शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८२२ - जालसाजी

भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११

निर्णय नं. ६८२२     ने.का.प. २०५६ अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री टोप वहादुर सिंह

माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल

संवत् २०५३ सालको फौ.पु.नं. .. १५५१

फैसला मिति : २०५६।४।१०।२

 

मुद्दाः जालसाजी ।

 

पुनरावेदक

वादीः नवलपरासी जिल्ला अमरापुरी गा.वि.स. वडा नं. १ वस्ने जगजीत सुनार

विरुद्ध

प्रत्यर्थी

प्रतिवादीः नवलपरासी जिल्ला अमरापुरी गा.वि.स. वडा नं. २ वस्ने प्रेम वहादुर विश्वकर्मा समेत

 

§  मिति २०४५।१।१८।७ मा घरसारमा भएको धन जमानीको कागजलाई झुक्याई जालासाजीबाट खडा गरेको हुंदा विपक्षीलाई किर्ते कागजको १० नं. वमोजिम सजाय गरी पाउं भनि वादीले दावी लिएकोमा उक्त कागज राजीखुशीबाट गरिदिएको हो । जालसाजी गरेको होइन भनि प्रतिवादीले जिकिर लिएको   देखिन्छ । मिसिल संलग्न रहेको मिति २०४५।१।१८ को विवादित लिखतको प्रतिलिपि हेर्दा उक्त लिखत साक्षीहरुको रोहवरमा वादी स्वयंले घरसारमा गरिदिएको देखिन्छ । अदालतको आदेशानुसार सो लिखत अ.वं. ७८ नं. अनुसार वादीलाई देखाउंदा सहिछाप गरेको हो सद्दे किर्ते भन्न सक्तिन भनि वयान गरेको देखियो । उक्त लिखत हुंदा गर्दाका अवस्थामा नेपाल वैंक लिमिटेड भण्डाराका कर्मचारीको संलग्नता रहे भएको देखिदैन भने नेपाल वैंक लिमिटेड एउटा संगठित संस्था भएकोले वैंक स्वयंले कुनै व्यक्तिको घरमा गई जालसाजी पूर्ण कार्य गर्ने अवस्था समेत रहदैन । जुन लिखतलाई झुक्याई जालसाजी गराए भनि वादीले दावी लिएको हो सो प्रमाणित गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २५ वमोजिम वादीमा हुने ।         

      (प्र.नं. १५)

 

पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्ण सापकोटा

प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा

अवलम्वित नजीर :

 

फैसला

      न्या.टोपवहादुर सिंहः पुनरावेदन अदालत वुटवलको फैसला उपर वादीको मुद्दा दोहोर्याई पाउं भन्ने व्यहोराको निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अन्तर्गत निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः

      २.    जि.न.पा. वेलडिहा गा.पं. वडा नं. ८ क कि.नं.. ९६ को ज.वि. १-११-० जग्गा मेरो दर्ता हकभोगको हो । उक्त जग्गा समेत धितो राखि वेलडिहा साझा संस्थाबाट ऋण लिएको छु । २०४५ साल वैशाख १८ गतेको दिनमा प्र.मध्येको प्रेम वहादुरको घरतर्फ गएको अवस्थामा मैले नचिनेका २ जना मानिस सहित विपक्षीहरु वसेका रहेछन । मलाई सवै विपक्षीहरुले मैले नचिनेका मानिसहरुलाई उहांहरु नेपाल वैंक लिमिटेडका कर्मचारी हुनुहुन्छ । प्रेम वहादुरको नेपाल वैंकसंग कारोवार रहेछ, सो सम्वन्धमा प्रेम वहादुरले कागज गरिदिनु भएको छ, सो कागजमा हामीहरु पनि साक्षी वसेका छौं तपाई पनि साक्षीमा वसी सहिछाप गरी दिनुहोस भनि भनेकोले विश्वासमा परी साक्षी भनि सहिछाप गरेकोमा पछि मेरो नामको उक्त कि.नं.. ९६ को जग्गा वैंकले रोक्का राखेको छ भनि थाहापाई २०४५।२।१७ मा मा.पो.का आई नक्कल लिंदा थाहा हुन आएकोले मलाई झुक्याई साक्षी भनि सहिछाप गराई अर्कै व्यहोरा लेखी मेरो हक मेट्ने उद्देश्यले जालसाजीबाट कागज खडा गरी मेरो जग्गा रोक्का गराएको काम स्वतः वदर हुने हुंदा विपक्षीहरुलाई किर्ते कागजको १० नं. वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।

      ३.    विपक्षीले वैंकमा गई कागज गरी दिएकोले म प्रेम वहादुरले विपक्षीलाई रु.६००००। को कागज गरिदिएको सो रुपैया भुक्तान गरी सकेको छु । विपक्षीले खुशी राजीबाट वैंकमा कागज गरी दिएका हुन । हामीले कागज गराएका पनि छैनौं । जग्गा रोक्का राखेका पनि होइनौं । जालसाजी गरेका पनि होइनौं । विपक्षीको दावी किर्ते कागजको १० नं. भित्र समेत पर्दैन भन्ने समेत व्यहोराको प्र. प्रेम वहादुर विश्वकर्मा समेत जना ४ को संयुक्त प्रतिउत्तर ।

      ४.    वैंकमा धितो राखिएको सुन नक्कली कमसल भएमा खजाञ्चीबाट वैंकले असुल उपर गर्दछ । जेथा रोक्ने काम गर्दैन । विपक्षीले स्वयंले आफ्नो ज्वाईले वैंकलाई झुक्याई कमसल नक्कली सुन राखेकोमा वैंकले प्रहरी कारवाही गर्छ भन्ने डरले आफैले लिखत तयार गरी वैंकमा ल्याई पेश गरेको हुंदा वैंकले सोही आधारमा विपक्षीको सम्पत्ति रोक्का गरेको कानून अनुसार छ । वैंकको कर्मचारीको अनुपस्थितिमा लेखिएको लिखतबाट वैंकले जालसाजी गरेको भन्न मिल्दैन । वैंकको उपस्थिति जस्तो देखाई वैंकका नाममा गरेको जालसाजीको फिराद खारेज योग्य छ भन्ने समेत व्यहोराको ने.वै.लि. भण्डारा उप शाखाको प्रतिउत्तर पत्र ।

      ५.    ने.वै.लि. भण्डारा उपशाखाबाट पेश भएको २०४५।१।१८ को भाषापत्र देखें मैले साक्षी भनि सहिछाप गरेको हुं । म आंखा नदेख्ने मानिस हुंदा सो किर्ते भन्न सक्दिन भन्ने समेत व्यहोराको वादीले अ.वं. ७८ नं. वमोजिम गरेको वयान ।

      ६.    लिखतमा भएको सहिछाप वादीको हो, व्यहोरा समेत सांचो हो भन्ने समेत व्यहोराको प्र. वा. मोहन प्रसाद भटृराइको वयान ।

      ७.    प्रतिवादीबाट पेश भएको सक्कल लिखत देखाई वादीलाई सनाखत वयान गराउंदा सद्देकिर्ते भन्न सकेको छैन । विवादित लिखतमा प्रतिवादीको छोरा युवराज वि.क.ले साक्षी वसेकोमा सो तर्फ वादीले केहि उल्लेख गर्न सकेको देखिंदैन । प्रतिवादीका साक्षी समेतबाट वादीले नै विवादित लिखत वैंकमा पेश गरेको तथ्य पुष्टी भएकोले वादी दावी वमोजिमको लिखत जालसाजीबाट खडा भएको नदेखिंदा प्रतिवादीहरुलाई सजाय नहुने ठहर्छ भन्ने समेत व्यहोराको नवलपरासी जिल्ला अदालतको मिति २०४७।३।५ को फैसला ।

      ८.    प्रतिवादीहरुले साक्षी वसी दिनु भनि म राम्रो आंखा नदेख्ने मानिसलाई झुक्याई धन जमानीको कागज गराएको कुरा मेरो साक्षीहरु समेतबाट पुष्टी हुंदाहुंदैं सद्दे किर्ते नभनेको आधार लिई जालसाजी नठहर्‍याएको शुरुको फैसला त्रुटिपुर्ण हुंदा वदर गरी फिराद दावी वमोजिम इन्साफ पाउं भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलमा परेको पुनरावेदन पत्र ।

      ९. मिसिल संलग्न जमानीको २०४५।१।१८।७ को कागजको फोटोकपी हेर्दा सो  व्यवहार शनिवारको दिन गरेको देखिन आएको सन्दर्भमा शुरु जिल्ला अदालतको फैसला विचारणिय हुंदा अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाउने भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको आदेश ।

      १०.    वादी स्वयंले विवादित लिखतलाई किर्ते जालसाज भनि किटानी वयान दावी गर्न नसकेको अवस्थामा सद्दे व्यवहारको भनि साक्षीबाट पुष्टी भएको उक्त कागज जालसाजीबाट खडा गरिएको हो भन्न सकिने अवस्था देखिदैन । तसर्थ लिखत जालसाजी भन्ने वादी दावी पुग्न नसकि  प्रतिवादीहरुलाई किर्ते कागजको १० नं. वमोजिम सजाय नहुने ठहर्‍याएको शुरु नवलपरासी जिल्ला अदालतको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको मिति २०५०।८।२८ को फैसला ।

      ११.    पुनरावेदन अदालत वुटवलको फैसला वाणिज्य वैंक ऐन तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएको हुंदा पु.वे.अ. वुटवलको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२ वमोजिम मुद्दा दोहोर्‍याई पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको निवेदन पत्र ।

      १२.   यसमा २०४५।१।१८।७ को वादीबाट वैंकले गराई लिएको नदेखिई घरसारमा भएको वादीको कागज वैंकमा दाखिला भएको देखिन्छ । प्रतिवादी प्रेम वहादुरले सुन धितो राखी कर्जा लिएकोमा कर्जा सुरक्षण नहुने भएपछि ऋणको अचल सम्पत्ति धितो लिइएको नभई वादीको अचल सम्पपित्त धितो वापत लिंदा वैंक र वादीको वीचमा कागज भएको नदेखिंई अर्थात वैंकले वादीको कागज गराई लिएको नदेखिई घरसारमा भएको वादीको कागज लिएको देखिएकोले पुनरावेदन अदालत वुटवलको मिति २०५०।८।२८ को फैसलामा वाणिज्य वैंक ऐन, २०३१ को दफा ४७(ख)(२) र दफा ४७ग. को व्याख्यात्मक त्रुटि देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अन्तर्गत प्रस्तुत दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५३।१०।२८ को आदेश ।

      १३.   नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दामा प्रत्यर्थी प्रेम वहादुर विश्वकर्मा समेतका तर्फबाट विद्वान अधिवक्ता श्री कृष्ण सापकोटाले विवादित लिखत किर्ते गरी खडा गरेको हो भनि विपक्षीले भन्न सकेको छैन । धन जमानी भाखा पत्रको कागजबाट वादीको सम्पत्तिमा रहेको हक मेट्ने नोक्सान पार्ने कार्य मेरो पक्षले गरेको छैन । वादीले स्वच्छाले गरिदिएको कागज जालसाजीको परिभाषाभित्र पर्दैन । विवादित कागज वैंकको तर्फबाट गराएको होइन भनि वैंकले भनेको हुंदा वैंकले कागज गराउंदा पुरा गर्नूपर्ने प्रकृयागत त्रुटि गरेको भनि मिल्ने अवस्था छैन । शुरु सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला सदर हुनु पर्छ भन्ने र प्रत्यर्थी नेपाल वैंक लिमिटेड भण्डाराका तर्फबाट विद्वान अधिवक्ता श्री अनुपराज शर्माले संगठित संस्थाले जालसाजी गर्यो भन्न मिल्दैन । वैंकका कर्मचारीले जालसाजी गरे भनि कर्मचारी उपर मुद्दा परेको पनि छैन। नेपाल वैंक लिमिटेड भण्डाराले कुनै कागज गराएको छैन । जवरजस्ती कागज गराए भनि फिराद समेत नपरेको हुंदा जालसाजी नठहर्‍याएको शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला सदर हुनु पर्छ भनि गर्नू भएको वहस समेत सुनियो ।

      १४.   आज निर्णय सुनाउन तोकीएको प्रस्तुत मुद्दामा विद्वान कानून व्यवसायीहरुले गर्नू भएको वहस र पेश भएको वहस नोट समेतलाई अध्ययन मनन् गरी हेर्दा पुनरावेदन अदालत वुटवलले गरेको फैसला मिलेको छ, छैन ? सो सम्वन्धमा निर्णय दिनुपर्ने देखियो ।

      १५.   निर्णय तर्फ विचार गर्दा मिति २०४५।१।१८।७ मा घरसारमा भएको धन जमानीको कागजलाई झुक्याई जालसाजीबाट खडा गरेको हुंदा विपक्षीलाई किर्ते कागजको १० नं. वमोजिम सजाय गरी पाउं भनि वादीले दावी लिएकोमा उक्त कागज राजीखुशीबाट गरिदिएको हो । जालसाजी गरेको होइन भनि प्रतिवादीले जिकिर लिएको देखिन्छ । मिसिल संलग्न रहेको मिति २०४५।१।१८ को विवादित लिखतको प्रतिलिपि हेर्दा उक्त लिखत साक्षीहरुको रोहवरमा वादी स्वयंले घरसारमा गरिदिएको देखिन्छ । अदालतको आदेशानुसार सो लिखत अ.वं. ७८ नं. अनुसार वादीलाई देखाउंदा सहिछाप गरेको हो सद्दे किर्ते भन्न सक्तिन भनि वयान गरेको देखियो । उक्त लिखत हुंदा गर्दाका अवस्थामा नेपाल वैंक लिमिटेड भण्डाराका कर्मचारीको संलग्नता रहे भएको देखिदैन भन्ने नेपाल वैंक लिमिटेड एउटा संगठित संस्था भएकोले वैंक स्वयंले कुनै व्यक्तिको घरमा गई जालसाजी पूर्ण कार्य गर्ने अवस्था समेत रहदैन । जुन लिखतलाई झुक्याई जालसाजी गराए भनि वादीले लिएको हो सो प्रमाणित गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २५ वमोजिम वादीमा हुन्छ । वादीले झुक्याई जालसाजी गरी प्रतिवादीहरुले लिखत गराए भन्ने सम्म दावी लिएको देखिन्छ ।

तर सो सम्वन्धमा वादीले कुनै प्रमाण गूजार्न सकेको छैन । विवादित लिखतलाई वादीले अन्यथा भनि प्रमाणित गराउन नसकेको स्थितिमा वादी दावीको लिखतलाई सद्दे ठहर्‍याई गरेको शुरु नवलपरासी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला  मिलेकै देखिंदा मुनासिव ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाई  दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. भैरवप्रसाद लम्साल

इति संवत् २०५६ साल श्रावण १० गते रोज २ शुभम् ...................................... ।                          

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु