निर्णय नं. ६८२४ - अंश

निर्णय नं. ६८२४ ने.का.प. २०५६ अङ्क १२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री टोपवहादुर सिंह
माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
संवत् २०५५ सालको दे.पु.इ.नं. .. ७५
फैसला मिति : २०५६।९।२६
मुद्दाः अंश ।
पुनरावेदक
प्रतिवादी जिल्ला काभ्रेपलान्चोक टुकुचा गा.वि.स. वडा नं. ९ वस्ने भीमराज गिरी
विरुद्ध
विपक्षी
वादीः ऐ.ऐ. वस्ने धर्मराज गिरीको मु.स. गर्ने मैया गिरी
§ मिति २०३८।१०।२७ मा राम वहादुर गिरीले आफ्नो श्री सम्पत्ति शेषपछि खाने गरी आफ्ना छोराहरु मध्ये भीमराज गिरी र चित्रराज गिरीलाई वक्सपत्र गरीदिएको र वादी प्रतिवादीले छुट्टा छुट्टै ७ नं. फाराम भरी आ आफ्नो नाममा जग्गा दर्ता तिरो भरो समेत गरी विक्रि व्यवहार समेत गरेको देखिन्छ । यसरी विक्री व्यवहार गर्दा भिन्न भएको व्यहोरा उल्लेख गरेको देखिन्छ । यसरी विक्रि व्यवहार गर्दा भिन्न भएको व्यहोरा उल्लेख गरेको देखिनुका साथै दर्ता समेत फुटी दाखेल खारेज गरी तिरो भरो आ आफ्नो दर्ता श्रेस्ता खडा गरी बसेको रसिद दर्ता एवं लिखतका प्रमाणहरुबाट समेत वादी धर्मराज गिरी र प्रतिवादी भीमराज गिरी मुलुकी ऐन अंशवण्डाको ३० नं. को कानूनी व्यवस्था अनुसार व्यवहार प्रमाणबाट भिन्न भई बसेको देखिन आयो । मिसिल सामेल रहेको जग्गा धनी दर्ता श्रेस्ताको प्रतिलिपि उतारबाट वादी धर्मराज गिरी र प्रतिवादी भीमराज गिरीको नाउंमा संयुक्त दर्ता भएका जग्गाका सम्वन्धमा कानून वमोजिम आ आफ्नो नाममा दर्ता नामसारी गर्न सकिने नै हुंदा सो वाहेक अन्य तथ्यबाट यी वादी प्रतिवादी भिन्न भई वसेको प्रतिपादित भिन्न भई वसेको प्रमाणित भइरहेको अवस्थामा वादीले प्रतिवादीबाट अंश पाउने नदेखिंदा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको इन्साफ मनासिव ठहर्याएको माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय मनासिव ठहर्ने ।
पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री इन्द्र प्रसाद खरेल, विद्वान अधिवक्ता श्री वलराम के.सी.
विपक्षीवादीबाट : विद्वान अधिवक्ता श्री विद्वान अधिवक्ता श्री माधव प्रसाद वाँस्कोटा
अवलम्वित नजीर :ने.का.प २०२९,अङ्क १२,नि.नं.७१५,ने.का.प २०३८,अङ्क २ नि.नं. १४३८,ने.का.प २०४३,अङ्क ३,नि.नं.२६६४
फैसला
न्या. हरिप्रसाद शर्माः यस अदालत संयुक्त इजलासको मिति २०४७।३।१ को फैसला उपर श्री ५ महाराजाधिराज सरकारको जुनाफमा प्रतिवादी भीमराज गिरीले चढाएको बिन्तिपत्र यस अदालतमा प्राप्त भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियमावली, २०४९ को नियम ५३(३) वमोजिम पुनरावलोकनको निस्सा प्रदान भई पेश भएकोमा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्यता नभई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य तथा ठहर यसप्रकार छः
