शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८२१ - कर्तव्य ज्यान

भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११

निर्णय नं. ६८२१     ने.का.प. २०५६ अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री

संवत् २०५४ सालको फौ.पु.नं. ..१५७८

फैसला मिति : २०५६।१।२१।३

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक

प्रतिवादीः जि. कंचनपुर रैकवार वीचवा गा.वि.स. वा.नं. ८ घोडाघाट घर भै हाल कारागार शाखा कंचनपुरमा थुनामा रहको चन्द्र वहादुर महरा ।

विरुद्ध

प्रत्यर्थी

वादीः ऐ.ऐ. वस्ने धन वहादुर महराको जाहेरीले श्री ५ को सरकार ।

 

§  प्रतिवादी स्वंयले नै अभियोगबाट पूर्ण सफाइको माग गर्न नसकी केवल तत्काल उठेको रिस थाम्न नसकी लाठा ढुंङ्गाले प्रहार गर्दा भवितव्य भएको भन्ने कारण देखाई ज्यान सम्वन्धीको ६ नं. को देहाय (४) को सुविधा सम्म माग गरेको देखिन्छ । मुलुकी ऐन ज्यान सम्वन्धीको ६(४) नं. को कानुनी व्यवस्थाबाट हेर्दा रक्षा शिक्षा गर्नेले मर्नेको हितको निमित्त कुटपिट वा अरु कुनै काम कुरा गर्दा भवितव्यमा परेकोमा पचास रुपैयासम्म जरीवाना हुन्छ भन्ने व्यवस्था भइ रहेको देखिन्छ भने भवितव्यको परिभाषा गर्ने ज्यान सम्वन्धीको ५ नं. हेर्दा ज्यान लिने इविलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्ता नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ भनी उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दाका प्रतिवादीले मृतकसंग पुर्व रिसइवी रहेको भन्ने कुरालाइ आफैले स्वीकार गरेको सर्न्र्दभलाइ समेत विचार गरिनु पर्ने हुंदा ज्यान सम्वन्धीको ५ नं. को व्यवस्था पनि निजको हकमा आकर्षित हुन सक्ने भन्न नमिल्ने ।

(प्र.नं. २४)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री राजु महत

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्वित नजीर :

 

फैसला

      न्या. केदारनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ ।

      २.    मिति २०५२।११।२३ गते राती मेरा दाजु नाता पर्ने दिर्घ वहादुर नेगी र चन्द्र वहादुर महरा वीच पुर्व रिसइवी भएको हुंदा दाजु पेट दुखी दिसा गर्न नदीको किनारतर्फ जानु भएकोमा चन्द्र वहादुर महराले सोही समयमा हिरा सिंह मुल्याल र हरपाल  सार्कीलाई बोलाइ मोहना नदीतर्फ जानु एकै छिनपछि दाजुको मृतक अवस्थामा लास फेला पर्नुबाट दाजुलाई चन्द्र वहादुर महरा, हिरा सिंह मुल्याल र हरपाल सार्की समेतले कुटपिट गरी मारेकोमा पुरा विश्वास लागेको हुंदा निजहरुलाई पक्राउ गरी सजाय गरी पाउं भन्ने समेत व्यहोराको मिति ०५२।१२।२४ को जाहेरी दरखास्त ।

      ३.    मुख खुला दांतहरुमा रगत लागी सुकेको तल्लो ओठ र चिउडोको वीचमा रगत लागेर सुकेको दाहिने आंखा वन्द, दाहिने गालामा २ इन्च जति निलो डाम, दाहिने आंखा तलतिर छाला खुइलिएको दाग निधारको वीच भागमा आधा इन्च घाउ रगत निस्की निधार कपालमा लागी सुकेको भन्ने समेत व्यहोराको मिति ०५२।१२।२४ को घटनास्थल प्रकृति मुचुल्का ।

      ४.    मेरो वावु गगनसिंह महराको म २।३ वर्षको छंदा मृत्यु भएको र निज दिर्घ वहादुर नेगी तथा मेरी आमा तुल्सी देवी महराका वीच अवैध यौन सम्वन्ध रहेको कुरा मैले ८।९ वर्षको छंदा थाहा पाएको हुं । मैले सानो हुंदा निजलाई र आमालाइ केही गर्न सकेको थिइन । आमाको र मृतकको अवैध यौन सम्वन्ध रहेको विषयमा गाउं घरमा २।३ पटक छलफल सम्म भएको हो। सोही सम्वन्धमा मेरो निजसंग पुर्व रिसइवी भएकोले मैले निजलाई भेटी आज पनि मेरी आमासंग यौन सम्वन्धको लागी आएको भनी निज उपर रिस उठी हानेको हुं मैले हानेकै चोटबाट मृत्यु भएको हो भन्ने समेत व्यहोराको अ.चन्द्र वहादुर महराले प्रहरीमा गरेको वयान ।

      ५.    मिति ०५२।१२।२३ गतेको राती  ८:१/२ वजेको समयतिर मेरो घर नजिकै गोवडे दमाइको घरमा बसेको थिएं । चन्द्र वहादुर महरा म र गोवडे दमाई वसी रहेको घर नजिकको वाटोमा आई पुग्दा निजले मृतकलाई भेटी वादविवाद हुंदा चन्द्रवहादुर महराले मृतकलाइ १ चोट हाने, मृतक भुइंमा पल्टीन गए मैले यसरी झगडा नगर भन्दा भनेको कुरा मानेन, चन्द्र वहादुर महराले निज मृतकलाई हातले हान्दा देखेको हुं म गै सकेपछि के कस्तो हतियारले हानेछ मलाई थाहा छैन भन्ने समेत व्यहोराको अ. हरपल सार्कीले प्रहरीमा गरेको वयान ।

      ६.    ०५२।१२।२३ गतेको राती अं. १०:१/२ वजेको थियो होला मेरो घर आंगनमा हरपाल सार्की आइ मलाई आवाज दिन लाग्यो मेरी आमाले हरि घरमा छैन भनेपछि म विउझै भएको, वाहिर आंगनमा आई हेर्दा हरपाल सार्कीलाई देखि किन आएको भन्दा तपाईको भान्जा र दिर्घ वहादुरका वीच झगडा कुटपिट भयो तपाईको भान्जाले बोलाइ ल्याई दिनोस भनेकाले वोलाउन आएको हुं भन्ने वित्तिकै भानिज चन्द्र वहादुर महरा साइकिलमा चढी मेरो घरमा आइ निजले मलाइ दिर्घ वहादुर नेगी मेरो घरमा गई तिम्रो मामाले वोलाएको छ भनी भागी आएका हुन । म तपाईको घरमा आउंदै थिएं । निजलाई पुनः मेरो घरतिर जान लागेको देखि निज दिर्घ वहादुर र आमाको पुर्व यौन सम्वन्धको विषय लिइ मैले निजलाई किन मेरो घरमा आउछस भनि निजसंग मेरो कुटपिट भयो एकछिन गई दिनोस भन्दा घटनास्थल ठाउंतिर गई दिर्घ वहादुरलाई पल्टेको देखि घरमा फर्कि आई उक्त खवर मृतककी आमा र स्वास्नीलाई गरेको हुं मैले निज मृतकलार्ई कुटपिट गरेको छैन भानिज चन्द्र वहादुर महराले निज मृतकलाई कुटपिट गरेका हुन निजकै चोटवाट मृतकको मृत्यु भएको होला भन्ने समेत व्यहोराको अ. हरि सिंह मुत्यालले प्रहरीमा गरेको वयान ।

      ७.    मिति ०५२।१२।२३ गते मेरो छोरा दिर्घ वहादुर नेगी सांझ ८ वजेतिर पेट दुखेको छ भनी केही समयपछि दिसा गर्न मोहना नदी तिर गएका हुन । वुहारी घरभित्र सुतेकी थिइन । म वाहिर सुत्ने भएकोले मच्छर लागी निन्द्रा परेको थिएन । हरि सिंह मुत्याल आफ्नो घरमा आएको देखें मैले निजलाई कहांवाट आउनु भयो नदीतर्फ मेरो छोरा पनि गएको थियो देख्नू भयो की भन्दा  निजले चन्द्र वहादुर महरा र हरपाल सार्की वोलाउन आएका थिए । नदी किनारामा पुग्दा तिम्रो छोरालाई पल्टेको देखें त्यहीबाट फर्कि आएको हुं । निज जिउदै छन वा मरेका हुन भन्न सक्दिन भने पछि म र वुहारी छोरा पल्टेको ठाउंमा गै हेर्दा छोरालाई मृतक अवस्थामा देखें जिउंदै छन कि भनी नन्द कार्कीको घरबाट पानी ल्याई छोराको मुखमा पानी हालें छोराको मृत्यु भै सकेको हुंदा पानी घांटीमा गएन चन्द्र वहादुरको आमा र मृतक छोरा वीच अनैतिक अवैध यौन सम्वन्ध छ भनि गाउं घरमा हल्ला सम्म भएको हो । सोही रिसइवीले चन्द्र वहादुर मानिसहरुको सहयोग लिई वा आफै एक्लैले कुटपिट गरी मारे एकिन भन्न सक्दीन भन्ने समेत व्यहोराको श्रीमती तारादेवी नेगीले प्रहरीमा गरेको वयान ।

      ८.    मिति ०५२।१२।२३ गतेका दिन सांझ मेरो लोग्ने धनगढीबाट घरमा आए । खाना खानुस भन्दा पेट दुखेको छ भनि एक छिन घरभित्र पल्टी मोहना नदीतिर दिसा गर्न जान्छू भनि गएका हुन । हरि सिंह मुत्याल वगरबाट आफ्नो घरमा आई कराउन लागेको सुनी सोधपुछ गर्दा निजले तिम्रो छोरा र चन्द्र वहादुर महरावीच झै झगडा कुटपिट भै पल्टेका छन जिउदो छ वा मरेको छ लिएर आउ भनेछन । उक्त कुरा सासुले घरमा आई मलाई भन्दा दुवै सासु वुहारी गई वगर भन्ने ठाउंमा पुग्दा लोग्नेलाइ जमीनमा पल्टको देख्यौं लोग्नेलाई समाती हेर्दा वहांको मुखमा रगतै रगत थियो नजिकै नन्द कार्कीको घरवाट पानी ल्याई मुखमा हालें घांटीमा पानी नजांदा मृत्यु भै सकेको सोची सासु वुहारी रोइ कराई गाउंमा गै हल्ला गर्र्यौ । ६।७ वर्ष पहिले लोग्नेको चन्द्र वहादुर महराकी आमा संगको अवैध यौन सम्वन्ध छ भन्ने कुरा गाउंमा चर्चा चलेको रहेछ। सोही रिसइवी लिई चन्द्र वहादुर महराले मानिसहरुको सहयोग लिई मेरो लोग्नेलाई कुटपिट गरी मारेका हुन भन्ने समेत व्यहोराको श्रीमती रम्भादेवी नेगीले प्रहरीमा गरेको कागज ।

      ९.    मिति ०५२।१२।२३ गते राती म घरको पालीमा सुतेको थिएं । मेरो घरमा एकजना मानिस मेरो घरमा आई छोरालाई उठाउन गै मैले छोरा घरमा छैन को हो भन्दा निजले म हुं भने पछि हरपाल सार्की हो भनि आवाजबाट चिनें । छोरा पनि घर भित्रबाट विउझी वाहिर आंगनमा आयो । चन्द्र वहादुर महरा पनि साइकिलमा चढी मेरो घरमा आई ३ जना वगरतर्फ गए । म दिर्घ वहादुर नेगीको घरमा गई चन्द्र वहादुर महरा र हरपाल सार्की मेरो छोरालाई उठाइ लगे । तिम्रो छोरा पनि गएको छ की भनी दिर्घबहादुरकी आमालाई सोधें । निजले मेरो छोरा पहिले दिसा गर्न गएको छ भनि वसेकी थिएं । मेरो छोरा वगरबाट खेत खेत भै घरमा फर्कि आएं । आमा आमा भनि कराएको आवाज दिर्घ वहादुर कै घरबाट सुनें । छोराले दिर्घ वहादुरकी आमालाई तिम्रो छोरा वगर भन्ने ठाउंमा पल्टेको छ । निजको र चन्द्र वहादुर महराको कुटपिट भएछ, निज जिउदै छ वा मरेको छन् लिएर आउ भने निज मृतककी आमा र स्वास्नी गै निजलाई हेर्दा मृतक अवस्थामा देखेछन सो कुरा गाउं घरमा हल्ला हुंदा सुनेको हुं भन्ने समेत व्यहोराको श्रीमती जसदेवी भुत्यालले प्रहरीमा गरी दिएको कागज ।

      १०.    ०५२।१२।२३ गतेका राती घरमा सुतेको थिएं । अं. साढे दश वजेको थियो होला मेरो घर नजिक अ.अ. गरी २ पटक कराएको आवाज सुनें के रहेछ भनि वाहिर आई हेर्दा १ जना मानिस पल्टेको देखें निजलाई चिन्न  सकिन । विरवहादुर सार्कीलाई उठाई गई हेर्दा मृतकलाई चिनें । म निजको मामाको घरमा खवर गर्न जान लागको अवस्थामा हरपाल सार्की र हरि भुत्याललाई देखेको थिएं । मृतकलाई चन्द्र वहादुर महराले कुटपिट गरेको भन्ने वुझिएबाट निजलाई सोधपुछ गर्दा मैले नै कुटपिट गरेको हुं भन्दै थिए को को भै कुटपिट गरेछन थाहा छैन भन्ने समेत व्यहोराको नन्द कार्कीले प्रहरीमा गरी दिएको कागज ।

      ११.    मिति ०५२।१२।२३ गतेका राती मृतक दिर्घ वहादुर नेगीको मामा खडक वहादुर महरा मेरो घरमा गै मेरो भान्जा मृतक अवस्थामा वगर भन्ने ठाउंमा पल्टेको छ भनि मलाई भनेकोले सुनी थाहा पाएको हुं मृतकको मृत्यु के कसरी भयो भन्ने सम्वन्धमा पक्राउ भएका चन्द्र वहादुर महराले मैले कुटपिट गरी मारेको हुं भनी भनेकाले निजलाई चन्द्रबहादुर महराले कुटपिट गरी मारेको होला । अन्य २ जना हरपाल सार्की र हरि सिंह भुत्यालले मारेको होला भन्ने शंका लाग्दैन भन्ने समेत व्यहोराको प्रमानन्द जोशी समेतका जना ७ ले गरी दिएको वस्तूस्थिति मुचुल्का

      १२.   मृतक दिर्घ वहादुर नेगी र मेरो वीच ८।१० वर्ष पहिले १।२ पटक अवैध यौन सम्वन्ध कायम भएको हो उक्त सम्वन्धमा गांउ समाजमा वसी संझाइ वुझाइ हुंदा सम्वन्ध कायम राख्न छाडेको हुं । त्यसपछि मृतक कहिले कांही मादक पर्दाथ सेवन गरी मेरो घरमा आईरहन्थे । मैले डाठ फट्कार गरी पठाई दिन्थे । मिति ०५२।१२।२३ गतेका राती निज मृतक दिर्घ वहादुर नेगी मादक पर्दाथ सेवन गरी मेरो घरमा आएका हुन मैले गाली गरी भगाएको हुं रातीको १२।१ वजेको थियो होला । दिर्घ वहादुर नेगीको वगर भन्ने ठाउंमा मृतक अवस्थामा लास छ भनि गाउं घरमा हल्ला हुंदा थाहा पाएकी हुं । छोराले निज मृतकलाई कुटपिट गरेको हुं मेरो चोटबाट निजको मृत्यु भएको हो भन्दै थिए भन्ने समेत व्यहोराको तुल्सी देवी महराले प्रहरीमा गरी दिएको कागज ।

      १३.   प्रस्तुत मुद्दामा संकलन भै आएका मिसिल संलग्न कागजातहरु केलाइ विचार गर्दा ०५२।१२।२३ गते राती मेरो दाजु दिर्घ वहादुर नेगीलाई चन्द्र वहादुर महरा, हिरा सिंह भुत्याल, हरपाल सार्की समेतले कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ भन्ने जाहेरी घटनास्थल तथा लाश प्रकृति मुचुल्का र पोष्ट मार्टम रिर्पोट वुझिएका मिन वहादुर नेगी, नन्द कार्की, विरवहादुर सार्की, दलजित दमाई, जसदेवी भुत्याल, हिरा देवी महरा, रम्भादेवी नेगी, तारादेवी नेगीको कागज एवं सर्जमीन वस्तुस्थिति मुचुल्का समेतबाट पुष्टि हुन आएको र मृतक दिर्घ वहादुर नेगीलाई चन्द्र वहादुर महराले आफ्नो आमासंग अवैध यौन सम्वन्ध रहेको पुर्व रिसइवीवाट कुटपिट गरी कर्तव्य गरी मारेको कुरा प्रष्ट हुन आएकोले निज चन्द्र वहादुर मरहालाई ज्यान सम्वन्धीको १ नं. को कसुर गरेकोले सोही ऐनको १३(३) वमोजिम हदैसम्म सजाय गरी पाउन र पक्राउ परेका अन्य २ जना हिरा सिंह भुत्याल र हरपाल सार्कीलाई ज्यान सम्वन्धीका १७(३) वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन अभियोग मागदावी ।

