पुरन वहादुर थारुको पिता रंगीलाल थारुको नाममा नामसारी गराएको भन्ने रंगीलालका नाउंको पाना नं. ८७५ को जग्गाधनी प्रमाण पुर्जाबाट देखिन आउछ । प्रतिवादीको भनाई अनुसार २०२२ सालमा वादी प्रतिवादी छुटृी भिन्न भएको भए वादीका ससुरा कुलवीरले विक्री वितरणमा २०२३ सालमा प्राप्त गरेको जग्गा प्रतिवादी रंगीलालले नामसारी गराइ आफ्नो नाममा राख्न पाउने अवस्था नै आउने देखिदैन । यसप्रकार अंश जस्तो नैसर्गिक जन्मसिद्ध अधिकारको सम्वन्धमा प्रतिवादीको भनाइकै भरमा अंशवण्डा भैसकेको भन्न मिलेन । वादीले अंश पाइसकेको सवुद प्रमाणको अभावमा अंशवण्डाको वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको देखिएन । यस्तो अवस्थामा मुलुकी ऐन, अंशवण्डाको १८ नं. वमोजिम मानो नछुटिृई संग वसेको अंशियार छन् भने जूनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट वढे वढाएको संगोलको आर्जन र लनेदेन व्यवहारको महलको ८ नं. वमोजिम लगाएको ऋण सवै अंशियारलाई भाग लाग्छ भन्ने स्पष्ट उल्लेख भएकोले यी वादी प्रतिवादी वीच मुद्दा पर्दाको अघिल्लो दिनसम्मको संपूर्ण सम्पत्ति संगोलको सम्पत्ति नै कायम हुन आउंछ । विक्रि वितरणबाट प्राप्त गरेको जग्गालाई निजी आर्जनको जग्गा भन्ने जिकिरको सम्वन्धमा निजी आर्जन भन्नाले उक्त अंश वण्डाको १८ नं. वमोजिम कुनै अंशियारले आफ्नो ज्ञान वा शिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वक्स पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धन महलको ५ नम्वर वमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफुखुशी गर्न पाउंछ भन्ने प्रावधान भएकोले विवादित विक्रि वितरणमा प्राप्त जग्गालाई निजी आर्जनको भनि पुनरावेदन अदालतले व्याख्या गरेको कानूनतः मिल्न आउने देखिदैन ।
१५. तसर्थ यस स्थितिमा मानो छुटिृएको मितिको सम्वन्धमा वादी प्रतिवादीको मुख नमिलेकोमा फिराद परेको अघिल्लो दिनलाई मानो छुटिृएको मिति कायम गर्नु पर्नेमा नगरेको सम्म शुरु वर्दिया जिल्ला अदालतको फैसला सो हदसम्म त्रुटीयुक्त हुंदा प्राप्त तायदाती वमोजिम देहायको सम्पत्तिको अतिरिक्त फिराद परेको अघिल्लो दिनलाई मानो छुटिृएको मिति कायम गरी सो मिति सम्मको कुनै वण्डा गर्नुपर्ने सम्पत्ति भए सो को तायदाती दुवै पक्षवाट लिइ मुल पुर्खा झुठारीका २ छोराको हांगामा वादी अगनी थरुनी कुलवीरको छोरा विसरामको श्रीमती भएको र प्रतिवादीहरु महाविरको हांगामा हुंदा वादी दावी वमोजिम २ खण्डको १ खण्ड अंश हक दिलाइ भराई दिनु पर्नेमा २ खण्डको १ खण्डको ६ भागको १ भाग मात्र दिलाएको शुरु वर्दिया जिल्ला अदालतको र वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत नेपालगंजको फैसला समेत दुवै फैसला नमिलेकोले उल्टी भै वादी दावी वमोजिम वादीलाई २ भागको १ भाग अंश दिलाई भराइ पाउने ठहर्छ । सो ठहर्नाले अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
पुनरावेदक (वादी) अगनी थरुनी के माथि इन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी भै वादी प्रतिवादीबाट क्रमशः मिति २०४९।२।४ र मिति २०४९।२।१।५ मा पेश भएको तायदाती फांटवारी र फिराद परेको अघिल्लो दिन सम्मको तायदाती लिई सो वमोजिमको सम्पत्तिबाट २ भागको १ भाग अंश पाउने ठहरेवाट देहायमा लेखिएको सम्पत्तिबाट वण्डा छुट्याई पाउं भनि दण्ड सजायको ४६ नं. को म्यादभित्र वादीको दरखास्त परेमा कानून वमोजिम लाग्ने दस्तुर वादीबाट दाखिल गराइ कानूनको रीत पुर्याई वण्डा छुटर्याई दिनु भनि लगत राख्न शुरु वर्दिया जिल्ला अदालतमा लेखि पठाउनु .... १
प्राप्त तायदातीको अतिरीक्त फिराद परेको अघिल्लो दिन सम्मको वण्डा गर्नुपर्ने सम्पत्तिको दुवै पक्षबाट तायदाती पेश गर्न दुवै पक्षलाई सूचना दिई झिकाउनु भनि शुरु जिल्ला अदालतमा लेखि पठाई दिनु ..... १
वादी अगनी थरुनीका तर्फबाट दाखिल भएको तायदाती फांटवारी अनुसारको सम्पत्ति
जिल्ला |
गा.वि.स. |
वडा नं. |
कि.नं |
क्षेत्रफल |
दर्तावाला
|
वर्दिया |
वदालपुर |
१ |
९९ |
०-३-० |
विश्राम थारु |
,, |
,, |
१ |
१८२।२७७ |
३-२-१० |
,, |
,, |
,, |
१ |
२०। १७६ |
४-०-० |
रंगीलाल थारु |
कि.नं. २० र १७६ को जग्गामा वनेको खरियाको दिवाल फुसको छाना भएको १२ हात चौडा १९ हात लामो घर ...... १
प्रतिवादी पुरन थारु समेतका तर्फबाट दाखिल भएको तायदाती फांटवारी वमोजिमको सम्पत्ति
जिल्ला वर्दिया
गा.वि.स |
वडा नं. |
कि.नं |
क्षेत्रफल |
दर्तावाला |
वदालपुर |
१ |
४४ |
३-१०-० |
पतिराम थारु |
,, |
२ख |
५१ |
०-१०-० |
,, |
,, |
१ |
२०।१७६ |
४-०-० |
रंगीलाल थारु |
,, |
१ |
२०।१७७ |
४-०-० |
पूर्ण व. थारु |
,, |
१ |
१७८ |
३-१२-० |
जीत व. थारु |
,, |
२ख |
५२ |
०-१-५ |
,, ,, |
,, |
१क |
२७म |
४-०-० |
डोगाली थारु |
चल सम्पत्ति तर्फ गिल्टीको कसौडी १, फलामको कराई १, ऐ.को डाडु १, ऐ.को पन्यु १, स्टीलका थाल ५ ऐ.का कचौरा ५, ऐ.को गिलास ५, माटाको गाग्रो, गोरु हल १, पुनरावेदक (वादी) ऐ.ऐ के माथि इन्साफ खण्डमा लेखिए वमोजिम ठहरेकोले निजले प्रतिवादीहरुबाट भरी पाउने ठहरेको शुरु कोर्ट फि रु.११२०। प्रतिवादीहरुले पुनरावेदन अदालत नेपालगंजमा वर्दिया जिल्ला अदालत मार्फत मिति २०५१।२।१० मा धरौटी राखेको देखिएकोले उक्त कोर्ट फी भराई पाउं भनि निजको कानूनका म्याद भित्र दरखास्त परेमा सोही धरौटीबाट भरी भराउ गरी दिनु भनि लगत राख्न शुरु वर्दिया जिल्ला अदालतमा लेखी पठाउनु ..... २
पुनरावेदक (वादी) ऐ.ऐ.को निजले शुरुमा राखेको कोर्ट फी रु.५६७०। मध्ये ४५५०। शुरु वर्दिया जि.अ.को मिति ०५०।९।१ को फैसलाले जफत गरेको देखिएकोमा सो कोर्ट फी रु.४५५०। निजले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.८५०।५० समेत जम्मा कोर्ट फी रु.५४००।५० निजले प्रतिवादीहरुबाट भराई पाउने हुंदा सो भराई पाउं भनि निजको कानूनको म्यादभित्र दरखास्त परे कानूनको रीत पुर्याई भरी भराउ गरी लगत राख्नु भनि शुरु वर्दिया जिल्ला अदालतमा लेखी पठाउनु ... ३
पुनरावेदन अदालत नेपालगंजको मिति ०५२।९।१० को फैसलाले कसेको सम्पूर्ण लगत कटृा गर्नु भनी शुरु वर्दिया जि.अ.मा लेखी पठाउनु ........... ४
मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. ज्ञाइन्द्रवहादुर श्रेष्ठ
इति संवत २०५६ साल भाद्र २८ गते रोज २ शुभम् ............................................ ।