२. मेरा कान्छा राम वहादुर गिरी १९९५ साल देखि भक्तपुर मठका महन्त भै मठको दैनिक काम गर्दै आउनु भएको मेरी आमा मान कुमारीबाट गर्भबाट म र भाई भीमराज गिरी जन्म भई आमा परलोक हुनु भएको वावा राम वहादुरले कान्छी आमा ल्याई निजबाट छोरी १ नं. र छोरा चित्रराजको जन्म भएको भाई भीमराज र मैले नाला टुकुचाको जग्गा आधा आधा खाने र सानी आमाका सन्तान र वाचा समेत भक्तपुरमा नै खाने गरी २०२०।७।२२ मा वण्डापत्र पास गरेकोमा वावा राम वहादुरले उक्त जग्गा मेरो पनि वण्डा लाग्छ २ जनाले मात्र वण्डा गरेको वदर गरी पाउं भनि फिराद दिई २०२३।५।७ मा वण्डापत्र वदर भई फैसला भएकोले उक्त जग्गा संगोलकै भै रहेको हामीले नापीमा आफ्ना नाउंमा जग्गा नपाएकोमा उक्त नापी दर्ता पनि वदर गराई संगोलकै सम्पत्ति कायम गरी हामीले आफ्नो जानी खाई आएका थियौं । वावुको परलोक पछि काजक्रिया सकिएपछि भाई भक्तपुर गए र म वुद्धावस्थामा भएको मेरो विवाह नभएको छोरीहरु र श्रीमती समेतलाई भाई भीमराजले अव यो जग्गामा नआउनु भनि खेतीमा टिक्न नदिएकाले किन यस्तो गरेको हो भनि भाइलाई भन्दा अव जग्गा जमीन मेरो गराई सकेको छु भनि जवाफ दिएकाले मालमा गै हेर्दा आफ्नी श्रीमतीलाई वक्सपत्र गरी दिई सकेको रहेछ । वक्सपत्र वदर मुद्दामा समेत छुट्टै फिराद गरेको छु । यो मुद्दामा फिराद परेको अघिल्लो दिन मानो छुटिृएको मिति कायम गरी ३ अंशको १ अंश दिलाई पाउं भन्ने समेत व्यहोराको धर्मराज गिरीको फिराद पत्र ।
३. वावु राम वहादुर र म भक्तपुरमा नै बसेकोमा नालाको जग्गा मलाई अंश मार्ने गरी वण्डापत्र समेत पास गरेका रहेछन । वादीले वण्डापत्र वदर समेत गराई संगोलको कायम भैरहेको छ । यसबाट मेरो पनि ३ खण्डको १ खण्ड अंश पाउं भन्ने समेत व्यहोराको प्रतिवादी चित्रराज गिरीको प्रतिउत्तर पत्र ।
४. अंश भनेको पटक पटक हुने कुरा होइन । नाला टुकुचाको जग्गा हामी २ दाजुभाईले खाने गरी आ-आफ्नो नाममा नाप नक्सा भोग विक्रि व्यवहार समेत भै सकेको छ । त्यस्तो नाप नक्सा समेत आ आफ्नो नाममा भै सकेकोमा फेरी अंश पाउं भन्ने वादीको दावी झुठा हुंदा वादीलाई नै संजाय गरी पाउं भन्ने समेत व्यहोराको भीमराज गिरीको प्रतिउत्तर पत्र ।
५. प्रस्तुत मुद्दामा छुट्टा छुट्टै जग्गा दर्ता गरी विक्रि गरेको समेत देखिनाले अंशवण्डाको ३० नं. वमोजिम व्यवहार प्रमाणबाट वादी प्रतिवादी विच अंश वण्डा भै सकेको देखिंदा वादीको अंश पाउं भन्ने दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको काभ्रेपलान्चोक जिल्ला अदालतको ०४०।८।७ को फैसला ।
६. उक्त फैसला त्रुटीपूर्ण हुंदा वदर गरी वादी दावी वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको वादी धर्मराज गिरीको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र।
७. धर्मराज र भीमराज को नाममा संयुक्त दर्ताको जग्गा समेत देखिएको र वण्डापत्र वदर भएको अवस्थामा वादी प्रतिवादीका वीच अंशवण्डा भइसकेको भन्न मिल्ने देखिन नआउनेमा विक्रि व्यवहारबाट अंश वण्डा भइसकेको भन्ने शुरुको इन्साफ फरक पर्ने देखिएकोले अ.वं. २०२ नं. वमोजिम विपक्षीलाई छलफलको लागि झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४१।५।१३ को आदेश।
८. वादी धर्मराज र प्रतिवादी मध्येका भीमराजका विचमा २०२०।७।२२ मा भएको वण्डापत्र वावु राम वहादुरको नालेश परी वदर भएको वादी प्रतिवादीका विचमा रित पुर्वकको वण्डापत्र लिखत खडा भई रजिष्ट्रेशन पास गरी छुटृी भिन्न भै वसेको पनि नदेखिएको र व्यवहार प्रमाणबाट पनि छुटृी भिन्न भएको नदेखिंदा हाल ३ अंशियार कायम रहेकोले वादी दावी वमोजिम ३ भागको १ भाग अंश पाउनेमा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको फैसला वदर भई उल्टी हुन्छ भन्ने समेत व्यहोराको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४५।३।१६।५ को फैसला ।
९. शुरु फैसला वदर गर्ने गरेको उक्त फैसलामा कानूनी त्रुटी रहेको हुंदा उक्त फैसलामा चित्त वुझेन पुनरावेदनको अनुमति पाउं भन्ने समेत व्यहोराको प्रतिवादी भीमराज गिरीको यस अदालतमा परेको निवेदन ।
१०. निवेदकका वावु राम वहादुरले मिति २०३१।१०।८ मा गुठी संस्थानलाई गरीदिएको रजिष्ट्रेशन पारित लिखतमा भिन्न भएको छोरा भनी निवेदकलाई साक्षी राखेको धर्मराज गिरीले शम्भु गिरीलाई ०३४।१२।१३ मा राजिनामा पारित गरिदिंदा यि निवेदकलाई भिन्न भएको भाइ भनी साक्षी राखेको र धर्मराज गिरीले कुतवाली मुद्दामा ०३०।३।२८।५ मा वारेसनामा दिंदा भिन्न भाइ भनि लेखि लेखाई दिएको स्थितिमा अंशवण्डा नभएको भनि वादी दावी वमोजिम ३ भागको १ भाग अंश वादीले छुट्याई लिन पाउने ठहर्याएको मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा अंशवण्डाको ३० नं. को व्याख्यात्मक त्रुटी देखिंदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४५।८।३ को आदेश ।
११. आफ्नो अंश भागमा परेका भन्दै यि वादी प्रतिवादीले कुनै जग्गा विक्रि गरेको पनि देखिंदैन । तायदातीबाट भाग शान्ति वमोजिम नरम गरम भै मिलेको पनि देखिन्न । ७ नं. फाराम भुमि सम्वन्धी ऐन, २०२१ लागु हुंदाको अवस्थामा भरेको देखिन्छ । सो २०२०।७।२२ को वण्डापत्र जिवित थियो । जुन पछि २०२३।५।७ को फैसलावाट वदरभागी छ । त्यस्तो ७ नं. फाराम भरेकै नाताबाट अलग अलग भोग व्यवहार रहेछ भन्न मिलेन । अतः वादी दावी वमोजिम ३ भागको १ भाग अंश प्रतिवादीबाट दिलाउने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदक जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४७।३।१ को फैसला ।
१२. यस अदालत संयुक्त इजलासको मिति २०४७।३।१ को उल्लेखित फैसलामा प्रष्ट रुपमा कानूनी त्रुटी हुनुका साथै यसै अदालतद्वारा प्रतिपादित नजिर सिद्धान्त समेत प्रतिकूल भएकोले उक्त फैसला दोहोर्याई हेरिदिनु भन्ने हुकुम प्रमाङ्गी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी भीमराज गिरीले श्री ५ महाराजाधिराजका जुनाफमा चढाएको विन्तिपत्र ।
१३. यसै लगाउको अंश मुद्दामा उल्लेखित नजीरहरु समेतको आधारमा पुनरावलोकनको निस्सा प्रदान भएकोले प्रस्तुत मुद्दा समेत लगाउको देखिंदा पुर्नवालोकनको निस्सा प्रदान गरिदिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४९।१२।११ को आदेश ।
१४. यसमा राम वहादुर गिरीका छोराहरु धर्मराज, भीमराज र चित्रराज मध्ये धर्मराज र भीमराजले मिति २०२०।७।२२ मा गरेको वण्डापत्र वदर हुने ठहर भई फैसला भएपछि २०२८ सालमा पञ्चायतबाट र २०२९ सालमा मालवाट दर्ता फुटाइ २०३० सालमा धर्मराज र भीमराजले नापी गराएकोमा आफ्नो हक जग्गाको दर्ता वदर गरी पाउं भनी धर्मराज उपर राम वहादुरको फिराद परी लिखत वदर दर्ता वदर समेत भएको र विभिन्न लिखतहरुमा वादी धर्मराज गिरीले आफू वावुराम वहादुर गिरी तथा भाई भीमराज गिरीसंग छुट्टै भिन्न भएको तथा आफूहरु वीच अंश गर्नु पर्ने वांकी छैन भनी उल्लेख गरेको स्थितिमा पुनः अंश दिलाई पाउं भनी माग गर्नु विवन्धनको सिद्धान्त समेतले नमिल्ने भई विभिन्न लिखत प्रमाणवाट समेत वादी धर्मराज गिरी र प्रतिवादी भीमराज गिरी छुटिृई भिन्न भइसकेको देखिंदा अंशमा दावी गर्न नपाउने स्थिति देखिन्छ । यसर्थ वादीले प्रतिवादीबाट अंश पाउने नदेखिंदा मनासिव ठहर्छ । तीन भागको एक भाग अंश पाउने नदेखिंदा मनासिव ठहर्छ । तीन भागको एक भाग अंश पाउने ठहर्याएको तत्कालिन म.क्षे.अ.को इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४७।३।१ को फैसला मिलेको देखिएन । माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्सालले अंश दिने ठहर्याउनु भएको रायमा सहमती नहुंदा स.अ. नियमावली २०४९ को नियम ३ (१)(क) अनुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय ।
१५. मिति २०२०।७।२२ को वण्डापत्र वदर हुने फैसला भई वण्डापत्रको सम्पूर्ण सम्पत्ति सगोलमा कायम हुन गएको र त्यसपछि यी वादी प्रतिवादी विच रीत पुर्वक वण्डापत्रको लिखत भएको वा नरम गरम मिलाई अंश वण्डा भएको देखिंदैन । २०३० सालमा धर्मराज र भीमराजले जग्गा दर्ता गराएको सो दर्ता वदर हुने ठहरी मिति २०३८।१०।१५ मा शुरु जिल्ला अदालतबाट भएको फैसला अन्तिम रहिरहेको वादी धर्मराज गिरीले २०२० सालको वण्डापत्रको आधारमा जग्गा दर्ता गरी छोरी राधा गिरीलाई वक्सपत्र दिएकोमा सो वदर भई रहेको तथा भुमि सम्वन्धी ऐन, २०२१ अन्तर्गत पेश गरेको ७ नं.. फांटवारी र २०३९ साल सम्मको निवेदन वारेसनामा आदिमा वादी प्रतिवादीहरु छुटिृ भिन्न भएको भन्ने लेखे लेखाएको भरमा अंश पाइसकेको भन्न मिल्दैन । अंशवण्डा भएको तथ्यगत आधार नभएसम्म अंश भएको अनुमान गर्न मिल्दैन । वादी प्रतिवादीका नामको जग्गा हेर्दा कुनै जग्गा व्यक्ति विशेषको नाममा र कुनै जग्गा संयुक्त दर्ताको देखिन्छ । समानुपातिक रुपबाट पैतृक सम्पत्तिको वण्डा भएको समेत देखिंदैन । प्रतिवादी भीमराज गिरीले आफ्नो निवेदनमा उल्लेख गरेको सवै कागज प्रमाणको समेत उचित मुल्याकंन एवं विवेचना गरी संयुक्त इजलासबाट मिति २०४७।३।१ मा भएको फैसलामा कुनै त्रुटी नदेखिई मनासिव देखिंदा परिवर्तन गर्नु पर्ने अवस्था भएन । मा.न्या. श्री उदयराज उपाध्यायको छुटैृराय भएकोले नियम वमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको मा.न्या. श्री भैरव प्रसाद लम्सालको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५५।१।१८ को फैसला ।
१६. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी यस इजलास समक्ष निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनारवेदक प्रतिवादी भीमराज गिरीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री शम्भु थापा, श्री इन्द्र प्रसाद खरेल तथा श्री वलराम के.सी. ले राम वहादुर गिरीका २ श्रीमतीमा जेठी श्रीमती तर्फका छोराहरु धर्मराज र भीमराजले नाता टुकुचाको जग्गा र वावु राम वहादुर गिरी कान्छी श्रीमती र निज तर्फका छोरा छोरी सहित भक्तपुरका जग्गामा वसोवास गर्ने गरेकाले जेठी श्रीमती तर्फका छोराहरुले नाता टुकुचाको जग्गा आधा आधा खाने र वुवा राम वहादुर र निजको कान्छी श्रीमती तर्फका छोराले भक्तपुरको जग्गा खाने गरी मिति २०२०।७।२२ मा वण्डापत्र पारित गरेकोमा वावु र।म वहादुर गिरीले उक्त जग्गाहरु आ-आफ्नै नाममा नपाएको र केही जग्गा संयुक्त दर्ता रहेको, वण्डापत्र वदर भएकै कारणले भिन्न भई वसेका यी वादी प्रतिवादीहरु सगोलमा रहेको मान्न मिल्दैन । २०२० सालको वण्डापत्र वदर भएपनि वादी प्रतिवादीहरु छुटृी भिन्न भई आ आफ्नो नाममा नाप नक्सा भोग विक्रि व्यवहार समेत भइसकेको छ । अर्जून गिरीसंगको कुत वाली मुद्दामा स्वयं धर्मराज गिरीले मिति २०३०।३।२८ मा दिएको वारेसनामामा प्रतिवादी भीमराज गिरीलाई भिन्न भाई भनि लेखेका छन । निजले उक्त मुद्दाको प्रतिउत्तरमा समेत कावु राम वहादुर गिरीसंग २०२० सालदेखि छुटृी भिन्न भएको उल्लेख गरेका छन । मिति २०३४।१२।१३ मा धर्मराज गिरीले शंभु गिरीलाई पारित गरेको राजिनामामा प्रतिवादी भीमराज गिरीलाई भिन्न भाई पनि साक्षी राखेका छन । मिति २०३१,१०।८ मा राम वहादुर गिरीले गुठी संस्थानलाई गरेको वन्धकी कागजमा समेत भीमराजलाई छुटृी भिन्न भएको छोरा भनि साक्षी राखेका छन । यिनै वादी धर्मराजले मिति २०३९।१२।३० मा श्री ५ महाराजधिराजका जुनाफमा चढाएको विन्तिपत्रमा तिनैजना अंशियारा भाइहरु छुटृी भिन्न भई वसेकोले संयुक्त रुपमा दर्ता रहेको सम्पत्ति किताकांट गरी वेग्लावेग्लै जग्गाधनी प्रमाण पुर्जा पाउं भन्ने उल्लेख गरेका छन । पैतृक जग्गाको तिरेको रसिद वेग्लावैग्लै भएको समेतबाट आफ्नो पक्ष छुटृी भिन भएको भन्ने विभिन्न लिखत तथा व्यवहारवाट प्रमाणित भइरहेको अवस्थामा प्रतिपादित नजिर सिद्धान्तहरुबाट समेत संगोलमा रहेको मान्न मिल्ने नदेखिंदा वादीले तीन भागको एक भाग अंश पाउने ठहर गरेको तत्कालिन म.क्षे.अ.को फैसला सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४७।३।१ को फैसला त्रुटीपूर्ण हुंदा सो वदर गरी शुरुले वादी दावी पुग्न नसक्ने ठहर गरेको इन्साफ सदर होस भन्ने तथा विपक्षी वादी धर्मराज गिरीको मु.स. गर्ने मैया गिरीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री माधव प्रसाद वास्कोटाले २०२० सालको वण्डापत्र २०२३ सालमा वदर भएको २०३० सालको नापीमा धर्मराजको नाउंमा केही जग्गा नापी भएकोमा सो दर्ता पनि वावु राम वहादुर गिरीले वदर गराएका धर्मराजले छोरी राधा देवीलाई वक्सपत्र गरीदिएको जग्गा समेत राम वहादुर गिरीले नालिस गरी वक्सपत्र वदर गराएकोले उक्त जग्गाहरु सगोलको कायम भएको वादी धर्मराज गिरीले पैतृक सम्पत्तिमा आफ्नो अंश भाग नपाएको र यी वादी प्रतिवादी वीच चल अचल सम्पत्ति समानुपातिक रुपले वण्डा भएको पनि नदेखिएकोले पैतृक सम्पत्तिमा वादी दावी वमोजिम धर्मराजले ३ भागको एक भाग अंश पाउनु पर्ने हुंदा सो हुने ठहराएको तत्कालिन म.क्षे.अ.को फैसला सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४७।३।१ को फैसला सदर हुनु पर्छ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।
१७. आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा दुवै पक्षका विद्वान कानून व्यवसायीहरुको उपरोक्त वहस जिकिर तर्फ विचार गरी सम्वन्धित मिसिल संलग्न कागजातहरुको समेत अध्ययन गर्दा राम वहादुर गिरी आफ्नी कान्छी श्रीमती र निज पटृीका छोरा चित्रराज सहति भक्तपुरमा र जेठी श्रीमती तर्फका धर्मराज र भीमराज काभ्रेपलान्चोक नाला गा.वि.स. दल पिचालमा वसेकोमा अरु अंशियार कोही छैनन भनि मिति २०२०।७।२२ मा का.पजि. टुकुचा नाला गा.वि.स. अन्तर्गतका जग्गाहरु म र भाई भीमराजको वीचमा अंशवण्डा पास गरेकोमा वावु राम वहादुर गिरीको नालेश परी मिति २०२३।५।७ मा भ.पु..जि.अ.बाट उक्त वण्डापत्र वदर भएको र भाई भीमराज संग सल्लाह गरी २०३० सालको नापीमा आ आफ्नो नाउंमा जग्गा नापी गराएकोमा मेरो विरुद्ध वावुको नालेश परी मिति २०३८।१०।१५ मा दर्ता वदर हुने गरी फैसला भई संगोलको कायम हुन आएको जग्गा जमीनमा वावु राम वहादुर गिरीको मृत्युपछि भाई भीमराज ले एकलौटी रुपमा अनाज आयस्था खाने गरेका र मालमा गई हेर्दा निजले आफ्नो श्रीमती र छोराको नाममा वण्डापत्र समेत गराई सकेकोले ३ भागको १ भाग अंश दिलाई पाउं भन्ने धर्मराज गिरीको मुख्य फिराद दावी र २०२० सालको पारित वण्डापत्र वदर भएपछि नापि आउनु भन्दा अगावै २०२८ सालमा नै वावु राम वहादुर दाजु धर्मराज भाई चित्रराज र म भीमराजको अंश नरम गरम मिलाई चार भाग लगाई आ आफ्नो भाग भोग चलन गरी ७ नं. फाराम भरी विक्रि व्यवहार समेत चलाएको हुंदा अंशवण्डाको संशोधित ३० नं. वमोजिम वादी दावी खारेज गरी पाउं भन्ने मुल प्रतिउत्तर जिकिर देखिन्छ । शुरु जिल्ला अदालतबाट व्यवहार प्रमाणबाट वादी प्रतिवादी विच अंशवण्डा भइसकेको देखिंदा वादी दावी नपुग्ने गरी भएको फैसला उल्टी गरी वादी दावी वमोजिम वादीले ३ भागको १ भाग अंश पाउने गरी गरेको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको राय यस अदालत संयुक्त इजलासको मिति २०४७।३।१ को फैसला दोहोर्याई हेरी पाउन प्रतिवादी भीमराज गिरीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्र यस अदालतमा प्राप्त भई पुनरावलोकनको निस्सा प्रदान भएकोमा यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्यता नभई यस इजलास समक्ष्ँ पेश हुन आएको प्रस्तुत मुद्दामा यस अदालत संयुक्त इजलासको मित २०४७।३।१ को फैसला मिले नमिलेको सम्वन्धमा नै निर्णय दिनु पर्ने देखियो ।
१८. निर्णय तर्फ विचार गर्दा राम वहादुर गिरी दिने गुठी संस्थान लिने गरी भएको मिति २०३१।१०।८ को पारित लिखतमा ऋणीको भिन्न भएको छोरा भीमराज गिरी भनि साक्षी राखेको धर्मराज गिरीले शंभु गिरीलाई मिति २०३४।१२।१३ मा पारित गरेको लिखतमा ऋणीको भिन्न भएको भाई भीमराज गिरी भनि साक्षी राखेको समेत पेश भएको लिखतवाट देखिन आउंछ । अर्जून गिरी वादी धर्मराज गिरी प्रतिवादी भएको कुत वाली मुद्दामा प्रतिवादी धर्मराजले मिति २०३०।३।२८ मा वारेशनामा दिंदा भिन्न भएको भाई भीमराज गिरी भन्ने उल्लेख भएको सोही मुद्दामा धर्मराज गिरीले मिति २०३०।२।१६ मा दिएको प्रतिउत्तरमा राम वहादुर गिरी मेरा पिता हुन तापनि २०२० सालदेखि आफ्नो आफ्नो खती उपती गरी भिन्न भई वसेको भन्ने उल्लेख गरेको श्री ५ महाराजाधिराजको जुनाफमा धर्मराज गिरीले मिति २०३९।१२।३० मा विन्तिपत्र दिंदा मेरो भाई भीमराजकी पनी आफ्नो आफ्नो व्यवहार आ आफैले गर्ने भनि अंशवण्डा भइसकेकोमा वुवा हुदैं वावुको अचल सम्पत्ति नापीमा भीमराज र मेरा नाममा लेखिएको छ । केही जग्गा भीमराज र मेरो संयुक्त नाउंमा भएको वाहेक अरु घर जग्गा छुट्टा छुट्टै छ । अंश गर्नु पर्ने छैन । भाईले खाएको उनकै नाममा दर्ता भोग छ । हामी दुईजनाको अंश गर्नु पर्ने कुनै नहुंदा संयुक्त नाउंमा रहेका जग्गा किताकांट गराई पाउं भनि मालपोत कार्यालयको नाउंमा हुकुम प्रमांगी समेत माग गरेको देखिन्छ । यसरी उल्लेखित विभिन्न लिखतहरुमा वादीले प्रतिवादीलाई भिन्न भएको भन्ने उल्लेख गरीरहेको स्थितिमा ने.का.प. २०२९ अंक १२ नि.नं. ७१५ को निवेदक वंशमान अमात्य विरुद्ध टकमाया अमात्यनी समेत भएको अंश मुद्दामा एउटै घरमा वसेको नाताले एकाघरका भनि नलेखिने, अंश नभई एउटै घरमा बसेका अंशियारलाई एकाघरका भनि लेखिने भनि यस अदालत पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्त र ने.का.प. २०३८ अंक २ नि.नं. १४३८ निवेदक केदार सा कानु विरुद्ध रामानन्द साह कानु भएको अंश मुद्दामा वादी प्रतिवादीका विचमा आफ्नो नाउंमा जग्गा दर्ता रहे भएको र वादीले नै प्रतिवादी मध्येका व्यक्तिलाई भिन्न भएको भाई भनि वारेसनामा दिएको समेतबाट वादी प्रतिवादीहरु एक आपसमा वण्डा गरी अलग वसेका रहेछन भन्ने प्रष्ट देखिन्छ । यस्तो अवस्थामा अंशवण्डा भएको छैन भन्ने वादी दावी पुग्न सक्ने नदेखिने भनि तथा ने.का.प. २०४३ अंक नि.नं. २६६४ राम स्वरुप सहनी मलाह वि. रामसेवक सहनी मलाह समेत भएको लेखत वदर दर्ता मुद्दामा वादी स्वयंले भिन्न भएको भनि उल्लेख गरेपछि भिन्न भएको छैन भन्न विवन्धनको सिद्धान्तले समेत नमिल्ने भनि यस अदालत संयुक्त इजलासबाट प्रतिपादित सिद्धान्तको आधारमा समेत यी वादी प्रतिवादी भिन्न नभई सगोलमा नै रहेको मान्न मिल्ने देखिएन ।
१९. यसै गरी मिति २०३८।१०।२७ मा राम वहादुर गिरीले आफ्नो श्री सम्पत्ति शेषपछि खाने गरी आफ्ना छोराहरु मध्ये भीमराज गिरी र चित्रराज गिरीलाई वक्सपत्र गरीदिएको र वादी प्रतिवादीले छुट्टा छुट्टै ७ नं. फाराम भरी आ-आफ्नो नाममा जग्गा दर्ता तिरो भरो समेत गरी विक्रि व्यवहार समेत गरेको देखिन्छ । यसरी विक्री व्यवहार गर्दा भिन्न भएको व्यहोरा उल्लेख गरेको देखिन्छ । यसरी विक्रि व्यवहार गर्दा भिन्न भएको व्यहोरा उल्लेख गरेको देखिनुका साथै दर्ता समेत फुटी दाखेल खारेज गरी तिरो भरो आ-आफ्नो दर्ता श्रेस्ता खडा गरी बसेको रसिद दर्ता एवं लिखतका प्रमाणहरुबाट समेत वादी धर्मराज गिरी र प्रतिवादी भीमराज गिरी मुलुकी ऐन अंशवण्डाको ३० नं. को कानूनी व्यवस्था अनुसार व्यवहार प्रमाणबाट भिन्न भई बसेको देखिन आयो । मिसिल सामेल रहेको जग्गा धनी दर्ता श्रेस्ताको प्रतिलिपि उतारबाट वादी धर्मराज गिरी र प्रतिवादी भीमराज गिरीको नाउंमा संयुक्त दर्ता भएका जग्गाका सम्वन्धमा कानून वमोजिम आ-आफ्नो नाममा दर्ता नामसारी गर्न सकिने नै हुंदा सो वाहेक अन्य तथ्यबाट यी वादी प्रतिवादी भिन्न भई वसेको प्रतिपादित भिन्न भई वसेको प्रमाणित भइरहेको अवस्थामा वादीले प्रतिवादीबाट अंश पाउने नदेखिंदा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु काभ्रे पलान्चोक जिल्ला अदालतको इन्साफ मनासिव ठहर्याएको माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय मनासिव ठर्हछ । वादीले प्रतिवादीबाट तीन भागको एक भाग अंश पाउने ठहर्याएको तत्कालिन म.क्षे.अ. को इन्साफ सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४७।३।१ को फैसला उल्टी हुन्छ । अरुमा तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम तत्कालिन म.क्षे.अ.को मिति २०४५।३।१६ को फैसला सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४७।३।१ को फैसला उल्टी भई वादी दावी पुग्न नसक्ने ठहरेकाले तत्कालिन म.क्षे.अ.को मिति २०४५।३।१६ को फैसलाको तपसिल नं. १ कायम नरहने हुंदा सो को जानकारी शुरु का.प.जि.अ.मा पठाई दिनु ..........................१
पुनरावेदक प्रतिवदी भीमराज गिरी के,माथि इन्साफ खण्डमा लेखिए वमोजिम तत्कालिन म.क्षे.अ.को फैसला उल्टी हुने ठहरेकोले उक्त अदालतको मिति २०४५।३।१६ को फैसला वमोजिम निजले वादीलाई भराई दिने ठहर गरेको कोर्ट फि रु.१९२३।६६ यस अदालतमा पुनरावेदन गर्दा मिति २०४५।८।२२ मा धरौट राखेको देखिंदा सो रकम निजले नै फिर्ता पाउने हुंदा कानूनका म्याद भित्र फिर्ता माग गर्न आए निजलाई फिर्ता दिनु भनी शुरु काभ्रेपलान्चोक जिल्ला अदालतमा लेखी पठाउनु ..... १
पुनरावेदक प्रीतवादी भीमराज गिरीके माथि इन्साफ खण्डमा लेखिए वमोजिम ठहरेकोले निजले यस अदालतमा पुनरावेदन गर्दा मिति २०५०।२।२९ मा राखेको कोर्ट फि रु.२२७।४६ वादीवाट भराई पाउने हुंदा कानूनका म्यादभित्र दरखास्त पर्न आए कानून वमोजिम भरी गरीदिनु भनि शुरु काभ्रेपलान्चोक जिल्ला अदालतमा लेखी पठाई दिनु ......... १
मिसिल नियमानुसार गरी वुझाई दिनु ..... १
उक्त रायमा हामी सहमत छौं ।
न्या. टोप वहादुर सिंह
न्या. गोपाल प्रसाद खत्री
इति संवत् २०५६ साल पौष २६ गते रोज २ शुभम् ...................... १