      १४.   सो दिन राती दश साढे दश वजेतिर म आफ्नो जेठा वावु विराम हुंदा सो ठाउंवाट आफ्नो घरमा आइ खानाखाई पिसाव गर्न वाहिर निस्केको थिएं । मृतक दिर्घ वहादुर आइ म संग केही नवोली निज सरासर मेरो घर भित्र गयो । म पिसाव फेर्दै थिएं, मैले वाहिर वाटै को हो को हो भनि आवाज  गरें म भित्र जान लाग्दा निज मृतक दिर्घ वहादुर वाहिर भागी मेरो मामाले वोलाएको छ भनि निज भाग्यो । मामाले किन बोलाएछन भनी म मामाघर जान लाग्दा वाटोमा हरपाल सार्की, गोवडे दमाईको घरमा वसेको देखि निजलाई म मामाको घर जादैंछु मलाई डर लाग्छ संग जाइ दिनु पर्यो भन्दा हुन्छ हिड म आउछु भनि निज पछि पछि आउदैं थिएं । म अगाडि मामाको घर नपुग्दै निज मृतक दिर्घ वहादुर फर्कि पुनः मेरो घरतर्फ जान लागेको देखें म फर्कि सो ठाउंमा गै निजलाई मैले हालसम्म जे भयो भयो अव पनि त्यस्तो किन गर्छस भन्दा निजले मलाई तं के गर्छस जे गर्छस गर भन्दा मलाइ रिस उठी संझाउंदा पनि नमान्ने भनि आफ्नो हातले निजको गालामा हिर्काए । निज भुईमा लड्यो र पुनः त्यही एउटा काठ भेटाइ काठको डण्डाले एकचोटी पुनः हिर्काएको हुं कहां चोट लाग्यो रिसको आवेशमा हुंदा थाहा पाइन्न । निज मृतक म ३।४ वर्षको नावालक हुंदा मेरो आमा तुलसी देवीसंग यौन सम्पर्क गर्ने गर्दथ्यो । मैले कुटपिट गरेको चोटबाट निजको मृत्यु भएको हो । हरपाल र हरि सिंहलाई झूठा  पोल गरेका हुन भन्ने समेत व्यहोराको चन्द्र वहादुर महराले कन्चनपुर जिल्ला अदालतमा गरेको साविति वयान ।

      १५.   सो दिन म आफ्नै घरमा  थिएं । वेलुका अं. ८।९ वजेतिर म गोवडे तामाङको घरमा थिएं राती अं. १० वजेतिर म चन्द्र वहादुर महरा मेरो हात समाती मलाई डर लाग्छ मामाका घरमा जाउं भन्दा मैले लौ हिडं भनी म पछि पछि हिडे निज अग्ली छिटो छिटो हिडी विर वहादुर सार्की र कार्कीको घर नेर मृतक दिर्घ वहादुर नेगी र चन्द्रको भेट भयो । निजहरुको के के कुरा भएछ मैले सुनिन नजिक पुग्दा चन्द्र वहादुरले मृतकलाई १ थप्पड हान्दा मैले त्यसो नगर भनें निजले मामालाई सोध्नुपर्ने हो भनि निज आफ्नो मामालाई तिमीले कसैलाई वोलाउन पठाएको थियो भन्दा भुत्यालले कसैलाई पठाएको थिएन भनि जवाफ दिंदा चन्द्र वहादुर अगाडि गै हाले । हरि सिंह भुत्याल र म संगै गयौं त्याहां मृतक पल्टी रहेको थियो । मृतकको र चन्द्र वहादुरको आमाको आपसमा यौन सम्वन्ध चोरी छिपी हुने गर्दथ्यो र निज उक्त दिन पनि निजको आमालाई करणी गर्न गएको थियो भन्ने चन्द्र वहादुरले सोची कुटपिट गरी निज मृतक दिर्घबहादुरको मृत्यु भएको भन्ने समेत व्यहोराको हरपाल सार्कीले कन्चनपुर जिल्ला अदालतमा गरेको वयान ।

      १६.    सो दिन राती म खाना खाई निदाई रहेको अवस्थामा हरपाल सिंह आई मलाई आवाज दिंदा आमाले थाहापाई किन चाहियो भनि कुरा हुंदा म विउझी वाहिर आउंदा हरपाल सार्की रहेछ किन आएको भन्दा तपाईले कसैलाई कुरा गरी पठाएको छ की भने मैले कसैलाई पठाइन भन्दा मेरो भान्जा चन्द्र वहादुर महरा पनि साईकलबाट आई कसैलाई मेरो खवर गर्न पठाएका छौकी भने मैले कसैलाई पठाएको छैन भनि भान्जा चन्द्र वहादुरले दिर्घ वहादुर नेगी मेरो घरमा गएको थियो । निजसंग कुटपिट झगडा भयो भनेर चन्द्र वहादुर घरतर्फ गए । म र हरपाल दिर्घ वहादुरलाई मैले केही नभनेको हुंदा किन भनेछ भनि गयौ र केही पर वाटोमा दिर्घ वहादुर पल्टिएको थियो म आफ्नो घरमा गई आमालाई ढोका खोल्न आवाज गर्दा मृतकको आमा मेरो घरमा आई के भो भन्दा मैले तिम्रो छोरालाई चन्द्र वहादुरले पल्टाएको छ लिएर आउं भन्दा मृतकको आमा र श्रीमती सो ठाउंमा गै निजलाई वोलाउंदा नवोलेको र निजको मृत्यु भै सकेको रहेछ मैले सुने अनुसार मृतकको र मेरी दिदी चन्द्र वहादुरकी आमाको पहिले देखि एक आपसमा यौन सम्वन्ध रहेको र सो दिन पनि मृतक दिदीको घरमा गएको र यस्तो काम किन गर्छस भनि भानिज चन्द्र वहादुर र मृतकको भनावोल भएको भै चन्द्र वहादुरले एक थप्पड हिर्काउदा जमीनमा पल्टीन गै निजको मृत्यु भएको भन्ने सुनेको हु. कुटपिट गरेको मैले देखिन भन्ने समेत व्यहोराको हिरा सिंह भुत्यालको कन्चनपुर जिल्ला अदालतमा गरेको वयान ।

      १७.   आदेशानुसार बुझिएका वादी पक्ष र प्रतिवादीका साक्षीहरुको वकपत्र मिसिल संलग्न रहेको ।

      १८.   आफ्नो आमासंगको अनैतिक सम्वन्ध स्थापित गरी लुकीछिपी करणी गर्ने हुंदा सोही रिसइवीबाट दिर्घ वहादुरको मृत्यु मेरै चोटबाट भएको हो भन्ने यि प्रतिवादी चन्द्र वहादुर महराले अदालतमा समेत साविती वयान दिएका र पोष्टमार्टम प्रतिवेदन समेतका अन्य कागज प्रमाणहरुबाट मृतकको मृत्यु प्र. चन्द्र वहादुरले दिर्घ वहादुरलाई हानेको चोट टाउकोमा लागेको कारणवाट निज मरेको देखिंदा ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्मकैद हुन्छ, सो सजाय गर्दा चर्को सजाय हुन जाने कुरा आफ्नो चितले देखेको हुंदा चन्द्र वहादुरलाई केवल १० वर्ष मात्रै सजाय गरे पुग्ने ठहर्‍याई अ.वं. १८८ नं. अन्तर्गत राय व्यक्त गरी जाहेर गरेको छु भन्ने समेत व्यहोराको कंचनपुर जि.अ. को मिति २०५३।११।२० को फैसला ।

      १९.    जोखीमी हतियार प्रयोग नभएको पुर्व रिसइवी नभएको होश नपुर्‍याई हेलचेक्रयाई गरी लाठा ढुंगाले कुटपिट गरेकोमा ज्यान सम्वन्धीको १३(३) नं. नभई ६(४) लाग्ने हुंदा उपरोक्त उल्लेखित घटनाको अवस्था परिस्थिति वस्तुस्थिति र आधारहरु समेतबाट शुरु कंचनपुर जिल्ला अदालतको फैसला कानुन संगत नदेखिंदा शुरु अदालतको फैसला वदर गरी हक इन्साफ पाउं भन्ने समेत व्यहोराको चन्द्र वहादुर महराले पुनरावेदन अदालत महेन्द्रनगरमा दायर गरेको पुनरावेदन पत्र ।

      २०.   मृतक दिर्घ वहादुरको मृत्यु कर्तव्यबाट भएको कुरा पोष्टमार्टम रिर्पोट र लाश प्रकृति मुचुल्काबाट पुष्टि भएको छ । प्र. चन्द्र वहादुर महराले अधिकार प्राप्त अधिकारी र शुरु कंचनपुर जि.अ.मा आमासंग अनैतिक यौन सम्वन्ध भएको कारण मृतक दिर्घ वहादुर नेगीलाई कर्तव्य गरी ज्यान मारेकोमा साविती वयान गरेको देखिन्छ । यसरी पुनरावेदक प्रतिवादी चन्द्र वहादुर महराको साविती वयान जाहेरवालाको जाहेरी दरखास्त एवं निजको अदालतमा भएको वकपत्र र सह अभियुक्तको अदालतमा भएको वयानबाट कसुर समर्थित भएको छ । तसर्थ उपरोक्त कारण समेतबाट दिर्घ वहादुर नेगीको मृत्यु कर्तव्यबाट भएको र प्र. चन्द्र वहादुरले दिर्घ वहादुर नेगीलाई कर्तव्य गरी ज्यान मारेको ठहर गरेको श्री कंचनपुर जि.अ.को मिति २०५३।११।२० को निर्णय मिलेकै देखिंदा सदर हुने ठहर्छ ।

      २१.   प्र. चन्द्र वहादुर महराको आमासंग मृतक दिर्घ वहादुर नेगीको अनैतिक सम्वन्ध रहेको र मृतकलाई पटक पटक संझाउंदा नमानेकोले लोकोपवादबाट वच्न मृतकलाई कुटपिट गरेपछि मृतकको मृत्यु हुन गएकोले ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्मकैद गर्दा चर्को सजाय हुन जाने हुंदा चित्तमा लागेकोले प्र. चन्द्र वहादुरलाई अ.वं. १८८ नं. वमोजिम कैद वर्ष १० मात्र सजाय गर्ने शुरु जि.अ.ले राय जाहेर गरेको मनासिवै देखिंदा उक्त वमोजिम हुन राय जाहेर गरेका छौं भन्ने राय सहितको पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०५४।४।२६ को फैसला ।

      २२.   घटनाको अवस्था परिस्थिति वस्तूस्थिति एवं मुद्दाको यथार्थ तथ्यहरु समेतबाट शुरु कंचनपुर जि.अ. को फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत महेन्द्रनगरबाट भएको फैसला तर्क संगत न्याय संगत एवं युक्तिसंग समेत नदेखिएकोले उक्त फैसला वदर गरी ज्यान सम्वन्धीको ६(४) वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी चन्द्र वहादुर महराले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।

      २३.   यसमा प्रतिवादी चन्द्र वहादुर महराको पुनरावेदन परेको हुंदा सोही पुनरावेदनबाट निजलाई कसुरदार कायम गरी संजाय गरेको सम्वन्धमा हेरिने हुंदा न्याय प्रशासन ऐन,२०४८ को दफा १०(३) वमोजिम साधकको लगत कटृा गरिदिएको छ । पुनरावेदनको प्रतिरक्षार्थ निजको कानुन व्यवसायी नरहेको र निज थुनामा रहेको देखिंदा निज तर्फबाट वहस गर्न वैतनिक अधिवक्तालाई पेशीको सुचना दिई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०५५।१२।४ मा भएको आदेश ।

      २४.   नियम वमोजिम पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरी पुनरावेदकको प्रतिरक्षार्थ रहनु भएका विद्वान वैतनिक अधिवक्ता श्री राजु महतले तत्काल उठेको रिस थाम्न नसकी प्रहार गर्दा मृतकको मृत्यु भएको र जोखिमी हतियारको प्रयोग नभै तत्काल भेटेको लाठाले प्रहार गरेको हुंदा ज्यान सम्वन्धीको ६(४) आकर्षित हुनेमा ऐ.को १३(३) लगाइ गरेको शुरु एवं पुनरावेदन अदालतको फैसला उल्टी हुनु पर्छ भनी गर्नु भएको वहस समेत सुनियो । यसमा पुनरावेदन अदालत महेन्द्रनगरबाट मिति ०५४।४।२६ मा भएको फैसला मिले नमिलेको सम्वन्धमा हेरी निर्णय दिनु परेको छ ।

      २५.   निर्णय तर्फ विचार गर्दा दिर्घ वहादुर नेगी दिसा गर्न भनी मोहना नदी तर्फ गएकोमा चन्द्र वहादुर महरा समेत हिरा सिंह भुत्याल तथा हरपाल सार्की संगै मोहना नदी तर्फ नै गएको र केही छिनपछि नै दिर्घ वहादुर मृतक अवस्थामा फैला परेको र चन्द्र वहादुर र दिर्घ वहादुर वीच पुर्व रिसइवी समेत भएको कारणबाट निज चन्द्र वहादुर समेत भै दिर्घ वहादुरलाई मारेको हुंदा निजलाई पक्राउ गरी सजाय समेत गरी पाउं भनी परेको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दा उठान भएको देखिन्छ । प्रतिवादी चन्द्र वहादुर महराले अधिकार प्राप्त अधिकारी समक्ष कसुर गरेकोमा साविति वयान दिएको र आफ्नै कुटपिटको चोटबाट दिर्घ वहादुरको मृत्यु भएको भनी अदालत समक्ष कसुर गरेको कुरामा सावित भएको देखिन्छ। साथै हरपाल सार्की, हिरा सिंह भुत्याल, मिनबहादुर नेगी, नन्द कार्की, विरबहादुर सार्की, दलजित दमाई, जसदेवी भुत्याल, हिरादेवी मरहा, रम्भा देवी नेगी र तरा देवी समेतले प्रहरी समक्ष गरेको वयान तथा कागजबाट समेत सोही कुरा समर्थित भएको देखिन्छ । मृतक दिर्घ वहादुर र प्रतिवादीको आमा तुलसी देवी वीच अनैतिक सम्वन्ध रहेको र सोही कारणबाट दिर्घ वहादुर र प्रतिवादी चन्द्र वहादुरका वीच पूर्व रिसइवी रहेको कुरा समेत  प्रतिवादी  स्वंयको वयानबाट स्थापित भएको छ । प्रतिवादी  स्वंयले नै अभियोगबाट पूर्ण सफाइको माग  गर्न नसकी केवल तत्काल उठेको रिस थाम्न नसकी लाठा ढुंङ्गाले प्रहार गर्दा भवितव्य भएको भन्ने कारण देखाई ज्यान सम्वन्धीको ६ नं. को देहाय (४) को सुविधा सम्म माग गरेको देखिन्छ । मुलुकी ऐन ज्यान सम्वन्धीको ६(४) नं. को कानुनी व्यवस्थालाई हेर्दा रक्षा शिक्षा गर्नेले मर्नेको हितको निमित्त कुटपिट वा अरु कुनै काम कुरा गर्दा भवितव्यमा परेकोमा  पचास रुपैयासम्म जरीवाना हुन्छ भन्ने व्यवस्था भइ रहेको देखिन्छ भने भवितव्यको परिभाषा गर्ने ज्यान सम्वन्धीको ५ नं. हेर्दा ज्यान लिने इविलाग वा मनसाय नभै कसैले आफुले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्ता नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ भनी उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दाका प्रतिवादीले मृतकसंग पुर्व रिसइवी रहेको भन्ने कुरालाई आफैले स्वीकार गरेको सर्न्र्दभलाई समेत विचार गरिनु पर्ने हुंदा ज्यान सम्वन्धीको ५ नं. को व्यवस्था पनि निजको हकमा आकर्षित हुन सक्ने भन्न मिलेन । प्रतिवादी चन्द्रवहादुर महरालाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजायको माग दावी रहेको सन्दर्भमा ज्यान सम्वन्धीको १३(३) नं. हेर्दा लाठा ढुंगा र साधारण सानातिना हात हतियारले कुटी हानी रोपी घोची वा अरु ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मारेमा एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एकजना र धेरै जनाको हुल भै मारेमा यसैले मारेको वा यसको चोटले मारेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वश्व सहित जन्म कैद गर्नुपर्छ भनी उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दाका प्रतिवादी चन्द्र वहादुरले मृतकलाई लाठाले हिर्काएको भनी स्वीकार गरेको छ तथा मृतक दिर्घ वहादुरको मृत्यु कर्तव्यबाट भएको कुरा पोष्टमार्टम रिपोर्टबाट समेत पुष्टी भएको स्थितिमा निजलाई ज्यान सम्वन्धीको   १३(३) नं. लगाई सजाय गर्ने ठहर्‍याएको शुरु कंचनपुर जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

      २६.   प्रतिवादी चन्द्र वहादुर महराकी आमासंग मृतक दिर्घ वहादुर नेगीको अनैतिक सम्वन्ध रहेको कारणबाट प्रतिवादीलाई रिस उठ्न गै कुटपिट गर्दा दिर्घ वहादुरको मृत्यु हुन गएको पाइन्छ । त्यस्तो अवस्थामा ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्मकैद गर्दा चर्को पर्न जाने हुंदा अपराध गरेको अवस्था समेतलाई विचार गरी प्रतिवादी चन्द्र वहादुरलाई अ.वं. १८८ नं. वमोजिम कैद वर्ष १० मात्र सजाय गर्ने गरी पुनरावेदन अदालत महेन्द्रनगरबाट व्यक्त भै आएको राय मनासिवै देखिंदा उक्त राय समेत सदर हुन्छ । दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गोपालप्रसाद खत्री

 

इति संवत् २०५६ साल वैशाख २१ गते रोज ३ शुभम् ............................... ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु